“एक गिलास पानी देऊ त नानी !”

“पानी कि जाँड ?” उसले मतिर हेर्दै सोधी ।

“पानी नै देऊ न,” मैले रुमालले पसिना पुछ्दै भनें ।

उसले सेतो सिल्भरका लोटाभरि पानी ल्याएर दिई । मैले एकै सासमा लोटा रित्याएँ ।

त्यहाँ कोही जाँड पिइरहेका । कोही बिँडी तानिरहेका । कोही खाजा खाइरहेका । अलि पर्तिर गाईवस्तु चराउँदै केटाकेटीहरू खेलिरहेका र केही बूढापाका छेउमा लौरो राखेर रूखको फेदमा बात मारिरहेका ।

त्यस ठाउँलाई ‘आलडाँडा’ भन्छन् । वर्षायामको पानी जम्मा गरी वस्तुभाउलाई ख्वाउन वा अन्य प्रयोजनका लागि त्यो डाँडामा एउटा ठूलो आहाल खनिएकोले धेरै पहिलेदेखि नै त्यस ठाउँलाई ‘आलडाँडा’ भन्ने गरिएको हो । ती वरपीपल छहारीका छेउछउमा कुनै बाँसको टाटीले र कुनै ढुङ्गामाटाले बनाएका चार–पाँच वटा पसलहरू छन् । पहिले त एउटा पसल मात्र थियो । गोठमा गाईवस्तु, खोरमा थुप्रै खसीबाख्रा दिनभरि जङ्गल लखेटिन्थे । घाम डुब्न लागेपछि गोधूलिको रङ्गसँगै तिनीहरू कता–कताबाट टन्न अघाएर आफै गोठमा आउँथे र बेस्सरी उग्राउन थाल्थे ।

आलडाँडा सधैंजसो जुनसुकै समय अभ्यस्त ठाउँ हो । त्यहाँ कुनै बेला मान्छे टुट्दैनन् । चार–पाँच जोडी ठूला–ठूला वरपीपलका रूख, ठाउँ–ठाउँमा काठका फलैंचा । दोहोरीलता बटुवारेहरू एकैछिन भए पनि शीतल लिऊन् भनेर धर्म लुट्ने उद्देश्यले वरपर र अन्त पनि थुप्रै वरपीपलका रूखहरू रोपिएका छन् त्यहाँ । ती पर–पर फिंजारिएका वरपीपल पनि बटुवारेलाई शीतलता दिन निकै आतुर भएझैं देखिन्थे । सर्लङ्–सर्लङ् पातहरू हल्लाउँदै चिसो बतास छोड्थे । वर–पीपल चौतारीको केही मास्तिर बास बस्न आउने मान्छे पर्खिरहेका दुईटा पाटी ।

कोही टन्न भारी बोकेका, कोही झोलामात्र भिरेका दोहोरीलता बटुवारेहरूमध्ये कति त्यहाँ एकैछिन बिसाएर जान्थे । कति सरासर बाटो लाग्थे । बिसाउनेहरू कोही वरपीपलको शीतल छहारीमा थकान मात्र मेट्थे । कोही जाँड, पानी वा अन्य कुरा खान्थे । अलि तन्नेरी ठिटाहरू यसो जाँड वा पानी खाने निहुँमा त्यो युवतीसँग जिस्कन थाल्थे । कति त उसको झरिलो जोवान देखेर राल काढ्थे । युवती घरीघरी यसो उनीहरूतिर हेरेर थोरै मस्किदिने गर्थी । आखिर व्यापार हो । जसोतसो चलाउनै पर्‍यो । यी सब कुरा म त्यहाँ बसेर नियालिरहेको थिएँ ।

