
अनि मनभित्र गालाक् गिलिक् हुँदै शशी चौरस्ता आइपुग्छे । उकालो हिंडाइले फ्याँफ्याँ भइसकेको बोध बल्ल हुन्छ र भ्यानिटी ब्यागबाट सानु रुमाल निकालेर मेक-अपमा दखल नदिई हल्का पुछेर भित्री सन्तुष्टिको अनुभूति लिन्छे । उसको छातीमा एकपल्ट ऐना हेरेर ओठमा हल्का लिप्स्टिक पोत्ने इच्छा मौलिएर आइसकेको रहेछ ।
चौरस्ताका बेन्चमा मानिसहरू बिहानीको फर्सीको गट्टा जस्तो घाम मीठो मानी खाइरहेका थिए । शशीलाई पनि आफ्नो रमाइलो अस्तित्वमा भित्री कताकता मज्जा लागेर आइरहेको थियो । शशीले एकपल्ट हेपाइको नजरले सबलाई हाँक दिई । शशीले आफू राम्री छु, सबैले मलाई हेरिरहेका छन्, मन पराइरहेका छन्; सबैलाई उसको तातो अँगालो पाउने लोभले भित्रभित्रै सेक्स भावनाले पिरोलिरहेछ र उसको उपस्थिति त्यहाँ ज्यादा भएमा धेरै गुलियो भइदिएर अन्त्यमा तीते करेला भइदिनेछ भन्ने भावना फर्सीको गट्टा भएर छिप्पिसकेको थियो ।
एकपल्ट ब्राण्डी छचल्किएका आँखाले नेकटाइ र सूटमा राम्रो भइबसेको सप्रेको मूला जस्तो युवकलाई ठधाम हिर्काईवरी शशी एउटा शिष्ट र आकर्षक हिँडाइमा ओह्रालो लागी । हिँड्दामा उसका पुष्ट नितम्बहरू रहरलाग्दो हिसाबले परेड खेलिरहेका थिए ।
युवकलाई अनायासैमा केही चीज खाऊँ जस्तो लागेर आयो । पानदोकानमा गएर सोडापानी अथवा बारमा गएर एक पेग रम एके घुटकोमा स्वाट्ट पारिदिऊँ जस्तो लागेर आयो । अहिलेसम्म न्यानो मानी मज्जा लागेर तापिरहेको घाम पोलेको जस्तो लागेर आउनथाल्यो अनि किन हो घरमा गएर सूट र टाई खोलेर, मैला गन्जी र अन्डरवीयर खोलेर बाथरूमको ऐना हेर्दै चिसो पानीले नुहाउने मन भइदियो ।
युवती भने उसलाई त्यो भित्री अवस्थामा छोडिराखेर निकै तल पुगिसकेको थिई । शशीको छातीभित्र शो-केसभित्रका राता-हरिया सारी तथा सुइटरहरूले चुनौती दिइरहेका, आफूसित पैसा नभइदिएको र आफ्नो त्यै पनि एकदुई दिनका निमित्त भनेर पैंचो मागेर लगाएकी सारी र सुइटरले मुक्का कसिरहेको, खिल्लो उडाइहेको सोल्दरे भावनाले आर्थिक स्थिति राम्रो नभइदिएको, आफूलाई प्रेम गरिदिने युवकहरूले उसको तातो-राम्रो शरीर पाउने लोभमा किनिदिन्छु भनी वचन दिएका र आफ्ना आमा-बाबु जसले उसलाई फेशन र रंगीचंगीको युगमा जन्माइदिएका थिए, भित्रभित्रै सरापिरहेको थिई । होस्, अब ता पैसा नहुने युवकहरूसित म हिँड्दिन, जताबाट हुन्छ मैले पैसा बोक्ने मान्छेसित हिँड्नुपर्छ । थुप्रै थुप्रै सारी ब्लाउज र सुइटर किन्नुपर्छ । मेकअपका चीजहरू पनि किन्नुपर्छ । म धेरै धेरै युवतीभन्दा धेरै धेरै राम्री छु, राम्रो लुगाले मलाई अझै राम्री बनाउँछ । यो रीताका सारी र सुइटर भोलि फर्काइदिन्छु, पुष्पको चेस्टर पनि फिर्ता दिन्छु ।
सोच्दासोच्दै शशी ग्लोनरिज अघि पुगिसकेकी हुन्छे । त्यहाँ पुग्दा ऊ सधैं त्यता हेर्ने बानी बसिसकेको छ । अस्ति पनि एउटा मान्छेले उसलाई आँखा झिम्काएर बोलाएको थियो । शशीलाई ठूल्ठूला होटेल, ठूल्ठूला पसल र ठूल्ठूला मान्छे मन पर्छन् । एक जना युवकले गल्लीको एउटा रेस्टुराँमा कसरी जबर्जस्तीसित लगेको थियो । फोहोर क्याबिनभित्र मानिसहरू फोहोर गफ गर्दै सेतो झोल खाइरहेका थिए । दुई जना कलेजमा पढ्ने युवकहरू झोलले मातेर टेबल ठटाइरहेका थिए । उफ्, त्यो रेस्टुराँको केटोको नाकमा कति सिङान आइरहेको ! सूप पनि कति हरियो, नमीठो ! छिः छिः त्यो दिन म त्यो युवक जस्तै कति सस्तो भइदिएँ । छिः सस्तो मानिस सितको सङ्गत पनि कति खल्लो हुन्छ !
