कसैले ढोका ढकढकायो । नयाँ ठाउँ थियो । शान्तिपुर, गुल्मी । नयाँ परिवेश । एक्लै थिएँ । भोलिको एसएलसी परीक्षाको तयारी गर्दै थिएँ ।

मेरा साथीहरू अलि तल बजारतिर बसेका थिए । कसैलाई पनि मेरो कोठाबारे थाहा थिएन । पिपलबोट भन्ने ठाउँमा थियो मेरो डेरा ।  एक्लै बस्थें । घरधनी अलि माथि गाउँमा बस्थे । दिउँसो आएर पसल खोल्थे ।

कौतुहलताका साथ बिस्तारै ढोका खोलें । ढोकामा उभिएकी थिई ऊ । नीलो पछ्यौरा ओडेर, कलेजी रङको कुर्तामा निकै गोरी । हातमा एउटा ट्रे र त्यसमाथि एउटा कपमा बाफ उड्दै गरेको चिया । म छक्क परें । उसले मुसुक्क हाँस्दै सोधी,  “चिया पिउनुहुन्छ ?”

म त उसको आँखामा हेरेको हेरै भएछु । “बुवाले पठाउनु भएको,” उसले आँखा घोप्टो पार्दै भनी ।

“हुन्छ, बैनीले यो दुख नगरेको भा हुनी,” तुरुन्त भनें ।

“बुवाले बनाउनु भएको । केही दुख भएको छैन,” भन्दै उसले कप मेरो हातमा थमाउँदै त्यहाँबाट फर्की । तर मेरो छातीको धड्कन भने रोकिएन ।

उसलाई मैले हिजो बिहान पसलमा देखेको थिएँ । त्यही वेला  हो आँखा जुधाजुध भएको । नयाँ ठाउँमा एउटा मीठो अनुभूति थियो । तर यसरी कोठामै चिया आउला भनेर मैले कल्पना नै गरेको थिइनँ ।

मैले खाटमा बसेर सुरुपसुरुप चिया पिएँ । चिया पिउँदैगर्दा उठेर झ्यालबाट बाहिर नियालें । झ्यालको अगाडी ठूलो पिपलको रूख थियो । त्यही रुखको हाँगामा एक जोडी जुरेली कहिले तल्लो हाँगा त कहिले उपल्लो हाँगा फुरफुर गरिरहेका थिए । सिरसिर हावा चलिरहेको थियो । हाँगामा बसेको जुरेली हावाको लहरसँगै तलमाथि गर्दै थिए ।

मैले पढ्दै गरेको किताबलाई बन्द गरेर कोठाको एकछेउमा थन्काएँ । मेरो दिमागमा उसैको मासुम चेहरा पानीमुनि ढुंगामा लेउ टाँसिएझैँ टाँसिएको थियो । अनि त्यसैमाथि कल्पनाका अनगिन्ती लहरहरू खहरे झैं बगिरहेका थिए ।

“कस्तो बुद्दु म पनि । कमसेकम नाम त सोध्नुपर्ने, चियाको कप लिनको लागि त पक्कै पनि आउँछे होला । त्यै वेला सोध्नुपर्ला,” मनमनै कल्पें ।  चिया पुर्याई पुर्याई खाएँ । कानहरू ढोका कतिवेला ढकढक गर्छ भनेर  भनेर निकै चनाखा भए ।

उमेरमा भर्खर पन्ध्र-सोह्र वर्षकी देखिने ऊ पक्कै पनि हाइस्कूल पढ्छे होला । शायद उसकै स्कूलमा हो कि एसएलसी परीक्षाको केन्द्र परेको, यस्तैयस्तै कुराहरू पनि खेले मनमा । अब ऊ आई भने यी सबै कुरा सोध्छु ।

ऊ न धेरै मोटी, न धेरै पातली ठीक्कको ज्यान, चिटिक्क मिलेको शरीर, ठूलाठूला आँखा, लरक्क परेर कम्मरसम्म झरेको कपाल मेरो दिमागबाट निस्कनै सकेन । धेरैबेर सम्म उसलाई पर्खिबसें । तर अबेरसम्म पनि आइन । मेरो पढ्ने मूड नै बिग्रियो ।

