यसो हेर्दा यो कुनै हाटबजारको भिडभाड हो कि जस्तो पनि छ । दशैंमा भेडा–च्याङ्ग्रा अथवा खसी–बोका बेच्न राखिए जस्तो पनि देखिन्छ । तर फरक के छ भने यो न त कुनै हाटबजार हो न त कुनै खसीबोकाको बेचबिखन । तर आश्चर्य चाहिं के छ भने यहाँ मानिसहरूको हातमा नेल बाँधिएको छ र यिनलाई बेच्न राखिएको छ । यही हूलमूलमा रामु पनि आएको छ । ऊ पनि बावुसँगै बजार घुम्न आएको रहेछ । बजारमा हजार भने जस्तै धेरै कुरा बजारमा देख्न पाइन्छ । तर ऊ अलि अलमलिएको छ, किनकि बेच्न राखिएका मानिसलाई गाई–भैंसीलाई दाम्लोले बाँधिए जस्तै बाँधिएको छ । आखिर यसरी बाँधिएका मानिसहरू को हुन् त ? किन यिनलाई यसरी बाँधिएको होला । उसको बालमस्तिष्कमा यो कौतुहलता जागेको छ । ऊ आफ्नो बासँग प्रश्न गर्छ, बाबु उत्तर दिंदै जान्छ ।

– बा, यिनीहरू को हुन् ?

– यिनीहरू दास हुन् छोरा ।

– दास भनेका के हुन् ?

– मालिकले मोलमोलाइ गरेर काम गर्न राखिएका, कमाराहरू हुन् ।

– यिनीहरूको हातमा बाँधिएका के हो ?

– त्यो नेल हो, फलामको जन्जिर ।

– हाम्रो घरको बाख्रो जस्तै भाग्छन् कि भनेर यिनलाई बाँधेको हो ?

– त्यस्तै हो, बाबु ।

– यिनीहरूलाई सधैं यसरी नै बाँधिराख्छन् हो ?

– सधैं बाँधिराख्दैनन् । शहरमा बेच्न राख्दा मात्र बाँध्छन् । घरमा लगेपछि यिनका मालिकले फुकाइदिन्छन् ।

– बा, यिनीहरू के खान्छन् त ?

– तिमीले जस्तै भात, रोटी, ढिँडो, साग खान्छन् ।

(यसैबीच एकजना खाइलाग्दो मानिस आएर व्यापारीसँग सोध्छ, ‘उनको नाम इन्द्रराज हो ।’

‘दाइ, यी दासहरूको मूल्य कति हो ?’

‘आठ सय रुपियाँ ।’

‘पाँच सय गरे हुँदैन ?’

‘अहँ हुँदैन । दास मात्र एक्लो छैन । उसकी स्वास्नी र बच्चाहरू पनि त छन् नि ।’

‘त्यसो भए छ सय गरौं न ।’

‘हुन्न, हुन्न । लग्ने भए लैजानुस्, नत्र अर्कै मान्छेलाई बेच्छु ।’

‘त्यसो भए सात सयमा टुंग्याऔं न त ?’

‘त्यो मिल्दैन । अन्तिम मूल्य सात सय पचास तय हुन्छ ।’

अन्तमा इन्द्रराज सात सय पचा सिक्का तिरेर दासहरू खरिद गर्छन् ।

हुन त यो आजको घटना होइन । शताब्दीऔं पहिलेको हो । दासप्रथा नेपालको मात्र समस्या थिएन । अफ्रिका, अमेरिका, भारत, चीन सबैतिरका साझा समस्या थिए ।

रुसो भन्छन्, ‘मानिस स्वतन्त्र जन्मन्छ, तर चारैतिर सिक्रीले बाँधिएको हुन्छ ।’ वास्तवमा सबै मानिस स्वतन्त्र नै जन्मछन् । दासहरूको स्वतन्त्रता हनन भएको हुन्छ । ती सधैं बन्धनमा बाँधिन्छन्, पशुहरू जस्तै । यिनीहरू पनि बिरामी हुन्छन् अनि मालिकको निगाहमा रहन्छन् । यिनमा बच्चालाई पनि स्याहारसुसार चाहिन्छ, अरू प्राणी जस्तै । तर के गर्नु ? चाहे जस्तो गर्न सक्दैनन् ।

‘ए दास, तेरो नाम के हो ?’

