माटोभन्दा बढी ढुङ्गाले भरिएको उजाड बारी छ । झार पात पनि उम्रन गाह्रो मान्छ त्यो ठाउँमा । अन्न फल्ने त झन् कुरै भएन । घाम पर्छ तर छिटै सूर्यस्थ हुन्छ अनि ओझेल पर्छ । पानी पँधेरो पुग्न एक घण्टौं यात्रा गर्नुपर्छ । चैत वैशाखको धूपमा काकाकुल पनि एक घुट्को पानी पाउँदैन, वरिपरि कहीं । ठूलाठूला दाह्रे ढुङ्गाहरू छन् । हिंड्दा लडिहाल्यो भने त ज्यानै जाला भन्ने डर….! तर मानिसहरू बसेकै छन् ।
त्यही ठाउँमा मनमायाको जन्म भएको हो । खरले छाएको एउटा सानो झुपडीमा । बाआमा सँगै बस्थिन् उनी । मुटुकै धड्कन जस्तै बाआमाकै प्यारी छोरी ! उनी एक मात्र छोरी थिइन् । दुई वटा छोरा पछिको पेट पुछुवा । जुग जमाना धेरै लाटो थियो । मनमायालाई पढाउनु पर्छ भनेर बाबाआमाले सोचेनन् । कपुरी क पनि चिनाउने कष्ट गरेनन् कसैले । “बाबा मलाई स्कूल जान साह्रै मन छ ।” मनमायाले भनेकी हुन् । तर बाबाआमाले सुनेको नसुन्यै गरेछन्..!
“घाँस काट्न जाऊ, वनमा बाख्रा चराउन जाऊ ।” भन्दै टारेछन् ।
“तिमी बरु चुप लागेर बस । किन स्कूल जानुपर्यो । छोरीले पढेर के नै हुन्छ र ?” बाबाआमाको सिधा उत्तर यही हो । यो कुरा सुनेर मनमायाको मनै कटक्क काटिए झैं भयो । तर उनी के नै गरुन् । अबोध बालिका । सुनिरहिन् सबै कुरा..!
पहाडको ठाउँ स्कूल नजिकमा बनेकै थिएनन् । टाढाको बाटो हिंडेर को नै पठाउने छोरीलाई पढ्न । घरको काम छोडीछोडी ! छोराहरू कताकता जान्छन् । सानै भए पनि छोरीले साथ दिंदा बाआमा त्यसै दङ्ग ! दाउराको मुठो ल्याएर आउँदा पनि पैसाकै मुठो ल्याएझैं गर्ने बाआमा, “स्याबास मेरी सानु मनमाया ।”
सानैमा घरको कामले च्यापेरै होला ज्यान पनि बट्टाई नै रहेछ मनमायाको । उमेर बढेर के गर्नु मनमाया बढ्न सकिनन् । भीर, पाखा र पहाडका जङ्गलमा गाईभैंसी चराउँदै, गोबर सोहोर्दै शुरू भएको रहेछ उनको जिन्दगी ।
मनमायालाई सबैले माया माया भन्थे । केटाकेटीहरूले त माया दिदी नै भन्थे । वन, पाखा डुलेर आउँदा बच्चाहरू हातैमा झुन्डिन खोज्थे । मनमाया पनि मनैदेखि माया गर्थिन् । बच्चाहरूलाई मायाले सुमसुम्याउने उनको बानी रहेछ ।
तर केटाकेटीपन मै उनी कसैको परिबन्धनमा परिन् । जुन कुरा चाहेर पनि उम्किन सकिनन् । कर्म कै खेल हो वा कसैको झेल हो । बुझ्नै गाह्रो
समाजमा बालविवाह गर्न हुन्न भन्ने चेतना थिएन । दश वर्ष पनि नपुग्दै डोली चढाइदिएका हुन् बाबाले । मनमाया सम्झेर भक्कानी नै खोजिन्, “म सानै थिएँ । बिहे गर्ने कुरा भयो । मैले त मेसै पाइन जाद्रै । दुईदुई जना दाइ थिए । तर मलाई पो हत्तपत्त लखेटे ।” आफ्नै शरीर पनि सम्हाल्न नसक्ने अवस्था । घरको त कुरै छाडौं ।
बाबाले केटो भेटे हतारै भयो उनलाई पनि । मानौं कि अन्त कोही जन्मे कै छैन जस्तै गरेर । गाउँलेहरूले नै सबै कुराको तारतम्य मिलाएका रहेछन् । बिहे भयो खोला पारिको मनहरिसँग । जाँडरक्सी नपिउने । चुरोटबिंडी नतान्ने सोझो बाहुनको छोरो रहेछन् । अलिअलि अक्षर चिनेका मान्छे । हेर्दै लोभलाग्दो..। जीउडाल पनि साह्रै मिलेको । लगन जुटाएर कुरा छिन्ने काम गरिहाले ।
पञ्चेबाजा बजाएर बेहुली अन्माए । ज्वाइँ पनि अठार वर्षको लोर्के जवान । तर कताकता उमेर नमिल्दो जोडी । “ए सानी अब तिमी घरबार चलाउन जौ है !” बाबाले यति भनेर डोलीमा सुम्पेर दिए पराईको छोरोलाई । घरमा त पुगिन् मनमाया । तर घर पो कसरी धानून् ।
मनमायालाई आफ्नै आँगन पोलेर दिए बाबाले । तर बाबाको मन पोल्न छाडेन । छोरीको मायाले धेरै छटपटी भयो । आमा पनि रोएरै रात काटिन् ।
* * * * * * *
मनमाया दुलहीको पहिरनमा चिटिक्क परेर घरमा पुगिन् । धूमधाम खुशी र हर्षमा भित्राए बुहारी । सासूससुरा पनि बुहारी कहिले घर धान्ने होलिन् भनेर रनभुल्ल परेछन् । देख्नेहरू पनि खुबै हेरिरहे मनमायालाई, “आहा ! कति राम्री बुहारी !”
