बाटाको छेउमा रसाएर ससानो खाल्टामा जम्मा हुँदै थिएँ र सोच्दै थिएँ— अलि ठूली हुन्छु, तल… खोलामा जान्छु । त्यहाँ म जस्ता थुप्रै साथी जम्मा भइरहेका छन् । मैले ऊ… पारि भीरबाट हामफाल्दै आइरहेकी झर्नालाई देखिरहेकी छु । त्यसैको दायाँतर्फका डाँडाको खोँचबाट पनि सानो खोलो उफ्रिंदै आइरहेको छ । कलकलकल… गुनगुनाउँदै पनि होला ! झर्नाको बायाँतर्फ अलि परको खोल्साबाट ठक्कर खाँदै आइरहेको छ खहरे । ऊ…, परको हिमालबाट हिउँ पग्लेर आइरहेको देखिन्छ । अहो…, कस्तो चिसो होला त्यो ? हाहाहा… ! खोलामा पुगेपछि नयाँ साथीहरूलाई भेटेर कति धेरै कुरा सुन्न र जान्न पाउँछु होला !

अचानक स्याँस्याँ र फ्याँफ्याँ गर्दै एउटा पथिक आयो, हतार–हतार घोप्टे पर्यो र चियायो । त्यसको मुखमा जमेको थुक, पहेँला दाँत देखेर तर्सें । उसले चनकचनक पारेर मलाई पेटमा पुर्यायो । त्यसपछि ऊ चङ्गा भएछ, गीत गुनगुनाउँदै हिंडेर एउटा खोल्सामा पुग्यो । त्यसको भित्री शरीरको मैलो पखाल्दा मेरो स्वरूपै पहेंलो र गनाउने भइसकेको थियो । पथिक, त्यो मान्छे ! जब म कञ्चन थिएँ, आँखै चिम्लेर चम्कायो ! त्यसको प्यास बुझाएर आन्द्रा र किड्नी सफा गर्दै मूत्रथैलीमा पुगेपछि त्यसका निम्ति शायद बेकामकी भइछु म ! मलाई त्याग्दा लाज होलाझैं मल्याकमुलुक गर्‍यो ! फेरि मलाई हेर्‍यो । घिन मानेजस्तो नाक खुम्च्यायो र आफ्नो बाटो लाग्यो ।

खोल्साको चिस्यानले मलाई अगाडि बढ्न सहयोग गर्‍यो । बाटामा कहींकतै खोल्सो रसाएर थोपाथोपा भेटिन्थे । तिनलाई पनि बटुल्दै अगाडि बग्दै रहें । मेरो पहेंलो रङ र त्यसको गन्ध हराउँदै गयो । थोपाथोपाले गर्दा पनि मेरो आकार बढेर कलकलकल गुनगुनाउँदै बग्ने भइसकेकी थिएँ । चर्को स्वरमा गीत गाउँदै ठूलै बाल्टी समाएकी महिला आई ! चेप्टो ढुङ्गामा बाल्टी घोप्ट्याई । थुप्रै कपडा ल्याएकी रहिछ । मलाई बाल्टीमा भरी र कपडा धुन थाली । निकै फोहोर थिए त्यसका कपडा ! कपडा धोएपछि उसको पनि नुहाउने पालो आएछ ! साबुन दलीदली नुहाई ! फोहोर र साबुनको फीँजले मेरो रूपरङ बदलियो । न आँखा हेर्न सकिरहेकी थिएँ न त केही सोच्न सकिरहेकी थिएँ । ओरालोमा छामछुम पार्दै अगाडि बढ्दा कहींकतै चिप्लिन पुग्थेँ । ढुङ्गाले पनि निकै हेप्थे मलाई ! रङ्ग न ढङ्गका ढुङ्गाहरू बीच बाटामा तेर्सिएका हुन्थे र भन्थे– म त देउता हुँ ! वरिपरि घुमेर जा ।