‘सेते, मालिक ।’

‘अनि तेरी स्वास्नीको र छोराहरूको नि ?’

‘श्रीमतीको नाम लक्ष्मी हो र छोराहरूको ठूले र साने, मालिक ।’

दिन त दासलाई पनि परिवारले नाम दिएको हुन्छ, तर के गर्नु ? कोही पनि दासलाई नामले बोलाउन चाहँदैनन् । मानौं सम्पूर्ण दासप्रथाले जकडिएका दासहरूको साझा नाम नै दास हो । दासलाई न कोही नाम दिन्छ, न त पहिचान । फगत यिनीहरू दास मात्र हुन् ।

‘दास, आज ठूलो खेत खन्नु छ । कोदालो फलैंचामुनि राखिएको छ । तेरी स्वास्नीलाई पनि सँगै लिएर जा ।’

‘मालिक, बच्चाहरू दुवै भोका छन् । लक्ष्मी ती बच्चाहरूलाई यसो बासी भात खुवाएर आउँछे । म चाहिं अहिले नै जान्छु ।’

‘तँलाई छोराहरूको यत्रो पीर ? मेरो खेत बाँझै रह्यो भने के खाने ? तिमीहरू अहिले नै खेतमा जाओ ।’

सानु छोरा, आमा, आमा भन्दै रुँदै थियो । बिचरा । लक्ष्मीलाई खेतमा नगई सुखै भएन । ‘म एकै छिनमा आउँछु बाबु, न रो ल ।’ स्नेह र माया जडित भावमा लक्ष्मीले भनिन् ।

दासलाई न स्वतन्त्रता छ, न त अधिकार । पिँजडाको सुगा जस्तै छन्–यिनीहरू । उड्ने प्रतीक्षा गर्दागर्दै प्राण नै जानसक्छ ।

० ० ० ०

आज गाउँमा रमिताको छोराको बिहे छ । साँझको समयमा रत्यौली चल्दैछ । गाउँका धेरैजसो आइमाईहरू आँगनमा जमघट भएका छन् । एक दुई जना केटाहरू मादल ठटाउँदै छन् । आठ, दश वटी आइमाईहरू गीतको भाका हालेर गाउँदै छन् । केही आँगनमा नाचिरहेका छन् । रमाइलो वातावरण छ, खुशियाली छाएको छ । रत्यौली खेल्नेहरूलाई सेल र कसार बाँडिदै छ । लक्ष्मीलाई पनि यो रमाइलो हेर्ने मन छ । आफ्ना साना भन्ट्याङ–भुन्टुङलाई च्यापेर रत्यौलीमा मिसिएकी छ । दासीले धेरै बस्ने कुनै भएन । एकछिन मै फर्किइन् । साना बच्चाहरूका हातमा एकएक वटा सेल छ । उनलाई पनि दुइटा सेल र दुइटा कसार दिइएको छ । फरियाको कुनामा पोका पारेर ऊ फर्कंदै छ ।

‘दासी, ए दासी । कहाँ मरिछ, साँझमा ?’ लक्ष्मीको मालिक्नी कराउन थालिन्, ‘साँझमा कता मरिछ । ए केशवका बा, दासी कता गइछ ?’

इन्द्रराज : रमिताको घरमा रत्यौली छ । त्यहीं गइहोली । अहिले आइहाल्छे नि ।

मालिक्नी : ‘तरकारी सरकारी नकाटी कता पसारिछ ?’

(बिस्तारै लक्ष्मी घर नजिक आइपुग्छे ।)

‘तँ कहाँ पसारिएकी थिइस् दासी ?’

