“चुरोट लिनुहुन्छ ?”  लापरवाहीका साथ निकै महँगो  ह्यान्ड ब्यागबाट शिखर मेन्थोल मेरो अघि सार्दै बोल्छिन् ऊनी ।

“होइन म लिन्न ?” अलिक सानो स्वरमा उत्तर  दिन्छु ।

“मैले पिउँदा केही असर पो गर्ला कि तपाईंलाई” भन्दै म्यारून लिप्सिटिक लगाएको ओंठ बीच चुरोट राखेर सल्काउन थाल्छिन् ऊनी ।

“होइन तपाईं लिनुस् न !” भन्न बाध्य हुन्छु । कति बेपरवाह ऊनी । लाग्छ यो समाज र यसका बन्धनहरूबाट मुक्त छिन् । अरूले के सोच्दछ जस्ता कुराहरूलाई ऊनले त्यही चुरोटको धुवासँगै उडाइदिन्छे ।

“के लिऊँ । चिया कफी ?” म प्रश्न गर्छु ।

“ब्ल्याक कफी पिऊँ न ।”

“भाइ ! दुई कप ब्ल्याक कफी ।”

दुई कप ब्ल्याक काफी अर्डर गर्छु । यो अर्डर सुनेर ऊनी छक्क पर्छिन् । सायद विगतमा फर्किन पुग्छिन् ऊनी । म कलेज पढ्दा ब्ल्याक टी र ब्ल्याक कफी मन नपराउने मान्छे । दूध बिनाको चिया र कफी पिउन भन्दा तातो पानी पिउँछु भन्ने गर्थें । तर आज अचानक ब्ल्याक कफी मगाउँदा ऊनका ती आँखाहरूमा छल्केको  कौतुहलता मेट्ने आशयमा बोल्छिन् ऊनी, “तपाईं पनि ब्ल्याक कफी ?”

“सब उमेरको कुरा रहेछ, अचेल मिल्क टी, कफी मेरो दुश्मन बनेका छन् ।”

“होइन अहिले नै बूढो भएको ?” लापरवाहीले भरिएको मुस्कान ओंठभरी छरेर मलाई एकै पटकमा बूढो बनाइन् ।

“के गर्नुहुन्छ अचेल ?” प्रसङ्ग मोड्छु ।

“होइन आज किन  हामी एकार्कालाई तपाईं सम्बोधन गर्दैछौं ?” मेरो प्रश्नको उत्तर दिनको सट्टा उल्टै प्रश्न गर्छिन् । ऊनको प्रश्नले मलाई आनन्द तुल्याउँछ ।  निकै अघि बाट सामिप्य हुन खोजिरहेको मेरो मनलाई एक प्रकारको सुकून प्राप्त हुन्छ । ऊनीसँग नजिक हुने यो मौकालाई  कति पनि खेर जान नदिई बोल्छु,

“मलाई पनि अघि देखि मनमा यही कुरा खट्‌किराखेको थियो । तिमीबाट हामी तपाईं भएछौं । समयले हाम्रो सम्बन्धमा कस्तो विरानोपन घोलिदिएछ नि ?”

“त्यो सब म जान्दिनँ । अब तिमी नै भनौं है ।” फेरि लापरबाहीका  चुरोटको अन्तिम सर्को तान्दै बोल्छिन् ऊनी । हामी रेस्टुरेन्टबाट निस्केर गाडी चढ्छौं ।

कालेबुङबाट दार्जिलिङ जाने क्रममा लप्चुमा सँगै कफी पिउँछौं । कलेज सकेर करीब पन्ध्र वर्ष पछि भएको भेट हाम्रो । गाडी लप्चुबाट उँभो लाग्छ । केही मास्तिर पुगे पछि ऊनी आफ्नो टाउको मेरो कुममा राखेर निदाउँछिन् । यही समयमा ऊनको अनुहारलाई एक पटक नियाल्छु । त्यही मुहार त्यही सुन्दरता । उमेरले कति पनि छुन नसेको । पहिलो पटक भेट हुँदा ऊनी दार्जिलिङ  गर्भमेन्ट कलेजमा अंग्रेजी अनर्समा थिइन् । म भने फिजिक्समा ।

त्यो बेला ऊनी हरियो कुर्ता, कानमा ठूल्ठूला बजारे इयरिङ लाएकी । आर्य-मंगोल मिक्स ठूल्ठूला आँखामा कालो गाजल लाएकी । पहिलो भेटमा नै मैले कसो न्युटनलाई छाडेर शेक्सपियर तिर गइनँ । समयको क्रमले हामीलाई नजिक बनाउँदै लग्यो । हाम्रो मित्रता सहज रूपमा प्रेम सम्बन्ध परिणत भयो । ब्याचलर सकियो ।

