टुक्क सङ्केत आयो मोबाइल खोल्ने बित्तिकै । केही नयाँ साथी हुन अनुरोध आएको रहेछ फेसबूकमा । केही नयाँ अनुहार पनि थिए । प्रोफाइल नहेरी नचिनी कसरी जोडिनु र । जब खोलेर हेरें पुराना दिनहरूमा पुर्यायो ।
० ० ० ०
स्कूल छेउको घर । आगो लिन जानुपर्ने छिमेकी जस्तो । साँच्चिकै सलाई हाल्न भुलिएछ यस पटक । आगो बाल्ने वेला भएपछि सलाइको खोजी भयो । अघिल्लो मौजाद सलाई सकिएछ । नजिकैको घरमा पाए किन टाढा जानु । आँगनमा काँचो ऊनको थुप्रो सुकाएर काँटाले कोर्दै थिइन् बुढी आमै । दुइटा नातिनी स्कूलको झोला फालेर कता गएछन् खेल्न ।
“इजी छ्या” हात मुख दुवैले नमस्कार गरें । काँटा समातेरै नमस्कार फर्काइन् ।
“चिपा जटा धु इजी ?” उनले नेपाली कमै बुझ्ने भएकोले मैले स्थानीय भाषामै एउटा सलाई होला कि भनेको थिएँ ।
“धु धु स्यो त ।” छ, छ बस भनेपछि म पनि छेउको पिर्का तानेर बसें । न्यानो घाम लागेको थियो । एउटा रौं पनि कालो थिएन आमैको तर कपाल लामो थियो । अनुहारभरी छाला मुजा परे पनि अनुहार उज्यालो थियो । पूरै डोल्पो पहिरनमा हँसिली आमै भित्र गइन् ।
नजिकैको भित्तामा झ्यालको माथिपट्टि एउटा खोपो थियो । मेरो आँखा त्यहीं पर्यो । एउटा पुरानो कापी रहेछ । निकालेर हेरें । बाहिर नाम थियो । कार्मा टोइमा गुरुङ । कक्षा ६ की नानीका राम्रा अक्षर थिए । यसो पल्टाएर हेरें । पूरै पानामा लेखिएका थिए । कतै मेटिएको थिएन । केरिएको थिएन । मलाई पढ्न मन लाग्यो । बेरेर हातमा लिएँ ।
यत्तिकैमा आमैले सलाई दिनुभयो ।
“किम्मा खेर लोकि कोइ ।” सापटी है आमा पछि फर्काउँला सलाई ।
“दि कापी सर किला खेर्चै, कार्मा टोइमा कि नो कोइ – ( यो कापी सरले लग्यो भन्दिनु है कार्मा टोइमालाई भोलि दिउँला म)” भन्दै निस्किएँ ।
० ० ० ०
त्यो दिन सम्झाइदियो आजको एउटा फेसबूक फ्रेन्ड रिक्वेस्टले । रिन्जेन ग्वाल्मो लामाको नामबाट अनुरोध आयो । खोलेर हेरें । प्रोफाइल खोलिहेर्दा कभर फोटोले झसङ्ग बनायो । जुन दुई जनाको थियो । रिन्जेन र पुटिकको हँसिलो विवाहित जोडी थिए ।
भदौको महीना । तिब्बत पुगेर आउनेहरूको खूब स्वागत हुन्छ । लगभग एक महीनाको यात्रा सकेर आउनेहरूलाई निक्कै पर सम्म अम्खोरामा छ्याङ्ग भरेर धुपी र फूल राखिएको हुन्छ । देखिनेगरी छ्याङ्गमा डुबाएर चाइनिज घिउको डल्लो राखिएको हुन्छ । अम्खोराको घाँटीमा नयाँ पहेंलो खादा बाँधेर छोराछोरी पिठ्यूँमा बोकेका महिला अनि केटाकेटीको लाइन हुन्छ । घरका सबै जना आगन्तुकको स्वागतमा उभिएका हुन्छन् ।
