
शीर्षक तय छ । तर भित्री बेहोरा आइरहेको छैन । कथाको शीर्षक आकर्षक त छ तर ‘अन्त्य’ भनेर भन्नु किन र केका लागि त्यो तय भएको छैन । यो एउटा बानी माधवको पुरानो हो । कथामा केही नयाँ आओस् भनेर शीर्षक छानिसक्छ— जस्तै यै ‘अन्त्य’ । तर दुईचार हरफ लेखेपछि त्यसलाई मेट्ने गर्छ । विषय शीर्षक रुच्दैन । कारण स्पष्ट छ, कथा अगि बढ्दैन, बढिरहेको हुँदैन । यो शीर्षक र यसअन्तर्गक लेखिने कथाको पनि त्यस्तै अवस्था हुने हो कि भन्ने उसको मनमा डर छ । जे भए पनि शीर्षकलाई सार्थकता दिन कनीकुथी यस कथालाई उसले पूरा गर्ने अठोट लिएको छ ।
त, अन्त्य भन्ने कथामा एक जना जो छ पात्र ऊ आफै पनि हुनसक्छ । नभए उसले अर्को पात्र खडा गर्नु जरूरी छ । जरूरी भए पनि माधवमा अर्को पात्र को हुनसक्छ भन्ने बोध उदाएको छैन । आफै पनि पात्र हुन सकिन्छ । एउटा कथा उसले लेखी पनि सकेको छ— आफै पात्र आफै कथा । अब त्यसलाई दोहोर्याएर लेख्नु उचित छैन यद्यपि पाठकहरूलाई छलेर त्यस कथालाई नै विस्तारसाथ लेखेर अर्कै शीर्षक राखेर छपाउन सकिन्छ । त्यसले तर माधवको भित्री लेखनक्षमता सुक्दै गएको जनाउन त सक्छ साथै कथाकारको इमानदार लेखन गायब भएको जनाउ दिनेछ ।
त ‘अन्त्य’ यस शीर्षकका लागि उसले सोच्नुपर्ने भयो— केको अन्त्य ? सम्बन्धको कि, मित्रताको कि जीवनको ? अस्ति भर्खर एउटा मानिस जसलाई ऊ चिन्दथ्यो, उसको निधन अस्पतालमा भएको छ । त्यसतिर उसले सोच पुर्यायो । त्यो व्यक्ति कृष्णबाबु थियो । नाम अलि अप्ठेरो थियो, किनभने कृष्णबाबु लेख्न अलि टाइम खान्थ्यो । ‘कृ’ को ‘ऋ’कार छुट्न सक्थ्यो । ‘अशोक’, ‘नीरज’ लेख्न सजिलो हुन्थ्यो । उसले पहिले डटपेनले कागजमा कथाको खाका कोर्थ्यो, पछि क्म्प्युटरमा कथा लेख्न बस्थ्यो । कृष्णबाबु भनेर टाइप गर्दा अलि गल्ती हुने डर पनि थियो । तर कृष्णबाबुको निधन भएको थियो टाइप गर्दा गल्ती होस् वा नहोस् ।
निधन भइसकेको व्यक्तिका विषयमा गडबडी कुरा लेख्नु उपयुक्त छैन । तर ऊ कृष्णबाबुलाई चिन्दथ्यो । चिने पनि कृष्णबाबुको निधन भयो । अस्पतालमा । अफिसमा माधवको सहकर्मी थियो । यतातिर धेरै भइसकेको थियो ऊ बिरामी परेको । एकाएक के भयो भयो, एक दिन सुनियो कृष्णबाबु बेहोस भयो रे । जुन दिन ऊ बेहोस भयो माधव अफिसमै थियो । बिदामा त थियो बाबुकृष्ण तर सामान्य रुघाखोकीले होला घरै बसेको भन्ने भयो वा ससुरालीतिर गयो होला भन्ने भयो ।
तर यी दुई माधव र कृष्णबाबुका बीच एउटा योजना यस्तो थियो— बीचमा, परिवार लिएर चन्द्रागिरी डुल्न जाने । घरैबाट खाना–खाजा लिएर जाने । मानिसले जे चिताउँछ त्यो पुग्दैन भन्ने भयो माधवको मनमा यद्यपि सगरमाथा परिवारसहित बिनाअक्सिजन चढ्ने जस्तो महत्वाकाङ्क्षी योजना थिएन तैपनि चन्द्रागिरि भन्नु पनि पहाडै हो, पहाडकै टाकुरा हो । त्यहाँ तर केबलकारमा जान पाइन्थ्यो र सगरमाथा चढ्न यो सुविधा थिएन तैपनि दुवै ठाउँ सिजनमा मानिसहरूको जाम लाग्थ्यो, सगरमाथा भनेर मात्र के गर्नु ?
