
मैदान मावि मकवानपुरमा ३० वर्षकी हुँदा देखि शिक्षण पेशा अँगालेकी मैले शुरूमा विज्ञान र पछि सामाजिक पढाउन थालेकी थिएँ ।
शुरूशुरूमा मेरो दरबन्दी निम्न माध्यमिक तहमा भएकोले कक्षा ६, ७ र ८ मा मात्र पढाउन पाइन्थ्यो । उक्त स्कूल एक नमूना विद्यालय पनि भएकोले त्यहाँ राम्रा परिवारका मेधावी विद्यार्थीहरू पढ्न आउँथे ।
मैले पढाउने पहिलो ब्याचका केही केटाकेटीहरू झन्डै मेरो जेठा छोराका उमेरका थिए जो दिनहुँ फूलका थुङ्गा ल्याएर मलाई र मेरा अर्का सहकर्मीलाई दिन्थे । उनलाई भन्दा पनि मलाई फूल, कार्ड र कलमहरूको ओइरो लाग्थ्यो । बिहानको प्रार्थना सभापछि माथि अफिसको टेबलमा खचाखच हुन्थ्यो प्रत्येक दिन जसो । अविवाहित तर केही छिप्पिएका हेडसरलाई चाहिँ त्यो अवसर विरलै हुन्थ्यो । शायद यही कारण उनले घुमाउरो पारामा हाम्रो रीस गर्थे, “फूल भनेको शिक्षकको हातमा भन्दा पनि बगैंचामा सुहाउँछ ।”
त्यसो त विद्यार्थीहरूले मेरा शिक्षण बढी मन पराउने कुरा बिस्तारै ज्ञात हुनथालेको थियो । गुलाब फूल उपहार दिने ती केटाकेटीहरू मध्ये मकर शर्मा तथा इसा बराल अझ बढी प्यारा लाग्थे । उनीहरूको पढाइ र स्वभाव दुवै अब्बल खालका थिए- अति कृतज्ञ र अनुशासित ।
मकरले त फिस तिर्न आएका वेला आफ्ना बाबु-आमालाई पनि बरोबर भेटाएको थियो । बडा भलाद्मी लाग्यो दुवै जना । “घरमा हजुरकै कुरा गर्छ, हामी उसकी बहिनीलाई पनि यतै भर्ना गरिदिन्छौं, हजुरकै जिम्मामा ।”
प्रायः अरू अभिभावकका पनि यस्तै प्रतिक्रियाहरू आउँदा म एक आम शिक्षक जस्तो फुरुङ्ग हुन्थेँ – कुनै ठूलो पदवी पाए जस्तो ।
प्रत्येक गुरु-पूर्णिमा र अरू ठूला चाडबाडका दिनमा पनि उनीहरू मलाई चकलेट र पोष्कार्ड उपहार दिन्थे । म ती सबै घरमा ल्याएर एउटा दराजमा राख्थें । त्यो देखेर मेरा पति र केटाकेटीहरू पनि दङ्ग पर्थे । एकदिन श्रीमानले भन्नुभयो, “अहिले को जमानामा (कलियुगमा) पनि यस्ता केटाकेटी हगि !”
मनमा आनन्द पुग्थ्यो । मकर अरू विद्यार्थीको तुलनामा बढी बौद्धिकता र क्षमताहरू देखाउँथ्यो । त्यही खुबीले कारणले ऊ सबै गुरुगुआमा र स्टाफहरूको ऊ प्रिय बन्न पुगेको थियो । सबैको मन जितेको थियो । उनीहरू मसँग कक्षा ७ सम्म हुन्थे । त्यो तह सकिए पछि मेरो भेट नयाँ केटाकेटी तथा अभिभावकहरू सँग हुन्थ्यो त्यो स्कूलमा ।
सिनियर कक्षा अर्कै भवनमा हुने भएकोले पुरानासँग कहिलेकाहीं मात्र भेट हुन्थ्यो । शुरूको ब्याच दश कक्षा पुगेको साल मेरो पनि सरुवा भएर म अर्कै ठाउँमा खटाइएको थिएँ जहाँ भिन्न परिवेश र सहकर्मी, विद्यार्थीहरू थियो । ठाउँसँगै मेरो बढुवा भएकाले प्लस टु (कलेजको दरबन्दी थियो) जहाँ अलि छिप्पिएका केटाकेटीहरूको हूल आउँथ्यो । उनीहरूलाई निर्देशित र हौस्याउन बढी नै कसरत चाहिने । अनि तिनीहरूमा उति निर्दोषता हुँदैनथ्यो ।
० ० ० ०
मैले पहिले पढाएकालाई बिर्सिसकेको थिएँ । करीब दश वर्ष जति पछि मैले फेसबूकमा नयाँ साथीको अनुरोध जाँच गर्दै र स्वीकार्दै जाँदा मकर शर्माको अनुरोध देखेर उसलाई पनि जोडेँ । केही अरू पूर्व विद्यार्थीका अनुरोध पनि सकारेको थिएँ त्यस दिन ।
भोलिपल्ट उसले विनम्रतापूर्वक मेसेन्जरमा लेख्यो, “अहिले म इन्जिनयर भएको छु ।
यस दौरान सयौँ अन्य शिक्षकहरूसँग उठबस भैसक्यो तर हजुर जस्तो असल र भलाद्मी अरू कोही पाएको छैन ।”
