दर्शक याने कि पाठक वृन्द ! तपाईं यो घटनालाई भुलेर पनि एक्काइसौँ शताब्दीमा हेर्दै हुनुहुन्छ भने अथवा पढ्दै हुनुहुन्छ भने अलमलिनुलाई अस्वाभाविक नसम्झिनु होला ।

कुरै त्यस्तो छ कि अथवा भएकै त्यस्तो छ कि तपाईंको सदीका मान्छेले कसरी पत्याउनु र । जनसंख्या र भूगोलको आधारमा त्यसअघि ठूलो भनिएका अमेरिका, चीन अनि सोभियत संघ र भारत जस्ता देश सबै धर्तीको एक्लो नक्शामा रूपान्तर भएको पनि हजारौं वर्ष भएको थियो । त्यस अघिको विगतलाई इतिहास भनेर पढ्दा र समयका मिति र गुज्रिएका अनेकौं व्यक्तिका नाम सम्झिँदा तपाईंको टाउको दुखेको हुनुपर्छ । त्यसैले तिनै कुरा उचालेर म फेरि थप दुखाउन चाहन्न । कुरा गरौं आज र अहिलेको जहाँ म रहेर तपाईंलाई यो कुरा लाइभ भन्दै छु । तपाईंलाई लाग्न सक्छ म एउटा विज्ञान कथा पढ्दै छु । त्यो भ्रम हो । भ्रम तोड्नु नै कथाको सार हो ।

हामी अर्थात् म भनूँ, तपाईं भन्दा धेरै पर छु । म एउटा कुरामा निकै दुखी छु । यहाँ अहिले यसरी बोल्नु पनि मेरा लागि दुखको कुरा हो ।  तपाईंले बुझ्ने त्यो युगको भाषामा बोलिरहनुपर्दा अर्को थप दुःख हो । फेरि पनि जानकारी दिनु कर्तव्य सम्झिने त्यो वेलाको भावना दुई सय पुस्ता हुँदै म सम्म पुगेकोले त्यो भाव मर्न नदिन यो कुरा बताउँदै छु तपाईंकै भाषामा ।

त्यो वेला तपाईं, हाम्रो देशको नाम नेपाल थियो । हाम्रो देशले पनि अन्तरिक्षमा एउटा स्याटलाइट पठाएको थियो । दुई किलोको हा हा… हाँसो लाग्छ यो कुरा सम्झेर भन्दा पनि जबकि आज पृथ्वी जस्तै र पृथ्वी भन्दा अझै ठूलो स्याटलाइटबाट म तपाईंसँग यी कुरा भन्दैछु । त्यो न त हीनताबोध हो न त सस्तो हाँस्यविनोद । त्यो यथार्थ थियो । र केही दिनमा आफ्नो उपस्थिति पनि गुमाएको थियो रे त्यो भू उपग्रहले । दुई किलोको भू उपग्रह हा हा हा । खैर छोडौं त्यो कुरा इतिहास कोट्याउँदा खिल्ली लाग्न सक्छ तपाईंलाई ।

आजको यस स्याटलाइटमा पुग्ने चेष्टा चाहिँ त्यही सदीमा भएको थियो । त्यसैले पनि पृथ्वीको  एक्काइसौँ सदी आज यहाँ नवौं सदी हुनुमा महत्त्वपूर्ण छ । त्यस वेलाको जग र उन्नतिको जस भव्य तरीकाले मनाइन्छ यहाँ । कोभिड १९ भन्ने सामान्य रोगले लाखौं मान्छे मरेका रहेछन् त्यो वेला । त्यसैको स्मृतिमा यहाँ एउटा कोभिड ह्युमन  जु बनाइएको छ जहाँ ती मरेका मान्छेको आत्मालाई शान्तपूर्वक  राखिएको छ । भोगाइ नसकिँदै जीवन गुमाएका अन्यहरूको हकमा पनि विशेष व्यवस्था मिलाइएको छ । त्यस वेलासम्म यस्तो सुविधा सम्पन्न जीवनको दिन चर्यालाई स्वर्गको नामले पुकार्थे मान्छेहरू । पुनर्जन्मको भ्रम बाँडेर स्वर्ग-नर्क बीच ठूलो दिवार लगाइएको थियो । स्वर्गलाई हुनेखानेको स्थान र नर्कलाई हुँदा मात्रै खानेहरूको ठाउँ भनेर बताइन्थ्यो रे । त्यो इतिहास आज पनि यहाँ जोकको रूपमा खूब सुन्न पाइन्छ ।

