मे महीना, बादल पछिपछि पोको बनेर जिस्क्याउँदै पछ्याई रहकोले घाम झल्याक-झुलुक देखिन्छ । जुनै बेला पानी पराउनु प्रकृतिको अधिकार हो । मौका छोपेर पानीका फोकाहरू घामसँग लुटुपुटु गर्छन् । इन्द्रेणी भएर घामको आनन्द लिन्छन् । ब्रुज शहर विश्व सम्पदा सूचीमा सूचीकृत छ । सुन्दर छ । सोही कारण पर्यटकहरू बाह्रैमास देखिन्छन् ।
आज पनि शहर व्यस्त छ । ब्रुजको सौन्दर्यले पर्यटकलाई मन्त्रमुग्ध बनाएको छ । १००-२०० वर्ष अघि बनेका घर, ढुङ्गाले छापेको बाटोमा बग्गी तानिरहेका जोर घोडा, शहर बीचबीच चहार्दै समुद्र भेट्न बगेका खोला, वाफल-चकलेटको वासनाले शहर सुसज्जित र सुगन्धित छ । कुनै पनि शाकाहारी घुम्दा आनन्द मान्छन् ।
खोलाका किनारमा मानिसहरू दौडिरहेका छन् । कोही साइकलमा गुडेका छन् । कोही भने माथि उचालिएको पुल हेर्दैछन् जुन पुल खोलामा डुङ्गा आवत-जावत गर्दा फोल्डिङ हुन्छ । एउटा पुल भने फनक्क आधा घुमेर खोलाको बीचमा तेर्सो पर्छ । कोही भिडियो खिच्दैछन् । १० मिनेट त्यतै भुल्छन् । त्यसो त बेल्जियम बीयरको लागि पनि चर्चित छ । ११०० भन्दा धेरै प्रकारका बीयर उत्पादन हुन्छ । यहाँ त फ्याक्ट्रीबाट उत्पादित बीयर पाइप मार्फत पबमा सिधै जडान गरिएको छ । त्यता आज अरू दिन जस्तो चहलपहल छैन । दिन साँझको काखमा ढल्कँदै छ । रेष्टुराँका टेबलहरूमा मैनबत्ती बल्दै छन् । आकाश ताराहरू चम्किने पर्खाइमा छ ।
विशेष गरेर पबमा, नशाले नजिक बनाउँछ ।
त्यसैले होला,
कोही ‘कुन बीयर हो ?’ भन्दै सोध्छन् ।
कोही देशको नाम सोध्छन् ।
कोही ‘घुम्ने ठाउँ कुनै छ ?’ भनेर सोध्छन् ।
केही सिप नलागे बोल्नकै लागि लाइटर माग्छन् ।
यो क्रम क्यानल छेउको पबमा अघिबाट शुरू भैसक्यो । त्यसो त, अपरिचित व्यक्तिसँग सबै कुरा खोल्दा फरक पर्दैन । एकैछिनमा छुट्टिने हो । फरक-फरक चर्चा चलेकै छ । त्यसैले होला कोही दैनिक जिन्दगीको असहमती र फ्रस्टेसन सुनाउँदै छन् । पर्यटकहरू ५ देखि ११ प्रतिशत सम्मको बीयर चाख्दै लट्ठिंदै छन् । बीयर, वाइन, सफ्ट ड्रिन्क्स शरीरमा पर्दा मदमस्त छन् । नशाको तालमा अपरिचित एकाएक परिचित हुँदै छन् । चिनजान नभएकाहरूसँग सोमरस चुस्की लगाएपछि बोल्न हिम्मत आउने ! आ-आफ्नो तर्क राख्दै छन् । खेलकूदको, देश र राजनीतिको चर्चा चल्दै छ । सबै उमेर समूहका पर्यटकहरू फ्रेन्च, डच, स्पेनिस इत्यादि भाषामा कुराकानी गर्दै छन् ।
