‘आज लोटा बोकेर भाग्यो । दिउँसो एकछिन स्नानघाट गएको मौकामा झ्यालबाट छिरेछ । लोटामा आधी माना जति दूध थियो । सबै भुइँमा घोप्टाएर लोटा बोकेर हिंडेछ । यी जेमराजले पनि सुख नदिने भए ।’ उनले भुइँमा पोखिएको दूध सोहोर्दै काकालाई बेलिबिस्तार लगाए ।

काका दिनमा एकपटक उनको कुटि मै आइपुग्थे । आरतीमा स्नानघाटमा बारबार भेट त भै रहन्थ्यो । मनका कुरा आफ्ना व्यक्तिगत बियाँलो खोल्नका लागि कुटि नै उपयुक्त स्थान रहन्थ्यो उनीहरूका लागि ।

काका उतै आश्रम मै बस्छन् । पहिला ऊ पनि आश्रम मै हुँदा दुवैको जोडी कमालको थियो ।

‘एउटा स्पिकर किनेर अलिक भड्किलो गीत बजाएर छाडिदिनू, आफू बाहिर निस्केको बेलामा । अनि भित्र छिर्थेनन् होला कि ?’  काकाले युक्ति सुझाए ।

‘भड्किलो  गीत नै किन काका ? भजन बजाए भै हाल्छ होला नि ।’ उसलाई यो घाट छेउ भड्किलो गीत बजाउनु उचित नलागेर काकासँग विमति व्यक्त गरिहाल्यो ।

‘भजन त तिम्रा जेमराजहरूलाई बानी परिसकेको होला नि ।’ काकाले हाँस्दै बोले ।

काकाको कुराले ऊ पनि हाँस्यो ।

‘खै नातिले गएको महिना  भिडियोमा बोल्छु बा भनेको थ्यो । यहाँ आउने रहर पनि गरेको थियो छोराले ल्याइदिए पो । काम बिजनेस के के हो कैले फुर्सदिलो छु भनेको सुन्न पाएको छैन यो कानले ।’ काकाले हास्यरस तुरुन्तै त्यागेर दु:खको पोटली खोल्न भ्याए ।

काकालाई आश्रममा उनका छोराबुहारीले छाड्न आएका थिए । ऊ छोराबुहारी छाडेर एक्लै आश्रममा आइपुगेको थ्यो ।

टिनको छानामा एक जोडी बाँदर चिच्याउँदै हाम फाले । ठूलो टिन बजेको आवाज आयो धर्ममान हातमा लट्ठी बोकेर बाँदर धपाउन कुटिबाहिर निस्किए । आँगनका ढुङ्गा टिपेर छानातिर फ्याँके । चर्को स्वरमा कराए जा भाग् भनेर ।

काकाले दु:ख रसलाई फेरि हास्यरसमा बदल्ने मौका पाए, ‘नलखेट धर्ममान जेमराजहरू अघि लगेको लोटा फिर्ता गर्न आएका होलान् ।’

—0—

पाँच वर्ष अगाडि । नाति तीन वर्षको पुगेको थ्यो ।

रुद्राक्षका नघोच्ने काँडाले नातिको पैतालामा आनन्दको काउकुती लगाएको अनुभव नातिले झुक्किएर रुद्राक्षको माला नाङ्गो खुट्टाले टेक्दा महसूस गर्‍यो । बाल जिज्ञासा त हो उसलाई मन परेको काउकुती भोग गर्न आफ्ना पैतालामुनि रुद्राक्ष माला राखेर मालामा हिंड्न थाल्यो । सयौं रुद्राक्षका काँडाले नातिका पैतालामा एकमुष्ट काउकुतीका झुप्पा र आनन्द प्रदान गर्‍यो । बाल मस्तिष्कमा आनन्दका लहरहरू छरपस्ट भै रहेका थिए ।

