
अघि बढ्द्दाबढ्दै कहिलेकाहीँ सुस्ताएर पछाडि आफू आएको डोब हेर्न मन लाग्छ । कति हिँडिसकेँ, कुनकुन पहाड, जँघार तरिसकेँ ! कुनकुन आपद्-विपद्बाट पार भएँ, सब सम्झन मन लाग्छ । सम्झँदासम्झँदै कहिलेकाहीँ कुनै विन्दुमा गएर मस्तिष्क टक्क रोकिन्छ, त्यहाँबाट रङ्गहरू र स्वरहरू उघ्रिन र गुञ्जिन थाल्दछन्, गन्धहरू नाकको प्वालैमा आएजस्तो भान हुन्छ, एक्कासि ती वातावरण र दृश्यहरू स्पष्ट हुन्छन्- खलबल, मारपिट, दौडादौड गोलमाल- अनि विभिन्न अनुहार, विभिन्न पोसाकहरू, विभिन्न स्थितिको बोध हुन थाल्दछ । यिनैमध्ये जसले जति बढी आफूलाई प्रभावित गरेको छ, त्यसले आफूलाई समाएजस्तो, घेरेजस्तो वा लखेटेजस्तो लागिरहन्छ ।
आज यस्तै भयो । आफू पछिल्तिर फर्केर हेर्न बाध्य भएँ । एउटा ठूलो बहालजस्तोमा मैले आफूलाई उभिएको पाएँ । हैन, त्यो बहाल थिएन, केन्द्रीय जेल थियो, म सात सालअगाडि राणाकालीन समयमा पलिन पुगेछु । त्यस बेलाका जेलका विभिन्न अनुहारहरू आफ से आफ उघ्रिन थालिहाले, विभिन्न कथाहरू बोकेर ।
म एउटा अनुहारमा गएर टक्क रोकिएँ । त्यो अनुहारमा विशेषता त केही थिएन । साधारण डिलडौलको मानिस, साधारण कोट लगाएको छ; लबेदासुरुवाल त्यसमाथि सेतो पटुका बाँधेको छ, भादगाउँले टोपी लगाएको, त्यसको हातमा टुङ्ना छ । त्यो टुङ्ना बजाउँदै छ । उसको
अनुहारमा केही विशेषता खोजिहेर्ने हो भने त्यो अनुहारमा अति सोझोपना र सरलता मात्र झल्किन्छ ।
त्यो त्यही जेलभित्रै एक्कासि बहुलाएको थियो, यसैले म त्यहीँ केहीबेर रोकिन्छु । उसको विषयमा केही सोच्न मन लाग्छ । सायद त्यो व्यक्ति अहिले जिउँदै छ वा छैन । भए पनि त्यसको पागलपन छुटेको छ वा छैन ! छुटेको भए पनि त्यसले मलाई के सम्झँदो होला र ! तर मचाहिँ त्यसलाई अहिले सम्झन बाध्य छु किनभने त्यो पनि मेरो जीवनको एक अंश हो । मेरो मानवताको एक अंश । मेरो मानसलाई सधैँ जगाइरहने एक महत्त्वपूर्ण अंश ।
जहाँसम्मन् अहिले मलाई याद छ, त्यो व्यक्ति जेलमा पस्दा त्यसका साथमा अरू दश-बाह्र जना उसकै गाउँका व्यक्तिहरू पनि थिए- एउटै मुद्दामा पक्रेर ल्याइएकाहरू, त्योचाहिँ गाउँको ठालुको छोरो रहेछ, अरू उसका काम गर्ने मानिसहरू वा नोकरचाकरहरू । त्यसको उमेर कलिलै थियो, अन्दाजी २५-२६ को । पूर्व १ नं. बस्ने तामाङ जातिको रहेछ । हुनलाई उनीहरू जुन मुद्दामा पक्रिएका थिए, त्यो थियो डकैती । तर कुरा बुझिहेर्दा वास्तविकता त्यो नभएजस्तो बुझियो । यथार्थ कुरा के रहेछ भने तिनीहरूका गाउँमा अर्को एक घर रहेछ जसले यस ठालुको घरसँग प्रतिस्पर्धा गर्न सक्दो रहेछ र यसको अतिरिक्त त्यस घरको मुख्य व्यक्ति तत्कालीन राणा प्राइम्मिनिस्टरको छाते पनि रहेछ । यी दुवै घरका बीच पुस्तौनी रिसइबीका साथै सामाजिक प्रतिद्वन्द्विता पनि रहेछ ।
