‘तिमी एक गलत मान्छे हौ !’ मनीषको कानमा यही वाक्य गुञ्जिरहन्छ । कसैले धम्काएर भने जस्तो उसलाई लागिरहन्छ – तिमी एक गलत मान्छे हौ । उसले विश्लेषण गर्न सकिरहेको हुँदैन, कस्तो गलत मान्छे । उसले कतै भनेको सुनेको थियो – ‘समयअगि जन्मेको व्यक्ति ।’ ऊ पनि त्यस्तै हो कि ? गलत समयमा जन्मेको ।

बिहान ऊ अफिसका लागि निस्कन लाग्दा उसकी श्रीमतीले भनी, ‘तिमी एक गलत मानिस हौ ।’

सन्दर्भ यो थियो, उसले ग्याँस सिलिन्डरको पैसा जम्मा गर्न सकेको थिएन । हिजोसम्म ग्याँस पौल पाइन्थ्यो । आजैदेखि त्यो गायब छ । मजाक गर्न उसले भनेको हो– ‘गधाको टाउकोबाट सिङझैं ।’ उसले भनेपछि पछुतायो ।

श्रीमतीले झन्कँदै भनी, ‘गधा तिमी हौ !’ यद्यपि शहरमा गधा देखिन छाडेको थियो, पहिलेझैं । अहिले पिकअपहरूको चलन छ ।

ऊ चकित पर्‍यो, ऊ के गधा नै हो त ?

श्रीमतीले थपी, ‘तिमी एक गलत व्यक्ति हौ ।’ उसले गलत लोग्ने भनिन, मानिस पनि भनिन, ‘व्यक्ति’ शब्दको प्रयोग गरी । यसले के देखिन्थ्यो भने, उसले पढेलेखेकी छ र मनीषप्रति केही सम्मानभाव पनि राख्दछे । अन्ततः ऊ उसको श्रीमान् हो । श्रीमान् मनीष !

तर पत्नीमा एउटा कुण्ठा थियो, गलत व्यक्तिसित बिहे गरेकाले ।  होइन भएकाले । उसको व्यक्तित्वले उपयुक्त विकास पाएन । न राम्रो ब्यांक ब्यालेन्स छ न पतिको राम्रो ओहदावाल जागीर । पुरानो मोडेलको ट्रकमा ऊजस्तो नयाँ इन्जिन फिट गरियो । उसले पनि कति दिन दान्ने, घरगृहस्थी ?

मनीषले गल्ती त गरिहाल्यो, झर्केर भन्यो, ‘म होइन तिमी हौ गलत ।’

श्रीमती अझ आगो भई । बिहानभरि जोगाड गरेर पकाई ख्वाई, केटाकेटीलाई समयमै तयार गरेर स्कूल पठाई । के यो सब गर्नु गलत काम हो ? उसले रीस निल्दै भनी, ‘म किन गलत ? तिमी नै हौ गलत ।’

मनीषलाई लागिहाल्यो, यो बहसको र आरोप–प्रत्यारोपको अन्त्य छैन । तसर्थ अफिसतिरै लम्कनु ठीक छ । भनिएकै छ एउटा आगो हुँदा अर्को पानी हुनु । ऊ नै पानी भइदियो ।

अफिस जानलाई ऊ बस चढ्थ्यो । बसमा पनि ऊ एक किसिमले गलत नै साबित हुन्थ्यो । भीडमा ऊ कतै कोचिएर गइरहेको हुन्थ्यो । कसैले कुहिनोले घच्च्याइरहेको हुन्थ्यो, कसैले उसको जुत्तामाथि कुल्चन्थ्यो । ऊ दुखेको सहेर खुट्टा वर तान्थ्यो । कसैले उसलाई घचेटेर पछिल्लो भागतिर सारिरहेको हुन्थ्यो । खलासीले पनि उसलाई भन्थ्यो, ‘अलि पछि सर्नुस् न ।’ यो संयोग हुन्थ्यो वा जानाजान उसले जान्न सकेको छैन ।

मनीष कसैसित बाझ्न मन गर्दैनथ्यो । प्रवक्ता हुनु छैन, गलत भइहालिन्छ । आफूसँग ब्याअपको जनबल छैन,  नाराबाजी गरेर उसको पक्ष लिने, एक्लै छु, एक्लै कसरी लड्ने ? यो सोचेर ऊ संयमित हुन्थ्यो । यसै गलत उसै गलत ।

