हिमवतखण्डले भने अनुसार गौतम ऋषिको तपस्थल मिथिला थियो । कुनै समय मिथिला राज्यमा वर्षौंदेखि पानी नपरेर हाहाकार मच्चिएको थियो ।
वर्षा गराउनको लागि गौतम ऋषि र उनकी पत्नी अहिल्याले जलदेवता वरुणको तपस्या गर्दछन् । ऋषि दम्पतीको तपस्याको प्रभावले वरुणदेव प्रसन्न भई प्रकट हुन्छन् र भन्छन्, “म तिमीहरूको तपस्याबाट प्रसन्न भएँ, के वर माग्छौ माग ।”
वरुणदेवको यो आज्ञा भएपछि ऋषि गौतम र उनकी पत्नी अहिल्याले एकसाथ निवेदन गर्छन्, “वर्षौं देखिको लामो खडेरीका कारण जीवजन्तु, वनस्पति लगायत मनुष्यहरू जलाभावले निकै तड्पिरहेका छन् प्रभू । अतः जीवजगतको जीवन रक्षार्थ हजूरले यस ठाउँमा गङ्गाको उत्पत्ति गरिदई सबैको प्राणोद्वार गरिदिनु भए हामी धन्य हुनेछौं ।”
त्यसपछि वरुणदेव भन्नुहुन्छ, “मैले गङ्गाको उत्पत्ति गराउन त सक्दिनँ तर एउटा कुवामा अक्षय जल स्थापना गर्न चाहिँ सक्छु ।” यसरी अक्षय जलकुण्ड स्थापना गरिदिन्छन् र आफू त्यहाँबाट अन्तरध्यान हुन्छन् ।
अन्य ऋषि पत्नीहरू जो गौतम ऋषि दम्पतीप्रति पहिल्यैदेखि रिस गर्ने गर्थे, ऊनीहरूको यो पुण्यकर्मको खबरले त ऊनीहरू रिस र ईर्ष्याले जलेर खरानी हुन थाले । ऊनीहरू उक्त कुण्डमा जल लिने बहानामा गए जहाँ गौतम ऋषि दम्पती गाउँका केटाकेटीहरूका घैलामा भटाभट जल भरिदिंदै थिए । त्यहाँ पुग्नासाथ ऊनीहरूले ती केटाकेटीहरूका घैला गौतम दम्पतीका हातबाट खोस्दै जल शुरूमा हामीले भरेर लाने हो भन्दै गौतम दम्पतीसँग झगडा गर्न थाल्छन् ।
त्यसपछि गौतम दम्पतीले पहिले यिनीहरू आएका हुन्, अतः यिनीहरूको घैला भरेपछि तिमीहरूको पालो आउँछ भन्दा पनि ऊनीहरू मान्दैनन् र उल्टो घरमा रित्तो घैलाका साथ फर्केर आफूहरू गौतम दम्पतीबाट अपमानित हुनुपरेको झुट्टो आरोप लगाउँदै आ-आफ्ना ऋषिहरूलाई ऊनीहरूका विरुद्ध उठ्न बाध्य बनाउँछन् । यसपश्चात् सबै ऋषि र उनका पत्नीहरू मिलेर भगवान् गणेशको तपस्या र यज्ञ गर्न थाल्छन् । तपस्याका कारण भगवान् गणेश प्रकट हुन्छन् र भन्छन्, “तिमीहरूको तपस्याबाट म प्रसन्न भएँ, माग के वर माग्छौ ।”
त्यसपछि ऋषि र उनका पत्नीहरूले गौतम ऋषि र उनकी पत्नी अहिल्यासँग प्रतिशोधको भावना स्वरूप ऊनीहरू दुवैलाई आफूहरूका सामु लज्जित पार्ने किसिमको कुनै सजायको माग गर्छन् ।
ऊनीहरूको माग सुनेपछि गणेशले तिमीहरूले आफ्नो लागि वर माग कि लोक कल्याणका लागि माग । कसैको कुभलो गर्नका लागि वर नमाग भन्दा पनि गणेशलाई जबर्जस्त वर दिनका लागि विवश पार्छन् र ऊनीहरूको माग अनुसार वर दिन्छन् ।
अनि ऋषिहरूको भनाइ अनुसार भगवान् गणेश वृद्ध रोगी गाई बनेर गौतम ऋषिको आश्रमतर्फ जान्छन् । गौतम ऋषि र उनकी पत्नी अहिल्याले वृद्ध रोगी गाई आफ्नो कुटीमा आएको देखेर ऊनलाई केही खानेकुरा दिन्छन् । ऊनीहरूले दिएको खानेकुरा खाएपछि उक्त गाई मर्छिन् । त्यसपछि गाईको पछिपछि आएर त्यतैकतै लुकी बसेका ऋषिहरू र उनका पत्नीहरू ऋषिका कुटीमा पुग्छन् र गौतम ऋषि र उनकी पत्नी अहिल्यालाई गौहत्याको अभियोग लगाउँदै ऊनीहरूको मानहानि गराउन थाल्छन् ।
