‘अहँ, बस्तै नबसौ, गइहालौं,’ उसले मुखै बिगारेर भन्यो ।

‘किन र ?’

‘पैले जाऊँ, अनि कुरा गरौंला’- उसले भन्यो । उसको आशय मैले बुझें । बुझेर पनि पक्क परिरहें । ऊ मलाई वास्ता नगरेरै भर्याङ ओर्लन लाग्यो । ‘एक छिनपछि आउँला है आमा’ भनेर म साहुनीसँग अपराधीझैं बिदा हुँदै पछि लागें ।

सडकमा उभिएर ऊ एउटा लामो सास फेर्छ, भन्छ- ‘तिमीलाई मक्काएका दलिन भएको, थतार्किने तला भएको घरको पाँचौं तलामा निर्धक्क बस्न डर लाग्दैन ?’

उसले अधिकार जनाउँदै सोधेको छ ।

के जवाफ दिऊँ ? डर लाग्छ तर पनि डराएर साध्य छैन । लाग्दैन पनि । म भन्छु, ‘काठमाडौंका आधीसरो घर यस्तै छन् ।’

‘भए के भो त, तिमी र म डेरा गरी बस्ने मान्छेलाई ? हामी गतिलो घर भाडामा लिन्छौं’ – ऊ भन्छ ।

‘किन र भुइँचालो, तिमी र म त्यस्तो घरमा पाँचौं तल्लामा बसेको बेलामा आउँछ नै र ? ऊ सोध्छ ।

‘आउँदैन भन्ने के छ ? नआओस्, तर हामी सतर्क हुनुपर्छ ।’ ऊ भन्छ ।

‘सतर्क अँ, सतर्क, सगर खस्छ भनेर हुटिट्याउँले ठाडो खुट्टा लगाइबस्छ रे सगर थाम्न । हो हामी हुटिट्याउँ जस्तै सतर्क हुन सक्छौं, हैन त ?’ – म भन्छु । ऊ ठुस्किन्छ । हामी हिंडिरहन्छौं ।

धेरै वर्षपछि हाम्रो भेट भएको थियो । धेरै वर्षअघि हामी एउटै थालमा खाएर एउटै ओछ्यानमा सुतेर वर्षौं बिताएका साथी थियौं । झोला बोकेर कोसौं पैदल चहारेका थियौं । भोकभोकै या आधापेट चना-भुजा फुक्याउँदै ‘जनताको सेवा’ गरेका थियौं । हामी एउटै पार्टीका कार्यकर्ता थियौं र भन्दछन्, खुब सक्रिय थियो रे । पार्टीलाई हामीहरूबाट ठूलो आशा थियो रे !

तर अचेल सुकिलो लगाउने सिलसिलामा म सिआइडीगिरी गर्न लागेको थिएँ तर ऊ मैलो नै लगाइरहेको छ । तराईबाट भर्खर आइपुगेको थियो ऊ । मलाई त्यहाँको भूमिगत गतिविधि जान्नु अत्यावश्यक थियो, अतः मैले उसलाई एकान्त ठाउँमा रक्सी ख्वाउन लगेको थिएँ ।

तर ऊ ठेलैबाट फर्केर हिंड्यो ।

एउटा कार बेगले छेवैबाट गयो । उसले भन्यो- ‘काठमाडौंमा ज्यान क्यै पनि छैन हगि ? कसरी हाँक्छन् यहाँका मान्छे ।’

‘जहाँ पनि त्यस्तै हो, ज्यान जहाँ पनि सस्तो भएको छैन र ?’ म सोध्छु ।

‘छ, तर यहाँ दुर्घटना सस्ता छन् ।’

‘छन्, अब के लाग्छ ? आफू जोगिनुपर्छ’ -म भन्छु ।

‘कसरी जोगिन्छौ तिमी ? बाटो हिंडिरहँदा कुन मोटरसाइकलले कतिबेर धक्का दिने हो, के थाहा पाएर सतर्क हुन्छौ ? पेटीबाट हिंड्दा पनि कुन मोटर पेटीमै उक्लेर चेप्ट्याउने हो, कसरी अन्दाज गर्न सक्छौ तिमी ? सतर्कता भनेको गफ हो । त्यसो भनेर राम्ररी हेर्दै नहेरी बाटो काट भनेको होइन ? अँ, सतर्क भएर गल्ली र छिंडीहरूको बाटो पैल्याएर हिंड्न सकिन्छ । सवारीबाट जोगिने उपाय त त्यो हो तर त्यहाँ पनि पूरा सेफ छैन… गल्ली र गल्छेडाहरूबाट हिंडेर पनि मैले हेरिसकेको छु ती मक्काएका र बाँसको लिंगो जस्ता बाङ्गिएका धराप घरहरूको छेउबाट कसरी हिंड्नु ? के ठेगान आफैमाथि पो खस्ने हुन् कि, ती जगैदेखि चिरिएर बसेका ओधा, धराप ।’

