मजस्तो गरीबलाई दुई पैसा खर्च गर्दा त कपालबाट पसिना चुहुन्छ भने एक रुपियाँ एक आना त कुरै के ? त्यसो त मसँग छ रुपियाँ थियो तर यस छलाई दश, दशलाई बीस र यसै गरी सयसम्मन् पुऱ्याई एउटा सानू नुनतेल, मसलाहरूको पसल थाप्ने साह्रै रहर भएकाले झट्ट एउटा तुच्छ झूलको निम्ति सत्र आना खर्च गर्ने आँट आएन ।

तीन पल्ट हीरा साहूको पसलसम्मन् पुगें र थरी-थरीका झूलहरू हेरें । एक दिन एउटा झूल मन पनि पर्यो र मूल्य सोधें । एक रुपियाँ आठ आना भन्यो । मैले घटाई एक रुपियाँ एक आनासम्मन् पुऱ्याएँ पनि । थैलीबाट सिङ्गो कम्पनी र एक आना खुरुक्क निकाली थसुल्ले मारवाडीको हातमा हत्तपत्त दिन साह्रै गाह्रो लाग्यो । नकिन्ने विचार गरी मैले टाल्नलाई भनें, “मन परेन ।” मारवाडी भाषामा साहूले के-के सराप्यो मैले केही बुझिनँ । कसूर मेरै भए पनि त्यसले एउटा ग्राहकलाई सराप्ने के हक ? मैले पनि नेपालीमा लाजभाँड गाली गर्दै र बाहिर निस्कें ।

तर जब राती ट्वींई…ञ, ट्वींई…ञ गर्दै लाम्खुट्टे कानमा कराउन लागे । अनि झूल नकिनेकोमा पछुतो हुन लाग्यो । आफैलाई धिक्कार्दा धिक्कार्दै बिहान भयो । रातभरी नसुतेकाले काम गर्न मन लाग्दैनथ्यो, कुनै तौरले गरे पनि एकै छिनपछि पट्टाई लागी हाई-हाई गर्दै उँघ्न लाग्दथें । यसै गरी दिन बित्न लागे ।
दिनभरी त मच्छडको विचारै आउँदैनथ्यो, तर रात के पर्यो गाला बजायो, कान पिट्यो, एउटा कोल्टेबाट अर्को कोल्टे फर्क्यो र ब्याहान भयो । जाडो त यसै गरी बित्यो । तर अब गर्मी बित्दिनँ भन्थ्यो । एक त वीरगन्जको लाम्खुट्टेको फौज, दोस्रो त्यहाँको गर्मी र तेस्रो मेरो गनाउने छिँडीको डेरा, बितोस् कसरी ?

कुनै रात त मेरो छिँडीको कोठा दिउँसोको गर्मीले गुम्सिएर धोबीको भट्टीलाई पनि माथ गर्थ्यो । बाँसको पंखा घुमाउँदा घुमाउँदै आँखा लठ्ठिनु के थियो लाम्खुट्टेको खुट्टीको प्रहार र बिनासुरतालको ट्वींट्वींले फेरि बिउँझन्थें ।

एक दिन राती तन्द्रामा मैले देखें- एउटा बगैंचामा एउटी राम्री तरुनी जर्जेटको साडी र रेशमी ब्लाउज लगाई आफ्नो सुकुमार, सुकिलो, नरम गोडालाई बिस्तार-बिस्तार बढाउँदै मधुर स्वरमा बिहाग गाउँदै मनजीकै आइरहेकी थिइन् । तर अकस्मात् तिनी थामिइन् । म झल्याँस्स बिउँझें ।

युवतीको बिहाग त मच्छडको सुर पो रहेछ । गर्मीले खलखली पसिना आयो, लाम्खुट्टेहरू टोक्न लागे, रछानको गन्धले बस्न मुस्किल पर्यो । तर के गर्नु, हवलदार बङ्गला, बाबरलेटको ठूलो झूल, झूलको सुगन्ध, बिजुली पंखाको बतास सोचेर त भएन । यही आफ्नो गरीबीलाई नै भाग्य सम्झनुपर्छ । फेरि पंखा घुमाउन थालें । अकस्मात् झूल किन्ने विचार आयो- भोलि त अवश्य किन्छु, रुपियाँ भई-भईकन किन दुःख भोग्नु ! बिहान हुनासाथ त्यही एक रुपियाँ र एक आना-सत्र आनाको झूल किन्ने निश्चय गरें । तर बिहान त हुनै खोज्दैनथ्यो ।

