लक्ष्मीपूजाको दिन भएकाले सुत्न ढिला नै भएको थियो । सुत्न खोज्दाखोज्दै भैली टोली आयो । भैलो टोली देख्ने बित्तिकै म तीनछक परें । गाउँबाट बिहे गरेर गएका चेलीबेटीहरू नै भेला भएर यो भैलो टोली बनेको रहेछ । सावित्री दिदी भट्याउनेमा हुनुहुँदो रहेछ । सीता दिदी मादल बजाउँदै थिइन् । रमा गीत गाउन पहिलादेखि नै माहिर थिइन्, यहाँ पनि त्यही जिम्मेवारीमा रहिछन् । उनको भाकामा सरला, कविता, निर्मला र नम्रताले साथ दिइरहेका थिए । भैली टोलीमा शर्मिला, रमा, विमला र कमला पनि रहेछन् । र, त्यही टोलीमा रहिछन् रमिला पनि !
रमिलाले मलाई तानेर अतीततिर पुर्याइन् । म आई. ए. को परीक्षा दिएर घरमा बसिरहेको समयमा रमिला पनि एस. एल. सी. सकेर फुर्सदमा थिइन् । उनको छिमेकी राजु मेरो साथी थियो र राजुलाई भेट्न जाँदा मेरो उनीसँग पनि भेट भइरहन्थ्यो ।
अलि पछि त राजुको घर जाने कुरा बहाना मात्र हुन पुग्यो । म रमिलालाई नै भेट्न जान थालें । मैले उनको दैनिकी जानिसकेको थिए र उनीसँग भेट्न अनुकूल हुने समयमा म त्यहाँ पुगिरहन्थें । मैले पढ्नु थियो, जागिर खानु थियो, बाउआमाको भाकामा ‘ठुलो मान्छे’ बन्नु थियो । मेरो अगाडि अनेक कार्यभार थिए ।
उनी पनि त आइ. ए. पढ्न चाहन्थिन् (कम्तीमा मलाई त त्यही भनेकी थिइन्) । मेरो मनमा उनी मेरी भएको कल्पना नभएको भने होइन तर ती किशोरीमाथि प्रेम प्रदर्शन गर्नु शोभनीय थिएन । हामी यताउताका कुरा गरेर समय बिताउँथ्यौं । म मेरो सपनाको लागि समय र अवसर छ भन्नेमा ढुक्क थिएँ ।
दशैंपछि रमिला पढ्नका लागि मामाघर गइन् । केटी मान्छेलाई जताततै बस्न पनि त गाह्रो । म पनि बी. ए. पढ्ने तारतम्य मिलाउन काठमाडौंतिर लागें ।
एकदिन त्यस्तै थकित भएर कोठामा फर्किरहेको बेला मैतीदेवीमा भेट भएका हरि दाइले भने, “तिमीलाई थाहा छ कि छैन । भन्न मन त थिएन । तर नभनी पनि मन मानेन । अस्ति १५ गतेको साइतमा मामली घरबाटै रमिलाको बिहे भयो ।” हरिलाई पनि हाम्रो चक्कर थाहा रहेछ । म हक्क न बक्क भएँ । रमिलालाई आफ्नी बेहुली बनाउने त कुरै छोडौं उनी बेहुली भएको हेर्ने पनि मेरो भाग्यमा रहेनछ । मैले उनलाई दिएको जवाफ त बिर्सें तर त्यो साँझ केही नखाई सुतेको चाहिं मलाई सम्झना छ ।
मनमा चलेको सिनेमा हेरुन्जेलमा भट्ट्याउने कार्यक्रम सकिएको थियो र नाचगान चलिरहेको थियो । तिम्रो बिहेमा पनि हामी यसैगरी भेला हुन्छौं भनेर मलाई जिस्क्याइरहेका पनि थिए । अधिकांश त मेरा दौंतरी नै थिए नि । नाच्ने समूहमा रमिला पनि रहिछन् ।
एस. एल. सी. पछि बिहे भएकी रमिला अहिले लोभलाग्दी युवती भइसकिछन् । बिहेपछि गहनामा सजिएकी उनी थप राम्री भएकी थिइन् । आँखा उस्तै थिए निश्छल, कोमल र प्रेमिल । अरू भैलिनीहरूले ठूलो घेरा बनाएका थिए र बीचमा रमिलासहित तीनचार जना नाचिरहेका थिए ।
नाच्दै दलानको डिलमा आएर रमिलाले ‘आउनु तपाईं पनि नाच्न’ भनेर मलाई तानेर लगिन् । म बालक झैं उनको पछि गएँ र नाच्न थालें । थप्पडीको आवाज बढिरहेको थियो । म कठपुतली झैं नाचिरहेको थिएँ । विधिको विडम्बना, भाग्यमा सात फन्का नाच्नु रहेछ, सात फेरा घुम्ने सपना देख्न पुगेछु ।
भैलिनीहरू हाम्रो घरबाट फर्के । रमिला पनि पछि लागिन् । घरको तगारो कट्ने बेला उनले मलाई फर्केर हेरिन् । मैले उनलाई नै हेरिरहेको देखेर उनी सकपकाइन् । मतिर सोझिएका आँखा समेट्न उनलाई केही बेर लाग्यो नै । ती आँखाले बितेका वर्षहरूका घटनाक्रम समेटिएको महापुराण वाचन गरिरहेको थियो । तर त्यो महापुराणबाट न उनको आत्माको मुक्ति हुनसक्थ्यो न मेरो । समय धेरै अगाडि बढिसकेको थियो । र, समयले निको पार्यो भनेर ढुक्क भएको घाउ चहर्याइरहेको थियो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।