मीनपचासको बिदा सकिएर कलेज भर्खरै मात्र खुलेको थियो, पढाइको सिलसिला उति राम्रो बसिसकेको थिएन । सिंहबहादुर र गङ्गाप्रसाद, बडा हित्तचित्त मिलेका साथी, कलेजको पूर्वपट्टिको कौसीमा घाम तापेर बसिरहेका थिए । तल गहिरी खेतमा फाँटभरि बकुलासिमी लहलह भएर झुलिरहेको । एउटी बूढी- शायद ज्यापुनी – आलीबाट राम्रोराम्रो घाँस उखेलेर भेडीलाई खुवाइरहेकी, बायाँ हातले त्यसको आँग स्नेहभरी स्पर्शले सुमसुमाइरहेकी थिई ।
“हेर न त्यो बूढीले भेडालाई, अघिदेखि नै-म हेरिरहेछु, कस्तो माया गरेर घाँस खुवाइरहेकी,” गङ्गाप्रसादले भने, “मानौं आफ्नै छोरो हो कि जस्तो ।”
“भेडी होली त्यसैका सन्तान बेचेर उसले आफ्नो घोडेजात्रा मान्नुपर्ने होला, पतासी किन्नुपर्ने होला ।” सिंहबहादुरले चश्माको फ्रेम मिलाउँदै भने, “बिलकुल स्वार्थ केही नभएको बेकामको कुकुरलाई त मानिसहरू कस्तो माया गर्छन् भने त्यसमा त स्वार्थ छ अनि त्यसैले माया गराउँछ ।”
गङ्गाप्रसादले तर्क गरे, “के कुकुरसित मानिसको केही स्वार्थ छैन र ? त्यसले हाम्रो कुनै उपकार गर्दैन र ?”
प्रत्युत्तरमा सिंहबहादुरले पनि भने, “हो, ठूलाठूला बहादुर शिकारी कुकुरहरूबाट मनुष्यले लाभ उठाउलान् सही, तर ती सानासाना, राम्रा, काखमा बस्ने, म्वाइँ खाने कुकुरबाट के फाइदा छ – सिवाय हानि ?”
“कुकुरलाई पनि कसैले काखमा बसाउँछ, म्वाइँ खान्छ ! के कुरा गर्छौ
तिमी !”
“यसबाट यही बुझिन्छ, तिमी त्यो समाजभित्र पस्नै पाएका रहेनछौ । तिमीले त्यस्ता कुनै दृश्य देख्नै पाएका रहेनछौ ।”
“हो, मलाई पनि थाहा छ।”
“काखमा सुताउने मात्र कुरा ? म तिमीलाई कुकुरविषयक एउटा बडो राम्रो घटनात्मक कहानी सुनाउँछु, लौ सुन ।”
यति भनेर सिंहबहादुरले कहानीको आरम्भ गरे-
“यही काठमाडौं शहरको एउटा टोलमा कुनै ठकुरीकी छोरीले (टोल र उनको नाम किन भनूँ) सत्रअठार वर्षको उमेरमा आफ्ना मामाकहाँ जन्मेको कुकुरको बच्चा आँखासमेत नउघ्रँदैदेखि ल्याएर दूधदानीमा दूध चुसाई पालेकी थिइन् । त्यसै वर्ष तिनको विवाह पनि एउटा मेजर्नेलसित भयो- दोस्रो पटककोमा । उनी बडा खानदान धनवान् थिए । तिमीहामी जस्तालाई त नोकर राख्न सक्ने ।”