म नेपाल फर्की डिग्री गर्नतिर लागें । अहिले जस्तो सामाजिक सञ्जाल र सञ्चारको सहज पहुँच नभएकोले हामी बीच कुनै सम्पर्क हुन सकेन । ऊनीसँग बाँच्ने बानी परेकोले ऊनी बिना जीवन शून्य बन्यो । छटपटी र एक्लोपनाले जीवन अन्धकार तुल्य भयो । जति सहजै हाम्रो माया बस्यो उतिकै सहज तरिकाले हामी टाढा भयौं । यस बीचको पन्ध्र शिशिरहरू  ऊनी बिना नै बिते ।

त्यही बीच जीवनमा वसन्त खोज्न मैले घरबार गरिसकें । ऊनले पनि गरिन् होला शायद ।

ऊनको शिर मेरो कुममा आनन्दले निदाएको छ । गाडी आफ्नै रफ्तार अघि बढिरहेको छ । साहित्यिक कार्यक्रम र भेटघाटको निम्ति कालेबुङ आएको म । दार्जिलिङमा पुराना साथीहरूसँग र साहित्यिक व्यक्तिहरू भेट्न जाँदैछु । कस्तो संयोग मुटुको टुक्रा नै भेटें । ऊनीसँग कति धेरै गफ गर्नु छ । पुराना यादहरूलाई कोट्‌याएर घाउहरू आलो बनाउनु छ । कतिपय घाउहरू आलो भइरहे हुन्थ्यो जस्तो लाग्दैछ आज । कति आनन्ददायी यो दुखाइ । दुखिरहे हुन्थ्यो लाग्छ । ऊनी सँगै हुँदा पनि एक्लै गफ गर्न बाध्य छु म । गाडी दार्जिलिङ पुग्छ । हामी उत्रन्छौं । म ऊनलाई फोन नम्बर माग्छु ऊनी फेसबुकमा जोडिने  कुरा गर्छिन् ।

“मेरो फेसबुकमा क्रान्तिकारी वसन्त नाम छ है,” भनी जानकारी गराउँछु । छुट्ने बेला उहीँ लापरबाही मुस्कानका साथ बोल्छिन्, “हस् त क्रान्तिकारीज्यू ! बिदा पाऊँ !”

०० ०० ०० ००

फेसबुकमा जोडिए पछि नियमित च्याट गर्न थाल्छौं । जीवनका विविध अनुभवहरू साट्न थाल्छौं । तर ऊनले आफ्नो परिवारको बारेमा भने कुनै दिन कुरा खोल्दिनन् । ऊनको श्रीमान् बच्चा-बच्चीको विषयमा प्रश्न गर्दै पछि मेरो प्रश्नलाई बेपरवाह गर्छिन् । जसले गर्दा मेरो छटपटाहट अझ बढेर जान्छ । आज भने ऊनको व्यक्तिगत पारिवारिक जीवनको बारेमा सोध्ने नै निर्णय गरी म्यासेज गर्छु, “हाइ ! के गर्दैछौ ?”

“अब सुत्न लागेको ।”

“एउटा कुरा भन्छु, नाइँ नभन्नू है ।”

“तिमीले मलाई प्रपोज गर्दा पनि यही शब्द भनेको थियौ । आज पनि प्रपोज गर्ने त होइन नि । मार्लिन् है वाइफले !”  पुनः लापरबाहीका साथ हा हा को मिम सँगै जवाफ दिन्छिन् । तर म गम्भीर हुन्छु ।

ऊनलाई प्रेम प्रस्ताव राखेको दिन  हामी मालरोड हुँदै चौरस्ता जाँदै थियौं । मालरोडमा प्रपोज गरें अनि हामी महाकाल बाबा धाम गई हाम्रो प्रेमको साक्षी ऊनैलाई बनाएका थियौं । त्यो दिन र त्यो संवाद अझै ऊनको मनमा आलै रहेछ । विगतमा रम्ने मनलाई मारेर ऊनको वर्तमान खोतल्ने प्रयास गर्दै च्याट गर्छु,

“होइन होइन आज प्रपोज भन्दा पनि प्रश्न गर्छु  जवाफ दिने शर्तमा ।”

“कस्तो प्रश्न ?”

“महाकाल बाबालाई साक्षी राखेर भन जवाफ दिन्छौ भनेर ।”

“महाकाल बाबालाई साक्षी राख्नु पर्ने प्रश्न भने पछि त डर सरी पो भयो त । जे होस् सोध  सबै प्रश्नको जवाफ दिनेछु ।”

ऊनको यो उत्तरले मन फुरुङ्ग हुन्छ । एउटा रहस्यमयी कथाको रहस्य उदाङ्गो भएको भान हुन्छ र तुरुन्तै कल गर्छु । कहिले म्यासेन्जर कल रिसिभ नहुने  तर आज रिसिभ हुन्छ । ऊनको मीठो बोली कानबाट हृदयमा पुग्छ ।

“के छ प्रश्न लु सोध ?”

