प्रत्येक बिहान नयाँ जीवनको आरम्भ हो । तर नयाँ के हो ? त्यो नयाँलाई पनि थाहा हुँदैन । एउटा ऋतुपछि आउने अर्को ऋतु वा अर्को वर्ष आउने त्यही ऋतु नयाँ हो ? दिन र रातको क्रमिक आगमन, हिउँले पुरिएको कञ्चनजङ्घा र हिउँ हराएको कञ्चनजङ्घा नयाँ हो ? नयाँ के हो त  ? नयाँ भइदिनुको अनुभव मात्रै नयाँ हो ? कि मनले सधैं नयाँ भई बस्नु भनेर दिने उत्साह नयाँ हो ? तर हामी सधैं नयाँ खोजिरहन्छौं नयाँ भइरहन मन पर्छ । म त्यही नयाँ खोजिरहन्छु ।

“ॐ श्री गणेशायः नमः, ॐ नमः शिवायः ॐ देवी दुर्गाय नमः…

ॐ शान्ति ! शान्ति .! शान्ति ..!

ईश्वरका जाने जति नाम पुकारेर सारा विश्वमा शान्तिको कामनासँगै दिनचर्या शुरू हुन्छ मेरो । आमाको सनातन संस्कारले दिएको ईश्वरप्रतिको निष्ठा ममा पनि सञ्चारित छ अझै पनि ।

बिहानभरि अत्यधिक व्यस्त रहन्छु ।

योग, प्राणायाम, ध्यान, पूजा-आजा, भान्सा, त्यसपछि घरको परिष्कार… ।

“ट्रिङ ट्रिङ…”

तर एउटा ठूलो समस्या छ त्यो हो भ्याई नभ्याई…उठाउनुपर्ने फोन… ।

‘हत्तेरिका ! गगनले कति फोन गरेको ! उनको पो काम छैन । भर्खर नुहाइसकेँ । पूजा गर्नु भ्याएकै छुइनँ । योगा कहिले गर्नु । भान्छा कति खेर तयार पार्नु !’

‘खोइ ! दिदी पनि कता गइछन् । लखरलखर हिंड्नु पाए भइहाल्यो उनलाई… ।’

मुर्मुरिंदै फोन उठाउँछु ।

‘हेलो ! अँ…, भन्नुहोस् त । बिहान चैँ मलाई डिस्टर्व नगर्नु नि हौ । कस्तो धपेडी हुन्छ । तपाईंको पो मर्निङ वक गरेर आउँदा ग्रीन टी र मीठो मीठो ब्रेकफास्ट तयार भइसकेको हुन्छ ।’

‘अन्त तिमीलाई कसले भन्यो लामो समयसम्म पूजा गर्नु भनेर । मन पो स्वच्छ हुनुपर्छ त । पूजा भनेकै त्यही हो । त्यहाँ तिमी र दिदी मात्रै छौ भनेर सन्च बिसन्च सोध्नुलाई फोन गरेको नि । गरेन भने पनि बाउँठिन्छौ ।’

‘भयो भयो ठीकै छ, अहिले राखें । भरे फुर्सदमा गर्छु ।’

गन्थनलाई पन्साएर पूजाको सामग्री धुन थाल्छु, आफैदेखि रिसाउँदै ।

‘के भएकी होला म । स्कूल जाँदा त सबै काम भ्याउँथे । समयमा नै तयार भएर पुग्थे । पुग्नै पर्थ्यो, स्वयम् प्रधान अध्यापिका । स्कूलको जिम्मेवारी उत्ति नै । रिटार्यड भएपछि पो सबै छरपस्ट भयो । केही काम भ्याउनै छोडेँ । उमेर ढल्किदै जाँदा दिमागसँगै शरीर पनि सुस्त हुँदोरहेछ ।’

छिटो छिटो हात चलाउने कोशिश गर्छु । तर धेरै अत्तालिएर काम गर्दा पोहोर साल तल्लो पिठ्यूँको नशा तानिएर झन्डै दुई महीना ओछ्यान परेको सम्झना हुन्छ । मनमा त्रास उब्जेपछि पुनः बिस्तारै फर्किन्छु ।

* * *

‘क्रिङ…क्रिङ… ।’

फेरि बज्यो ।

छोरी रन्जना थिई । नझर्किउठाएँ ।

‘भन त नानी, सन्चै छौं तिमीहरू ?’

