
..उसलाई मैले खासै चिनेको पनि थिएन । चिनेकै भए पनि अर्काले जेसुकै गरोस् के चासो गर्नु भन्ने सोचेर म मेरै धुनमा फेसबूक चलाउँदै थिएँ । वास्ता नगरूँ भन्दाभन्दा पनि एउटै कोठामा भएकाले उसले बोलेको सबै कुरा सुनिन्थ्यो ।
म ढोका नजीकैको हरियो प्लास्टिकको कुर्सीमा बसेर बाहिरको दृश्यमा मोहित हुँदै मोबाइल स्क्रीनमा नै अझै केन्द्रित हुँदै गएँ । फेरि पनि उता पश्चिमपट्टिको कुनामा गलैंचामा बसेको भाइले “पख् पख्, हान्छु हान्छु, भेटें भने बाँच्दैनस्, अरू कहाँ छन् ?” यस्तै यस्तै बोलेको आवाजले मेरो कानमा एक थप्पड लगायो । वास्ता नगरूँ भन्ने मानसिकता बनाए ता पनि अब भने मलाई त्यो भाइको व्यवहारप्रति शंका लाग्यो । यहाँ ठूलै गडबडी हुँदैछ भन्ने कुरामा मेरो मानसिकता पुगिहाल्यो ।
कहिलेकाहीं बाटोमा भेटिने एक्लै बरबराउँदै हिंड्ने मानसिक बिमारीहरूको दृश्य मेरो आँखामा एक पछि अर्को गर्दै तँछाडमछाड गर्न थाले । अझै उनीहरूको रूप र यो भाइको रूपको तुलना गरेर यो यसै हो भन्ने कुराको फैसला गर्न तुरुन्तै मेरो दिमागले दुई ओटा वकिल हायर गर्ने निर्णय गर्यो । आँखा र कानले सम्पूर्ण सबुत एकट्ठा गरेर दिमाग समक्ष पेश गरे । कानले पेश गरेका सम्पूर्ण सबुतहरूले उक्त भाइलाई अर्ध पागल, मानसिक सन्तुलन गुमाएको कुरामा जिकिर गर्यो ।
आँखाको सबुतहरूको सुनुवाइ हुने बखत उक्त केटो एक्लै बरबराएको नभएर इयरफोन कानमा लगाएको र मोबाइल स्क्रीनमा हेरेर अन्य साथीहरूसँग फ्री फायर खेलेको प्रमाण भेटिन पुग्यो । यही सबुतलाई आधार मान्दै उक्त केटाको मानसिक अवस्था ठीक भएको कुरा दिमागले फैसला सुनाएपछि म आश्चर्यचकित भएँ ।
भर्चुअल दुनियाँको असर बारे थाहा पाएँ । सिटिङ रूममा बाबा, ममी र दिदीहरूसँग रमाउँदै लुँडो खेलेको याद आयो । स्कूल पढ्दा एक बजेको टिफिन टाइममा साथीहरूसँग क्यारेम बोर्ड खेलेको याद आयो ।
… यस्तै यस्तै धेरै कुरा दिमागमा एक पछि अर्को गर्दै कुस्ती गर्न थाले । आउने पुस्ताको भविष्य के होला भन्ने चिन्ताले मेरो मानसिकतामा जोड तोडले हिर्काउँदै गयो । पछि मेरा छोराछोरीहरू पनि कोठाको एउटा कुनामा बसेर मार्छु, हान्छु भन्दै बरबराउन थाले भने ? परिवारका सदस्यसँग कुनै वेला पनि इन्टर्याक्सन गरेनन् भने ? यसरी भर्चुअल तरीकाबाट एक्लै एक्लै बरबराउँदा गेम हारेर अपोनेन्टलाई साँच्चिकै काटे, मारे भने ?
यस्तै यस्तै कुराहरूले मेरो दिमाग भरिएर आयो । नशाहरूमा रगतको मात्रा वर्षा याममा खहरे उर्ले झैँ एकाएक बढ्दै आयो । हात-गोडा सल्याकसुलुक भएँ । मेरो शरीर कोभिड लागेको बिमारीको भन्दा भयानक विक्षिप्त बिमारी भयो । म बिरामी भएको कुरा उता पल्लो कोठाको काकाले थाहा पाउनुभएछ । त्यसपछि मेरो घरमा खबर गरिदिनु भयो । त्यो वेला सम्म म पूर्ण होश मै थिएँ । मैले सबैको कुरा सुनिरहेको थिएँ ।
एकाएक धेरै जना जम्मा हुँदै गए तर मेरो वरिपरि कोही आएन । सबै जनाले म माथि शंकाको तीखो भाला गाडे । मैले म ठीक छु भन्दाभन्दै पनि खै कसले एम्बुलेन्स बोलाइदिएछ । एकैछिनमा एम्बुलेन्स आइपुग्यो । मैले म अस्पताल जान्न भन्दा पनि मलाई जान बाध्य बनाइयो। स्पष्टै भन्नुपर्दा मलाई जबर्जस्ती एम्बुलेन्समा कोचियो । अब मेरो मानसिकता झन विक्षिप्त हुँदै गयो । म धेरै सोच्दा सोच्दै बेहोस भएछु । मलाई अस्पताल पुर्याएर भ्यान्टिलेटरमा राखिएछ । अब मलाई के हुन्छ मलाई कसरी थाहा होस् ?