अहा ! कति रमाइलो र मनमोहक ठाउँ त्यो । पूर्वतिर रातमाटा, कोटगाउँ, बार्लाङ पश्चिमतिर बुइपा, बसेरी, जुरेथुम्का, खाम्तेल उत्तरतर्फ गैरी–चौतारा, खानीगाउँ, मेघेचौतारो दक्षिणतर्फ खामडाँडा, पोखरे, जामुने यी सबै ठाउँ देखिन्छन् त्यहाँबाट । पारि चारकिल्ला सिरानको त्यो लहरे पैंयुडाँडो पनि यतैतिर हेरेर ठिङ्ग उभिएको छ । त्यसैगरी आलडाँडाको पूर्वपट्टि ट्याम्के फेदी हुँदै साप्सुखोलो बग्दछ । पश्चिमपट्टि रूपाकोट फेदबाट झरेको दिखुवाखोलो । आलडाँडालाई माझमा पारेर पूर्व–पश्चिमतिरबाट बगेका ती दुईवटा नदी त्यहाँबाट अलि तल करिब बीस–पच्चीस मिनेट ओह्रालो झरेपछि एकै ठाउँमा मिसिन्छन् । जसलाई दोभान भनेर चिनिन्छ ।

अधिकांश खोटाङेहरूको मधेश–पहाड गर्ने त्यो बाटो, पुस्तौपुस्तादेखि दुःखलाई ढाकरमा बोकेर पुर्खाहरूले हिंडेको त्यो चौतारो मलाई जत्तिकै सबैलाई प्रियकर छ । त्यो आलडाँडासँग हाम्रो भावनात्मक सम्बन्ध छ । मनको गहिराइमा त्यहाँको माटोको सुगन्ध छ र ती वरपीपलका शीतल छहारी प्रत्येकका हृदयमा स्मृति बिम्ब बनेर बाँचिरहेका छन् र बाँचिरहने छन् सधैंभरि ।

आफू हिंडेडुलेका ती वारिपारिका दृश्यहरू हेर्दै म मुग्ध बनिरहेको थिएँ । साप्सु खोला छेउका ती सपाट खेत, हावाको सुस्त चालमा सुसाइरहने ती सल्लाका रूखहरू, ती भीरपाखा र उकाली ओह्रालीहरू त्यत्तिका वर्षपछि हेरेर कहाँ अघाइसक्नु थिए र मेरा लागि ।

दिखुवा दोभानमा खाना खाएर उकालो चढेको म दिउँसोको तातो घाम र ठाडो उकालोले त्यहाँ आइपुग्न निकै हम्मे–हम्मे पर्‍यो । घाम पारि जुरे थुम्कामा पुगिसकेका थिए । वारिपारि हेर्दै र सोचाइमा मग्न हुँदै निकै समय बितिसकेछ । थाहै भएन ।

धेरै समयपछि विशेष कामले म आफ्नो जन्मथलो खोटाङ हिंडेको । पारि सेरा–कात्तिके हो मेरो गाउँ । लामीडाँडासम्म प्लेनको सुविधा त थियो तर त्यति अनुकूल थिएन । पछि त खानडाँडामा पनि एयरपोर्ट बन्यो । प्लेन उड्यो । सदरमुकाम हुँदै गाउँगाउँसम्म बाटो पुग्यो । तर, त्यतिखेरसम्म पूर्वको कालिकोट भनेर चिनिन्थ्यो खोटाङ । त्यसैले मैले गाईघाट हुँदै खाँबु, अँधेरी, खयरबास, रसुवा, भँडारेघाट, दूधकोसी र साप्सुको गड्तीर हुँदै त्यो आलडाँडा भएर हिंड्ने पैदल बाटो नै रोजें । जुन बाटोसँग बिगतमा अनगिन्ती सम्झनाहरू जोडिएका थिए मेरा । गाईघाटबाट छिटो हिंड्नेलाई दुई दिन, मजस्ता ढिलो हिंड्नेलाई झण्डै तीन दिनै लाग्थ्यो घर पुग्न । गाईघाटबाट बाटो नखुल्दा बेल्टारबाट ढुङ्ग्रे, धाप्लाङटार, बेतालीको भीर हुँदै हिंड्ने गरिन्थ्यो ।

म भन्दा अघि पुस्तौंदेखि बेल्टारबाट ढाकरमा नून बोकेर कोसीको किनार हुँदै हिंडेका पुर्खाहरूका पदचिह्नहरू अझै छन् जस्तो लाग्छ । जवानीमा कति चोटि मधेस ओहोर–दोहोर गर्दा मैले पनि कोसीको गड्तीर हुँदै यो बाटो धेरै हिंडे । अहिले त्यो बाटो नहिंडेको त करीब बीस–बाइस वर्ष भैसक्यो होला । त्यो बाटोसँग जोडिएको मेरो पुरानो अतीतलाई ब्युँझाउन अहिले एक्लै भए पनि मैले त्यो बाटो हिंड्ने सुर कसें ।