‘राम्रै छौं । अन्जुको अनलाइन क्लास हुन्छ । मेरो पनि ‘वर्क फ्रम होम’ हो । राजेश चैं कहिलेकाहीँ जानुपर्छ ।

‘राजेश ज्वाइँलाई जोगिनु भन्नु है बाहिर जाँदा ।’

आमाको प्रकृति । अधिकार जमाएकी हुँ कि ! छोराछोरी आफूभन्दा धेरै जान्ने हुन्छन् । तर पनि सम्झाउन मन लाग्छ ।

‘तपाईँ नि एकलै के गर्नुहुन्छ ? दिदीको आफ्नै धुन होला । हाई काढ्दै बस्नु त हो नि ।’

‘ए भ्याई नभ्याई छ बुढेसकालमा । उठेर नुहाइधुवाइ, सरसफाइ, पकाइतुल्याइ, पूजा गर्दा…खाना खाँदा झन्डै दिउँसोको दुई बज्छ ।

‘आ…मा…मा…मा…के लामो पूजा !’

‘हनुमान चालिसा, शिव चालिसा, दुर्गा चालिसा, विष्णु सहस्त्रनाम पाठ गर्दा… ।’

‘ममी ! This is enough.धार्मिक पुस्तकहरू जिन्दगीभरि पढ्नुभयो त । Now, read good, knowledgeable books. You can order from Amazon. Even I can order for you. Don’t waste your time in such things. Try to be creative. Write something.’

झट्टै भनिहाल्छु… ‘I likere ligious books & enjoy reading them.’

अर्ती-उपदेशको क्रम पनि शुरू भइहाल्यो ।

‘छोरी मान्छेले जत्ति नै नाम कमाए पनि, उन्नति गरे पनि ईश्वरलाई बिर्सिनु हुँदैन । बिहान बेलुका दियो बाल्नु तिमीले पनि । तमसो मा ज्योतिर्गमय । यसको कत्रो महिमा छ ।’

‘ममीको फेरि प्रवचन… । हुन्छ हुन्छ बाल्छु । बुबालाई छिट्टै बोलाउनु होस् है । म पनि भन्नेछु । Don’t live alone. You should be together during your old age. Now it’s Pandemic time. Foolish People. यहाँ मलाई कति सुर्ता लाग्छ ।’

छोरीले रिसाएर फोन राखी । जान्दथेँ यो उसको माया थियो, आत्मीयता थियो ।

* * *

टिङ् टिङ् टिङ् टिङ्…

मध्य दिनमा पूजा गर्दा कता कता अप्ठ्यारो मान्दै भए पनि घण्टी बजाइरहेकी थिएँ ।

‘नमस्ते गुरुआमा ! अस्ति रुघाखोकी लागेको सुनेकी थिएँ, ठीक हुनुभयो ?’

घण्टीको चहकिलो आवाजलाई पनि पल्लो घरकी रीता बहिनीको अभिवादनले जित्यो । बोलाएको सुनेपछि उनीहरूको घरको छटपटी हेर्नु करै लाग्यो ।

छोटो उत्तर दिएँ, ‘जाती भएँ बहिनी ।’

बातचित तन्कियो ।

‘गुरुआमा ! कस्तो समय आयो नि । वल्लो घर, पल्लो घरका मान्छेहरू नै देखिन छोडियो । साँघुरिंदै गइरहेको समाजमा कोरोना भाइरसले झन् अलग्ग अलग्ग पार्‍यो ।’

हतार परेर पिरोलिएको मनलाई नियन्त्रणमा राख्दै बहिनीसँग गफ गर्छु । छिमेकी हो बोल्नै पर्‍यो । नजीकको भूत भन्ने सम्झेँ । अभरमा उनीहरू नै छन् । ब्यांकमा काम गर्ने रीता बहिनी, आइतबार भएकाले होला घरमै रहिछन् ।

* * *

‘ट…ने…ला…’

‘कहाँ हो, खोई देखाऊ त ?’

