“हुन्छ, तपाईं बहस शुरू गर्नुहोस् ।”
“श्रीमान् जे भए पनि बा भनेका बा नै हुन् । मेरो पक्षले आफ्नो बालाई कहिल्यै बा होइनन् भनेका छैनन् । प्रतिउत्तर लेख्न लगाएका थिए । यसका लागि कम्तीमा पनि सात पेज पठाएका होलान् । विदेशमा थिए । यसै मुद्दाका लागि नेपाल आएका हुन् । उनले पठाएका कुरालाई काँटछाँट गर्न मलाई तीन दिन लागेको थियो । घटाएर तीन पेजमा झारेको हुँ । उनले पठाएको प्रतिउत्तर पढेपछि केही थपें । मेरा बा धर्तीका बोझ हुन् । मैले थपेको वाक्यलाई उनले राख्न दिएनन् । जे सुकै लेख्नु वकिलसाब तर बालाई धर्तीका बोझ नलेख्नु । मैले हटाइदिएँ ।
मुद्दा पर्छ । यो स्वाभाविक हो । मेरो पक्षलाई उल्टो मुद्दा पर्यो । हरेकका छोराले बाबासँग मुद्दा हाल्छन् ।
मेरो पक्षको त जीवन नै उल्टो । यो मुद्दा पनि उल्टो नै देखिन्छ । खासमा अंशको मागदावी हरेक सन्तानले आफ्ना आमाबाबा वा अधिकारवालासँग राख्छ तर मेरो पक्षका बाबाले छोरासँग अंशको मागदावी गरेका छन् । अनुमति मिल्छ भने यसको चुरो कुरा बताऊँ श्रीमान् ।”
जिल्ला अदालतको परिवारिक इजलासमा बहस तातेको छ । इजलास बहसले तात्नु स्वाभाविक हो तर फागुन महिनाको मध्यतिर भएर होला बाहिरी तापको प्रभाव भित्र पनि परेको छ । इजलासमा वर्षौंदेखि नफेरिएको भित्ते पंखाले आफ्नै सुरमा कुइँकुइँको आवाजमा आफ्नो धर्म केवल निर्वाह मात्रै गरेको छ । इजलास चिसिएको छैन । इजलास चिसिनु पनि त भएन । नजिकै रहेको सस्तोमा पाइने टिस्यु पेपरले मुखमा आएका पसिना पुच्छै जिल्ला न्यायाधीशले अनुमति दिन्छन्, ‘अनुमति छ, तपाईँ आफ्नो बहसलाई निरन्तर दिन सक्नुहुन्छ ।’
“श्रीमान् आफ्नो सन्तान असल होस् भन्ने चाहना कसलाई पो नहोला ? सन्तान कुलतमा लागेको चिन्ता नगर्ने अभिभावक कस्तो अभिभावक हुन्छ ? तपाईं कल्पना समेत गर्न सक्नुहुन्न । मेरो पक्षको अभिभावकले कहिल्लै आफ्नो जिम्मेवारी निभाउन सक्नुभएन या चाहनुभएन । छोराछोरी र श्रीमती प्रतिको जिम्मेवारी छाडेर सदा रक्सी, जुवातास, गाँजा समेतमा आफूलाई समर्पित गर्नुभयो ।
मेरो पक्षलाई अझै पनि आफ्नो बाबा कुलतमा लागेकोमा चिन्ता छ । कुलतबाट छुटाउनका लागि पटकपटक प्रयास गर्नुभो । सुधारकेन्द्रमा राख्नुभो । केही लागेन । मेरो पक्ष आफैमा कानून व्यवसायी हुन् । कानूनमा स्नाकोत्तर समेत गरेका छन् । विदेशमा बसेर आफ्नो पेशाबाट राम्रो आर्जन गरेका छन् । उनको अस्ट्रेलियामा नाम चलेको ल फर्फ छ । उनलाई सम्पत्ति भन्दा सम्बन्ध ठूलो हो भन्ने कुराको राम्रो ज्ञान छ । सम्पत्तिसँगै सम्बन्ध जोगियोस् भन्ने उनको धारणा छ । बाबाआमाको पालनपोषण, मनोरञ्जन, शान्ति सुरक्षा, औषधी उपचारका लागि उनी जे पनि गर्न तयार छन् । राहदानी बनाएर अस्ट्रेलिया लैजानका लागि पटकपटक प्रयास गरे तर बाबा नमानेपछि उहाँको केही लागेन ।”
“बाबाले आफ्नै छोरासँग अंश मागवादी गर्नपर्नुको कारणतर्फ जानुहोस् । आफ्नो बहसलाई बहकिनबाट जोगाउनुहोस् । विषयान्तर गर्नुभन्दा समयको ख्याल गर्नु राम्रो । इजलासको मर्यादा राख्नु तपाईं हामी सबैको उत्तिकै जिम्मेवारी हुन्छ ।” जिल्ला न्यायाधीशले सचेत गराए ।
“हस् श्रीमान् !
