आँखाले रत्तीभर थाम्न नसक्ने अन्धकार छ ।
अन्धकारभित्र डुम डुम उभिएको छ ।
‘डुम डुम!’
उसले अहिले आफ्नै नाम अन्धकारमै उच्चरण गयो ।
उच्चारणसँगै रक्सी मिश्रित उसको श्वास चिसो रातको हावासँगै कहीँ मिसियो । कसले राखिदिएको यो नाम- डुम डुम ।
अन्धकारमै ऊ हाँस्यो । कसले देख्ने र ऊ यतिखेर हाँसेको । शायद अन्धकारको आँखा हुँदो हो त त्यही आँखाले त्यो हाँसेको देख्दो हो ।
डुम डुम नामको अर्थ थाहा भएन उसलाई । अर्थहीन नाम । तर राख्नेले उसको नाम शायद ठीकै राख्यो- यस अर्थमा कि उसको जीवन पनि अहिलेलाई अर्थहीन रह्यो । अर्थहीन नाम जस्तै जीवन ।
लाश – घरको ढोकामा नै पुग्यो ऊ ।
अहिले यस घरको ऊ नै सम्पूर्ण इन्चार्ज ।
चाबी छ हातमा । चाबी एकपल्ट हल्लायो । हाँस्यो । मात्नसम्म मातेको छ । लाश-घरको चाबी वास्तवमा सुपरिन्टेडेन्टको जिम्मामा मात्र हुन्छ । कहाँबाट आयो चाबी उसको हातमा । उसको विश्वासिलो कामले गर्दा एउटा चाबी उसलाई नै जिम्मा दिइएको हो ।
पाँच वर्ष भयो यहाँ लाश चिरेको । पोस्टमार्टम गर्ने डाक्टर त परै बसेर नोट मात्र गर्ने हो । पहिला उसको बाबु हरिहरले यो काम गर्थ्यो । पक्षाघातले बूढा लडेपछि बाबुको काम उसले सम्हाल्दै आएको छ । पोस्टमार्टमका लागि लाश चिर्ने र सफा गर्ने, काम गर्ने अब ऊबाहेक यहाँ कोही पनि छैन । यस अर्थमा ऊ सुपरिन्टेन्डेन्टको अत्यन्त विश्वासिलो पात्र हो ।
एकपटक चिसो सिरेटो उसको सम्पूर्ण शरीर छोएर जाँदा शरीरमा रक्सीको तातो ऊर्जा घट्यो । ऊ जस्तो होशियार मानिसको प्रबन्धअनुसार पत्लुनको खुकुलो गोजीमा एक बोतल रक्सी थियो । निकाल्यो र घटघट आवाजलाई यथासम्भव नियन्त्रणमा राख्दै आधा तरल हिस्सा पियो ।
अब आयो मज्जा । मज्जा ? यस्तो मज्जा कसलाई जुरेको छ र ? आफैंलाई सोध्यो । छैन, ऊबाहेक । आफैंले उत्तर पनि दियो ।…भोग गर्न जति मात्र पाए जिन्दगी हो । जिन्दगीपछि भोगको भाग आत्मालाई त के जुर्दो हो र !
ढोकामा उभिएर उसले एकछिन सुन्यो । कुनै आवाज छैन । लाश-घरभित्र अनि बाहिर पनि । भुत्रो हुन्छ आवाज ? आवाज नहुनु नै त लाशको परिभाषा हो । दिउँसो उसैले त लाशलाई त्यहाँभित्र हुलिदिएको हो । लाशको अनुहार अहिले उसको आँखासामु आयो । कस्ती सुन्दरी ठिटी नौनीमा मोलिए जस्ती तर गाडीले पेलेर कम्मरदेखि मुनि गिलिक-गिलिक थल्थलिएको ।
यिनको आफन्त कोही आएनन् । शायद यस ठाउँमा प्रथम पटक आएकी अत्यन्त नौलो पर्यटक हुँदी हो । अनुहार चाहिं नि कस्तो भने अहिले नै धपक्क बोलिहाल्छ कि जस्तो । केश उसरी नै निधारमाथि लत्रिएको । त्यसै-त्यसै राम्री ।
उसले मनमनै प्रार्थना गर्यो- ‘प्रभो ! अर्को जन्ममा म यस्तै सुन्दरी दुलही पाऊँ ।’
प्रार्थना फेरि दोहोरियो- ‘प्रभो ! विवाहको मामलामा मजस्तो कसैलाई पनि महाधोका नहोस् ।’
दुनियाँदारी नै धोकेबाज छ साले । निरीह शिकार भयो ऊ यस्तै धोकेबाज दुनियाँको । मतलबको दुनियाँ, पैसाको दुनियाँ ।
अन्धकारमै चाम् मारेर ओठ पनि टोक्यो उसले । कत्रो धोका ? पठाइएको फोटोमा भएकी सुन्दरी युवती उसको हुनेवाली दुलही भनेर उसलाई झुक्क्याइयो । मुखामुखी एकपटक पनि भेट गराइएन । पैसाको थैलोसँग सोझै मधेशकी दुलहीलाई सुन्दर पहाडी प्रदेश उसको घरमा ल्याइयो । पहिलो रातमै ऊ बेहोश भयो । त्यो फोटोकी सुन्दरी दुलही थिइन् ।
फोटोको भरमा मात्र उसको लगन जुराइयो ।
नत्र ऊ यतिखेर संसार नै सुतेको जस्तो अवस्थामा यहाँ किन आउँथ्यो ?