शशीले ग्लीनरिजको झ्यालमा नजर लगाई । त्यही युवक ठीक त्यही ठाउँमा बसेर उसलाई एकोहोरो हेरिरहेको रहेछ । शशीले एउटा मीठो मुस्कान झ्यालभरि फ्याँकिदिई । युवक चाँपको फूल भइदियो अनि त्यसै गरी बोलायो । शशीका पाउ अनायासै त्यता बढेर गए । युवकले हेल्लो भनेर उसको अभिवादन गर्यो, उसको अग्लो छाती हेर्यो, राम्रो चेहरा हेर्यो र अंग्रेजीमा बस्नुस् भन्यो ।
शशी एउटी कलेजियन जस्ती, एउटी सोसाइटी गर्ल जस्ती शिष्ट, सभ्य र गविली भएर बसी । चिया आयो । केक पनि आयो । शशीले भुटेको भात खाएर आएकी कुरो सम्झी, कलाइको प्लेटमा भुटेको भात खाँदा ख्याउटे भाइले टुलुटुलु हेरिरहेको अनि हिजो राती अबेर गरी आउँदा नानीलाई स्याप्टो छाती चुसाउँदै आमा फतफताइरहेकी कुरोको एकै चोटि ख्याल आयो । यसरी सधैं यस्तो सुग्घर ठाउँमा, यस्तो सफा कप पिरिचमा सुखी भएर मीठो कुरा खान पाए हुनेथियो । उसको कान्छा भाइले पनि यस्तै मीठो कुरा खान पाए शायद मर्फी रेडियोको हलिक्स खाने केटो जस्तो हुनेथियो । शायद उसकी आमाले पनि उसलाई सधैं अमिलो गाली बक्ने थिइनन् ।
मौनतामा धेरै बेर निस्तब्ध बसेर युवकले शशीको नाम सोध्यो, शशीले कल्पना भनिदिई । शशीले युवकको विषयमा केहा सोध्ने आँट पनि गरिन न ता आवश्यक नै ठानी, केवल सभ्य तरीकाले केक खाइदिरहनु नै उचित सम्झी ।
युवक के शशीको अग्लो छातीमा प्यासिलो हेरेर भन्यो, “तिनीले मलाई साँझमा यहाँ भेट्न सक्छ्यौ कि कल्पना ?”
