एसएलसीको नतीजा प्रकाशित भएको तीन दिनपछि एब्रो प्लेनले विराटनगरमा गोरखापत्र ल्यायो । सरलाका बुवा महेन्द्र चोकबाट एउटा गोरखापत्र बोकेर घर आइपुगे । पट्याएर लौरो जस्तो बनाएको पत्रिका सरलाकी आमाको काखमा फुत्त फ्याँके र प्रसन्न बोलीले घोषणा गरे, “ल छोरी सेकेन्ड डिभिजनमा पास भई !”

सरलालाई पत्याउन मुश्किल पर्‍यो । तर बुवा, आमा, काका, काकी, दाजु र बहिनीले एकसाथ बधाई बधाई भन्दै कराएको स्वरले गर्दा आफू पास भएको भन्ने विश्वास गर्न ऊ बाध्य भई । द्वितीय श्रेणी चाहिं अझै पनि हो कि होइन भन्ने लाग्दै थियो उसलाई ।

हुन पनि, पास हुनको लागि कम्ती मेहनत गरेकी थिइन सरलाले ! जाँच आउन ६ महिना बाँकी हुँदै नेपाली, अर्थशास्त्र, गृहविज्ञान जस्ता विषयका किताब जोड जोडले कराई कराई अद्योपान्त  दोहोर्‍याएर पढेकी थिई । पढेका कुरा मध्ये सबैभन्दा मन परेको देवकोटाको ‘यात्री’ कविता त उसलाई कण्ठ भैसकेको थियो । त्यसरी कविता कण्ठ पार्नु जरूरी त थिएन, तर मन परेको सन्देश उसको चित्तमा बसेको थियो । बुझेको कुरा नेपालीमा लेख्न गाह्रो थिएन ।

अंग्रेजी र गणित उसका खास फलामे ढोका थिए । सरकारी स्कूलको पढाइ ! गृहकार्यको नाममा बिहान बेलुका दुई छाक भात, दाल, तरकारी पकाउने, धन्दापात गर्ने इत्यादि गृहका कार्यमा निपूर्ण थिई सरला । किताबका कुरा बुझेर अभ्यास गर्नु पर्ने आवश्यकता उसलाई कसैले औंल्याइदिएको थिएन ।

ऊ मात्र होइन, कक्षामा दुईचार जना केटा बाहेक उसको कक्षाका बाँकी जम्मै विद्यार्थीहरू दशैंको खसी झैं आफ्नो भविष्यको बारेमा अनभिज्ञ थिए । हरेक कक्षामा त्यही हुन्थ्यो । गुरुहरू कहिलेकाहीं तिनै दुई-चार केटाहरूको तीक्ष्ण बुद्धिलाई उदाहरण बनाएर सबैलाई पढ्ने, गुन्ने, ठूलोमान्छे बन्ने अर्ती उपदेश दिनुहुन्थ्यो । गुरुहरूले भनेको त्यो ठूलो मान्छेको प्रारूप बुझ्न खोज्दथी सरला, तर त्यो प्रारूपमा एउटी आइमाईको चित्र कल्पनामा ल्याउनुपर्दा उसलाई कुहिरोले डम्म ढाकेको ठूलो खेतमा हिंडेको जस्तो लाग्दथ्यो । कुहिरो बाहेक खेतमा कुनै आकृति चलमलाएको देख्दिन थिई सरला ।

तर पनि, खोइ कसरी हो, दश कक्षाको मध्यमा पुगेपछि उसलाई एउटा विचित्रको रहर पलाएको थियो – एसएलसी पास गर्ने रहर ! यद्यपि पास गर्नैपर्छ भनेर उसलाई कसैले भनेको थिएन । र पनि, उसलाई यस्तो लाग्न थाल्यो मानौं परिवार र छरछिमेकीहरू उसले के गर्दिरहिछ त भनेर मौन भई पर्खेर उसैलाई हेरिरहेका थिए । उनीहरूलाई देखाइदिन ठूलो मन थियो सरलालाई ।