“हो, हो, ल, मैले मानिस चिह्नें ।” गङ्गाप्रसादले बुजुग भएर अडकल काटे । वास्तविक मानिसलाई त चिनेका थिए कि थिएनन् उनै जानुन् ।
यद्यपि ती जर्नेललाई कुकुरको उस्तो सोख थिएन तापनि आफ्नी कान्छी स्वास्नीको त्यस्तो कण्ठप्यारो भएको हुनाले डाइमण्डलाई उनले पनि बाहिरी लोकाचारी माया देखाएकै थिए ।
“रानीसाहेब अलि मापाकी पनि, मानिस हात लिन सिपालु पनि भएकीले चाँडै नै उनले आफ्ना लोग्नेलाई मुठीमा पारिहालिन् । घरको सारा खटनपटन, हालहुकुम उनकै हातमा भयो । जर्नेलसाहेबलाई चाहिं तिनले जे गरे पनि जे भने पनि राम्रै लाग्ने हुन थाल्यो ।
“डाइमण्ड डेढ बित्ता अग्लो, कैला रौं भएको, नेप्टो नाक, मापाको, बिना- कसूरमा पनि गएर अपरिचित जनको पछाडि पिंडौला ङ्याक्कै पारिदिन्थ्यो । त्यसरी मानिसलाई टोकेपछि त्यसलाई हप्काउनुपर्छ नि, होइन, उल्टो त्यही टोकिने मानिसले रानीसाहेबको मुखको झम्टाइ पाउँथ्यो- “हेर न बुद्धि ? डाइमण्ड छ भन्ने थाहा छैन ? झुमझुम्ती अगाडि उभिन आउने । त्यस्तै हुन्छ तँलाई !”
“जो उनका घरमा जान्थे उनका दयापात्र, आशामुखी नै हुन्थे । अतः उनी त्यसरी रिसाएकोमा डराएर, निहुरेर, लुरुक्क परेर फर्कन्थे ।”
“डाइमण्ड, उठ्नेबित्तिकै आफ्ना मालिकको साथ चिया र बिस्कुट खान्थ्यो, दिउँसो खाजा चार आनाको जिलेबी, स्वारी ! बिहान र बेलुकाचाहिं मासु र भात । एकादशी, औंसी जस्ता पर्वमा समेत अघिल्लै दिनकै मासु जगेडा रहन्थ्यो । हरेक शनैश्चरबार कुखुराको चल्ला लगेर त्यसको अगाडि छोडिइन्थ्यो । रानीसाहेब ‘पक्रीपक्री’ भनेर कराउँथिन् । त्यो त्यस चल्लालाई समातेर ‘च्याँच्याँ’ पारेर मारेर खान्थ्यो ।
कोठाको छेउमा सानो पलङ, बर्खामा झूल, हिउँदमा सिरक, रुइदारी डेक त्यसको निम्ति प्रतिवर्ष सियाइन्थ्यो । तर प्रायशः त्यो उनकै साथमा सुत्थ्यो । चाँदीको कल्ली र रक्षामाला लाएर जब बरण्डामा त्यो उनको अघिपछि लागेर दगुर्थ्यो उनका धाईसुसारेहरू सब त्यसलाई ‘आऊआऊ, आऊआऊ’ भनेर हात दिन्थे मानो छआठ महीनाको बालकलाई आफ्नो काखमा बोलाएका छन् ।
“होइन गङ्गा, तिमी सुन्दै छौ कि अन्यमनस्क भयौ ?”