मेरो पक्षका हजुरबाबा बलप्रसादका दुई मात्रै छोरा । जेठोको नाम तेजप्रसाद । मेरो पक्षका बाबा यस मुद्दाका वादी कान्छा छोरा जगप्रसाद । बलप्रसादले आफ्ना छोराहरूलाई पोखराको लेकसाइडमा रहेको जग्गाबाट तीनतीन रोपनी जग्गा बराबर मोहडा र पिछाड हुनेगरी अंशबापत दिनुभएको हो । आफ्नो जिउनीका लागि भनेर एक रोपनी चार आना जग्गा उहाँले राख्नुभएको थियो । बाबाबाट जग्गा प्राप्त भएको दिनबाट नै जगप्रसाद परिवर्तन हुनुभयो । आफूलाई दुनियाँकै अब्बल र सम्पन्न व्यक्तिको रूपमा राख्न थाल्नुभयो । छोराछोरी र श्रीमती प्रतिको जिम्मेवारीलाई कहिल्यै आफ्नो जिम्मेवारी ठान्नु भएन । जग्गा बेच्ने र पैसा नसकिएसम्म रक्सी खाने । आमा, बहिनी र मेरो पक्षलाई कुट्ने, अनाहकमा झगडा गर्ने, घरबाट निस्की, निस्की भन्ने, शारीरिक र मानसिक यातना दिने जस्ता कार्यहरू नियमित रूपमा गर्न थाल्नुभयो । घरमा भएका चरेशका थाल कचौरा पसलमा दिएर रक्सीका बोतलहरू ल्याउनथाल्नु भो ।”
गर्मी झनझन बढ्दै गएको छ । जिल्ला न्यायाधीश एक टकसँग कुरा सुनिरहेका छन् । जिल्ला न्यायाधीशले बहस एकछिन रोक्नका लागि आदेश दिए ।
तपाईंको पक्ष आफै कानूनको जानकार हुनुहुन्छ । कानून व्यवसायी समेत भएकाले म चाहन्छु उहाँले आफ्नो आफै गर्दा राम्रो । वास्तविकता अझै यथार्थपरक ढङ्गले प्रस्तुत हुन्छ । यसको मतलब यहाँबाट भएको बहसलाई फितलो भयो भन्न खोजेको हैन । यहाँले यसलाई सकारात्मक रूपमा बुझ्नुहुने छ । कानून व्यवसायी आफ्नो पक्षलाई आफ्ना कुरा राख्नका लागि अनुरोध गरें ।
“मेरो नाम रामप्रसाद । उमेर ३२ वर्षको भएँ । कानून व्यवसायीको अन्तर्राष्ट्रिय लाइसेन्स छ । अस्ट्रेलियामा वकालत गर्छु । त्यहाँबाटै बसोबास गर्न पाउने अनुमति पाएको कार्ड छ । अस्ट्रेलिया ल फर्फ चलाएको छु । बाबाले अंश मुद्दा हालेपछि मेरो नाममा म्याद तामेली भएको रहेछ । मुद्दाकै कारण नेपाल आएको हुँ । केही दिन बस्छु । मुद्दा छिटै सकिएमा मुद्दा सकेर नत्र वारेश राखेर फर्कनु छ । मेरो चाहना मुद्दा टुङ्गो छिट्टै लागोस् भन्ने नै हो । यो मुद्दा हारजीतसँग सम्बन्धित नहोस् । हाम्रो सम्बन्ध जोगाउनमा मुद्दा केन्द्रित रहोस् । म सम्पत्ति जोगाउनमा भन्दा सम्बन्ध जोगाउन चाहन्छु ।”
“हस् प्रमाणहरूले जे देखाउँछ फैसला त्यही हुन्छ । भावनामा बहकिने छुट कुनै पनि न्यायाधीशलाई छैन । तपाईं विषयवस्तुतर्फ केन्द्रित हुनुहोस् । तपाईँको कानून व्यवसायीबाट आएका कुराहरू दोहोरिने छैनन् । यसमा तपाईं सचेत हुनुहुन्छ भन्ने मेरो चाहना हो ।” न्यायाधीशले बहस छोट्याउने सङ्केत गरे ।
“श्रीमान् म अलिअलि सम्झन्छु । बहिनी र म साना थियौं । आमा र हजुरबाबाले बाबालाई सम्झाउनसम्म सम्झाउनु भयो । केही नलागेपछि आमाले म र बहिनीलाई लिएर घरबाट निस्कनु भएको हो । त्यो रात बेसरी पानी परेको थियो । आकाश गर्जेको थियो । बिजुली बारम्बार चम्केको थियो । आमाले बहिनीलाई पिठ्यूँमा बोकेर मलाई मेरो हात समाएर डोर्याउनु भएको थियो ।