आफ्नै घरको तल्लो तलामा डेरामा बस्ने रोशन दाइसँग सोधेर उसले अलिअलि ग्रामर सिकेकी थिई । गणित पनि सिकाइमागे जति सिकाइदिएका थिए । जाँचमा जसोतसो दुई वटा हिसाब ठीक गर्नसक्नु उसको ठूलो पौरख थियो । भाग्यवश दुई वटा घोकेका साध्य प्रश्नपत्रले सोधिदिएको थियो ।

उत्तीर्ण नतीजाले सरलाको जीवनमा नयाँ उमङ्ग ल्यायो । उसको त्यो सफलताले परिवारमा केही दिन ठूलो खुशी छायो । अब सरला पनि क्याम्पस पढ्ने भई । आफन्त, नातेदार, छर-छिमेकी सबैको लागि उदाहरण भई सरला । स्कूले केटाकेटीको जीवनबाट आशा र सपना सहित जीवनको नौलो चरणमा प्रवेश गरेको अनुभूति भयो सरलालाई ।

एक दिन क्याम्पसबाट भर्खर घर आइपुगेकी थिई सरला । हातमुख धुन कलतिर जाँदै  थिई । त्यै वेला रोशन दाइ कल चलाउँदै पानी पिउन खोज्दै रहेछन् । कालो पालिस लाएको छालाको जुत्तालाई पानीको छिटाबाट जोगाउन खुट्टा परपर तन्काएर मुश्किलले पानी अँजुलीमा लिन खोज्दै रहेछन् । सरलाकी आमाले आँगनमा पर्तिरबाट भनिन्, “ए रोशन भाइ, एउटा गिलासले खानू न पानी !” सरलाले केही नभनी भित्रबाट एउटा गिलास ल्याएर दिंदै भनिन्, “यी, लिनु रोशन दाइ, गिलासमा पानी खानू ।”

सरलाले कल चलाइदिइन् । रोशनले गीलासमा पानी थापे ।

त्यै बेला सरलाका बाबु साइकल चढेर आँगनमा आइपुगे । नयाँ रातो साइकल ! “होइन, कुन साइकल चढेर आउनुभयो त !” सरलाकी आमाले उदेक मान्दै भनिन् ।

“छोरीलाई ल्याइदेको !” अलि झर्को माने झैं छोटो बोल्ने स्वभाव थियो उनको । यत्ति भनेर उनले पर्तिर कल चलाउँदै गरेकी छोरीतिर हेरे । पानी पिइसकेर रित्तो गिलास सरलालाई फिर्ता दिंदै रोशन नयाँ साइकलको नजीक उभिएर अगाडि र पछाडिका पाङ्ग्रा पालैपालो नियाल्दै हेर्न थाले । “कति पर्‍यो अङ्कल ?” उनले सोधे । सरलाका बाबुले सुनेर हो वा नसुनेर, जवाफ दिएनन् ।

“साइकल ल्याइदेको छु । जान-आउन सजिलो हुन्छ । क्याम्पस पढ्न चाहिने सर्जाम सबै जोडिदिन्छु । छोरी मान्छे सरक्क क्याम्पस जाने, सरक्क क्याम्पसबाट घर आउने !” सरलाका बाबुले आफ्नो स्वभाव अनुसार यत्तिको बोल्नु लामै बोले बराबर सुनियो । त्यति भनेर उनले पुलुक्क श्रीमतीको अनुहारमा हेरे । बुवाले त्यत्तिकै यस्तो रुखो किसिमले बोलेको सुनेर सरलालाई अनौठो लाग्यो ।

त्यसपछि सरलाकी आमाले अलि दह्रो स्वरमा झन्डै झन्डै हप्काएको स्वरमा भनिन्, “तँलाई यत्रो विश्वास गरेर हामीले मद्दत गरेका छौं है छोरी ! बुवाले यत्रो औधी गरिराख्नु भाको छ । तैंलाई सजिलो होस् भनेर ! यी अब साइकल पनि किन्दिनु भयो ! क्याम्पस आउन-जान सजिलो भो ! तर, तैंले पनि विचार गर्नु पर्छ है, होस् गरेस् ! त्याँ दायाँ-बाँया भयो भने चाहिं ठीक हुँदैन, ख्याल गर्नू !”

