‘हजुरको विचारमा प्रेम के हो ? भन्नुस् त !’

‘मलाई के था त ! तँ नै जान्नेसुन्ने होस् क्यारे यस्ता विषयमा,’ सुजाताले व्यंग्य मिश्रित पाराले जवाफ दिई ।

‘पाँच वर्षपछि त बल्लतल्ल भेट भएको छ, कत्ति छरिनुहुन्छ । मैले समेट्न पनि जानेको छु है ।’ सुजाताको नाकलाई च्याप्प समातेर दायाँबायाँ गर्दै मधुरकवि बडबडायो ।

मधुरकवि उपाध्याय र सुजाता शर्मा प्रेमी हुन् । मधुरकवि प्राथमिक स्कूलको प्रधानाध्यापक हो भने, सुजाता क्याम्पसकी लेक्चरर । मधुरकविको घरमा असाध्यै राम्री श्रीमती, एक छोरा र एक छोरी छन् । श्रीमती सामान्य लेखपढ गरेकी गृहिणी हुन् । परिवार हाँसीखुशी छ ।

उता सुजाता उच्च शिक्षित, प्रभावशाली व्यक्तित्वकी धनी महिला । उनी पनि विवाहित हुन् । दुई सन्तान छन् । पतिको आफ्नै व्यवसाय छ । माध्यमिक तहसम्म मात्रै अध्ययन गरेका उनका पति व्यवसायमा व्यस्त रहन्छन् । सुजाताको परिवार पनि मजाले हाँसीखुशी नै चलेको छ ।

मधुरकवि महिलाहरूलाई साह्रै सम्मान गर्छन् । आफ्नो पत्नीलाई कहिल्यै पनि तिमी वा तँ भनेको सुनिएको छैन । अझ सुजातालाई त झन् बढी सम्मान गर्छन् ।  सुजातालाई मधुरकविको सारा आनीबानी, बेहोरा, स्वभाव थाहा छ । यस कुरासँग मधुरकवि परिचित छन् ।

“हेर न ! कत्ति सताउन सक्या यार !” मधुरकविले सुजातालाई अँगाल्दै भन्यो । “ए लेक्चरर साहेबनी ! मलाई एक पिरियड प्रेम पढाउनु त देऊ !”

“पढाउने हैन आज प्रयोगात्मक गर्ने हो, हुस्सु हेडमास्टर !” भन्दै सुजाताले मधुरकविको निधारमा चुप्प आवाज आउनेगरी चुम्बन गरी ।

दुवैजना शिक्षा विभागको तालीमको बहाना बनाएर भेंडेटार पुगेका हुन् । भेंडेटार यो गर्मीमा पनि शीतलशीतल नै हुन्छ ।

यी दुवैको प्रथम परिचय कोरोना संकटको बेला शिक्षा विभागले चलाएको एउटा जूम मिटिङमा, संयोगवश भएको थियो । त्यो अनलाइन भेट थियो । आजभन्दा ठ्याक्कै साढे पाँच वर्ष पहिले ।

हेलो हाइबाट शुरू भएको सम्बन्ध, फेसबुक, म्यासेन्जर हुँदै मुटुसम्म पुगेको अरे !

प्रेमको विषयमा हाम्रो समाज त्यसै पनि निकै अनुदार छ । अझ महिलाको संवेदनशीलता त यो समाज पटक्कै बुझ्दैन । त्यसैले वैवाहिक जीवनमा सबै थोक भएर पनि, के नपुगेको, के नपुगेको जस्तो भैरहन्छ । प्रायः वैवाहिक जीवन राम्रै चलेको जस्तो लाग्छ । लाग्नु र हुनु त एउटै हैन नि । हो ! सुजातालाई यस्तै फील हुन्थ्यो अरे ।

“आफ्नी स्वास्नीलाई हपार्दै र झपार्दै गरेको लोग्ने देख्दा मलाई यस्तो लाग्छ मानौं सिस्नुले ढकमक्क गुलाफमाथि प्रहार गरिरहेको होस् ।”  मधुरकविले आफ्नो फेसबुकमा यो स्ट्याटस पोस्ट गर्‍यो । पहिलो लाइक सुजाताले गरिन् । लभ रियाक्ट । मधुरकविको मन सनन्न भयो । साढे पाँच वर्ष पहिलेको कुरा । त्यो प्रारम्भ रहेछ । अहिले दुवैजना सम्झन्छन् र उन्मुक्त हाँस्छन् ।

खै के सम्झेर हो सुजाता अट्टहास गर्दै हाँसिन् । भेंडेटार नै हल्लिए जस्तो गरी त्यो लजको कोठा गुञ्जयमान भयो ।

“हत् ! के सारो छाडा हुनुभा ! लजमा पनि यस्तरी हाँस्ने हो ?” मधुरकविले मधुर आवाजमा भन्यो ।