अनि भन्छन्, “यस्ता गौ हत्याराको मुख समेत हेर्नुहुँदैन, यिनले ऋषि कर्म गर्न, वेद पढ्न, अग्नि होम गर्न पनि मिल्दैन । यसर्थ यिनलाई त यस इलाकाबाट अन्तै लखेट्नुपर्छ ।” यति भनेर तिनीहरू गौतम ऋषि दम्पतीलाई गाउँ निकाला गर्छन् ।
ऊनीहरू एक सय कोष पर गएर बस्छन् । केही दिनपछि थाहा पाएर त्यहाँबाट पनि लखेट्छन्, वेद पढ्न, अग्नि होम तथा सबै ऋषि कर्म गर्नबाट वञ्चित गराइदिन्छन् ।
त्यसपछि गौहत्याको पापबाट मुक्ति पाउने उपायका लागि त्यस ठाउँ छाड्नुअघि गौतम ऋषिले अन्य ऋषिहरूसँग सोध्छन् । ऋषिहरूले उनको पापमोचनका लागि तीन पटक पूरै पृथ्वी परिक्रमा गर्नुपर्ने, सवा करोड पार्थिव शिव लिङ्ग बनाएर आराधना गर्नुपर्ने र यति गरिसकेपछि मात्रै यस पापबाट मुक्त हुने बताउँछन् ।
त्यसैअनुरूप गौतम ऋषि र उनकी पत्नी अहिल्या आफूहरूलाई लगाइएको गौहत्याको पापमुक्तिका लागि पृथ्वी परिक्रमामा लाग्छन् ।
सिन्धुली जिल्ला कमला माई नपा वडा नं-२ चियाबारी देखि अन्दाजी २ किमी उत्तरमा गौमती गङ्गा (हालको ग्वाङ खोला) को उत्पत्ति स्थल अर्थात् मुहान छ । जगत गुरु बालसन्त मोहनशरण ज्यूले जानकी मन्दिरको उत्तरी देशान्तर गौतमी गङ्गाको शिरमा त्र्यम्बकेश्वर ज्योतिर्लिङ्ग उत्पत्ति भएको भन्ने शास्त्रीय आधारका रूपमा यस स्थानमा आएर हेरी अनुमानित ठाउँमा मिति- २०७६/८/२४ मा पार्थिव शिवलिङ्गलाई त्र्यम्बकेश्वर ज्योतिर्लिङ्गको नाममा प्राण प्रतिष्ठान गर्नुभएको छ ।
शास्त्रीय मान्यताअनुसार यसै ठाउँमा गौतम दम्पती तीन पटक पृथ्वीको परिक्रमा सकेर आई भगवान् शिवजीको तपस्या गर्न थाल्छन् । त्यस पश्चात् ज्योतिर्लिङ्गको रूपमा उत्पत्ति भएको वास्तविक ज्योतिर्लिङ्ग त्यही स्थानको वरिपरि जमीनमुनि हुनसक्ने जनविश्वास छ । यसलाई उत्खनन गर्ने कार्यमा पूरातत्व विभागको गतिशील सक्रियता आवश्यक छ । यसो हुन सक्यो भने त्यो ज्योतिर्लिङ्ग भेटाउन सकिने प्रचुर सम्भावना छ र हामीलाई सक्कली ज्योतिर्लिङ्गको दर्शन गर्ने सौभाग्य जुट्ने थियो ।
उत्पत्तिको सन्दर्भमा कुरा गर्दा एउटै नामको ज्योतिर्लिङ्गको उत्पत्ति पृथ्वीको एउटै स्थानमा हुनसक्छ । एकै चीज दुई ठाउँमा एकै चोटि सम्भव हुनै सक्दैन । परन्तु त्र्यम्बकेश्वर ज्योतिर्लिङ्ग मन्दिर भारतको महाराष्ट्र अन्तर्गत नासिक शहर जो गोदावरी नदीको तटमा छ त्यो सन् १७५५ मा नाना साहेक पेस्वाले निर्माण आरम्भ गरी सन् १७८६ मा कुल लागत रु. १६ लाखको खर्चमा जीर्णोद्धार गरेका थिए । काला पत्थरले निर्माण गरिएको यस मन्दिरलाई झट्ट हेर्दा उक्त ज्योतिर्लिङ्गको उत्पत्ति स्थल भारतै हो कि जस्तो पनि लाग्छ । यसर्थ यो विषयले हाम्रा मनमा एक विरोधाभासपूर्ण सन्देह पैदा भने अवश्य गराउँछ । यसकारण कि १२ ज्योतिर्लिङ्गको नामले फरक फरक ठाउँमा उत्पत्ति भएको भनिएको स्थान भारत हो भनेर ४/५ सय वर्ष पहिले नै भारतले धाम बनाई सकेको छ । अतः यसको खास स्थानको खोजी राज्यको सम्बन्धित निकाय मार्फत् हुनु जरूरी छ ।
