(१)

“छेका-त्यसको निमित्त छेका हुन्छ, जो उड्न सक्तैन ।”

अजर (उच्च कक्षाको एक व्यक्तिको नाउँको अघिल्लो शब्द) को यो भावपूर्ण उक्ति उसको आशमा परेकी सिनामन (मामुली भोटेकी छोरी) को कर्णकुहरसम्म प्रवेश गर्यो, मनमा भिज्न सकेन । सेतो कोमल पुष्ट हातका सुराहीमा बान्की परेका दुई बूढिऔंलाका नङको परस्परको प्रयत्नले पैदा गरेका गुलाफी प्रवाहको भाटा हेर्न लागेको कमलनयन लज्जा र प्रेमको छालमा लकपकाउँदै बिस्तारै बिस्तारै माथि पल्टेर आफ्नो जोडाकहाँ पुग्यो, तर त्यहाँ धेरैबेर टिक्न सकेन ।

जस्तो सहसा नदेखिने बाह्य वस्तुलाई परिश्रम गरिहेर्दा यो शारीरिक दूरबिनबाट हामी उज्यालो हटाउनलाई त्यसलाई संकीर्ण पार्छौं, उही कर्म मनले केही कुरो ग्रहण गर्न असमर्थ हुँदा पनि, मानूँ मनभित्र त्यो दूरबिनलाई फर्काउनु परेझैं हामी गर्दछौं । उसैले सिनामनका दुई घन आँखीभौं नजिक सर्दै-सर्दै निधारमा हल्का चाउरी बनाउँदै जोडिन थाले, झुसिलो निधारैले पहिले नै जोडिएका भए कहिले यी जोडिंदैनन्, न ठाडा धर्सामा कुनै जोल्टाइ देखिन्छ तापनि अत्युक्तिको दोषभागी नभई हामी भन्दछौं – दुवैलाई भन्न सक्तछौं, गाँठो पर्यो । मनभित्र पनि ।

छेकाले पिंजडालाई उब्जायो, उड्नुले चरो खडा गर्यो । बिना ढोका खोली चरो पिंजडाबाट कसरी उड्न सक्छ ? यहाँ छेकाको लाक्षणिक अर्थ: मानव निर्मित प्रथा, सामाजिक रीतिथिती हो, उडाइ, परेको होइन मनको ख्यालको, आदर्शको भन्ने उसलाई घुसेन ।

अजरको भोको आँखो सिनामनको कानपछाडिका चुल्ठोसँग विद्रोह गरी फुत्की घुँगुरिएका छोटा रौंका मुद्रामा जमेको थियो । यसको मनमा जातिसम्बन्धी भावनालाई यति कडासँग उद्दीपन गर्ने ती मुन्द्रामा के छ ? उसलाई मात्र यसो भएको हो कि सबैलाई हुन्छ । सिनामनको विफलता देखेर उसले राम्रोसँग सम्झाइ बुझाइ दियो ।

अन्त्यमा सिनामनको हात आफ्नो खोकिलामा हालेर उसले भन्यो, “सिनी ! मेरो उमेर कच्चा छ, उसैले बुद्धि पनि कच्चै होला भन्ने तेरो मनमा लाग्नु अचम्म होइन । तर काँचो हलुवाबेत जस्तै मानिस विद्यामा गुम्सिएर उमेरले भन्दा चाँडो पाको हुनसक्छ । यो मेरो सोची विचारी बढाएको पाइलो हो । तँलाई हात लागी गरेको करिब वर्षदिन भयो, उसैले म अन्धो छैन । परमेश्वरको अगाडि हामी जे भइसक्यौं आम दुनियाँको अगाडि त्यही हुन तँ गर्हुँकाउँछेस् । अरू जस्तो भए कहिले मेरो पन्छिने, तेरो झुण्डिने बेला छ । मेरो प्रेमले पूरा सच्चाइ देखाई म अँगाल्न खोज्छु, झन् प्रकृतिको लहड- तँ अनेक शंका झिक्छेस् । तैले भनेको पनि एक हिसाबले ठिक्कै होः अहिले तँ फुका छेस्, परमेश्वरको नजरको गुणै त्यही हो, दुनियाँको दृष्टिमा बन्धन छ, पछि बन्धनमा पर्छेस् । त्यो बन्धन  बन्धन हुने थिएन, यदि मलाई मात्र होइन मेरो मनलाई पनि तैंले पत्यार गरे । हनुमान्को शक्ति ममा भए, यो छाती चिरेर देखाउँथें, तँमा शक्ति भए त्यहाँ गहिरिएर अगाडिको आफ्नो मूर्ति देख्थिस् । अब यो मूर्ति उखेल्दा मेरो प्राण नखुस्की छोड्दैन ।