“कस्तो छौ ।”

“कस्तो छौ भन्नलाई महाकाल बाबालाई साक्षी राखेको ?” पुनः उस्तै लापरबाही तरिकाले सोध्छिन् ऊनी ।

“होइन होइन सोध्नुपर्ने प्रश्न अर्कै छ,” मेरो जिज्ञासालाई फेरि अर्कैतिर बटार्छिन् कि भनेर  आत्तिएर बोल्छु म ।

“के छ प्रश्न भन न ।”

“तिम्रो बारेमा जान्न चाहन्छु,” एक सासमा बोल्छु म ।

“सबै थाह छ त तिमीलाई । तिमी त मेरो पहिलो प्रेम !”

“हो म तिम्रो पहिलो प्रेम तर म तिम्रो अन्तिम प्रेमको बारेमा जान्न चाहन्छु ।”

“मतलब !”

“मतलब, तिम्रो वर्तमान जीवन, तिम्रो श्रीमान् अनि नानीहरूको विषयमा बताउनै पर्छ तिमीले आज, अहिले ।”

“कहाँ छिन् अहिले ? तिम्रो वाइफ ?”

“म छुट्टै कोठामा छु । तिमीसँग च्याट गर्न अचेल सधैं केही बेर छुट्टै कोठामा अफिसियल काम गर्ने भनेर बस्ने गरेकोछु ।”

“भन्नै पर्छ त मैले ?”

“भन्दा राम्रो हुन्छ ।”

“ब्याचलर पछि म बेङलोर गएँ । उतै बस्ने काम गर्ने सिलसिलामा रिचर्ड सँग भेट भयो । उसले मलाई प्रपोज गरे पनि म तिमीसँग माया भएको कुरा बताएँ । करीब चार वर्ष तिमीलाई पर्खें । फेसबुकमा खोजें तिम्रो नामबाट तर भेटिएन । साहित्यकार महोदय नाम पनि कस्तो राखेको क्रान्तिकारी वसन्त ?”

म चुपचाप सुनिरहेको थिएँ । आफैलाई आफ्नो साहित्यिक नाम पहिलो पटक मिथ्या लाग्यो । आफ्नो प्रेम पहिचान गर्न नसक्ने कस्तो क्रान्तिकारी म ? आफ्नो माया फुलाउन नसक्ने कस्तो वसन्त म ?

ऊनी त्यही स्वरमा बोलिरही,  “अन्ततः म हारेर ऊनको प्रेम स्वीकारें । बिहे गर्यौ । एउटी छोरी आराध्यको जन्म भयो । खुशीको संसार, फूलै फूलको संसार !”
“नानीको फोटो कहिल्यै पोस्ट गर्दैनौ त ?”

बीचैमा बोल्छु । मेरो कुराको जवाफ दिनभन्दा अघि नै ऊनको स्वर आँसुले भिजिसकेको भान हुन्थ्यो । रुन्चे स्वरमा ऊनी बोलिरही शायद मसँग नभएर  ऊनी आफ्नो महाकाल बाबालाई दिएको बचन पूरा गर्दै थिइन् ।

“तर त्यो खुशी सँगै कोरोना आयो । आठ वर्षको आराध्य कोरोना पोजेटिभ भई । रिचर्डले उसलाई स्याहार गर्न कुनै कसर छाडेन जसले गर्दा वहाँलाई पनि कोरोना पोजेटिभ भयो । घरगाउँ आफन्त सबै बिराना भए । अस्पताल राखेको बाह्र दिनमा मेरो कोख शून्य भयो । छोरीको अन्तिम बिदाइमा समेत रिचर्ड अस्पतालमा कोरोनासँग लड्दै हुनुहुन्थ्यो ।”

ऊनी रोइरहेकी थिई । म पनि आँसु थाम्न के सक्थें र ! ऊनी सँगै रुँदै थिएँ । बेला बेला नरुने आग्रह पनि गर्दै थिएँ । केही बेर रोकिएर फेरि बोली, “आराध्य गएको तीन दिनपछि रिचर्डले पनि मलाई छाडेर …”

यतिमा नै कल काटियो । आफैलाई धिक्कार लाग्यो । किन  कोट्‌याउनु पर्‍यो होला सुकेको घाउलाई ? सबै घाउ रमाइलो कहाँ हुन्छन् । सबै दुखाइ‌हरू आनन्ददायी कहाँ हुन्छन् र ?

ऊनलाई सम्झाउन पुनः  कल गरें तर रिसिभ भएन । कल रिसिभ गर्न म्यसेज गरें । तर अहँ ! कल रिसिभ गरिन ऊनले । करीब एक घण्टा पछि उसको म्यासेज आयो ।

“तिमी छुट्टै कोठामा आएर मसँग गफ गर्दैछौ । अहिले रातको साढे बाह्र भएछ । के तिम्रो वाइफ तिमी बिना आरामले सुतेकी होला त ? कि ऊ पनि कसैसँग च्याटमा छिन् ?”

म झसङ्ग हुन्छु । हतार हतार बेडरूम तिर जान्छु । श्रीमती र नानी सुतिराखेका छन् । ढुक्क हुन्छु म । ऊनलाई रिप्लाई गर्न खोज्छु तर मलाई अघि नै ब्लक गरिसकेकी हुन्छे ।