एक्कासि नातिको गालाले चड्कन भेट्यो । ‘मेरो पवित्र रुद्राक्ष टेकिस् ?’ धर्ममान रीसले चुर भए । उनको मनमा नातिले कुल्चेको रुद्राक्ष बिझायो अझ तीक्ष्ण राग पैदा भयो । एक चड्कनले राग शान्त हुनेवाला थिएन नातिको अर्को गालामा पनि थप्पड बजारियो ।

बिचरा नाति रुन बाहेक ऊसँग विकल्प के नै थियो र ? फेरि गालाको थप्पड पनि दह्रो नै भेटेको थियो । धर्ममानले रुद्राक्षलाई टेकेको कुल्चिएको रीस पूरै नातिको गालामा पोखेका जो थिए ।

तिजको दर खाने दिन थियो । छोरी र नाति हिजो भरखर मामाघर आएका । आफ्नो बालख छोराको आँसु धर्ममानको छोरीले सहन सकिनन् । काखमा च्यापिन् छोराको गालाको आँसु पुछिदिइन् । हजुरबाको थप्पडले राता भएका गाला मुसार्दै बोलिन् रिसाउँदै बोलिन्, ‘बल्ल बल्ल मामाघर आएको नातिलाई उपहार दिनु भो है बा ।’

धर्ममान पनि के कम । ‘तेरो छोरालाई सम्हाल्न सक्दिनस् अर्काको जप गर्ने रुद्राक्ष कुल्चेर रमाउने ? धर्म नष्ट भएन मेरो ?’ बोलीमा छोरीको बराबरकै रीस मिसिएको थ्यो ।

‘बच्चा हो यस्लाई के ज्ञान ? के पापको ज्ञान के धर्मको ज्ञान ? यसरी गालै फुट्नेगरी चड्कन लगाएर तपाईंले धर्म फिर्ता पाउनु भो ?’ छोरीले नातिको गाला मुसार्दै बोलिन् ।

‘तिमीहरू नास्तिक अधर्मीलाई के थाहा धर्म र भक्ति त्यै ज्वाइँको त छोरो मेरो धर्म मेरो आस्था कुल्चिनु के ठूलो कुरा भयो त ? त्यस्कै संस्कार भरिएको छ यसमा पनि ।’ नाति तर्फ इङ्गित गर्दै धर्ममान कुर्लिए ।

छोरी अरू बोल्न चाहिनन् । रुँदै गरेको छोरालाई बोकेर फन्किंदै धर्ममानको अघिल्तिर बाट ओझेल परिन् । उनको एक हातले छोरो काखीमा च्यापेको थियो अर्को हातले आफ्नो गहको आँसु पुछ्दै थियो ।

‘श्रीमती आएर सम्झाउन खोजिन् तिजको बेलामा माइती आएकी छोरी रुवाएर के पाउनु भो ?’

‘संस्कार धर्म भएको ज्वाइँ रोजेकी थिइस् र ? जस्तो ज्वाइँ त्यस्तै नाति धर्म अध्यात्मको ख्याल नहुने खानदानमा छोरी जिम्मा लगाइस् तेरो रहरले । नाति रुद्राक्ष कुल्चिएर आनन्द मान्ने नजन्मिए कस्तो जन्मिन्छ त ?’

श्रीमतीले सम्झाउन खोजेका सबै शब्द बालुवामा खन्याइएको पानी बराबर बनाइदिए धर्ममानले ।

धर्ममानकी श्रीमतीले छोरी ज्वाइँको प्रेम सम्बन्ध विवाहमा परिवर्तित गराएकी थिइन् । उनकै जोडबलले विवाह भएको थियो ।

उनीलाई उदेक लाग्यो । न श्रीमान् खुशी न छोरी न नाति न ज्वाइँ । बित्थामा थाप्लोमा नाम्लो भिरेको अनुभव गरिरहेकी थिइन् ।