‘एकछिन् बिहेमा रत्यौली हेर्न गएकी थिएँ, आमा ।’

‘के रे, के रे, रत्यौली रे ? राँडीलाई म जगल्ट्याई दिन्छु ।’

‘ए, तेरा छोरा मोराहरूलाई सेल पो लिन गएकी । खान नपाएकी । ल तुरुन्तै तरकारी केला । वडा बिहे हेर्नुपर्या ।

इन्द्रराज : नकरा न मान्छे हो, कहिलेकाहीं रमाइलो हेर्न मन लागिहाल्छ नि । विचरा ! एकै छिन त गएकी हो नि । अलि अगाडि यतै थिई ।

मालिक्नी : (मुर्मुरिंदै) ‘त्यो पनि मान्छे हो ? त्यो त दासी हो, दासी ।’

बिस्तारै इन्द्रराजको कुदृष्टि लक्ष्मीमाथि पर्छ । कति कमजोर छ मान्छे । हुन त पुराणका रचनाकार वेदव्यासले पनि दासीबाटै महात्मा विदुरलाई जन्म दिएका थिए । पानी नचल्ने भनेर हेपिएका अछुतहरूको छोरीबेटीका शरीर तिनका मालिकलाई चल्दै आएका थुप्रै उदाहरणहरू भेटिन्छन् । हो, यस्तै वक्रदृष्टि परेको थियो, इन्द्रराजको ।

आज इन्द्रराजकी श्रीमती पनि माइत गएकी छिन् । चाडबाडमा छोरीबेटी माइत जाने परम्परा नै हो । सेते पनि रातको समयमा खेतमा पानी लगाउन गएको छ । पानी नलगाए रोपाइँ हुँदैन । खेत नरोपे धान फल्दैन । यही मौकामा इन्द्रराजले लक्ष्मीलाई कोठामा बोलाउँछन् र व्यभिचार गर्ने दुष्प्रयास गर्छन् । उनले सोचेकी थिइनन् श्रीमान् र दुई दुई जना बच्चा भएकी उनलाई इन्द्रराजले कुकर्म गर्न खोज्छन् भनेर ।

इन्द्रराज : आज तिम्री मालिक्नी छैन, तिम्रा बच्चाहरू सुतिसके । तिम्रो श्रीमान् पनि पानी लाउन गएको छ । के तिमी मसँगै सुत्न सक्छौ ?

लक्ष्मी : मालिक के कुरा गरेको यस्तो ? दासीको इज्जत हुँदैन र ? पैसा पो त छैन, घरघडेरी पो त छैन, आफ्नो इज्जत त छ नि हजुर ।

इन्द्रराज : मैले तिमीलाई बलजफती कहाँ गर्न खोजेको छु र ? मनाउन पो खोजको ।

लक्ष्मी : हैन मालिक, म कुनै वस्तु पनि त हैन, वस्तुको पो किनबेच चल्छ । जसबाट सुरक्षा खोज्यो, उसैबाट म असुरक्षित हुनुपर्ने (रुन्छिन्) ।

इन्द्रराज : भैगो यो कुरालाई यसै छाडिदेऊ ।

(लक्ष्मी बाहिर निस्कन्छिन् ।)

राती अबेर घर आउँदा सेतेले उनलाई रुँदै गरेको देख्छ । उनी श्रीमानलाई आफ्नो पीडा पोख्छिन् ।

सेते : नरोऊ लक्ष्मी, हामी दासदासीको अवस्था यस्तै हो । घरको न घाटको भएपछि । हामी मात्र होइनौं यो संसारमा थुप्रै दासीहरू छन् जो तिमी जस्तै पीडित छन् । सामन्तहरू दासीलाई खेलौना सम्झन्छन् ।

लक्ष्मी : सबै मालिक पनि त एउटै हुँदैनन् । बरु यो भन्दा सुरक्षित ठाउँ कतै फेला पर्छ कि ?

सेते : महाभारतको अभिमन्यु जस्ता भएका छौं हामी । चक्रव्यूह तोड्नै नसक्ने । जूवामा सबै सम्पत्ति हारेपछि कसरी दुःशासनले द्रौपदीको सारी तानेको थियो ? हामी त दास हौं । जो दास, उसैको वनवास । रात धेरै भैसक्यो । अब सुतौं ।

० ० ० ०    

डमडम डमरु बज्दै छ । मानौं यहाँ कुनै चटक वा जादू देखाइँदै छ । तर होइन, यो कुनै जादू वा चटक देखाउन खोजिएको होइन रहेछ । यो त मानिसहरू जम्मा गर्न भीड तयार गर्न खोजिएको रहेछ । किनभने यहाँ दासहरू बिक्री गर्न खोजिंदैछ । ग्राहकहरूको ध्यान खिच्न पो खोजिएको रहेछ ।

ल आउनोस्, आउनोस् रोजीरोजी लानोस् ।

नवराज : ए भाइ कति हो यिनीहरूको मोल ?

