अब भने ऊ शान्त देखिन्थी । महिनौंको भडास पोख्न पाए बापत बिल तिरी । मैले पनि त ठूलो काम गरेको थिएँ । उसको दुःख जो सुनिदिएको थिएँ । बिहेको लड्डू चाख्ने कि नचाख्ने ! म अर्को द्विविधा परें ।
===
“भाइ, प्लेट मसरूम चिल्ली अनि एउटा चीज पिज्जा …। अलि छिट्टो है ! … ड्रिङ्क्स एकछिनमा भन्छु । तँ अरू केही खान्छेस् ?”, हडबडाउँदै उसले भट्ट्याई र मलाई सोधी ।
उसलाई मैले चिनेको सात वर्ष भयो । एउटै कलेजमा अध्ययन गरेको । आज धेरैपछि भेटघाट जुर्यो । विवाह पछि ऊ धेरैजसो व्यस्त रहन्छे । म उसलाई धेरैपछि भेटेकोले कस्ती भै’छ, हेर्दै छु ।
ऊ गमक्क हुँदै भाउजूको आग्रह हुबहु मलाई सुनाउँदै छे ।
“नानु ! आमाले पटक्कै भनेको मान्नुहुन्न । सुगर बढेको छ, खाना बार्न नमान्ने । उल्टो सहेनन् भनेर पिलपिल रुने । हजुरले सम्झाइदिनुस् न ! हजुरले भनेको त अलि सुन्नुहुन्छ ।” मलाई भाउजूसँग फोनमा भएको कुराकानी सुनाउन आतुर छे ।
“ओहो तेरो त ठूलो भाउ रहेछ त माइतीमा । मेरी साथीको कत्रो महिमा ।”, मैले फुर्क्याइदिएँ ।
“सुन्न ।” मुसुमुसु फुर्के हाँसो हाँस्छे ।
उसको स-सानो कुरामा फुरुक्क हुने बानी आज पनि उस्तै रहेछ । अझै फोनको कुरा थप्दै छे ।
“अब सबै कुरो मलाई मात्र सुनाएर कहाँ हुन्छ ? बिहे गरेको छोरी हरेक कुरामा माइतीको फलोअप गर्न सक्छु त …? तैं भन त ल ..। आफूहरू वास्ता गर्दैनन्, अनि गुनासो चाहिं मलाई सुनाउन आउने । हाम्री भाउजू नि अलि कपटी हो कि जस्तो लाग्छ ओइ मलाई त !”
आज धीत मर्ने गरी भडास पोख्ने मुडमा छे । ऊ एकै सासमा थप्दै छे ।
“आफ्नी आमा कस्ती छिन मलाई थाहा छैन र ? के खाने, के नखाने अरूले सिकाइराख्न पर्छ त ? बिचरा ! जिन्दगीभरि यति दुःख गरेर हामीलाई के खुवाउने भन्दैमा बित्यो । अब अहिले अलिअलि मुख मीठो बनाएको पनि कति रीस गरेको होला ? हेर त, अस्ति पनि बाहिर म:म खाएर आएछन्, ममीले कसो कसो थाहा पाउनुभएछ । चित्त दुखाउँदै हुनुहुन्थ्यो ।”
कतै नहेरी ऊ बोलिरहेकी छ । मेरो धैर्य घट्दै छ । बल्ल-बल्ल भेट भएको साथी । उसको गन्थन सकिने छाँटकाँट छैन ।
“ग्यास्ट्रिकको रोगी हुनुहुन्छ हैन र तेरो ममी ? ओहो कति नेगेटिभ भा’की ? हामीले खाएको जङ्क सबै बा-आमालाई खुवाउन थाल्यो भने त गाह्रो होला नि ! मलाई त त्यति साह्रै खराब लाग्दैन ओए तेरो दाइभाउजू ।”, उसको कुराको डोज अब अलि बढी हुन थाल्यो । मैले रोक्न खोजें ।
मेरो असहमति पचाउन नसकेर रिसले आगो हुन्छे ऊ । “सोध्न सकिन्न ? कति हेपेका ? सासूससुराको मान खै ? अचम्म ! हेर त, दशथरी ओखती खानुहुन्छ ममीले । त्यही बाटो बाइक लिएर हिंड्छन् । यसो फार्मेसी पसेर ल्याइदिए हुन्न ? मलाई त झननSSन् पो हुन्छ भन्या ।”
उसको अनुहार रातो देखेर म शान्त बनाउने कोशिशमा लाग्छु । मसरूम चिल्ली मुखमा हालेकोले बोल्ने मौका पाएँ । “अनि भन्न पर्यो नि त उहाँहरूले पनि । नभनी कसरी थाहा हुन्छ त ? बच्चा छन्, घर पनि सम्हाल्न पर्यो । तैंले लगिदिए नि हुन्छ नि ! हप्ताको २,३ पटक त्यता गएकै हुन्छेस् ।”
तर मेरो सल्लाह सुन्नै छैन उसलाई ।
“ओहो, मलाई यो माइती, दाजुभाइको बीचमा आफू जान्ने हुन मन लाग्दैन हेर् । हिजो ममीलाई फोन गरेर यसो सम्झा’को छु मैले त । औषधि कति महँगा छन्, अंश खाने उनीहरू, अनि खर्च म गर्छु ? के कुरा गर्छे यो ? साह्रै दुःख दिए भने अन्तिममा हेर्ने म छँदै छु त । बिचरा, त्यत्रो खर्च हुन्छ घरमा । साग-सब्जी, रासन-पानी, पुरै घर चलाउने ममीले हो । महिनाको टिक्रिक्क १० हजार दिन्छन् । बुवा-ममीको औषधि, अरू सबै बुवाको पेन्सनले गाह्रो हुँदैन ? खै सोचेको । खाली आफैं जोगाउने चक्करमा छन् । अलिअलि त हो ! तर उहाँहरूलाई गाह्रो होला भन्ने सोच्न पर्छ नि । हेर त, बुवाको मुख हेर्ने दिनमा एक जोर कपडा पनि दिएनन् । अचम्ममा परें म त ! आश गर्नुहुन्छ बिचरा । कि मेरो ससुरा जस्तो भए त हो नि । एकदम चुजी के, मन नपरे प्याच्च भन्दिने, मलाई त केही किनिदिन पनि अड लाग्छ । यसो काजुपिस्ता लगिदिएँ बरु । पैसा नि जोगियो आनन्द ।”