संगीतमय पबको रौनक नै बेग्लै छ । घन्केको गीतको मज्जा संगीतप्रेमीहरूले लिइरहेका छन् । आवाज सबैको चर्को छ । मन लाग्ने हल्का डान्स गर्दै छन् । पैदल यात्रीको गीतले भने नजर खिच्छ । उत्सव देख्छन् । स्वीडिश पर्यटक मेलोडीलाई पबको र पबबाट देखिने दृश्यले तान्यो । क्यानल तर्फ फर्केको कुर्सीमा बसिन् ।
लोमन क्यानलको किनारमा अवस्थित व्यस्त बारमा काम गर्छ । ऊ एकै ठाउँमा काम गरेको ७ वर्ष भयो । बजार हुँदै काममा आउँदा सिफ्ट कतिको व्यस्त हुन्छ सहजै अनुमान लगाउँथ्यो । आज पबमा निकै ग्राहक आउने अनुमान गर्दै काम गर्ने स्थानमा पुग्यो । लोमनले पबबाहिर राम्री युवती देख्यो । जसको ध्यान खोलामै जग हालेर बनेका घरतिर थियो ।
ब्रुजको स्याँठले सबैलाई चिसाएको थियो । तर मेलोडीको मस्तिष्क सुस्तरी न्यानो हुँदै थियो । अगाडि रहेको खोलाले पुरानो संस्मरण तर्फ डोर्यायो उनलाई । आज १० वर्षपछि त्यो समयलाई पुनः याद गर्दै थिइन् । एकटकले खोला तर्फ हेरेर टोलाइरहिन् । मुसुक्क मुस्कुराइन् । मुस्कान नदेखिने गरी हाँस्न जान्नु पनि महिलाको कला हो । उनको ओठमा मुस्कान देखिएन ।
टोलाउँदै आफू छेउमा रहेको ज्याकेट हेरिन् । ज्याकेट, पब र युवा-युवतीहरूको कुराकानीले पोर्तुगलको याद दिलायो । पोर्तुगलको बसाइँतर्फ पुगिन् ! मुसुक्क हाँस्दै शुरूमै रोनेन सँगको पहिलो सम्झिइन् ।
०० ०० ०० ००
वर्ष १९, स्थान पोर्तुगलको पोर्तो शहर, दोरो खोलाको छेउमा रहेको होटेल । पहिलो पटक परिवार बाहेक साथीहरूसँग उनी पोर्तुगल घुम्न बिदामा गएकी थिइन् । रोनेनसँग मेलोडीको पहिलो भेट पोर्तोको पबमा भएको थियो । रोनेन त्यो व्यक्ति हो जसले पहिलो भेटमै चुरोट ओठमा अड्याउँदै मेलोडीलाई स्कार्फ गाँठो पार्ने तरीका सिकाएको थियो । रोनेनको हिम्मत देखेर उनी लगायत उनका साथीहरू हेरेको हेरै भएका थिए । रोनेन ! देख्दा त्यति आकर्षक थिएन । मफलर भिरेको, कर्ली कपाल, चप्पल लगाएको, ड्रीम बोई भन्दा निकै भिन्न, तर हिम्मतवाला र रमाइलो गफ गर्न सिपालु ।
माहौल रमाइलो भएको थियो । १७-१८ जना झुम्मिएका । सबैले आआफ्ना किस्सा र चुट्किला सुनाउँदै थिए । रक्सी सर्किने गरी हाँसेका थिए कोहीकोही । केटाकेटी सराबरी थिए । यौनको किस्साले भने वातावरणलाई झन् हौसायो र हँसायो सबै जनालाई । सबैको पहिलो यौनको अनुभव हाँस्ने हँसाउने नै थियो ।