बुढाको रीस र बुद्धि ठेगानमा आउँछ कि भनेर भैरवको मन्दिर पनि लिएर गएकी थिइन् । मन्दिरमा लाइनको व्यवस्थापन मिलेन भनेर धर्ममानले मन्दिरमै तमाशा मच्चाए ।

भैरवको उल्टा रियाक्सनले मन्दिर गएको सातौं  दिनमा ज्वाइँलाई मेरी छोरीको महिला अधिकार हनन गर्‍यो श्रम शोषण गर्‍यो मेरी छोरीलाई हेप्यो भनेर ज्वाइँलाई पुलिस थाना सम्म पुर्‍याए । त्यसकै कारणले ज्वाइँ ससुराली आउन छाडे । त्यै पनि धर्ममानको बुद्धि फिरेन । उल्टै ज्वाइँका शाखा सन्तानलाई सराप्दै बसे धर्मको दुश्मन मान्दै सराप्नु सम्म सरापिरहे ।

भैरवको लीला कहाँ समाप्त हुनु र ? खुट्टा भाँचियो खाटमै लम्पसार थला पर्नेगरी । खाटमा भाँच्चिएको खुट्टा डोरीमा अल्झाएर उत्तानो पर्दा पनि भट्ट्याउन छाडेनन् अधर्मी ज्वाइँ भन्दै सराप्न छाडेनन् धर्ममानले ।

त्यसपछि एक वर्ष छोरी पनि माइत आइनन् । धर्ममानले किन आउँदिनस् भनेर एक कल फोन पनि गरेनन् । नाति देख्ने मन पनि गरेनन् । ज्वाइँ पुज्ने कुरा त उसको धर्म र अध्यात्मले नदिने नै कुरा भयो । ज्वाइँ पनि ससुराली जान मानेनन् ज्वाइँ आफ्नी श्रीमतीलाई भन्थे, ‘जुन स्थानमा तिम्रो श्रीमानको इज्जत हुँदैन त्यहाँ तिमी जानुहुँदैन चाहे त्यो तिम्रो बाबाकै घर किन नहोस् ।’

—0—

दुई वर्ष पछि धर्ममानले छोराको बिहे आँटे । बुहारी आफैंले रोजेर कुल खानदान धर्म सबै मिलाएर बुहारी भित्राए । बुहारी खोज्दा पहिलो शर्त नै माछामासु नखाने केटी हुनुपर्ने थियो । ज्वाइँ आएनन् छोरी लाजकाजले गर्दा भाइको बिहेमा सामेल भइन् । धर्ममान छोरीसँग खास्सै बोलेनन् । दुई वर्ष अघिको चड्कनको प्रभावले होला नाति केटो हजुरबाको छेउमै परेन । सहज-असहज मिश्रित परिस्थितिमा धर्ममानले बुहारी भित्राए ।

छोरोको बिहे भएको तीन महिना भएको थियो । धर्ममान बिहानै पड्किए । उनको शिरको टोपीमा दाग लागेको रैछ । बुहारीलाई धुन दिएको ढाका टोपीमा एक्कासि दाग देखेपछि उनको स्वाभिमान मै हिलो छ्यापे जसरी कराउन थाले । ससुराको टोपीमा दाग जानीजानी त लगाएकी थिइनन् उनलाई पनि दागको बारेमा जानकारी थिएन । तैपनि तुरुन्तै सरि भनिन् बुहारीले । माफी मागेर टोपी धुन लगिन् । मनमा नमीठो लाग्यो उनलाई ।

जनै पूर्णिमा आयो । ‘बा यसपालि मलाई तावा भिनाजुले बाँधिदिने त होला,’ बुहारीले धर्ममानलाई सोधिन् ।

उनलाई भिनाजु ससुराली आउँछन् होला झैं लागेको थ्यो ।

धर्ममान कड्किए, ‘त्यो नास्तिकसँग तावा लगाइमाग्ने भए यो घरमा नबस्दा हुन्छ ।’

बुहारी अचम्म मानिन् । ‘किन भिनाजु आइसिन्न र यहाँ ?’ बुहारीले प्रश्न गरिन् ।

धर्ममान झन् च्याँठिए, ‘ती संस्कार नभएकाहरू किन आउनुपर्‍यो मेरो घरमा ?’