त्यो वेला आठ-नौ ओटा जति ग्रह र अन्य सानातिना ग्रह पत्ता लाउनु, आवश्यक सामानको उपलब्धि हुनु, यातायातमा जहाज हेलिकप्टरमा उड्नु, बुलेट रेल हुइँकिनु पनि विकास भनिन्थ्यो रे भनेर बच्चाहरू हाँसो गर्छन् यहाँ ।

त्यो वेलासम्मका उत्पादन र उत्पादनमा उपयोगमा आउने मुख्य साधन कम्प्युटर र त्यसैबाट सञ्चालित रोबर्टहरू खूब रोचक थिए । मानौं तिनीहरूको प्रयोग नै संसारको स्वर्ग हो । वेलाको संयोग मान्छेमा एउटा भर थियो । साधनमाथिको भर । हरेक उत्पादनमा मान्छे लालायित हुन्थे । पृथ्वीभित्र एक अर्कोमा जोडिन र काम चलाउन इन्टरनेटको खूब प्रयोग हुन्थ्यो रे मोबाइल फोनहरूमा, हो ?

म त सोध्दै पो रहेछु.., भुलेछु यो समयान्तर । तपाईं हजार वर्षअघि र म पछि छु तपाईंको भाषामा । तर हाम्रो भनाइमा हामी हजार वर्षअघि छौं तपाईं पछि हुनुहुन्छ । जे होस् तपाईंले दिएको उत्तर मसम्म त्यसैकारण आइपुग्दैन ।

मलाई थाहा छ तपाईं अहिले केवल सम्प्रेषणको युगमा हुनुहुन्छ । ग्रहण गर्न आफैंले पढ्नुपर्ने युगमा हुनुहुन्छ । तपाईंले जवाफ नै दिनुभयो भने पनि मैले धेरै पछि थाहा पाउनेछु । समयान्तरले यान्त्रिक दुनियाँलाई सधैं हराएकै हुने रहेछ । के तपाईं सोच्दै हुनुहुन्छ समयान्तर र यान्त्रिक कुराको बारेमा ?

धेरै अघि समयचक्रका बारे बुझाउन पनि मैले तपाईंलाई खबर गरेको थिएँ । त्यो मनन गर्नुभयो होला । आज अलि भिन्न प्रसङ्ग छ ।

हो सोच्नुपर्ने यही हो ।  यही सोचले यहाँसम्म आएको हो यो कुरा यो स्थान अर्थात् “बेस्ट जोन फर ह्युमन” ब्रह्माण्डको एक छेउमा रहेर पनि यहाँका जीवले हामी पच्चीसौं शताब्दीसम्मका पृथ्वीवासीलाई अदृश्य शक्ति बनेर निर्देशन गरिरहेका थिए । त्यो भन्दा अझै हजारौं वर्ष अघिदेखि मानिसहरूमा विभिन्न धर्म फैलाएर एउटा धार्मिक शासन पद्धति नै सञ्चालित थियो । ईश्वर, देवता र भगवान भाषै पिच्छे भिन्न बनाएर धेरै  समुदायमा विभाजन भएको थियो । विज्ञानका अनेक आविष्कारलाई औलो उठाएर आखिर मर्नु छ भन्ने भनाइलाई चरितार्थ पार्थे यहाँका हाम्रा अहिलेका छिमेकीका पुराना पुस्ताले । आज हामी यहाँ मिलेर बसेका छौं । उनीहरू पनि हामी जस्तै छन् । हामीहरूको चेतनामा आएको विकास र उनीहरूसँग सम्बन्ध जोडिए पछि आज यो युनिभर्स साझा भएको छ । कसैप्रति वैरभाव या युद्ध हुने सम्भावना छैन । यस्ता जीवको विकास भएका अन्य ग्रहको खोज नै अहिलेको प्रमुख काम हो । उसो त तपाईंलाई धेरै जिज्ञासा उठ्लान् । हाम्रो यस मानव निर्मित ग्रहका बारे । यसको परिकल्पना पनि अहिले तपाईं भएकै युगका दार्शनिक तथा वैज्ञानिकले नै गरेका थिए सैद्धान्तिक रूपमा । जसरी टाइम सेट र टाइम मेशिनको अवधारणा आएको थियो ।