आफ्ना लोग्नेहरू आएपछि फूल र धुपीको मुन्टाले छ्याङ्ग छर्किएपछि अँगालो हालेर ओठ जोडेर म्वाइँ खाइन्छ । भारी सहितका याकहरूको लाइनतिर पनि छ्याङ्ग छर्केर स्वागत गरिन्छ । प्रसाद र सगुनको रूपमा सबै घरको छ्याङ्ग सबै घरकाले बाँडेर खाँदाखाँदै याकहरूको भारी खोल्न हतार भैसकेको हुन्छ । त्यस भन्दा केही समय अघि गाउँका राम्रा र तेजिला घोड सवार युवाहरू आएर याक यो समयमा आइपुग्छन् भन्ने जानकारी हुन्छ ।
घोडामा आउने युवाहरूको पनि यसरी नै स्वागत भैसकेको हुन्छ । स्थानीयलाई मात्रै होइन हामी फरक भूगोल र परिवेशकालाई समेत ती क्षणहरू अविस्मरणीय हुन्छन् । गाउँ घरमा केटाकेटी रमाउँदै ललिपप चुस्दै नयाँ कपडामा सजिएको देख्दा कुनै चाड नै आए झैं लाग्छ । यसरी एक हप्ता जतिको समय निकै रमझमपूर्ण हुन्छ । चाइनाबाट ल्याइएका मिठाई र रक्सी पिउन एक घरले अर्को घरलाई निम्ता दिने र खाने-पिउने गरेर बित्दछ ।
हप्ताभरी थकाइ मारेपछि बल्ल लेकतिर चौरीगोठ जाने कुरा आउँछ । वर्षभरिमा चौरी मोटाउने महीना यही भदौ, असोज हो । वर्षमा एक दुई याक बेच्ने सिजन यही हो । मोटो र सप्रेको दुइटा याक भए त राम्रो घोडा नै लिन सकिन्छ । मुस्ताङ र मनाङतिर मोटरबाटो खुलेपछि उताका राम्रा खाइलाग्दा घोडा यता आएका छन् । यताका छानिएका याक उता आलो रगतका लागि प्रसिद्ध छन् । स्कूलको घेराबार बाहिरको चौरमा बेलुकापख घोडाको दौड चलिरहन्छ यो महीनामा । यार्साको व्यापार फस्टाएदेखि घोडा किन्ने युवाको रहर बढेको देखिन्छ । मनाङ, मुस्ताङका युवाहरूको नयाँनयाँ अनुहार पनि देख्न पाइन्छ यतिखेर । तिनै नयाँ अनुहार माझ दश वर्षअघि हो देखिएको पेम्बा ।
घोडा र याकको किनबेच सकिएपछि गाउँमा अर्को एउटा लहर आउँछ मीत लाउने । बाहिरबाट आएका युवाहरू यहाँका मन मिल्ने युवासँग मितेरी साइनो लाउने चलन चलेको छ । मीत लगाउँदा सबै गाउँलेलाई बोलाएर खानपिन गर्ने एउटा चलन नै बसिसकेको छ । पेम्बाको मितेरीमा हामी पनि आमन्त्रित थियौं । ग्याल्जेन र पेम्बाको जोडी निकै मिलेको थियो । निकै धूमधामसँग मीत लगाएका थिए ।
मीत लगाइसकेपछि ग्याल्जेन पनि पेम्बाले किनेका याक मनाङसम्म लिएर लैजान साथी भएर गएका थिए । अर्को वर्ष याकको सिजन अघि नै पेम्बा परिवार सहित गाउँमा छिर्यो । सबैलाई नौलो लाग्यो । नयाँ मान्छे परिवार सहित बस्ने गरी गाउँमा आएको थियो । गाउँ छोडेर जानेप्रति कसैको चासो हुँदैन तर गाउँमा स्थायी रूपमा आउनेमाथि सबैको आँखा लाग्छ । किन र कसरी प्रश्न उब्जिनु स्वाभाविक थियो । बस्ने घरदेखि कमाइखाने जग्गा भएकै गाउँलेलाई अभाव थियो । नयाँ मान्छे किन र कसरी थपियो ?