चन्द्रागिरिमा त्यस्तो के थियो र उनीहरू त्यहाँ डुल्न जाने भनिरहेका थिए ? तर त्यो कृष्णबाबुको निधनपछि स्थगित भयो । माधव अहिलेसम्म एक पटक पनि चन्द्रागिरि पुगेको छैन । यो अलि सुन्दा अनौठो लाग्न सक्थ्यो तर ऊ त्यहाँ जान पाइरहेको थिएन । चन्द्रागिरि त्यहीँ छ, जाउँला कहिले भन्ने सोच्थ्यो । सान्त्वनास्वरूप कृष्णबाबुकी पत्नीलाई ऊ र उसका पतिको केबलकारबाट चन्द्रागिरि जाने योजना बताएर दिवङ्गत आत्माको शान्तिका लागि चन्द्रागिरि डुल्न जाऊँ भन्न सक्तैनथ्यो । एकल महिलाप्रति सम्मानभाव राख्नुपर्छ भन्ने सामाजिक निर्धारण थियो । तपाईं र म चन्द्रागिरि जाऊँ भन्दाखेरि दुर्भावना व्यक्त हुन सक्थ्यो । पनि जीवित हुँदाखेरि नै त्यस्तो भन्न सकिन्नथ्यो ।
के उसले कृष्णबाबु जीवित छँदै उसकी पत्नीलाई चन्द्रागिरि डुल्न जाऊँ भन्ने साहस गर्न सक्थ्यो ? त्यस्तो प्रश्न नै उठ्दैनथ्यो । ऊ र ऊ भएर सपरिवार त्यता डुल्न जाने त भनेकै थिए तर व्यवधान भनूँ वा नियतिको खेल कृष्णबाबु हाम्रा माझ रहेनन् । उसले यस्तो सोच्यो— हाम्रा माझ रहेनन् । नत्र कहाँ गए ? मानिस मृत्युपछि कहाँ जान्छ ? यस प्रश्नलाई माधवले बलजफती आफूभित्र दबायो । यस्तो प्रश्नले दिवङ्गतप्रति खिसी गरेको ध्वनित हुन सक्थ्यो नभए दिवङ्गत आत्माप्रति शान्तिको कामना गर्नुको साटो पीडा पुर्याएको ठहर्ने थियो ।
तर अन्त्य भन्नुको एउटा सत्य पनि यही थियो— यस कथामा कृष्णबाबुको निधन भएको थियो । त्यसपछि उसले अगाडि सोच्न सकेन । सबैले थाहा नपाएको एउटा कुरो यो थियो, कृष्णबाबु एक कवि पनि थियो । कविता यस किसिमले ऊ लेख्थ्यो मानौं जीवनमा निष्ठापूर्वक गरिनुपर्ने त्यो कुनै गहन र पवित्र कर्म हो जसलाई समाजले सम्मान दिन्छ । त्यसैले ऊ आफ्ना छापिएका कविता अफिसमै लिएर आउँथ्यो । पवित्रता बोकेर आएझैं । यो आवश्यक थिएन, छापिएका कविता अफिसमै लिएर आउनु । प्रमोशनको सम्भावना बोकेका उसका कविता हुँदैनथे ।
छन्दोबद्ध कविता कृष्णबाबु लेख्दैनथ्यो । ती क्लिष्ट हुन्छन् भन्थ्यो । मुक्तछन्दका कविता चाह्यो भने जसले पनि लेख्नसक्छ भन्ने धारणा अफिसमा व्याप्त थियो । कविता लेखेर अफिसको काममा प्रगति आउँदैन है भनेर हाकिम गर्जन्थ्यो । कुर्सीमा हाकिमको पोज दिएर ठूलो स्वरमा बोलेपछि गर्जेको ठहर्थ्यो ।