बेहुली बनेर भित्रिएको चार दिनमै माइती घर फर्किएकी हुन् मनमाया ।
“अब म बाबा कै घरमा बस्ने हो । म अन्त जान सक्तिनँ ।” भनेर अड्डी कस्न थालिन् । बाटोमा खोला, जङ्गल, भीर र पहिरो छ । जन्तु जनावरको डरले त सातै गएछ बरा मनमायाको । केको घरबार बस्ने हो उनी त बाबाकै घरमा पो अड्डा जमाउने भइन् । वर्षहरू बित्दै गए । माइती कै चुह्लोचौको मै ।
तर उता मनहरि अर्को घरजम पो बसाल्ने सुरसार कस्न थालेछन् । जवानीले धरबास नदिंदा । के भयो यस्तो नचिताएको कुरा ? माइतीले सबै कुराको सुइॅंको पाए । बल्ल बुद्धिको बिर्को खुल्यो बाबाआमाको । बाबाले बल्ल छोरी लिएर गए र ज्वाइँलाई सुम्पिए जवान छोरीलाई ।
* * * * * * *
बीस वर्षकी मनमाया अलि धेरै लजालु स्वभावकी हुँदै गइन् । छिटै दुई जीउकी भइन् । घर जोडेको बाह्र वर्ष बित्नै लाग्दा । कलकलाउँदो छोरा जन्मियो । दैवको लीला बिरामी परेछ बच्चा नराम्ररी । झारफुक पनि खुबै गरे । तर मनमाया माइती बस्न आएकै बेला बच्चा बित्यो । वर्ष दिनको नहुँदै खोसेर लग्यो दैवले त्यो खुशी । कठै ! मनमायाको के हालत भयो होला….!
दैव पनि कति निस्ठुरी रहेछ । सबै जना धेरै रोए..! “कलिलो बिरुवा लग्यो ईश्वरले । वर्षको नहुँदै !” मनमाया धेरै रोइन् । छाती पिटीपिटी ! त्यो कोखको घाउ दुखेर आयो झनझन् ! बल्झियो धेरै दिन । न रातमा निद्रा, न दिनमा भोक । मात्र मनमा शोक ! मनमाया सुकेर गइन् । महिना दिनसम्म पेटमा पानी पनि परेन ।
उता घरतिर बच्चा बितेको खबर सुनेर मनहरि आगो भए । तर सहनुको विकल्प रहेन । “अब जति बिलौना गरे पनि सुन्ने होइनन् भगवानले । लगेर हिंडेपछि हिंडेहिंडे । हे दैव कति कठोर छौ तिमी !”
अन्ततः मनमाया रित्तो काखमै घर पुगिन् । जिउनै पर्नेभयो मुटु माथि ढुङ्गा राखेर !