‘हो हौ,’

‘अहँ होइन होला… ।’

‘यी…क्या …त…’

‘गुल्चे गर्नु पाउँदैन है ।’

बहिनीहरूको सिटिङ रुमपट्‌टिको दैलो खुल्लै रहेछ । हल्ला सुनिंदैथ्यो ।

‘हेर्नुहोस् न ! गतिलो टाइमपास हुँदैछ, तास खेल्ने ।’ असजिलो मान्दै रीता बहिनीले भनिन् ।

‘ठीकै हो त, यस्तो महामारीको समयमा । हेर्नुहोस् त, दिसम्बरतिर चीनबाट शुरू भएको कोबिडको । २१ बित्नु आँट्यो । कहिलेसम्म यस्तो सहनुपर्ने हो । जानु कतै छैन लकडाउनमा । के गरेर दिन बिताउनु !’

रीता बहिनीलाई सहज बनाउने प्रयास गरें ।

‘हो नि गुरुआमा ।’ बहिनी ढुक्क भइन् ।

‘को को खेल्नुहुन्छ ?’

बडा, काका, दिदी, बडी र नानीहरू नि !

‘अपुइ ! रोमा बहिनी पनि ।’

‘घरकी आमाको कति धेरै काम हुन्छ त । त्यहीमाथि ओछ्यान परेकी सासू छिन् ।’

यस्तो सम्झिरहेकी थिएँ, बहिनीको उत्तर पाइहालें ।

‘अन्त के हुन्छ त गुरुआमा ? लोग्ने मान्छेहरूले, छोरा छोरीले खेल्दा हुन्छ भने घरकी आमाले खेल्नु हुँदैन र ? मनोरञ्जन त सबैका लागि उत्तिकै हो । हाम्रोमा त नन्द आमाजूहरू पनि माइत आएको बेला खेल्छन् नि । मलाई त केही जस्तो लाग्दैन ।’

अचम्मित भएँ रीता बहिनीको सोचदेखि । कथनी र करनीमा भिन्नता रहेनछ उनको । पत्र-पत्रिकाहरूमा प्रकाशित उनका लेख रचनादिमा यस्तै विचार व्यक्त गरिएको पाइन्छ । यस्ता कुराहरू लेखिन्छन् मात्र, व्यावहारिकता अर्कै हुन्छ भन्ने ठानेकी थिएँ ।

‘ठूलो भाइ, सानो भाइ र नानीहरू खेलेको त थाहा छ । रोमा बहिनी खेलेको थाहा थिएन ।’

फेरि सोध्छु ‘ठुलो भाइका नानीहरू पनि खेल्छन् है ?’

‘ए ! उनीहरू त झन् जन्ड । छुट्टीमा घर आएका मौकामा इन्जोय गरेको पनि होला… । त्यत्ति बेला त एकछिन नबिसाई ।’

‘आ…मा…मा..मा… ।’

‘तपाईं त के भ्याउनुहुन्थ्यो ।’ रीता बहिनीको मन चोरें ।

‘मलाई तासमा रुचि छैन गुरुआमा । सबै जना खेल्दा म आफ्नै काम गरिबस्छु ।’

‘एकार्कासँग भनावैरी भएको, कसैले गुल्चे खेलेको, चित्त नबुझेको, कोही फन्किएर हिंडेको र फेरि आफै फर्किएको रमिता हेर्नु मज्जा आउँछ । झगडा परेको सुनेर म त एकलै हाँस्छु ।’

‘बाझाबाझ पनि हुन्छ बहिनी ?’

‘हुन्छ नि गुरुआमा । बूढा भएका बाबुहरू पनि कहाँ कम्ती र । डङ्का नै ठूलो हुन्छ । नानीहरू त झन्… । बाहिर निस्किएर बरालिनु भन्दा घरमै आफू आफू बसेर खेलेको ठीकै लाग्छ एक प्रकारले । परिवारका सदस्यहरूसँगै बस्ने, सम्बन्ध कसिलो हुने मेलो पनि । सबै जना एकै ठाउँ हुँदा घरमा रौनक नै बढ्छ ।’

तास खेललाई पनि सकारात्मक रूपमा लिने पहिलो व्यक्ति मैले रीता बहिनीलाई नै पाएँ । आफू चैं घरको सम्पूर्ण अभिभारा लिने, अरू चैं खेलिरहँदा आह्रिस पनि नलागेको !