कैयन् किरिया हालें, तेरो किरियामा पत्यार छ तर धेरै जनाले किरिया खाएको देखी त्यो पत्यार फिका हुँदै जान्छ, बराबर रङ्ग चढाउनु पदर्छ ।… बूढी भएर खस्केपछि वा दुर्घटना परी केही खून भयो भने म तँलाई छाड्छु भन्ने कुरा, खै के भनूँ । गाढा नीलो चश्मा लाएको ईश्वरका कानमा नपरोस् । रुपौलो कपाल भएको तेरो यही हाल थामी कालो लामो कोट लाएको ढकमक्क फुलेको यहाँसम्मको दाह्री भएको मैले तेरो आँखा बनी तँलाई डोऱ्याई हिंडेको तस्वीर म गौरवसाथ हेर्न सक्तछु । म मरें भने, म बहुलाएँ भने तँलाई छाडुँलाः त्यसको मात्र म जिम्मवार छैन ।”

सिनामनले यस्ता फूलजडी कुरा राम्ररी नबुझे पनि धेरै पटक रद्द परी सुनिसकेकी थिई । अजरले बिहे नगरी उसलाई धर्मपत्नीको ठाउँमा खुल्लमखुल्ला राख्ने कुरा उसलाई पहिले यस्तो असम्भव लागेको थियो कि ऊ केही गरे पनि पत्याउन सक्तिनथी ।

उसले केटाकेटीमा सुनेकी एकादेशको राजाकी कान्छी रानी सबभन्दा प्यारी हुनाले अरू सौताले नभएका कुरा लगाई राजाले आफ्नी कान्छी रानीलाई जङ्गलमा छोडेर आउनू भनी अह्राएको कथाको स्मरणले उसलाई त्यो हैसियतलाई धरहराको टुप्पो सम्झन सिकाएको थियो । फेरि जुनेली रातमा आफ्ना प्राण प्यारासित जिस्किन लागेको नवयुवतीका चन्द्रमा प्रतिबिम्बित भएका रसिला ओठ र दाँतमा खेल्दै निस्कने बोली: “लोग्ने मानिसको जात बेइमान हुन्छ” उसले सुनेकी थिई ।

उसमाथि पनि प्रकाश तः उसको खैरवाही चाहने, तर वास्तवमा उसको बढिबढाउ भएको देख्न नसक्ने दिदी-बहिनीले असर जस्ताले बेइमान गरेको धेरैजनाका रामकहानीले उसको कान भरेका थिए । तर सिनामनको हृदय ठानिएको मगजमा जो रुखासुखा अपरिष्कृत प्रेम दिने सामर्थ्य थियो, त्यो सबै अजरको भइसकेको थियो र त्यसबाट पैदा भएको पूरा विश्वास उसमा थियो ।

फलतः अजरलाई छोड्न सक्तिनथी । रानी भई रजाइँमा जमाएर होइन, सुसारे भई सुसार गरी, पुरा खाई, पुच्छर भई, जीवनमा व्यतीत गर्ने उसको आग्रह थियो । उसैले अँगालो हाली गर्दनमा झुण्डिनुभन्दा खुट्टामा छाँद हाली लम्पसार पर्नु निको मान्दथी ।