एक दिन उसले गलत बस चढेछ । घरको झमेला थियो । दश हजार सापट नखोजी भएको थिएन । होशै भएन । चढेछ नक्साल जाने बस । उसलाइ कलङ्की जानु थियो । त्यो कुरो उसले कसैलाई भनेन । मानहानि हुने डर थियो । उसका सहकर्मीहरू त्यही विषय बनाएर गलल्ल हाँसिरहने थिए, कति दिनसम्म— ‘ए जाने होस् कलङ्की ? जा समात् नक्सालको बस ।’ भनेर उसको गिल्ला गरिरहने थिए ।

यस्तो व्यंग्यपूर्ण संवाद मनमनै कथेर ऊ आफै हाँस्थ्यो बेकुफझैं । हाँस्यो पनि । अफिसको मेचमा बसेर हाँसिरहेको थियो । अफिसमा हाँस्नु मनाही गरिएको थिएन । हाँसेको कसैले देख्यो । उसले हाँसिरहेको मुख झट्टै सपारे पनि त्यो सहकर्मीले ऊ एक्लै हाँसिरहेको देखेको थियो । उसलाई शंका थियो हाँसोको अपव्याख्या हुनेछ त्यही सहकर्मीद्वारा ।

मनीषको टेबिलमा एउटा फाइल थियो । हाकिमले त्यसको अध्ययन गरेर उसलाई ब्रिफिङ गर्न भनेको थियो । उसले फाइल पढ्यो । खासै केही जटिलता थिएन फाइलमा । यति सजिलो फाइल पनि आफै नपढेर मातहतकालाई ब्रिफिङ गर्न अराउनुमा कुनै आधार पाएन उसले । त्यसैले फिस्स हाँस्यो ।

आफू गलत बस चढेर गलत ठाउँ पुगेको र फर्केर अफिस आएको केही दिन भइसकेको थियो । कुर्सीमा बस्नुअगि ऊ त्यो कुरा एक पटक अवश्य सम्झन्थ्यो र हाँस्थ्यो– ‘गलत मान्छे गलत ठाउँमा’ भन्दै । फाइल पढेपछि पनि भनेको थियो– ‘गलत व्यक्ति गलत कुर्सीमा !’

दुर्भाग्य यो भयो, उसको सहकर्मीले देख्यो । ऊ एक्लै बरबराएको सुन्यो पनि कि ? एउटा परम्परा थियो देशमा विद्यमान ‘खुट्टा तान्ने’ । यहाँ पनि त्यो थियो, उसको अफिसमा, अछुतो रहने भएन । उसले यो सम्झेर कुर्सीमुनि खुट्टा लुकायो ।

‘हाकिमले बोलाउनुभाको छ ।’ कार्यालय सहायकले डाक्यो । मनीष गयो । अटेर गरेर कुर्सीमा बसिरहनु थिएन । हाकिमले डाक्नु र ऊ नजानु ? कसैको हिम्मत हुँदैन, हाकिमको अगाडि गएर नउभिई सुख, डाकेपछि । उसले हाकिमलाई नमस्कार गर्यो । शिष्टाचार हो, दुई हात जोडेर नमस्कार गर्नु नै यसको उपयुक्त क्रियात्मकता हो । मुखले पनि स्वर नरम बनाएर ‘नमस्कार’ भन्यो । हाकिम निहुरी परेर कुनै कागजमा दस्तखत गरिरहको थियो ।

यो एउटा हाकिमी पोज थियो । कुनै बेला पनि हाकिम भनेको हाकिम नै हुन्छ । यसमा अन्यथा हुँदैन ।

मनीषले विनम्र भएरै भन्यो, ‘सर, डाक्नुभएको हो ?’