बेस्ट जोन फर ह्युमन सौर्य परिवारकै सदस्य भएर पनि पृथ्वीबाट अदृश्य हुनु नै यसको प्रमुख विशेषता हो । यहाँ आइपुगेका हामी तमामको अहिलेको उद्देश्य नै त्यो हाम्रो ऐतिहासिक भूमी पृथ्वीको सुख र शान्तिका लागि काम गर्नु हो । यहाँ हामी आफ्ना लागि देखिने काम गर्नुपर्ने अवस्थामा छैनौं । अझ भनूँ शारीरिक मेहनतको काम गर्नु पर्दैन । ज्ञानको दायरा समान भएकोले यहाँ कोही विद्वान र कोही अनपढ हुँदैन, छैन । यहाँको अर्को विशेषता यहाँ कुनै प्रतिस्पर्धा नहुनाले आर्थिक चलखेल र विनिमयको आवश्यकता छैन । हरेक वस्तुको पर्याप्त उपलब्धता छ । अभावरहित समाज यहाँको अर्को विशेषता हो । अन्य मानव निर्मित ग्रह बनाउनु र नयाँनयाँ ग्यालेक्सी पत्ता लगाएर त्यसबाट मानवीय हितको दायरा फराकिलो बनाउनु हाम्रो यस युग र समाजको प्रमुख र साझा कर्तव्य हो । यहाँको अवस्थाले तपाईं कतै साम्यवाद वा आदिम साम्यवादको कल्पनामा हुनुहुन्छ कि ? त्यसो होइन यो आर्थिक र वैज्ञानिक उतारचढाव देखि निकै माथिको अवस्थामा छ । राजनीति र प्रतिस्पर्धाको यो समाजमा कुनै उपस्थिति नै छैन । जसले समाजलाई निश्चित समयका लागि मात्र बाटो देखाउन मात्रै सक्छ । समयलाई डोर्‍याउन सक्दैन भन्ने बुझाइ धर्तीमै बुझेर आएको पुस्ता मात्रै छ यहाँ ।

यहाँसम्म आइपुग्नुमा समय र यन्त्रको ठूलो भूमिका छ । त्यो कुरा भन्न त्यही समयदेखि अर्थात् एक्काइसौँ शताब्दीदेखि नै जोडिएर हेर्नुपर्छ । कम्प्युटरको विकासले नै हामीलाई यहाँसम्म ल्याउन  सक्यो । मेरो बोली तपाईंको कानसम्म पुग्न सकेको छैन अझै तपाईं आँखाले हेरेर पढ्दै हुनुहुन्छ । हामी अझै खोजमै छौं । मैले भन्न चाहेको कुरा तपाईंमा सिधा ट्रान्सफर्मर होस् । सैयौं वर्षअघि सफल भएको यो कुरा अहिले तपाईंमा लागू हुन सकेन केवल एउटा कारणले, त्यो हो तपाईं अहिले एक्काइसौँ शताब्दीमा हुनुहुन्छ ।

यन्त्र त्यहाँ पनि छ यहाँ पनि तर प्रयोग क्षमतामा अन्तर छ मित्र !