तर अजरको रसिलो वचन एकनाससँग तपतप चुहिई सिनामनको पत्थरिलो सङ्कल्प अलिअलि गरेर खोपिल्टो पार्न लाग्यो । अनि त्यो पत्थरिलो सङ्कल्पको नयनागोचर परिमाण जो खोपिल्टो पार्नलाई निक्लन्थ्यो । सिनामनको ममता र अहंकार बनी आस्तेआस्ते जम्न थाल्यो । जे होओस् तिनीहरूको अस्तित्वको पत्ता अहिलेसम्म सिनामनलाई पनि थिएन । तिनीहरू प्रकट भई अरूले थाहा पाउनु त परै रहोस् ।

अहिले अजरको कुरा सुन्दा पहिले त सिनामनको मन पिंजडा र चरैमा थियो । त्यसपछि कहिले नआएको नयाँ विचार उसको मनमा उठ्योः सजिलोसँग अजरले भनेको कुरा मन्जुर गरे उसको (सिनामनको) महत्त्व कम हुन्छ, मानु समुद्रको पींधमा जानुपरेकोले नै मुगाभन्दा मोतीको मूल्य बढेको हो भन्ने उसले सुनेकी थिई ।

खूनको कुरा उठ्नासाथ उसले पिनासको नाक झरी त्यसको ठूला प्वाल मात्र रहेको उसको गाउँको मिझारकी आमालाई सम्झी । उसको त्यस्तो भएको पक्षमा अजरले के अनुहार लाउला भन्ने ठानी खित्का छोडी त्यो हाँस्न थाली । अजरको मनमा भने उसैको कुरा सुनी ऊ हाँसेकी हो भन्नेपरी निकै फुल्यो । हाँसेको कारण बताई उसलाई स्याप्प पार्दा दुख्ला भन्ने ठानी सिनामनले केही भनिन ।

त्यो रात अजर एक्लै पलङमा पस्यो, लामो सास फेरेर ठान्यो-

“एक दिनले कालको अझ नजीक पुगें, सिनामनबिनाको जीवनमा अर्को एक दिन थप भयो ।”

 

(२)

अजर चाकरीबाट फर्की टोपी मात्र फुकाली पेनु बजाउन लागेको थियो । सिनामन आएर बोली सिद्धिन नदिई यसको हात रोकी । उसले एउटा हातको मुठीभित्र केही चीज लिएकी थिई, अर्को हात अजरको कुममा राखी मुस्कुराउँदै भनी,

“आँखा चिम्लेर आँ गरिबक्स्योस् ।”

“नाइँ पहिले त्यो के भन न अनि । ”

“मेरो रगत खाने…”

“ई ! मैले जिभ्रो काटें । ”

“मैले भनेको नमान्ने त ?”

“नखाने कुरा रैछ भने ?”

“ममाथि त्यस्तो अनपत्यार ? भैगो, हुन्छ !”

“ल, त ! गर्छ । प्रेमै अन्धो छ । ”

अजरले आँखा चिम्ली बाएको मुखमा सिनामनले भीमसेन सुपारी हालिदिई । अजरले सिनामनलाई तानी काखमा राख्यो, त्यसो गर्दा उसको मिहीन चुरी फुट्यो । छाले किसिमले चोसो पसारी लज्जतसाथ आँखा तरी उसले भनी, “आ हजूर त छि: अर्काको कत्ति राम्रो चुरा फुट्यो ।’

अनि फुटेको चुराको एउटा टुक्रा पछ्यौरामा बेह्री “एउटा मान्छेले मेरो कत्तिको माया गर्दोरहेछ, हेर्छु” भनेर उसले भाँची । फुकाएर हेर्दा दुई टुक्रा बाहेक अरु धुलाधाली नदेखिएको हुनाले अजरलाई ती टुक्रा देखाई एउटा मान्छे भनेको उही हो, उसले पनि माया गर्दो रहेनछ भन्ने देखिएको कुरा उसलाई भनी ।