मेलोडी रातीको ३ बझ्दासम्म होटेलमा फर्किन्नन् । बरु मेलोडीले आफू बसेको अर्को होटेलको ठेगाना र लोकेशन स्विडेनबाट सँगै आएका साथीलाई शेयर गर्छिन् । साथीहरू होटेलमा फर्किए । मेलोडी निकै अबेरसम्म क्लब र पब चहार्दै रोनेन र अरू भर्खरै बनेका साथीहरूसँग मदमस्त हुन्छिन् । ह्याङओभरले टाउको फुट्लाजस्तो भएर आफू नजाने जानकारी स्विडिस साथीहरूलाई दिन्छिन् । मेलोडीले सामान एक ठाउँमा जम्मा पारेर रिसेप्शनमा राख्न आग्रह गरिन् । साथीहरू स्विडेन फर्किए । उनलाई रमाइलोले लोभ्याएको थियो । स्वतन्त्रताको उत्सव मनाइरहेकी थिइन् ।
टिकट ४ दिन पछाडिको लिएर पोर्तुगलको शहरको बसाइँ शुरू भयो । रोनेन र मेलोडीले ४ दिनमा ४०० वर्षको आनन्द लिए । मोन्दाई दि बास्तोको झरना देखि अरोकामा ८ किलोमिटर लामो काठैकाठले बाटो बनाएको रूट हाईक गए । कोईम्ब्राको सिस्त भिलेज गए । पौडी खेले । पिकनिक गए । अजोरसको तातो – चिसो, गहिरो सबै ताल घुमे र हाइक गरे । ब्रागा उपत्यकाको आनन्द लिए ।
राती २ बजेको प्लेन चढेर एउटा शहरबाट अर्को शहरमा घुम्न गए । नाचे । दुवैले नसोचेको घुमफिर गरे । ४ दिन ब्रेकफास्ट, लन्च, डिनर र पोर्तुगलको लाइफमा मस्त भए । पिंक स्ट्रिट देखि ३ बजे गाँजा पाउने डाँडा सम्मको अनुभव लिए । गाडीमा, प्लेनमा, बसमा यात्रा गरे । मेलोडीको यो यात्रा पहिलो पटक थियो । उनले यसरी खुलेर मज्जा लिएकी थिइनन् । त्यसमाथि उनलाई कुनै कुराको डेडलाइन थिएन, न त कसैको डर । चरा जस्तै भएर कुनै बेला घुम्दा मज्जा आउँछ । रातिको ४ बजेसम्म क्याफे, पब, र क्लबमा रमाइन् ।
“तिम्रो सेक्सको अनुभव नै भएको छैन भनेर बुझौं ? तिमी स्विडेन पुगेपनि मलाई सुनाउन उधारो रह्यो है ?” रोनेनले मेलोडीलाई अझै कर गर्न छाडेन ।
“यो मेरो नितान्त व्यक्तिगत कुरा हो । यसमा म बोलिराख्नु पर्छ जस्तो लाग्दैन ।”
रोनेनले सोचेको भन्दा फरक जवाफ आयो । उसको इगो हर्ट भयो । मेलोडीको प्रतिक्रियाले हच्कियो । एकाएक अर्कै रूप देखायो । र सम्मान दिएर बोल्न थाल्यो ।
पोर्तोको एअरपोर्टमा छोड्न जाँदा रोनेनले गिफ्ट दियो ।
‘रोनेन, this is not you.. What is this? No.. no…! I can’t believe this. You shouldn’t have done this! ….यो ज्याकेट तिमीले कुन एङ्गलबाट मैले लगाउने जस्तो देख्यौ ?’ मनमनै हर्षित भइन् ।
उनलाई यसै पनि गिफ्ट पाउँदा साह्रै खुशी लाग्छ । सीट बेल्ट खोल्छिन् । लगत्तै ज्याकेट लगाउँछिन् । सेल्फी क्यामेराबाट हेर्छिन् । रोनेनलाई इशाराले देखाउँछिन् । ‘कस्तो सुहायो है ?’ फुरुक्क पर्दै ज्याकेटको महसूस गर्छिन् । हात खुम्च्याउँदै चलाउँछिन् । रोनेनको प्रतिक्रियाको प्रतीक्षा गर्छिन् ।
रोनेन यो दृश्य बढो आनन्द लिएर हेर्छ ।
हाँ स्छ ‘…हा… हा… हा ….!’