आफूले थाहै नपाई केही गल्ती पो गरेछु कि जस्तो लागेर सरलाले सबैका मुखमा पल्याक-पुलुक हेरिन् । नयाँ साइकल छेउ उभिएको रोशन एकछिन उत्सुकताले उनीहरूको कुरा सुन्दै ठिङ्ग उभिरह्यो ।

आमाले भनिन्, “त्याँ केही गरी तैंले केटाहरूसँग बोलचाल, हाँसखेल गरेको यो कानले सुन्नु नपरोस् । केटो खोजेर जिम्मा लाउने काम हाम्रो हो । तैंले लव चाहिं गरेको सुनें मात्र भने खुकुरीले चट्टै काट्छु !” त्यति भनेर उनले रोशनको मुखमा पुलुक्क हेरिन् ।

सिरिङ्ग भयो सरलालाई । मुखबाट वाक्य निस्केन उनको । मेघ लागेको आकाश जस्तो कालो भयो बिचरीको अनुहार ।

रोशन एक सेकेन्ड ढिलो नगरी आँगनछेउ अड्याइराखेको उसको पुरानो साइकल टिपेर बाहिरतिर लाग्यो ।

त्यस राती निदाउनुअघि ओढ्नेले मुख छोपेर निकै बेर रोई सरला । सबैजना सुतिसकेका थिए । उसलाई निद्रा लाग्दै लागेन । पानी खान भनेर उठी । भान्सा नजीक भित्तामा एकफेर ऐनामा अनुहार हेरी उसले । पहिलेको भन्दा आफू निकै सुन्दरी भएको अनुभव भयो उनलाई । आधा गिलास पानी पिई । आफ्ना हात-पाखुरा, खुट्टा र छाती पनि हेरी । आफू अब ठूली मान्छे भएको बोधले गर्दा फेरि एकपल्ट ऐनामै खोज्न थाली आफूलाई । तर ओठमा आउनुपर्ने बैंसालु मुस्कान देख्दै देखिन उसले ऐनामा । बरु मलिन अनुहारले त्यसरी ऐनामा हेर्दाहेर्दै मुटुमा तीखो दर्दले घोचेको अनुभव भयो उसलाई । आमा, काकी र साथीहरूले कहिलेकाहीं भनेका शब्द उसका कानमा गुञ्जिन थाले,

“सरला यो वर्ष लरक्क बढेकी छ !”

“कति राम्री !”

“सत्र पुगेर अठार लागी ।”

‘हे भगवान्, मलाई फेरि फर्काएर दश-बाह्र वर्षकी बनाइदिनुस्,’ भनेर अर्को भित्तामा झुन्डिएको शिवजीको फोटो अगाडि हात जोडी सरलाले ।

० ० ० ०

क्याम्पस आउने जाने क्रम शुरू भयो । मेजर नेपाली, कल्चर र अर्थशास्त्र लिएकी थिई उसले । त्यो पनि उसका बाबुले फारम भर्दा लेखिएका थिए । उसलाई त केही थाहा थिएन ।

तर जे होस्, पढ्दा जे जति  बुझे पनि सबैभन्दा मन पर्ने विषय नेपाली नै थियो उसको- चाहे त्यो अनिवार्य नेपाली होस् वा मेजर । पढ्नु पर्ने जति कथा, कविता, उपन्यास कलेज शुरू भएको पहिलो महीनामा नै पढिसकेकी थिई उसले । पहिलो सातामै पढेर सकेको बसाइँ उपन्यासबाट कताकता मानिस र समाजलाई बुझ्ने क्षमता र अन्तर्दृष्टि आफूमा बढेको अनुभव हुँदैथियो उसलाई । कोपिलाबाट हिजै राती फक्रेकी गुलाफ जस्ती सरला आफ्ना पाठ्यपुस्तकका कथा र कवितामा जीवन र जगतको अर्थ खोज्दै रमाउँदै थिई ।

एकदिन कक्षामा एउटा केटोले दौलतविक्रम विष्टको ‘चपाइएका अनुहार’ उपन्यास ल्याएको रहेछ । केटाहरूसँग बोल्ने बानी त थिएन उसको, तर नौलो शीर्षकको सानो किताबमा आँखा पुगेको हुनाले उसले प्वाक्क सोध्नपुगी, “के किताब हो, हेर्न हुन्छ ?”