शीलाई तीन कुने केकले युवकलाई झटारो हान्ने मन भो । शशीलाई यो ठिटो सभ्य जस्तो लागेको थियो परन्तु यो पनि गल्लोको रेस्टुराँमा उसलाई लैजाने युवक जस्तै सस्तो लागेर आयो । सबैले उसलाई ख्वाएर त्यसै भनी सोध्छन् । मान्छेलाई उसको मासुसित किन यति लोभ, किन यत्रो लालसा ? सबै उसको शरीरबाट फाइदा उठाउन खोज्छन् । मान्छे सबै एक किसिमको यसरी किन भइदिएका ? सबै उसको काँचो मासुलाई प्रेम गर्छन्, लुछी चुँडी खान खोज्छन् ! ऊ कति दुःखी छ, कति व्यथित छ, छातीभित्र कति पीर-मर्काहरू छन्; त्यो बुझ्ने कसैले कोशिश गर्दैनन् । सबै उसको शरीर जीउँदै रोष्ट गरेर खान खोज्छन् । केवल एउटा युवकले उसका सुख-दुःख बुझ्ने कोशिश गरेको थियो तर स्वयं त्यो केटो दुःखी थियो, अभागी थियो, बेकार थियो । बिहान कम नून हालेको चिया खाएर दिनभरि लखरलखर हिँडिरहन्थ्यो । शशीलाई त्यो युवक सम्झेर एकदमै माया लागेर आयो । तर माया गरेर मात्र पनि ता हुँदैन ? सबै सामर्थ्य हुनुपर्छ, दरिलो हुनुपर्छ । जिन्दगी सहानुभूति र दयामा कति दिन बाँच्न सक्छ ! जिन्दगी पलायन ता होइन । दयापूर्ण जिन्दगी एउटा कुकुरले बिताउँछ । शशीको छातीभरि काँढा उम्रिएर आए ।
शशीलाई युवकले अझै अनुरोधपूर्ण चेहरामा हेरिरहेको रहेछ । शशीलाई कुन्नि किन दया लागेर आयो । उसले युवकको राम्रो अनुहारमा हेरेर भनिदिई, “कोशिश गर्छु ।”
युवकले ओके भन्यो । फेरि केहो आत्मीयता झल्के जस्तो लाग्यो । शशीलाई जाने हतारोले पनि छोइसकेको थियो । रेस्टुराँको सफा वातावरणले विरक्त भएर उसलाई आफ्नो घरको मैला ओछ्यान, फोहोर भाँडाकुडा, ओछयानमाथिको गिजिङमिजिङ र छरपष्ट भुइँको सम्झनाले रुघा लाग्ला जस्तो भो । त्यो एउटा १२-१० को सानो धूप्पीको पार्टिशनको कोठा, चिसो भुइँ ! सात-आठ खाने मुख, थोरै उपलब्धि ! अनि शशीलाई यो सब नगरी कसरी पुग्ने ! बिहान आमाले रिसाउँदै भनेकी थिइन्, दश रुपियाँ नभई भएको छैन, नलिई नआउनू ! उफ्, अहिले उसलाई यति नरमाइलो लागेर आयो कि युवकलाई एक साँझको निमित्त आफूलाई सुम्पिदिने निधो गरो । उसले कठोर भएर भनी ।
“म तिमीलाई साँझमा यहीं भेट्नेछु तर तिमीले मलाई पचास रुपियाँ दिनुपर्छ, र दश रुपियाँ चाहिं यहीं देऊ अहिले ।”
अनि ठण्डा नजरले युवकलाई हेरी । युवक केही बोलेन, मुसुमुसु हाँसेर ब्याग निकाल्यो र पाँचवटा दशका नोटहरू युवतीलाई दिँदै भन्यो, “पैसाको निम्ति तिमीले फिक्री गर्नुपर्दैन, कल्पना, लेऊ यी पैसा, भरे तिमीलाई अझै पचास दिनेछु परन्तु तिमी मसित लगातार होटलमा दुई रात सुतिरिनुपर्छ !”
शशीको हातमा पचास परिसकेको थियो, विरोधमा बोल्ने कुरै आएन । फेरि शो-केसभित्रका सारीहरू आँखाअघि इन्द्रेणी लागिदिए । फेरि पैंचो ल्याएका सारी-सुइटरहरू फिर्ता दिने कुरो, लिप्स्टिक, पाउडर, आइब्रो पेन्सिल, ब्रेसियर उम्रिएर टुसा भइदिए ! फेरि आमाको दश रुपियाँ नभई नहुने ढुङ्गा जस्तो कुरो !
शशीलाई आफ्नो अस्तित्वउपर एउटा हीन भावनाले छोप्यो । कस्तो छ जिन्दगी, आफ्नो शरीरलाई ब्रेसियर बेचे झैं, पेटिकोट बेचे झैं बेचिरहेछ – गोशखानमा मासु बेचे जस्तो ! फेरि जिन्दगी उसको घर जस्तो साँघुरो, फोहोर र चिसो भुइँ जस्तो पनि ता होइन ! त के जिन्दगी अभाव र गरीबीमै बितोस् ? ऊभित्रका जवान चाहनाहरू शो-केसभित्रका चीजहरू झैँ रमाइला बनेर ताँती लागेर आए । शशीको चेहरा फेरि उज्यालो भो, आत्मविश्वास पनि फर्केर आयो । कुर्सीबाट उठ्दै उसले भनी, “ओके, आइ विल सी यू दिस इभनिङ, डेफिनिट्ली !”