मलाई तल नाभिखोलामा पुग्न थुप्रै दिन लाग्यो । खोलाले मलाई फोहोरी देखेर मिसिन नै दिएन । छेउछेउ भएर बगिरहेकी थिएँ, खोलाको छालले धकेल्दै तान्दै गर्दा अलिअलि गरेर मिसिंदै थिएँ । मेरो त्यो मैलो रङ र पिसापको गन्ध लगभग हराइसकेको थियो । बिस्तारैबिस्तारै आफ्नो पीडा पनि बिर्सिंदै गइरहेकी थिएँ ।

खर्साङखुर्सुङ जङ्गलका स्याउला बजाउँदै निकै वेगसँग आयो बाघ र छेउमै मुख गाड्यो । म बिचरी त्यहीं त थिएँ, बाघको डरले आँखा चिम्लिएँ । उसले हतारहतार मलाई खायो, जङ्गलमा पस्यो र वनै थर्किने गरी गर्ज्यो । केही बेरपछि म त्यस बाघद्वारा पनि मूत्रको रूपमा त्यागिएँ । उस्तै गन्धले भरिएकी रङ्ग न ढङ्गकी ! ठूली भए त जता ओरालो छ त्यतै हामफाल्दै खोलामा पुगिहाल्थें । सानी भएकीले जो कोही हेप्थे मलाई । माटो भन्थ्यो– आऊ, अब अँगालामा बाँधिएर एक भइहाल्यौं ! अर्कोतिर रूखका जराहरू प्यास बुझाउन पाउने भयौं भनेर हाँस्न थाले । यत्तिकैमा आकाशबाट झरी बर्सियो । म त्यसैसँग टाँसिएर फेरि खोलामा पुगें ।

नाभिखोलाको दुवै तीरबाट झर्ना, धारा र ससाना खोल्साखाल्सी आएर मिसिइरहेका थिए । जसरी खोलो अगाडि बग्दै थियो त्यसरी नै आकार पनि बढ्दै गइरहेको रहेछ । नाभिखोलो बग्दै गएर छामघाटमा मिसिएको थियो । छामघाट ठूलै रहेछ, त्यसमा रङ्गीबिरङ्गी, भाँतिभाँतिका माछाहरू खेलिरहेका थिए । माछा खेल्दै आउँदा शुरूशुरूमा त मलाई काउकुती लाग्यो । हेर्दै जाँदा ती माछाको निर्दोषपन, पुच्छरले नाइँनाइँ गर्दै छलिने लुकामारी खेल, साँझको लालिमा र शीतल हावामा माथिमाथि उफ्रिने तिनको रहर ! त्यसले भ्यागुताको ट्यारट्यार… गर्ने झर्कोलाग्दो स्वर पनि बिर्सिएँ मैले ।

शायद ठूलै हुनका निम्ति होला, छामघाटले पनि वल्तिर पल्तिरका ससाना खोलाहरू बटुल्दै बगिरहेको थियो । बग्दैबग्दै त्यो नदीमा मिल्दो रहेछ । नदी समथल भूमिमा बगिरहेको थियो । त्यसलाई न ओरालो झर्नुपर्थ्यो न त कतै ठोक्किन्थ्यो । त्यसैले कुनै सोरगुल गर्दैनथ्यो र ज्ञानी जस्तो बिस्तारै बगिरहेको थियो । नदी पनि समुद्रमा मिल्दो रहेछ । अहो..! हातखुट्टा पसारेर सुतेजस्तो थियो समुद्र ! जता हेर्‍यो समुद्रै देखिन्थ्यो ! यति धेरै कि अब उसका निम्ति बग्नु वा भरिनुपर्ने कतै ठावैँ छैन जस्तो ! त्यसैले महादेव जस्तो सर्वव्यापी ठानेर तपस्याको निहुँमा सधैं सुतिराख्थ्यो ! कैयौं दिनसम्म त मैले पनि आँखा चिम्लें र ढलपलढलपल दायाँबायाँ हल्लिइरहें । बेलाबखत आहारा खोज्ने र खेल्ने क्रममा भाँतिभाँतिका प्राणीहरू वरपर गरेर हाम्रो एकाग्रता बिथोल्थे । त्यसबाहेक समुद्रमा मिसिएपछि लगभग दुःखको अन्त्य नै भएको थियो ।