भोलिपल्ट उठ्‌नासाथ हीरा साहूको पसलमा पुगें । पसले त उही थियो तर उसले मलाई चिनेन । एक दिन सरापेकोलाई मोरोले बिर्सेछ । ठीक भयो नत्र … ! मैले झूल देखाउनलाई भनें । एकैछिनमा मेरो अघिल्तिर थरी-थरीका झूलहरूको थुप्रो भयो । तर मलाई छान्नु थिएन, चार महिना पहिला नै छानिसकेको थिएँ । त्यसकारण अरू झूलहरूलाई पन्छाउँदै उही ‘सत्रआने’ झूल खोज्न लागें ।

एक्कासि मनमा श‌ङ्का उठ्यो – ‘कहीं त्यो झूल बिक्री भइसकेको भए ।’ मनमनै झसङ्ग भएँ, धेरै खोजें तर अन्तमा पाइनँ । अर्कै झूलको मोल गराउनुपर्यो । एउटा निकै राम्रो झूल थियो, गौरसँग हेरें र दाम सोधें । एक रुपियाँ र छ आना भन्यो । तर धेरैबेर हेर्दा त्यो मन परेन ।

अर्को हातमा उठाएँ, दाम एक रुपियाँ दश आना । चार आनाको फरकमा यस्तो असल ! फेरि अर्को उठाएँ, दाम दुई रुपियाँ । पहिलेभन्दा यो नै राम्रो र मजबुत थियो । यही किन नल्यूँ ? छ आना त बेसी हो नि । फेरि र्को हेरें, तीन आनाको फरक र पहिलेको भन्दा धेर असल । हुँदा हुँदा बाबरलेटको झूलको पनि दाम सोधें, सात रुपियाँ भन्यो । पहिले हेरेको मामुली कपडाको झूलभन्दा यो बाबरलेटको झूलमा एक रुपियाँ मात्रै फरक थियो । किन एक रुपियाँ अरू थपेर बाबरलेटको नै नलिनु ? सुनेको थिएँ, बाबरलेटको झूल धेरै वर्ष खप्छ ।

मैले पसलेलाई सोधें, “सातभन्दा घट्दैन ?”

उसले भन्यो, “अहँ ।”

यसरी टाउको हल्लाउँदै उसले यो ‘अहँ’ भन्यो कि सातभन्दा एक पैसा पनि नघट्ला झैं लाग्यो । तर मसँग सात थिएन, मैले साढे पाँच भनें । धेरै मोलतोल हुँदाहुँदा अन्तमा छमा मन्जुर भयो । तर थैली निकाल्दामा मेरो हात काम्यो । एउटा झूलको छ रुपियाँ ! किनूँ कि नकिनूँ, यही फसादमा परें ।

झट्ट मेरो मगजमा रातीको लाम्खुट्टेको घुनुनुन्न र गाला, कान, छाती, गोडालाई केही बेरको अन्तरमा हातले प्याट्ट-प्याट्ट पिटेको याद आयो । नाकको टुप्पोमा लाम्खुट्टे बस्दथे, अल्छीले हात उठाई उडाउन मन लाग्दैनथ्यो । त्यसकारण नाकको पोरा चारपल्ट फुलाई उडाउनुपर्थ्यो । त्यो दुःख बेसाउनुभन्दा त रुपियाँ खर्च गर्नु नै बेस हो नि । तर छ रुपियाँ किन खर्च गर्नु ? लाम्खुट्टेको डरले ? मुटुमा ढ्याङ्ग्रो बज्यो, तर मनलाई दरो बनाई रुपैयाँ मारवाडीको हातमा राखिदिएँ । एक किसिमले दान दिएँ- पाँचवटालाई त उसले राखी हेर्यो मात्रै, तर एउटा भिक्टोरिया रानीको रुपियाँलाई चाहिँ धेरै बेरसम्मन् कहिले आँखानजीकै टाँसी र कहिले कोट्टचाई-कोट्टचाई हेर्न लाग्यो । ‘केही गरी चलेन भने ?’ म डराएँ । तर हैन चल्यो, भुइँमा धेरैबेर ठटाएर कन्तुरको प्वालबाट छिरायो ।