निकै बेर ऊ यसरी आफैंभित्रको भुँवरीमा रुमल्लियो ।
निकै बेर ऊ ढोकासामु उभिरह्यो ।
यसको अर्थ यो होइन कि ऊ डराएको छ ।
लाशसँग त बासै बस्न पनि ऊ डराउने होइन ।
त्यसपछि तालामा अन्धकारको अन्दाज गरी चाबी हालेर बिस्तारै लाश-घरको दैलो ठेल्यो । हल्का घऱ्याक्क आवाजले पनि रातको निस्तब्धता छिया-छिया भयो एकपटक । एकछिन अस्पताल परिसरमा भुस्याहा कुकुरहरू भुकेर कुन्नि केलाई लखेटे जस्तो सिमेट्री पाखातिर कुद्दै गयो । ढुक्क लाग्यो उसलाई । खल्तीबाट अब पो हत्केलाभरि आँट्ने लाइट निकाल्यो र अन् गर्यो ।
लाश मुढा जस्तै तेर्सिएको छ- स्ट्रेचरमाथि । त्यहाँ लाश त्यस्तै छ जस्तो दिउँसो उसले छाडेको थियो । सुन्दरी युवतीको अनुहार देख्नासाथ ऊभित्र मायाको हजार ज्वारभाटा उर्लिएर आयो । लाशलाई अँगाल्यो । गाला र निधारमा हल्का उज्यालो पार्दै दोहोऱ्याएर म्वाइँ खायो । कति मीठो सुगन्ध अझै आइरहेको । अनि केश मुसार्यो । हाइलाइट गरिएको हल्का बदामी केशराशिबाट उसरी नै सुगन्ध आइरहेथ्यो ।
केश भित्र-भित्र उसले नाक रगड्यो । बिहान राम्रो स्याम्पोले शायद नुहाएकी होली । उसले मनमनै अनजान केटीको लाशलाई नाम दिएर पुकार्यो- ‘निशा, म तिमीलाई माया गर्छु ।’
त्यसपछि लाशको हात आफ्नो खस्रो कालो हातमा राख्यो । कक्रिएको भए पनि कति नरम र स्फटिक औलाहरू नि ! पालिएको नङहरूमा नेल पालिस लाइट पर्दा कसरी टल्किएको नि !
रूपकी रानी, मेरी निशा !
यो नाम उसले आफ्नो देहाती मधेशीया गाउँमा सानो छँदा सुनेको हो । निशारानी एउटा नाम थियो- त्यो मधेशीया गाउँको सबैभन्दा धनी जमीनदारकी बुहारीको । ऊ पनि उस्तै राम्री मखमली रूपकी दुलही थिई ।
ऊ थियो त्यस समय छुलछुले ठिटो । उसलाई गुलाब जामुन मिठाई दिएर मुसुक्क हाँस्थी- निशारानी बहु । डुम डुमकी आमा उही जमीनदारको ठूलो कोठीमा सफाइका लागि बिहानदेखि खट्थी । दुलहीको सासू पनि कम राम्री त थिइन । अन्तिम मौसममा अन्तिम पटक फुलेकी गुलाब जस्ती ।
(यसरी नारी रूपको सुन्दर छाप उसको मस्तिष्कमा बालककालदेखि नै परेको थियो ।)
फेरि उसले रहल रक्सी निकाल्यो । अहिले चाहिं लाश- घरभित्र नडराई घटघट आवाज निकालेर नै पियो । आखिर यहाँ कोही त छैन- ऊ र उसको लाश प्रेमिका बाहेक । तब डर के को ? लाश- घरदेखि पर फेरि आएर भुकिरहेको भुस्याहा कुकुरहरूको विरक्त लाग्दो आवाजको पनि किन पो डर !