अजरले हाँसेर भन्यो, “मेरो प्रेमको ज्वोतिसी तैंले त्यसलाई बनाइस्, जसलाई मैले तेरो यस्तो नाडीमा ढलीमली गरी मोज काट्नबाट वञ्चित गरें, अब त्यसले मेरो हुँदो गरी कहिल्यै बोल्दैन जहिलेसम्म घनको चोट खाँदैन । यसलाई थाहा छैन, नचुकेसम्म तैले गरेको भन्दा बढ्ता म यसको कदर गर्छ एक त यसको आवाजमा तेरो व्यक्तित्व छ, अनि यसको बजाईले तेरो स्वरको काम दिन्छ फेरि मेरो साथै यसको मरण हुन्छ ।”

अजर र सिनामन खुल्लमखुल्ला लोग्नेस्वास्नीको रूपमा बसेको केही वर्ष बितिसकेको थियो, किनभने आखिर सिनामनले अजरको कुरा नमानी सुखै पाइन । जायजन्म पनि समयैमा भयो । अजरलाई सबै कुराबाट सन्तोष थियो तर सिनामनको ममता र अहंकारको बिरुवामा फल फल्न लाग्यो । ममताले गर्दा अजरको सुसारेसित सोझै कुरा गरेको पनि उसलाई अर्कै अर्थ लाग्ने भयो, अहंकारले गर्दा थुतुनु चल्न थाल्यो ।

हुन त आगो पनि नठोसी बल्दैन, एकै ठाउँमा भएपछि कहिलेकाहीं ठाकठुक पर्छ । तापनि हरएक पटक अजर निहुरी झगडा साम्य नहुने भयो । तर सिनामनको प्रीतिको खलाँती दन्किएको अजरको प्रेमाग्निमा नै परे पनि नचिनिने नामोनिसानै नरहने गरी खाकखाक हुन्थ्यो । त्यो आगोको तीव्रता घटेर होइन । त्यो खलाँतीको वायुवेग कम भएर होइन, शायद खाक गराउनुपर्ने अवस्था दोहारिरहनेले होला एक दिन अजरलाई थाहा भयो स्पर्श मात्रले धुलो हुने गरी कालो भई डढेको कागतमा पनि भूइँको रङ्गदेखि छुट्टिन गाढा गोलसजन भएका टल्कने दुई चार अक्षर सजिलैसँग पढ्न सकिन्छ । पछि पछि ती दुई चार अक्षर निकैसम्म अजरको स्मरणको अन्तरकुन्तरमा अड्किरहने भए । हुँदाहुँदा उसको निर्मल नीलो निर्मल आकाशमा कालो बादलको सानो टुक्रा देखियो । दिनपरदिन त्यो टुक्रो बढ्दै गयो । आकाशै ढाकी अन्धकार पार्न केही बेर थिएन, तर अजरलाई परदेश जानुपर्यो, त्यसैले हुरीको काम दियो । घर फर्कंदा उसको आकाश नीलोको नीलो निर्मलको निर्मल भइसकेको थियो ।

सिनामनले मुख चलाउन बिल्कुलै बन्द गरी उसले अजरलाई पहिलेको भन्दा पनि बढ्ता माया गर्न थाली भन्न हुन्थ्यो, तर पहिले नै हदैसम्म माया गर्ने हुनाले अब त्यसभन्दा बढ्दा भन्न ठाउँ नै थिएन । अजरको हकमा पनि “आँखा बाहिर हुनासाथ मनमन बाहिर हुन्छले असर नगरी अनुपस्थितिले दिललाई झन् माया गर्ने तुल्याउँछले” प्रभाव जमायो । अल्झाउने बिल्झाउने छोराछोरीलाई बाजेबज्यैले स्याहारेका थिए । उनीहरूपट्टि सिनामनले केही फिक्री लिनुपर्दैनथ्यो, न घर गर्नुपर्दथ्यो । उसैले हर तरहबाट अजरलाई प्रेम गर्न, प्रेम देखाउन ऊ फुका थिई ।