युवक फूल भइदियो । युवकलाई शशीको पछिल्लो पाटा पनि झन् मन परेर आयो । एउटा पाइहाल्नुको उत्कट चाहनाले निकै बेरसम्म छातीभित्र चिलचिल्याइरह्यो । बेरालाई बोलाएर उसले एक पेग ब्याण्डी माग्यो । सोडा हुस्स फुट्यो ।.. सोडा यसरी हुस्स भएर फिँजिजी भइदिँदा आफूभित्रका कमजोरीहरू पोखिएको जस्तो लाग्छ । मान्छे भनूँ नै भने कति कमजोर छ, कति स्वार्थी । कल्पनाको तरुणाइ पनि स्वयं कल्पना र उसको निम्ति कमजोरी कुरा हो । र पनि ऊ त्यसबाट फुत्कन सक्तैन । मान्छेको सेक्स लाइफ कति कम्प्लिकेटेड भएर गइरहेछ ! ब्याण्डी खाँदाखाँदै एउटा दिक्दार भावनाले अँठ्याएर रहलपहल ब्याण्डी स्वाट्ट पारिदिन्छ । बिल पे गरेर, बिलियार्ड खेल्न क्लब जाने कुरो नभई नहुने कुरो भइदिएर जुर्मुरिन्छ । तर क्लबमा आउजाउ गर्ने धेरजसो मेम्बरहरू उसलाई ठ्याम्मै मन पर्दैनन् । जिन्दगी कति विडम्बनापूर्ण फगत र झूटो छ । मान्छे बाहिरी ढाँचामा कति दिन बाँच्न सक्दछ ! त्यस्तै जिन्दगी बोकेकी छ शशीले । मान्छेले जिन्दगीमा बाँचिदिनलाई कति मुखुण्डो लाउनुपर्छ । मान्छे कति बेअर्थको भइदिनुपर्छ ! मान्छेको सोलोडोलोपन कति उपहासपूर्ण भइदिन्छ ! मान्छे समस्त आफूभित्र कति अपूरो छ ।
आफूसित पचास रुपियाँ छ भन्ने कुराले एउटा अब्बल विचार छातीमा तामा टुसाएको थियो । दिउँसो दुई बजे एउटा मान्छेलाई उसले आउँछु भनेर वचन दिएको कुरो खस्रो भएर नराम्रो हुन्छ । एउटा डान्स गर्ने हिजडा टाइपको युवक शशीलाई खूब मन पराउँछ, तर किन र केमा मन पराउँछ । शशीलाई त्यसको नपुंसकता विषयमा पनि ता थाहै छ ! दुई तीन दिनअघि शशीले त्यसलाई आफ्नो सुगठित नाङ्गो शरीर देखाई दिइसकेकी थिई, युवक लजाएर यति उपहासपूर्ण बनिदियो कि त्यो निधो रातोपन छोप्नलाई ब्रेसियरले मुख छोपिदियो ।
शशीलाई एउटा विचार आयो त्यस युवकलाई नङ्ग्याएर त्यसको नपुंसकपन हेर्ने ! नपुंसक मान्छे एउटा अधमरो चीज हो, एउटा नरमाइलो वस्तु हो भन्ने शशीलाई लाग्दथ्यो । मान्छे आगो जस्तो उग्र हुनुपर्छ । कहिले नथाक्ने हुनुपर्छ ।