“ए डरपोक ! कति सारो लाछी होस् ? प्रेम उन्मुक्त हुन्छ भन्छस्, फेरि मेरो हाँसो नि थाम्न सक्दैनस् तँ हेडमास्टर !” सुजाताले झन् जोडले उसलाई अँगालोमा कस्दै भनी ।

यी दुई जनाले अनौठो सहमति गरेका छन् ।

मधुरकविले सुजातालाई सम्बोधन गर्दा ‘हजुर’ वा ‘तपाईं’ भन्ने । सुजाताले ‘तँ’ वा ‘तिमी’ भनेर सम्बोधन गर्ने । यो नियम प्रस्ताव गर्ने मधुरकवि र अप्ठ्यारो मान्दै स्वीकार गर्ने सुजाता ।

यो नियम आजभन्दा पाँच वर्षअघि, पहिलो भेटमै लागू गरिएको थियो । जब यो नवोदित प्रेमजोडीले ओखलढुङ्गाको एउटा लजमा पहिलो रात सँगै बिताएका थिए । अझैसम्म यो नियम पालन गर्दै आएका छन् ।

“अहँ अहँ हुन्न ! नचाहिने, नचाहिने नियम लाउन नपाई,” भन्दै सुजाता तर्किन खोजेकी थिई तर मधुरकविले व्याख्यात्मक टिप्पणी मार्फत सुजातालाई मनाएको थियो ।

“हेर्नू साना ! यो नियम खास कारणले प्रस्ताव गरेको हुँ ।”

प्रेमिल वार्तालापमा मधुरकवि सुजातालाई धेरै नामले पुकार्थ्यो । सुजी, सन्नी, साना, मोट्टी, टुल्की, आँख्ली, काली, छुच्ची, रानी, सानी, कालू आदि आदि।

“ल ल हामी पनि सुनौं त हेडमास्टरे व्याख्या !” मोट्टीघाटी सुजाताले मधुरकविलाई कर्‍याप्पै पारेर अँठ्याएकी थिई । मधुरकविले मज्जा भन्दा माथिल्लो श्रेणीको मज्जा अर्थात् आनन्दभाव अनुभूत गरेका थिए । यो ओखलढुङ्गा बसाइँको बेलाको कुरो ।

सुजाताको निधार, गाला, चिउँडो, ओठ सबैतिर चुम्बन गर्दै बोल्यो, “तिमीमा बेजोड स्वाद छ साना ।”

सुजाताको सिंगो शरीर तरङ्गित भयो । आवाज शायद लठ्ठिनै थालेको थियो, सुजाताले भनी, “खै त हजुरको हेडमास्टरे व्याख्या ? छिटो सुनाइस्यो न ! म सुन्छु क्या !”

मधुरकविले सुजाताको अल्खावाल कपाल सुस्तरी सुस्तरी खेलाउँदै बीचबीचमा स्निग्ध चुम्बन गर्दै भन्यो, “हेरिस्योस् मेरी मोट्टी मायालु ! यो समाजले शताब्दिऔं देखि नारी उपर चरम शोषण, भेदभाव र अपमान गर्दै आएको छ । म स्वयं पुरुष जातिको हुनाले यो अपराधको हिस्सा मेरो भागमा पनि पर्छ । म हजुरसँग, पुरुष जातिले गरेको यो अपराधको प्रायश्चित्त गर्न चाहन्छु । त्यसैले  हाम्रो प्रेममा मातृसत्ता द्वारा पितृसत्ताको दमन गर्नुपर्छ मिलेर ।”

“अब आइन्दा मैले तिमीलाई ‘हजुर’ वा ‘तपाईं’ भनेर सम्बोधन गर्नेछु भने तिमीले मलाई ‘तँ’ वा ‘तिमी’ भनेर सम्बोधन गर्ने ।”

“हाम्रो समाजले पतिलाई सदा सर्वश्रेष्ठ मानेर पत्नी उपर लादेका अनगिन्ती अपमानजनक व्यवस्थाहरू उपर एकातर्फ हामीले कठोर प्रहार गर्नुपर्छ भने, अर्कोतर्फ फरक सम्बोधनको फरक मिठासको चास्नीमा डुब्न पनि पाइन्छ। बुझ्नुभो माई स्वीट हर्ट ?”

यो सुनेर सुजाता असाध्यै धेरै खुशी भएकी थिई । असाध्यै खुशीको मौकामा उसले भनी, ‘हेर हेडमास्टर ! तेरो पनि आफ्नो घरपरिवार सबै छ, मेरो पनि आफ्नै संसार छ । तर यस्तो लाग्छ तँ बिना सबै अधुरो छ ।’

“मेरै डाइलग मलाई नै हान्ने ?” मधुरकवि अलि जोडले बोल्यो ।

“हैन के डियर ! तँसँग जुन आनन्द पाउँछु नि त्यो आनन्द अतुल्य छ । तँसँग बोल्दा, हिंड्दा, बस्दा यस्तो लाग्छ कि सारा संसारको आनन्द मेरै मनमा चढेजस्तो । एउटा स्वर्ग मेरै पाउमा झरेजस्तो ।”