बेलुकी बुहारीले आफ्नो पतिसँग जिज्ञासा पोखिन् । जवाफ पाइनन् । भोलिपल्ट सासूलाई सोधिन् । मौनता बाहेक हात लागेन । ससुरालाई सोध्ने हिम्मत थिएन । सोधे भने धर्ममान पड्किहाल्थे । भिनाजु हामीकहाँ किन आउँदैनन् ? यो उनको मनमा अनुत्तरित प्रश्न थियो ।

‘मलाई कोही चाहिंदैन । मेरो प्रभु हुनुहुन्छ मसँग । कोही आएर नआएर मलाई केही मतलब हुने हैन दुनियाँलाई के मतलब ?’ जनै पूर्णिमाको साँझ घर छिर्ने बित्तिकै धर्ममान पड्किए । शायद बुहारीले सोध्न नसकेको प्रश्न गाउँमा कोही अरूले नै सोधेर उनी उग्र भए ।

‘बा तिरस्कार अपहेलनाको सिलसिला अन्त्य गर्नुपर्छ अब । भिनाजु त्यति नराम्रो पनि होइसिन्न । हजुरले नरम भएर कुरा गरिस्यो भने भिनाजुले कुरा बुझ्नुहुन्छ ।’ छोराले सम्झाउने प्रयास गर्‍यो ।

‘ए म पो उग्र म पो कडा ? कडा के भन्छौ ? काँडा भन न । तिमीहरूको लागि म बिझाउने काँडा भएको रैछु । निकालेर फ्याँकिदेऊ । किन निकाल्छौ म आफैं निस्किन्छु । बस्दिन यो घरमा देवघाट गएर आश्रममा बस्छु ।’

‘बाबा ! तेसो नभनिस्यो । अब कति नै पो बाँकी छ र हामीकहाँ परिवारको नयाँ सदस्य  आउन । कम्तीमा उसको लागि त यस्तो नभन्नु । सबै परिवार मिलेर स्वागत गरूँ न हाम्रो नयाँ सदस्य लाई हाँसीखुशी । हुन्न र बाबा ?’ छोराले अनुनय भावमा आफ्नो कुरा व्यक्त गर्‍यो ।

धर्ममान मानेनन् । भोलि बिहानै झोला झाम्टा बोकेर घर बाट निस्किए । ऊनलाई रोक्ने मन सबैको थियो तर बस्नु नजानु भन्ने बोली कसैको निस्किन सकेन ।

—0—

आज कुटिमा स्वयं बिष्णु आए ।

कुटिका भित्ता खुशी भए । कुटिका टिनका छाना खुशी भए । कुटिका चिरा परेका भुइँ ज्वाइँ नारायण देखेर खुशी भए । तर धर्ममान खाटको कुनामा बेखुशी भएर खुम्चिएरै बसेको थियो । छोरीले उसको चुह्ला सफा गरिदिई । चियापत्ति सक्किएको रैछ । किनेर लिएर आई । चार कप चिया पकाई ।

‘बाबा घर जाम् अब । यो घाट हजुरलाई फापेन जस्तो लाग्यो ।’ छोरीले आग्रह गरी ।

नाति हजुरबुबाको जेमराजहरू देखेर मक्ख पर्दै थियो । उसले चियाको कपको चुस्क लगाउन सम्म पनि भुलेको थियो ।