कुरा के रहेछ भने त्यस छातेको छोराले मन पराएकी आइमाई र ठालुको छोराले मन पराएकी आइमाई एउटै पर्न गइछ । तर आइमाईको बिहेचाहिँ ठालुका छोराले गर्ने मौका पाएछ । यही थियो झगडाको मूल कारण । यसैमा चर्कंदाचकँदै छातेको शक्तिद्वारा यिनीहरूको समूहलाई नै डाँका घोषित गरी पक्रेर जेलमा राखी पुर्पच्छे गर्न लागिएको रहेछ । तत्कालीन राणाशाहीको शक्तिको आडमा यस सामाजिक झगडाले यो रूप लिन गएछ । डाँकाको रूपमा यिनीहरू नेलहतकडीसहित जेलभित्र ल्याइए ।
म आफैँ पनि राजबन्दीको रूपमा, कुनै अपराधमा पनि साबित नभई त्यसै जेलमा थुनिएको थुनियै थिएँ । त्यस बेलाको कानुन र न्यायको,
राजनैतिक व्यवस्था र राणा पारिवारिक शासनको कस्तो हास्यास्पद रूप थियो । शक्तिसम्पन्न व्यक्तिको एउटा छातेसमेतले व्यक्तिगत प्रेमसम्बन्धी विषयलाई लिएर षड्यन्त्र गरी कैयन् व्यक्तिहरूलाई बिनाअपराध, बिनाकसुर यातनाहरू दिन र दिलाउन सक्तछ । यस्ता बेकसुरमा नै कष्ट-पीडा झेलिरहने व्यक्तिहरू त्यस जेलमा कति थिए होलान् भन्न मुस्किल छ । यही थियो राणाकालीन न्याय र व्यवस्था ।
बिचरो सीधा र शान्त ठालुको छोरो साहिँलो म भा’को ठाउँमा आउँथ्यो, बस्थ्यो र टुङ्ना बजाउँथ्यो । त्यसको आन्तरिक व्यथालाई म बुझ्थें । टुङ्नाको धुनमा त्यो गीत पनि गाउँथ्यो ।
त्यसको सरल भाषाका गेडाहरूमा हिमालयका हिउँहरू, गोठका भेडाहरू र गाईहरू, दूध र मोही, सुकुमार आइमाई र तिनका मायाप्रेम छचल्किन्थे ।
एउटी आइमाईलाई प्रेम गरी विवाह गरी घरमा हुली, सीधासाधा जीवन बिताएबापत यो जवान युवक अहिले जेलमा छ । यसको प्रीति गर्ने शक्तिलाई दमन गरी यसलाई मनुष्यबाट राक्षस बनाउने प्रयास सुरु भइरहेछ । सारा राष्ट्रिय शक्ति यो दमनचक्रमा जोतिएको छ । म आफूलाई उसैसँग तादात्म्य गर्न पुग्थेँ । यसको प्रीतिको मूर्तरूप यसको प्रेयसी छ, मेरोचाहिँ अमूर्त देशप्रेम । तर के हामी दुवै अन्याय र दमनले कुल्चिएका छैनौं ?
कैदीहरूको एकोहोरो जिन्दगी त्यहाँ चालू छ । बिहान सबेरै कैद भित्रकै च्यामे वा पोडेहरूले जेल सफा गर्न सुरु गर्छन् । ‘सिधा’ बाँड्न आउनेहरू ठेकेदारसहित त्यहाँ पस्छन्, बोराहरू खोलिन्छन्, धान मिसिएका चामलहरू ओइरिइन्छ । प्रत्येक नम्बरका कैदीहरू आफ्नाआफ्ना भाँडाहरू, कपडाहरू लिएर लाममा बस्न आइपुग्छन् । सिधा बाँडिन्छ; सिधाको केही अंश बेचिंदै तरकारीको किनमेल सुरु हुन्छ । जेलभित्रै ठेकेदारसँग मिलेर कैदीहरूले नै पसल थापेका छन् । जहाँ दाउरा, तेल, घ्यू, सागपात, अरू विभिन्न तरकारीहरू बेचिन राखिएका छन् । एउटा सानो बजार खुल्छ ।
नम्बर, नम्बरका सिक्टर कामदारहरूलाई ग्वारग्वारती पछि लगाएर जेलभित्रको चौकीदार रबाफका साथ आफ्नो शक्ति प्रदर्शन गर्दै जेलको
