पौषको महिना थियो । जाडोले आफ्नो विकराल साम्राज्य फैलाइरहेको पनि । त्यसमाथि, काठमाडौंको चिसो पानी ! कारागारमा चुडामणि राजबन्दीको रूपमा थुनिएको केही दिन मात्र भएको थियो । उसका अन्य राजबन्दी साथीहरू भने घाम ताप्दै अनि पान खाँदै गफमा मस्त थिए । ऊ भने टाढाबाट उभिएर नियाल्दै थियो  । कारागारको गेटमा प्रशस्त सेनाहरू थिए, मानौं ती सब देशका रक्षक नभई राजाका भरौटे रक्षक हुन् । ऊ कहिले ती सैनिकदेखि रिसाउँथ्यो भने कहिलेकाहीं उसलाई ती उपर दया पनि लाग्थ्यो । मान्छेका थरिथरिका चेतनाको स्तर देखेर ऊ चिन्तित पनि हुन्थ्यो ।

”राजा भगवान् हुन्,अनि जनता चाहिँ रैती मात्र !” – यही सुनेर ऊ दिक्क हुन्थ्यो । त्यही सोच्तै ऊ लाग्यो आफ्नो सुत्ने कोठातिर । आफ्नो एक राजबन्दी साथीको खाटको सिरानीमा श्रीमद्भागवतको किताब देखेर ऊ उत्सुक भएर पढ्न थाल्यो । ऊ त पढ्दा पढ्दै मग्न भएर हराउन पुग्यो पडाइसँगै । यस्तो देखिन्थ्यो ऊ पढक्कड हो !

केही बेरपछि उसका साथीहरू आए त्यहाँ हल्लाखल्ला गर्दै । उसको हातमा भएको भागवत गीताको पुस्तक देखेर उसको एक जना मिल्ने साथीले कटाक्ष गरिहाले, “के हो चुडाजी, हातमा कमण्डलु लिएर कृष्णको नाममा हराउने बिचार छ क्या हो ! जय कृष्ण-जयराधे भन्दै ? हार खाइयो राजनीतिबाट, जेलको हावा खाएर ?”

ऊ पनि के कम, मुस्कुराउँदै भन्न पुग्यो, “भोगी बन्न नपाएपछि जोगी नबनेर भयो र मित्र ! म त हाम्रो यो राजनीतिको युद्धमा लड्नु अघि नै हारिसकें ।”

सबै जना कुरा नबुझेरै गलल्ल हाँस्न पुगे । त्यसपछि चुरोट सल्काउँदै पिउन लागे, मानौं चुरोटको धुवाँ सँगै जेल बस्दाका आफ्ना सारा दुःख–दर्द फाल्न सकिन्छ । बस्, सबै रम्न पुगे, त्यही चुरोटको धुवाँ र थरिथरिका राजनीतिक गफहरूमा । आखिर चुरोट र  राजनीति दुवै परे नशा जस्तै । त्यसरी सचेत राजबन्दीहरू समेत चुरोटको कुलतमा फस्दै थिए, क्यान्सरलाई खुलमखुला आमन्त्रण गर्दै । यस्तै हुन्छ सायद, राजबन्दीहरूको पारा कारागारमा ।

सक्रिय राजनीतिमा लागेदेखि चूडामणिले साहित्यिक पढाइ-लेखाइको कामबाट झन्डै विश्राम लिएको थियो । आफ्नो कलेज जीवनमा उसले धेरै साहित्यका पुस्तक पढेको थियो भने देखासिकीमा केही कथाहरू लेखेको पनि थियो । त्यसरी कथा लेख्दै गर्दा उसले कथाकारितामा प्रसिद्धि पनि कमाएको थियो । ऊ नेपाली भाषाको कथाकारितामा मनोविज्ञान तथा यौन मनोविज्ञान भित्र्याउने पहिलो कथाकार थियो । ऊ पढ्न र लेख्न सधैं अघि सर्थ्यो । बिना चिन्तन र साधनाको लेखाइलाई ऊ त्यति महत्त्व पनि दिन्थेन । उसको लागि नयाँ किताब पढ्नु, नयाँ साथी बनाउनु भन्दा ठूलो थियो । यस्तै थियो ऊ, चिन्तनशील अनि युनिक पाराको !