‘जान्न । म एक्लै ठीक छु ।’ धर्ममानले जवाफ दियो । बोलीमा कठोरता कायमै थियो ।

‘युज्यते ईती योग: । बाबा ! योग अध्यात्ममा बिछोड एक्लोपन कहाँ भनेको छ ? जोडिनु नै योग हो, सामेल हुनु नै अध्यात्म हो ।’ ज्वाइँले गहन विषय छेड्ने अभिप्राय बनाए  ।

‘श्लोक घोक्दैमा कोही महान् बन्छ र ?’ धर्ममानको जवाफदेही धैर्यताको सीमा चार सेकेन्डको थियो ।

‘योग: कर्मशु कौशलम् ।‘ ज्वाइँ फेरि थप्दै गए, ‘बाबा आफ्नो काम कर्म कुशलताका साथ सम्पन्न गर्नु आफू जे हो त्यै बन्नु नै योग हो आफूले आफैँलाई जान्नु चिन्नु नै अध्यात्म हो । अझ आफन्त चिन्नु आफन्तसँगै आफ्नो जीवनको लक्ष्य प्राप्ति जीवनको सन्तोष हो । बाबा भन्छन् नि सन्तोषं परम् सुखं । हजुरको धर्म एक्लै नबसेर पनि प्राप्त हुन सक्छ । हामीसँगै रहेर पनि हजुर आध्यात्मिक हुन सक्नुहुन्छ ।’

‘अधर्मीले दिएको ज्ञान पनि तीतो हुने रैछ ।’ धर्ममानले आफ्नो ज्वाइँ प्रतिको तिरस्कार यथावत् भएको जानकारी दिन एक क्षण पनि ढीला गरेनन् । तुरुन्तै जवाफ फर्काइहाले साथमा अधर्मीको आरोप यथावत् नै थियो ।

‘ल म अधर्मी नै सही । घरमा लक्ष्मी आगमन भएको छ नातिनी जन्मिएकी छे । पर्सि न्वारान छ हजुर मेरो छोरोलाई त चड्कन लगाउनु हुन्छ । आफ्नी नातिनीको नाम राख्न त जानुहुन्छ होला नि ?’ ज्वाइँले आफू आउनुको उद्देश्य प्रष्ट पारे ।

‘जान्न । म किन जानुपर्‍यो र ? तेसको छोरीको नाम तसैले राखोस् म किन चाहियो ? तेईपनि म माया मोह लोभ सम्बन्ध नाता सबै त्यागेको घाटको जोगी हुँ सन्यास हुँ । मलाई नाता सम्बन्धले छुँदैन अब ।’ धर्ममान रीसमा बोले ।

‘समीपताले धर्म बढ्छ । तपाईंको उपस्थितिले नानीलाई आशीर्वाद मिल्छ । हजुर जोडमा बल गर्नुहोला । हजुर घरको मुली मान्छे घरको धुरी भएर सबैलाई थाम्नुपर्ने हैन र ?’ ज्वाइँले धर्ममानलाई दायित्वबोध गराउन खोजे ।

‘म मुलि भएनि मामुली भएनि कसैलाई चासो पर्ने कुरा रहेन,’ भनेर कड्किए र कुटिबाट बाहिरिए ।

ज्वाइँ पनि निस्किए । झोला भिरे । पत्नीलाई पनि जाऔं को इशारा गरे । नाति  काकासँग खेल्दै थियो काकाले आँखामा पट्टी बानेर नातिसँग छोईडुम खेल्दै थिए । नाति काकासँग रमाइलो मानेर उफ्रिंदै थियो । धर्ममान कुटि बाहिर ठुस्किएर बसिरहेका थिए । जेमराज कुटिभित्र छिरेर झुन्डाएर राखेको धर्ममानको टोपी बोकेर भाग्यो । धर्ममानले देखे टोपी खोस्न बाँदरको पछाडि हत्तारिंदै दौडिए । उता काकाको शिरकै टोपी उसको नातिले खोसिदिएर भाग्यो काका हाँस्दै नातिको पछि दौडिरहे चरम आनन्द भोगिरहे ।