एक दिन म समुद्रको सतहमा गएँ, त्यहाँको वातावरण र आकाश हेर्नलाई । समुद्र र आकाश मिलेर नीलिमय बनाएका थिए । समुद्रको छेउछाउमा पनि आकाशै टेकेजस्तो ! अहो…, त्यो साँझबिहानको बदलिंदो मौसमको आनन्द र सूर्यको रक्तिम किरणले चिप्लेटी खेलेको रोचक दृश्य ! त्यसको बयानै गर्न सक्दिन । माछालगायत अन्य जीवहरू समुद्रको सतहमा आएर त्यस ¾णलाई अविस्मरणीय बनाइरहेका देखिन्थे । कहिलेकाहीं बादलका टुक्राटुक्री पनि समुद्रलाई छोलान् झैं गरेर लुकामारी खेल्न थाल्थे ।

दिनमा सूर्य समुद्रसँग रिसाएजस्तो नजिकै आएर भएभरको तातो फ्याँक्दै दृष्टि गाड्थ्यो । म सोच्थें– जाडो भगाएर समुद्रलाई सहयोग गर्दै छ होला, तर मेरो अडकल गलत रहेछ । सूर्यको तातोले मलाई नै बाफ बनाएर उडाइदियो ! म झन् त्यही सूर्यतर्फ तानिंदै थिएँ । त्यसको नजिकै पुग्दा तातोले डढेर कालीकलौटी हुन्छु होला ? खरानी नै बनाइदिने हो कि ! डरले मेरो छटपटी बढ्दै थियो । हावाले मलाई जतिजति माथि लग्यो त्यति नै घामले पोल्नुपर्नेमा जाडो हुन थाल्यो ! आकाश पनि त्यति सफा थिएन, जति तलबाट हेर्दा देखिन्छ ! त्यहाँ त धूवाँधूलो व्याप्त थियो ! म पनि त्यही धूवाँधूलोमा मिसिएपछि बादलमा परिणत भएँ ।

आकाशमा निकै दुःख थियो ! चिसोले गह्रुँगो भएर तल आउँदा पहाडमा ठोक्किने हो कि ? ढुङ्गामा खसेर टाउको फुट्ने हो कि ? ढाड भाँचिने हो कि ? कुनै भीरमा खसेर ¾तवि¾त भइने हो कि ? आँधी–तुफानमा फसिने हो कि ? भन्ने डर लाग्थ्यो भने हल्का भएर माथि जाँदा आगोको डल्लो जस्तो सूर्यमा गएर पोलिइन्छ कि भन्ने डर ! डरैडरले कामिराख्थ्यो जीउ ।

कहिलेकाहीं आँधी–तुफानलाई के सन्का चढ्थ्यो खै ? बित्थामा वरपर दौडाएर, बादललाई जुझाएर जात्रै गराउँथ्यो । झिलिलिलि… बिजुली चम्कने र गड्याङगुडुङको स्वर आउने पनि हाम्रै टाउका जुधेर हो ! त्यो टाउकाको झनझनाहट हाम्रो मुटुसम्म पुग्थ्यो ! आँधी–तुफान भन्ने कुरा त नजाती नै रहेछ ! आकाशबाट हेर्दा समुद्रमा पनि ताण्डव मच्चाएको देखेकी छु मैले । कहिलेकाहीँ समुद्री आँधीले छाल उठाउँदै पहाड जस्तो बनाउँथ्यो र बस्तीमा पुगेर प्राणीहरूको बिचल्ली बनाइदिन्थ्यो ।