लेकसाइडबाट रातभर हिंड्दाहिंड्दै उज्यालो हुँदा हामी हेम्जा आइपुगेका थियौं । हेम्जामा एउटा सानो छाप्रो भाडामा लिएर हामीले गुजारा चलाउन थालेका थियौं । बिहान झिसमिसेमा आमा मेलामा जानुहुन्थ्यो । मैले बहिनी र मेरा लागि खाना पकाउने काम गर्थें । त्यतिवेला बहिनीलाई खाना खुवाएर विद्यालयका पोशाक लगाएर विद्यालय पठाउनू र आफू पनि विद्यालय जानु मेरो नित्य कर्म थियो । विद्यालयबाट फर्कंदा कहिले आमा आएर हाम्रो लागि खाजा तयार पारिदिनु भएको हुन्थ्यो त कहिले आमा साँझ अबेर आउनुहुन्थ्यो । आमा अबेर आउँदाको दिन खाजा बनाएर मैले पहिले बहिनीलाई खुवाउने गर्थें, अनि आफू खान्थे । गाउँमा कसैको विवाह वा भोज भतेर भयो भने भाँडा माझेर फर्कंदा आमाले हाम्रो लागि समेत केही खानेकुरा ल्याइदिनुहुन्थ्यो । भोज भतेरको खाना हामीलाई मीठो लाग्थ्यो । हामी बेसरी रमाएर आमाले ल्याएको खानेकुरा खाने गर्थ्यौ ।
पढाइमा म र बहिनी दुवै अब्बल थियौं । हामी दुवैलाई आफ्नो कक्षामा कहिल्यै दोस्रो हुन परेन । कुनै वर्ष म त कुनै वर्ष बहिनी विद्यालय प्रथम हुन्थ्यौं । हामीले ल्याएको पुरस्कार देखेर छिमेकीका आमाबाबाहरूले हाम्रा साथीहरूलाई गाली गर्थे । आमाको मिहिनेत हाम्रो परिश्रमको बावजूद हामीले राम्रो शिक्षा प्राप्त गरेका हौं । म विद्वान अधिवक्ताका रूपमा अस्ट्रेलियामा चलेको छु ।
मेरो बुवा कुलतमा लाग्नुभये । हजुरबाबाले भन्नुहुन्थ्यो- छोराले सम्पत्ति सक्नेभयो, जति प्रयास गरे पनि सुध्रने भएन । कसै सुध्रने नदेखेपछि मलाई र मेरा जेठाबाबाका छोरा मोतिप्रसादलाई आफ्नै घरमा बोलाउनु भयो । हजुरबाबाको घरमा वकिल पहिल्यै आएका रहेछन् । शायद हजुरबाबाले सबै चाँजोपाँजो मिलाए पछि मात्र हामीलाई बोलाउनु भएको हुनुपर्छ । ल बाबुहरू हो रामप्रसादका बाबाले भएभरको सम्पत्ति धोकेरै सक्नेभयो । म मरेपछि बाँकी रहेको यो सम्पत्ति पनि यसरी नै सक्ने हो । जे छ त्यसले उडाएर सक्नु भन्दा अगावै म तिमीहरूलाई दिन चाहन्छु । म मृत्यु पछि जे जति बाँकी रहन्छ तिमीहरू दुईका नाममा बराबर शेषपछिको बकस गरेर दिन चाहन्छु । यसमा तिमीहरूले नाइँनास्ती गर्ने होइन ।
हजुरबाको आग्रहलाई हामीले नकार्न सकेनौं । दाजु मोतिप्रसाद र म राजी भयौं । वकिललाई कागज बनाउन लगाएर हजुरबाबाले आफ्नो जिउनीका लागि भनी राखेको जे जति जग्गा थियो हामी दुईका नाममा आधाआधा हुनेगरी शेषपछिको बकस गरी दिनुभएको हो । बाबाले अंशको मागवादी गरेर हालेको यो मुद्दाको जग्गा मैले हजुरबाबाबाट प्राप्त गरेको र बाबाले आफ्नो भाग अंश हजुरबाबाबाट बुझी लिइसक्नु भएकाले यो सम्पत्ति मेरो निजी सम्पत्ति हुन्छ । नेपालको प्रचलित कानून बमोजिम निजी सम्पत्तिमा कोही कसैको अंश भाग लाग्दैन । मैले यसो भन्दैमा यसै गर्न चाहेको पनि हैन ।
मेरो जेठाबाबापट्टि दाजु एक मात्रै छोरा हो । हामीपट्टि बहिनी र म दुई जनाको जन्म भएको हो । मैले मेरो भागबाट बहिनीका लागि आधा जग्गा नामसारी गरिदिएको हुँ । त्यसैले दाजुको जग्गाको तुलनामा मेरो आधा छ । कुनै गुनासो छैन । बहिनीलाई दिई बाँकी रहेको जग्गामा अहिले घर छ । आमा त्यही घरमा बस्नुहुन्छ । बाबासमेत बस्ने भए घर मन्दिर हुने थियो । बाबा बस्न मान्नुहुँदैन । हजुरबाबाबाट अंशबापत प्राप्त गरेको सबै जग्गा सकेपछि मेरो नामको जग्गामा अंशदावी गरेर मुद्दा गर्नुभएको हो । सम्मानित इजलासबाट मेलमिलापको