अब आफै कप लिएर जानुपर्यो र  ऊसँग कुरा गर्न पर्यो भन्ठानेर बेडबाट उठें । आफूलाई सुहाउने टिशर्ट र ट्राउजर लगाएँ । कपालमा हल्का पानी लगाएर माथि फर्काएँ । ऐनामा हेरें । दाइने गालामा उम्रेको डन्डीफोर खिसिक्क हाँसे जस्तो लाग्यो । चिमोटेर फालूँ झैं लाग्यो । तर छोइनँ ।  कसैले चिथोरे जस्तो अनुहार लिएर जानुभन्दा यत्तिकै जान्छु भनेर अलिकति फैर एण्ड लब्ली क्रिम लगाएर बाहिर निस्कें ।

हातमा रित्तो कप समातेर तल उसको दुकानसम्म झरें । दुकानमा ऊ एक्लै रहिछ । ग्राहकहरू पनि थिएनन् । उसलाई एक्लै देखेर मेरो छाती एक्कासि धड्कन थाल्यो । जमाना त्यस्तै थियो । न मोबाइल थियो । न फेसबुक थियो । त मिसकल न मेसेज । के सिधा अगाडी उभिएर कुरा गर्न पर्थ्यो । कि कुनै माध्यमबाट चिठी पठाउनु पर्थ्यो मन परेकीलाई ।

उसले मलाई देख्नासाथ उठेर अगाडी आई । मैले उसको हातमा कप थमाएँ । के के न कुरा सोध्छु भनेर एक घण्टा लगाएर सोचेको थिएँ । सब व्यर्थ गयो । उसलाई देख्नासाथ सोचेका सबै कुरा हराए । म ठिङ्ग उभिएँ लाटोकोसेरो उभिए झैं । उनी मुसुक्क हाँस्दै कप लगेर भित्र गइन् । मलाई एक्लै त्यहाँ उभिन समेत लाज लाग्यो । लुसुक्क लागें कोठातिर । दिउँसो थन्काएको किताब पल्टाएँ ।  भोलिको परीक्षाको तयारी गर्नु पर्ने थियो । केहीबेर किताबमा आँखा डुलाए पनि मन अन्तै कतै डुलिरहेको थियो । शायद बेलै त्यस्तै थियो होला । अलि छिटै निस्के होटेलतिर खाना खानको लागि । त्यतिन्जेलसम्म उसले पसल बन्द गरेर घरतिर गैसकेकी रहिछ ।

भोलिपल्ट म परीक्षा दिएर घर फर्किंदै गर्दा उसलाई बाटैमा भेटें । घुँडासम्मको कालो स्कर्ट र माथि सेतो रङको सर्ट लगाएकी ऊ एक्लै हातमा किताबहरू समातेर स्कूलबाट फर्किंदै रहिछ । ऊ अगाडी अगाडी थिई । उसका कसिला पिँडुला र लचकदार हिप यौवनको लयमा मेरो आँखा अगाडी नाच्दै थिए । म पछाडि पछाडि ।

के भनेर बोलाऊँ ? बैनी भन्न पनि कस्तो कस्तो लाग्यो । नामले बोलाऊँ थाहा छैन । अगाडी पछाडि अरू साथी पनि थिए । उनीहरूले देखे भने के भन्लान् भनेर सोच्दासोच्दै ऊ एउटा स्टेशनरी पसलभित्र छिरी ।

म पनि एकैछिन पसलमै रोकिएँ । उसले देखिन । त्यहाँ उसले एउटा नोटबूक र ज्यामिति बक्स किनी । मलाई देखिन् या नदेखेको बहाना गरी । शायद देखिन होला । मैले पनि एउटा रफ कापी किनें । भोलिपल्ट गणितको परीक्षा थियो, र लागें सरासर कोठातर्फ ।

म घरमा पुग्दा ऊ दुकानमा बुवासँग कुरा गर्दै थिई । म सरासर आफ्नो कोठामा गएँ । अझै पनि मलाई कुनै न कुनै बहाना बनाएर कुरा गर्ने मन थियो । किन किन उसको सुन्दरताले मेरो छटपटी बढाइरहेको थियो । मनमा बेचैनी थियो ।