‘हो तर मैले नडाकी तपाईं यहाँ आउन हुँदैन ?’ हाकिम निहुँ खोजिरहेछ ।

‘सरले भनेको फाइल लिएर आउनै लागेको थिएँ सर । गल्ती भयो, माफ पाऊँ ।’

‘यति चाँडै गल्ती स्वीकार गरिहाल्नुभो त ?’ मनीषमाथि हाकिमको वक्रदृष्टि पर्‍यो । जागीर खाइएको छ, मात्र कति भने जी हजुरी गरे पुग्छ । अरू काम नगरे पनि हुन्छ । यति थाहा हुँदाहुँदै पनि बिहान हाकिम कुर्सीमा बसेपछि एउटा नमस्कार टक्र्याउन उसले अल्छी गरेकै हो, आज ।

‘सर गल्ती भो ।’ उसले पुनः एक पटक आफ्नो गल्ती स्वीकार गर्यो ।

‘हैन मनीषजी यसरी तपाईं कति गल्ती भो गल्ती भो भन्दै गलत साबित भइरहनुहुन्छ ? जीवनमा प्रगति उन्नति गर्नु छैन ? जानुस्, काम सकेर ल्याउनुस् ।’ हाकिमले उपदेश दिंदै भन्यो, ‘जीवनमा अगि बढ्नु छ भने सही काम गर्न सिक्नोस् ।’

हाकिमले दशैं, तिहार, नेपाल संवत् र छठपर्व सबै सम्मिलित पावन अवसरमा दिइने शुभकामना झैं ‘प्रगति–उन्नति’ शब्द मिसाएर आफ्नो उपदेश भनेको थियो । अनि हाकिमले चुरोट सल्कायो र त्यसलाई गम्भीर मुद्रामा तान्न थाल्यो । हाकिमबारे धेरै व्यंग्य सोच्न मनीष डरायो । हाकिम हो कतै अन्तर्मनका कुरा पढ्यो भने ? फेरि गलत भइन्छ । मनीषले हाकिमका उन्नति–प्रगति शब्दहरूप्रति अरुचि राख्थ्यो । खै प्रगति ? खै उन्नति ? उसले आफ्नै  छोरा र छोरीको त्यस्तो नाम राख्न पनि सकेन । सोचै आएन, जीवनमा यस्तो चाहिन्छ भनेर ।

हाकिमसँगको प्रसङ्ग उसले लम्ब्याएन, यो यस्तै हो । हाकिमले काम सकेर ल्याउनू भनेको थियो, कामै के थियो र सकाउनु ? यो पनि एउटा समस्या थियो । कामै नभएकोलाई काम मानेर सकाएर ल्याउनू भनिरहेछ हाकिम ? हाकिम गलत कि मनीष गलत ? ऊ मनमनै हाँस्यो । हाँसो बाहिर आउन दिएन । हाँसोको अपव्याख्या गरेर खुट्टा तान्ने पनि थिए । ऊ उदास भयो । उदास के हुनु थियो, उसलाई कसेले यो सोध्न सक्थ्यो, ‘उदास भयौ ?’ फेरि दनक दिन सक्थ्यो— ‘उदास भएर बस्ने होइन, काम गर काम !’

‘कामै छैन, के काम गर्ने ?’

मनीषलाई भोक लाग्यो । यसो हेरेको डेढ बजेको रहेछ । डेढ अर्थात् दिउँसोको एक बजेर तीस मिनेट । राति डेढ बजे पनि उसलाई कहिलेकाहीँ भोक लाग्ने गर्छ । कर्मचारी तन्त्रको नियमितता होला तर ऊ भोक च्यापेर सुत्न बाध्य हुन्छ । उसको घडीले एक्युरेट टाइम दिन्छ । सही टाइम । दाइजोमा पाएको यही एउटा चीज सही छ । जसकी छोरी बिहे गरेको हो उनीहरूले बडो दयनीय भएर भनेका थिए, ‘यसले गल्ती गरी भने क्षमा गरिदिनुहोला ज्वाइँराजा । मारे पाप पाले पुण्य, हजुरकै जिम्मा छोरी सुम्पियौं । हामीले फूलझैं पालेकी छोरी हो यो ।’ अनि यो घडी पनि उपहारमा दिएका थिए, लास्टमा । यो डाइलग अहिले त्यति सार्थक भइरहेको थिएन । फूलझैं पालेकी छोरी बज्रझैं कठोर बनिसकेकी थिई ।

हाकिम र पत्नीको तुलनात्मकता गर्दैनथ्यो मनीष । दुवैका आक्षेप आरोप भोग्न ऊ बाध्य थियो ।