मनाङ उसको गाउँमा एउटा घटना भएको थियो रे । एउटा होटलवाला साहुको मृत्यु भएछ । बेलुका होटलमा रक्सी खाने समूहमा पेम्बा पनि सामेल रहेछ । उसलाई पनि प्रहरीले खोज्दै थियो रे । आफू निरपराध भएकोले भागेर यता शरण लिन मीतको गाउँमा आएको रे । मीतका बुवा गाउँका नेता हुनाले उनले शरण दिएपछि अरूले केही बोल्ने आँट नै गरेनन् । दुई वर्षअघि गाउँमा प्रहरीचौकी नआउँदा सम्म पनि उनलाई सबैले शंकाको आँखाले हेर्थे । प्रहरी आएपछि पनि ऊ पक्राउ नपरेकाले बल्ल गाउँलेको नजरमा उसले विश्वासलाग्दो सफाइ पाएको थियो ।
त्यसपछि गाउँको छेउमा घर मात्रै बनाउन पुग्ने साझा पर्ती जग्गामा घर बनाउन अनुमति पाएको थियो । दुई वर्ष त उसले पाल टाँगेरै गुजारा गरेको थियो । तीस वर्ष पनि नपुगेको पेम्बा हँसिलो र खाइलाग्दो थियो । घोडा र याकको व्यापारमा राम्रो ज्ञान थियो । हरेक पटकको व्यापारमा भएको नाफा रकम सुनाउँथ्यो । आएको तेश्रो वर्ष नै उसले एकतले भए पनि घर बनायो । सबै कुरा किनेर खानुपर्ने ठाउँमा बाँच्न मात्रै पनि नगद कमाउन जरूरी छ ।
दुई छोरी एउटी सासू अनि एउटा लोग्ने पुटिक खुशी नै थिई । मनाङबाट आएदेखि हाँसेकै देखिन्थी । होचो कदकी हाँस्दा निकै खुल्थ्यो उसको अनुहार । शुद्ध नेपाली बोल्थी । पाँच कक्षा पढेर छोडेकी रे । छोरीहरूलाई अक्षर पढ्न लेख्न सिकाएकोले होला दुवै छोरीहरूले छिटै सिकेका थिए स्कूलमा । लोग्ने डुलुवा व्यापारी भएकोले उसको घरमा कोही न कोही नयाँ व्यापारी आइरहन्थे ।
दुई वर्षअघि चाइनाबाट आउँदा एक जना पेम्बाकै उमेरको एकजना मान्छे आएको थियो । तिब्बतको मेलामा भेटिएर साथी भएपछि मीत लाएर आएको रे । एक दुई महीनासम्म उसकै घरमा बस्यो । त्यही वेला उसलाई एक पल्ट मुस्ताङ जानुपर्ने भएछ । मीतलाई जाऔं भनेको मानेनछ । पेम्बा एक्लै मुस्ताङ गएछ ।
० ० ० ०
कार्माको कापी हेरूँहेरूँ लाग्यो स्कूलमा पुगेर । के लेखिहोली त एउटा खुल्दुली थियो मनमा । आमाले छोडेको एक वर्ष भै सकेको थियो ।
“मलाई चराहरू देख्दा खुशी लाग्छ । तर कसैले जाल थापेको कसैले गुलेली हानेको देखेर मलाई निकै दुख लाग्छ । के बिगार गर्छन् र चराहरूले । गुम्बामा आएका परेवा घरमा पनि बोलाउन मन लाग्छ मलाई तर सधैं दिनका लागि दाना छैन र पो । परेवालाई बिरालो र कुकुरले पनि लुकेर मारेको देखेकी छु मैले । त्यसरी परेवा मार्ने कुकुर बिराला र मान्छे उस्तै उस्तै लाग्छ मलाई ।”
एकै काँटे बाङ्गा अक्षर बनाएर लेखेर कार्माका अक्षर पढूँपढूँ लाग्ने थिए । उसले कक्षामा कथा, कविता शिक्षक अनि साथीहरूले पढ्दा एकोहोरो सुनेर बस्थी । आफू पढ्दा नरोकिई शुद्ध पढ्थी । मलाई उसको पढाइ देखेर खुशी लाग्थ्यो । आज यो कापी देख्दा उसलाई कसैले लेख्न लगाएको या कतै बाट सारेर लेखे जस्तो लाग्दै थियो ।
“चरा पुतली अनि फूलहरुले रमाइलो हुन्छ । तर ती सबै कुराका शत्रु हुने रहेछन् । चराका पनि शत्रु । पुतलीका पनि अनि फूलका पनि । मान्छेका शत्रु मान्छे भए जस्तै चराका पनि शत्रु पनि चरा रे ।”
विज्ञान पढाउने मिसले चराको चित्र सहित वर्णन गर्दै हुनुहुन्थ्यो म बाहिर बसेर सुन्दै थिएँ एक दिन । त्यो दिन झलक्क सम्झिएँ । सबै विद्यार्थी शिकारी चराहरूको बारेमा निकै उत्सुक भएर छलफल गर्दै थिए । स्थानीय भाषा समेत बोल्ने मिससँग उनीहरू खुलेरै छलफलमा सहभागी हुन्थे । मलाई निकै चाख लाग्थ्यो उनीहरूले नदेख्नेगरी सुन्न । मैले सुनेको थाहा पाए उनीहरू खुल्न सक्दैनथे ।
“पुतली छेपारो र माउसुलीको आहारा हुनुपर्ने । चरा गिद्द चील र बाजको सिकार गर्ने । आफैले रोपेर हुर्काएका फूल मानिसहरु आफै टिप्ने । राम्रा कुरा किन जोगाउन नसकिने होला ???”