उफ् ! शशीलाई एउटा मान्छेको याद आयो । भलै उसले शशीलाई केही दिएन परन्तु शशीले उसको रौंसरीको चाक्लो छातीमा मर्दपनको एउटा गन्ध सुँघ्न सकेकी थिई। लोग्नेमान्छे स्वास्नीमान्छे जस्तो गनाउनु हुँदैन, त्यो आफ्नै गन्धमा ठस्स गनाउनुपर्छ, त्यो गन्ध कमसेकम आइमाईहरूले थाहा पाइदिनुपर्छ । लोग्ने मान्छे त्यो हो जो कैले थाक्दैन, दौडमा दम राखेर दौडन्छ । त्यो जहिले पनि झरिलो, जहिले पनि प्यासी हुनुपर्छ । शशीलाई कुतकुती जस्तो भएर आयो अनि नाच्ने युवककोमा जाने भावनालाई कुल्चेर मिल्काइदिई । त्यस्तो नपुंसकलाई ता विरक्त लागेको बेला एउटा उच्चाट लाग्दो दिनमा भेट्नुपर्छ । यस्तो मौसम, मीठो केक खाएर आएको वेला त्यै पनि भ्यानिटी ब्यागभित्र पचास रुपियाँ भएको टाइममा ! यो भ्यानिटी ब्याग पनि एउटा हाँसोउठ्दो चीज हो ! योभित्र अस्सी प्रतिशत फुटेका ऐना, लिप्स्टिकका ठुटा, रूज र पाउडर, बम्बई सुपारीका कुट्काहरू बाहेक केही चानचुन पैसा सिवाय अरू केही हुँदैनन् ! आइमाईहरू व्यर्थमा भ्यानिटी ब्याग झुण्डाएर हिँड्छन् । आइमाईको ‘जिन्दगी पनि साँच्चै आकाशको बादल जस्तै हुन्छ । कहिले के, कहिले के ! स्वास्नीमान्छे वास्तवमा ठोस चीज होइन, तरल पानी हो, पग्लिने कुरा हो, समर्पणको विषय हो, मासुको ल्याथ्नो हो । शशी सोच्दासोच्दै गइरहेकी हुन्छे, तलाबाट “शशीदी …” नपुंसक युवक नाङ्गो उज्यालोमा चिच्याउँछ ।
टाइटफिटको पतलूनमा नितम्ब हल्लाउँदै उँभैतिर दुगुरेर आउँछ । शशीलाई युवकको भरिलो नितम्ब देखेर ईर्ष्या लागेर आउँछ । त्यसको खाइलाग्दोपन कति निर्धा छ, त्यसको अस्तित्व कति बेकार छ । हस्याङफस्याङ गर्दै युवक त्यहाँ आइपुग्छ । शशीलाई युवकको लोभलाग्दो अनुहारले एकान्तमा धेरै कुराहरू गर्न मन लागेर आउँछ परन्तु त्यो भावनालाई चट्ट पारिदिएर भनिदिन्छे, “मेरो जरूरी काम छ, राजू, आज तिमीसित म व्यर्थमा भुलिरहन सक्तिनँ । साँच्ची, तिमीसित को मान्छे अस्ति, राजु ?”
राजु कुन्नि रातो भो र भन्योः “त्यो सधैं म भा’कोमा आउँछ, चकलेट दिन्छ, पैसा पनि दिन्छ ।”
शशीलाई राजुको नपुंसकतामा कठोर रातो लाज लागेर आउँछ, आज ता झन् उसलाई सप्पै थाह लाग्छ । संसारको ‘एउटा निकृष्टतामा शशीलाई विरोध लागेर आयो । उसले दया गरेर राजुलाई भनी, “हिँड राजु, आज पिक्चर हेरौं ?”
युवकले पहाड जत्रो विरोध गर्यो, “उनी आउँछन्, शशीदी !”
