२०५८ साल मंसिर महिनाको एकाबिहानै  मैले चियाको चुस्की लिंदैगर्दा एउटा अप्रत्याशित फोन आयो । त्यो फोन कलले मेरो मनमस्तिष्कमा एउटा सुनामी नै ल्याइदियो जसको ज्वारभाटाले हृदय नै छियाछिया पारिदियो जुन १८ वर्ष जति पछि पनि आलो छ । धेरै बेरसम्म मलाई पत्यारै लागेन कि मेरी निर्दोष बालसखा शशी कोइरालाको अनाहकमा हत्या भयो । कसरी यति काँचो उमेरमा समाजको अन्धकार निर्मूल गर्न हिंडेकी साथीको  बलिदान हुन्छ ? म छट्पटाउन थालें, मेरो दिमागमा हाम्रो अतीतको सुई टकटक गर्दै घुम्न थाल्यो ।

 – – – – –

सानोमा मेरा धेरै साथी थिएनन् किनकि हाम्रो टोलका धेरै दाजुभाइ बेसीतिर बसाइँ सर्नुभएको थियो । हटिया बजार पनि अलि टाढा थियो । तर छिमेकमा एउटा केटी थिई मभन्दा एकाध महीना कान्छी- गोरी र हँसिली, शशी कोइराला ।  ठ्याक्क हाम्रो उमेरका अरू थिएनन् र मेरी बहिनी र उसका बहिनीहरू केही कान्छा थिए । तैपनि उसको र मेरो खूब जम्थ्यो उतिबेला, कुस्तीदेखि खुट्टी खेल्नेसम्म र भात पकाउनेदेखि हट–हट घोडा गर्नेसम्म । किनकि हाम्रो बालसुलभपनाले केटाकेटी भनेर विभेद गरेन उतिबेला ।

घरको कान्छो छोरो मैले सानैमा पिताजी गुमाइसकेकोले टुहुरो भएँ, दाजु रोजगारीका लागि काठमाडौं जानु भैसकेको थियो भने ठूली दिदीले विवाह गरी घरजम गरिसक्नु भएकोले घरमा हामी भुराभुरी र आमा मात्र थियौं । पुतली जस्ती ऊ भने परिवारमा जेठी थिई, हजुरबा, बा–आमासँग बस्थी । हजुरबा कर्मकाण्ड गर्नुहुन्थ्यो भने बुबा राजनीति शायद उसको परिवार सम्पन्नमा पर्थ्यो उतिखेर र केही समयपश्चात् उसको बुबा गाविसको उपाध्यक्ष पनि चुनिनुभयो । उसको भाग्य देखेर जोकोही चकित हुन्थे यति मिलेको परिवार त्यस वरपर अरूको थिएन । शायद स्वर्गमा मात्र त्यति सुख हुन्थ्यो ।

मेरो घरमा हामी दाजुबहिनी मात्र हुन्थ्यौं प्रायशः, तर उसको घरमा सधैं आमा बस्नुहुन्थ्यो । त्यसैले दिउँसो धेरैजसो उसकै घरमा हामी खेल्थ्यौं बिहानदेखि अबेर साँझसम्म । पूजा गरेर फर्किंदा हजुरबुबा बरोबर हामीलाई दुनो टकटक्याउँदै पुवा खान दिनुहुन्थ्यो र कहिलेकाहीं मोही पनि पिइन्थ्यो । उसको घरमा वसन्त ऋतुमा फुल्ने सुन्दर आरुको फूल र फलको पनि म पारखी थिएँ ।

श्री कालिका स्कूलमा हाम्रो भर्ना पनि एकैदिन भयो । तर परीक्षाले सधैं मलाई दोस्रो बनायो । दुई कक्षाको एउटा परीक्षामा बाहेक अरुमा उसले कब्जा जमाई, २ पटक जति त ऊ बोर्ड फस्ट पनि भई । त्यसको पछाडि उसको नेता बाबु र पुरेत हजुरबाको प्रभाव थियो कि थिएन सम्भवतः म बरोबर कुँडिन्थें ।

गणित र सामाजिक मेरो बलियो भए पनि हस्तलेखन उसको सफा थियो, कहिलेकाहीं त जम्मा पोइन्ट ५ को फरक आउन्थ्यो । मैले शुरूमा उसलाई प्रतिस्पर्धीको रूपमा लिने गरिनँ,  तर त्यो आफैं अंकुरायो, शायद यो प्राकृतिक गुण हो । पछि उसको परिवार बेंसीतिर झर्‍यो, म पनि सरेँ तर एउटै टोलमा होइन । स्कूलमा अरू मित्रसँग पनि उठबस हुनथाल्यो । विशेषगरी मेरो हिंडडुल मामा घरमा हजुरआमालाई सहयोग गर्दै गरेका परदेशी रबिन्द्रसँग हुन्थ्यो जोसँग उसको हजुरअमाले मीत लाइदिनु भयो।