उसका प्रश्न चिह्नहरू थेरै थिए । कुनै पानामा नेपालीका पाठहरू । कुनैमा सामाजिकका कथाहरू जस्ताको तस्तै सारिएका थिए । उसको गृहकार्य लेख्ने कापी पनि होइन । प्रथम भएर दिएको पुरस्कारको कापी रहेछ ।
अन्तिम पृष्ठका कुराले मन बेस्सरी हल्लायो मेरो ।
“बाले कहिलेकाही गाली गरेको सुनेकी थिएँ । इबीले बेलाबेला कामदेखी ढिलो आउँदा चर्को बोलेकी थिइन् । कहिल्यै नरिसाउने आमा बाबा मुस्ताङ गएपछि र घरमा मीत बा मात्रै हुँदा किन झर्केर बोलेकी हजुरामासँग । किन बैनी र मलाई गाली गरेकी । कि त सानैदेखी गाली गर्नु । आमा अघिल्लो दिन अलिकति गाली गर्दा हामी रिसायका थियौं । तिमी बिहान हामी न उठ्दै कता गएकी । म भन्दा धेरै रोइ आमा बैनी । म आफुलाई सम्झाउँछु म तर रोएकी बैनिलाई सम्झाउन जान्दिन म कसो गरुँ ?”
“चराहरूलाई जस्तै मान्छेलाई पनि उड्न मन लाग्ने रहेछ । बाजजस्तो चराको को साथ लागेर हिजो हो कि अस्ति मेरी आमा पनि उडेकी रे । गुँड सम्झिएर बैनीलाई र मलाई सम्झिएर कहिले फर्किएलिन् ? ”
आँसुका थोपा सुकेर टाटा परेका थिए कापीमा । पानाहरू भिजेर सुकाए जस्ता अक्षर फुलेका थिए ठाउँ ठाउँमा ।
६ कक्षा पढ्ने नानीको कापीका अक्षरमा हराएको थिएँ त्यो वेला पनि । पेम्बासँग धेरै पल्ट सोधेको पनि थिएँ, “किन छोडिन् तिमीलाई खासमा ? के कमजोरी थियो तिम्रो ? कि हातपात गर्थ्यौ ? कि आमाले किचकिच गर्नुहुन्थ्यो ?”
उसले सरल उत्तर दिन्थ्यो सधैं, “म गरीब भयो होला नि । किन हान्ने, पिट्ने र म घरमा त हुँदिन धेरै । आमा त झन् लाटो छ । मीत भनेको शत्तुर परेछ । धनी छ होला ऊ सुख देला त । के गर्नु ?”
नेपाली नागरिकता पनि नभएको तिब्बतको मान्छेसँग पुटिक भागी रे । दुई वर्षअघि चलेर पनि सेलाएको चर्चा थियो ।
भुलिसकेको प्रसङ्ग फेसबूकले सम्झायो । फ्रेन्ड रिक्वेस्ट एसेप्ट गर्न मेरो मनले मान्दै मानेन । मेरा आँखामा ती दुई पुतली जस्ता नानीहरू मात्र नाचिरहे ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।