यही राजुले शशीलाई म्वाइ खाने तरीका, रक एन रोल र ट्विस्ट सिकाएको थियो । एउटा अंग्रेज साहेबले यस्तै एउटा केटो राखेका थिए भन्ने शशीले पुष्पाबाट सुनेकी थिई । पुष्पाका लोग्नेले पनि यस्तै ठिटाहरू मन पराउँछन् रे । पुष्पाको जिन्दगी कति दुःखी छ । शशीले पुष्षालाई सम्झेर ल्याई, त्यसले चिसो लोग्नेबाट कहिल्यै तातो हुने मौका पाइन । शशीलाई चीसो मान्छे गिल्टीको पैसा जस्तै लाग्छ । घण्टाघरको घडीले घण्टा ठोक्दा शशीलाई समयको ख्याल लागेर आउँछ । आफूसित घडी नभइदिएको टर्रो कुरो थाह लाग्छ । घडीले मान्छेको व्यक्तित्व बढाउँछ, उसका धनी साथीहरूसित सबसँग घडी छन् तर तिनीहरू भने भ्यागुता जस्ता छन्, चर्कको जाँड जस्तो बेरसिला छन् । केही दिनपछि म पनि घडी लाउँछु बरु कसैसित एक हफ्ता सुतिदिन्छु । शशी पोस्ट अफिसनेर आइपुगिसकेकी थिई । एउटा चिठ्ठी खसाल्नुपर्ने कुरा सम्झेर त्यतै बढ्छे । पातलो ब्लाउजभित्र हात घुसार्दा उसका औंलाहरू गिलो मासुमा गिलो-गिलो भए । उसलाई सबभन्दा ज्यादा यही चीजसित ज्यादा गर्व छ । यो ढुङ्गा जस्तो कठोर छ, सुलुक्क परेको चुच्चो अग्लो छ । उसलाई ज्यादाजसो ब्रेसियर लाइरहनुपर्दैन तर मान्छेको विषालु हात भने पहिला त्यतै बढ्छ ।
राजु जस्तो नपुंसकले पनि एकपल्ट हल्का खेलाएर मुखले चुसिदिएको थियो । ओहो कस्तो आनन्द उसलाई त्यस बेला भएको थियो भने बाबै, त्यही जोशमा, त्यही पग्लेकी अवस्थामा राजुको अघि नाङ्गो भइदिएकी थिई परन्तु त्यस्तो हिउँ जस्तो राजु किन डगमग हुने, जिब्रो निकालेर बरु ब्रेसियरले मुख छोपिदिएको थियो ।
राजुको सम्झनाले शशीलाई त्यहाँ काम गर्ने क्लर्कहरू तुवाँलो जस्तो लागेर आउँछ । उसलाई टेबिलमा मुन्टो निहुराएर काम गर्ने मान्छेहरू देख्दा दया लागेर आउँछ । रूटिनबद्ध जिन्दगी शशीलाई राम्रो लाग्दैन, उसलाई उन्मत्त अस्तित्व मन पर्छ । एउटा क्लर्कले काउन्टरबाट चश्माभित्रका आँखाले हेरिदियो । ऊ पनि मान्छे नै हो, त्यो होटलको युवक पनि मान्छे नै हो तर किन यति अन्तर छ । यो क्लर्कको आँखा कति निस्तेज छ, हेप्न सकिने, गाली दिन सकिने ।
शशीले फेरि आफ्नै जिन्दगी सम्झिदिई । आफ्नै समस्याहरूउपर तुच्छ भइरहेकी, हीनताले निचोरिंदै गइरहेको शशीलाई अहिले त्यो क्लर्क सोधा पशु जस्तो इमानदार लागेर आउँछ अनि हातको चिठ्ठी द्वांगमा खसाएर बाहिर निक्लन्छे । एउटा आत्मतुष्टिको भावना चिठ्ठी छोड्दा महसूस हुन्छ । त्यो चिठ्ठी पर्सि अथवा निकोसि ता टुङ्गोमा पुग्छ । त्यो चिठ्ठीले मोर्चाको एउटा कलिलो बलियो अफिसरलाई हरियो पारिदिन्छ, गुलाफी बनाइदिन्छ । त्यो अफिसरसित शशीको एउटा पार्टीमा भेट भएको थियो । शशी एउटी कलेजियन लडकीको हैसियतमा आफ्नू परिचय दिन समर्थ भएकी थिई । फेरि उसको अंग्रेजी पनि ता राम्रो छ । जवान अफिसरले शशीको मजबूत शरीर र राम्रो चेहरा देखेर बिहे गर्छु भनेर वचन दिएका थिए । ऊ मोर्चा फिरेको निकै दिन भइसके, खोइ पैसा पठाइदिएको ! सबै लोग्नेमान्छे झूटा हुन्छन्, खालि पाउनुको उत्कट भावनाले जे पनि भनिदिन्छन् ।