म यस्तो कमेन्टहरू पाउँदा ठूलो पुरस्कार पाएको महसूस गर्छु विशेष गरी पुरानाहरूले गर्दा । किनकि उति वेला स्वार्थ जोडिएको हुँदैन, उनीहरूलाई धेरै नम्बर चाहिएर फुर्क्याइएको हुन्नथ्यो । विद्यार्थीलाई केन्द्रमा राखेर पठनपाठन गर्ने मलाई अरू केही नपुग पनि त थिएन । मैले उसलाई उज्ज्वल भविष्यको कामना गर्दै सन्देश तुरुन्त प्रेषित गरेँ ।
० ० ० ०
त्यसपछि म निक्कै व्यस्त भएँ । डाक्टर श्रीमान् भएकाले उहाँ झन् व्यस्त हुनुहुन्थ्यो, त्यसैले छोराछोरीको शिक्षा र बिहेवारीको जिम्मा मेरै काँधमा आएकोले केही वर्षसम्म मलाई श्वास फेर्ने फुर्सद सम्म भएन । फेसबूक नचलाएको र पत्रपत्रिका नपढेको पनि ४-५ वर्ष भैसकेको थियो, दिन कसरी बित्यो पत्तै भएन । शायद मेरो जीवनको त्यो सुखद क्षण थियो र त्यसैले त एउटा आइसक्रिम खान लाग्ने समय जति पनि भएन उति वेला । यदि त्यति नै समय दुःखमय भएको भए त्यो युगौँयुग लामो जस्तो हुँदो हो ।
तर एकदिन लोकप्रिय दैनिकको मध्य पृष्ठ तिर पल्टाउँदै जाँदा म दङ्ग परेँ किनभने त्यहाँ अन्तर्वार्ता दिने व्यक्ति अरू कोही नभएर मेरै एकजना प्रिय विद्यार्थी मकर शर्मा थिए जो छोटो समयमा नै ऊर्जा क्षेत्रमा लगानी गरेर देशकै एउटा सफल व्यापारी भएको रहेछ । मलाई धेरै गर्व लागेकाले फेसबूकबाट बधाई दिएँ । उसले तुरुन्तै हार्दिक आभार जनायो ।
० ० ० ०
दैवको लीला अपरम्पार छ । घमाइलो दिन जस्तो मेरो जिन्दगीमा निराशा र दशाको बादल मडारिन थाल्यो मेरा श्रीमानको एक दुखान्त निधनपछि ।
बङगलादेशमा एउटा बिरामीको जटिल अपरेशन सफल गरेर फर्कंदै गर्दा उहाँ त्यही एयरलाइनको हवाई दुर्घटनामा परेर महाप्रस्थान गर्नुभएछ । लास चिन्ने अवस्थासम्म थिएन सबै खरानी भएछ । काल बाजा बजाएर आउँदैन भनेको सही रहेछ । जीवनभर पतिव्रता भनेर कहलिएकी म निकै हप्तासम्म टोलाएर बसेँ खाना पनि खाइनँ । पीर र शोकले सुकेर पराल जस्तै भको थिएँ । धेरैले सान्त्वना दिए – “यस्तै हो दुनियाँ” । अनि “श्रीमान् टोकुवा” भनेर धारे हात लाउने पनि कोही निस्किए । आखिर यो समाजमा विविध खालका मनुवाहरू जो छन् ।
सती जानु नपरे पनि, देशमा महिला अधिकारका कानूनहरू स्थापना भए पनि एकल नारीको लागि समस्या भनेको रही नै रहनेछन्, समाजले दिई नै रहनेछन् जुन मैले भोगेँ । हुन त आकाश जमीनको फरक छ हजुरआमाहको र मेरो भोगाइ । तर पीडा…
मन मान्दै मानेन, श्रीमानको मृत्युलाई स्वीकार गर्दै सकेन । छोराछोरीले पनि निकै सम्झाए उति वेला । शोकको घडीमा मेरा केही विद्यार्थीहरू पनि आएका थिए सान्त्वना दिन । त्यो हूलमा मकर पनि थियो । उसले पनि अरूले जस्तै गहिरो समवेदना र सान्त्वना दिएर गएको थियो ।
समय बित्दै जाँदा नजानिँदो किसिमले मकर र मेरो भेट बाक्लिँदै गयो । ऊ कहिले कलेजमै आउँथ्यो, कहिले मन्दिरतिर । उसको एउटै प्रतिक्रिया हुन्थ्यो, “तपाईंलाई एक्लोपनाले गाँज्छ भन्ने मलाई चिन्ता छ, यही कारणले मैले विधुर हजुरबा गुमाएको छु ।” पछि ऊ मेरा छोराहरू नवीन र गुन्जनका पनि साथी जस्तो भयो । उनीहरू नेपाल आएका वेला बरोबर मेरै घरमा भेट बाक्लियो ।
केही महीना पहिले मकरको आग्रहमा केही साथीहरू सहित हामी साउथ इन्डिया घुम्न गएका थियौं एक हप्ताका लागि । एकदिन बिहानको भोजन गर्दैगर्दा मैले कौतुहलता जनाएँ, “साँच्ची तिमीले बिहे चाहिँ किन गरेनौ ?”