अन्तिम पटक उसले लाशलाई सम्पूर्ण मुसार्यो । ओठले चुमेर माया गरिरह्यो । यो माया के थाहा निशालाई ? रक्सीले पूरै छोएपछि उसलाई पनि निशाले उसको माया थाहा पाई कि पाइन भन्नेबारे चाहिं केही थाहा नै भएन ।
घर आइपुग्दा उसलाई यति चाहिं थाहा भयो- रातको दुई बजेको थियो । आएर सम्झ्यो उसले लाश घरको ढोका बढो होशियारीपूर्वक लगायो ।
घरको ढोका खुल्लै थियो ।
भित्र उसकी नव विवाहिता दुलही भँवरीदेवी मस्त घुरिरहेकी थिई । कोइला खानीकी माऊ हो- भँवरीदेवी । उमेरमा पनि ऊभन्दा ठूली । यस अर्थमा ऊ तीस, भँवरीदेवी पैँतीस । उमेरको साथ भएन त, रूपको त साथ हुनुपर्ने थियो नि । कालो जीउमा बोसोको मात्रा अधिक बढेकी भँवरीदेवी माथिल्लो गिजाबाहिर माथिल्लो लहरको सम्पूर्ण दाँत सधैं बाहिर नै निस्किएको देखिने । मानौं कोइलाखानी नै अनुहारको प्रतिरक्षाका निम्ति कसैलाई आक्रमण गर्न त्यो दाँत हरदम तयार छ ।
यस्तो रूपको तिर्खा उसलाई किन पो लाग्छ ।
बरु जिन्दगीभरि काकाकुलको तिर्खा नै सही । भोगको त कुरै रहेन ।
एकछिन भँवरीदेवीको अनुहार हेर्दा उसलाई बान्ता आयो र उठेर ह्वाक-ह्वाक बान्ता गर्न बाहिर गयो नालामा ।
आकाशमाथि बिस्तारै रातले अन्धकारको साथ छाड्दै गयो ।
+ + +
बिहान दुख्दो टाउको समाएर उसले सम्झ्यो – लाशसँगको रुमानी दुनियाँको साथ रातसम्म मात्र हो त ?
फेरि टाउको चड्किएर दुख्यो । यस्तो कुरा अब नसोचेकै बेस होला ठान्यो ।
त्यसपछि घैलाको पानी घटघट पियो अनि मुख धुँदै खकालेर झाडु लिई अस्पताल बढाल्न निस्कियो
। बिहानै उसकी आमाले नौली दुलही भँवरीदेवीलाई अस्पताल डुलाउन ल्याई । यो फलाना । यो ढिस्का वार्ड हो र यहाँ फलाना-फलाना रोगको उपचार गरिन्छ भनेर आफ्नो मधेशीया भाषामा बखानी रही । उसकी आमाले देखाएर उः माथि अलग्गै रहेको चाहिं लाश-घर हो र त्यहाँ दुर्घटनामा मरेका मानिसलाई पोस्टमार्टमका लागि भित्र राखिन्छ भन्दा उ झाडु नै हल्लाएर तर्सियो ।
उसकी कुरूपा स्वास्नी बिहानै सिउँदोभरि सिन्दूर लगाएर नयाँ वातावरणमा खूब उत्सुक देखिएकी थिई । माथिल्लो मुखमा उछिटिएको गिजा सम्पूर्ण देखाएर ऊतिरै हाँस्न खोजी । उसलाई एक-एक गरी दाँत नै झारिदिऊँ जस्तो लाग्यो । मनले नै थुक्क भनी थुकेर माथि मेटरनिटी वार्डतिर दौडियो ।
आधा दिनसम्म वार्डहरूमा झाडु लगाएपछि ऊ घर फर्क्यो । घरमा नवागान्तुकहरू देखिए ।
कति दाममा उसको बिहेको कुरा मिलाइएको थियो र अझै कति रकम बुझाउन बाँकी थियो सो हिसाब निखार्न बिहारको कुनै देहाती गाउँबाट मैलो धोती लगाएका केही श्वेतकेशी बुर्जुगहरू उसको सानो सरकारी क्वार्टरमा आएका थिए ।
पक्षघातले थलिएको उसको बाबु बाँकी रकम आगन्तुकहरूबाट लिएर विजयी भावमा खटियामाथि बसिरहेको थियो । भँवरीदेवी चाहिं एक कुनामा एक हातले ऐना समाएर सिन्दूर लगाउनमा तल्लीन थिई ।
ऊ एकाएक जङ्गिएर करायो – ‘मेरो नामको सिन्दूर तँलाई राख्ने अधिकार छैन ।’ त्यसपछि कुरूपाको हातबाट सिन्दूरको बट्टा खोसेर भागेजस्तै उ तल शहरतिर लाग्यो ।