शशी चनाखो र प्रथम छात्रा भएकीले उसका साथीको संख्या ह्वात्तै बढे, अन्तर्मुखी स्वभावको भएकाले होला मेरा चाहिं घटे । खुट्टीका अलावा पछि डन्डिबियो खेल्नमा पनि माहिर भई, अरूले ४–५ टक्कर लगाउँदै गर्दा ऊ टकटक १०–१२ लाउन सक्थी । यसमा पनि मलाई समस्या थिएन, समस्या त तब लाग्न थाल्यो जब ऊ मलाई जिस्काएर हैरान पार्ने अरू केटाहरूसँग घुलित भई । मलाई लाग्यो ऊ पनि त्यतै भासिई ।

५ कक्षा पास गर्दासम्म हामी बीच केही मनोवैज्ञानिक दरार पर्न शुरू भयो । ६ कक्षा पढ्न दाइसँग काठमाडौं आएपछि त मेख मरेको जस्तो पो भो शुरूमा, ऊसँग एक वर्ष जस्तै भेट हुँदैनथ्यो । मिनपचासको बिदामा घर गएका बेला ऊ बडो उत्सुक भएर जान्न खोज्थी, “शहरी स्कूलका स्तर त गज्जब हुन्छ रे, होइन ?” म सही थाप्दै टाउको हल्लाउँथें ।

तर हामी ७–८ कक्षा पढ्ने साल उसको स–परिवार झापा सरे । मन खल्लोखल्लो भयो । त्यो बसाइँ सराइले हाम्रो भेटलाई पनि बिदाइ दियो । उतिबेला गाउँघरमा फोन र इन्टरनेट सुविधा शून्यप्रायः थियो । उसमाथि उनीहरू बसाइँ गएको इलाका प्रति बेखबर नै थिएँ ।

 – – – – –

तर २०५७ सालको एक मध्याह्न हाम्रो विभागका कार्यालय सहायकले एउटा सानो पत्र थमाउँदै भने, “तपाईंको चिट्ठी आएको छ ।” इमेलमा बानी पार्न सिक्दै गरेकोले, हुलाकबाट बिरलै पत्र आदनप्रदान गर्ने मलाई खूब खुल्दुली लाग्यो, कसले पठाएको रहेछ त्यो चिट्ठी ? किनकि उतिवबेला देशमा माओवादी द्वन्द्व एवं अपहरणका घटनाहरू बाक्लिन थालेका थिए । त्यसो त मेरा कुनै गर्लफ्रेन्ड पनि थिएन । यति बेलासम्म ११–१२ वर्ष बितेको थियो । ब्याच्लर गर्दै गरेको म एउटा प्राइभेट स्कूलमा शिक्षक भैसकेको थिएँ । एकदिन त्यसरी अचानक नीलो हवाईपत्र आइपुग्दा हर्ष र आश्चर्य मिश्रित हुनु स्वाभाविक होला ।

हतारहतार खामको पछाडि हेरें । “शशी कोइराला” लेखिएको थियो । यत्तिका समयपछि उसले किन पत्र लेखी ? मैले बडो उत्सुक हुँदै खोलें । उसलाई मेरो पुरानो साथी भन्न मिल्थ्यो जोसँग मेरा सजीव बालसुलभ अभिव्यञ्जनाहरू तथा क्रियाकलापहरू जोडिएका थिए नजानिंदो तवरले । गैराबारीमा लिड्कोलाई मोटर बनाएर तानेको, चनौटे पाटाको मूलमा पानी कोचलेको अनि बारीको कान्लोमा फल्ने भुइँकाफल खाएका, दुलहादुलही भई खेलेका यादहरू ताजा भए । तर समय अन्तरालसँगै लागेका थिए सन्देह, पीडा र जलनका पर्खालहरू । तर आजको शशी त फरक भइसकिन् होली । मनमा यस्तै कुराले डेरा जमायो ।

दुई पन्नामा लेखेको पत्रबाट थाहा पाएँ कि उसको नियति पनि दुरुस्त मेरो जस्तै, किनकि विज्ञान विषय छोडेर अर्को शिक्षा पढ्न थालिछे र गाउँमै एउटा सानो स्कूल खोलेर प्रिन्सिपल पनि भइछ, तर अझै विवाह गरेकी थिइनन् । पहिलेको जस्तो फुर्तीफार्ती केही झल्किएन उनमा, बरु ऊ धेरै नै न्यास्रिएको आभास पाएँ त्यो पत्रमा । हामी बीचको सेतुको काम चाहिं उसलाई र मलाई क ख ग पढाउने रमाकान्त गुरुले गर्नुभएछ । उहाकहाँ म दशैंको टीका लगाउन जान्थें गाउँ गएका बेला । गुरु झापामा आफन्तलाई भेट्न जाँदा उसलाई मेरो काठमाडौंको ठेगाना र फोन नम्बर पनि छाड्नुभएछ ।