धेरै बेरपछि उसले लज्जाउँदै भन्यो, “व्यापारी भएपछि फुर्सद नै नहुने रहेछ म्याम !”
मलाई हाँसो उठेको थियो शुरूमा तर ऊ सिरियस थियो । पछि हामी अरू नै विषयमा कुरा गर्न थाल्यौं । बल्ल ऊ खुल्न थाल्यो । बेलुकी हामी आ-आफ्नो कोठामा जाने वेलामा होटेलको बेराले एउटा चिठी हातमा थमाइदियो । भोलिपल्ट मिनाक्षी मन्दिर जाने योजना सहित म सुत्न गएँ । तर मन मानेन- त्यो पत्र कसले लेखेको रहेछ खोलेर पढ्न मन लाग्यो ।
चिठी मकरको थियो, हतार हतार चिठी खोलेर हेरेँ :
कृपया पत्र पढेपछि रिसानी माफ,
कक्षा ६ मा भर्ना भएको वर्ष जब मेरो नजर हजुरमा परेको क्षणदेखि, म हजुरको अनुग्रह, बुद्धिमत्ता र आकर्षणले मोहित भएँ । यसअघि मैले कसैप्रति यस्तो चुम्बकीय आकर्षण महसूस गरेको थिएनँ । भावनात्मक रोलरकोस्टर यसरी हुइँकिन थालेका थिए कि मैले आफ्ना भावनाहरूको तीव्रता बुझ्न निकै संघर्ष गर्नुपर्यो ।
मैले यो धारणा बुझ्न सकिनँ कि मेरा भावनाहरू झुटा थिएनन् । हजुरले बोलेका हरेक शब्द, कक्षामा दिनुभएको हरेक मुस्कानले तपाईंको प्रशंसा बढायो । तर मलाई थाहा थियो आफ्ना भावनाहरूलाई अभिव्यक्त गर्नको लागि एउटा आउटलेट खोज्दै गरे तापनि सामाजिक मान्यता र तिनीहरूको सम्बन्धको नैतिकताले मेरा इच्छालाई अकल्पनीय बनायो ।
प्रत्येक दिनले मेरो अपरिपक्व प्रेमको तीतो वास्तविकतालाई गलाउन र फटाउन सकेन झन् बलियो बनायो मात्र । अपरिपक्व प्रेमको समुद्रमा डुब्दै, मैले तृष्णाको नियन्त्रण गर्न खोजेँ हरपल । समाधान खोज्दा पनि डर लाग्ने, या त अगाडि बढ्नको लागि प्रचुर बल चाहियो वा आफ्ना भावनाहरू अस्वीकार गर्ने साहस । तर अस्वीकृतिको डर र सम्भावित नतीजाहरूले मेरा विचारहरूलाई सदैव त्रसित बनायो ।
एकतर्फी रोमान्टिक भावनाहरू पीडादायी तर गहिरो अनुभव हुनसक्दो रहेछ मेरो अटूट स्नेहको यात्रा आन्तरिक संघर्षहरू, पीडादायी मौनता, र यस्तो एकतर्फी प्रेमको साथमा हुने भ्रमहरू । एउटा टप सेकिरेट भनेको हजुर नै मेरो पहिलो क्रस हो, त्यसैले आजसम्म कुनै केटीसँग नजर जुधाएको छैन । म हजुरलाई अद्यापि भित्री हृदयदेखि नै माया गर्छु । सत्य त के हो भने तपाईं बिनाको मेरो जीवन मैले कहिल्यै कल्पना नै गरेको छैन ।”
मलाई अति रीस उठ्यो र त्यो च्यातच्युत पारेर डस्टबिनमा फालिदिएँ ।
“त्यसको यो हिम्मत, के सोचेको छ आफूलाई ?” अहिल्यै गएर गाला चड्काइदिऊँ जस्तो लाग्यो । तर मित्रहरू ब्यूँझिने डरले रोक्किएँ ।
भोलिपल्ट मलाई ननिको लागिरह्यो । त्यसैले मन्दिर घुम्दा खासै रमाइलो भएन ।
० ० ० ०
नेपाल फर्केपछि मैले उसलाई फोन गरेरै झपारेँ, “तिम्रो दिमाग त खुस्किएन, कस्तो पाप सोचेको ?”
