राम्रोसित उज्यालो भएको थिएन ।

लेखक हतारसित पुगे पाठकको घरअघि । दैलो खोलेर  आँखा मिच्दै पाठक बाहिर निस्किएर आए ।

‘यति बिहानै आइपुग्नु भयो त ?’ पाठकको सवाल थियो ।

‘हिजो राति एउटा नयाँ कथा लेखें र तपाईंलाई सुनाउन आएको,’ लेखकको जवाफ थियो ।

‘ख्वै  के लेख्नु हुन्छ र तपाईंहरू ? उही पुरानो,  गतानुगतिक… ‘ निराश स्वरमा पाठक बोले ।

‘होइन, यो कथा पढेर तपाईं छक्क पर्नुहुन्छ । यति विश्वास छ मलाई ।’

‘म त छक्क पर्छु तपाईंहरूको हतार देखेर ।  यति वर्षदेखि लेख्दै आउनुभएको छ,  तर नयाँ मात्रा, केही नयाँ दिशाको उन्मोचन छैन तपाईंहरूको लेखनशैलीमा…’

‘के भन्न खोज्नुभएको ? यतातिर केही लेखिएको छैन त ? यस भेकमा लेख्न थालिएको एक सय सालभन्दा धेर भयो । राम्रा कृति पटक्कै छैनन् भनेर कसरी भन्न सक्नुभयो ?’

‘छन्, तर धेरै छैनन् । तपाईंहरू भन्नुहुन्छ, मेरा यति ओटा पुस्तक निस्किए, फलानो पुरस्कार पाएँ । तर खोइ युगान्तकारी कृति ? पाठकले कति दिनसम्म सम्झनामा राखेका छन् तपाईंहरूले लेखेका रचनाहरूलाई ?’

‘तपाईं एक जना सचेत पाठकको हैसियतले यस्तो भन्न सुहाएन…’

‘केही भन्नथाल्यो भने रिसाइहाल्नु हुन्छ, त्यसैले मलाई भन्न मन छैन ।’

‘होइन, भन्नुहोस् । मेरो सुन्ने शक्ति छ । तर तपाईंले भने जस्तो केही पनि राम्रो लेखिएको छैन, यो वाक्यलाई चाहिं पचाउन सकिएन ।’

‘छन् । मेरो सिद्धान्तमा, यस अञ्चलमा राम्रा लेखक दस-बाह्र जना भन्दा धेरै छैनन् । पुराना र नयाँ मिसाएर हेर्दा नयाँहरू झन् झरिला पो देखिन्छन् ?’

‘तर, खोइ स्वीकृति छैन ।’

‘स्वीकृति र  पुरस्कारको मोहमा नपर्नुहोस्, बर्बाद हुनुहुनेछ ?’

‘किन ? एक जना लेखकको अन्तर्मनले स्वीकृति चाहँदैन र ?’

‘पाठकहरूको आग्रह र स्वीकृति नै ठूलो कुरो हो । त्यो भन्दा ठूलो पुरस्कार अरू के र ?  लेख्दै जानुहोस्, तपाईंमा आँट छ, अध्ययन छ, सीप छ…’

‘धन्यवाद !’

‘फुरुक्क चैं नपर्नुहोस् है । आत्मसमालोचना  गर्नुहोस् ।  हाम्रा लेखकहरूले आफैंलाई चिमोटेर हेर्ने बेला आएको छ । लेखिसकेर बारम्बार पढ्नुहोस् आफ्ना रचनाहरू । अरू भाषाको स्तरसम्म पुग्न सक्नुभएको छ कि छैन, त्यो पनि विचार गर्दै गर्नुहोस् ।’

‘तपाईंको भाषण सुन्नलाई म आएको होइन,  कथा सुनाउन पो आएको ।’

‘तपाईंहरूका कथाहरू पनि भाषण जस्तै भइसकेका छन् ।’

‘मेरो यो कथा अलिक भिन्नै छ, सुनाइहालौं कि ?’

‘पर्खनोस्, मलाई तपाईंले एकदिन भन्नुभएको थियो, तपाईंको एउटा कथा सङ्कलन पुरस्कृत हुने भएको छ । केही खबर छ ?’

‘मलाई पनि एक जना सहृदयी साथीले फोनमा भनेका थिए, यसपालि  अर्कैलाई दिने अरे ।  उतातिरकाले नै पाउने भएछन्, राजनीति भएछ ।’

‘फुस्रो  राजनीतिमा नपसेको राम्रो, त्यसले सृष्टिशीलतालाई बिगार्छ ।’

‘त्यसो भए अरूले नपाउनु त ? के यो २० सालभित्र एउटै राम्रो कृति लेखिएनन्  त ? कस्तो कुरो गर्नुहुन्छ, तपाईं ?’