“म सुन्दै छु, खूब चाखलाग्दो भएर आइरहेछ ।”
हावा सिररर-सिररर बह्यो, सल्लाका पातहरू सुसाए । घण्टाघरले एकको क्वार्टर हान्यो ।
“एक पटक त्यो कुकुर बिरामी भइदियो । रानीसाहेबको दिल पनि आकुल- व्याकुल भयो । उनले ज्योतिषीलाई डाकेर त्यसको ग्रहगति हेराइन् । शान्तिको निम्ति दानप्रदान र गुह्येश्वरीमा चण्डी पाठ गराइयो । डाक्टर प्रत्येक दिन आउँथे । औषधोपचारको प्रबन्धमा कुनै त्रुटि थिएन । त्यो बिरामी भएसम्म घरका सुसारेहरूमध्ये सबले पालैपालोसित जाग्राम बसेर त्यसको रेखदेख गर्नुपर्ने नियम बँधाइयो ।
“सौभाग्यवश, त्यसलाई बिसेक हुँदैहुँदै आयो र अन्त्यमा राम्रै निको भयो । डाक्टरले फीसबाहेक सय रुपियाँ बकस पनि पाए । त्यो निको भएको खुशियालीमा घरभरिका जहानलाई एउटा खसी ल्याएर भोज खुवाइएको थियो । सबले डाइमण्डको जय मनाए ।
“अब टीकाको दिनको कुरा, अभिषेक लिएर, आफ्ना लोग्नेको हातको थापेर, जब उनी दशैंकोठाबाट बाहिर निस्किन्थिन् नोकरचाकरहरू उनको हातबाट टीका पाउनलाई बाहिर एकत्रित भइरहेका हुन्थे । रानीसाहेब सबैभन्दा पहिले डाइमण्डलाई टीका, जमराको माला लगाइदिन्थिन्, त्यसपछि मात्र अरूहरूले टीका पाउँथे ।
जनै पूर्णिमामा फेरि आर्कै तमाशा हुन्थ्यो- जर्नेल र रानी दुइटा चकटीमा भारादारी ठाँटले बसेका, डाइमण्ड उनको काखमा रहन्थ्यो । बाहिरिया ब्राह्मणहरू रक्षा बाँध्दै जाँदै गर्दथे । जब आफ्नै गोठका बाजे डोरो हातमा लिएर अगाडि उभिन्थे रानीसाहेब आफूलाई डोरो बाँधिसक्नासाथ भन्थिन्- ‘लौ बूढा बाजे, मेरो डाइमण्डलाई पनि डोरो बाँधिदेऊ ।’ उनी त्यसको दायाँ खुट्टा अगाडि सारिदिन्थिन् ।
गोठका बाजे मन्त्र गुनगुनाएर डोरो बाँधिदिन्थे । दक्षिणा उत्ति नै मिल्दथ्यो, जति उनीबाट पाएका हुन्थे- ठ्याक्कै एक मोहर ।
“दक्षिणा पनि दोब्बर पाइने, फेरि सब हर्ताकर्ता भएकी मालिक्नी रिझिने
पनि भएकोले भान्साका, पूजाकोठाका बाजेहरू पनि रानीसाहेबलाई डोरो बाँधिसक्नासाथ डाइमण्डसित सोध्दथे मानो त्यो डेढदुई वर्षको बालक हो- ‘म पनि रक्षा बाँधूँ कि डाइमण्ड बाबुलाई ?’
‘डाइमण्ड, काजी रक्षा बाँध्ने ?’ रानीसाहेब त्यसको वारिस भएर बोल्थिन् ।
‘हो बाँध्ने भन न । ख्वै हात ले, लौ बाँध ।’ अनि ती बाजेहरू पनि रक्षा बाँधेर आफूलाई कृतार्थ सम्झन्थे ।