झोला एउटा कुनामा फालेर झ्यालबाट बाहिर हेरें । त्यहाँ जुरेलीहरू थिएनन् । साना साना भँगेराहरू फुर्रफुर्र तलमाथि गर्दै थिए । वेलावेला भँगेरो भँगेरीमाथि चढ्न खोज्थ्यो । भँगेरी भूर्र उडेर अर्को हाँगामा जान्थी । एकछिन भँगेरो त्यही पखेटा फ्याटफ्याट पार्दै बस्थ्यो । भँगेरी हाँगामा खुट्टा खुम्चाएर भँगेरालाई इशारा गर्थी । भँगेरो फुर्रफुर्र गर्दै भँगेरीको नजिकै जान्थ्यो र फुत्त ढाडमाथि चढ्थ्यो ।

त्यसैवेला मेरा आँखा तलपट्टिको बार्दलीमा पुगे । घरबेटीकी छोरी उभिएर बाटोमा कसैसँग कुरा गर्दै रहिछ । मैले यही मौका पारेर ऊसँग कुरा गर्न बार्दलीमा जाने विचार गरें । तर के भनेर कुरा शुरू गर्ने त ? सिधै नाम सोध्ने ?

हैन । हैन । एकछिन विचार गरेपछि एउटा गज्जबको आइडिया फुर्यो । भोलिको गणितको परीक्षाको लागि ज्यामिति बक्स माग्ने योजना बनाएँ । भर्खर किनेर ल्याएकी छे । कसो नदेली । त्यही मौका परेर केहीबेर कुरा गर्नुपर्‍यो ।

मैले मन आँटिलो बनाएर बार्दलीमा झरें । ऊ अझै बाटैतिर फर्केर बसेकी थिई । मतिर फर्केर हेर्ली र  कुरा गर्न सजिलो होला भनेर मैले कृत्रिम आवाज निकाले हल्का खोके झैं । ठीक त्यही वेला उसको बुवाले ‘इशा, एकछिन दुकानमा आऊ’ भन्दै बोलाए । ऊ मेरो अनुहारमा समेत नहेरी खुर्र दौडेर पसलमा गई । ‘हिस्स बुढी खिस्स दाँत’ झैं खिस्रिक्क भएँ ।

“उसको नाम त थाहा भयो । अर्कोपल्ट देख्नासाथ इशा भनेर बोलाउनेछु,” म भित्रभित्रै रोमाञ्चित भएँ ।  दुकानमै गएर कुरा गरिहालूँ झैं नभएको पनि हैन । तर उसको बुवा त्यही थिए । चामलका बोराहरू चाङ लगाउँदै थिए । गाउँले ग्राहकहरू छातीमा लौरो टेकाएर बाहिर उभिएका थिए । समय उपयुक्त लागेन । म फर्केर कोठामा गएँ ।

परीक्षाको तयारी गर्नुपर्ने थियो । ध्यान अन्त कतै थियो । कसैगरे पनि किताबमा मन अडिएन । घरीघरी आँखा बार्दलीमा जान्थे । शरीरका सम्पूर्ण इन्द्रियहरू नै उसको पर्खाइमा बसे झैं लाग्यो । आँखा बार्दलीमा । कान ढोकामा यस्तै यस्तै । मलाई गणित सबैभन्दा गाह्रो लाग्ने । त्यसैमा आफ्नो तनमन अन्त कतै । कसरी सकिन्थ्यो एकाग्र हुन ।

पिपलको रुखमुनि पानीको धारो थियो । साँझमा थुप्रै महिलाहरू आउँथे पानी भर्नको लागि । जर्किन बोकेर निस्कें पानी लिन । म त्यहाँ पुग्दा इशाले तामाको सानो गाग्रीमा पानी भरेर कम्मरमा अड्याउँदै रहिछ । गुलाबी रङको कुर्ता लगाएकी थिई । शरीरमा लपक्कै टाँसिएको । छाती पनि उमेर अनुसार सुहाउँदो तबरले उठेको थियो । ऊ पानी बोकेर लचकलचक गर्दै  लागी घरतर्फ । म बगरको हुटिट्याउँ  झैं  ठिंग्रिङ्ग उभिएँ आफ्नो पालो कुरेर ।