बिहेले मान्छेलाई वास्तवमै परिवर्तन गराउने रहेछ । यो मैले चिनेको साथी नै होइन ।
“भाइ… दुइटा म्याङ्गो लस्सी है !” वेटर नजिक आएको मौका छोपी ।
“भोक लागेको छ । आज टन्न खाएर जाने हो हेर् । बेलुकाको धन्दाको फन्दामा पर्नु छैन । बिहानको सब सकेर नै हिंड्ने हो केरे ! मलाई नदेख्दा हाम्रो ममी सबै काम गर्नुहुन्छ, मलाई देख्ने बित्तिकै सर्लक्कै गर्दागर्दैको पनि सबै छाडिदिनुहुन्छ । ८ घण्टा ड्युटी गरेर घर गएर फेरि सबै काम गर्न त जोरो आउला जस्तो हुन्छ मलाई । त्यसका बाजे ! त्यही भएर आजकल इभिनिङ् ड्युटी गर्छु म त । गयो, खायो र सुत्यो । घर पुग्दै ९ बज्छ, आनन्द । हाम्रो ममी मान्छे त हेल्पफुल हो के, ओइ । बेला बेला आमाज्यू आएर उक्साउने हो कि जस्तो लाग्छ । उहाँ आएर गएपछि २, ४ दिन अर्कै हुन्छिन् बाइ हाम्री सासू त । यो दिदीबहिनी धेरै भा’को नि राम्रो होइन रै’छ । मेरा भाउजूलाई आनन्द । म मात्रै छु, त्यही नि त्यस्तो अनेक राजनीति मैले जानेको पनि छैन ।” तात्तातो पिज्जाको चिजले जिब्रो खुइल्याइदिएछ । कोल्टो पार्दै पिज्जाको स्लाइस मिलाएर टोक्छे ।
उसको कुरा पटक्कै चित्त बुझेन । आफूले फोन गरेको चैं सम्झाएको रे, उसकी आमाज्यूले कुरा गरेको चाहिं उक्साएको रे ! पचाउनै सकिनँ । पढेको मान्छेले कसरी यस्तो सोच्न सकेको होला ! अनि हिजो फोनमा चैं उक्साएको नभए के गरेको त ? मनले भनेर भ्याएँ । मुखले बोल्ने आँट आएन । बोले पनि सुन्ने वाला छैन ।
म एकोहोरो पिज्जा चिल्ली ससमा चोप्दै खाइरहन्छु । आज यो ट्रेन रोकिएला जस्तो छैन । हामी भेट भएको आधा घण्टा कटिसक्यो, मेरो हालखबर सोध्ने उसलाई फुर्सद छैन । अझै आमाज्यूको कुरा काट्दै छे, “आउने, ढोका थुनेर आमाछोरी खुसुखुसु गर्ने । छिर्न अप्ठ्यारो । चिया पकाएर कोठामै लागिदिन पर्ने फेरि । सिधा कुरा गर्नलाई ढोका थुन्न पर्छ त …..? (लस्सी सुरुप्प पार्छे ) फेरि जति मिलेमतो भए पनि एक सुक्को आमाका लागि खर्च गरेको थाहा छैन मलाई । यही भाइको आश गर्ने, हेर् । कति जनालाई खुशी बनाउने भन् त । अब अस्ति तीजमा सबैले एउटै सारी लगाउने सल्लाह गरे, तीनटी दिदीहरू, आमा, अनि म । ५ जोर सारीब्लाउज सेटको खर्च गर्न पर्यो । ओहो ! सिम्प्लिसिटी भन्नी त छँदै छैन । देखाउन धेरै पर्ने के उहाँहरूलाई । ससुराबा फेरि सकेसम्म पैसा निकाल्न मन गर्नुहुन्न । छोरोले खर्च गरे हुन्थ्यो जस्तो गर्नुहुन्छ । केको लोभ होला यो बुढेसकालमा ! त्यत्रो पेन्सन आउँछ, घर भाडा आउँछ । हाम्रो उता जस्तो ठूलो परिवार पनि त होइन नि !”
अब त मलाई खित्का नै छुट्यो । तर सुनिरहें । केही भन्न सकिनँ । आफ्नो बिहे भएको पनि छैन । धेरै कुरामा चित्त बुझेन । ऊसँग विवाद गर्न सक्छु जस्तो पनि लागेन । दुवै जनाको प्लेट रित्तियो । लस्सी मीठो थियो । गफले अझ तड्का भरिदियो ।
अब भने ऊ शान्त देखिन्थी । महिनौंको भडास पोख्न पाए बापत बिल तिरी । मैले पनि त ठूलो काम गरेको थिएँ । उसको दुःख जो सुनिदिएको थिएँ । बिहेको लड्डू चाख्ने कि नचाख्ने ! म अर्को द्विविधा परें । द्विविधालाई मनमा गुन्दै घरतिर लागें ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२ मंसिर २०८२, मंगलवार 