तर कृष्णबाबु कविता छापिएको पत्रिका बोकेर आउँथ्यो मानौं एउटा पवित्र कार्य हो यो पनि । कतिकति वेला खाजाको समयमा कविता वाचन गरेर सुनाउँथ्यो । तालीको अपेक्षा थिएन । तर सबै ताली नपिटेर खाजा खानैतिर लाग्थे । ऊछेउ बसेको श्रोता अलि खिन्न भावमा कविता वाचन सुन्थ्यो र सधैंको अर्डरभन्दा आधा अर्डर गरेर खान्थ्यो र समयअगावै उठेर हिंड्थ्यो । अनि खाजाको समय समाप्त हुनुअगि आफ्नो मेचमा गएर बस्थ्यो । अनिपछि मात्र चुरोट सल्काएर तान्न थाल्थ्यो । हुने के गर्थ्यो भने उसले खाजा खाएपछि होटेलले चुरोट तान्न निर्धारित गरेको ठाउँमा गएर एक खिल्ली चुरोट बुङबुङ्ती तानेर पाँच मिनेटमै सक्थ्यो । अनि बल्ल अफिसको आफ्नो कार्यकक्षतिर लाग्थ्यो ।
होटेल र खाजा खाने ठाउँहरूमा निर्धारित स्थानका अलावा अन्यत्र चुरोट खान मनाही थियो । चुरोटको लागि समय छैन र कर्मठ भएर कार्य सम्पादन गर्नुस् भन्ने हाकिमको निर्देशन थियो । खाजा खाने ठाउँमा त सरकारले नै सार्वजनिक ठाउँमा धूमपान नगर्नुहोला भनेको थियो । कानूनी कारवाही हुनसक्छ भनिएको पनि थियो तर कसैले टेरेको देखिएन र कसैलाई जरिमाना गरिएको वा थानामा लगेर थुनिएको पनि देखिएन । मापसे गर्नुहरूलाई भने प्रहरीले समातेर थुन्ने गर्थ्यो वा गर्दैनथ्यो त्यो माधवलाई पक्कापक्की थाहा भएन तर मापसे गरेर सवारी हाँक्नुका खराबीबारे प्रवचन दिन्थ्यो र बोर गराएर दिमाग दुरुस्त गरिदिन्थ्यो रे । मापसे गरेर सवारी हाँक्नुले नोक्सान गर्छ भन्ने थाहा नपाएको को थियो र ? तैपिन मापसे गरेपछि नोक्सानी गरेरै छाड्नै जोश चढ्थ्यो ।
अफिसमा काम थिएन । काम भएका सेवाग्राहीले पनि केही रकम दिएर फटाफट काम गराएर गइहाल्थे । चलन नै थियो, काम ढिलाइ गर्नुछ भने रकम नदिंदा हुन्छ । त्यस्ता कोही पनि भेटिएका थिएनन् । सबैले कामको वजन हेरेर खल्तीमा अतिरिक्त रकम हालेर आउँथे । सरकारलाई तिर्नुपर्ने कर वा निधारित रकम त छँदै थियो त्यसका अतिरिक्त दस्तुर पनि निर्धारित थियो । त्यो दिएपछि चाइँचुइँ केही हुँदैनथ्यो । काम फटाफट हुन्थ्यो । नभए काम गराइदिने बिचौलिया थिए । तिनले कमिशन खान्थे । अनि त काम गराउने पनि खुश काम गर्ने पनि खुश । हाकिमले पनि असल प्रगति रिपोर्टमा दस्खत धस्काएर माथि प्रतिवेदन बुझाउन पाउने हुन्थ्यो ।