मेरो हजारौं पुस्ता अघिको हुनुहुन्छ जिजु, बराजु भन्नुपर्ने है, मित्र भनिदिएँ ।

इतिहास नढाँटी भन्न मित्रताको पुल बाँधिएको हो । अन्यथा नलिनु होला  ।

त्यो वेला धर्तीमा रोबर्टको निकै प्रचलन थियो । ती रोबर्टहरू दिनानुदिन बलिया हुँदै थिए । कम्प्युटर, मोबाइल र इन्टरनेट सर्वप्रिय वस्तु थिए । तर वैज्ञानिकहरू दिनरात सबै कुरा गर्नसक्ने यन्त्र अर्थात् रोबर्ट बनाउन तल्लीन थिए । मोहनराज शर्मा भन्ने लेखकले यमा भनेर नामाकरण गरेर कथा लेखेका थिए रे । अनि  जोन म्याकार्टी र स्टेफिन्स हकिन्सले भने झैं  एआइ अर्थात् आर्टिफिशियल इन्टेलिजेन्टको खोजमा रातोदिन लागिरह्यो विज्ञान । मान्छेले सोच्नु मात्र पर्थ्यो, समय आउनु मात्र पर्थ्यो सोचेको कुरा एक दिन पूरा हुन्थ्यो । त्यस अघिका मूर्खतापूर्ण युद्धले केही देशहरू बलिया थिए । उनीहरूले आफ्नो सुरक्षाका लागि विनाशकारी अणुबम बनाएका थिए । आइन्स्टाइन माथि यही आरोप लगाइएको थियो । ग्यालिलियोलाई त पृथ्वी गोलो छ भनेर थाहा पाएकै भरमा धन्न ज्यान लिइएको । पछि जेलसम्म बसेर छुटे बुढा ।

नेपाल जहाँ अहिले तपाईं हुनुहुन्छ त्यहीं पनि त महावीर पुन भन्ने मान्छे थिए । जसले खेलौना जस्तो ड्रोनमा औषधी बोकाएर वल्लो डाँडोबाट पल्लो डाँडाको बिरामीको उपचार गर्थे  रे । अहिले त धर्तीमा मान्छे नै स्वचालित ड्रोनमा उड्छन् । हरेक कुराको समय हुने रहेछ । त्यो समयका ती अनमोल वैज्ञानिक निधिहरूका सन्तति अहिले पनि खोज अनुसन्धानमा छन् । हामी नारदीय प्रवृत्तिका नेपालीलाई यस्तै कुरा सम्प्रेषण गर्न कर्तव्य तोकिएको छ । उसो त यहाँ कोही  कारिन्दा र कोही मालिक हुँदैन, कोही बलियो र कोही शक्तिशाली हुँदैन । त्यो कुरा त धर्तीमा इतिहास भैसक्यो ।

कुरा रोबर्टमा गएर अल्झिएको थियो । म्याकर्टीको सोचलाई पूर्णता दिन लागिपरेका वैज्ञानिकका दशौं पुस्ताले एआइ रोबर्ट बनाइछाड्यो । त्यसमाथि थप प्रयोग र संशोधन हुँदै गयो । जुन तपाईं, म भन्दा धेरै शक्तिशाली भएर अघि बढ्यो । शुरूमा निर्जीव भनेर बनाइएको रोबर्ट पछि जीवित झैं प्रोडक्टिभ हुन थाल्यो । आफ्नो संख्या पर्याप्त बनाउन रोबर्ट आफै सक्षम हुन थाल्यो ।

दिनानुदिन रोबर्ट थपिए पछि मानिसहरूले काम गर्न नपर्ने भयो । रोबर्ट आफैं सक्रिय भएको देखेर मानिसहरू शुरूमा त निकै खुशी भए । तर समय बित्दै जाँदा खराबी पनि देखिन लागे । मान्छेको रोजगारी गुम्यो । उनीहरू अल्छी र मोटा हुन लागे । धर्तीमा को मान्छे हो को रोबोट हो छुट्याउने आधार नै मोटोपन बन्यो । सुन्दा अचम्म लाग्ला सत्ताइसौं शताब्दीमा आधा जनसंख्यामा हरेक व्यक्तिको औसत तौल दुई सय किलो भन्दा माथि थियो रे ।

ती तथ्यहरू आज पनि यहाँ हामीसँग सुरक्षित छन् । तपाईंलाई देखाउन त्यहाँ उचित यन्त्र नभएकोले म मौखिक वर्णन गर्दै छु ।