आदेश बमोजिम मेलमिलापमा पनि हाम्रो बीचमा धेरै कुराकानी भएको हो । आधा घर र जग्गा नभई मान्दै मान्दिन भन्नुभयो । मेलमिलापकर्ताले धेरै सम्झाउने प्रयास गर्नु भएकै हो । बेचेर सकेको खान्छु । बाँकी रहेको बाँड्छु भन्नुहुन्छ । घरजग्गा सबै बाबाको नाममा गरिदिंदा कुनै गुनासो छैन तर सम्पत्ति जोगिनु पर्यो । हजुरबाबाको चिनो हो । माया लागेर आउँछ । बाबाको नाममा हुनु के ? मेरो नाममा हुनु के ? आखिर घर जग्गा भनेको बाँचुन्जेल भोग्ने नै त हो ।
मरेर जाँदा सँगसँगै लिएर जाने पनि हैन । बाबाआमा भनेका जीवित देवता हुन् । बाबाआमाको मन दुखाउन चाहन्नँ । हजुरबाबाको सम्झना, हजुरबाबाको चिनो जोगाउन चाहन्छु । यो जग्गा र त्यसमा बनेको घरको संरक्षण होस् भन्ने मेरो चाहना हो । अरू केही बाँकी छैन । महीनाको तीन लाख घर भाडा उठ्छ । घर बेच्न नमिल्ने गरी बाबाको नाममा राखेर घरभाडा बाबाले नै मास्न पाउनेगरी फैसला गरेर बाबालाई दिन मिल्छ भने यसमा मेरो मन्जुरी छ । बाबा आमासँग बस्न नमाने आमालाई अस्ट्रेलिया मसँगै लिएर जान्छु । उता पनि नराम्रो छैन ।”
न्यायाधीश मुसुक्क मुस्कुराए । रामप्रसादका बाबा जगप्रसादको मुखमा पुलुक्क हेरे । जगप्रसाद खिस्स हाँसे ।
“तपाईं आफ्नो कुरा आफै राख्न सक्नुहुन्छ कि आफ्नो कानून व्यवसायीमार्फत राख्न चाहनुहुन्छ ? ”
“आफ्नो कुरा आफै राख्छु मलाई कोही चाहिंदैन ।” जगप्रसाद नम्र भए । “किन अर्कालाई भन्न लगाउनु पर्यो । छोराले के भन्छन् सुन्नु भो नि ?” न्यायाधीशले प्रश्न गरे । जगप्रसादले सुनें भन्ने उत्तर दिए तर त्यो उत्तरमा खुशी देखिएको थिएन । मौसमजस्तै राफिलो थियो । न्यायाधीशले केही कुरा सोधूँ है भनेपछि जगप्रसादले सोध्न र बुझ्न सक्नुहुन्छ भने ।
न्यायधीशः- कति वर्षको हुनुभयो ?
जगप्रसाद- ५८ वर्षको भएँ ।
न्यायाधीश- काम के गर्नुहुन्छ ?
जगप्रसाद- कामसाम केही छैन । केही गर्दिनँ ।
न्यायाधीश- छोराछोरी कति ओटा ? परिवारमा को को हुनुहुन्छ ?
जगप्रसाद- के छोराछोरी भन्ने, पाएको त एक छोरा एक छोरी हो । पाए जस्तो भए पो यति छोरा यति छोरी भन्ने । श्रीमती थिई बेलैमा सम्बन्धबिच्छेद गरेर मेरै घरमा बसेकी छ । लाजसरम केही छैन । लाज पचेकाहरू । परिवारमा को को हुनु नि म एक्लै छु । एक्लै बस्छु एक्लै रमाउँछु ।
न्यायाधीश- (रामप्रसादलाई देखाउँदै) उहाँलाई चिन्नुहुन्छ ?
जगप्रसाद- चिन्छु किन नचिन्ने मरो छोरा हो । उसैले त हो मलाई अंश नदिएर मुद्दा हाल्नुपरेको । छोराले नदिएपछि अंशका लागि मुद्दा हाल्नुपर्यो । दिएका भए किन मुद्दा हाल्ने थिएँ र ?
न्यायाधीश- कहिले जन्माउनु भयो रामप्रसाद जन्मेको मिति, समय र स्थानबारे केही सम्झनुहुन्छ ?
जगप्रसाद- त्यसलाई जन्माउने त्यसैकी आमा हो । उसैलाई थाहा होला कहाँ जन्माई ? कहिले जन्माई ? कुन समयमा जन्माई ? किन जन्माई मलाई के थाहा ?
न्यायाधीश- छोरा जन्मेको दिन त ज्यादै खुशी हुनुभयो होला हैन ? छिमेकी साथीभाइ समेतलाई भोज खुवाउनु भयो होला हैन ?
जगप्रसाद- खुशी भइयो पनि, भइएन पनि । यसैकी आमाले भोज लगाएकी थिई मैले पनि खाएको थिएँ ।
न्यायाधीश- पढाइका लागि आफ्नो छोरालाई कुन विद्यालयमा कहिले भर्ना गर्नु भएको थियो ?