ऊ बडो सतर्कतासाथ क्यान्टिनभित्र छिर्यो । कहिलेकाहीँ यस्तो हुन्छ, क्यान्टिनको केटोसँग ऊ ठोकिन्छ र केही गलत भइदिन्छ । माने क्यान्टिनको केटोले खाजाका प्लेटहरू बोकेको हुन्छ र मनीष सतर्क भएर हिँडेको हुँदैन । त्यहाँ आकस्मिक रूपमा ठोकिने गल्ती भइदिन्छ । अनि उसले केही न केही भनेर फोसामा क्षमा याचना गर्नुपर्ने हुन्छ । मनीष सतर्क भएर क्यान्टिनभित्र पस्नुको अर्थ यो थियो ।

टेबिलमा बसेर उसले सधैंको खाजा मगाएको छ । सर्भ गर्ने केटो नयाँ आएको रहेछ । कताको गाउँबाट हो साहुले झिकाएको होला । नयाँ लागिरहेछ, हिंडाइ–बोलाइले र लुगा लवाइले । गाउँमा तन्नेरी शून्य छन् भन्ने खबर बारम्बार सुन्न पाइरहिएको छ । यो नै अन्तिम तन्नेरी होला सम्पूर्ण गाउँको । यो पनि केही महीनापछि खाडीतिर लाग्ने होला । दुईचार महिनाको लागि यहाँ काममा लागेको होला । क्यान्टिनको साहुले यस्ता कैयौं तन्नेरीलाई प्रशिक्षण दिएर उता पठाउने गरेको छ । यो पनि एउटा धन्दा हो ।

मनीषलाई लागेको छ यस्तै एउटा धन्दा नखोलेर उसले गल्ती गरेको छ । म्यानपावर कम्पनी एउटा आफ्नो नाममा दर्ता गराइराखेको भए हुने । त्यहाँ पनि चुकियो । गल्ती भयो । उसलाई धेरै चीज नगरेर गल्ती गरियो भन्ने लागिरहन्छ । बसमा चढ्दा बस व्यवसाय नगरेर गल्ती गरिएछ, टिभी हेर्दा समाचारदाता नभएर गल्ती गरिएछ, बिजुली पसलमा पुग्दा बिजुलीको सामानको व्यापार गरेको भए हुने रहेछ, गरिएन गल्ती भयो भन्ने लागिरहन्छ । जिन्दगी गल्ती नै गल्तीहरूको थुप्रो बनिदिएको छ । डम्पिङ कन्टेनर । त्यसैले हाकिम र श्रीमतीले उसलाई गलत मान्छे भन्छन् यद्यपि यसकी श्रीमती र हाकिमको परिचय छँदै छैन । तर मूल्याङ्कन भने आश्चर्यजनक रूपमा एउटै छ ।

नयाँ ठिटोले पानी ल्याएर उसको टेबुलमा राखेको छ । प्लेटहरू उठाउने क्रममा पानीको गिलास ढलेको छ । मनीषले ‘ए ए यो गरेको’ भन्दाभन्दै पानी उसको पाइन्टमाथि पोखिएको छ । ऊ उभिएर पानी टकटकाउनतिर लागेको छ । काम गर्ने ठिटो हातमा प्लेट–रिकापीसहित अलि पर उभिएर असहाय भावले हेरिरहेछ र भनिरहेछ, ‘सरी सर ! गल्ती भयो ।’

गाउँको भए पनि, ‘सरी सर, गल्ती भएछ,’ भन्न जानेको रहेछ । आधुनिक शिक्षाको देन हो यो, मनीषले सोच्यो ।

मनीषलाई एक क्षण त झनक्क रीस नउठेको होइन तर ठिटोले ‘सरी सर, गल्ती भयो’ भनेको सुनेपछि उसले हाँसो थाम्न सकेन, हाँस्दै भन्यो, ‘केही छैन, हुनु भैगो । तिमीले गलत मान्छेमाथि पानी पोख्यौ तर काम गर्दा होश गर ।’

मनीषलाई यो भन्न मन लागिरहेथ्यो हाकिमले झैं, ‘उन्नति–प्रगति तिम्रो आफ्नै हातमा छ ।’ जाहेर छ, भनेन ।