रक्षाबन्धनको काम समाप्त भएको एकडेढ घण्टैभित्र त्यो खुट्टाका रक्षालाई दाँतले टोकीटोकी फुकाउँथ्यो र रानीसाहेबको अगाडि लगेर राखिन्थ्यिो । उनी आफ्नो डाइमण्डले केके न पौरख गयो भने जस्तो ठानेर भन्थिन्- “लौ हेरः आजै रक्षा चुँडालेको ? गाईतिहारमा गाईको पुच्छरमा अब के बाँध्ने । लौ धाई, यो लगेर राखिदेऊ ।” धाई पनि त्यो चुँडेको रक्षालाई आफ्नै कन्तुरको ताशको थैलीभित्र जतनले राख्थी- गाईतिहारमा गाईको पुच्छरमा बाँध्नलाई खोजिबक्सन्छ भनेर ।”
“होइन सिंह, काल्पनिक कुरा गर्छौ कि सत्य घटना ? मलाई त अलि विश्वास नलाग्ने जस्तो भयो ।”
“ध्रुवसत्य, खास मेरै दाजुले देख्नुभएको कुरा । उहाँ त मास्टर, दिनका
दिन जानुपर्ने ।”
“अँ अनि ।”
“अनि, प्रत्येक दिनका सानातिना कुरा त कति हुन् कति ।”
“उनको कोठामा (जसलाई उनीहरू खोपी भन्थे) कोठाबाट बाहिर निस्कना- साथको लामो बरण्डामा डाइमण्ड भिन्नभिन्न पोजमा बसेको फोटोहरू सुनौला फ्रेममा टाँगिएका हुन्थे । फेरि उनकै आफ्नो फोटोमा पनि धेरैजसोमा डाइमण्ड साथमा रहेको हुन्थ्यो ।
“पञ्चकमा कुकुरपूजा हुन्छ नि, त्यस दिन डाइमण्डको पूजा यस्तो भड्किलो किसिमले हुन्थ्यो, तिम्राहाम्रा दिदबिहिनीले त्यस्तो प्रकारको पूजा आफ्ना सहोदर दाजुभाइलाई पर्यन्त गर्न समर्थ हुँदैनन् । डाइमण्डले यमराजलाई भनेर उनलाई नरकको द्वारसमेत देख्नु नपर्ने गरेर स्वर्गमा पुऱ्याइदिन्छ रे ।
“जर्नेल मानिस समझदार थिए । उनलाई आफ्नी स्वास्नीले त्यस्तो बढ्ता गरेको कत्ति मन परेको थिएन । किन्तु मुखले केही बोल्दैनथे । बरु कहिलेकाहीँ कुनैकुनै काममा समर्थन गरेझैं नै गर्थे ।”
“ओहो ! तिमीले त सिंह, लामो कहानी पो सुनायौ । तर रमाइलो ।”
“अब छोट्याएर सकिदिन्छु ।”
“पछि एकदिन, के भयो सुन न :
जेठको महीना, आइतबार, दिउँसोको कबाज भएको हुनाले भात (जसलाई उनीहरू भुजा भन्थे) खाएर जर्नेल र रानी सुतिरहेका थिए । डाइमण्ड चाहिं कहिले खलङ्गातिर जाने, कहिले पोटीतिर, कहिले फनफनी घुम्ने, कहिले एक्लै पनि ङ्यारङ्यार गर्न थाल्थ्यो । सुसारेहरूले हेरे त्यसको पुच्छर पनि लत्रेको, मण्टो पनि निहुरेको, थुतुनोबाट अलिअलि र्याल पनि चुहिएको । उनीहरूले ठाने यो पक्का बहुलायो । सबले टाढाटाढा भएर आफ्नाआफ्ना ज्यान जोगाएका थिए । “डाइमण्ड बहुलायो” भन्न जाऊँ के पर्ने हो, कसो पर्ने हो, कसैले आँट गर्न सकेका थिएनन् ।
यत्तिकैमा जर्नेल उठेर बाथरुमतिर जान लागेका थिए, उनले डाइमण्डलाई विलक्षणसित हिंडेको देखे, नियालेर हेरे, उनलाई शङ्का लाग्यो र त्यतैबाट कराए- “ए पोक्ची, तिम्रो डाइमण्ड त बहुलाएको जस्तो छ है ।” उनले आफ्नी स्वास्नीलाई प्यारो नाम ‘पोक्ची’ राखेका थिए ।