ऊ चूप लाग्यो, तर मलाई बोलाइछाड्न मन लाग्यो । कुरा उप्काई मात्र दिएपछि ऊ भाषण दिनेछ-मलाई विश्वास भयो । भाषण त अघि हामी गाउँ-गाउँमा सँगै दिएर हिंड्थ्यौं, तर यस्ता खाले होइनन् । हाम्रा गुरुहरूको उपदेशअनुसार जनतामा चेतना भर्ने जनतामा क्रान्तिकारी उत्साह भर्ने कुराहरू फलाक्थ्यौं यस्ता फोबिया होइनन् ।

मलाई रमाइलै लागेकाले उकासें- ‘बाइरोडमा कसरी आयौ ? पैदल कि ?’

‘पैदल हिंडेर साद्दे छ यो जुगमा पनि । हेरन यी हामी पैदलै त हिंड्दै छौं, तर कुनै बेला पनि मर्न सक्छौं । म मरिन्छ भनेर मोटर, रेल, जहाज नचढ्ने मान्छे होइन, तिमीलाई थाहै छ, नचढेर सम्भव छैन … यो बेग्लै कुरा हो कि म तीभित्र रहुन्जेल कुनै पनि क्षण दुर्घटनाग्रस्त हुन सकिने सम्भावनालाई स्वीकार गरिरहेको हुन्छु यात्रा टुङ्गिदा मुक्तिको अनुभव गर्छु… मुक्ति !’

उसले लामो सास फेर्यो । मैले ठुटो चुरोट उतिर तेर्साइदिएँ । म चाहन्थें, ऊ थकाइ मारोस् । म उसलाई दया गर्न लागिसकेको थिएँ ।

‘चुरोट’ -ऊ भन्न थाल्छ, ‘चुरोट खान्छु, चुरोट खान्छु म, तर सैकडौं चोटि छाडिसकें… तैपनि छाड्न सकेको छैन चुरोटको गहिरो सर्को तान्दा म आफ्नो फोक्सामा क्यान्सर अनुभव गरिरहेको हुन्छु… साँच्चै हरेक चीजमा त्रास देखिरहेको छ… ।’

दोबाटे भट्टीबाट निस्कँदा नै म पूरा मातेको हुन्छु । मैले चाहेको थिएँ उसलाई मताउन र उसबाट कुरा सुन्न, तर अब मलाई उसबाट कुरा धुत्न अथवा नधुत्न वास्ता भएन । धेरैपछि भेट भएको साथी थियो, कतै माया पनि हुँदोरहेछ, पलाएछ ।

‘अघि हामी रक्सी खान्नथ्यौं हगि ?’ यसलाई हामी गरिबको रगत भन्थ्यौँ । तर आज खान्छौं । रक्सी खाएर पनि म निश्चिन्त भएको हुन्नँ । मलाई जति-जति मात लाग्दै जान्छ, उति उति लाग्छ मेरो कलेजो ड्यामेज भइसकेको छ। मैले बाँच्नु छ भने रक्सी खानु हुँदैन …तर मैले रक्सी छाड्न सकेको छैन ।

रक्सी खाएपछि ऊ बतौरो हुन्थ्यो, यो मलाई थाहा थियो । पार्टीको सच्चा भक्त हुनुअघि ऊ र मसँगै मात्थ्यौं र पछि मात्र छाडिदिएका थियौं ।

हामी ढुनमनाई पनि रहेका थियौँ । ..ढुनमनाउँदै पनि हामी फेरि सडक छेउको अर्को सस्तो भट्टीमा पस्यौं र थप्यौं । मेरो खर्च गर्ने स्थिति थिएन, तैपनि भात खाने पैसाले रक्सी खाँदै थिएँ । यस कुराले मलाई चिमोट्यो तर सजिलै मातिदिएँ । फेरि झन् ढुनमुनिंदै हिंड्यौं ।

सभ्य मानिसहरूले धन पछ्याए झैं एक बथान कुकुरहरू पनि एउटी कुकुर्नीको पछिपछि कुद्दै थिए- ङयारङयार-डुरङुर गर्दै । मैले एउटा कुकुरलाई लात्तोले भुक्क हिर्काएँ । कुकुर आक्रोश र वेदना मिसिएको स्वर निकाल्दै कुद्यो ।

ऊ भन्न लाग्यो- ‘किन कुकुरलाई यसरी जिस्क्याउँछौ, थाहा छैन यसको राल मात्रले हाइड्रोफोबिया गराइदिन्छ ।… म त छेवैबाट सद्दे कुकुर गयो भने पनि बौलाहा देख्छु । यसले नटोके पनि टोकेको देख्छु र आफूलाई हाइड्रोफोबिया भएर दौडिरहेको पो अनुभव गर्छु … ।’

अब मलाई उसका केही कुरामा विचार गर्न मन लाग्न थाल्छ ।

अब म साँच्चै गम्भीर भएर सोध्न थाल्छु- ‘उसो भए तिमीलाई मान्छेसँग पनि त डर लाग्छ होला ?’