त्यहीवेला एउटा अर्धनग्न व्यक्ति हातमा त्रिशूल बोकेर ‘जय भोले’ भन्दै आइपुग्यो । उसको शरीरको कपडा फाटेर धुजाधुजा परेको थियो । कपाल लट्टिएको र निकै मैलो थियो । ऊ धारामा आउँदै गरेको देखेर सबैले उसलाई बाटो छोडिदिए । उसले त्रिशूल भुइँमा राख्यो र दुई हातको अँजुली थापेर घटघट पानी पियो । त्यसपछि मतिर फर्केर एकोहोरो हेर्‍यो । उसका राता राता आँखा देखेर म निकै तर्सें । तर ऊ फरक्क अर्को दिशातर्फ फर्कियो र लाग्यो बजारतर्फ ।

ऊ गैसकेपछि त्यहाँ उभिएका मान्छेहरूले उसको बारेमा कुरा गर्न थाले । “ब्रिटिश आर्मीबाट नाम काटेर आएको । रिडीतिरबाट निकै राम्री केटी भगाएर ल्याएको थियो । पुलिससँग सल्किछ । थाहा पाएपछि  कुटेर लखेट्यो । त्यसपछि आफू देउरालीको शिवालयमा बस्दै आएको थियो । अहिले खुस्केछ,” एउटी बूढी बूढी महिलाले भनिन् ।

“यसकी बुढी हिरोनी भन्दा राम्री थि रे आमाले भन्नु भएको,” अर्की बीस वर्ष जति उमेरकी केटीले थपी । सोचें – इशाभन्दा राम्री त पक्कै पनि थिइन होला । मैले पानी  थापें र कोठामा फर्कें ।

पानी कोठामा राखेर फेरि तल बार्दलीमा झरें । ठीक त्यतिवेला उनीहरू  पसल बन्द गरेर घर जाने तरखरमा रहेछन् । म इशाको नजीकै गएँ र सानो दबेको स्वरमा भनें, ‘इशा तपाईंको ज्यामिति बक्स मलाई भोलि एक दिनको लागि दिन मिल्छ । मैले घरबाट ल्याउन बिर्सेछु । भोलि परीक्षा छ ।” तपाईं भनेकोमा पछुतो लाग्यो उतिखेरै ।

“भैहाल्छ,” भन्दै उसले झोलाबाट ज्यामिति बक्स झिकेर दिई । मैले थप केही कुरा गर्ने सोचमा थिएँ । उसको बाबु आइहाले । “ल राम्रोसँग बस्नुस् है भाइ । हामी लेकतिर लाग्यौं,” उनले गलबन्दीको सप्को सलक्क पछाडी फाल्दै भने ।

हस् बुवा भनेर म इशालाई धन्यवाद दिन ऊतिर फर्कें । ऊ त सरासर अगाडी गैसकेकी रहेछ । फेरि खिस्रिक्क पर्दै कोठामा फर्कें । तर मेरो योजना सफल भएको थियो । आफ्नो ज्यामिति बक्स त छँदै थियो । ऊसँग माग्ने त केवल बोल्ने बहाना हो केही हदसम्म सफल भयो ।

अर्को दिन गणितको परीक्षा सकिसकेपछि म कोठामा पुगें । सोचे उसलाई भेटेर ज्यामिति बक्स फिर्ता दिऊँ । तर ऊ दुकानमा भेटिइन । त्यहाँ नदेखेपछि मैले उसको बुवालाई सोधें, ‘ इशा आज  पसलमा आउँदिन । मैले उसको ज्यामिति बक्स फिर्ता गर्नुपर्ने थियो ।”

उनले तल बजारमा बिहे  भएकोले हेर्न उतै गएकी छ भने । मैले त्यतै जाने विचार गरें । ज्यामिति बक्स आफैसँग राखें । कोठामा गएर एउटा सिकारु गजल कोरें ।

कति राम्री हौ  तिमी सधैभरि हेरँ हेरूँ झैं लाग्छ

च्याप्प समातेर ती हातहरू अँगालोमा बेरूँ बेरूँ झैं लाग्छ ।

खुल्ला केश, पुष्ट छाती, रसिलो त्यो ओठ

अंग अंग नियालेर चित्र  कोरूँ कोरूँ झैं लाग्छ ।

….

