बलीप्रथा राम्रो हो वा होइन त्यो बहसको विषय भएकोले चौतर्फी बहस चल्दै आएको छ । तर संसारमा प्रायः सबै चालचलन र समाजमा अप्रत्यक्ष रूपमा यो अद्यापि कायम छ ।

अरू परिवारमा जस्तै हाम्रो पनि कुनै मनोकामना पूरा गर्नाका भाकल गर्ने चलन थियो । वेलाबखत आमाले मेरो लागि समेत त्यसो गर्नुहुन्थ्यो यो फरक थियो कि म आधुनिक रहनसहन र उच्च शिक्षा लिएकोले म त्यस प्रकारको अन्धविश्वासको खुलेर विरोध गर्थें र कर्म नै ईश्वरको पूजा हो भन्दै बिहानदेखि रातिसम्म काममा व्यस्तता हुन्थ्यो । तर मेरो सोचाइ र मान्यताले आमाको माथि अत्याचार गर्नु पनि मनासिब लागेन ।

त्यसैले एक-दुई चोटि बोको लिएर भाकल पूरा गर्न मन्दिर गए पनि पछिल्लो समय मन्दिर लगेर पूजा गरेर बली नदिईकन छाडिदिने गर्न थालियो । केही वर्ष पहिले वाथले दुःख दिएर मेरो घोडा दुख्दा उहाँलाई देवी रिसाएर त्यस्तो भएको भान परेछ । त्यसकारण, भाकल गरी हाल्नुभएछ, “है दक्षिणकाली … बिसो पारिदेऊ … कालो बोको लिएर आउँला !”

के खाना खायो त्यही अनुसारको लक्षण देखिने वाथ रोग केही हप्तापछि निको भयो डाक्टरी औषधी र खानपान नियन्त्रण गरेर । तर परम्परावादी आमालाई यो देवीकै सहयोग आभास भएर मलाई भन्न थाल्नुभो, “ल है कान्छा, अब एकदिन देवीको मन्दिर जानुपर्छ नत्र उपद्र हुन्छ ।”

धेरै महीनासम्म मैले टारिरहें । व्यस्तताको बहानाले तर उहाँले घच्घच्याउन छाड्नु भएन । “बरु आइन्दा गर्दिनँ, यो नै तेरो लागि अन्तिम भयो… एक चोटि मेरो लागि जानुपर्छ ।”

मैले अटेर गर्दै थिएँ तर एकदिन अफिसबाट फर्कंदा छिंडीमा एउटा सानो सिंगाने कालो बोको “म्या, म्या” गर्दै घाँसको डालोबाट ससाना पात चपाउँदै रहेछ कहिलेकाहीं मैले कुसंस्कार चपाए जस्तै । मैले कुरा बुझिहालेँ तर फेरि केही महिना टारिरहेँ- कहिले अष्टमी आएको छैन भन्दै त कहिले फुर्सद नभएको नाटक गर्दै । आमाको स्याहारले कालो बोको मोटाएर डल्लो भयो । ऊ अब चिल्लो र केही आकर्षक पनि भयो किनेको बेला भन्दा । ऊ अलि जिद्दी र छुचो भैसकेकोले हानिदिन्थ्यो जिस्काउनेलाई ।

उसलाई देख्दा झन् माया लाग्न थाल्यो, “निरपराध यो जन्तुले के बिगारेको छ र ? यसलाई पनि त बाँच्ने अधिकार छ नि मान्छेलाई जस्तो !” जनावरवादी अधिकारकर्मीलाई जस्तै लाग्यो मलाई ।

तर सदियौंदेखि चलेको चलनमाथि धावा बोल्नु पनि त कम चानचुने कुरा होइन । आमालाई सम्झाउँदा- सम्झाउँदा उहाँ पनि काटेर बली नै दिनुपर्ने भन्ने अडानबाट पछि हटेर पर्सेर छाडिदिने निर्णयमा राजी हुनुभयो । त्यसैले एउटा उपयुक्त दिन पारेर हामी आमाछोरा मन्दिरतिर हुइँकियौं मोटरसाइकलमा, कालेलाई पछाडि आमाले च्याप्प समात्नुभयो ।