कोही स्वास्नीमान्छे भित्र जति गहिरो माया भए तापनि बाहिर देखाउन सक्तैनन् वा देखाउन शरम मान्दछन् । कोही स्वास्नीमान्छेभित्र छिपछिपे माया भए पनि बाहिर खूबसँग देखाउन सक्छन्, त्यो छिपछिपे माया फलानो भनेजस्तो नभएर हो, भनेजस्तो मिलेको खण्डमा बुडाउनेसम्म उर्लन्छ अथवा बाहिर देखाएको दिखौवा हो, लोलोपोतो हो, यो भनाइको मतलब होइन । उसको मायाको पूँजी नै छिपछिपे हो, उसको बाहिर माया देखाउने प्रकृतिप्रदत्त गुण हो । यी दुवै गुण एउटैमा सम्मिलित भएको नमूना सिनामन थिई । भित्र रहेको गहिरो माया उसको प्रत्येक साधारण गति, हेराइ, बोलाइ, हिंडाइ, सास फेराइमा स्पष्टसँग देखिन्थ्यो जो पूर्ण विस्फारित आँखाले एकएक गरी हेर्न र देख्ने, थोरैलाई नसीब हुने लोग्ने पाएकी थिई ।

एक दिन चाकरीमा जान असर दुई भर्याङ आर्लिसकेको थियो, साथीले हेर्न मागेको किताप झट्ट सम्झी त्यो लिन फेरि माथि उक्ल्यो । एक भर्याङ उक्लेपछि सिनामन के गर्न लागेकी छ चियाउनलाई चाल मारी त्यो उक्लन थाल्यो ।

अहिले बयान गर्न लागेको घट्ना ऊ परदेश जानुअगाडिको हुनाले सिनामनसँग ठाकठुक परी बोलचाल नभएको केही दिन भएको थियो । अजरको पछाडि पर्दा सिनामन पटक्क उसको मुख हेर्दिनथी । तर उसको अगाडि बसी लुगा लगाइदिने, चुरोट सल्काउनलाई सलाई कोरिदिने, थुक्न खोज्दा पिकदानी थापिदिने गर्न भने उसले छाडेकी थिइन् । माथि पुगेपछि अजरले आफ्नो कोठा खाली देख्यो । त्यहाँ नपसी सिनामनको सिंगार्ने कोठापट्टि गयो ।

त्यसको ढोका बन्द थियो । त्यसमा कान जोरी सुन्दा बुजो हालेको मुखबाट फुत्केको जस्तो साह्रै हल्का घुँक्कघुँक्कको आवाज उसले सुन्यो । हत्तपत्त छिद्र खोजी चियाउँदा उसको आँखा यस्तो हृदयविदारक दृष्यमा पर्यो कि उसको दिल रूखमा अड्किएको चङ्गाजस्तो भयो । हातले नढाकिएको टुप्पाले गर्दा मुटु नै बाहिर निस्केको जस्तो देखिनेगरी अजरले घर बस्ता लाउने गडरेको गाढा कलेजी बराँतको फ्याट्फ्याटे जुत्ता उतानो परी छातीमा एक हातले च्यापी अर्को हातले खोस्टोको बुजो मुखमा कोची सिनामन रोइरहेकी थिई । कितापै नलिई भागेर अजर चाकरीमा गयो ।

एक दिन अजरको हात छरा साफ गर्दा काटियो । घाउमा आइडिन लगाउनलाई त्यो चाहिं हात सिनामनलाई दियो, अर्को हातले बट्टामा छुरा थन्क्यायो । चहऱ्याएकोले आइडिन लाइनसक्तै हात थुती फक्ता घाउको आसपासमा अजरले दुई-तीन थोपा पानी देख्यो, अनि अचम्म परी सिनामनतिर हेर्यो । उसले मुख लुकाई ।

 

(३)

मनमा छातुल्ल गरी बढेको कुरा त्यही सोसिन दिने वा तमाखु चुरोटको रापमा सुक्न दिने कोही मानिसको धैर्य हुँदैन, हित्तचित्त मिल्ने अर्को मानिसको कानको ढल नबनाई तिनीहरूलाई चैन पर्दैन । त्यस्ता मानिसहरू मध्येको अजर पनि थियो । उसको मन मिलेको र पूरा नामको कुनै अंशसित अघिल्लो पद पनि मिलेको बालसँगती विक्रमप्रसाद उपाध्यायलाई ऊ कुनै कुरा भन्न बाँकी राख्तैनथ्यो । विक्रमप्रसाद पनि एकोहोरो रोटी पाक्न दिँदैनथ्यो त्यति मात्रै होइन ऊ आफ्नो रामकहानी भन्न यति उत्सुक हुन्थ्यो कि उसलाई कुरा सुनाउन अजरलाई प्रलय पर्दथ्यो ।