कार्यप्रतिवेदन जति असल र प्रगतिको हुन्थ्यो त्यसमा माथि बस्नेले त्यति नै शङ्का गर्ने ठाउँ रहे पनि प्रतिवेदन चुस्तदरुस्त छ भने पनि शङ्का गर्ने ठाउँ रहँदैनथ्यो नत्र एउटा सडकको ठेक्का पूरा गर्न दशकौं लाग्ने उदाहरण पनि थिए जसमा दस्तुर लिंदै म्याद थप्दै गर्दा मिडियाले सरकारको अकर्मण्यतामाथि खिसी र निन्दा गर्दै मुलुकभरिकालाई कति वेला यो मुलुक कता जाने लागेको छ भनेर चिन्तित बनाउने गर्थ्यो भने कति वेला यो त हाम्रो मुलुकको स्वभाव नै हो भनेर हँसाउने पनि गर्थ्यो । यसको अन्त्य छैन, अन्त्य हुनै सकेकै छैन, अन्त्य हुनेवाला पनि छैन ।
त अगिको कुरा यो थियो, कृष्णबाबु कविता छापिएको पत्रिका नै बोकेर अफिस आउँथ्यो । पुरुषार्थ गरेको भाव रहन्थ्यो । कविता उनले गोप्य रूपमा लेख्थ्यो । कविता राम्रा वा नराम्रा तिनको छानबिन गर्ने काम अफिसको थिएन यद्यपि कृष्णबाबु कविताका पाठक अफिसमा पनि होलान् भन्ने मान्थ्यो । कविता, कथा वा उपन्यास पढ्ने जोजो अफिसमा थिए तिनले त्यो देखाउँदैनथे । अफिसमा कविता वा उपन्यास वा कथा पढेर फाइदा थिएन । सेवाग्राहीलाई एक हात ले एक हात दे गरेर निप्टान गर्नुमा नै फाइदा थियो । साहित्यले पाठकभित्र इमानदारिता पैदा गर्छ भन्ने डर पनि थियो । पठनसंस्कृतिलाई उनीहरूले घरका लागि वा गृहरस्थकर्म भनेर ओझेलमा राख्थे ।
त यी कुरा छाडिदिऊँ । कृष्णबाबुका कविता कस्ता थिए ? त्यसको आलोचना–समालोचना गर्ने काम माधवको थिएन । किनभने ऊ प्रायः कथा लेख्थ्यो । छापिएका कथा ऊ अफिसमा लगेर साथीसहकर्मीलाई देखाउँदैनथ्यो । उसको मान्यता यो थियो— लेख्ने र छपाउने काम आफ्नो हो पढ्नु-नपढ्नु पाठकको काम ।
कुरा त्यताको थिएन ।
कुरा जुन थियो माधवका लागि, त्यो अर्कै थियो । कृष्णबाबुको निधन भएपछिको कुरा हो । एक महिनाजतिपछि उसकी श्रीमती माधवलाई भेट्न आई । यति दिनभित्र बाबुकृष्णकी पत्नीको वैधव्य अलिअलि उत्रिसकेको थियो । मानिस सधैं पीडामा डुबेर एकान्तवास गर्न सक्दैन । थाहा पाएअनुसार कृष्णबाबुका दुई सन्तान थिए । तिनको लालनपालन एकल महिलामा परिणत भएकी कृणबाबुकी पत्नी जानकीको काँधमा आइपरेको थियो । जानकी अझै उमेरकी थिई । कष्णबाबुको निधन उमेर छँदै भएको थियो । निधन हुँदाखेरि जति उमेरको भए पनि उसको वैधव्य भोग्ने पत्नीको रूप र अवस्थामा एउटा प्रौढपन आइदिन्छ । जानकीमा पनि यो प्रकट भएको थियो ।