बिछौनामा भर्खर निद्राबाट बिउँझेर आलस्यले पल्टिरहेकी रानीसाहेबले त्यो वाक्य सुनिन् । सुन्नासाथ पलङबाट एकैचोटि फालहालेर – ‘केको हुन्थ्यो, केको हुन्थ्यो, बिचरालाई पनि यसै…!’ भन्दै डाइमण्ड भएकै ठाउँमा आइपुगिन् र त्यसलाई बोकेर आफ्नो कोठातिर लगिन् । कोठामा पुगेर बसेकी मात्र थिइन्, त्यसले उनको पाखुरामा ड्याक्कै पारेर टोकिदियो ।
हुन त अघिपछि पनि खेल्दा जिस्कँदाखेरि बराबर टोक्थ्यो, तर त्यो टोकाइमा आफैँ छाँट हुन्थ्यो, यसमा आर्कै, उत्तिखेरै भलभल रगत चुहिहाल्यो । “टोक्यो टोक्यो” भन्ने खलबल हुन थाल्यो । बाथरूमबाट जरर्नेसाहेब तुरुन्त तड्केर बाहिर निस्के, गएर कोठामा हेर्छन् ता स्वास्नी दायाँ हातले डाइमण्डलाई समातिरहेकी, बायाँ पाखुराबाट रगतको धारा बहाइरहेकी । त्यो पाजी कुकुरलाई अति फुर्काएर पालेको उनलाई कत्ति चित्त बुझेको थिएन, झन् त्यसरी टोकिदिंदाखेरि समेत रिसले रन्थनिए । बरण्डामा आएर आफैँले कराएर बोलाउन थाले- ‘दोर्जे । दोर्जे !’
“दोर्जे, एउटा मगर, बडो कसिएको पहलमान जस्तो थियो जो हमेशा ढोकामै हुन्थ्यो । जर्नेलेसाहेबले आफैँले त्यसरी बोलाएको सुन्नासाथ ऊ एकै सासमा माथि नै आइपुग्यो । उनले त्यो कुकुरलाई बाहिर लैजाने अडर दिए ।
दोर्जेले त्यसको घोक्रोमा कक्रक्क समातेर घिच्यायो तैपनि रानीसाहेब ‘नाइँ, नाइँ, मेरो डाइमण्ड,’ भन्न थालिन् ।
जर्नेलले आश्वासन दिएर भने, ‘पशु औषधालयमा औषधि गर्न लैजाने पो यसलाई ।’
रानी रुन थालिन् – टोक्यो, घाउ भयो, दुख्यो भन्ने पीरले होइन, डाइमण्डसित बिछोड भयो भन्ने वेदनाले ।
जर्नेलले कोठाबाट बाहिर निस्केर दोर्जेलाई सानो स्वरमा भने- ‘तबेलापछाडि लगेर च्यामेलाई लगाएर मार्नू यसलाई ।’
“हुन त बहुला कुकुरले टोकेको औषधि नेपालमै पनि हुन्थ्यो । लक्ष्मीको चञ्चलता त्यसको पर्सिपल्टै बिहान उनीहरू विदेशतिर रवाना भए । जेठको धूप !
“रेल चलिरहेको थियो रे । आधारातमा रानीसाहेबले आफ्ना लोग्नेसित सोधिन् रे – “हैन, हजुर, मेरो डाइमण्डलाई निको होला ? ऊ फेरि सद्दे होला ?”
जर्नेलले पेटभित्रको रिस र हाँसो भित्रै दबाएर भने रे- ‘किन नहुनु ? सके ऐले नै कति बिसेक भैसक्यो होला ।’
“साँच्ची नै सिंहबहादुर, तिमीले त गजबको कहानी नै पो सुनायौ ।” गङ्गाप्रसादले सुन्दासुन्दा चाखको साथसाथै अलि पट्यार पनि लागेको जस्तो छाँटमा भने । “हेर न त्यो बूढी पनि भेडीलाई चराउँदैचराउँदै तीन आलीपर पुगिसकी ।”
सिंहबहादुरले पनि त्यतैतिर हेरेर भने- “नभन्दै हगि ?”
(‘भीमनिधि तिवारीका प्रतिनिधि कथाहरू’ बाट)
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।