पछि होश खुलेपछि मलाई सघन उपचार कक्षमा सारेर डाक्टरहरूले मेरो बुबालाई बोलाउन एकजना नर्सलाई पठाउनुभयो । बुबालाई बधाई दिंदै डाक्टरले भन्नुभयो । “भगवानलाई धन्यवाद दिनुस् तपाईंको छोरालाई कोभिड भएकै रहेनछ । अब एक चोटि साईक्याट्रिक डाक्टरको सल्लाह लिएर घर लैजान सक्नुहुन्छ ।”
यो कुरा मैले पनि धमिलो धमिलो सुने पनि बुझिहालें । अब मलाई फेरि अर्को नर्कमा फसाइँदै छ भन्ने बुझेपछि मैले असाध्यै जिकिर गरेर घर जाने निर्णय गरें । अस्पतालका प्रत्येक शैय्या मलाई नर्क नै लाग्छ ।
जिन्दगीको कुनै घडीमा अस्पताल जान नपरोस् भन्ने चाहन्छु म । म मानसिक रूपमा ठीक छु भन्ने कुरा सबैलाई बताएपछि घर लगे । घर पुगेपछि आमालाई देखिनँ । सबैसँग सोधें । कसैले पनि केही भन्न खोजेनन् । सबै जना मुखामुख गरिरहेका थिए । सबैका अनुहारहरूले केही कुरा भनिरहेका थिए तर अस्पष्ट, छानामा एन्टिना नमिलेर झ्यारझ्यार आएको टिभी च्यानल जस्तो । घरीघरी फुत्त केही कुरा बुझिएला जस्तो अनि फेरि उही कालो मिर्मिरे पर्दा ।
धेरै जिद्दी गरेपछि भावुक हुँदै त्यही अर्ध परिचित भाइले मुख खोल्यो, “दाइ ! तपाईंलाई एम्बुलेन्समा हालेर अत्यन्तै पिडादायक अवस्थामा अस्पताल लगेदेखि नै आमा बेहोश हुनुभएको थियो । तपाईंले भ्यान्टिलेटरमा आफ्ना अन्तिम सास लिंदै हुनुहुन्छ भन्ने खबर पाएपछि आमाले पीडा सहन सक्नु भएन ।”
यत्ति सुनेपछि मेरा खुट्टाहरू थर्थर कामे । म अझ विक्षिप्त बन्दै गएँ । मैले त्यो वेलासम्म मानसिक सन्तुलन गुमाएको थिइनँ । यसअघि मलाई सानोसानो कुराहरूले खासै प्रभाव पार्दैनथ्यो तर यो घटनाले मलाई क्षतविक्षत तुल्यायो । मैले केही सोच्न सकिनँ । म जमीनमा ढलेर केके बरबराउन थालेछु ।
कसैले सम्झाउन लागेछन्, कसैले फुक्न, कोही पैंताला मालिस गर्न, कोही हत्केला । कसैको केही नचलेपछि फेरि त्यही अस्पतालको साईकियाट्रिक विभागमा लगेर मलाई भर्ना गरिएछ । डाक्टरहरूले अस्पतालसम्म मलाई पुर्याउने दाजुहरूलाई अगाडि नै भर्ना गर्नुपर्ने सल्लाह दिएको तर बिमारीलाई जबर्जस्ती घर लगेको कुरालाई लिएर गाली गर्दै सलाइन पानी चढाएपछि म होशमा आएँ ।
म होशमा आएपछि काकाहरूले सम्झाइ-बुझाइ गर्न लाग्नुभयो । तँ बुझ्ने मान्छेले यसरी चिन्ता लिएर हुन्छ, हेर त तेरो कारणले आमाको हालत के भएको छ भनेर उता कुनापट्टिको १४ नं. को बेडमा आमालाई देखाएपछि म रनभुल्लमा परें ।
इटहरी



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

