साथीलाई कोठामा बसाई, श्रीमतीलाई चियाको निम्ति भनूँ भनेर चूह्लामा पसें । मनमा ठीक त्यस्तै आतङ्ग थियो, जस्तो महायुद्धको समयमा प्रत्येक नागरिकको मनमा हुन्छ । अब के हुने हो, कतिवेला गोला बर्सिने हो ।
डराई डराई श्रीमतीलाई भन्ने आँट गरें, ‘एकजना साथी आएका छन् चिया ….’
वाक्य पूरा हुन नपाउँदै श्रीमतीको कण्ठ खुल्यो । वाणी वृष्टिको भल फुट्यो, ‘के चिया, तपाईंका अनगन्ती साथीलाई चिया पकाएर टक्राउने ठेक्का लिएको छैन मैले । फेरि कमाई धेर होस् नि । १२५ रु. तलब । त्यसमा पनि २५ रू. आफिसमा चिया खाको, बस भाडा भनेर उतै चट् । १०० रू. ले यत्रो परिवार चलाउनु पर्छ । त्यसैमा नानावलीका भाँउता । कहिले साथी आयो चिया, कहिले भात, कहिले ओछ्यान यस्तो गरेर म त सक्दिनँ । गर्नोस् तपाईंनै राज……।
‘ए लीला, नकराउन साथीले सुने के भन्लान् ?’ जल स्रोतमा बाँध लाउने चेष्टा गरें । तर वर्षाको भेल के थामिनु ? झन् गर्जियो, मेरा सारा बाँध चर- मराएर भत्किए ।
‘….सुने सुनुन्, इज्जत राख्न खोज्नेले कमाइ पनि गतिलो गर्नुपर्छ । म नोकर्नी त होइन नि, दिन-रात चूह्लामा झोसिन सक्दिनँ । कहिले बेलामा खानु छैन । समाजसेवी बन्यो, अनेकका भाँउता लियो गफ्फियो ।’ भेल प्रबल वेगले बगिनै रहेको थियो ।
भेलमा हेलिने साहस गर्न नसकी म फर्कें, साथी भएका ठाउँमा आएँ । वाणी वृष्टिको बाढी कोठासम्म आएर साथीको कानलाई पनि रुझाएछ क्यार । मलाई देख्ने बित्तिकै भने, “किन चियाको कष्ट उठाउन खोज्नुभएको ज्यू, भर्खरै त हो मैले चिया खाएको ।”
म लाजले पानी भएँ । दाँत ङिच्याउनु सिवाय अरू उपाय केही थिएन । केही छिनपछि साथी हिंड्न तर्खराए भएभरको साहस बटुलेर सौजन्यताको निम्ति मात्र मैले भनें, ‘किन त भान्सा गरेर…।’
‘मेरो केही चिन्ता नगर्नुहोस्, मलाई विशेष रुचि पनि छैन । अहिलेलाई बिदा लिन्छु ।’
हा भगवान्लाई धन्यवाद, साथीले मेरो भोजनको आग्रहलाई अमान्य गरे । ‘हवस् त’ भनेको भए…।
साथीलाई विदा दिंदै भनें, ‘लौ त मित्र मेरो त यस्तै छ; तपाईंको सत्कार गर्न पनि सकिनँ ।’
‘निको छ ज्यू, म त्यसै सन्तुष्ट छु ।’ साथीले ओठमा कटाक्षमिश्रित मुस्कान ल्याएर भने, “यस्तै हो के गर्नु । जीवन संघर्षमय छ । जे जस्तो भए पनि अघि बढ्नै पर्छ ।’
साथी बिदा भएपछि हृदयमा प्रतिक्रिया आरम्भ भो । एक मन आयो श्रीमतीलाई दुईचार चडकनको माला गुंथिदिऊँ । तर त्यसको फलाफल सम्झेर झस्कें । यता भोक निकै लागेको थियो । आखिर कोठामा आई थ्याच्च बसें । अतीत कुराहरू एकाएक गर्दै सम्झना हुन थाल्यो ।
विवाह गर्ने रुचि मलाई उति थिएन । जीवनमा स्थिरता ल्याउन सकेको थिइनँ । एउटा साधारण किरानी; ६०।१०० रु. आम्दानी । के विवाह गर्नु भनेर ङिच्च मारेको थिएँ । तर पिताजीले छाड्नु भएन । रात-दिन उहाँको एउटै कुरा, ‘विहा गर् कि गर् ।’
अन्त्यमा एक दिन बिरामी अवस्थामा हत्ये हालेर भन्नुभो, ‘छोरा, तँलाई जस्ती केटी मन पर्छ भन् । म बाधा गर्दिनँ । तैंले रोजेकै विहा गरिदिन्छु ।’
‘कस्ती केटी मन पर्छ’, भन्ने कुरामा मैले कहिल्यै विचारेको थिइनँ । साँच्चै -त केटी कस्ती रोज्नु मैले । एक झलकमा निकै राम्री, नारीमा हुनुपर्ने शील स्वभावले विभूषित भन्ने कुरा त विहा भन्ने बित्तिकै साधारणतः प्रत्येक युवक हृदयमा आउँछ । तर त्यसभन्दा पर पनि त आफ्नो आफ्नो कल्पना हुन्छ । मेरो त केही कल्पना थिएन ।
के नाटकमा राम-लक्ष्मण बन्नेले झैं चित्रोसम्म आउने हिसाबले मिलाएर काटेको कपाल अनि भित्तामा सेतो कमेरो पाते हैं मुखमा पाउडर पोतेर उही अनुसारको पोशाकसित भुल्ले कुकुर चिस्याउँदै औ त्यसैसित अंग्रेजीमा गफ छाँट्दै बेलुका पार्कका हावा खाने, अनुहारमा नेपाली छाप स्पष्ट भए तापनि त्यसै माथि यूरोपियन छाप खप्टिने प्रचेष्टा गरेकी युवती हो मैले रोज्ने ?