त्यस दिन केही काम गरिनँ । रुपियाँ खर्च गरेकोमा पछुतो भयो । कहाँ सय पुऱ्याउने र पसल थाप्ने विचार, कहाँ एउटा झूल किन्दा नै रुपियाँ सकियो । त्यो बाबरलेटको झूललाई दिनभरि छिँडीमा बसी हेरिरहें । यसका एकनासका साना प्वाल, बकुल्लाभन्दा पनि सेतो कपडा हेर्दाहेर्दै मन फेरि रमायो । बेस भयो । जे भए पनि किनिहालें । अब पछुतो गरेर नै के हुन्छ ? कमसेकम सात-आठ वर्ष त खप्ला नि । मामुली कपडाको किनेको भए दुवै वर्षमा धुजाधुजा हुन्थ्यो ।
साँझ पर्यो- छिंडीमा त दिउँसैदेखि साँझ परिसकेको थियो । तर अब सारा वीरगन्जमा झमक्क साँझ पर्यो । अब झूल कस्ने सुरसार गर्नुपर्छ भनी फरियाको पारी खोज्न बाहिर निस्कें । धुइँधुइँती खोज्दा एउटा रातो पारी पाएँ । त्यसलाई च्यातेर चारोटा लामो लामो त्यान्द्रो बनाई झूल कस्न थालें । कीला त थिएन, त्यसकारण एकातिरको त्यन्द्रोलाई ढोकाको सिक्रीमा, एउटालाई दलिनको कडीमा, आर्कोलाई चाहिं आँखीझ्यालमा टाँगीवरी पानस सल्काएँ ।

अब रामायण पढ्नु थियो । खाटको सिरानतिर एउटा ठूलो टिनको सन्दुकलाई ठाडो पारी राखें । र त्यसमाथि पानस । अनि झूल कसीवरी खाटमा बसी रामायण बाच्न थालें- ‘एक दिन नारद सत्यलोक् पुगि गया ….।’

झूलको माथिको हिस्साले टाउको छुन्थ्यो, त्यसकारण अलि अप्ठयारो लाग्यो- टाउको निहुराइरहनुपर्ने । तपाईंहरू भन्नुहोला ६-६ रुपियाँ हालेको झूल पनि कहीं सानू हुन्छ ? तर मेरो कुरो पनि त सुन्नुहोस् । झूल सानू थिएन, असाध्य ठूलो थियो, त्यसकारणले ठूलो हुनाले माथिको हिस्सा लत्रिन्थ्यो । फेरि तपाईंहरूले मेरो छिंडीको कोठा देख्नु नै भएको छैन । देखेको भए भन्नुपर्थ्यो- “तारे ठीक भन्छ ।”

झूल त कोठाभरिलाई पनि पुग्ने थियो तर खाट भने साह्रै सानू । अब विचार गर्नुहोस्, अवश्य नै लत्रिएको थियो होला । तर जे भए पनि मेरो जस्तो बाबरलेटको झूल तपाईंहरू मध्ये पनि धेरै कम मानिसको छ । मलाई एक दिन मालको सुब्बाकहाँ जाने मौका मिलेको थियो । सुब्बा जस्तोकहाँ पनि मामुली कपडैको झूल देखें ।

रामायण बाँचीवरी ढिंडो ओडाली एक भुल्को गुन्द्रुक उमाली खाईवरी सुत्ने सुरसार कसें । बिस्तारै झूल खोली जतनसँग खाटमा लडें । लाम्खुट्टे त थिएन, तर गर्मी असाध्य थियो । कोठामा एउटा सानू आँखीझ्याल मात्र थियो । त्यसमा पनि बाहिर हावा चलेको थिएन । हावा कहाँबाट आओस् ? खलखली पसिना आयो । पङ्खा हम्कें।