ढोकातिर जान्छ । अरू कैदीहरू कुन्डका कुन्ड उसलाई सलाम गर्छन् र आफ्नाआफ्ना हातका कतुवा चलाउँछन् र कोही बसेर स्वेटर बुन्न थाल्दछन् । कुनै कैदी लुगा सिइरहेका हुन्छन् । कुनै आफ्नो लुगा फुकालेर जुम्रा हेरिरहेका हुन्छन्, कोही थर्की खोलेर त्रिपासा खेलिरहेका छन् । कोही डबलीमा बसेर गफ चुटिरहेका हुन्छन् । एकाध कैदीहरू खराउ बजाउँदै जेलपरिक्रमा गरिरहेका हुन्छन् । विभिन्न क्षेत्रका विभिन्न नेपाली अनुहारहरू त्यहाँ देखिन्छन् । कोही तराईका बडेबडे डाँकाका सर्दारहरू भनी कहलिएका छन् । कुनै ज्यानमुद्दामा परेका तीन नम्बरका राईहरू छन्, कुनै घूसमुद्दामा परेका खरदारसुब्बाहरू छन् । कुनै बहुला माग्दै, हात पसार्दै आइरहेका हुन्छन् । कुनै पाकेटमार ठिटाहरू एक-दुई महिनाको निमित्त कैद परेकाहरू देखिन्छन् । दुई-तीन दिनको निमित्त जेल परेका दाउरेहरू अचम्म मानेर, तर्सेर जेलमा माग्दै हिँडेको पाइन्छ ।
कुनै नम्बरको घरअगाडि राति मरेका कैदी सुताइएको छ, जसलाई कैदीहरूले नै उठाएर बाग्मतीको किनारमा जलाउन लैजाने सुरसार गरिरहेका हुन्छन् । जेल राम्ररी ब्यूँझिसक्छ । कैदी भेट्न आउनेहरू जेलको बाहिर बसेर आफ्नाआफ्ना मानिसलाई बोलाउन पठाउँछन् । जेलको ढोकामा बसेर नाम काढ्दै एउटा कामदार कराइरहेको हुन्छ । नम्बर- नम्बरबाट आफ्नो नाम सुन्नेबित्तिकै कैदीहरू आफ्ना घरका मानिसहरूलाई भेट्न दौडिन्छन्, कोही घरबाट ल्याएको कोसेली बोकेर फर्कन्छन्, कोही रित्तो हात । कोही बिन्तीपत्र पठाउन कोसिस गर्दछन्, कोही मुद्दाको किनारा लगाउन चिच्च्याउँछन् । कोही म्याद पुगेकाहरू त्यही दिन छुट्छन् । कुनै नयाँ कैदीहरू त्यहाँभित्र हुलिन्छन् ।
जेलको कैदी बहिदार आफ्नो स्याहा-स्रेस्ता मिलाउँदै रहन्छ । हरेक साँझ उसको हिसाबमा नाफानोक्सान भैरहन्छ । धेरै कैदी छुटे भने उसलाई नोक्सान पर्छ । धेरै कैदी जेलमा पसे भने भने उसलाई नाफा हुन्छ । यो उसको आफ्नै विचित्रको हिसाब छ । रात पर्दै जान्छ ।
बुर्जा-बुर्जाबाट सिपाहीहरूले ‘खबरदार’ को आवाज बुलन्द गर्न थाल्छन् । नम्बर-नम्बरका सिक्टर कामदारहरू जेलभित्र रातको पहरा दिँदै
बेलाबेलामा घुम्न थाल्दछन् । कुनै कैदीहरू बिनाअनुमतिले रातमा यताउति गर्न थाले भने, त्यसको माथि मारपिट हुन थाल्दछ ।
यसरी फेरि नयाँ बिहान हुन्छ । कैदीहरूका कैदको अवधिमा एक दिन समाप्त हुन्छ या भनौं जीवनको एक दिन समाप्त हुन्छ ।
जेलको आन्तरिक व्यवस्था पनि अनौठो छ । जेलको सरकारी जेलर कप्तान हुन्छ । तर आन्तरिक व्यवस्थालाई एउटा कैदीलाई चौकीदारी पद दिइएको हुन्छ, जसका मातहतमा भित्रका सबै कैदीहरू र घरहरू हुन्छन् र उसैको शासन चल्दछ । काम चलाउन हरनम्बरका घरका कोठाकोठामा एक-एक जना कामदार रहेका हुन्छन्, जसले कोठाका हरेक व्यक्तिको विषयमा विवरण दिइरहेको हुन्छ । यिनै सब कामदारहरू लिएर चौकीदार जेलको सुरक्षा र कैदीहरूलाई आफ्नो आफ्नो वशमा राख्न समर्थ हुन्छ । कुनै कैदीले भाग्ने, चोर्ने वा यस्तै कुनै अनैतिक प्रयास गयो भने, चक्कामा सिक्रीले बाँध्ने, पिट्ने, कुट्ने आदि यातना दिनसमेत ऊ समर्थ छ ।