जानकी आएर उसको अगाडि मेचमा बस्दा पहिले त ऊ अलि झसङ्ग भयो । के कृष्णबाबुका लागि केही गरिदिनु पर्यो भन्नलाई आएकी त होइन जानकी ? यस्तो विचार माधवको मनमा आयो । माधव कसैका लागि केही गरिदिने व्यक्ति थिएन । उसलाई त्यो आउँदैनथ्यो, दसपाँच जना जम्मा भएर केही गरूँ भन्दै कार्यक्रम बनाए वा भने भने सल्लाहमा ऊ टाउको हल्लाएर बस्ने मानिस थियो । अरूले ‘कसो’ भनेर सोधेमा ‘सबैको जे सल्लाह हुन्छ त्यही गरौं न त’ भनेर आफ्नो राय व्यक्त नगरी आफ्नो हिस्साको भारी बाँकी सबैको जिम्मा बिसाउने व्यक्ति थियो । मनमा यो पनि थियो— ‘कथा लेख्न छाडेर कहाँ के गरिराख्नतिर धाउने ? आफूलाई आउँदा पनि आउँदैन ।’
जानकीको भनाइको सार यही थियो— उसको लोग्नेको स्मृतिमा एउटा शोकसभासम्म गरियोस् । साथीभाइले पनि सहयोग गरून्, सहभागिता जनाऊन् । जानकी बोल्दाबोल्दै पतिको सम्झनाले द्रवित भएर रोई र आँखाका आँसु पुछ्ने भएकी थिई । माधवको मन पनि उदास भयो, जे भए पनि सहकर्मी थियो यद्यपि माधव पछि सरुवा मागेर कृष्णबाबुको अफिसमा आएको थियो । कृष्णबाबुको नजीक हुनलाई होइन घर पायकका लागि सरुवा मागेको थियो । उसको विचारमा अफिस एउटा जरिया हो जीविकाको तर उसले त साहित्यमै रम्नु छ । साहित्यमा पनि कथालेखनतिर । तर कृष्णबाबुको अन्त्य भयो । कारण यो थियो माधवको मनमा आइरहने कुरो के भने ऊ कवि थियो । एउटा कविको अन्त्य भयो ।
त्यसलाई दुःखद भन्न सकिन्थ्यो, अपूरणीय क्षति नभने पनि । जीवनभरि काण्ड र प्रकरण मच्चाइरहने र सत्ताका लागि अनेक तिकडम भिडाइरहने नेताको निधनमा भनिने एक गुच्छा शब्दावली यो पनि थियो— ‘मुलुकले अपूरणीय क्षति बेहोरेको छ ।’ ठीकै छ, त्यो नेताको आसेपासेका लागि त्यो अपूरणीय क्षति हुनसक्छ तर त्यसमा धेरै शोक गर्न पाइँदैनथ्यो कारण के भने अर्को दिनदेखि नेताको निधनका कारण भएको रिक्त पदमा स्थापित हुन दलमा तँछाड–मछाड शुरू भइहाल्थ्यो । नेता त दलको अफिसको भित्तामा फोटो भएर झुन्डिएको हुन्थ्यो र यो खेल हेरिरहेको हुन्थ्यो । फोटो मुस्कानसहितको छ भने मुस्काएर हेरिरहेको पनि हुन्थ्यो, आफ्नो अपूरणीय क्षतिको परिणाम !