आफ्नो ऐतिहासिक सम्पदाको संरक्षण गर्नु राज्यको प्राथमिकतामा पर्छ । त्यसो त भारत यस्ता नक्कली कामका लागि नेपालभन्दा एक पाइला अगाडि नै देखिन्छ । उदाहरणका लागि नेपालमा जन्मी हुर्केका गौतम बुद्धको नक्कली स्तुपा भारतमा हुनु र बुद्ध भारतमै जन्मेका हुन् भनेर प्रचार गर्नुले यो प्रसङ्गलाई स्पष्ट पार्छ । प्राचीन सम्पदाको खोजी र तिनीहरूको संरक्षणमा प्रायः निरीह नै देखिन्छन् नेपाली शासकहरू ।
राज्यको यो उदासीनताले भारतलाई सहयोग पुर्याएको छ । खासमा त्र्यम्बकेश्वर ज्योतिर्लिङ्गको उत्पत्ति हाम्रो यही स्थानमा भएको हो । यो किन पनि प्रामाणिक छ भने भारतले त्यस स्थानलाई गोदावरी नदीको तट भनेको छ । किन्तु गौतम ऋषिको नामबाट उठेकोले त्यो गौतमी नदीको तट हुनुपर्छ ।
यसै प्रसङ्गमा जगत गुरुले हाम्रा वैदिक शास्त्रबाट प्रशस्त प्रमाण जुटाउँदै जानुभएको छ । यस क्रममा उहाँले मिथिलामा गौतमी नदी छ कि छैन भनेर अध्ययन गर्दा बृहत् विष्णु पुराणमा यस्तो भेट्नुहुन्छ-
कमला गौतमी संगे ।
तीर्थकोटि फलं लभे ।।
अर्थात् जहाँ कमला र गौतमीको संगम स्थल छ त्यहाँ गएर माघमा स्नान गरेमा करोडौं तीर्थमा नुहाएको फल मिल्छ ।
अब माथिकै कथा प्रसङ्गमा फर्कौं । तीन पटक पृथ्वी परिक्रमा पश्चात् गौतम ऋषि र उनकी पत्नी अहिल्या हालको ‘ग्वाङ’ खोला अर्थात् ‘गौतमी’ गङ्गा जगतगुरुले प्राण प्रतिष्ठान गरेको स्थानमा आइपुग्छन् र माटोका सवा करोड शिवलिङ्ग निर्माण गरी शिवको आराधना र उपासना गर्छन् जसको प्रभावले भगवान् शिव प्रकट हुन्छन् र भन्नुहुन्छ, ‘म तिमीहरूको त्याग र तपले प्रसन्न छु के वर माग्छौ माग ।’
ऋषि पतिपत्नी भन्छन्, “हे देवाधिदेव महादेव ! हामीलाई गौ हत्याको अभियोग लागेको छ यस पापबाट हामीलाई मुक्त गराइदिनुस् !”
ऊनीहरूको यस्तो वर सुनेपछि भगवान् शिव भन्नुहुन्छ, “तिमीहरूले कुनै गौहत्या गरेका छैनौ । ऊनीहरूले तिमीहरूलाई झुट्टो आरोपमा फसाएका हुन् । अपराधी त तिनीहरू हुन् । अतः म तिनीहरूलाई सजाय दिन्छु ।” शिवका यस्तो कुरा सुनेपछि गौतम ऋषिले भन्छन्, “भगवान् ऊनीहरूलाई सजाय नदिनुस् किनभने आज ऊनीहरूकै कारण हामीले हजुरको दर्शन पायौं, नत्र हामीले कसरी हजुरको दर्शन पाउन सक्थ्यौं ? यसर्थ हाम्रा लागि ऊनीहरू निकै महान् मार्गदर्शक हुन् ।”
गौतम दम्पतीका यस्ता महान् वाणी सुनेर भगवान् शिव झनै प्रसन्न हुनुहुन्छ र पुनः भन्नुहुन्छ, “उसो भए तिमीहरूले मसँग के वर माग्छौ त ?”