जगप्रसाद- भर्ना ? खै मैले कहिल्यै कसैलाई कुनै विद्यालयमा भर्ना गरेको छैन । आफै भयो कि उसकी आमाले भर्ना गरेकी हो उसैलाई सोध्नु । कहिले भर्ना भएर कहाँ पढ्यो ?
न्यायाधीश- (रामप्रसादलाई देखाउँदै) उहाँले कति पढ्नु भएको छ हजुरलाई केही थाहा छ ?
जगप्रसाद- उसले के पढ्यो ? कति पढ्यौ ? कसरी पढ्यो ? किन पढ्यो ? उसैलाई सोध्नु यसलाई थाहा नभएको कुरा मलाई के थाहा ?
न्यायाधीश- छोराको पढाइका लागि कति खर्च गर्नुभयो ?
जगप्रसाद- (छोरा रामप्रसादलाई देखाउँदै) खर्च गरेको भए यो यस्तो हुनेथियो ? काम नलाग्ने छाडा हुन्थ्यो । आवारा हुन्थ्यो । गँजडी हुन्थ्यो । म जस्तै जँड्याहा पनि हुन सक्थ्यो । खर्च गरिनँ र त पढेलेखेको छ । आफ्नो गरेर खान सक्ने भएको छ ।
(बीचमै रामप्रसाद उठे)
रामप्रसाद- श्रीमान् केही कुरा राख्ने अनुमति पाऊँ हजुर।
न्यायाधीश- अनुमति छ आफ्नो कुरा राख्नुहोस् । बाबा छोराले आफ्नो मनमा लागेका कुरा पालैपालो राख्न सक्नुहुन्छ ।
रामप्रसाद- मेरा बाबाले मेरा लागि कुनै विद्यालयमा भर्ना गरेको, शिक्षाका लागि त परै जावस् गाँस, बास, कपास, स्वास्थ्य, मनोरञ्जनका लागि कुनै दिन एक पैसा खर्च गर्नुभएको छैन । म विद्यालयमा रहँदा बस्दा कुनै दिन भेट्नसम्म आएको सम्झना छैन हजुर ।
जगप्रसाद- आइन के गर्छस् गर तँ जस्तो बेवकुफ बाबुको छोरा हैन म बुझिस् बिचार पुर्याएर बोल ।
रामप्रसाद- उहाँले घरमा भएका सबै थाल कचौरा समेत बाँकी नराखी बेचेर खाइसके पछि अंश मुद्दा हाल्नु भएको हो ।
जगप्रसाद- खान्छु थाल कचौरा बेचेर (रामप्रसादलाई देखाउँदै) यो झुटो बोल्दै छ श्रीमान् ।
रामप्रसाद- कहाँ गए त घरमा भएका त्यतिधेरै थाल कचैरा ?
जगप्रसाद- पाहुनाहरूले लगे । कहिले एउटा, कहिले दुईओटा गरेर लगे । साथाभाइले लगे । (न्यायाधीश तर्फ हेर्दै) खाना खान बोलायो, यस्सो रमाइलो गरौं भनेर जम्मा गर्यो फर्कने बेलामा कसैले एउटा कसैले दुईओटा गरेर झोलामा हालेर लैजाने रहेछन् ।
रामप्रसाद- मेरो क्यालकुलेटर नि ?
जगप्रसाद- त्यो भने हो है । क्यालकुलेटर चाहिं मैले बेचेको हुँ ।
रामप्रसाद- श्रीमान् मैले एसएलसी दिने समयको कुरा हो । विज्ञान विषयको परीक्षा सकेर फर्केको थिएँ । भोलिपल्ट गणित विषयको परीक्षा थियो । मेरो क्यालकुलेटर हरायो । सम्भावित ठाउँहरूमा खोजें । कतै नभेटिएपछि बसमा छुट्यो कि भनेर खोज्न हिंडे, भेटिनँ । फर्कंदा छिमेकीको रक्सी पसलमा देखें । बेचेर रक्सी खानुभएको रहेछ । यस्ता घटनाहरू एक पटक हैन, दुई पटक हैन, पटक पटक दोहोरिएका छन् । मैले केही भनिनँ पसलवालासँग अनुरोध गरी क्यालकुलेटर परीक्षा दिने समय सम्मका लागि भनी मागिल्याएँ । मैले बाबालाई केही भनिनँ । भन्नुको अर्थ पनि त थिएन । बाबालाई सुधारगृहमा लगें । केही समय बसेर फर्कनुभयो । सुधारगृहमा बसिन्जेल सुधार हुन्थ्यो । फर्केपछि उहीँ सिलसिला दोहोरिने गर्थ्यो । मेरा हरेक प्रयास मिथ्या भए । मेरो केही लागेन ।
न्यायाधीश- (जगप्रसाद तर्फ हेर्दै) सबैका त छोराहरूले आफ्ना बुबालाई अंश पाऊँ भनेर मुद्दा हाल्छन् तर तपाईं त छोरालाई पो मुद्दा हाल्नुभएको रहेछ ।
जगप्रसाद- (हाँस्दै) ए त्यसो पो । मसँग केही भए पो मुद्दा हाल्नेथियो यसले । मेरो कैही छैन । भए दिने हो । नभए के दिने ? थियो सकियो । छोरासँग छ । मैले छोराबाट पाउनुपर्ने हो र पाउनुपर्छ । मेरा धेरै इच्छाहरू छन् ।
न्यायाधीश- मसँग छैन । थियो, सकियो भन्नुहुन्छ । हजुरका बाबाबाट हजुरले पाएको सम्पत्ति के गर्नुभयो ।
जगप्रसाद- सिधा कुरा यसको जस्ता ढाँट्ने छल्ने कुरै छैन । सकियो । सकें । खाएरै सकें ।
न्यायाधीश- के खानुभयो ?
