नागपञ्चमी
प्रकृतिको हरेक रचनालाई हामी सम्मान दिने गर्दछौं । साथसाथै पूजापाठमा पनि विश्वास गर्ने गर्दछौं । नागपञ्चमी पर्व पनि प्रकृतिसँग जोडिएको धार्मिक परम्परा हो । नागलाई देवताको रूपमा पुज्ने प्रचलन परापूर्व कालदेखि नै चलिआएको हो ।
यो पर्व हरेक श्रावण शुक्लपक्षको पञ्चमी तिथिको दिनमा मनाइने गरिन्छ । कथा यस्तो थियो :
गरुड पुराणको मान्यता अनुसार एक जना ब्राह्मणको घरमा सात छोरा र सात बुहारी थिए । श्रावण महीनामा मनाइने जनै पूर्णिमाको दिनमा सबै बुहारीहरू रक्षाबन्धनको दिन आ–आफ्नो दाइ–भाइको लागि रक्षाबन्धन लिएर माइततिर हिंडे । ती मध्ये छैटौं बुहारी जुन थिइन् ऊनको माइतीमा कोही पनि दाइभाइ थिएनन् । ऊनले माइतीमा नजाने निर्णय गरिन् । दुःखी हुँदै खल्लो महसूस गरी बसिरहेकी थिइन्, ऊनको मनमा अनेकौं कुरा खेल्न थाले ।
सोच्दासोच्दै अचानक ऊनले शेषनाग जी लाई याद गरिन् र बोल्न थालिन्, “शेषनाग जी ! मेरो कोही दाजुभाइ छैनन् । त्यसैले तपाईं मेरो भाइ बनिदिनुस् न .. !”
शेषनागजीले ऊनको बिन्ती सुनेर ब्राह्मणको रूप धारण गरी घरमा आइपुगे । अनि ती युवतीलाई भन्न थाले, “किन तिमी उदास भएर बसेकी ? भाइ नभएर के भयो त ? आजदेखि मलाई तिम्रो भाइ सम्झे हुन्छ ।”
त्यसपछि ती नागरूपी ब्राह्मणले जाऔं, हिंड मेरो घरमा भनी बिन्ती गर्न थाले । ती युवतीलाई लिई गाउँभन्दा केही टाढा पुगेपछि ती ब्राह्मणरूपी नागले आफ्नो रूप धारण गरी घरमा आइपुगे । भन्न थाले, “आऊ बैनी ! तिमी मेरो शिरमा बस । म तिमीलाई पातालको नागलोक लिएर जान्छु ।” यसरी ऊनीहरू दुवै जना नागलोक पुगे । त्यतिकैमा दिनहरू बित्दै थिए ।
एक दिन नागलोकमा एक नागकन्याले बच्चाहरू जन्माइन् । अब शेषनागले ती युवतीलाई आग्रह गरे, “बहिनी ! तिमी भित्र–बाहिर गर्दा हातमा दियो बालेर हिंड्ने गर । किनभने अँध्यारोमा भित्रबाहिर गर्दा नागकन्याका बच्चाहरू कुल्चिन सक्छन् । उज्यालो हातमा लियौ भने ती नागका सानासाना बच्चाहरू कुल्चिंदैन ।”
तर ती नारीले ब्राह्मणको आग्रहलाई बेवास्ता गरिन् । अनि एकदिन हिंड्ने क्रममा ती नारीले नागको बच्चालाई कुच्चिन पुगिन् । त्यस नागको बच्चा मर्न त मरेन तर उसको पुच्छर छिनियो ।
केही दिनपछि ती नारी आफ्नो घर फर्किछन् । हरेक वर्ष साउन महिनामा एउटा प्रतिमा बनाई त्यसैलाई नाग देवताको थापना गरी पूजा गर्न थाल्छिन् ।
यसरी नै समय बित्तै जान्छ । नागका बच्चाहरू पनि ठूला हुँदै जान्छन् । एकदिन तीनै पुच्छर छिनिएको नागले आफ्नो आमालाई सोध्छ, “आमा मेरो पुच्छर कसरी छिनिएको हो ?”