अनन्त : एक हाजार, एक हजार ।

नवराज : एक हजार ? कहाँबाट आउँछ, त्यत्रो पैसा ?

अनन्त : यो दासले मेरो एक हजार ऋण बोकेको छ । यसको परिवारै बिमारी थिए । मैले वैद्यलाई घरमै बोलाएर उपचार गराएको थिएँ । लामो समय औषधीमूलो गर्नुपरेको थियो यसलाई । बाउ, छोरी र दासीको समेत मूल्य हो यो ।

नवराज : यो त अति अचाक्ली नै भएन र भन्या ?

अनन्त : कहाँबाट अचाक्ली हुनु ? यो त साँवा मात्र हो, ब्याजको त हिसाबै छैन । यो दासलाई त कविता लेख्न र भजन पनि गाउन आउँछ । यसैले त दया गरेर मैले ब्याज छोडेको छु ।

नवराज : ए दास, मलाई पनि एउटा भजन सुना त ।

हुन्छ मालिक । दास भजन सुनाउँछ –

हृदयमा हरिको फोटो छ,

हरि बिना यो जीवन खोटो छ ।

दासभित्र पनि छ आत्मा,

आत्मामा नै बस्दछ परमात्मा ।

– दास, तिमीलाई त राम्रो भजन पो आउँदो रहेछ । म तिम्रो सबै ऋण तिरेर लैजान्छु । अबदेखि तिम्रो परिवार मेरो घरमा रहनेछ ।

दासको मुखमा खुसी छाएको छ । हुन त यो संसारमा न कोही कसैको मालिक छ न त कोही दास नै । मालिक त केवल ईश्वर मात्र छ । के गर्नु सामन्तीहरु कज्याउन मानिसलाई दास बनाउँछन् । ऋणीहरू तिनका जीवनभरका खेताला बन्छन् ।

० ० ० ०

नवराजको घर झिँगटीले छाएको छ । जग्गा, जमिन चाहिं प्रशस्तै छ । गोठमा गाई, भैंसी र बाख्राहरू पालिएको छ । उनकी श्रीमती गाई दुहुन व्यस्त छिन् । साना बच्चाहरू गुच्चा खेलिरहेका छन् ।

नवराज (पवनदासतर्फ हेर्दै भन्छन्)– दास, यही हो मेरो घर । अबदेखि यी गाई, भैंसी तिमीले चराउनुपर्नेछ । उ त्यहाँ खोला छ, यिनीहरूलाई आहाल बस्न । अब तिम्री श्रीमतीले यी गाई, भैंसी दुहुनेछिन् । तिम्री छोरीले बाख्रा चराउनुपर्छ । अलिअलि घाँस काट्नुपर्छ ।

नवराज (आफ्नी श्रीमतीलाई बोलाउँदै)– ए एकराजकी आमा, बाहिर आइजो । मैले  तेरो काममा सघाउन कोको लिएर आएको छु । हेर, ऊ दास, ऊ दासी र ऊ त्यो नानी चाहिं उनीहरूकी छोरी । मैले सबैलाई काम सम्झाइसकेको छु । ए नानी, तिमी त्यो पाखामा लगेर बाख्रा चराएर आऊ । दुई घण्टापछि भात पाक्छ अनि खाउली । दास, तिमीले भैंसीलाई न्वाएर ल्याऊ अनि दासी तिमी मालिक्नीलाई चामल केलाउन र तरकारी काट्न सघाऊ ।