जानकी जो कृष्णबाबुकी धर्मपत्नी थिई उसले भनेको वा गर्न भनेको शोकसभाको कुरो जायज थियो । यसमा नाइँ भन्ने अवस्थै थिएन । तर माधव उपयुक्त व्यक्ति थिएन । तर माधव पनि कम थिएन । उसले गर्न सक्दिन भनेन, भन्यो— ‘भोलि के आजै तीन बजेतिर अफिसमा आउनुस् र हाकिमसँग बसेर सल्लाह गरौंला । हाम्रा कर्मचारीका संघसङ्गठन पनि छन् । तिनलाई पनि गुहारौंला ।’ माधवलाई यो थाहा थिएन, कृष्णबाबु कुन दलको भ्रातृसङ्गठनमा आबद्ध थियो । थियो वा थिएन, कविहरू मुडी हुन्छन् ।.वा सबै सङ्घसङ्गठनको सदस्यता पो लिएको छ कि ? ‘मेरा कविता सबै खालको पाठकका लागि लक्षित छन्, म कुनै विचारधारको दासी होइन,’ भनेर ।
जानकीले टाउको हल्लाइराखी, माधवले सल्लाह दिइरहँदा । धेरै लामो कुराकानी त भएन र उसले धेरै बेर टाउको हल्लाउनु परेन । एक कप चियासम्म खाने समय निकालियो । तर यो तय भयो, जानकी तीन बजेतिर अफिसमा आउने । एउटा कुरा उसले जाँदाजाँदै भनी— ‘मेरा पति त एक इमानदार कर्मचारी हुनुहन्थ्यो, उहाँको शोकसभाका लागि तपाईंहरू नै पहिले तात्नु पर्ने हो । मैले नै पहल गर्नुपर्ने कुरो त केही थिएन । तर यस्तो लागेको छ मलाई इमानदार व्यक्तिको यो मुलुकमका कदर छैन । ऊ गएपछि उसका लागि कुनै स्मृति सभा पनि हुँदैन ।’
यो ठूलै कुरो भनेर गई जानकीले । त्यो त हो । यस मुलुकमा इमानदार व्यक्तिको कदर छैन तापनि त्यही भइरहन्छ । बेइमानले पनि त्यही भन्छ, असन्तुष्टि व्यक्त गर्न— ‘यस मुलुकमा इमानदार व्यक्तिको कदर छैन’ वा ‘इमानदार व्यक्ति उँभो लाग्न सक्दैन’ । इमानदार भनिने व्यक्तिले पनि त्यही भनिरहन्छ— ‘इमानदार व्यक्तिको यस देशमा कदर छैन,’ इत्यादिइत्यादि । यस कारण यस शब्दावलीको प्रयोगको अन्त्य छैन ।
अब के गर्ने, जानकीको भनाइ माधवको मनमा बिझाइरह्यो । एक्कासि उसले आफैलाई भन्यो— ‘मै मात्र बाँकी रहेछु कुरा सुनाउन । इमानदारहरूलाई रोकछेक गर्ने मै हुँ, स्मृतिसभा पनि गर्न नदिने ?’ जानकीको दोषारोपको बोली उसैतिर लक्षित थियो ? बेफ्वाँकमा उसले आफ्नै अस्तित्व धरापमा परेको अनुभव गर्यो ।
मेचबाट उठ्नुभन्दा अगि शीर्षकको शब्द ‘अन्त्य’ लाई पनि हेर्यो । कथाप्रति जाँगर मरिसकेको थियो । तैपनि यति मात्र सोच्यो— ‘शीर्षक याद राख् है माधव, पछि कहिले काम लाग्न सक्छ । विषयको अन्त्य भएको छैन ।’ उसलाई हाँसो पनि लागिरहेको थियो, मनमनै, जहाँ पनि सिकारु कथाकारले झैं कथाभरि शीर्षकको शब्द ‘अन्त्य’ भन्ने घुसारेको छ भनेर । ऊ हाँस्यो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