एक घण्टा जत्तिमा हामी मन्दिर पुग्यौं । अलि अबेर गएकाले होला उति लामो लाइन थिएन । काले माथिदेखि खुरुखुरु सिँढी ओर्लेर हामी सँगसँगै मन्दिर पुग्यो । देवीको मन्दिर अगाडी भर्खरै केही पन्छी र बोकाका बली दिएका आलो रगत लटपटिएको थियो ।

तर मलाई खुशी के कुरामा लाग्यो भने कालेको तुरुन्तै ज्यान जाने भएन । आमालाई त्यस्तो गराउनु ठूलो क्रान्ति जस्तो थियो । म बडो हर्षित थिएँ ।

हामी कालेलाई त्यही छाडेर सरासर माथितिर उक्लिन थाल्यौं, “ए देवी, यो अपराध नभएको पशुको रक्षा गरी पूरा आयु बाँचेपछि मात्र हर्नुहोला ।” मेरो मनोकामना थियो ।

तर “म्या, म्या” गर्दै कालेले हामीलाई पछ्याउँदै रहेछ । दुई-तीन पल्ट मैले उसको घाँटीमा समातेर मन्दिर तिरै धपाइदिएँ । तर ऊ फेरि पनि आमा भातिरै आउन थाल्यो ।

उसलाई छल गरेर छाड्न असफल भएकाले ऊ हामीसँगै माथि रोडमा आएर हरिया दुबो चर्न थाल्यो, “लौ न नि, छाडेको बोको फिर्ता लानुहुन्न अब के गर्ने ?” आमा केही विचलित हुनुभो ।

डोकोमा फूल अक्षता बेच्न बसेकी एउटी अधबैंसे महिला बोलिन्, “बरु यसलाई काटी नै दिएको भए बेस हुन्थ्यो, तपाईंहरूले यत्तिकै छाडे पनि यिनीहरूले पछि काट्छन् ।”

“उसो भए तपाईं नै लगेर पाल्नुस् न त,” मैले कुरा स्पष्ट राखें ।

उनी पन्छिन्, “मेरो घर यहाँबाट निकै टाढा पर्छ ।”

अलि माथि बुट्टे सारी चटक्क पारी लगाएकी चियापसल्नीलाई उही प्रस्ताव गर्दा उनी पनि पन्छिन्, “आबुइ, कुकुरहरूले टोकेर मारिदिहाल्छ नि !”

हामी तीनछक पर्यौं उसलाई सित्तैमा छाड्दा पनि राख्ने कोही भेटिएन त्यो दिन । प्रत्येकका आआफ्ना तर्क र बहाना थिए । उता काले मलाई जिस्कँदै हान्न थाल्यो । शायद ऊ फेरि हामी सँगसँगै लैजा भन्ने संकेत गर्दै थियो । जे भयो त्यो हामीले अनुमान नगरेको परिणाम भयो ।

आमा अझै मानिरहनुभएको थिएन, “पर्सेर छाडेको बोकोलाई घर लगे अनिष्ट हुन्छ ।” तर कालेको चाहाना त्यसको विपरीत थियो । त्यसैले मैले सर्प पनि मर्ने लट्ठी पनि नभाँचिने उपाय सुल्झाएँ ।

पक्कै उसलाई त्यहाँ नछाडी अर्कै मन्दिरमा छाड्ने जहाँ बली चढाउन पाइँदैन । त्यसैले उसलाई घण्टी बाँधेर छाडिदिएँ । शुरूमा आमाले विरोध गर्नुभएको थियो तर घर फिर्ता लानुभन्दा त्यसो गर्नु थोरै मात्रामा भए पनि बुद्धिमत्ता देखिएकाले उहाँ चूपचाप फर्कनुभयो ।

यो घटनापछि कमसेकम आमाले मेरो लागि भाकल गर्न छाड्नुभएको छ अचेल । त्यो देवीको इच्छा हो वा उहाँको बुझाइमा आएको फराकिलोपना । मलाई थाहा छैन नढाँटी भन्नुपर्दा ।