“हुन्छ, किन नहुनु ? मन लागे लगेर, पढेर ल्याइदिनू न !” भन्यो केटोले ।

साँझ बार्दलीमा बसेर चपाइएका अनुहार पढ्दै थिई सरला जब उनका बाबु अड्डाबाट आइपुगे । उनका आँखा छोरीको किताबमा पर्‍यो । “यो किताब तिमीहरूको आइ.ए.मा पढ्नुपर्छ र ?” उनले अलि कडै स्वरमा सोधे ।

“पर्दैन बुवा तर यो नेपाली साहित्यको राम्रो किताब हो अरे । मलाई एउटा साथीले दिएको ।”

बुवा भित्र पसे र एकैछिनमा आमा चाहिं बार्दलीमा निस्किन् । “किताब दिने साथी केटो हो कि केटी ?” उनले कड्केर सोधिन् ।

सरलाको मुख आँ भयो । आमा चाहिंले दोहोर्‍याएर त्यही प्रश्न सोधेपछि उनले जवाफ दिइन्, “केटी !”

“अनि बुवा त भन्दै हुनुहुन्छ यो त तैंले क्याम्पसमा पढ्नुपर्ने किताब होइन अरे ! त्यस्तो नचाहिंदो उपन्यास पढ्ने बानी राम्रो होइन है छोरी ! भोलि नै लगेर त्यो कसको हो फिर्ता दे ! अब यो नचाहिंदो पढ्ने काम छैन !”

दिन बित्दै गयो । सरलाको अगाडि अंग्रेजी र अर्थशास्त्रका हिसाबहरू चुनौती बनेर खडा हुन थाले । तर उनी यस पटक रोशनलाई सोधेर सिक्न अगाडि बढिनन् । जे जति कक्षामा पढाइ हुन्छ, त्यसैमा ध्यान दिइन् । घरमा आफैं जेजसो पढेर बुझ्ने कोशिश गरिन् । यसैबीच रोशन पनि सरलाको घर छोडेर अन्तै डेरा सरे ।

रोशनले डेरा छोड्ने अरे भन्ने पहिलो पटक सुन्दा सरलालाई कताकता नरमाइलो लाग्यो, तर त्यो नरमाइलोमा कुनै पुरानो मान्छेले छोडेर जान लाग्दाको जत्तिको मात्र दुःख भएको र त्यसमा अन्य अनर्थ भावना नरहेको भन्नेमा सरला ढुक्क भइन् । कहिलेकाहीं रोशनलाई सम्झिंदा उनलाई आफू एस.एल.सी पास हुनमा उसले लाएको गुनको याद आउँथ्यो । त्यसबेला सोच्ने गर्थिन् उनी, “बिचरा रोशन दाइ ! उहाँ मेरो आफ्नै काका, मामा कसैको छोरा भैदेको भए कत्ति राम्रो हुन्थ्यो !”

पढाइ शुरू भएको तीन महीना मात्र भएको थियो । एक साँझ लाइन गएको बेला डिबियाको उज्यालोमा अंग्रेजी पढ्दै गरेको वेला आमाले आएर भनिन्, “छोरी, एउटा कुरा सुटुक्क भन्छु है ! साह्रै खुशीको खबर छ । भोला सरले सिडियो अफिसको एउटा अधिकृत केटोको कुरा गरेका छन् अरे तेरो बुवासँग । हुनेखाने छ अरे ! घडेरी र खेत त टन्नै छ अरे ! अब अर्को हप्ता टिकाटालो गर्ने कुरा गर्नुभाको छ है तेरो बुवाले !”