जगप्रसाद- के खाइनँ ? सबै खाएँ, उड्नेमा जहाज खाइनँ । गुड्नेमा मोटर खाइनँ । चार खुट्टेमा खाट खाइनँ । यति मात्रै होइन मेरा बाबाबाट प्राप्त जग्गाजमीन सबै खाएँ । खाएर नै सकें । भात खाएँ । दाल खाएँ । मासु खाएँ । माछा खाएँ । रक्सी खाएँ । चुरोट खाएँ । हजुरहरू खाँदै नखाने त हैन नि ? मैले मात्र होइन मेरा साथीभाइ इष्टमित्र सबैलाई खुवाए पनि तर घुस कहिल्लै खाइनँ ।
न्यायाधीश- आफ्ना छोराछोरी र श्रीमतीलाई पनि खुवाउनु भयो कि ?
जगप्रसाद- (मुख बिगार्दै)खुवाउँछ यिनीहरूलाई । किन खुवाउने ? अहँ खुवाइनँ । चार पैसा खर्च गरेको छैन यिनीहरूका लागि जे भए आफै भएका हुन् । जे खाए आफै गरेर खाएका हुन् ।
न्यायाधीश- रक्सी खूब खानु भयो है । कति खानु भयो ?
जगप्रसाद- फेवाताल जति नै त खाएको छैन होला हो, तर खै खाएँ कि ।
न्यायाधीश- छोरासँग रक्सी खाने पैसाका लागि नै अंश माग्नुभएको हो ?
जगप्रसाद- हो, रक्सी खानका लागि पनि हो ।
न्यायाधीश- कुनै पछुतो छ । सबै सम्पत्ति खाएरै सक्नुभएको रहेछ ।
जगप्रसाद- कहाँ सक्ने छोरासँग भएको सम्पत्ति मेरो हैन र सकेको छैन र त मुद्दा हालें । छोरासँग भएको सम्पत्ति आधा पाएमा मलाई पुग्छ ।
न्यायाधीश- कति छ ?
जगप्रसाद- छ नि । बेच्ने भने कम्तीमा पनि दश करोड पर्ने घरजग्गा छ । सबै मागेको छैन । मेरो भागमा पर्ने आधा वा पाँच करोड दिए पनि हुन्छ । मुद्दा फिर्ता लिन्छु । मेरो पनि मुद्दा लडिरहने रहर हो र ? आधा सम्पत्ति पाए मुद्दा छोड्छु ।
न्यायाधीश- आधा नै पो, के गर्नुहुन्छ त्यत्रो सम्पत्ति ?
जगप्रसाद- के गर्छु ? गर्छु नि । खान्छु, बाँकी रहे फेवाताल सफा गर्छु ।
न्यायाधीश- फेवाताल फोहोर छ ?
जगप्रसाद- फेवाताल मात्रै हो र यहाँको राज्य व्यवस्था नै फोहोर हुन्छ कि भन्ने डर भयो ।
न्यायाधीश- फेवाताल त राज्यले सफा गर्ला नि त ?
जगप्रसाद- गर्छ सफा राज्यले । राज्यले गर्ने भए गरिसक्ने थियो । जलकुम्भी झारले पानी देखिएको छैन । शहरका घरको ढल मिसिएको छ । आन्तरिक पर्यटकले फालेका पानीका बोतल र फोहोर ताल किनारामा यत्रतत्र सर्वत्र छरपस्ट छिरलिएको छ । गर्दैन स्थानीय तहले । गर्दैन राज्यले । यिनीहरू आउँछन्, जान्छन् । हाम्रो समस्या ज्युँका त्युँ । अब म गर्छु । मलाई चिन्ने पनि कोही भएनन् । कसैले पनि चिन्न सकेनन् । अब काम गर्छु । मेरा नामका पर्चा बनाएर बाँड्छु चोकचोकमा ।
न्यायाधीश- छोराले छोरा र आमासँगै अस्ट्रेलिया लान्छु भने जानुहुन्छ ?