अघिल्लो दिन रेग्मीटारमा बास बसेर भोलिपल्ट त्यो बेला म आलडाँडा आइपुगेको । बटुवारेहरू आउँथे जान्थे । यो क्रम उसैगरी चलिरहेको थियो । म भने निकै समय भो त्यो पसलमा बसेको । त्यो युवतीलाई आफ्नो कामले कहिल्यै फुर्सद भएन । कतिखेर फुर्सदिली हुन्छे र म केही कुरा सोधौँ भनेर पर्खिरहेको तर मौका मिल्न सकेको थिएन । दिन निकै ढल्किसकेको थियो । म भने भावनाको उतार–चढावमा अल्मलिएर त्यो ठाउँ छोड्न सकिरहेको थिइनँ ।

युवती निकै व्यस्त देखिन्थी । त्यो चैतको हुर्हुरे दिन । कहाँ–कहाँबाट धापिएर आउनेहरूलाई के के कुरा टक्य्राउँदै ऊ हरसमय चलायमान हुन्थी ।

“नानी, एक गिलास पानी देऊ न !”

“बैनी, एक बटुको राम्रो जाँड छान न !”

“के छ हौ बुइनी सञ्चै ?”

यस्तै कुराहरूमा व्यस्त भएर उसलाई दिन बितेको पत्तै हुँदैनथ्यो ।

अब भने दिन पूरै ढल्किसक्यो । घाम राता भएर पारि जुरेथुम्काबाट ओर्लिसके । घाम निस्तेज भएर अस्ताए पनि मेरा भावनाका तरङ्गहरू भने झन्–झन् जवान भएर एउटा अलग्गै रुमानी यात्रामा आरोहण गरिरहेका थिए । घर पुग्ने समय पर्याप्त थियो ।

तर, त्यहाँ आइपुगेदेखि करीब तीन घण्टा बसेर पनि मैले त्यो ठाउँ छाड्न सकिनँ । किन सकिनँ ? म आफैलाई थाहा छैन । बाहिरी संसारमा त्यो वन–वनेली, ती भीर–पहरा र पाखाहरू, वारि–पारिका ती गाउँ–बस्तीहरू, त्यो वरपीपल छहारी, मान्छे बस्ने ती फलैँचा र पाटी, दोहोरीलता मान्छेका ताँतीहरू आ–आफ्नै दुनियाँमा मग्न थिए । म भने त्यो बाहिरी संसारबाट अलग्गै थिएँ । मीठो भनौं कि नमीठो भनौं चाहेर पनि भुल्न नसक्ने एउटा विगत जुन मेरो जीवनबाट कहिल्यै अभिन्न हुन सक्ने थिएन । त्यतैतिर यात्रा गरिरहेको थिएँ ।

“नानी आज यतै बस्न परो ठाउँ छ ? गलेर लखतरान भएकाले यहाँभन्दा अघि जान सकिनँ ।”

“ठाउँ त छैन, साह्रै पर्नुभाको छ भने बस्नू न त ।”

मैले त्यही सोचेको थिएँ । अब ढुक्क भएँ । उसलाई मैले निकै कुरा सोध्नु थियो । दिउँसोभरि मान्छेको भीडले ऊ व्यस्त थिई । म भने आन्तरिक दुनियाँमै मग्न थिएँ ।

“के खानुहुन्छ ?” उसले सोधी ।

“गलिएको छ । खाना त खानै पर्‍यो । यसो मासुको पनि व्यवस्था गर है !”

“रक्सी पनि खानुहुन्छ कि ?”

“अलिकति खानुपर्ला ।”

म पाडोको सिकुटीसँग हल्का पिउन लागें ।

“तिम्रो नाम के हो नानी ?” मैले सोधें ।

“दिलमाया,” उसले बताई ।

“अरू परिवार को को छन् त ?”

“कोही छैनन् ।”

“आमा–बुबा ?”