फेरि चुम्बन र स्पर्शको अर्को चरण शुरू भयो ।

“हजुरको शरीरको सुवास नै कातिल छ,” मधुरकवि सुजाताको कानमा फुस्फुसायो ।

“तिम्रो शब्द, भाव, र स्वभाव मेरो कमजोरी हो मधुर ! तिमी शब्दमा सरल र स्पर्शमा ज्यादै कडा छौ मधुर ! यही कुराले त मलाई लोभ्याइरहन्छ ।”

“हजुरको अङ्ग अङ्गमा अलग-अलग सुगन्ध र अलग-अलग स्वाद छ काली,” नीलो रङ्गको जिरो वाट बल्वले कोठामा कामुकता झन् बढाइरहे जस्तो लाग्यो ।

“अरुण उपत्यका भन्दा गहिरो हजुरको नाभि, ठ्याक्कै मनास्लु हिमाल जस्तै  वक्षस्थल, रारा ताल जस्तो हजुरको ललाट,हे लम्बुको स्याउ जस्ता गाला अनि मलाई गिज्याउँदै बोल्ने पारामा सारा जगतको प्रेम पनि शायद कम नै होला साना !”  मधुरकवि बोलिरह्यो । मधुरकविको मुख मात्र हैन हात पनि उसैगरी चलिरहेको थियो ।

“तिम्रा दुइटै हात उत्तिकै बदमास !” सुजाता बोली !

“अँ ! हजुरको हात चाहिं कत्ति सज्जन नि ! हजुरका खुट्टा झन् उस्तै सज्जन ! सबैभन्दा सज्जन त हजुरको मुख पो त !” अन्तैबाट तानेर मधुरकविले सुजाताको मुखमा आफ्नो मुख जोड्यो ।

“अर्को नियम बिर्सिस् हेडमास्टर ?” सुजाताको लर्बरिएको आवाज ।

“म कसरी बिर्सन सक्थें र मेरी प्यारी प्रोफेसर,” मधुरकविले जवाफ फर्कायो ।

“प्रेम कुनै नियममा बाँधिएर बस्ने तत्त्व हैन, बुझ्नुभो साना ?”

“उतिवेलाको व्याख्यात्मक टिप्पणीमा यो अंश पनि समावेश थियो नि !”

“जब प्रेम शब्दबाट श्वासमा अनि स्पर्श हुँदै समर्पणको सर्वोच्च बिन्दुमा पुग्छ, प्रेमले सारा नियम, कानून, विधान र प्रावधान तोडिदिन्छ ।” प्रोफेसरले हेडमास्टरलाई सम्झाई ओखलढुङ्गा बसाइँमा बोलेको त्यो कुरा ।

हेडमास्टरले मुसुक्क हाँस्दै, कति बाठी ! भन्दै प्रेममा सारा नियम टुट्ने त्यो क्षण नै परम आनन्दको क्षण हो नि भन्दै सही थप्दै भनेको थियो, “समाधि तुल्य चरम आनन्दको क्षण ।”

“प्रेममा प्रकृतिको नियम बाहेक मान्छेका सारा नियम टुट्नुपर्छ ! अनि पो प्रेम !” दार्शनिक पाराले सुजाताले थपी ।

अनि सुजाता र मधुरकवि दुवै जना मिलेर आफैंले बनाएको त्यो नियम सुस्तरी सुस्तरी तोड्न शुरू गरे !

“जतिजति नियम तोड्यो उतिउति मजा है हजुर ?” सुजाता बोली ।

“हाम्रो प्रेममा हेर न ! अहिले मातृसत्ता कति प्रबल भएको छ ।” मधुरकविले जवाफ फर्कायो ।

“हजुर मलाई यस्तरी पागल बनाई दिसिन्छ, अनि म के गरूँ त !”

“सुजाता ! मेरी रानी ! तँ यस्तै प्रबल भएको मलाई मन पर्छ बुझिस् ।”

“फेरि मलाई तँ भनिस्योस् त मेरो राजा !” सुजाता मानौं गलेको साग जस्तै भई ।

“मेरो मधुर ! हजुर पूरै जंगली बनिस्योस् है !”

“सनि ! मेरो साना ! तँ जत्तिको जंगली त को बन्न सक्ला र ?”

अनि सुजाता मुग्ध भएर हाँसेको सुनियो ।

भेंडेटार झन् भन्दा झन् शीतल हुँदै गयो । मजाले बतास चलिरहेको थियो तर, त्यो लजको कोठाको ‘एटमसफेयर’ भने बिछट्ट बेग्लै ।

मानौं एकसाथ बादल, वर्षा र हुरी चलेजस्तो, सात सूर्यको तेजले सर्वश्व जले जस्तो ।

अनि यही मौका छोपेर, सुजाता र मधुरकवि  सारा लादिएका र थोपरिएका सामाजिक, धार्मिक, नैतिक, पौराणिक  नियमहरू तोडिरहेका थिए ।

– मदनकुमार अधिकारी