ऊ भन्छ, ‘अवश्य । सबभन्दा खतरनाक प्राणी मान्छे नै हो । यसले कुनै पनि बेला तिमीलाई पछिल्तिरबाट छुरा हान्नसक्छ । लात्ती हान्नसक्छ । घाँटी मस्काउन सक्छ। त्यसैले तिमीले याद गरेका हौला म लगातार एकैतिर हेरेर उभिन सक्तिनँ । म टाउको घुमाइरहन्छु । मलाई आफ्नो पिठ्‌यूँतिरबाट सबभन्दा डर लागिरहेको हुन्छ ।

‘मैले तिमीसँग पनि डराउनुपर्ने हो, तर कुन्नि किन डराइनँ, एउटा तिम्रै निजी कुरा भन्छु, माफ गरे, तिमी सीआइडी हौ, मलाई थाहा थियो, तर तिमीसँग सङ्गत गर्न मैले आपत् देखिनँ, किनभने तिमी पेटको लागि त्यो गर्दैछौ, अब म चाहन्छु, राम्रो स्यावास मलाई पनि यस्तै (वा कस्तै पनि) एउटा नोकरी खोजिदेऊ ।’

उसको कुराले मलाई भातमा सितन हालिराखेको थियो, तर जब उसले म सीआइडी भएको कुरा भन्यो, मेरो मात उड्यो । मलाई जाडो लाग्न लाग्यो । मैले सोधें- ‘पार्टीको काम गर्देनौ ?’

‘गरिराछु अहिले म भूमिगत छु । तर अब नगर्ने विचार छ । अब म पनि बिक्ने विचारमा छु । हाम्रा ठूलाबडा नेता सजिलै बिकेका छन् भने तिमी र म बिक्नु के कुरा हो, हामी त साधारण कार्यकर्ता नै हौं ।’

म पक्क परेँ ।

उसले भनिसक्यो ।

‘जब केहीमा आस्था थियो- बाँच्न र मर्न सजिलो थियो । यस अर्थमा ईश्वरमा आस्था राख्ने हाम्रा पुर्खा सुखी थिए । ती दिन सम्झ जब तिमी रममा आस्था थियो । आज छैन । नभएर नै जस्तो लाग्छ म हृदयको साह्रै दुर्बल भएको छु ….त्यसैले म पार्टीको काम गर्दिनँ । अब .. म बाँच्न चाहन्छु जसरी सबै बाँच्तछन् ..कुकुर जस्तो भए पनि …।’

हामी टुँडिखेल पुगेका थियौं । मैले फेरि एक बोतल खुकुरी रम किनेको थिएँ । सक्दो घुट्को निल्दै भनें- ‘हामी बाँच्छौं । हामी रक्सी खाएर पनि त बाँच्छौं नि, भात खान नपाए…।’

आज मलाई ती धेरै रातहरू सम्झना आइरहेका थिए- जब हामी भोकै सुतिरहेका हुन्थ्यौं र हामीलाई सिद्धान्तको आस्थाले बल दिइरहेको हुन्थ्यो । हामी एकअर्कोलाई झन् माया, झन् झन् माया गरिरहेका हुन्थ्यौं – हो आज मलाई उसको त्यस्तै माया, त्यतिकै माया, अझ त्यो भन्दा पनि बढी माया लागिरहेको थियो ।

उसले दुई तीन घुट्का लगातार खायो र भन्यो- ‘यो टुँडिखेल होइन ? … म यी शान्त दूबाहरूमा भर्खरै पड्केका बन्दुकका नालको तातो अनुभव गरिरहेको छु । मलाई लाग्छ, म कता-कता युद्धक्षेत्रमा छु … मलाई दूबोसँग डर लाग्छ ।’

म सुनिरहें ।

ऊ झोक्रायो ।

सिसी सिध्याएर म पनि झोक्राएँ ।

‘साँच्चै म युद्धक्षेत्रमा बस्न चाहन्नँ, म जान चाहन्छु …तर मेरो डेरा छैन, हिजो आएको भनेर मैले तिमीलाई ढाँटेको मात्रै हुँ, म आजै आएको हुँ, मसँग केही पनि छैन ।’

ऊ उठ्न खोज्छ । म भन्छु- ‘मसँग छ नि सबै थोक, डेरा डन्डा ।’ तर ऊ एक पाइला चाल्न नसकेर भुक्लुक्क ढल्छ ।

म पनि ढल्छु ।

ऊ बर्बराइरहन्छ- ‘यो टुँडिखेल युद्धक्षेत्र नभए निरापद् हुने थियो, निरापद्… ।’

(‘जगदीश घिमिरेका प्रतिनिधि कथाहरू’ बाट)