डायरीमा यति लेखिसकेर पाना च्यातें । अनि त्यसलाई पट्याएर ज्यामिति बक्सको पिंधमा राखिदिएँ । उसले ज्यामितिबाट त्यो गजल भेटेर पढेको मीठो कल्पना गरें । उसको लज्जाशील हाँसोको कल्पना गरें । के के कल्पना गरें । म त त्यसै दङ्ग परें । ज्यामिति बक्सलाइ जतनका साथ खाटको छेउमा एउटा टेबुलमाथि राखे र किताबले ढाके । अनि उनलाई भेट्ने उद्देश्यले बजारतिर मेला हेर्न निस्कें ।

बिहेको घर बजारको पल्लोछेउ पर्दो रहेछ । सोध्दै सोध्दै गएँ । नजीकै गएपछि बाजा बजेको सुनें । साथीहरू कसैलाई नभनी एक्लै गएँ । बाटोको तलपट्टि आँगनमा नाचगान चलेको थियो । मान्छेहरू चारैतिरबाट झुम्म लाएर हेरिरहेका थिए । कोही आँगनको तल, कोही माथि बसेका थिए । मैले चिनेको कोही थिएन ।

इशा कहाँ होली भनेर चारैतिर आँखा डुलाएँ । देखिनँ । बिस्तारै अँध्यारो हुँदै थियो । बिजुलीको उज्यालो आँगनमा मात्र सीमित थियो । तलामाथिका मान्छेहरू पल्याकपुलुक टर्च लाइट बाल्दै थिए । म सुन्तलाको बोटमुनि बाट सबैतिर आँखा डुलाइरहेको थिएँ ।

केहीबेरमा केटाकेटीको एक हूल मतिरै  आउन थाले । अनुहार राम्रोसँग देखिंदैनथ्यो । केटीहरू खित्का छोडेर हाँस्दै थिए । केटाहरू कपाल छोटोछोटो आर्मी स्टाइलमा काटेका र  कतिपयले आर्मीको टाटेपाटे प्यान्ट लगाएका थिए । उनीहरूको जीउडाल देख्दा आर्मिबाट पहिलो छुट्टीमा आएका या लाहुरेकै छोराहरू जस्तो लाग्थ्यो । केटीहरू उनीहरूसँग जिस्किंदै थिए ।

मेरा आँखा एकजोर परिचित आँखाहरूसँग जुधे । नीलो पछ्यौरा उसको टाउकोमा नभएर होंचो होंचो मंगोलियन अनुहार भएको केटाको घाँटीमा बेरिएको थियो । हेर्दाहेर्दै त्यसले चीलले चल्ला टिपे झैं टिपेर  मेरा परिचित आँखाहरूलाई घरमुनिको पाटातिर दौडायो ।

मेरो आँखामा आक्रोशको ज्वाला बल्यो । अपरिचित ठाउँमा मैले के नै पो गर्न सक्थें र हेर्नु सिवाय । तर मेरा आँखाहरूले त्यहाँको दृश्य हेर्न सकेनन् । म युद्ध हारेको छापामार शैलीमा घर फर्कें । ज्यामिति बक्सबाट गजल झिकेर चर्यातचुरुत पारें ।

अर्को दिन उसको बुवालाई ज्यामिति बक्स जिम्मा लगाएँ । नराम्रो केही लेख्न मन लागेन । आफूले मन पराएको मान्छेको मन दुखाउन आफ्नो मनले पनि त मान्दो रहेनछ ।

दुई दिन बाँकी थियो घर फर्कनको लागि । त्यही दिन कोठा छाडें र साथीकहाँ बस्न गएँ । घर फर्किंदै गर्दा देउरालीमा एकपल्ट फेरि त्यही त्रिशूल समातेको जोगी भेटियो । उसले त्यहाँ साथीको अनुहारमा हेरेन । मेरै अनुहारमा हेरेर खिस्स हाँस्यो । किन मलाई नै  हेर्‍यो ? किन खिस्स हाँस्यो ?

तीन दशक कटिसक्दा समेत आजसम्म म त्यो अनुहार झलझली सम्झिरहन्छु ।