“छैनन्,” उसले नमीठो अनुहार पारी ।

“त्यसो भए कसरी तिमी यहाँ बस्न थाल्यौ त ?” मैले पुनः प्रश्न गरें । उसले भन्न अप्ठ्यारो मानी ।

“भन न नानी ! अप्ठ्यारो मान्नुपर्दैन,” मैले आग्रह गरें ।

“म सानी हुँदा आमालाई ठूलो ज्वरोले टपक्कै लग्यो । बाको मैले पत्तो पाइनँ । आमा भन्नुहुन्थ्यो– तिमी गर्भमा छँदै बा परदेश जानुभएको, अझै आउनुभएको छैन । ‘कहिले आउनुहुन्छ त आमा, बा ?’ म सोध्थेँ । उहाँ एकदिन अवश्य आउनुहुन्छ भनेर मलाई आशा देखाउनुहुन्थ्यो । म बा आउने आशामा रमाउन थाल्थें ।” ऊ भन्दै थिई । म भने भित्रभित्रै द्रवित भइरहेको थिएँ ।

“आमा बितेपछि तिमी कोसँग बस्यौ त नानी ?”

“बजु हुनुहुन्थ्यो, ऊ त्यै परको पसलमा । उहाँले नै मलाई हुर्काइबढाई गर्नुभयो । उहाँ बितेको पनि तीन–चार वर्ष भइसक्यो । पछि बजुले भन्दा थाहा पाएँ– तेरी आमाको बिहे कोहीसँग भएको होइन । बाटो हिंड्ने एकजना मान्छे प्रायः यहीँ बस्ने गर्थ्यो । आमालाई साह्रै मन पराउँथ्यो । तेरी आमा पनि उसलाई माया गर्थी । पछि त्यसैको गर्भ बसेछ आमाको पेटमा । त्यसपछि त्यो मान्छे कहिल्यै आएन ।”

“अब त मेरा को छन् र !” उसले पर्लक्क आँसु झारी र उता फर्केर मजेत्राले पुछी । मेरा पनि आँसु थामिन सक्ने अवस्थामा थिएनन् । मैनबत्ती झैं मन पग्लिरहेको थियो तर उसका अगाडि आँसु झार्न मैले हुने थिएन । तसर्थ बलैले रोक्ने प्रयास गरिरहेको थिएँ ।

“यहाँ कति मान्छे आउँछन् । कोही भलाद्मी हुन्छन् । कोही एक्लै देखेर मनपरी बोल्छन्, जिस्क्याउन थाल्छन् । अब त यहाँ बस्न पनि गाह्रो भइसक्यो । के गर्नु बाँच्नलाई केही इलम गर्नै पर्‍यो । फेरि आमाले टेकेको यो माटो मलाई रत्तीभर छोड्ने मन छैन ।” ऊ भन्दै गई, “म एक्ली भएकाले कतिले यहाँ बास माग्छन् । छैन भनेर अनेक कुराले टार्छु । तर तपाईं निकै भलाद्मी लाग्यो । किन–किन मेरो बाउजस्तै लाग्यो । दिउँसोभरि त बोल्न पाइनँ । तपाईं बस्नु भो जाती भो । आजसम्म मैले कसैका सामु नखोलेका यी कुराहरू कसरी–कसरी फुत्किए ? मलाई नै थाहा छैन ।”

उसले खाना पस्केर दिई ।

“गफका सुरमा मीठो–नमीठो के कस्तो भयो, सन्तोक मानेर खानुहोला,” उसले भनी ।

“मीठो छ । तिमी पनि खाऊ ।”

ऊ पनि खान बसी ।

कुरा गर्दा र खाना खाँदा रात निकै गइसकेछ । त्यस्तै दश–साढे दश बजेको थियो होला । उसले मलाई ओछ्यान लाइदिई– गुन्द्रीमाथि एउटा पुरानो राडी, एउटा भुसको सिरानी र एउटा बर्को ।

“तपाईं अब सुत्नुहोला । रात निकै बितेछ । ब्यान चाँडै उठ्नुपर्छ धन्दापात निकै छ । म पनि सुत्न हिडें ।” ऊ दैलो लाएर अन्तै जान तयार भई ।