विचित्रको छ बहिनीहरूको घर । परिवारका सदस्यहरूलाई पनि अद्भुत नै भन्नुपर्छ हाम्रा घरका तुलनामा । नौ-दश जना परिवारमा कहिल्यै कसैले कसैलाई दोष दिएको देखिएन । दाजुभाइमा कस्तो मिलाप । नानीहरूमा अझै बढ्ता । जो जस्ता छन् त्यस्तै पाराले चल्न पाउँछन् सबैले त्यहाँ ।

दुई वर्ष अघिको दशैंमा तास खेल्दा गगन र भतिजो भरतमाझ महाभारत मच्चिएको सम्झना आयो ।

‘चाडबाडमा एकछिन खेल्दा के हुन्थ्यो ।’ आफैलाई कोसें । मेरा कति वटा कुरा गगनलाई मन नपरे जस्तै मलाई पनि उनीहरूले खेल्ने गरेको जुवा-तास मन पर्दैन ।

पाक्दै गरेको सब्जी सुइत्तै डढेछ । गन्ध आयो ।

‘एक दिन आमालाई भेट्नु आउँछु ल बहिनी । अब भान्सा गर्ने बेला भयो ।’

बहिनीबाट बिदा मागें । गमलामा बेस्याहार भएर पनि फुलिरहेका सुनाखरीलाई कोट्याउन थालिन् उनी । म भान्साघरभित्र पसें ।

* * *

दिउँसो खाना खाएपछि दश-पन्ध्र मिनेट भए पनि  झपक्क आँखाको विष मार्नु मन लाग्छ । आराम गरेपछि ताजा अनुभव भयो । ओछ्यान छोडेपछि फेरि घरको अपुग, आवश्यकता के कसो छ भन्ने लाग्यो । सागसब्जी र सौदापात के कति छन्, हेर्न थालें ।

मसिनो बासमती चामल एक बोरा र केआरटी चामल आधा बोरा रहेछ । मैदा, आँटा, दाल, तेल, नून सकिन लागेछ । लकडाउनमा आंशिक छूट दिइएपछि दिल्लीबाट गगन पनि आउने कार्यक्रम छ ।

गगन एक कुशल अभियन्ता । आफ्नो व्यवसायमा पक्का । अत्यन्त अनुशासित । दिल्लीमा निजी फार्म छ उनको ।

गगनका लागि पिज्जा, पास्ता, कन्टिनेन्टल, चाइनिज…थरी थरीका खाने कुराका सामग्रीहरू गणेश भैयाको दोकानबाट मगाएँ । उदेक लाग्छ कसरी हाम्रो जोडी बाँधियो ? दुई जनाको विचार, बानी व्यवहार, रहन-सहन र जीवनशैलीमा आकाश पातालको फरक छ । म नर्थ पोल हुँ भने गगन साउथ पोल । म धार्मिक क्रियाकलापमा निकै आस्था राख्छु । तर गगनलाई त्यति विश्वास छैन । म ठहरिएँ मध्यम वर्गीय परिवारकी चेली, उनी उच्च घरानाको समृद्ध सदस्य । गगन डाइनिङ टेबलमा प्लेट, काँटा, चम्ची, छुरी सजाएर विभिन्न प्रकारका स्वादिष्ट भोजन गर्न मन पराउँछन् । सन्तुलित आहार खाने भव्य र शालीन तरिका उनलाई मन पर्छ । थोरै, मीठो र स्वस्थ खानाको प्रेमी । मलाई भुँडीभरि दाल-भात, तरकारी, चटक्क चटनी र अचार नखाए तृप्तिबोध हुँदैन ।

* * *

गगनको स्टडी रूम सफा गर्नुपर्ने थियो । सुकिलो पोषाक लगाउने र सुग्घर क्लासमा बस्ने बानी छ उनको । फोहोर-मैला, धुला धाली मन पर्दैन उनलाई ।

पोहोरको एउटा घटना सम्झिन्छु ।

‘स्टडी रूमको आलमारीमा किन धूलैधूलो ? दिदीको काम के छ दिनभरि ?’