अथवा तीव्र गतिले अघि बढेकी, समाज तथा राष्ट्र सेविका, जुलूसमा झण्डा लिएर इन्क्लाब जिन्दावादको नारा लगाई अघिअघि हिंड्ने ओममा हात हल्लाई हल्लाई भाषण छाँट्ने शरीर कंकाल मात्र भएपनि आवाज बुलन्द । यस्ती वीराङ्गना हो मैले रोज्नुपर्ने ?
अथवा ज्यादै लज्जावती, सीता-सावित्रीको उपमा दिनखोज्ने, हिंड्दा पाइला गन्ने, बोल्दा शब्द जोख्ने, बाटामा कोही चिनेकोले भेटेर ‘कता बहिनी’ भनिदियो भने लजालु बाँदरलाई छोइदिंदा वक्षमा अनुहार लुकाए झैं मण्टो बटारेर अर्कोतिर हेरी नबोली हिंड्ने । घरमा कोही नौलो मानिस आएर बोलायो भने बाहिरबाट भित्र दगुरी नानीलाई ‘बा घरमा छैनन् भनिदे’ भनेर पठाउने खालकी योग्य होली मेरो निम्ति ।
कित ३६० वाक्य प्रतिघण्टाको रफ्तारमा बोल्ने वा स्पष्ट शब्दमा भनौं भने फतफते, साथीहरूको निकै ठूलो घेरा भएकी, २४ घण्टा मुखमा पान अटुट, हिंड्दा लङ्ग जम्पलाई बिर्साउने, घतलाग्दो हाँसो, हाँस्नु पर्दा कुम्भकर्णको निद्रा भङ्ग पार्न सक्ने; स्प्रीङ्गको झैं स्फूर्ति भएकी, काम गर्ने होइन कामको निर्देशन राम्ररी दिनसक्ने; यस्ती जीवन सँगिनीको रूपमा पट्ला त !
पारिवारिक दृष्टिकोणबाट हाम्रो सभ्यतालाई ध्यानमा राख्दै प्रायः जसो युवकले उपरोक्त प्रकारहरूबाट कुनै पनि प्रकारका केटी अवश्य मन पराउने छैनन् । कारण पुरुषको कल्पना सधैं ‘नारी’ को हुन्छ अनि शारीरिक गठनले नारी हुँदैमा मात्र कोही भलै नारी कहलाइयोस् तर नारी हुँदिन । नारीमा नारित्व झल्काउने केही विशेषता हुन्छ जो पुरुषमा हुँदैन ।
मलाई सम्झना छ त्यस दिन खूब बिचारें; मलाई पनि उपरोक्त प्रकारका मध्ये कुनै पनि मन परेन । ‘अनि कस्ती त ?’ भन्ने प्रश्नमा आफ्नै एउटा विचार आयो जो नौलो विचार होइन । साधारणतः प्रत्येकले त्यस्तै केटीको कल्पना गर्छन् । अर्थात् म चाहन्थें । भारतभूमिमा जन्मेको आर्य नारी । झलक्क हेर्दा राम्री, सरल, शान्त, सौम्य, मुखाकृति । दया, ममता, करुणा आदिले परिपूर्ण, निर्मल हृदय भएकी । सेवाको भावना हृदयमा भरिएको-स्त्रीको शोभा बढाउने, स्वाभाविक लज्जा ओठमा सधैं मृदु मुस्कान राख्ने । आवश्यक श्रृङ्गार गर्न चाहने, नचाहिंदो शृङ्गार होइन । देश समाज जातिप्रति रुचि राख्ने औ यथाशक्य सेवा गर्ने तर पारिवारिक हेरचाहा र काम काजलाई प्रथम स्थान दिने ।
घरेलु धन्दा सकभर आफ्नै हातले गर्ने । आएका पाहुना इष्ट मित्रको उचित सत्कार गर्ने, चाहिंदो बोल्ने । पतिसित सधैं मधुर व्यवहार गर्ने औ उसको दैनिक कार्यभार वहनमा प्रेरणा दिने । हस्त शिल्प कलामा निपुण, शिक्षिता, आधुनिक युगको नयाँ विचार धारासित आफूलाई गाभ्न सक्ने, तर त्यसो भनेर आधुनिक, युगको लै लै बतासमा सुकेको पत्कर झैं आफूलाई उड्न दिने होइन त्यसबाट रक्षा गर्न सक्ने । आधुनिक युगकी शिक्षिता भए पनि हाम्रो पुरानो संस्कृति तथा रीति- स्थिति, वेद-पुराणलाई रूढीवादी भनेर नहुत्याई तिनको मनन र आदर गर्ने; कर्मनिष्ठा, पूजा व्रतादि पालन गर्ने ।