यसरी ऊसँग मेरो फेरि सम्पर्क हुनथाल्यो । चिठ्ठीको जवाफ पाउने बित्तिकै उसले मलाई पहिले जस्तै पाएकोमा धेरै खुशी व्यक्त गरेर लेख्थी कि परिवारमा बढ्दै गएको जिम्मेवारी र कान्छो भाइ बेपत्ता भएको चिन्ता र ग्लानि ।

पछि ऊ काठमाडौं आउँदा सोधखोज गर्दै मेरो स्कूलमै आई । उसको हुलिया बदलिएर आफ्नो आमा जस्तै देखिने भइछ तर हल्का काली भएकी थिई सायद झापाको गर्मीले होला । पछि मैले उसलाई घर पनि चिनाएँ, ऊ लुटपुटिएको देख्दा लाग्यो, ‘आदमी पचपन बानी बचपन’ । सोफामा सुतेर खुट्टा चाहिं भित्तातिर झुन्ड्याउँदा अलि उदेक पनि लग्यो, शायद म अलि फर्मल थिएँ ।

त्यो दिन हामीले सँगै खाजा खायौं र धेरै बेरसम्म गलतफहमी दूर गरिरह्यौं । त्यसदिन उसको कुनै नातेदार दुर्घटनामा परेर भर्ती भएकाले उसले भेट्नु थियो टिचिङ हस्पिटलमा । मैले उसलाई बाइकमा त्यही छाडिआएँ तर फेरि चाँडै भेट्ने शर्तमा ।

पछि हामी फोनद्वारा जोडियौं । लामो कुराकानी हुन्थ्यो । हाम्रा योजना र परिवारका सदस्यहरूका बारेमा । उसलाई एउटै ग्लानि रहेछ, भाइले घर छाडेकोले चिन्तित बुबाआमाको आँसुले पिरोल्ने कुरा गर्थी ।

पछिल्लो पटक जेठ १९ को दरबार हत्याकाण्ड पछि उसले पनि स्वर्गीय राजा बिरेन्द्र शाहको सम्मानमा कपाल खौरिएको कुरा गरी, जुन मैले केटा भएर पनि सकेको थिइनँ । नेपालमा द्वन्द्वको खेती गरेर रक्तपातपूर्ण बनाएकोमा क्षुब्ध थिई ऊ । यसको अन्त्य होस् भनी कामना गर्थी । यो देशमा शिक्षा र जागरणको माध्यमबाट देशमा लागेको कालो ग्रहण हटाउने प्रण थियो उसको, यही मकसदले निजी स्कुल खोलेर करिब १० जनालाई रोजगारी दिएकी थिइन् । मलाई निकै गर्व पनि लाग्थ्यो ऊमाथि ।

– – – – –

उक्त फोनकल रिसिभ गरेको धेरै दिनसम्म म डिस्टर्ब भैरहें । मलाई थाहा थिएन कि हितैषीको मृत्यु हुँदा पनि बुबा र मामा परलोक हुँदा जत्तिकै पीडा हुँदो रहेछ । तर काललाई कसले पो टार्न सक्दोरछ र ? अज्ञात समूहद्वारा शशी मारिइन् ।

प्रत्यक्षदर्शीका अनुसार एक साँझ ५–६ जना नौला मान्छेहरू ‘उसको घर कुन हो ?’ भन्दै छिमेकीसँग सोध्न थाले । कसैले देखाइदिए पछि उनीहरू सरासर आँगन तिर गए । उनीहरूको हातमा बन्दुक देखेर होला परिवारका सबै डराएर भित्तामा टाँसिन पुगे तर उसकी आमाले अगाडि फाल हान्दै छेकिरहिन् । “होइन मेरी छोरीलाई किन ताकेको ? उता जाऊ मोराहरू … !” भन्दै डाँको छोडेर रोइन् । तर तिनीहरूले उनलाई गलत्याएर गोठतिर फाल्दे । अनि तुरुन्तै शशीलाई कालोपट्टि लगाएर घिसार्दै र कुट्तै त्यहाँबाट गुप्त कुनै ठाउँमा लगे ।