‘बाटाको छेउको घर हो, त्यस्तै हुन्छ । अरू काम सकेपछि पुस्नु लाउँछु नि ।’ यसरी शान्त गराउँछु ।

‘हुँदैन हुँदैन बोलाइहाल । बेकामे आइमाई ।’

‘किन हतारिएको होला । के बितेको छ र त्यस्तो ?’

फत्फताउँदै दिदीलाई खोज्न जान्छु । सिटिङ रुमको ऐना पुस्दै रहिछन् ।

‘दिदी तिमीलाई त्यत्रो सम्झाएकी थिएँ, पहिला सरको स्टडी रूम सफा गरिहाल्नु भनेर ।’

हामीलाई सघाउन बसेकी घरकी पुरानो सदस्य दिदीले चडकिएर भनिहालिन्…‘साहेबको कोठा बन्द थियो नि त अन्त । सिटिङ रूमको सफाइपछि गरिहाल्थेँ त ।’

उनी झर्किंदै गगनको कोठातिर लागिन् ।

हुनु पनि हो । त्यत्ति सानो कुरा । उनी गरेकै पनि रहिछन् । घटना सामान्य थियो । तर तीनै जना दिनभरि अशान्त रहेका थियौं ।

त्यसको अघिल्लो दिन पनि मैले गगनलाई लगिदिएको चिया टि-कोस्टरमा नराखिदिंदा ठूलै झगडा भएको थियो । हाम्रो ग्रह नै त्यस्तो हो कि । म उनले गरेका सबै काममा गल्ती देख्छु । उनी मैले गरेकामा भूल भेटाउँछन् । थपक्क एउटा थाङ्नाले टेबल पुसेर चिया टि-कोस्टर माथि राखिदिएकी भए कुरा सेलाइहाल्थ्यो । तर म पनि के कम्ती । आगै भएर मुख चलाएँ । ज्वाला दन्किहाल्यो रापिलो भएर… ।

यसपालिको गगनको घर आउने खबर मेरा लागि हर्षको विषय थियो । सामाजिक दूरत्वका कारणले पार्टी आयोजन गर्नुपर्ने दायित्वबाट मुक्ति ।…आफन्त र साथीभाइ सँगको जमघट हुने योजना तय भएपछि विविध प्रकारका खानेकुराको तयारी, सिंकभरि थुप्रिने जूठा भाँडाहरूको रास र प्रसन्नताको अभिनय गर्नुपर्ने बाध्यता हुन्छ ममा । आफन्त र चिनजानका हुन्, नबोलाऊ भन्न सक्दिनँ ।

* * *

अनौठो र बेमेलको छ हाम्रो पारिवारिक जिन्दगी । तीन जनाको परिवार तीनतिर छौं । छोरीको त आफ्नै गृहस्थी हो । गगन र मेरो सम्बन्ध टाढामा रहँदा सुमधुर हुन्छ… । शरीर टाढा भए पनि मनले नजीकिएका हुन्छौं । तर नजीक आउँदा कोसौं दूरीमा…खड्गास्ट परे जस्तो ।

* * *

त्यो दिनभरि व्यस्त भएछु । सामान्य नै थिएँ… । राति पनि ठीकै थियो । तर अर्को दिन मन अशान्त भइरह्यो । एक्लोपनको अनुभूतिले एक प्रकारको असजिलो भइरह्यो ।

रीता बहिनी र छोरी रन्जनाका कुराले झकझकाइरह्यो…

‘सबै जना एकै ठाउँ हुँदा घरको रौनक बढ्छ ।’

‘बुढेसकालमा दुईतिर तपाईंहरू, नदीका दुई किनार । मलाई कति पीर लाग्छ ।’

त्यतिखेर सामान्य रूपमा लिएको छोरीको सुझाउले अहिले गहिरिएर सोच्दैलाँदा गम्भीर बनायो मलाई ।