जगप्रसाद- यसले स्वर्ग लान्छु भने त जान्नँ म, जान्छु अस्ट्रेलिया ।
न्यायाधीश- घरजग्गा बाबाछोराको नाममा संयुक्त राख्दा कस्तो हुन्छ ? भाडा तपाईंले उठाएर खान पाउने गरेर ।
जगप्रसाद- हुन्न संयुक्त नामको सम्पत्ति आफ्नो मात्रै इच्छाले बेच्न पाइन्नँ । भाडाबाट आएको पेसाले मलाई मात्रै खान त पुग्दैन साथीभाइले आश गर्छन्, तिनीहरूलाई के खुवाउने । भयो त्यसो नगरम् भो । मलाई त्यसरी पुग्दैन ।
न्यायाधीश- तपाईंको इच्छा बमोजिम छोरा बुहारीले पाल्छु भन्दा यसमा के गुनासो भयो र ? वृद्ध हुनुहुन्छ त्यसै गरे कसो होला ?
जगप्रसाद- नाइँ हुन्न । मलाई पैसाले पाल्छ । छोरा बुहारीले पाल्नुपर्दैन । पैसा मात्रै हुनुपर्छ पाल्छु, स्याहारसंहार गर्नेहरू कति पछि लाग्छन् कति । मलाई पैसा वा जग्गा मध्य कुनै एक चाहियो अरू केही कुरा नगरौं भो ।
न्यायाधीश- (रामप्रसादतर्फ हेर्दै) के गर्ने हो त बाबालाई ?
(रामप्रसाद जुरुक्क उठे)
“श्रीमान् मलाई थाहा छ । दुनियाँमै सबैभन्दा ठूलो दान भनेको वीर्य दान हो । यो दान हरेक सन्ततिले आफ्ना बाबाआमाबाट प्राप्त गर्दछन् । बाबाबाट प्राप्त यो दानमा न कुनै मूल्य हुन्छ न कुनै स्वार्थ । बाबाको मन भाँचेर मेरो नाममा सम्पत्ति राखेर मैले के पाउँछु । यो सम्पत्तिले के गर्नु । बैंकमा राखेको पैसा र उपभोग नगरेको जग्गा आफ्ना हुन् र पनि आफ्ना होइनन् केवल गणित हुन् ।
सम्बन्धभन्दा सम्पत्ति कहिल्यै माथि हुँदैन । बाबाआमा जीवित देवता हुन् । बाबाको मन दुखाएर मैले कुन स्वर्गको कल्पना गरूँ ? कुन यात्रामा सफलता प्राप्त गर्न सकुँला । बाबाको मन भाँचेर कुन मन्दिरमा पूजा गर्दा मलाई सन्तोष मिल्ला ? मेरो सारा सम्पत्ति भनेका मेरा बाबाआमा नै हुनुहुन्छ । म आमालाई अस्ट्रेलिया लिएर जान्छु । बाबाको नाममा मेरो सारा सम्पत्ति सबै हुने गरेर दिन तयार छु । श्रीमान् हजुरको राय किताबमा यसै बमोजिमको फैसला लेखिदिनुस् ।
जिल्ला न्यायाधीश जुरुक्क उठे । दुवै बाबाछोरालाई आफ्नो चेम्बरमा बोलाए । जगप्रसाद र रामप्रसाद दुवै न्यायाधीशको चेम्बरमा प्रवेश गरे । न्यायाधीशले जगप्रसादतर्फ इङ्गित गर्दै भने, “तपाई र तपाईंको श्रीमती समेत आफ्ना छोराबुहारीसँग तिनीहरू जहाँ रहन्छन् बस्छन् । त्यहीं बसे हुन्न ? छोराको तपाईं प्रतिको प्रेम, आदरसत्कार देखेर म दङ्ग छु । छोरा सबै सम्पत्ति दिन तयार छन् । तपाईंको सम्पत्ति अरूले खाने हुन् । अनेत्रीले खानुभन्दा आफ्नाले खाएको राम्रो ।के गर्नुहुन्छ सम्पत्ति आफ्नो नाममा ल्याएर ? छाडिदिनुहोस् मुद्दा मामिला । बस्नुहोस् छोराबुहारी र श्रीमतीसँग ।
बाल्यकालमा अनजानमा पिउनुभयो । यौवन अवस्थामा लहैलहैमा लागेर पिउनुभयो । किशोरावस्थामा लत बसेर पिउनुभयो । जीवनको मध्यावस्थामा लत छोड्न नसकेर पिउनुभयो र पिइरहनु भएको छ । जीवनका आजसम्मका अवस्थाहरू एक्लै भएर पिउनु भयो । तपाईंका साथीहरू खान पाइने समयसम्म तपाईंका भए । खान नपाउँदा छोडेर गए । रक्सीको सहारा लिनुभयो । छोराछोरी र श्रीमतीलाई आजका मितिसम्म छोड्नु भयो । जीवनका ऊर्जाशील समयहरूमा केही जोर्न सक्नु भएन ।
बाबाबाट प्राप्त सम्पत्ति पनि सक्नुभयो । आफ्नो दायित्व र जिम्मेवारीबाट पन्छिएर आजसम्म भिन्दै बसेर के पाउनुभयो ? एक पटक विगततर्फ फर्केर हेर्नु । तपाईंसँग खानपानमा साथ दिनेहरूलाई सम्झेर हेर्नु त । आज कहाँ छन् तिनीहरू । कहाँ गए तिनीहरू ? तपाईंप्रति तिनीहरूले दर्शाएको माया कस्तो माया रहेछ विचार गर्नु त ? विगतलाई फर्केर हेर्नु ।आज सम्पत्ति सकिए पछि छोरालाई मुद्दा हाल्नपर्छ भनेर मुद्दा हाल्न लगाउनेहरू कस्ता हुन् ? तपाईंका छोराले आफ्नै हजुरबाबाबाट शेषपछिको बकस पाएका रहेछन् । म तपाईंका छोराले दिन चाहेको यो सम्पत्तिलाई यसै मुद्दाको रोहबरबाट तपाईंलाई अंश बापत दिन सक्दिनँ । यस्तो फैसला हुन सक्दैन । यसमा तपाईंको बिचार के छ ?”
