“हेर्नुस् जिन्दगी भनेको यस्तै हो । कहिले सुख कहिले दुख हार मान्नु हुँदैन । बुझ्नु भो माइला दाइ ! अब मलाई नै हेर्नुस् न सबै थोक गुमाएर पंगु भएर बसेको छु  । कुनै काम धन्दा भेटिंदैन । देशको हालत नै यस्तै छ अब गर्नु चाहिँ के । तैपनि हार मानेको छैन । टपरी टकटक्याएर भएन, दुना चाटेर भएन, पेट पूजा त गर्नै पर्‍यो धूप बत्ती बालेर भएन ।”

माइला दाइले मुख बंग्याउँदै भने,  “यसलाई बोलेर कसले भ्याउँछ हौ । कति मात्र बोल्न सकेको । तिमीहरूको त उमेर छ, किन हार मान्छौ हो केटा हो ?”

“त्यसो भए तपाईं बोल्नुस् न त हामी सुन्छौं नि । अझ तपाईं त देश खाएर शेष पल्टेको मान्छे ।”

“केही कुरा नै छैन मेरो, के भन्नु ?”

“होला नि, सानोमा गोठालो जाँदा कुराहरू हामी भन्दा बाह्र-तेह्र भोटो बढी फटाको मान्छे ।”

माइला दाइ हामी भन्दा १३ वर्षले जेठा छन् । केही वर्ष खाडीमा दुःख गरेर फर्किएका मान्छे । एउटा छोरा एउटा छोरी भइसकेको मान्छे । राम सोल्टी चुपचाप चुरोटको धुवाँ फुस्स उडाउँदै एकोहोरो माइला दाइको र मेरो संवाद सुन्दै थियो ।

खासमा राम सोल्टीको र माइला दाइको गाउँ एउटै हो – तादी गाउँपालिका नुवाकोट । घर चाहिँ राम सोल्टीको अलि तल । राम सोल्टीको भन्दा झण्डै पाँच किमी माथि काउलेमा तामाङ बस्ती छ । माइला दाइको घर त्यहीं तामाङ बस्तीमा छ र माइला दाइ पनि तामाङ नै हो । यहाँ पनि माइला दाइ र राम सोल्टी एउटै घरको ओल्लो पल्लो कोठामा बस्छन् । म चाहिं पल्लो घरमा आज रामसँगै खाना खाएको । हामी दुवै जीउ तन्काउँदै थियौं माइला दाइ फुत्त आइपुगे । अनि गफ सुरु भो ।

“सानो बेला त खुब रमाइलो भयो, दुख पनि भयो । गोठालो गयो, गाई चरायो, गोठ लग्यो, बाँध्यो, त्यस्तै त हो नि ।”

“अनि माइला दाइ ! गोठालामा लड्कीहर हुन्थेन र ?”

“टन्नै नि !”

“अनि उ… त्यो पनि भयो होला नि !”

“छ्या ! त्यस्तो त कहिल्यै भएन मेरो त,” लजाउँदै भने ।

“हावा कुरा फेरि…”

“हो के । तर मभन्दा ठूलाहरूले चाहिं लीलै गर्थे । अहिलेको मेरो जेठान पनि त्यै हूलमा थिए । अनि मेरो साख्खै दाइ पनि !”

“हो र ? सुनौं न त के क हुँदो रैछ त्यो बेला ।”

“त्यो दिनहरूमा म अलि सानो थिएँ । त्यस्तो धेरै सानो चाहिँ होइन । हाम्रो घरभन्दा माथि बाघमाराछेउ तिर गोठ थ्यो । त्यो बेला त्यता गाई चराउनेहरूको लामै हुन्थ्यो । हाम्रो तिर भैंसी चाईं काटेर खाने भएकोले घरमा पाल्दैन थ्यौं । त्यै भएर गाई पाल्थे हजुरबाले । अनि एकदिन चरनबाट गोठ जाने बाटोमा सानो प्वाल थ्यो । माथि चाहिं लगभग चार फीट जतिको प्वाल अनि तल पूरै ओढार थ्यो, एउटा कोठै जत्रो थ्यो । अनि दाइहरूले कसको गाई बलियो छ आज जाँच गरौं भने । त्यो प्वालबाट गाई जुन जुनले नाघ्छ त्यो बलियो ठहरिने भयो, नसक्ने निर्धो ।