अनि आमाले जवाफ दिन्छिन्, “पृथ्वी लोकबाट आएकी एक जना नारीलाई तिम्रो पिताजीले बहिनी बनाएर घरमा ल्याउनु भएको थियो । उनै नारीले तिमी सानो हुँदा गल्तीले तिम्रो पुच्छर कुल्चिंदिदा पुच्छर छिनिएको हो ।” त्यत्तिकैमा त्यो बालक रीसले चूर भई जो सुकै होस् म त्यसलाई छोड्दिन भन्दै ती नारीलाई खोज्दै पृथ्वी लोकमा आइपुग्छन् ।
ती नारी बसेको घरमा आउँछन् । भित्र चियाउँछन् त तिनै नारीले ऊनको पिता शेषनागको प्रतिमामा ध्यान मग्न भई पूजा गरिरहेको पाउँछन् । केही छिनमा पूजा, पाठ र ध्यान गरिसक्छिन् ती नारीले । अनि यसो पछि फर्किंदा ती नारीले नागलाई भेट्छिन् । नाग ऊनलाई कुरेर बसिराखेको हुन्छ । र हतार गर्दै सम्मान सहित ल पूजाको प्रसाद खानुस् भन्दै खिर र दूध खान दिन्छिन् । नाग पनि खुसी भई ऊनलाई आशीर्वाद दिन्छन् ।
अनि नाग खुशी भएर हजुर मेरो पिताको बैनी हुनुहुँदो रहेछ भनी भावुक हुन्छन् । त्यसैले जसको घरमा नागलाई दाइ सम्झेर पूजा गर्दछन् ऊनीहरू अकाल मृत्यु र सर्प दोषबाट सधैं मुक्ति पाउँछन् भन्दै ऊनी आफ्नो नागलोक फर्किन्छन् । त्यसै दिनदेखि नागलाई भाइ वा रक्षक सम्झेर श्रावण महिनाको शुक्लपक्ष पञ्चमीको दिनलाई “नाग पञ्चमी” पर्व मनाउने प्रचलन चल्यो ।
०० ०० ०० ००
गुड्डिन पिटाइ
यही नागपञ्चमी पर्वसँग जोडिएको एउटा अनौठो प्रचलन गुड्डिन (पुतला) पिटाइ जुन भगवान् शिव र ऊनका भक्त सँग जोडिएको कथामा आधारित छ ।
यो कथा अनुसार एक जना भक्त हरेक दिन बिहान शिव मन्दिर गई पूजा गर्छन् । र नाग देवताको दर्शन गरी दूध पिलाउँछन् । त्यति काम गरेर मात्र घर फर्कने गर्दथे । बिस्तारै बिस्तारै ती भक्त र नाग देवता बीच गहिरो प्रेम बस्न गयो । प्रेमपूर्वक नागले अब आफ्नो मणिलाई पनि छोडेर ती भक्तको शरीरमा लपेट्न थाल्यो ।
यत्तिकैमा एक दिन श्रावण महिनाको शुक्लपक्षको पञ्चमीको दिन उनै भक्तको साथैमा ऊनको बहिनी पनि भगवान् शिवको दर्शन गर्न भनी दाजुको पछि पछि आएकी थिइन् । त्यसपछि ती भक्तलाई देख्नासाथ नाग देवता शरीरमा लपेटिन पुग्छ । आफ्नो दाइको शरीरमा सर्प लपेटिएपछि ती युवतीले ल अब मेरो दाइलाई यसले डसेर मार्ने भयो भनेर लट्ठीले पिटिपिटी दाइको प्रेमी नागलाई मारिदिन्छिन् । पछि दाइले आफू र त्यस मरिसकेको नाग बीचको प्रेम कहानी सुनाउँछन् । तब ती युवती निकै पछुताउँदै रुन थाल्छिन् । अब यी भक्त र नाग बीचको प्रेम कहानी सुनेका मन्दिरमा उपस्थित अन्य दर्शनार्थीहरूले नागलाई मार्नुको सजाय ती स्त्रीले पाउनै पर्छ भन्दै ती स्त्रीलाई पनि सबै जना मिलेर लट्ठीले पिटिपिटी मारिदिन्छन् ।
यसैको सम्झनामा नागपञ्चमीको दिन गुड्डिन (पुतला) बनाई गाउँको चोकमा जम्मा भएर केटीमान्छेले गुड्डिन छोडिदिने र केटामान्छेले त्यसलाई लट्ठीले पिट्ने चलन अहिले पनि चलिरहेको छ । यसै चलनलाई “गुड्डिन पिट्ने” भनिन्छ र गरिन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।