“मैले तिमीलाई दुःख दिएँ । तिमी यो राति कहाँ जान्छ्यौ ?” मैले जिज्ञासा राखें ।

“तीं पर एकजना छ्यामै हुनुहुन्छ । म सधैं तीं सुत्न जान्छु, एक्लै यहाँ डर लाग्छ । तपाईं ढुक्क भएर सुत्नोस् ।”

ऊ गई ।

म राति निकैबेर निदाइनँ । विगतको एउटा तीतो यथार्थले मलाई घोचिरह्यो । दिलमायाका प्रत्येक शब्दले भावविह्वल बनाइरह्यो । बाँसका टाटीबाट छिरेको सिरसिर हावाले पनि यो भतभती पोलेको मनलाई शान्त पार्न सकेन ।

रातको बेला वरपीपलको त्यो सिरसिर बतास कुनै बेला मेरो लागि कति सुखद् थियो तर त्यसले मलाई आज कति धेरै दुःखी तुल्यायो ।

अलिकति निदाएँ निदाइनँ पत्तो पाइनँ । एकैचोटि ‘कुखुरी काँ’ को आवाजले झसङ्ग भएँ । भालेको डाँकसँगै दिलमाया दैलो उघारेर भित्र पसी । टुकी सल्काई । आगो जोरेर चियाको कित्ली बसाई ।

म पनि अब बाटो लाग्ने विचार गरेर जुरुक्क उठें र भनें– “नानी ! अब म जान्छु ।”

“चिया खाएर जानुस्, अब कहिले फिर्नुहुन्छ ?” उसले अगेनातिर हेरेर सोधी ।

“ठेगान छैन, कहिले फिर्छु, कताबाट फिर्छु, सायद लामीडाँडाबाट फिर्छु होला,” मैले भनें ।

“पैसा कति भो नानी ?” सोधें ।

“पर्दैन पैसा,” उसले जवाफ फर्काई ।

“किन पर्दैन ? तिमी यसैगरी बटुवारेलाई खुवाएर सक्छ्यौ ?”

“त्यसो त होइन । तर, तपाईंसँग लिन मन लागेन ।”

मैले उसलाई हेरिरहें । उसले मतिर पुलुक्क हेरी र अन्तैतिर फर्की । यो कस्तो सम्बन्ध हो ? म सोचमग्न भएँ । आँखाबाट आँसु झर्न खोज्दै थिए । बलजफ्ती दबाएर राखें । पैसा जबर्जस्ती दिऊँ या छोडिदिऊँ भने पनि उसको आत्म–सम्मानमा चोट पर्ला । म अप्ठेरोमा परें ।

यो कस्ती केटी हो ? यसको भद्रता र व्यवहारलाई मैले नाप्न सकिनँ । तल कञ्चन भएर बग्ने दिखुवाखोला जस्तै निर्मल थिई ऊ ।उसकी आमा ठ्याक्कै यस्तै थिई ।

“साँच्चै कति पवित्र र इमानी हुन्छन् हँ केही मान्छेहरू ?”

यो बेइमानी दुनियाँमा त्यो महानताको छेउसम्म पनि म पुग्न सकिनँ ।

दिलमाया मतिर हेरिरहेकी थिई । मैले उसको नजरमा आँखा जुधाउन सकिनँ ।

“म अपराधी हूँ । अधर्मी हूँ ।” मलाई अपराधबोधले कता–कता थिचेजस्तो लाग्यो ।

सानो टेबलमाथि टुकी बलिरहेको थियो । बाहिरको रिमरिम उज्यालोले बिहानी डाक्दै थियो ।

“म जान्छु नानी अब ।”

“हुन्छ,” उसले मतिर मायालु नजरले हेरी ।

मैले झोला र लौरो टिपें अनि गह्रुँगो मन लिएर बाटो लागें ।

माथि गैरी चौतारामुनिको डिलबाट फर्केर हेर्दा आलडाँडाका ती लहरै उभिएका वरपीपलजस्तै शान्त, सौम्य, अविचल र उदार दिल भएकी त्यो दिलकी धनी दिलमाया मैतिर हेरिरहेकी थिई ।

तल साप्सुखोलो उसै गरी बगिरहेको थियो ।

 (‘म पनि बग्दैछु साप्सु’ कथासंग्रहबाट)