ज्याकेटको भित्री पूरै पियानोको प्रिन्ट ।
“तिमीलाई कसरी थाहा भयो मलाई पियानो नै मनपर्छ भनेर ?” मेलोडी अचम्ममा पर्छिन् । दुईजना गाडीभित्र छन् । धन्यवाद दिंदै छन् ।
“We were meant to meet for 4 days. This is our destiny. No regrets! Let’s leave with a happy heart.” मेलोडी र रोनेन अंकमाल गर्छन् । छुट्टिनै गाह्रो पर्ने, कसम खाने वा मिस गर्ने सम्बन्ध बनेन ।
स्विडेनको लागि प्लेनले उडान भर्छ । पोर्तुगलमा बिताएका दिनहरू सम्झिंदै ट्रान्जिटमा नास्ता गर्छिन् । प्लेनमा गहिरो निद्रामा पर्छिन् । त्यही निद्राले हानेर ५ घण्टा ५ मिनेट जस्तो हुन्छ । बिहान उठ्दा अर्कै शहरमा हुन्छिन् ।
०० ०० ०० ००
यता क्यानलमा काम गर्ने लोमनले अर्कै सोच्यो । उनी एक्लिएकोले टोलाइरहेकी छिन् । बोल्ने बहाना सहित गिलासमा स्याम्पेन लिएर उनी छेउ आयो ।
“पक्कै पनि यसले अझै गहिरिएर सोच्न मद्दत गर्ला ।” उसले टेबलमा ग्लास राख्दै भन्यो ।
उनी झस्किइन् । आँखा झिम्क्याउँदै निधार खुम्च्याइन् । लामो सास फेरिन् । उनलाई भूतकालबाट वर्तमानमा फर्काएको थियो । विगतबाट फर्किन पनि समय लाग्छ । उनी अवाक् भइन् । फ्याट्ट जवाफ नदिई मौनता छायो । तर पब मौन थिएन । ब्लुज म्युजिक घन्किरहेको थियो ।
…thrill is gone…. भन्ने बि बि किङको गीत बजिरहेको थियो ।
“This drink is on the house. I have been noticing you since you are here. …I work here, my name is Loman!” ऊ परिचित हुन खोज्छ ।
उनले हात मिलाउँदै “Hi, I am Melody. Thank you for the offer but I am good.” हात मिलाउँछिन् र सो हातलाई ब्रुजको चिसो छल्न सलभित्र घुसाउँछिन् ।
पानीमा बत्तीका रंगहरू छालसँगै तैरिरहेका छन् । हाँसका एक हूल त्यसैमाथि पौडिरहेका छन् । हाँसका चल्लाहरू पछिपछि पछ्याइरहेका छन् । ‘रोमन आर्क’ पुलबाट मानिसहरू चारो फ्याँक्दै छन् । मुख बाउँदै माछाहरू दाना खाइरहेका छन् । यही दृश्यले उनको ध्यान पुनः तान्छ । एकसरो पानी र हावा एकै चोटि चल्छ, बाछिटाले गालामा छ्याप्दा तर्सेर मुसुक्क हाँस्दै दुवै कुम उचाल्छिन् । श्वास भित्र तान्छिन् । लोमन छ भन्ने तर्फ ध्यान जाँदैन ।
लोमनले आडमा उभिएर चुरोट सल्काउँदै पारी पट्टिको रेस्टुराँमा आँखा डुलाउँछ – ध्यानमा मेलोडी ! पुनः मेलोडीको सुन्दरता धित मर्ने गरी हेर्छ । पबमा पस्नु अगाडी कुर्सीमा क्यानलतर्फ फर्केर टोलाइरहेकी एक्ली राम्री युवती । छरितो जीउडाल, कपाललाई खैरो चस्माले चपक्क अड्काएकी, फिका बैजनी रङ्गको लाली, कालो सर्ट, सर्टका तीनवटा टाँक खुलेका, कलेजी भित्री वस्त्र, लिपस्टिक र ब्राको रङ्ग दुरुस्तै मिल्ने, सेतो लेगीन्स, कुर्सीमा खाकी रंगको चिप्लो ज्याकेट, टोपी भुवादार र घुँडासम्म आउने डियोरको बूट । बाटो हिंड्ने सबैले एक नजर लगाएर जान्छन् ।