यसको अतिरिक्त चौकीदारले चाह्यो भने कुनै पनि कैदीलाई उसको भेट्न आउने मानिसहरूसित जेलबाहिरै लगेर भेटाइदिन पनि सक्तछ या जेलको बाहिरको ढोका र भित्रको ढोकाका बीस फुटको माझमा लगेर पनि भेटाइदिन सक्तछ, जे चीज पनि बाहिरबाट ल्याएर खुवाउने, पिलाउने गर्न सक्तछ । यस्तो अधिकार चौकीदारले बेलामौकामा प्रयोग गर्दछ । तर विशेष गरी जसले उसलाई मान्दछ वा केही रुपियाँले उसलाई कृतज्ञ तुल्याउन सकेको छ, त्यस्तालाई मात्रै यस्तो मौका ऊ दिने गर्दछ ।
यस्तो अधिकार, हाम्रो ठालुको छोरा साहिँलाले पनि पाएको छ । जुन जुन बेला उसका घरका मानिसहरू उसलाई भेट्न आउँछन् उसले जेलको भित्री ढोकाबाट बाहिरको ढोकासम्म जाने मौका पाएको छ । बाहिरको ढोकाको खापामा फलामे डन्डीहरू छन् र बाँकी ठाउँहरूमा पनि फलामे डन्डीहरू छन् । त्यसबाहिर बन्दुक बोकेका सिपाहीहरू पहरा दिइरहेका हुन्छन् । भेट्न आउनेहरू फलामे डन्डीबाट नजिकै आफ्ना इष्टमित्र, भाइछोरालाई हात समाएरसम्म कुरा गर्न पाउँछन् । यही मौका साहिँलाले
पनि पाएको छ । बराबर उसकी तरुनी स्वास्नी उसलाई केही कोसेली लिएर भेट्न आउँछे । ऊ आएको दिन साहिँलाको अनुहार उदास उदास देखिन्छ । उसले आफ्नी स्वास्नीको हातसम्म डन्डीबाट आफ्नो हात छिराएर स्पर्श गर्न पाएको छ । कहिलेकाहीँ सिपाहीहरूका आँखा जोगाएर अनुहार र केशसमेत मुसारेको छ ।
उसको मुद्दा जोडतोडले चलिरहेको छ । बाहिर बसी उसको बाबुले पनि छोरालाई डाँकामुद्दाबाट जोगाउन हरप्रयास गरेको छ । ठाउँ-ठाउँमा भनसुन र रुपियाँको पनि ओइरो लगाएको छ । छातेको छोराले पनि, त्यो आइमाई मात्र पाए त्यसलाई छुटाइदिन्छु भनी सन्देश पठाएको रहेछ । तर साहिँलाकी स्वास्नीलाई यस्तो मन्जुर छैन । न साहिँलालाई नै यो मन्जुर छ ।
उसकी स्वास्नीले भेट्न आउँदा उसलाई भनेर गएकी रहिछ- “ऊ त्यस गाउँमा गएर बस्ने छैन, माइतीमा गएर बस्नेछे, किनभने छातेको छोराले उसलाई घिस्याएर लैजाने धम्की दिएको छ ।”
1
यसैले गर्दा साहिँला जेलमा उदास उदास र चिन्तित देखिएको छ । उसका मानिसहरू पनि साहिँलाको व्यवहारले गर्दा चिन्ताग्रस्त भएका छन् । साहिँला मेरो छेउमा आउँछ, बस्छ र टुङ्ना बजाउन थाल्दछ । उसको मन:स्थिति स्थिर छैन भन्ने कुरा उसको भावभङ्गिमा र उत्तेजनाले देखाउँछ । घण्टौँ घण्टौं उसको आँखा एक ठाउँमा गएर रोकिएको रोकियै हुन्छ स्थिर, अपलक । अनि उठेर हिँड्छ उदास, उदास ! बिचरोलाई म के गर्न सक्छु, फगत् सहानुभूतिसिवाय, फगत् अन्यायको विरुद्ध चिच्याउनुसिवाय, त्यो पनि झ्यालखानाभित्र, जहाँ हरेक ढुङ्गाहरू, भित्ताहरू कैदीहरूका नङले कोपरिएका छन्, र जो चट्टान सबै कैदीलाई खिस्याएर उभिएका छन् ।
