धेरै दिनदेखि मेरा आँखाहरू उसको प्रतीक्षामा छन् । उदेकको जादु थियो उसको व्यक्तित्वमा । सम्पर्कमा आउने सबैलाई चाँडै आफूप्रति आकर्षित गराइहाल्थ्यो । ऊ बसेको ठाउँका वरिपरि चार पाँच जना अवश्यै हुन्थे । कसैलाई हँसाइरहेको हुन्थ्यो । कोही उसको रोचक कुराकानीमा मग्न देखिन्थे । बोली पनि उत्ति नै मिठो । सुनिरहूँ जस्तो । हिलकार्ट रोड सिलगढीमा अवस्थित मेरा क्लिनिकमा ऊ आउँदा रोग जँचाउन प्रतीक्षारत रोगीहरू आधीउधी निको भएको अनुभव गर्थे ।

‘तपाईंलाई निद्रा लाग्दैन भने प्राणायाम गर्नुपर्छ । योगनिन्द्रा, अनलोम बिलोम, कपालभाति प्राणायाम गर्नुहोस् त, अनिद्रा च्वाट्टै । त्यहाँदेखि तपाईं कुम्भकर्ण ।’

अर्को बिरामीलाई ऊ यसरी सल्लाह दिइरहेको हुन्थ्यो…

‘छटपटी लाग्छ ?’

‘आत्मविश्वास हराएको छ ?’

‘मान्छेहरूको सम्मुख पर्न आँट आउँदैन ?’

‘हीनताबोध गर्नुहुन्छ ?’

‘यस्ता लक्षणहरू भएमा मेडिटेशन गर्नुपर्छ ।’

बिमारीको कुण्ठा पत्तो लाउन तुरुन्तै भुइँमा ओछ्याएका आसनमा बसेर रोगीलाई व्यायाम ध्यान गर्ने तालिम पनि दिइहाल्थ्यो ।

राजनीतिदेखि लिएर सामान्य ज्ञान, समाजशास्त्र, भूगोल, इतिहास, साहित्य, सङ्गीत, कानुन, चिकित्सा हरेक विषयहरूमाथि ऊ गहकिलो ढङ्गमा बहस गर्न सक्थ्यो ।

‘अहिले कस्तो हुनुहुन्छ?’

‘ठिक छु सर ।’

पहिलो भेटमै जुन सन्देह थियो, त्यो सत्य रहेछ । धेरैजसो मनोरोगीहरू खुलेर बोल्दैनन् । तर, रौनक स्पष्ट वक्ता थियो । बोल्दा कता कता लजाए जस्तो गर्ने, मस्किने, सिलिक्क परेको आँखिभौ हातले मिलाइरहने, केटीहरूसँग बढी झ्याम्मिने ।

‘निद्रा लाग्दैन । आफैदेखि खुशी छुइनँ सर । नकारात्मक सोच आउँछ । काममा त्यत्ति मन लाग्दैन ।’

पहिलो पल्ट यति समस्या देखाएको रौनकले क्लिनिकमा दोस्रोपल्ट आउँदा वास्तविकता उजागर गरेको थियो । व्यक्तिगत परिचयको सङ्कट… । (Identity Crisis-Syndrome)का औषधीहरूको प्रेसक्रिप्शन लिएर ऊ बाहिरियो । तर ममाथि रौनकको व्यवहार कुशलताको प्रभाव केही भिन्न थियो । शायद, अरू सँगको व्यवहार भिन्नभिन्न हुनसक्छ ।

ऊ मसित नजिकिँदै गयो । नियमित रूपमा दवाई खाइरह्यो । उसको जीवनशैलीमा परिवर्तन आयो । मानसिक स्थितिमा धेरै सुधार देखियो । स्वास्थ्य केन्द्रमा धाउनुपर्ने अन्तराल पनि छोटिँदै गयो ।

‘सर तपाईंसँग बातचित गर्नु र बीचबीचमा परामर्श लिन आइरहनेछु है ।’

‘आउनोस् आउनोस्, तपाईं आउँदा मलाई पनि रमाइलो लाग्छ ।’