जब उनी घर पुगिन् । रुवाबासी चल्यो धेरै बेरसम्म । तर दैवको लीला भन्दै सबैले सहेर बसे ।
“जिन्दगी हो मर्न नसकिने रहेछ । झाल रहेमा फूल त लाग्ने नै छ फेरि पनि । कृपा रहेसम्म प्रभुको ।” सासूससुराको कथन हो । सबैले धेरै सम्झाई बुझाई गरिरहे दुवै दम्पतीलाई । जति नै सम्हाले पनि त्यो मुटुको टुक्रालाई सम्झी नै रहे सधैँभरि ।
यसै बीचमा दुवैजना बिरामी परे । मनहरि त टाउको उठाए बल्लबल्ल । तर मनमाया धेरै नै गम्भीर बिरामी परिन् । सबैले माया मारे । बच्चा त गयोगयो आमा पनि गुमाउने डर भयो सबैमा । “मलाई ठिक हुन्छ । चिन्ता नगर्नू ।” मनमायाले सबैलाई भरोसा दिलाइन् । मनहरि धेरै रोए । जीवनसँगिनी गुम्ने हो कि भनेर ..। तर महिनौं दिनपछि उनी बौरेर उठिन् । सुधार हुँदै गयो । परिवारमा खुसीको सीमा रहेन ।
वर्ष दिन बितेपछि फेरि दैवले कृपा राखेर सन्तान दियो । खुसी छायो परिवारमा धेरै नै । कन्या जन्मेर छ महिना नहुँदै बज्रपात भयो फेरि । “हे दैव मला२ नै किन यसरी पीडा दिन्छस् । मैले के गर्नु-नगर्नु गरेको छु र ? दुवै सन्तान लगिस् । सम्हाल्नु पनि कसरी ? दुवै बाला सन्तान चिहानमा गाडेर ।” मनमायाले आफ्नै कर्म खोटो रहेछ भन्थिन् । नियति कै लीला उनको के दोष हुनु..।
मनमायाको मन धेरै फाट्यो । अति नै सम्झाउँदा पनि रोकिएनन् अश्रुधारा । पानीपानी भएर बसिन महिनौं सम्म । उता मनहरि सुकेर लौरी नै भए दुई सन्तान गुमेको पीडामा । तर ज्यान फाल्न नसकिने रहेछ भन्दै मन कठोर बनाएर बाँच्ने कसम खाए । बरु सम्झाइरहे मनमायालाई, “हरेस नखाऊ माया । म मरेको छैन । आफ्नो ज्यानको ख्याल राख्नू । झाल रहे बतिलो लाग्ने नै छ ।”
“यो बच्चा पनि माइतीमै गएको बेला खेर गयो । माइती जानु पनि दुर्भाग्य झैं हुँदो रहेछ, दिन दशा बिग्रे पछि !” मनमायाले धिक्कारिन् जिन्दगीलाई ।
बिस्तारै दिन बिते । महिना र वर्ष बिते । तर ती बालाहरूको सम्झना हटेन मनबाट । दिनरात रोएरै कटे तर केही पनि राम्रो समाचार भएन । मनमायाको जीवनमा । बरु शोकले पीडामा पर्दा आफै धन्नै मरिनन् । ठूलो कष्टपछि चाहिं बिस्तारै पुनः तंग्रिन थालिन् । मनहरि मनमा हरि भएका मान्छे रहेछन् । खुबै माया गरे आफू शोकमै डुबेर पनि ।
अर्को पटक त पक्कै भगवानले सोझो चिताउला भन्ठानेरै दुवै जनाले सल्लाह गरे । अनि कुर्दाकुर्दा तेस्रो सन्तान पनि वास गरेछ कोखमा । यो सुखद समाचारले दुवै जनाले लामो सास फेरे । अनुहारमा खुशी भरियो । जिउने आधार भेटे झैं भयो । मनको पीड थोरै भए पनि कम भयो ।
आशैआशमा दुवै जना बसे । यस पटकको नौं महिना एक जुनी लाग्यो दुवैलाई । समय आयो तेस्रो सन्तान पनि आइन् । कन्या नै थिइन् । बल्ल मनमायाको आँसु पुछियो । अलिकति भए पनि हलुका भयो हृदय । जिउने आधार भेटियो । दुवै रमाए ।
दुवै जनाले औधी माया गर्थे । मन थन्काउने ठाउँ भेटेर होला । राम्री गुडिया नै थिइन् नानी पनि । नाम पनि नम्रता राखे । घरमा लक्ष्मी पसे झैं भयो कन्याको आगमनले । बिग्रेका कामहरू पनि बन्न थाले । आगोले जलेको मन थोरै भए पनि निभ्यो । नानी बढिनन् मात्रै सबैको खुशी पनि बढाइन् । घरमा र आफन्तहरूमा समेत । समय बितेको थाहै भएन । खुसीको त्यो क्षण !
चार वर्ष बितेपछि उनले भाइ पनि बोलाइन् । अब त झन् खुसीको सिमानै रहेन घरमा । मनमायाको जीवनमा ।
दुई सन्तान ईश्वरकै वरदान । रमेर जिउन थालिन् मनमाया । मनहरि पनि औधी खुसी भए । सन्तानको मुख हेरेर बस्थे सधैंजसो । हाँस्थे, खेल्थे बच्चासँगै । सानो छोरा धेरै नै राम्रो थियो ।
दुईदुई पटक लागेको घाउ निको भएझैं महसूस गरे दुवैले । कहिलेकाहीं दुवै जना झस्कन्थे ती दुःखका दिन सम्झेर । कोख रित्तो नहुने तर काख रित्तो हुने त्यो समय ।
“जे भए पनि आधा सन्तान हात मै दियौ भगवान् !” चित्त बुझाए । हृदयबाटै ढोगे ईश्वरलाई । जीवन धन्य भएको स्वर्गानुभूती गरे दुवैजनाले ।
सन्तान गुमेको शोकमा मनमाया धन्न आफै सकिएर गइनन् । मृत्युको मुखबाट बचिन् र यो सृष्टि धानिन् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।