शशीलाई खल्लो लागेर आउँछ । उसले त्यो अफिसरलाई सबै चीज दिई तर बदलामा उल्ले उसलाई दुईतीन छाक ख्वायो, होटलको तोशकमा सुतायो, बस् त्यत्ति हो । शशीलाई आफू त्यति सस्तो नहुनुपर्ने भनेर घिडघिडो लाग्यो । उसले संकल्प गर्छ, अब उसो त्यसो हुँदैन, पहिल्यै पैसा लिनेछ । सूट र टाई ता अचेल जोसुकै लाउँछन्, भित्री पाकेट भने मुसाले खाइदिएको हुन्छ, गुहे अन्डरबीयर हुन्छ, धोती जस्तो गन्जी हुन्छ । शशीलाई आफ्नू पेटिकोट पछाडिपट्टि ह्वांग च्यातिएको थाहा लाग्छ । ब्रोसियर पनि काती परेको छ । एउटा ब्रेसियर र पेटिकोटको प्राथमिक जरूरीले उसका पाइला पसलतिर हिँड्छन् ।
पसलेको छोरो शशीलाई देखेर छ्याङ मुख बनाउँछ । शशीलाई खपिनसक्नु रीस उठेर आउँछ अनि रातो भएर मुखभरि छरिइन्छ । यस्ता लायकका जवानहरू मोलभाव गर्दै सेतो नरम गद्दीमा बसेका उसलाई देशउपर गद्दारी गरेको जस्तो लाग्छ । यस्ता युवकहरूले देशको सुरक्षाको निम्ति डट्नुपर्दछ, रकेटमा अन्तरिक्ष उडान गर्नुपर्दछ, नयाँनयाँ कुराको अनुसन्धान र आविष्कार गरेर हिँड्नुपर्दछ । नरम गद्दीमा मोलभाव गर्ने काम बूढाहरूको हो । शशीले व्यक्तित्वमा भनिपठाई, “मलाई एउटा पेटिकोट र ब्रेसियर चाहियो, ३४-३६ साइजको !” अनि पसन्द परेका चीजको दाम दिएर हिँडी पनि हाली ।
युवकलाई फुस्रो लागेर आयो, एउटा कैलो भावनाले जरो आयो, कमजोरी र अभाव महसूस भो । मान्छेको जिन्दगीमा पैसा मात्र पनि केही चीज होइन । मान्छेमा एउटा निजत्व हुन्छ, त्यही निजत्व उसको व्यक्तित्व हो । त्यही चरम व्यक्तित्वको महसूसमा अस्तित्वको जग बसेको हुन्छ । शशीभित्रको सिङ्गो नारी आज जुर्मुराई उठेको थियो । आर्थिक अवस्था र सामाजिक परिस्थितिले शशीभित्रकी नारी कति फ्यातुलो भएर गइसकेकी रहिछ । शशीलाई बोध भएर आयो । शशीलाई समाज पेटिकोट जस्तो लागेर आउँछ, खराब र फोहोर ! उसले आजसम्म यही समाजको निम्ति जुझ्दै आएकी छ । शशीलाई आफ्नो अस्तित्वको चरम बोध भएर आउँछ नत्र उसको जिन्दगी च्याङला च्याङला भएर गइसक्ने थियो । उसको घरको पारिवारिक समस्या अर्कै होला परन्तु शशी उसको घर र परिवारकी पालनकर्ती पनि ता होइन ? त्यसको जिम्मेवारी ता उसको बाबुलाई छ, जो घरको डाँवाडोल अवस्थासित परिचित हुँदाहुँदै पनि रक्सी पिउन र नानी जन्माउन छोड्दैन । हिजो राती पनि शशीले बाबुचाहिंको ठूल्ठूलो सासफेराइ सुनेकी थिई, आमाको विरोध हुँदाहुँदै पनि । शशीलाई अहिले दुनियाँभरिका लोग्नेमान्छेसित विरोध लागेर आउँछ, कालो रीस छातीमा पोतिन्छ । चाहे त्यो बाबु होस्, दाज्यू होस्, लोग्ने होस्, चाहे जो होस् । लोग्ने मान्छे जहाँसम्म स्वास्नी मान्छेसित सम्बन्धित छ, जबर्जस्त हुन्छ, एकोहोरो हुन्छ, केवल उसलाई स्वास्नीमान्छेको सजिल्द नरम-तातो मासु चाहिन्छ, चाहे त्यो क्षणभरकै निम्ति किन नहोस् ! शशीलाई आफ्नै बाबु अहिले मन पर्न छोड्छ । एउटा नरमाइलो कुरो खल्लो भएर याद आउँछ । एक रात आफ्नै कापमा शशीले नाका जोलाहरू निर्धक्क खेलिरहेका चाल पाउँछे । हुन ता उसलाई त्यो हल्का स्पर्श चर्को दिनमा साँचेको कागती खाइरहेकी जस्तो मज्जा लागेको हुन्छ तर त्यो खेलाइदिने हात आफ्नै बाबुचाहिँको भइदिएकोले चूक मुखभरि भइदिन्छ, घृणा र क्रोध आगो भएर ठोकिन्छ । त्यसैले बासित पनि ऊ डराउँछे कमसेकम रातमा, रातको अँध्यारोमा । अँध्यारो उसलाई पटक्क मन पर्दैन, गरीबी जस्तै डरलाग्दो लाग्छ, सेक्स जस्तै असहनीय लाग्छ, उसका बा जस्तै कमजोर लाग्छ । नारीको कमजोरी पनि यही कालो रात नै हो । यस्तो कति कालो रातको उसले बर्को ओढिदिएकी छे, छातीको डरलाग्दो पहरामुनि !