समय बित्दै थियो । धर्तीमा रोबर्ट साम्राज्य चल्दै थियो । हरेक देशको एउटा मात्र उद्देश्य थियो – शक्तिशाली रोबर्ट भित्र्याउनु या निर्माण गर्नु । उन्तिसौं शताब्दीमा त रोबर्टमा मानवीय चेतना समेत भर्न सफल भए वैज्ञानिकहरू । मान्छेको चेतना रोबर्टमा प्रवाहित भएपछि र शक्तिशाली भएपछि के थियो र रोबर्ट युद्ध हुन थाल्यो । त्यो युद्धमा मेरो पछिल्लो पाँचौं पुस्ता मंगलग्रहमा बस्ती बिस्तार गर्दै थियो । उता धर्तीमा युद्ध शुरू भयो । रोबर्टकै सुरक्षामा रहेका अणुबम एक्कासि विस्फोट भएपछि धर्तीमा सोच्नै नसकिने दुर्घटना भयो । कुनै देशका जनता र कुनै जीवको ज्यान बचेन । सबै कुहिएर सकिन पनि पूरै दश वर्ष लाग्यो । मंगल ग्रहबाट  हामी धर्तीमा पुग्दा सम्पूर्ण धर्ती उजाड थियो । त्यो उजाड हुनुको प्रमुख कारण मानिसको ज्ञान र विवेक समेत कप्युटर रोबर्टलाई हस्तान्तरण गरिनु थियो । कम्प्युटर केवल कामदार हो फगत मेशिन । त्यसको प्रयोगको नाउँमा त्यसमाथि मान्छेको प्रयोग नै अन्ततः घातक बन्यो ।

महोदय तपाईंलाई लाग्ला यो भयावह स्थिति विगत हो कि भविष्य ?

हो मित्र यन्त्रको कुरा अघि सकियो, यो हो समयान्तर । यो मेरो लागि विगत हो भने तपाईं अहिले एक्काइसौं शताब्दीमा हुनुहुन्छ नि त्यसैले तपाईंका लागि भविष्य ।

स्पष्ट हुनुभयो ?

आउनुस्  । त्यस पछिको कुरा गरौं । रोबर्ट त मंगल ग्रहमा पनि थिए तर त्यहाँ सीमित कुरा मात्र संयोजन गरिएका रोबर्ट थिए । त्यसैले ती यति खतरायुक्त थिएनन् । उनीहरूलाई मान्छेको निर्देशन अनिवार्य थियो ।

धर्तीको विनाश भएपछि यहाँ मानव र अरू जीव मात्र होइन ती रोबर्टहरूको पनि अन्त्य भयो । विस्फोटका कारण  एक्कासि बदलिएको मौसमले कतै अधिक वर्षा कतै सुख्खा हुनाले पर्यावरण पूरै बिग्र्‍यो । शक्तिका श्रोत बिजुली र पेट्रोलियम इन्धनमा आधारित सबै कुराको अन्त्य भएपछि रोबर्टको समेत अन्त्य भयो ।

शान्त धर्तीमा हामी अवतरण हुँदा केही भ्यागुता र कतै गँड्यौला सम्मको विकास देख्दा पनि हामी हर्षित भएका थियौं । कम्तीमा केही वर्षमा धर्तीले आफ्नो रूप फेर्नेछ र हराभरा हुनेछ । समयले त्यो दिन पनि ल्यायो । आज धर्ती र हामी बसेको यो बेस्ट जोन फर ह्युमन र धर्ती उस्तै छ । यहाँ र धर्तीमा कसैको पनि डर छैन । त्यो वेलाको ईश्वर अनि मृत्युको पनि । आज हामीसँग त्यो वेलाका मृत्यु भनिने अदृश्य शक्तिसँग सहकार्य हरेक क्षेत्रमा छ । यहाँ र त्यहाँ पनि मानिसहरू एक्कासि मर्दैनन् । अरू विकासक्रम त समयसँग निरन्तर चलेकै छ । तर मानिसमा एउटा कुरा समान छ त्यो हो – ज्ञान । हिजोका रोबर्टमा प्रयोग भएको ज्ञान आज मानिसमा पुर्‍याउनमा तिनै वैज्ञानिकका पछिल्ला पुस्ताको ठूलो देन छ । त्यसैले त आज म तपाईंसँग यति कुरा गर्न सक्दैछु ।

तपाईंको युगको व्यस्त मान्छे यति सुनेर समय दिनुभयो धन्यवाद ! थप जिज्ञासा राख्नुभयो भने सम्झिनु हुनेछ । म थप कुरा राख्ने नै छु ।