एक दिन वायुमण्डलमा निकै उथलपुथल शुरू भयो । चिसोले जमेर वरपर ठोक्किँदै तल झर्न थालियो । पृथ्वीको नजिक तापक्रम बढी हुँदो रहेछ, बादलको ढिक्काबाट पग्लेर असिनामा परिणत भइयो । असिनाबाट पनि पग्लिएर थोपाथोपामा परिणत भइयो । बत्तासिएर पृथ्वीमा खस्न लाग्दा लामालामा काँडा देखिए । मैले कुन पाप गरेकी रहेछु…, काँडामा पो खस्ने भएँ… ! डरले थरथरी काम्न थालें ।

काँडाहरू भने हात जोडेर भन्न थाले, “गङ्गे माता ! हजुरलाई स्वागत छ । हामीलाई जीवनदान दिनुस् आमा !” झारपात र जमिनका अन्य जीवहरू पनि खुसी मनाउन थाले । त्यो देखेर मेरो मनमा एकाएक माया पलायो । अहो…, म त जीवनदायिनी माता रे ! ममतामयी भएँ म ! एकछिन अघिसम्म काँडा भनेर डराइरहेकी म एकाएक तिनलाई आफ्ना सन्तान ठानेर मायास्वरूप बर्सिन थालेँ ।

“माता ! तपाईं जहाँ हिंड्नुहुन्छ त्यो सफा भइहाल्छ, मायास्वरूप जहाँ बर्सिनुहुन्छ त्यो हराभरा भइहाल्छ ।” जताततै मेरो गुनगान गुञ्जिन थाल्यो ।

साँच्चीकै मेरो स्पर्शले पातहरू बयली खेल्दै नाच्न थाले, चराहरू चिरबिरचिरबिर गाउन थाले । मेरो मायाले बोटबिरुवाहरूले टाउका उठाए, किसानहरूले बाली लगाए ।

यस खुसीले मलाई अतीततिर पुर्‍यायो, पथिकको पेटमा पस्दाको पीडा बिर्सेर उसको प्यास बुझ्दाको सन्तुष्टि सम्झेँ र सम्झेँ त्यस पथिकमा देखिएको उत्साह ! जङ्गलमा महिलाले फोहोर पखाल्दा उसको जीउमा आएको फूर्ति, मनको आनन्द र कपडाको चमक ! अनि जुन बाघलाई देखेर डरले आँखा चिम्लेकी थिएँ, शायद मलाई खाएपछि त्यस बाघको गर्जन बनेकी थिएँ म ! अँ चराको आहारा पनि बन्न पुगेकी थिएँ ! मलाई खाएपछि चरो भुर्र उडेर रूखको डालीमा गएर बस्यो र “कोहो कोहो ?” बास्न थाल्यो । यदि अहिले भए “म तेरी माता हुँ माता !” भन्थेँ हुँला ! तर त्यस बखत मलाई खाइदिन थाले भनेर रोइरहेकी थिएँ ।

आज मलाई लाग्दै छ– शायद म जीव र वनस्पतिहरूलाई जीवन दिन समुद्रबाट बाफ भएर आकाशमा पुगेकी थिएँ ! त्यहाँ अनेक हन्डर खाएर आकाशैभरि फिँजिएँ र सबैलाई आफ्नो माया पुर्‍याउन थोपाथोपा भएर जमिनमा झरेँ ! अब म ती काँडाहरूमा तिखारिएर र¾क बनेकी छु र फूलहरूमा पनि हाँसिरहेकी छु । अनि बास्नामा फैलिरहेकी छु । म ती जलथलमा भएका उड्ने, हिंड्ने, घस्रिने जीव र वनस्पतिहरूको शरीरमा सबैभन्दा ठूलो भाग ओगटेर बसिरहेकी छु । मलाई निको लाग्छ– प्राणीहरूलाई हँसाउँदा, नचाउँदा र हर्षित तुल्याउँदा, तर मलाई ननिको लाग्छ— कसैको आँसु बनेर पुछिनुपर्दा, कसैको आँसु बनेर खस्नुपर्दा !