शशी एउटा रेस्टुराँभित्र पसी । काउन्टरमा एउटा कलिलो युवक बसेको थियो । एउटा क्याबिनमा पस्दै के खाऊँ भनेर सम्झी । तातो चिया र चाप खान मन लागेर आउँछ र त्यही ल्याउने अडर दिन्छे । चप खाँदा घरमा आमा खिचडी पकाइरहेकी होलिन् भनेर सम्झन्छे, सानो ख्याउटे भाइ आमाचाहिँलाई ङ्यारङ्यार गरिरहेको होलै। शायद बाबुचाहिँ पनि लखतरान भएर कामबाट आइसकेका होलान् । फाटेका लुगामा स्याप्टो भुँडी लिएर भाइबैनीहरू स्कूलबाट आएर धूवाँ रिङिएको कोठामा रिफ्यूजी जस्तो बसिरहेका होलान् । उसले सप्पैलाई चप लगिदिने मनमा कुरा खेलाउँछे । फेरि आमाको बानीबेहोरा सम्झेर उसलाई रीस उठेर आउँछ । यसो केही चीज लगेर जाँदा आमा चाहिँ ब्याग खोतल्नपट्टि लाग्छिन् झन् आज त ऊसित तीस चालीस रुपियाँ छ । राशीलाई पर जान मन लाग्दैन । एउटा कटलेट अडर दिए याताउतिका कुरा सम्झेर बस्छे । कटलेट पनि आइपुग्छ । हड्डी समाएर मासु खाँदा कुन्नि किन हो त्यस्तै मज्जा लागेर आउँछ । मासु खाँदा सधैँ उसलाई त्यस्तै अनौठो लागेर आउँछ । उसको जीउभरि पनि मासु छ । त्यो मासु कति कमलो छ । उसको अग्लो छाती पनि सब मासु छ, ओठ पनि गाला पनि सब मासुको । फेरि त्यस्तै मासु मान्छे किन चाहन्छन्, किन मन पराएर खान्छन् ? उसको शरीरका पोका परेका मासु देख्दा मान्छे कस्तो कमजोर देखिन्छन्, कति नरमाइला बनिदिन्छन् भने शशीलाई हाँसो उठेर आउँछ । लोग्नेमान्छे बडो घिनलाग्दो कुरो हो, एउटा नरमाइलो वस्तु हो । शशीको हातमा कटलेटको हड्डी मात्र रहन्छ । त्यो बेकामे हड्डीलाई प्लेटमा हल्का पछारिदिन्छे। सबै चीजसित आखिरमा मान्छेको यस्तै विरोध हुन्छ । कटलेटमा मासु छउञ्जेल उसले चिथोरी चिथोरी खाई, त्यस्तै उसको मासु फुलुन्जेल उसलाई पनि मान्छे चिथोरी चिथोरी मीठो मानेर खाइदिनेछन् । शशीलाई कुन्नि किन रीस उठेर आउँछ । काउन्टरमा गएर बिल पे गरेर सौंप मर्याकमर्याक चपाउँदै बाहिर निस्कन्छे । शशीलाई आफू भित्रभित्रै कुहेर फ्यात्त भइसकेकी जस्तो लाग्छ । कस्तो नराम्रोसितले मुटु छुन्छ भने शशीलाई रुन मन लागेर आउँछ ?
बाँकी अर्को भागमा
हरीश बमजनको कथासंग्रह ‘शो–केसभित्रको जिन्दगी’बाट



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