तर यस प्रकारकी केटी जाँच्नु कसरी ? विवाह त आखिर चिट्ठा न हो । केटा र केटीले एक झलक एक अर्कालाई हेरेर वा फोटो देखेर मात्र आफ्नो मन्तव्य प्रकट गर्नुपर्छ । त्यो सुविस्ता पनि अचेल पो बल्ल दिइएको छ; त्यो पनि शिक्षित समाजमा मात्र । नभए त ‘कस्तो छ वा कस्ती छे भन्ने कुरामा पनि ‘चित-पट ‘ मै निर्भर गर्नुपर्थ्यो । एक झलक हेरेर फैसला गरेकोमा आफूले कल्पना गरेकै हुन्छ भन्ने के निश्चय ?
यस्तै द्विविधामा नै थिएँ । त्यसैताक एक दिन एक जना व्यक्तिले एउटी कन्याको फोटो लिएर पिताज्यूकाहाँ आए कन्यार्थी भएर । क्वाटर साइजको त्यो फोटो मैले पनि देखें । वास्तवमा ल्याएकै मलाई देखाउन थियो ।
निकै राम्रो निहारेर हेर्दा मैले एउटी कन्यामा खोजेका सम्पूर्ण गुण त्यस चेहरामा भए जस्तो लाग्यो । ‘मैले रोजेकी केटी यही नै हुनुपर्छ’ मसक्क आँटे । आखिर यो एउटा चिट्ठा न हो । ‘चेहरा नै मानव स्वभावको दर्पण हो’ भन्ने युक्तिमा भर परेर गार्हस्थ्य जीवनरूपी चिट्ठाको टिकट काटें । बिहा भयो । हार र जीत आफ्नो भाग हो ।
तर साह्रै नराम्रो हार खाएँ मेरो सोचाइको एकदमै विपरीत । आयो दिन कल, झगडा, अशान्ति । सधैं एउटा आतङ्क मनमा रहन्छ । विवाहको अघि अफिस पस्दा उल्टी हुन खोज्थ्यो अनि पाँचको घण्टी बजेपछि बेलुका घरलाग्दा आनन्द । अहिले त्यसको विपरीत छ । घरबाट बाहिर निस्कँदा शान्ति लाग्छ अनि घर सम्झँदा उल्टी हुन खोज्छ । Home Sweet Home भन्ने कविको जीवनप्रति आहारिस लाग्छ । के यही हो वैवाहिक जीवनको सुख ? खोई के भनूँ ।’
‘हन क्या हो योगी बाबा झैं ध्यानमग्न भई बसेको भात खान पर्दैन कि क्या हो ?’ धेरै बेर अतीतको स्मृतिमा अल्मलिएको रहेछु । श्रीमतीको स्वरले तन्द्रा टुट्दा पो बल्ल अघिनैबाट भोक लागेको कुरा सम्झें । विस्तारै उठेर भातको साथै धेरै चटनी खाने आशयले चूलातिर लागें ।
जीवनमा धेरै चिट्ठाका टिकट लिएँ, लिंदैछु । तर सधैं भरी हार मात्र खाएको छु । तैपनि एउटा सन्तक छ टिकट लिंदै जाऊँ कहिले न कहिले जीत होला ।
तर गार्हस्थ्य जीवनको चिठ्ठामा जुन हार भएको छ, त्यसमा मन बुझाउने बाटो देख्दिनँ न त नयाँ टिकटकै गुञ्जाइश छ । सबै कुराको निचोडमा उही अघि मित्रले भनेको सम्झन्छु, ‘जीवन संघर्षमय छ जे जसो भएपनि अघि बढ्नै पर्छ ।’
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।