बा-आमाको साथमा रहुन्जेल भक्कु सुत्ने गरिन्थ्यो । जबदेखि आफ्नो लागि आफैले केही गर्नुपर्छ भन्ने चेत मनमा फुर्यो तबदेखि बिहान छिट्टै उठ्ने गरिन्थ्यो ।
सम्झिन ठ्याक्कै नसकेको त्यो दिन, उज्यालो हुनु अगावै उठेँ भालेको प्रथम पहरको कुखुरी काँ सँगै । रातभर रोएको जूनको आँसु चिसो शीतलाई जम्मा गरी अनि मज्जाले उमालेँ । त्यसैमा अलिकति तन्नेरी बैंसलाई घोली, सपनाको अलैँची पिसेर बनाएको कल्पनाको कित्लीबाट एक कप तात्तो चिया छानेँ । सुरुप्प एक चुस्की जिब्रोको टुप्पोमा पर्दा पूर्व क्षितिजमा अरुण बिउँझे ।
अन्धकार खै कता गएर लुके । ठम्याउन सकिनँ । बिहान सँगै आएको उज्यालोमा । अरुण बिस्तारै-बिस्तारै पूर्वी क्षितिजको डाँडाको ढाड हुँदै टाउको उछिनेर माथि आकाशमा पुगे ।
– यसरी प्रारम्भ हुन्छ दिन ।
दिनसँगै आएको अनेक कर्तव्यलाई पूरा गर्दै समयको साथमा घिस्रिरहें जीवन पथमा सदा झैं । सफल जीवन, सुखी जीवन ! खुशीको बिरुवाहरू कति उम्रे, अनि उम्रेर कति हुर्के, कति हुर्काउँदा-हुर्काउँदै मरे, अनि झरे, अनि खरानी बने ।
००००
सिलसिला जारी छ । आज बाँचेर गरेको कर्मलाई सक्काएर फर्कन्छु, आफ्नो हो भन्ने अस्थायी गुँडमा । म फर्कंदै गर्दा घाम पनि हिंड्दा-हिंड्दै थाकेर पश्चिम क्षितिजको डाँडालाई सिरानी बनाएर सुत्छ खोज्दै छ ।
जूनको बाछिटा ताराहरू पौडन्छन् निराकार आकाशमा । दाग सहितको सुन्दर जून एक्लै उदाइरहेको । प्रेमिकालाई पर्खी रहेको प्रेमी जस्तै बनेर । एक्लो जूनलाई आकाशमा एक्लै छाडेर म पस्छु आफ्नो अस्तित्व जोगाउने अस्थायी डेरामा ।
अस्थायी डेराको दैलो छेउमा निदाएर बसेको जुत्ताबाट साँचो निकाल्छु । दैलो खोल्छु । भित्र पस्छु । थाकेको शरीरलाई फ्रेस बनाएर । बिहानदेखि एक्लै अनशन बसेको अगेनामा भोकलाई उमाल्छु ।
निर्धारित समयमा तयार भएको खाना खान्छु । अनि अर्पण गरेँ आफूलाई रातले ल्याउँदै गरेको निद्राको काखमा । सिरानीलाई अँगालेर कोशिश गर्छु सुत्न । तर निद्रा लागिरहेको छैन । हिजोअस्ति जस्तो भोलि काममा जानु छ । यदि सुतिन भने काम गर्न अप्ठ्यारो हुन्छ भनेर पनि थाहा छ । र पनि फिटिक्कै निद्रा लागिरहेको छैन । सिरानी छेउमा रहेको लाइटको स्विच अफ गरें । अँध्यारो छायो, सन्नाटा छायो कोठामा । म बाहेक अरू कोही छैन । नबोल्ने निर्जीव बस्तुहरू बाहेक ।
परपरबाट कुकुरहरूको भुकेको आवाज आइरहेको छ । घर छेउमा अवस्थित चाँपको रुखमा कराउँदै गरेको लाटोकोसेरो को हुँ.. हुँ… आवाजले झन् लाग्न लागेको निद्रा पनि हराई जादैंछ ।
मन बिस्तारै अधीर हुँदै जान्छ । आँखाबाट निद्रा कोसौं दूर हुँदैछ । कहिल्यै यस्तो हुँदैन थियो तर आज के हुदैँछ । हुँदै गरेको अवस्थादेखि म अनभिज्ञ छु । झल्याँस्स
साथीले भनेको कुरा सम्झिन पुग्छु । जुन कुराले मनमा चिसो पसेको थियो – निद्रा नलाग्नु डिप्रेसनको लक्षण हो ।
“कतै म डिप्रेसनको सिकार त भएको होइन ?” आफैले आफैलाई गरेको प्रश्न ।
उत्तर आउँछ – छैन हो, डिप्रेसन-सिप्रेसन भएको ।
आफैले आफैलाई बडो मजबुत बनाएर सानोतिनो पीडाबाट कहिल्यै केही नभएको कुरा सम्झाउन समय खर्चिरहें ।
घडीमा कति बज्यो हेर्न चाहिनँ । हेरेर के नै गर्नु छ र ? फेरि घडी हेर्दैमा घडीले तोकेको समयमा आउने होइन क्यारे निद्रा ।
अधीर मन झन् चङ्गा हुँदै छ । एक्कासि झ्यालमा लगाएको पर्दा फिरफिर चल्छ । चिसो हावाको प्रस्थान हुन्छ कोठामा । उठेर हेर्छु, झ्याल राम्रो सँग लागेको रहेन छ । स्विच अन गर्नासाथ कोठाभरी उज्यालो पोखिन्छ । झ्याल भएको ठाउँतिर जान्छु । झ्याल बाहिरको सुन्दर जुनेली रातले मनलाई मोहित पार्छ । अनि उतै तानिन्छु ।