+ + +
रातको खास्टो ओडेर ऊ त्यही पुग्यो जसरी हिजो यति वेला नै यहाँ आइपुगेको थियो ।
उसरी नै लाश-घरको दैलो खोलेर नहिच्किचाई भित्र पस्यो ।
बरफ अलिक पग्लिएको पानी मोटो चप्पलले टेकिएको थाहा पाएपछि चिप्लिने सम्भावना हटाउन ऊ होशियारीपूर्वक लाश भएनेर पुग्यो । हत्केलाले लाइटको आयतन छेकेर उज्यालोलाई लाशको अनुहारमा आंशिक पर्न दिएर आफ्नो गाला लाशको गालामा सुस्तरी छुवायो । चिसो, अति चिसो…।
अनुहार हिजोभन्दा बेग्लै देखिएको लाशलाई सुमसुम्याएर भन्यो- ‘मेरी निशा, तिमीलाई दाबी जनाउन कोही पनि नआओस् । तिमी मेरै भइरहनू यसरी । तै पनि म कसरी चिरूँ तिमीलाई ? तर मैले नै चिर्नपर्छ ।’
एकछिन सुकसुक गर्दै ऊ लाशमाथि नै रोयो ।
‘सम्झ्यो- जीवनमा सुखभन्दा दुःख नै बढी छ । एक छाक सुख छ सयौँ भाग दुःख छ । अब एकदिनपछि कति ठूलो दुःखको भाग यो अभागी भागमा पर्ने हो । ऊ डराएर फेरि रोयो । मन थाम्यो उठ्यो । आफैँलाई सोध्यो- कसरी निशाको शरीरमा छुरी चलाउनु भोलि ?
फेरि लाशलाई निरीक्षण गर्यो ।
सुनिंदै गएको लाशको टाउको निकै जड भएको उसले अनुभव गर्यो । हातका औंलाहरू खेलायो ।
मधुरो बलेको सानो लाइटलाई एक हातले समात्यो ।
टिल्टिल हुँदै गएको नङमा नेलपालिस फारिन्दै जाँदा छिर्केमिर्के भएको खाली अंशमा चिसोको ओस पानी हुँदै गएको उसले देख्यो । हत्केलाले त्यो पुछिदिएर फेरि उसले पत्लुनको खुकुलो गोजीबाट रक्सीको बोतल निकाल्यो । घटघट आधा पियो । लाशको केशमा नाक गाड्यो । स्याम्पोको गन्ध अझै रहल रहेको थाहा गर्यो ।
अन्धकारमै बिर्सिएको एउटा कुरा सम्झेर ऊ झस्कियो । कमेजको खल्तीमा हात हाल्यो । त्यहाँ थियो त्यही सिन्दूरको बट्टा । बिहान उसले भँवरीदेवीको हातबाट खोसिराखेको ।
लाशको चिसो न चिसो कक्रक्क कानमा उसले ओठ छुवाएर सुस्तरी भन्यो- ‘निशा, आज म तिमीलाई बिहे गर्छु । मेरी स्वास्नी बनाउँछु ।’
बडो जतनसँग उसले सिन्दूरको बट्टा खोल्यो । दाहिने हातको बूढी औंली र चोर औंलाले हल्का च्याप्दै उठाएको सिन्दूर लाइटको उज्यालो पार्दै लाशको सिउँदोमा एकसरो लगाइदियो ।
लाशको कानमै फेरि भन्यो- ‘अब तिमी मेरी सद्दे स्वास्नी भयौ ।’
फेरि लाइटको आंशिक उज्यालो सिउँदोमाथि पारेर सिन्दूरको धर्का हेर्यो । चिसो ओसले भेटिएको सिउँदोमा सिन्दूर केही लतपत भए पनि त्यो चहकिलो नै देखियो । ऊ सन्तुष्ट भयो । यति मायाले नै पनि धेरै पुग्यो ।
रहल रक्सी घटघट गरी रित्यायो । लाशको चिसो ओठ चुम्यो र एकछिनसम्म त्यसलाई तातो पारिदियो ।
सुस्तरी ताल्चा मारेर बाहिर अन्धकारमा आयो ।
+++
तर भोलिपल्ट एउटा कुरा चाहिं अचम्मकै भयो ।
डुम डुम लापत्ता भयो ।
भँवरीदेवीले कोठामा निखारेर हेरी ।
त्यो सिन्दूरको बट्टा टेबलमाथि थियो ।
तर कसैले पनि भन्न सकेनन् – डुम डुम किन लापत्ता भयो ?
कालेबुङ, भारत
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।