एक दिन साहिला आफ्नी स्वास्नीलाई भेट्न जेलको मूलढोकामा गएको रहेछ । पछि सबै वृत्तान्त मैले थाहा पाएँ
चौकीदारले दिएको अधिकारअनुसार उसलाई भित्री ढोकाबाट बाहिरी ढोकासम्म बीचको भागमा फलामको डँडाली भएको स्थानमा
लगेको रहेछ । उसकी स्वास्नी डँडालीमा ऊसँग कुरा गर्न आएकी रहिछ । त्यसले खानेकुराको पोको र नयाँ ल्याएका लुगाहरू सिपाहीहरूलाई जँचाई उसलाई दिइसकेकी रहिछ । अनि उसले रुँदै केही कुरा भनेकी रहिछ । साहिँला स्वास्नीका कुराहरू सुनेर डँडालीभित्रबाटै उसको हात समाएर कुरा गरिरहेको रहेछ । अनि उसले स्वास्नीको टाउको पनि मुसारेको रहेछ । उसकी स्वास्नी अरू कैदीहरू र सिपाहीहरू देखेर लाजले अलि पर सर्न कोसिस गरिरहिछ । अकस्मात् त्यसै बेला साहिँलाले स्वास्नीको हात बलसँग समाएर डँडालीभित्र तानेछ । स्वास्नीचाहिँ हात दुखेकोले कराउन थालिछ । अनि त साहिँलाले झन् बलसित उसको हातलाई समाएर तान्न थालेछ । ऊ फलामको डँडालीमा पछारिन पुगिछ । साहिँलाचाहिँ कराउँदै उसलाई भित्रै तान्दै छ । सिपाहीहरू यो देख्नेबित्तिकै उसकी स्वास्नीलाई बचाउन समाएर पछाडि तान्दै छन्, साहिँला अगाडि तान्दै छ । ऊ पछारिएर रुन, कराउन थाल्दछे । हल्लाखल्ला मच्चिन्छ । कामदारहरू सब त्यस घटनास्थलमा पुग्छन् । साहिँलालाई समाएर सब जना जबर्जस्ती भित्र तान्दछन् । उसको हात स्वास्नीको हातबाट फुस्किन्छ । त्यहीँ उसमाथि प्रहार पर्न थाल्दछ, कोही पिट्छन्, कोही लत्त्याउँछन्, कोही घिसार्छन्, कोही रौं समाएर भुत्ल्याउँछन् । उसको सारा लुगा लछारपछारमा च्यातिएर धुजाधुजा हुन्छ । कोटको बाहुला कसैको हातमा पर्छ, कसैको हातमा कोटको फेर । उसको खप्पर फुटेर रगताम्य हुन्छ, सब जना उसलाई घिसार्दै जेलको चोकमा मिल्काउन ल्याउँछन् ।
।
जेलबाहिर उसकी स्वास्नी पछारिएर मूर्च्छा परी रे ।
त्यस दिनदेखि साहिँला हावामा कसैलाई समाएर तान्न कोसिस गरिरहेको देखिन्छ, सायद उसकी स्वास्नीलाई होला । सायद छुटेको हात समाउन ऊ चाहन्छ आफ्नी स्वास्नीको । ऊ पागल छ, उसको हातको टुङ्ना अब बज्दैन । ऊ बराबर कराउँछ, चिच्च्याउँछ र शून्यमा हात मिल्काएर केही समाएझैं हाँस्छ, सायद उसकी स्वास्नीको हात उसले समाउन सकेको होला । फेरि निराश भएर कराउँछ, सायद उसले आफ्नी स्वास्नीको हात समाउन सकेन होला ।
‘हात समाउनु र फुस्कनु’ यति क्रियाभित्र त्यो साहिँलाको जीवन मेरो अगाडि छ ।
कोही हात समाउन पाउँछ, कसैको फुस्केको फुस्क्यै हुन्छ जीवनभर । साहिँलाले के त्यस अन्यायका विरुद्ध खडा भएर आफ्नी स्वास्नीको हात समाउन पायो वा पाएन कुन्नि !
यो प्रश्न जो मसँग मेरो अगाडि छ यो सदा रहिरहनेछ र त्यो साहिँला एउटा प्रेमको कहानी बोकेर शून्यमा हात मिल्काएर, सदा मेरो अगाडि आइरहनेछ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