झ्याल लाउन उठेको मान्छे, पूरै झ्याल खोलेर बाहिरको दृश्य पान गर्न तल्लीन हुन्छु । झ्याल अगाडिको बल्कोनीमा उत्रेर बस्छु । टाढा-टाढा सम्म देखिने जुनेली रातले बनाएको क्षितिज हेरिरहेँ ।
सुन्दर ! शान्त ! दुनियाँ सुतिरहेको छ । मै बसेको घरको घरबेटी, बाँकी कोठाहरूमा रहेको सबै मानिसहरू सुतिरहेको छन् ।
तर म ! सुत्न मन नलागेर नसुतेको होइन, निद्रा नआएर पो हो त ! दोषी म हुँ या निद्रा, थाहा छैन । प्रकृतिले बनाएको नियम उल्लङ्घन गरिरहेको छु, सुत्नु पर्ने बेलामा नसुतेर त्यो पनि बिनाकारण ।
बाल्कोनीमा भएको सिटिङ् चियरमा बसिरहेँ टोलाएर । अघि सम्म भुक्दै गरेको कुकुरहरूको आवाज कता विलीन हुन्छ । अहिले सुनिंदैन । शायद उनीहरू पनि सुतिसकेका छन् या सुत्ने तरखरमा छन् । लाटोकोसेरोको आवाज चाहिँ आउँछ बेलाबेलामा ।
सिङ्गो आकाशमा राज गर्दै गरेको जून, जूनसँगै चम्किरहेको अनगिन्ती ताराहरू, टाढा आकाशसँग जोडिएर बसेको अग्ला काला पहाडहरू, अनि यति धेरै प्राकृतिक सौन्द्रयको मजा लुट्दै गरेको म ! यसरी बस्दा-बस्दै कफी खान मन लाग्यो । कोठाभित्र छिर्छु । इलेक्ट्रिक जगमा पानी उमाल्छु । एक कप कालो कफी बनाएर पहिलेकै ठाउँमा गएर बस्छु ।
बस्दा-बस्दै म निकट विगतको स्मृतिको पानाहरू पल्टाउन विवश हुन्छु । क्या गजबको थियो मेरो विगत ! सबै आफ्नाहरूको मिठो साथ । अभाव कस्तो हुन्छ चाल पाउन नदिएर यहाँसम्म पुर्याइएको म ।
आभारी छु उहाँहरू प्रति । अहिले सिक्दैछु, बुझ्दैछु जीवनबारे एक्लो भएर । अप्ठ्यारो पनि त केही भएको छैन ।
कति धेरै गहिरिएर डुबेछु विगत जीवनको सागरमा । पौडिंदै पौडिंदै । प्राथमिक स्कूल हुँदै हाइ स्कूलसम्म गाउँ छेउको स्कुलमा गरेको अध्ययन । स्कूलका साथीहरू, साथी मध्यको विशेष साथी निर्जला शर्मा !
निर्जला साह्रै मिल्ने साथी थिइन् । समय सँगै बग्दै-बग्दै बर्षौं सम्म साथ रह्यो । एक दिन अचानक परिस्थितिको सुनामी आयो त्यहीँ सुनामी सँगै ऊनी देश छोडेर टाढा गइन् आफ्नाहरू सँगै अब्बल जीवनको लागि । मलाई भने सधैं पर्खिबस्ने किनारा बनाइन् ।
निर्जलाको स्मृतिले झनै मेरो निद्रा लाखौं कोष टाढा पुर्याएको थियो । ऊनलाई गुमाएको पनि होइन । ऊनीलाई पाउँछ भनेर ठोकुवा गर्ने आधार पनि केही छैन ।
ऊनलाई बुझेको थिएँ । ऊनले पनि मलाई बुझेकी थिइन् ?
शायद थिइन्, मेरो कोरा अनुमान, अनुमान सत्य नहुन पनि सक्छ ।
हामी उस्तै-उस्तै उमेरका थियौं । उनी साह्रै सुन्दर थिइन् । मलाई हेरिरेहेको जून जस्तै । उनी गएदेखि कुनै माध्यम द्वारा भेट भएको छैन । तर अलिकति आशा बाँकी छ । एक दिन आउने छिन् र किनारा बनेर पर्खिबसेको मलाई ऊनी सँगै बगाएर लानेछिन् ।
अचाक्ली सताउने स्मृतिको गहिराइमा कति डुबेछु । स्कूल, निर्जला, गल्छेडा, गाउँ-बेंसी । अनेकन् मन पर्ने ठाउँहरू ।
मेरो मौनतालाई भङ्ग गर्दै थियो तप-तप आकाशबाट चुहिंदै गरेको शीतको थोपाले । शीत झर्नु भनेको बिहानीको संकेत हो, यस्तै सुनेको थिएँ । हो रहेछ, शीतको बर्षात सँगै भालेको कुखुरी काँ सुनिन्छ ।
म झसङ्ग हुन्छु । नसुतेरै कटाएछु रात ।
ओछ्यानमा गई पुनः सुत्ने कोशिश गर्छु । तर समयले उठ्ने बेला भएको संकेत दिंदै थियो । एक छिन पनि नसुतेर बिताएँ ।
किन बिताएँ ? स्मृतिको पानाहरू पल्टाएर ? निर्जलाको सम्झनाले गर्दा पो हो कि ?
बडो मिठासपूर्ण बितेको थियो ।
त्यो अनिदो रात ! जेसुकै, जस्तोसुकै कारणले भए पनि ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।