‘लेखिएको निश्चय छ,  तर कति जनाले पढेका छन् ती कृतिहरू ? यो कुरोलाई कहिल्यै चिन्तन गर्नु भएको छ ?’

‘मनपरी भएको छ । केही भन्यो भने रिसाउँछन् । फलानोले त यस्तो पो  भन्न थालेछ भनेर ।’

‘निडर भएर लिखित रूपले भन्नुहोस् । साँचो कुरो भन्नलाई के को डर ?’

‘मलाई त यस्तो लाग्छ, आउने तीन वर्ष सम्मलाई ‘बुक’ भइसकेको छ ।’

पाठक एकछिन चुप लागे ।

चियाको चुस्क लिंदै लेखकको अनुहारतर्फ उनले हेरिपठाए । त्यस ठाउँमा अरू कोही छैनन्, लेखक र पाठक मात्र छन् ।

शून्यता छायो केही क्षणका लागि । लेखक भने आफ्नो विचार‌मा चिन्तामग्न भएका देखिन्छन् ।

० ० ० ० ०

पाठक कथा पढ्न थाले ।

पाठक र  लेखक दुवै अभिन्न मित्र हुन् । छिमेकी र सहृदयी  पनि । एक अर्कालाई ज्यादै मन पराउँछन् । लेखकीय जीवनमा पाठकबाट धेरै उत्साह पाएका छन् । लेखकका प्रत्येक रचनाको पहिलो पाठक हुन् उनी । त्यसैले केही रचना लेखिसक्ने बित्तिकै उनलाई सुनाइहाल्छन् । दुवै जनाले विचार विमर्श गरेपछि मात्रै प्रकाशित गर्दछन् ।

पाठक सचेत छन् । उनी केही लेख्दैनन्, तर प्रचुर अध्ययनशील छन् । तुलनामूलक साहित्य – समालोचनामा उनको गहिरो अध्ययन छ । तर लेख्ने बानी छैन । इच्छा पनि गरेनन् । सबैले लेख्न सक्दैनन् – यस्तो धारणाप्रति उनी धेरै विश्वस्त छन् । पाठकको प्रत्येक मन्तव्यको एउटा गहिरो अर्थ लुकेको हुन्छ – लेखकले पनि यस्तो विश्वासलाई हुर्काएका छन् । त्यसैले त उनले भनेका हरेक  शब्दलाई लेखक अग्राधिकार दिने गर्दछन् ।

कथा आधा जति पढिसकेपछि पाठक एकछिन रोक्किए । एकपल्ट पुलुक्क हेरे  लेखकतर्फ । लेखकसित उनको आँखा जुध्यो । एउटा मृदु मुस्कान छरियो वातावरणमा ।

कथा अझ अघि बढ्यो ।

विभिन्न संघातले सँगालिएका दृश्यहरू आँखा अघि घुम्नथाले । आक्रोश र  घृणाले भरिएका शब्दहरू हाहाकार गर्न लागे । कथाका चरित्रहरू पुराना छन् । बोलाइ नयाँ छ, सोचाइ भिन्नै छ ।  अन्त्यमा, एउटा घुमाउरोमा आएर केन्द्रीभूत हुन्छन् पात्र-पात्रीहरू ।

सानैदेखि साहित्य प्रतिको अगाध रुचिलाई अघि बढाउँदै प्रचुर अध्ययन गरेका ती लेखकले कुनै दिन पनि लेखनको स्वीकृ‌तिलाई जबर्जस्ती चाहेका थिएनन् । उनका दौंतरी लेखकले माथिल्लो तहको स्वीकृति पाइसकेका थिए । तर, त्यस प्रकारको सस्तो स्वीकृ‌ति प्रतिको मोहलाई उनले हुर्काएका थिएनन् । पहिलो कृति छपाउने बेलाको समय उनले सम्झिए । त्यो  पुस्तक छपाउनका लागि एक जना धनाढ्य साथीसँग आग्रह प्रकाश गरेका थिए ।

‘कविता कसले पढ्‌छ ?’ साथी झ्वाँक्किए ।

‘छन्, अझै पनि दुई-चार जना । त्यसैले त बाँचेको छ कविता…’ शान्त  स्वरमा उनी बोले ।

‘हेरौं, त्यसो भए…’ साथीको जवाफमा उनले बुझे, कविता सङ्कलन छापिने छैन । सबै कुरा सुनेपछि उनकी श्रीमतीले आग्रह पोखिन् र उनका माइतीले दिएको पैसा मासेर निस्किएको थियो लेखकीय जीवनको पहिलो कृति । पछि परीक्षणमूलक रूपले लेखक कथापट्टि लागे । बिस्तारै प्रकाशकहरू पनि आकर्षित हुँदै गए । पाठकहरूले पनि रुचाएको देखियो । त्यसरी लेखकहरूको सूचीमा बेला बेलामा उनको नाम पनि आउन थाल्यो ।