‘तपाईं र अरू डाक्टरहरूमा यही त फरक छ । बिजिनेस माइन्ड भन्ने लेस मात्र पनि छैन तपाईंमा । डाक्टर चन्द्रमणि, मेरो प्रिय मित्र ।

मलाई फुरुक्क पारेर ऊ हिँड्यो… । ’

सामाजिक सञ्चार तथा सञ्जालको लोकप्रिय कार्यक्रम प्रस्तोता ‘रौनक’ । विभिन्न महत्त्वपूर्ण समारोहहरूको रिपोर्टिङ गरेर समाचार आधारित खोजमूलक कार्यक्रमको सुन्दर र प्रभावकारी ढङ्गमा प्रस्तुतिपछि लाइक, सेयर र कमेन्टले लाखौँको सङ्ख्या पार गर्ने । व्यावसायिक क्षेत्रमा योगदानका निम्ति ऊ पुरस्कृत पनि भएको थियो । कार्य कौशलताका लागि प्राप्त गरेको स्मृतिचिह्न र प्रमाणपत्र लिएर ऊ हावाझैँ हुर्रिंदै मेरो स्वास्थ्य केन्द्रमा आएको हिजोजस्तो लाग्छ मलाई ।

आइतबारको साँझ… ।

‘सबैमा मेरो सन्ध्याकालीन अभिवादन ।’

झसङ्ग झस्किएँ… । आवाज रौनककै जस्तो लाग्यो । जाँच्दै गरेको रोगीलाई केहीबेर पर्खिन लगाएर बाहिर निस्किएँ… । कानले धोका दिएछन्… । नियाँस्रो मुहार लिएर भित्र पसें ।

*** *** *** 

‘सर, आज क्षमा चाहन्छु तपाईंसँग वार्तालाप गर्न भ्याउँदिन । कवरेजमा जानुपर्छ । एकजना सामाजिक कार्यकर्तालाई अन्तर्वार्ता लिनुपर्नेछ । तपाईं चिन्नुहुन्छ उनलाई । क्या त टीएन शर्मा ।’

आफ्नो काममा इमानदार थियो रौनक ।

त्यो साँझ मलाई रौनककै स्मरण भइरह्यो ।

‘सर मेरो एउटा ठूलो इच्छा छ । तपाईं के सल्लाह दिनुहुन्छ ?’

‘अझै के इच्छा छ हौ, सबै पुगेकै छ त । लोकप्रिय कार्यक्रम प्रस्तोता, जिल्लाकै पुरस्कृत व्यक्तित्व । अब के चाहियो ?’

‘सर लिङ्ग परिवर्तन गर्ने मन छ । सर्जरी गरूँ कि भन्दैछु ।’

‘हाँ !’ अप्रत्याशित प्रसङ्गले म छक्क परें ।

तेस्रो लिङ्गी भएको अनुभूत भए पछिको मानसिक स्थिति, मनमा उथुलपुथुल, अप्ठ्यारोपनको बोध…, व्यक्तिगत पहिचान सङ्कटजस्ता समस्याहरू रौनकले मसँग खुलेर साझा गरेको थियो ।

अचानक…उसले यस्तो इच्छा प्रकट गर्दा म छाँगोबाट खसेझैं भएँ… ।

तर यस्तो भावलाई मनभित्रै गुम्स्याएँ ।

दार्जीलिङ पहाडी क्षेत्र, सिक्किम, समतल क्षेत्र, भूटान र नेपालबाट मानसिक उपचारका लागि मेरो स्वास्थ्य केन्द्रमा आउने विभिन्न प्रकारका रोगीहरूमध्ये लिङ्ग परिवर्तन गर्न चाहने पहिलो व्यक्ति रौनक नै थियो ।

सम्झिएँ… ‘आआफ्नो विचार हो । उसलाई लिङ्ग परिवर्तन गरेर सामान्य जीवन बाँच्ने आकांक्षा होला ।’

‘सर थाइल्यान्ड जानेछु ।’

‘ठिकै हो । तर राम्रो हस्पिटलमा विशेषज्ञहरूको सल्लाह लिएर मात्र निर्णय गर्नुपर्छ है । यसमा धेरै खर्च पनि लाग्छ रौनक ।’