सबैले सहमति जनाएपछि एक एक गर्दै गाईलाई छेकेर त्यहाँबाट फड्किन लगाइयो । बलिया गाईहरू त सबै गए तर मेरो एउटा गाई चाईं बूढ भैसकेको थियो । बिचरा ख्याउटे भैसकेको शरीरमा कुनै शक्ति नै नभए जस्तो अल्लारे बुद्धि किन गतिलो हुन्थ्यो । चारैतिर छेकेर गाईलाई त्यहींबाट फड्किन बाध्य पारियो बूढी गाईले फाल हान्यो । तर के जोर चलोस् । शक्तिहीन शरीरको ग्वाम्मै प्वालमा अड्कियो  । न तल झर्‍यो न माथि आउन सक्यो ।

त्यसपछि म जोडले रुन थालें । मेरो गाई फसेको कारणले होइन । बेलुका घरमा हजुरबाको गोदाई खानु पर्छ भनेर । सबै मिलेर तान्ने ठेल्ने गर्दा पनि बाहिर निकाल्न नसकेपछि एउटाले जुक्ति लगायो । अब गरालो हालेर उठाऔं । सबैले सहमति दिए । अनि बाँसको गरालो बनाएर गाईलाई पाँच-छ जनाले उठाए । बल्ल बल्ल गाई बाहिर निकाल्यौं । तर अगाडि पट्टिको दाहिने खुट्टा भाँचिएछ । त्यसपछि गरालोमै गाईलाई बोकेर अलिक पर सजिलो स्थानमा सार्यौं । एउटाले भन्यो – यो गाईलाई आज लग्न सकिंदैन, यहीं छाडौं । भोलि बिहानै मान्छे बोलाएर लानुपर्छ । तर त्यो कुरा मान्ने तयारीमा म थिइनँ ।

इन्कार गर्दागर्दै पनि  अन्तमा मान्नै पर्‍यो । नमानेर के गर्नु, गाईको हालत त्यस्तै थ्यो । राती भिरमा नलडोस् भनेर छेउमा ढुङ्गाको सानो पर्खाल बनाएर त्यहाँबाट निस्कियौं । साँझले दिनलाई निल्न थालिसकेको थियो । म धेरै रोएकोले एक जना दाइले मलाई काँधमा बोकेर लगे । बीचमा सानो खोल्छा अनि खोल्छा, पारिपट्टि अलिक माथि गोठ । मलाई लागेको थियो अब घर जान्छन् । तर ऊनीहरू त गोठतिर पो लागे । बाटोमा सुइँसुइँ पार्दै एउटाले सिट्ठी  मार्‍यो । पारि पट्टिको डाँडामाथि बाट पनि सुइँ सुइँ पारेको टड्कालो सुनियो । सुइँ सुइँ पार्ने अरू कोही नभएर तरुनीहरू थिए । तरुनी पनि छिल्लिएका तरुनीहरू । मलाई पछि मात्र थाहा भयो । त्यस्तो सुइँसुइँ त वैंशालु भाषा रहेछ । सुइँसुइँको संवादबाटै एक-अर्काका नाम भन्ने, कुरा गर्ने, बोलाउने, कुन ठाउँमा भेट्ने यस्ता सबै हुँदो रहेछ ।

गाईहरूलाई गोठमा बाँधिसके पछि पारिपट्टि फेरि सुइँ… पारेको सुनियो । तलबाट केटाहरूले पनि त्यस्तै सुइँ… पारे । अनि मलाई दाइले त्यै गोठमा बस है हामी एकछिनमा आउँछौं भनी जानखोजे । म एक्लो, सुनसान साँझ, माथि लाङटाङ निकुन्ज, मुटुमा एक चोटि ढ्याँग्रो बजिहाल्यो । एकतिर घर पुगेसी हजुरबाको गोदाइ खानु पर्ने डर, अर्को तिर एक्लै बस्नु पर्ने । मलाई झन् जोडजोडले रुन पो आयो । ग्वाँ ग्वाँ नै रोइदिएँ । अब कसको के लाग्नु ।

फेरि मलाई पनि बोकेर सबै जना उकालो लागे । त्यो सुइँइँ… को दोहोरी अझै रोकिएको थिएन । पालै पालो सुइँइँ… पार्दै उकालो लाग्दै थिए । झम्के साँझ, ऐंसेलु घारीबाट जुकाको बिगबिगी, त्यै पनि नरोकिने कस्तो बैँस, कस्तो उमेर, कस्तो समय, त्यो कस्तो उत्साह, ओहो ! म पनि ठूलो हुँदै गर्दा यस्तै बोका त हुँदिन ? आफैंलाई प्रश्न गरें । फेरि त्यही सुइँसुइँले ध्यान उतै तान्यो । अलि माथि पुगेपछि त्यही छिल्लिएका तरुनीहरूको गोठमा पुगियो । मलाई गोठको एक ठाउँ बिसाएपछि सबै जना आफ्नै धुनमा मस्त भए ।