लोमनको नजर छातीमा अड्किन्छ । ब्रा… मिलेको शरीर… देख्दा मन मान्दैन । मेलोडी टाउकोमा भिरेको चस्मा निकाल्छिन् । हातका औंलालाई काइँयो बनाएर सर्लक्क सोहोरेर गर्दन हुँदै छातीमा बिछ्याउँछिन् । कपालका टुप्पोले छाती छोप्छ । यो दृश्य लोमनले एकोहोरो हेरिरहन्छ । उसले अरूले के सोच्लान् ? गल्ती पो भयो की ? जस्ता प्रश्नहरूलाई जितेर आँखा नझिम्क्याई हेरिरह्यो । लगत्तै अर्को चुरोट सल्कायो । यो पटक लोभले मेलोडीको शरीरलाई एक्स रे गर्न भ्यायो । हिम्मत जुटाएर सोच भन्दा माथि पुगेर कल्पना गर्न भ्यायो । अनेक परिकल्पना गर्न भ्यायो – श्रीमती र बच्चाको आमा नै बनाइसकेको थियो । कल्पनै कल्पनामा उनलाई लिएर बसाइँ सारिसकेको थियो ।
मेलोडीले वरपरको परिवेशलाई आनन्द लिइरहेकी थिइन् । उनलाई पानीका थोपाहरूले बेलाबेला गालामा जिस्क्याएको थाहा भएर पनि चुपचाप थाहा नपाए जस्तै गर्दै आनन्दित थिइन् । सडकमा छापिएको ढुङ्गा पानी पर्दा झन टलक्क टल्किएका थिए । भिजेका ढुङ्गामा पदचाप थिएनन् । जति नै भीडले कुल्चे पनि, हिउँ, पानी र हावाले जति बडारे पनि उस्तै । कसैले टुक्र्यायो भने टुक्री पनि हाल्ने । निर्जीव हुनुको मज्जा शायद यही हो । ‘म र यसमा खासै फरक छैन ।’ देब्रे आँखा चिम्सा पार्दै टोलाउँछिन् । सोच्दै मुसुक्क हाँस्छिन् । छेउको अर्को कुर्सीमा रहेको सेतो ब्यागबाट मोबाइल निकाल्छिन् ।
मेलोडीलाई लोमनसँग कुनै चासो नै थिएन । उसो त उनको यो पहिलो पटक बारको बसाइँ भने पक्कै हैन । लोमनको आवाज उनको कानमा पर्यो । पब बाहिर उभिएर २-३ हूल मानिस साँझ कुन क्लब जाने भन्दै सर-सल्लाह गर्दै थिए । लोमनले मेलोडLको ध्यान खिच्न हर तरहले प्रयास गर्दै थियो । पाखुराको ट्याटुको पनि कहानी सुनाउँदै थियो । नेपाल जाँदा नेपाली केटीसँगको घुमफिर पछि दुवैले आधा ट्याटु खोपेको कहानी सुनायो । एक अर्कालाई कतै न कतै भेट भयो भने पूर्ण ट्याटु खोप्ने शर्तमा बनाएको भन्दै थियो । मेलोडिलाई उसको कुराले छोएन ।
“You got a shiver in the dark…it’s raining in the park but meantime….” डाईरे स्ट्रैट्सको म्युजिक बज्यो । झ्यालबाट पब भित्र चियाउँछिन् ।
लोमन थम्ब्स अप गर्छ ।
उनले ग्लास देखाउँछिन् ।
लोमनले सहकर्मीलाई स्याम्पेन टेबलमा पठाउँछ ।
मेलोडीले दुइटाको पैसा राखिदिन्छिन् ।
ब्रुज स्क्वायरको घडीले ९ बजेको संकेत दिन्छ । भोलीको फ्लाइट भएकोले ज्याकेट लगाउँछिन् । बाँकी स्याम्पेन फ्लूटमै छोडिदिन्छिन् । लोमन पब भित्रबाट इशाराको आशा गर्छ । ब्रुजको बसाइँले १० वर्ष पहिलेको याद ताजा बनाई दिएकोमा तृप्त हुँदै होटेलतिर लाग्छिन् । ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।