ऊ नाजवाफ फिस्स हाँसिरह्यो चूपचाप । मैले फोन राखिदिएँ ।
पछि यो कुरा जब मकरका अभिभावकहरूले पनि पत्ता लगाएछन् । उनीहरूले पनि खूब हपारेछन् ।
तर उसको जिद्दी छुटेन, “दुनियाँमा मैले मात्र यस्तो निर्णय गरेको हो र ? सया उदाहरणहरू बग्रेल्ती छन् त राजादेखि कलाकारसम्म” । उसले सम्झाउन खोजेछ, “आखिर चोखो मायालाई उमेर, जात र अरू कुराले छेक्दैन ।”
तर आफू भन्दा २०-२३ वर्ष जेठी एकल महिलासँग विवाह गर्ने कुराले छोरो बौलायो भन्ने सोचेर उनीहरू भिन्न बस्न थालेछन् ।
उसले पनि जिद्दी छोडेनछ, “पुरुषले चाहिं आफ्नो नातिनीको उमेरका सँग विवाह गर्दा केही भन्दैन यो समाज तर महिलाले चाहिँ उमेर कमको सँग गर्न किन नहुने ? हालका फ्रान्सका राष्ट्रपति म्याक्रोनको त कुरा छोडौँ नेपालमै हजारौँ पुरुष शिक्षकले महिला विद्यार्थीसँग घरजम गरेका छन् त ! फेरि विवाह भनेको भौतिक सम्बन्ध मात्र होइन बरु भावनात्मक बढी हो ।”
एक कान मैदान हुँदै यो कुरा मेरा छोराछोरी सम्म पुगेछ । मलाई लागेको थियो उनीहरू पक्कै पनि रुष्ट हुनेछन् । किनकि उनीहरूले त्यस्तो कुरा कल्पनासम्म पनि गरेका थिएनन् शायद । श्रीमान् बित्दा सती जानुपर्ने प्रथाबाट गुज्रेर आएको हाम्रो समाज पश्चिमी समाज भन्दा सयौँ गुणा पछाडि छ ।
तर म गलत रहेछु भन्ने बोध तब भयो जब मेरा छोराछोरीहरूले यस प्रस्तावलाई प्रश्रय दिँदै एकदिन हौस्याए, “हामी आ-आफ्नो काममा व्यस्त हुन्छौं । यदि साथी भएन भने आमा एक्लिनुहुन्छ र झन् चाँडै बुढी हुनुहुनेछ, के हजुरको आफ्नै जीवन छैन र ?”
हो, म अहिले ५५ वर्षकी एकल महिला एकाध वर्षअघि बुढाको बङ्गलादेश एयरलाइन्सको दुर्घटनामा मृत्यु भएको हो । ३ जना छोराछोरीकी आमा । अनि २ जना नातिनातिनाको हजुरआमा । सरकारी सेवाबाट निवृत्त हुन अव केवल ५ वर्ष मात्र बाँकी छ ।
यो उमेरमा मेरी आमा निकै वृद्ध हुनुहुन्थ्यो किनकि ३० वर्षे तरुनी अवस्थामा नै पिताजीको देहान्त भएको थियो । केहीले फकाउन आएता पनि भुराहरू नहुर्काई त्यस्तो कदम लिनु भएन । अहिले उहाँ छोराबुहारीसँग बडो निसास्सिएर बस्दै आउनुभएको छ । धार्मिक क्रियाकलापहरू र भजन कीर्तनहरूमा मात्र सरिक हुन थालेको समय हो ।
मैले पनि त्यस्तै योजना बुनेको थिएँ पहिले, अब के गरूँ ?



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