तर, स्वयं लेखक नै सन्तुष्ट थिएनन् आफ्ना रचनाहरूबाट । उनलाई अझै लाग्दछ, उनीबाट केही राम्रो कृति लेखिएको छैन । यस विषयमा उनका अभिन्न मित्र तथा सचेत एक जना पाठकसित वार्तालाप पनि भइरहन्छ । समकालीन लेखनप्रति उनी ठ्याम्मै सन्तोष मान्दैनन् साथै तथाकथित लेखकहरूको स्वाभिमानी मन्तव्य सुनेर उनी खिन्न हुन्छन् । साहित्यको क्षेत्रमा पसेको पक्षपातपूर्ण राजनीतिबाट उनी सधैं टाढा रहन्छन् ।

‘तिम्रो पुस्तक त यस पालीको सूचीमा आएछ,’ एक जना हितैषी साथीको सूचना थियो ।

‘आशा राख्दिनँ,’ छोटकरीमा बोले उनी ।

‘होइन, अब त पाउनुपर्ने हो । धेरै वर्ष भयो तिमीले लेख्न थालेको ।’

‘राम्रो लेखेको छैन क्यार ?’

‘स्तर हेर्नु हो भने त  धेरैले नपाउनु पर्ने थियो ?’

उनी केही बोलेनन् । सस्तो प्रतियोगिताले उनलाई कहिल्यै आकर्षित गरेन ।

० ० ० ० ०

अन्त्यमा, कथा पढेर सकियो ।

‘तपाईंले केही बुझ्नुभयो ?’ कथाबाट फुत्त निस्कियो एउटा पात्र ।

‘तिमी को हौ ?’ पाठकको प्रश्न ।

‘म कथाको नायक हुँ,’ पात्रले जवाफ दियो ।

‘तर, मैले त मारिदिएको थिएँ तिमीलाई कथामा,’ लेखकले मुख खोले ।

‘तपाईंहरू मनपरी गर्नुहुन्छ । तपाईंले मार्दै म कहाँ मर्छु र । त्यो त मैले अभिनय पो गरिदिएको त ।’

‘होइन, मैले साँच्चै नै मारिदिएको थिएँ । नभए, त्यो पात्रीले जीवनभरी सुख पाउने थिइन ।’ लेखकले विस्मित आँखाले हेर्दै भने ।

‘ऊ जीवित रहँदा मात्र म खुशी भइरहन्छु । जे भए पनि ऊ मेरो प्रेमी हो…’ पात्री पनि मुसुमुसु हाँस्दै बोली ।

‘तर, त्यतिखेर तैंले साह्रै दुःख पाएकी थिइस् ।’

‘मारिदिनोस् भनेर मैले कहाँ भनें र?’

‘हजारपल्ट भनिस् तैंले मलाई, यसलाई मारिदे भनेर । अहिले अर्कै खाले कुरा गर्दा कसरी हुन्छ ?’

‘तर लेखकज्यू ! तपाईंले यसलाई जबर्जस्ती गरेर मारेको जस्तै लाग्यो मलाई पनि । किन जोड्न सक्नुभएन…?’ पाठक बोले ।

‘यी लेखकहरू मनपरी गर्दछन्, हाम्रो के अवस्था हुन्छ, त्यस बारेमा अलिकति पनि चिन्ता छैन यिनीहरूलाई ।’

‘तपाईंले हाम्रो बिछोड गराउन खोज्नुभएको थियो, तर त्यसरी हामी मान्दैनौं । हामी आजन्म प्रेमी हौं । सँगै बस्दछौं, कत्ति झगडा नै नहोस् किन…’ दुवैले एकैसाथ भने ।

‘कैयौंपल्ट मारियो हामीलाई,’ – पात्र

‘तपाईंहरू कलम बोक्नुहुन्छ कि तलवार ?’ – पात्री

‘यति हिंस्रक नहुनुहोस्,’ – पात्र

‘माया गर्नुहोस् न हामीलाई,’ -पात्री

लेखक एक भनूँ न दुई भनूँ जस्ता भए । पाठक पनि चुप लागे, केही मन्तव्य पोखेनन् । कथाबाट निस्किएर आएका पात्र पात्रीहरू कुन बाटोतर्फ लम्किए, कसैलाई थाहा भएन ।