ऋषि गौतमले भन्छन्, “हे भोलेनाथ ! जलबिना सारा संसार जलिरहेको छ, अतः कृपा गरेर पृथ्वीमा यसै स्थानबाट गङ्गालाई उत्पत्ति गराइदिनुस् अनि जगतको कल्याण हुनेछ । मेरो मनमा शान्ति मिल्नेछ ।”
ऊनीहरूलाई वरदान स्वरूप श्री शिव भगवानले आफ्नो जटाबाट गङ्गा बहाई दिनुहुन्छ । गङ्गामाता आफ्नो स्वरूपमा आउनुहुन्छ र शिवजीसँग यस्तो शर्त गर्नुहुन्छ, “भगवान् ! मलाई हजुरले यस स्थानबाट उत्पत्ति गर्नुहुन्छ भने हजुर पनि यही स्थानमा शिलाको रूपमा स्थापित हुनुपर्छ र गौतम ऋषिले मागेको वरदानको आधारमा मेरो उत्पत्ति हजुरले यस स्थानमा गराइदिनु भएकोले गौतमी गङ्गाको नामबाट मलाई संसारले चिन्नुपर्छ ।”
गङ्गाको यो शर्तलाई शिवजीले तथास्तु भन्दै यस स्थानमा आफूलाई त्र्यम्बकेश्वर ज्योतिर्लिङ्गका नाममा शिलाको रूपमा विराजमान गराउनुहुन्छ र चिरकालसम्म पूजनीय रहनुहुन्छ । त्र्यम्बकेश्वर भन्नाले ब्रह्मा, विष्णु र महेश त्रिदेवलाई बुझिन्छ । अतः यही गौतमी गङ्गा जसलाई आज ग्वाङ खोलाको नामले चिनिन्छ उनै गौतम ऋषिले शिवका लागि तपस्या गरेको पवित्र स्थान हो ।
सिन्धुलीमाढीबाट करिब १२ किमी उत्तरमा यस स्थान पर्दछ । नेपाल देवभूमि, तपोभूमि भएको कुरा सबैलाई जानकारी हुँदाहुँदै पनि राज्यको उदासीनताका कारण यो स्थानलाई तीर्थस्थल बनाउन नसक्नु भनेको निकै ठूलो लज्जास्पद हो । राज्यको निरीहता हो । राज्यको यही कमजोरीको फाइदा अहिले भारतले लिइरहेका छ । नेपाल शिर हो र भारत पुच्छर हो भन्ने कुराको प्रमाण नेपालबाट बगेर भारततर्फ झरेका नदीहरूका आधारमा पनि सिद्ध गर्न सकिन्छ । नेपाल विश्व सभ्यताको जननी हुँदाहुँदै पनि हामीलाई हरेक तीर्थमा भारतै जाने बाध्यतामा राज्यको लाजमर्दो उदासीनताले गर्दा विवश छौं ।
केन्द्रीय सरकार तथा स्थानीय सरकारको सक्रियता रहेमा हामीले यस त्र्यम्बकेश्वर ज्योतिर्लिङ्ग मन्दिरलाई ठूलो र वास्तविक धामका रूपमा स्थापना गर्न सकिन्छ । देशलाई धार्मिक पर्यटकद्वारा मनग्ये आर्थिकोपार्जन गराउन सकिन्थ्यो ।
पछिल्लो समयमा त जगतगुरु मोहनशरण १२ वटै ज्योतिर्लिङ्ग नेपालकै १२ जिल्लामा छन् भनेर शास्त्रीय प्रमाण जुटाउनतर्फ जुटिरहनु भएको छ । हुन त राज्यको सहयोगबिना यो सजिलो काम भने पक्कै हैन । यो कार्यमा भारतले ऊनीप्रति कुदृष्टि राख्नसक्छ ।
आजसम्म यसलाई कुनै विद्वानहरूले खोज तथा अनुसन्धानको विषय बनाएनन् । किन बनाएनन् ? भारतको नक्कली नियतका अधिनमा परेर हो वा के हो ? जे भएर भए पनि यो विषयमा जगतगुरु मोहनशरणलाई हाम्रो सलाम छ । उहाँ निर्बाध रूपमा यस विषयमा लागिरहनुभएको छ ।
उहाँले १२ वटै स्थानमा १२ वटै ज्योतिर्लिङ्गलाई प्राण प्रतिष्ठान गर्न लाग्नु भएकोमा उहाँ जगत गुरुप्रति यो लेखक सतसत नमन गर्दछ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।