बेसरी तताएर भिन्न आकार बनाउन लागेको फलाममा पानी हाल्दा जस्तो हुन्छ त्यस्तै तवरबाट जगप्रसाद झन्किए, “श्रीमान् म बाल्यकालमा हुँदा मेरो बाबाले ठूलो मान्छे बनाउन चाहेर नाम चलेको विद्यालयमा भर्ना गर्नुभएको थियो । विद्यालय जान मानिनँ । बाल्यकालमा न बाबाले भनेको मानें न आमाले भनेको नै । पढ्न भनी पठाएको म विद्यालयबाट भागेर कहिले सिनेमाहलमा त कहिले फेवातालमा पौडन जान्थें ।
बाबाको खल्तीको पैसा निकालेर पटकपटक चुरोट तानें । रक्सीको वोतलमा डुबाएँ । खराब साथीहरूको सङ्गतमा लागें । सङ्गतले पिर्दै गयो । युवा अवस्थामा प्रवेश गर्दानगर्दै बाबासँग अंशका लागि दिनहुँ झगडा गर्न थालें । छोरा सुध्रन्छ भनेर विवाह गरिदिएका हुन् । बाहिर बाहिर बरालिने बानी परेको ममा कुनै सुधार हुन सकेन । छोराछोरी, घर र श्रीमतीप्रति मेरो दिल नै बसेन । ख्यालख्यालमा छोराछोरी भए । माया बस्न सकेन । न श्रीमतीलाई न्याय गरें, न छोराछोरीलाई । उनीहरूलाई आफूले केही गरेको भए पो उनीहरूबाट आशा हुने थियो ।
बानी परेपछि गाह्रो हुने रहेछ । रक्सी, चुरोट छोड्छु भनेर पटक पटक प्रयास गरें, सकिनँ । सम्पत्ति सकेँ । सम्पत्ति सँगसँगै सम्बन्धहरू सकिंदै गए । यो वृद्ध अवस्थामा मैले आफ्नो सहारा कसैसँग पनि भरोसा गर्न सकिनँ । छोराछोरी, बुहारी र श्रीमतीलाई अन्याय गरेको छु । यिनीहरूका लागि राम्रो कहिल्यै गर्न सकिनँ । जति उमेर बढ्दै जान्छ त्यति बाँच्ने रहर जाग्दै जाने रहेछ । कतै बाँच्नका लागि आड भरोसा नदेखेर नै मैले मुद्दा दर्ता गरेको हुँ । मलाई लाज लागेको छ । देखाउन नमिल्ने भएर पचेको हुँ । लाज नपचुन्जेल लाज हुने रहेछ । लाज पचेपछि लाज बानी बनेर आउने रहेछ । भित्री मन बेसरी दुखेको छ । जीन्दगीभर न छोरालाई काखमा राखेर हुर्काउन पाएँ न छोरीलाई । मेरा हर रहर त्यसैत्यसै मरेर गएका छन् । छोरालाई अँगालो मारेर धित मरिन्जेल रुन मन छ सकेको छैन ।”
जगप्रसाद भक्कानिए । रामप्रसादले अँगालो मारे । बाबा आफूलाई सम्हाल्नु । मेरो सारा सम्पत्ति हजुरहरूकै हो । म, बुहारी र आमा हामी सबै हजुरहरूकै हौँ । हजुरको हित नै हाम्रो जीत हो । आमाले हजुरको बाटो कुरेर बसेको वर्षौं भयो । विगत बिर्सिदिनुहोस् । वर्तमान उज्यालो छ ।
जगप्रसादले मुद्दा फिर्ता लिने निर्णय गरे । न्यायाधीशले सबै परिवारका सदस्यहरूको रोहबरमा मुद्दा फिर्ता गरिदिए ।
सुनिन्छ – जगप्रसादले रक्सी छोडे रे । चुरोट खाँदैन रे । उनको स्वास्थ्यमा सुधार भएको छ रे । बिहान बेलुका नातीनातीनाहरूसँग खेल्दै रमाउँदै आज पनि जगप्रसाद फेवाताल सरसफाइ अभियानको नेतृत्व लिएर फेवाताल सरसफाइ गरिरहेका छन् ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२२ कार्तिक २०८२, शनिबार 