चिकित्सक र अभिभावकको नाताले सतर्क गराउँदा उसले भन्यो… ‘थाइल्यान्डमा गएर काम गर्छु नि । मेरो साथी छ त्यहाँ । अस्ति नै सेटिङ मिलाइसकेको छु ।’

*** *** *** 

भिसा पनि पाइहाल्यो । उसको खुसीको सीमा थिएन ।

‘सर, अट्ठाइस जनवरीको टिकट काटेको छु । पुगेर फोन गर्छु नि ।’

जाडोको ठिही सहँदासहँदै ठन्डा महिना बितिहाल्यो । रौनक गएपछि निकै शून्य अनुभव भयो मलाई ।

क्लिनिकमा मात्र नभएर ऊ कहिलेकाहीं मेरो घरमा पनि आउँथ्यो । मेरी पत्नीसित गफिन्थ्यो । छोरीहरू पनि झ्याम्मिन्थे ऊसित ।

‘सर थाइल्यान्ड सकुशल आइपुगें । साथी एयरपोर्टमा लिन आएको रहेछ ।’

रौनक पुगेको खबरले ढुक्क भएँ ।

एक महिनापछि उसले एउटा कम्पनीमा नोकरी पनि पाएछ । वेतन मासिक भारतीय मूल्यको पैंतिस हजार रुपियाँ पाउने भएको रहेछ ।

‘कम्पनीको साधारण पदमा काम गरेर उसले कसरी अपरेसनको खर्च निकाल्छ होला?’ मनमा चिन्ता पनि थियो ।

उसले नाइट शिफ्टमा पनि काम गर्न थालेछ । पछिबाट उसले मलाई जानकारी गराएको थियो ।

‘यहाँ सबै राम्रो छ सर । चिताएको काम पूरा गरेर फर्कनेछु । सर्वप्रथम तपाईंलाई नै भेट्न आउनेछु ।

‘ल ल ! शुभकामना । केही कारणवश अपरेसन हुन सकेन भने पनि दुखी नहुनु नि । तपाईं त्यसै पनि ठिकै हुनुहुन्छ । यति प्रतिभाशाली, गुनी व्यक्ति ।’

‘हुन्छ, म कहाँ दुःख मान्छु । भए पनि नभए पनि एकपल्ट चैं कोशिश गरूँ भन्दैछु सर !’-उसले भनेको थियो ।

*** *** *** 

मानसिक रोगीहरूका संख्यामा दिनदिनै वृद्धि भइरहेकाले मेरो व्यस्तता झन् झन् बढ्दै गयो । क्लिनिकबाहेक दुईवटा प्राइभेट हस्पिटलमा जान थालेको थिएँ ।

यसबाहेक घर-परिवार, साथीभाइ-समाज… ।’ अति व्यस्त दिनचर्यामा पनि रौनक मेरो सम्झनाबाट ओझेल भएको थिएन ।

कहिलेकाहीँ सपनामा उसैलाई देख्थें ।

रौनकको फोन नआएको पनि लगभग छ महिना भइसकेको थियो ।

दिउँसो-राति दुवैपल्टको काम, डाक्टरी सरसल्लाह, हस्पिटलको चक्कर… । यस्तै के केमा व्यस्त रह्यो होला भन्ने ठानें ।

बर्खे झरी सकिएपछि शरद ऋतु लाग्ने बित्तिकै चाडबाडको रमझम शुरू भयो… ।

सिलगढीमा दुर्गा पूजा निकै धूमधामले मनाइन्छ । ठूल्ठूला पान्डालहरूमा देवी भगवतीको भव्य मूर्ति सजाएर गरिने पूजाको प्रभावले धेरै भक्तजनमा श्रद्धा भक्तिभाव जगाउँछ ।

उत्सवको वातावरण छाएपछि काम गर्न त्यत्ति मन लाग्दैन । पत्नी र छोरा छोरीको बिदा पनि परेकाले दुई चार दिन घरमै बस्ने निर्णय लिएँ । हस्पिटल आउँदिन भनेर जनाइदिएँ । पूजामा सबै परिवार र आफन्तसँग बसेर बिताएँ । रमाइलो गऱ्यौ