अनपेक्षित खबर सुनेर सरलाको वरिपरिका भित्ता फनफनी घुम्न थाले । आफ्नो वरिपरि अँध्यारो हुँदै गएको देखेर दुई हातमा टाउको अड्याएर घोप्टो पर्न खोजिन् सरला । “भाग्गेमानी रैछेस् छोरी ! हाम्रो पनि पूर्वजन्मको सुकर्म नै रहेछ ! छोड्दे अब किताब-सिताबमा घोरिन ! पढ्न पर्दैन अब !”

अर्को दिनदेखि सरलाको कलेज जाने काम बन्द भयो । केटोले सरलालाई बाहिर बाहिरै हेरिसकेर मन पराएको हुनाले केटाकेटी हेराहेर गर्नु नपर्ने टुङ्गो गर्दै अर्को पाँच दिन पछि फूलमालाको दिन नै सरलाले केटोलाई देखिन्, तर बेहुली भएको कारण सिधै हेर्दा अशोभनीय हुने भएकोले अनुहार देख्न सकिनन् ।

त्यसको तीन दिनपछि धूमधामसँग सरलाको बिहे भयो ।

० ० ० ०

दुई वर्षमा दुई सन्तान जन्मिए । लोग्नेको सरुवा जिल्ला जिल्लामा हुँदा सरलाले पनि धेरै ठाउँमा बस्ने, घुम्ने अवसर पाइन् । सुखी दम्पती अहिले काठमाडौंमा आफ्नै तीनतले घरमा बस्छन् ।

बिहे भएका शुरूका दिनदेखि वेलावेला सरलाले आफूले जीवनमा पढ्ने ठूलो इच्छा राखेको तर इच्छा पूरा नभएको कुरा श्रीमानसँग गरिरहिन् । अझै पनि कहिलेकाहीं उनी त्यही कुरा कोट्याउँछिन् । तर उनका श्रीमानले सधैं यसो भने, “हेर बुढी, पढेर जागीर खानुपर्ने तँलाई आवश्यकता के छ ? मैले यत्रो कमाएको छु । तैंले घर सम्हालेकी छेस् । मलाई खुशी राखेकी छेस् । जीवनमा बुझ्नुपर्ने कुरा हाम्रो सुखमय दाम्पत्य जीवनबाट सिकेकै छेस् । यो नै तेरो पढाइ हो ! यो भन्दा ठूलो पढाइ तँलाई किन चाहियो ?”

सरलाका दुई सन्तानमा एक छोरो अस्ट्रेलिया गएको छ । छोरीले पनि आइ.टी. पढेर ब्याचलर सक्नै लागेकी छिन् र विदेश नै जान्छु भन्दैछिन् । तर छोरी “म दुईचार वर्ष बिहे चाहिं गर्दिनँ, आफ्नो केटो आफैं खोज्छु” भन्छिन् । जुग जमाना फेरियो । पहिलेको जस्तो बाउआमाको निर्णयमा छोराछोरीले चल्नु पर्दैन । त्यो देखेर खुशी नै लाग्छ सरलालाई ।

तर उनको मनमा एउटा ठूलो डर छ- छोराछोरीले कतै अजात त बिहे गर्ने होइनन् भनेर ! छोरोले बरु कुइरिनी बिहे गरोस् तर जैसी बिहे नगरोस् भन्नेमा उनको हुटहुटी छ । छोरीलाई पनि “जो सुकै केटो खोजे पनि उपाध्ये बाहुन चाहिं हुनैपर्छ भनेर सम्झाई रहन्छिन् उनी ।” त्यसबाहेक घडेरी र खेतमा पनि उनको ठूलो चासो छ । मुखले नबोले पनि छोरीले बिहे गर्ने केटोको घर-खेत पनि टन्न होस् भन्ने उनको अदम्य सपना छ । सुखी दाम्पत्य जीवनबाट पाएको यो शिक्षाबाट उनी हड्डीभित्रै देखि शिक्षित छिन् ।

“ती रोशन दाइ कहाँ पुगे होलान् !” कहिलेकाहीं एक्लै सोच्ने गर्छिन सरला ।