अजरलाई हिजो राति पेट दुस्स भएको कुरा शुरू हुँदा नहुँदै “हजूर, हजूरै” ले टुङ्ग्याई अस्ति उसलाई शूल भएको तातो पानीको बोतललले सेकेको फलानो डाक्टर, ढिस्कनु वैद्य डाकेको इत्यादि लम्बे रामकहानी उठान हुन्थ्यो । अस्ति अजरको छोराको आँखा दुखेको कुरा छुन पाएको छैन, उसको माहिली आमाको पोहोर कान दुखेको चाखनलाग्दो फतफत शुरू हुन्थ्यो । अर्कोले आफूसँग सल्लाह लिन आएको छ भन्ने कुरा एकदमै भूली विक्रमप्रसादमा अरूले सुन्न मन नगरेको आफ्नै गन्थन बारम्बार झिक्ने झुकाव थियो ।

यद्यपि धेरैजसो विक्रमप्रसाद नै अजरको घरमा जान्थ्यो तापनि केही भइपरी आउँदा वा जरूरी काम पर्दा अजर पनि विक्रमप्रसादको घरमा जान्थ्यो । अहिले जरुरी कुरो भन्नु छ भन्ने निहुँ गरी अजर विक्रमप्रसादको घरमा आएको थियो । भलाकुसारी पछि नै अजरले विक्रमप्रसादको फुर्सत सोधी उसको बानी बुझेकोले उसलाई निजी कुरा हुँदै नछुनू र बीचमा कुरो नकाट्नू भन्ने कडा आज्ञा दियो ।

अनि पल्लो ओठलाई माथिल्लो दाँतले टोकी केही बेर घोरिएर पलेटी मारेको पिंडौलामा एक हातले बिनाआवाजको पेनु बजाएपछि अजरले सुरत आवाजमा ढिलासँग भन्यो, “हेर, तिमीलाई मैले कस्तो-कस्तो कुरासम्म भनेको छु, यो कुरा आजसम्म तिमीलाई पनि भन्न सकिनँ । दुई महिना- दुई के तीनै महिना भयो, मलाई यस्तो भएको । तिमी बराबर भन्थ्यौ – अचेल हजूर किन घोरिनुहन्छ, के भयो ?

म छल्थें । मलाई आशा थियो, परमेश्वर ! मलाई विश्वास थियो । अलि दिनमा सबै ठीक हुन्छ । तर दिनपरदिन त्यो आशा निराश बन्दै गयो, विश्वास हराउँदै गयो । कति कोशिश गरें, केही लागेन ।… अरू कुरा केही होइन मेरो मन एकतमासको भइरहेको छ । पहिले त म बहुलाउन लागें कि भन्ने लागी डाक्टर बाजेकहाँ दगुरें मेरो कुरा सुन्नासाथ हाँसेर ‘धत्, धत्’ भनी उनले उडाइदिए । मेरो मनमा अरू त होइन, मनोमेनिया (एउटा कुरामा मात्र बहुलट्टीपन) हुन लाग्यो कि भन्ने शंका थियो ।”

“त हजुरलाई के भो त ? यो भूमिका असाध्यै लामो भयो । हो कुरा क्या हो ? याँ हामीलाई सुन्न हतपत लाग्यो ।”

“फेरि बीचमा बोल्यो । म आफ्नै सारमा भन्छु । त्यसैले त तिमीलाई कति बेरको फुर्सत छ भनेर अघिबाटै सोधेको । मेरो कुरा सिद्धिएपछि तिम्रो राय, तिम्री सल्लाह, तिम्रो सहानुभूति, जे जे दिनुपर्छ दिनू ।… त सुन, डाक्टरले त्यसो भनेपछि त्यतापट्टिको डर हरायो । तर व्यथा हटेन ।..