*** *** *** 

कति छिटोछिटो उड्छ समयको पखेटा । पाँच दिनको बिदा सकिनै लागेको थियो ।

‘सोमबारदेखि हस्पिटल त जानैपर्छ ।’

यस्तै विचार मनमा लिएर फोन खेलाइरहेको बेला फेसबुकमा अचानक रौनकको फोटो देखें ।

‘द भोइस् च्यानलका रिपोर्टर तथा कार्यक्रम प्रस्तोता रौनकप्रति श्रद्धाञ्जली’ लेखिएको रहेछ । फोटोमा माला लगाइएको थियो ।

त्यसको मुन्तिर लहरै हार्दिक श्रद्धाञ्जली,रेस्ट इन् पिस, So sad news, RIP लेखिएका थिए… । मन छुने कमेन्टहरू पनि रहेछन् ।

पत्याउन गाह्रो भयो…दोहोऱ्याईदोहोऱ्याई पढें । फोटो घरीघरी हेरें… । रौनक नै हो । आँखाहरू वास्तविकताको साक्षी बने पनि मनले विश्वास गरेन । हो होइन जान्नु त पर्ने नै थियो । छटपटाउँदै भए पनि दि भोइस च्यानलकै एकजना सहयोगी राकेशको नम्बर पत्तो लगाएर सम्पर्क गरें । खबर साँचो रहेछ ।

‘कसरी यस्तो भएछ राकेश ?’ सोधेँ  ।

उद्वेलित मनले गरिएको प्रश्नको उत्तर राकेशले रुन्चे स्वरमा दियो, ‘उसले सुसाइड गरेछ सर । अपरेसनको खर्च पुऱ्याउन नसकेर होला ।’

मेरो होस हवास उड्यो…. । टाउकामा छरपस्टिएका प्रश्नहरूको उत्तर आफैमा खोजिरहें… ।

राकेश मसँग लामो कुरा गर्न खोजिरहेको थियो, मन शान्त पार्नलाई हो कि । तर म धेरै बोल्ने अवस्थामा थिइनँ ।

यति मात्र भन्न सकेछु… ‘ऊ त्यत्ति कमजोर थिएन ।’

रौनकको मृत्युले मेरा मनमा थुप्रै प्रश्नहरू उठायो । शरीर पुरुषको भए पनि भावना र संवेदना स्त्रीको हुँदा कति गाह्रो हुन्छ होला । आफूलाई स्त्री नै लाग्नु तर शारीरिक अङ्ग सबै पुरुष देख्दा कस्तो पीर पर्छ होला, कति ग्लानि र लाज लाग्छ होला । यो म सामान्य ठानिएको व्यक्तिले अनुभव गर्न सक्तिनँ थिएँ । भावनामा कसैको नियन्त्रण हुँदैन तर समाजले यसरी प्रत्यक्ष रूपमा लिङ्ग परिवर्तन गरेर हिंडेको मन पराउँदैन । तर समाजले मन नपराएर के गर्नु त पर्नेलाई मात्र थाहा हुन्छ उसको मन मस्तिष्कमा के कस्ता सुनामीहरू चलिरहेका छन् । शारीरिक अङ्गले नै स्त्री पुरुषको भेद गर्छ र ? भावना, संवेदना, इच्छाहरूको कुनै महत्त्व छैन ? रौनकको आन्तरिक इच्छा स्त्री भएर बाँच्नु थियो । उसलाई पुरुष हुनुमा घृणा त थिएन तर उसको आत्माले नै त्यो पुरुष शरीर स्वीकार गर्न सक्तैन थियो । त्यसैले ऊ स्त्री भएर बाँच्न चाहन्थ्यो ।

यस्ता भावना बोकेका मनहरू कति होलान् समाजमा जसले समाजबाट नै उपेक्षित हुने डरले आफ्ना भावनालाई लुकाएर, दबाएर बसेका होलान् । के उनीहरूलाई समाजले आफ्नो आन्तर्रात्माले भनेकै कुरा गर्ने अनुमति दिन्छ त ?