‘हुन्छ मालिक’ भन्दै तीनैजना आ–आफ्नो काममा लाग्छन् ।

राती नवराज मस्त निद्रामा हुन्छन् । मस्त निद्रामा उनी एउटा सपना देख्छन् । सपनामा पवनदास देखा पर्छन् । बजारमा नवराजले उनलाई भजन सुनाउन भनेका थिए, सपनामा पनि त्यही दृश्य देखा पर्छ ।

“दास भित्र पनि छ आत्मा,

आत्मामा नै बस्दछ परमात्मा ।”

उनी सपनाबाट झट्ट ब्युँझन्छन् । उनलाई लाग्यो यो त मार्मिक भजन हो । म आफू पूजा गर्छु, पाठ गर्छु, चण्डी र रामायण पढ्छु तर पनि यस्तो कुरा बुझेको छैन । यो दासले कसरी जान्यो यस्तो आत्मा, परमात्माको कुरा । यो कुनै दास हो कि चिन्तक ? यसलाई सकभर दुःख दिन्न । यो त ज्ञानी मान्छे पो हो कि क्या हो ?

० ० ० ०

लक्ष्मी गुइँठा पारिरहेकी छन् । साना बच्चाहरू कपडाको भकुण्डो खेल्दैछन् । यसैबीच उनका मालिक इन्द्रराज आइपुग्छन् र सोध्छन्, ‘दासी, गुइँठा पारिरहेकी ?’

‘हो, मालिक ।’

‘खै त तिमीहरूको मालिक्नी ? घरतिर देखिन्न त ।’

‘मालिक्नी गाउँतिर जानुभयो होला ।’

‘अनि तिम्रो लोग्ने खोइ त ?’

‘उहाँलाई रातभर खोकी लागिरहेको छ । शरीर पनि रन्न तातेको छ । छाती दुख्यो भन्दै हुनुहुन्थ्यो ।’

‘खै, ऊ कहाँ छ देखा त ?’

उनी आफ्नो बिमार श्रीमान् बसेको गोठनजिक लग्छिन् ।

‘दास, तँलाई के भयो ? अनुहार त निन्याउरो छ ।’

सेते (मलिन अनुहारमा) : केही खानै मन लाग्दैन मालिक । शरीर पनि गले जस्तो भएको छ । यसको (श्रीमतीलाई देखाउँदै) र बच्चाहरूको पीर लाग्छ ।

‘किन पीर गर्नुपर्‍यो भन त ? म छँदैछु । दासी, वैद्यकहाँ देखाऊ ।’

‘औषधीमूलो गर । ल यो बीस रुपियाँ लैजाऊ । बरु अहिले नै जाओ ।’

लक्ष्मी इन्द्रराजले दिएको पैसा लिन्छिन् र सेतेलाई जँचाउन जान्छिन् । वैद्य उसको अवस्था हेरेर केही दवाई दिन्छन् । औषधीले ऊ तङ्ग्रिदै जान्छ ।

० ० ० ०

बैकुण्ठ बाजेको घर शहरमा छ । यिनको घरमा चाहिं यसोदास नामक एक मात्र दास छ । बाजे निकै कठोर छन् । शहरमा यिनको खसी, बोकाको व्यापार छ । व्यापारबाटै मनग्गै आम्दानी गरेका छन् । दशैंको मुखमा आएर यिनको खसी मरेको छ । खसी दुई दिनदेखि झोक्राएको थियो । शायद यसलाई कुनै रोग लागेको हुनुपर्छ । यो बिरामी भएको थियो होला । त्यस वेला कुनै पशु चिकित्सक थिएनन् । बाजे अलि निर्दयी थिए । यसो दास खसी नजीकै बसेको छ ।

बैकुण्ठ : ए दास, यो खसी मर्यो कि तैंले मारिस् ?

यसोदास : मालिक खसी झोक्राइरहेको थियो । यसलाई कुनै रोग लागेको हुनसक्छ ।

बैकुण्ठ : तैंले राम्रोसँग हेरविचार गरेको भए मर्थ्यो ? यत्रो दशैंको मुखमा, ल जा (एक लात्ती हान्छ) ।

यसोदास : (खसीलाई अँगालो मार्दै) तँ मर्नुभन्दा त बरु म नै मरेको भए हुन्थ्यो । आफू मरिस्, ज्यानमारा चाहिं म ठहरिएँ । यो कस्तो न्याय हो ?