“सिनामनलाई यति माया गर्छु भन्ने तिमीलाई थाहा छ । अहिले पनि उत्तिकै माया गर्छु ।” तर, नरोएको आँखा; रोएको गलाले अजरले भन्यो, “ऊ माया-प्रिति थियो, यो मायामा रहम मात्र छ ।” सिनामनलाई निम्ति थुक निली गिडगिडे आवाजलाई बदली लापरबाहीको आवाजमा आवाजमा उसले भन्न थाल्यो, “केवल सिनामनको निम्ति मेरो शरीर मर्यो, आत्मा मात्र जीवित छ । शरीर मरेको छैन भने नफ्रत गर्ने शरीरमा बदलियो ।”

फेरि पहिलेकै तानामा भन्यो, “कस्तो भयानकसँग मेरो मनले पलट खायो । यस्तो कुरामा यसो नगरी छाड्दिन भनी हामीले हामी मानिस मात्रले घमण्ड गर्नु धिक्कार छ, किरिया हाल्नु फजुल छ । हाम्रो मन आजको भोलि नै कति फरक हुन्छ भन्न सकिंदैन । अघि सिनामनको स्पर्शले मात्र पनि मलाई स्वर्गीय आनन्द हुन्थ्यो, अहिले भन्दा पनि पाप लाग्छ, उसले छँदा मेरो छाला-मासु पछि हटे जस्तो लाग्छ । बाटाको अघि आउँदा सुविस्ता दिने उही ओरालो पछि फर्कंदा पसीना बढाउने उकालो बन्दछ । मलाई मेरो कर्तव्यको ख्याल छ, धर्मको विचार छ, किरियाको सम्झना छ, तर मेरो इन्द्रियज्ञान मेरो कब्जामा छैन । के कुरामा मेरो मन पल्ट्यो, म भन्न सक्तिनँ । चित्त कुँढिने कुनै कुरा हाम्रो बीचमा भएको छैन ।

“… एकदिन उसको हुप गएर कुप्री हिंडेकी थिई मेरो मनमा एकतमासको लाग्यो । त्यसबाट यो भयंकार असर कसरी निस्क्यो भनूँ ? अहँ । … एकदिन बमन गर्दा मुख बिग्र्यो…त्यसले पनि होइन, पक्का होइन । प्रकृतिको जालले गर्दा हाम्रो आँखा क्याटलगको पत्रको अरु तस्वीरमा भन्दा अर्काले नमूना पढाउने तस्वीर काटेर झिक्ता बनेको झ्यालमा जान्छ । रहेको कुराको परवाह छैन, गुमेको कुरा पाए कस्तो न होला जस्तो लाग्छ । … मैले उस्को जन्म बिताइदिएँ ।” शोकले ज्यादै विह्वल भई उत्तेजित स्वरमा उल्ले भन्यो, “भन्ने कुरामा आजन्म पोलिरहन्छ । म के गरुँ । म कहाँ जाऊँ ।” अनि साम्य भई नाक पुछेजस्तो गरेर आँखा पुछी भन्न थाल्यो, “मेरो मन पहिलेकै जस्तो हुन्छ भने म जे पनि गर्न तयार छु । मलाई तिमीले ठीक गर्न सक्यौ भने म तिम्रो जन्मभरको ऋणी हुन्छु ।’

विक्रमप्रसादले सहानुभूतिको लामो सास फेरेर टाउको हल्लायो ।

“कसै-कसैलाई यस्तो हुन्छ भनेको मैले सुनेको छु । यस्तो भएपछि फेरि पहिलेकै जस्तो हुन त साह्रै मुश्किल हुन्छ रे, यो मनोविज्ञानको घटना हो । यो कुरा थाहा नपाउनेहरूले हजुरलाई अन्यायी, बेइमान पापी, भन्छन् । कति अभागी निर्दोषीहरूले यो नाम चुपचापसँग सहनु परेको होला के गर्नु ।”