“मेरो के गल्ती छ र … म डराउनलाई ? ऊ रुँदै गरेको अँध्यारोमा कसैले सुन्यो ।  त्यसपछि के भयो ? कसैले चाल पाएन । करिब आधा घण्टा जति पछि दुई चोटि ढ्याङढ्याङ आवाज आयो वरबाट । यतिबेला सम्म घरमा बुबा र हजुरबा पनि आइपुगेछन् । शशीकी आमा रगताम्मे भएर लडिरहेको देखेर अवाक् बाबुछोरा छिमेकीतिर दौडिए । जब वृद्ध हजुरबाले यो खबर सुने, तब उनी भुइँमा ढले र इन्तु न चिन्तु भए । बुबा चाहिं केही समयसम्म गाउँभरी यता र उता खोजिरहे तर शशीको अत्तोपत्तो चलेन त्यस रातभर । उनले इलाका प्रहरी कार्यालयमा खबर गरे एउटा सहयोगी मार्फत । भोलिपल्ट सबेरै उनीहरू बेलुकी शशीलाई लगिएको दिशातिर गएर खोज्नथाले ।

घरबाट करिब १५ सय मिटर जति टाढा खेतमा एउटा लाश भेटियो । हुर्हुराउँदै गएर हेर्दा थाहा भयो त्यो अरू कोही नभएर शशी कै थियो । पुर्पुरोमा गोली लागेर ढलेको उसको दर्दनाक र बीभत्स अवस्था देखेर उसका बुबा धेरै बेरसम्म सम्हालिन  सकेनन् । पछि छोरीलाई छातीमा च्यापेर बुबा क्वाँक्वाँ रोएको विरह देखेर जोकोही भावविह्वल हुन्थे नै ।

“आखिर मेरो नानुको के गल्ती थियो ? ती पातकीको पनि राम्रो नहोस् भगवान् !” उनी अलाप्दै थिए । यत्तिकैमा एक छिमेकीले खबर ल्याए कि हजुरबुबाको पनि भर्खर श्वास गयो । अघिल्लो दिनको घातका कारण । शशीका बुबा–आमालाई दोब्बर पीडा थपियो त्यस दिनदेखि । के गर्ने कसो गर्ने कसलाई भन्ने मेसो नै भएनछ उतिबेला ।

आँखामा राखे पनि नबिझाउने उसलाई कसले मार्‍यो- द्वन्दकालीन विद्रोही …, तत्कालीन सुरक्षा फौज …, वा अरू कुनै पक्ष … ? यो अझै स्पष्ट हुन सकेको छैन ।

शोक समयमा जाँदा उसका बुबा भन्दै हुनुहुन्थ्यो, “शशीको जीवनमा केही केटाहरू आए तर उनीहरू सँगको उठबस दिगो भएन, तर उसको तिमी प्रतिको आकर्षण कहिल्यै घटेन बरु दिनानुदिन बढेको थियो ।”

बल्ल मलाई मेरो गल्तीको महसूस भयो । ऊ नै मेरो एक प्रिय बालसखा थिई । कतै नजानीकन मैले उसको चित्त दुखाएको थिएँ अनावश्यक पूर्वाग्रह राखेर…ऊ नै मेरो एक प्रिय बालसखा थिई । अझ उसले मलाई कहिल्यै दुश्मनी र ईर्ष्या नगरेको बरु बच्चादेखि नै बेस्ट फ्रेन्डको दर्जा दिएर मुटुमा सजाएको कुराको रहस्योद्घाटन हुँदा म आफ्नो घटिया पूर्वाग्रह प्रति पछुताउँदै थिएँ, शायद भगवानले पनि मेरो भुललाई क्षमा गर्छ कि गर्दैन । यो दुनियाँको नियति नै यस्तै रहेछ । प्रिय कुरा बिस्तारै चिप्लिंदै जाँदो रहेछ। उसलाई सम्झँदा मलाई पनि त्यस्तै लाग्छ – आखिर नजानिंदो किसिमले ऊ मेरी प्रिय गोप्य प्रेमिका थिई ।

अहिले देशमा शान्ति छाइसकेको छ । हिजोका युद्ध सरदारहरू र सुरक्षाकर्मीहरु अहिले ठूल्ठूलो पदमा आसीन छन् । केही सत्य निरूपण आयोगहरू पनि बनिसकेका छन् । अरू हजारौं निर्दोष नेपालीहरूले १० वर्षे द्वन्द्वकालमा ज्यान गुमाएका या बेपत्ता पारिए जस्तै मेरी मित्रका पनि हत्यारा आजसम्म पत्ता लाग्न नसक्दा बडो निराशा लाग्छ, अनि उकुसमुकुस लागेर ग्लानि हुन्छ । ती दिनका एकएक दृश्यहरू आँखामा आएर नाच्न थाल्दा आँसुको वर्षा हुन्छ । हरेक पल उसको आत्माको चिर शान्तिको कामना गरिरहेका हुन्छ ।