बीचमा आगो बालेर चारैतिर तरुनी र तरुनो हरूको जुहारी चल्न थाल्यो ।

~ हे रातो रुमाल चिनो भो राख्न देऊ ।

चोखो माया मेरै भो साँच्न देऊ ।

जाले रुमाल तिमी कुमाली मै त कुमाल

~ हे रातो रुमाल चाहिंदैन फिर्ता भो

के गरेर पाल्छौ खै चिन्ता भो

जाले रुमाल तिमी कुमाल मै त कुमाली

मेरो दाइले चाहिं गोठबाट दश-बाह्र ओटा नूनको ढिक्का बोकेर ल्याएको रहेछ । बीचमा दन्किरहेको आगोमा दाइले फुत्त त्यो सबै नून हालिदियो । त्यसपछि त के थ्यो र नून पटका पड्किए जस्तै पटटट पड्किन थाल्यो । तरुनीहरू भागाभाग गर्न लागे । मानौं त्यहाँ नून होइन, बम पड्किएको छ ।

तर त्यो नून आगोमा पड्काउनु फगत एउटा बहाना रहेछ । केटाहरू पनि भागेका तरुनीको पछिपछि दगुर्न लागे । कोही ऐंसेलु झाडीपछाडि गएछन्, कोही गोठपछाडि, कोही गोठभित्र कुनामा, कोही खुल्ला आकाशमुनि ढुङ्गामा छेलिएछन् । एकछिनमा चकमन्न भयो । आगोको भरभर झ्याउँकिरीको केरिरिरी, अनि हावाको स्वाँ… बाहेक अरू केही थिएन । मलाई भने डर लाग्न थाल्यो । लाग्यो – मलाई छाडेर सबै घर भागेछन् क्यारे । खोज्न थालें गाईको गोठ पछाडि, अगाडि । मैले जे देखें त्यसले मेरो होस उड्यो । घाँसमाथि ती तरुनी सर्वाङ्ग नाङ्गो शरीरमा लुगाको नाम पेटिकोट मात्र, त्यै पनि पल्टिएर पटुकी जस्तै भैसकेको थियो । एक्कासि दाइले ती तरुनीको वक्षस्थलमा दुई ओटा हातले झ्याप्प अँठ्यायो । तरुनीले घचेटी । त्यो दाइ अलि पर पुग्यो । फेरि झम्टिएर तरुनीलाई छोप्यो आगोको मधुरो उज्यालोमा युद्ध मच्चियो ।

मैले पर एक छेउमा खाँबोमा छेलिएर त्यो सब हेरें । तर उनीहरूले मलाई देखेनन्, खै देखेर पनि वास्ता गरेनन् कि ! उनैले जानून् । अघिको साँझ छिप्पिएर जवान रात भैसकेको थियो केही समय पछि एकएक गर्दै फर्किए ।  त्यै आगोको वरिपरि जम्मा हुन लागे । प्रायः सबैको अनुहार रातो थियो । तरुनीहरूको कपाल बिग्रिएको थियो । अनुहारमा छुट्टै चमक थियो । अब केही समयको ठट्टापछि केटाहरू गोठ फर्किने तरखर गरे ।

फर्किंदा मलाई त्यसरी नै काँधमा बोकेर फर्किए । अँध्यारो धेरै भएकोले ढोंड बालेर फर्किएका थियौं । एउटा दाइले पछाडिबाट भन्यो – ओ आस्याङ्ग तैंले भ्याइस ?

त्यो दाइले भन्यो – कहाँ बाँकी छाड्नु यार ।

अर्को  बोल्यो – मलाई छुन नि दिएन यार । सबै जना गललल हाँसे ।

फर्किंदा बाटोमा एउटा बूढो बाको गोठ थियो । आकाशलाई घुरिरहेको बूढाले भनिहाल्यो – थुक्क मुर्दारहरू हो ! चोखो कसैलाई नछोड्ने भयौ होइन ।

एउटा दाइले इतरिंदै भन्यो – बूढा ! यो उमेरमा तिमी चाईं कस्तो थियौ र ?

सबै जना हाँसे । मैले त होइन तर मेरा दाइहरूले चाईं मोज गर्थे । त्यो म त सोझो थिएँ ।”

“अनि नि… बच्चा बस्यो भने के गर्थे ?”

“के था । छोप्वा हान्थे, कोइले त्यै हो । ल मलाई चाईं निद्रा लाग्यो म सुत्न गएँ ।”

“लल दाइ ! बाँकी अर्को दिन सुनाउनू है । यो त दाइहरूको भो । तपाईंको बाँकी छ है ।”

 

– सुवास श्रेष्ठ