‘गगनलाई अब दिल्ली नबस्नु भन्नु पर्‍यो । जति नै पैसा कमाएर पनि के गर्नु जीवन सुखी र आनन्दमय नभए । मरेपछि मलामी पनि नहुने समय आइसक्यो… । आ..कति दुःख गर्नु ।’

आफू एकदम सही छु जस्तो लाग्ने मलाई हामी दुई बीच व्यर्थका प्रसङ्गमा तर्क हुनुमा स्वयम्‌लाई पनि दोषी पाएँ ।

‘निरन्तर योग, ध्यान, पूजा, प्राणायाम गर्छु । धार्मिक ग्रन्थ पढ्छु, आध्यात्मिक ज्ञानमा चासो राख्छु । तर खोइ ! धैर्य र संयम ममा ? आगोमा घिउ थप्ने होइन, पानी बनेर लप्को निभाउन सक्नु पर्थ्यो मैले । गगनको जीवनशैली माथि टिप्पणी नगर्दा अनि उनले दिएका सुझाउमा प्रतिक्रिया नजनाउँदा भइगयो त । उनले ठीकै भनेको पनि हुनसक्छ ।’ यस्तै द्वन्द्व चलिरह्यो मनमा ।

‘क्रिङ क्रिङ’… । मोबाइलको चर्को रिङटोनले झसङ्ग भएँ । गगनको रहेछ ।

‘मनोरमा ! मेरो टिकट पक्का भयो कानेकोर्सीको ।

औंली गन्दा चार दिनपछि रहेछ… ।

उत्तेजित भएर भनिहालेछु… ।

‘भेरी गुड ! हुन्छ हुन्छ । डबल मास्क, ग्लोब्स लगाएर आउनु है । सेनिटाइजर बोक्नु नबिर्सिनु । आएपछि एउटा सल्लाह पनि गर्नुछ ।’

‘मेरो पनि… । ल..त… । आफ्नो ध्यान राख है ।’

यो खबर कुन्नि किन मेरा लागि नयाँ थियो ।

गगन घर नआउने होइनन् । छुट्टी हुँदा आउँछन् । तर यस पालि गगन आउने खबर मेरा लागि नयाँ थियो । मैले खोजेको नयाँ जस्तै ।

‘गगन घर आइपुगेको कल्पनाले मात्रै पनि एक प्रकारको खुशी-सुख जस्ता के के भइरहेथ्यो । चालीस वर्षअघि उनीसित पहिलो भेटको स्मरण गरेर एक्लै मुस्कुराएँ । पलङबाट झरेर मेरा थकित पाइलाहरू सिंगार-पटल सामु पुगेछन् । सौन्दर्य र सिंगारमा त्यत्ति चासो नदेखाउने हुँ म । तर त्यत्ति खेर कोनि किन हो हिउँ परेको कपाल र अनुहारको किरिङमिरिङ धर्काहरूले निकै हतोत्साहित तुल्यायो… ।

दुई दिनपछि लुक्स ब्युटी पार्लरकी कर्मचारी रन्जु बहिनीलाई घरमै बोलाएर हेयर डाई, फेसियल, मेनिक्योर, पेडिक्योर र बडी मसाज गर्न लगाउने निश्चय गरेँ ।

* * *

संसारभरि कोरोना भाइरसको लहर छ । चारैतिर शून्यता छ । रीता बहिनीको घरबाट भने सत्तरी, पैँसठी, साठी, पच्चीस र बिस वर्षको परिवार सदस्यहरूको आवाज जोड जोडले आइरहेछ निस्फिक्री र निश्चिन्त स्वरूपमा… ।

‘रमी नखेलौं, अल्छीलाग्दो भयो ।’

‘म्यारेज खेलौं न त ।’

‘होइन होइन फ्लास् ।’

‘नाइँ कलब्रेक… ।

एउटै कार्डमा नयाँ नयाँ उनीहरूको खेल छ । एउटै नम्बरमा नयाँ नयाँ चाल छ ।

ऐनालाई हेरेर ऐना भित्रको आफैमा म पनि केही नयाँ खोजिरहेको छु ।

* * *

गान्तोक