तर कतिबेर सम्मन् हम्किरहनु ? यताउति कोल्टो परें । फेरि पड्खा हम्कें । नीद केही गरे पनि परेन । धेरै विचार गर्दा थाहा पाएँ, यै झूलले गर्मी ज्यास्ती खपिनसक्नु भएको हो । अन्तमा झूल उठाउनुपर्यो । छ रुपियाँ हालेको झूलले केही काम दिएन । झूल उठाएपछि गर्मी त केही कम भयो तर फेरि लाम्खुट्टेको उपद्रव कहिले मुखमा किटिक्क, कहिले गोडामा र कहिले आङमा- (लुगा फुकाली सुतेको थिएँ । एक घण्टापछि फेरि झूल कसें, फेरि उकुसमुकुस, फेरि खलखली पसिना; थाहा नै पाइएन कहिले भुसुक्क निदाएछु ।

भोलिपल्ट राती-

झूल ठूलो थियो, खाटमा बस्यो कि माथिको झूलको हिस्सा आई मुखमा र टाउकोमा लत्रिने । रामायण बाचें, तर केही बुझिनँ, किनभने टाउकोमा र झूलमा नै मेरो मन अल्झिएको थियो । हातले कति पल्ट पन्छाएँ, तर फेरि लत्रिने । यस्तो अप्ठ्यारो र असजिलो लाग्यो कि के भनूँ । जम्मा छ रुपियाँ गाँठ थियो त्यो पनि यही नाथे झूलमा फ्याँकें । मनमनै झूलदेखि रीस उठ्यो । एक पटक त जोरसँग झूललाई माथि फ्याँकें पनि तर फेरि आई टाउकोमा हल्लिन लाग्यो । ओह ! मनुष्यको सुख-दुःख कत्रो तुच्छ वस्तुमा निर्भर हुँदो रहेछ, एउटा हलुको झूलले हुँदा कन्सिरी तातेर आउँछ ।

रामायण नजीकै मुख लगी पढ्न थालें, झूलले त छोएन तर घिच्रो दुख्न थाल्यो । फेरि टाउको उठाउनुपर्यो, फेरि झूल । “धिक्कार यस्तो जीवनलाई” मैले झाँक्किएर एक पल्ट चिच्च्याएँ । चिच्च्याएर के हुन्थ्यो । झूल माथि उठेन । अनि फेरि झूलको प्रति क्रोध, जीवनको प्रति घृणा र गरीबीको प्रति आँसु जोरले बढ्न थाल्यो । हुन त एउटा मामुली झूलले छोएको मात्रै थियो, तर मलाई यस्तो भान भयो मानूँ झूल मलाई गिज्याउँदै छ । जस्तो मानिसको टाउकोमा एक-एक बुँद पानी धेरैबेर खसालिरह्यो भने त्यो मानिस पागल हुन्छ त्यस्तै मलाई पनि त्यो झूलले बहुला बनायो । एकपल्ट फेरि भएभरको जोरले झूललाई माथि हुत्त्याएँ । एकातिर डोरी चुँडियो र सारा झूलले मलाई छोप्यो । डोरी चुँडिनु के थियो मेरो खप्ने सीमा पनि च्वाट्ट गरी चुँडियो । आङबाट झूल पन्छाईवरी हत्तपत्त खाटबाट ओर्लिएर सारा झूललाई अँगालो हाली आफूतिर तानें । बाँकी तीनवटा बन्धन पनि चुँडिए ।

म क्रोधले बहुला झैं भएको थिएँ । झूलको एउटा फुर्कोलाई पानसको ज्वालामा डढाएँ । हुरहुर बल्न थाल्यो मेरो बाबरलेटको झूल । मनमा केही शान्ति भयो, तर कोठाभित्र त बस्नु भएन, घर सल्किने डर थियो । बलिरहेको झूललाई झट्ट चोकमा लगें थुप्र्याएँ, धुवाँले सारा घर रङमगियो ।

के-के न भयो भन्दै माथि बार्दलीबाट थुप्रै मानिस हेर्न लागे । म कुक्रुक्क बसेर बल्दो बाबरलेटको झूललाई हेर्दै थिएँ । माथिका मानिसहरूले पनि केही बोलेनन् । छ रुपियाँको झूलको अन्तिम क्रियालाई मैले टाउको निहुराई हेरिरहें । खरानी भएपछि म जुरुक्क उठें र एकपल्ट लामो सास फेरी बिस्तार-बिस्तार आफ्नो धुवाँ र लाम्खुट्टेले रङमगिएको कोठातिर हिंडें । के त्यस बखत म चिन्तित थिएँ ?

(पुस्तक ‘तारिणीप्रसाद कोइरालाका समग्र कथाहरू’बाट)