बैकुण्ठ : अझ न्याय–अन्यायको कुरा गर्छस् । यो बेच्दा मलाई पचास रुपियाँ आउँथ्यो । अब तैंले जसरी भए पनि तिर्नु पर्छ, नत्र…।

यसरी हप्कीदप्की खाएको दासले बाँच्नुभन्दा मर्नु निको ठान्यो । दुःखीलाई जहाँ गए पनि दुःखैदुःख भनेको सत्य रहेछ । साँझको समयमा उसले पासो लगायो । छरछिमेकमा हल्ला चल्न थाल्यो । तर दासले किन आत्महत्या गर्‍यो, यो कसैले पत्तो पाएन । अनाहकमा एउटा निर्दोषले ज्यान गुमायो ।

० ० ० ०

नवराज बसिरहेका छन् । उनलाई तमाखु खान मन पर्छ । लत चुरोट, बिँडीको पनि छ । उनी पवनदासलाई तमाखु तयार पार्न अह्राउँछन् ।

नवराज : दास, तल कोठामा हुक्का चिलिम छ । तमाखुको बट्टा पनि त्यतै होला । मालिक्नीसँग अँगेनोमा गएर आगो माग र एक चिलिम तमाखु बनाऊ ।

पवनदास : हुन्छ मालिक, म एकैछिन्मा लिएर आउँछु । उनी मालिक्नीसँग आगो माग्छन् र तमाखु लिएर आउँछन् ।

नवराज : दास, तिमीलाई त राम्रोसँग तमाखु हाल्न आउँदो रहेछ । भात खाएर तिमरु खेतमा जाओ र परालको कुन्यू लगाओ । अँ साँच्ची त पवन, मलाई तिम्रो एउटा भजन सुन्न मन लाग्यो । आज दासलाई उसको नामबाट बोलाउँदा ऊ निकै हर्षित भयो । ऊ फुरुङ्ग छ ।

पवनदास : हुन्छ मालिक, म एउटा भजन सुनाउँछु ।

“राम सीता जानु भो वनवास,

कौसल्यालाई फर्कने सधैं आस ।”

० ० ० ०

सेते खेतमा काम गरिरहेको छ । जेठको गर्मी छ । खलखल पसिना काढ्दै छ ऊ । निधारको पसिना पुछ्दै अम्खोराले घटघट पानी पिउँदै छ ऊ । एउटा हिन्दी गीतले भन्छ, ‘दुःख तो अपना साथी है ।’ शायद यही दुःख उनीहरूको साथी भएको छ । ऊ ईश्वरलाई पुकार्छ, प्रार्थना गर्छ, ‘हे ईश्वर, सम्पूर्ण भवसागरबाट पार तराउने तिमी, मलाई यो दासत्वबाट मुक्त गरिदेऊ ।’ हुन त यो दासत्वबाट उसले मात्र होइन, सम्पूर्ण दासहरूले नै मुक्ति खोजेका छन् ।

ईश्वरले दासहरूको प्रार्थना सुने जस्तो छ । बिहानै एउटा खुसीको खबर सुनियो । अनि यो खबर आगो सल्किएझैं सबैतिर फिंजियो । सरकारले दासप्रथाको अन्त्य गरेको रहेछ । अब सम्पूर्ण दासहरूको ऋण सरकारले चुक्ता गरिदिनेछ । अब सबै दासहरू तिनका मालिकको चङ्गुलबाट स्वतन्त्र भएका छन् । कसैले भनेको छ, ‘मलाई स्वतन्त्रता देऊ म तिमीलाई एउटा असल राज्य दिन्छु ।’ हो असल राज्यले नै उनीहरूलाई स्वतन्त्रता दिएको छ ।

पूर्ण दासहरू त अब मुक्त भएका छन् । तर यिनीहरूलाई अबको गुजारा कसरी गर्ने भन्ने चिन्ता फेरि त्यतिकै छ । बेचबिखनमा परेका, घरेलु कामदारहरू लगायतका अर्धदासहरू कहिले मुक्त होलान् ?