कारागार चुडामणिको लागि  कारागार भएन, ऊ त्यसमा हराउन पनि चाहेन । ऊ वास्तवमा पिंजडाको सुगा भए पनि काल्पनिकतामा टाढा उडान गर्न पुग्थ्यो पुतलीहरूसँग पखेटा सापट मागेर । ऊ त कहिले महाभारतको युद्धस्थल पुग्थ्यो भने कहिले कोशीको किनारतिर । कहिले ऊ आफ्नो बाल्यकाल सम्झेर आह्लादित हुन्थ्यो भने कहिले ऊ आफ्नो जन्मस्थान बनारस सम्झेर गद्गद हुने गर्थ्यो । कहिले ऊ देशका दूरदराजका कृषक सम्झेर भावुक हुन्थ्यो । उसको आफ्नै दुनियाँ थियो, नितान्त बेग्लै । उसले आफूलाई कैदी मान्दै मानेन । त्यस्तै थियो ऊ, मनमौजी पाराको । ऊ त साहित्यमा आफूलाई अराजकतावादी मान्ने गर्थ्यो, त्यो पनि सगर्व ! दुनियाँ यौनका कुरा गर्न डराउँथे तर ऊ त्यही कुरा खुलेर भन्ने गर्थ्यो र लेख्ने गर्थ्यो । अरूहरू ढोंगी थिए, यौनमा रमेर भन्न र लेख्न डराउने तर ऊ यौनको कुरा निर्धक्क भन्ने गर्थ्यो, प्राकृतिक आवश्यकताको रूपमा । यौनको वास्तविकतालाई निर्धक्क स्वीकार्थ्यो, रम्थ्यो आफ्नै  पारामा । यस्तै हुन्छन् सायद, आफैलाई विश्वास गर्ने साहित्य प्रेमीहरू ! वास्तवमा ऊ त्यस्तै पाराको थियो,आफैमा रम्ने अनि आफैलाई विश्वास गर्ने ।

आफ्नो जेल बसाइमा चुडामणिले आफ्नो विगत पनि नियाल्न कोशिश गर्‍यो । हो, उसले राणाकालको भयावह स्थितिमा समेत क्रान्ति गरेर क्रान्ति नायक बन्न सफल भएको थियो । विसं. २००७ को क्रान्तिको पुनर्मूल्यांकन गर्न पनि कोशिश गर्‍यो । आफूले राजामाथि  गरेको अन्धविश्वास सम्झ्यो । आफू आफ्नो पार्टीको पहिलो पटक सभापति भएको कुरा सम्झ्यो । आफू आफ्नो देश नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री भएको सम्झ्यो । आफ्नो सम्मानमा पाएका तालीहरू सम्झ्यो । विपक्षीहरूले दिएका गालीहरू सम्झ्यो । ताली र गालीलाई सजिलै लिने आफ्नो बानी पनि सम्झ्यो । आफूले गरेको युवाप्रतिको विश्वास सम्झ्यो ।

देशका लागि आफूले गरेका केही राम्रा कामहरू सम्झ्यो । गरीब किसानको फोटो र वास्तविकता सम्झेर योजना बनाउन आफूले दिएका निर्देशनहरू सम्झ्यो । उसलाई आफू जेलमा बसे पनि एउटा गर्ब छ, निरंकुश राजाको कानून माथिको खेलबाड र लहडी पाराले पीडित भए पनि । ऊ वास्तवमा जनताले चुनेको पहिलो नेता थियो, देश चलाउने अधिकार पाएको । तर अलिकति खेद छ, राजालाई सम्झाउन नसकेकोमा । किन सबैको प्यारो भएर सबैलाई लिएर एकसाथ ऊ अगि बढ्न सकेन ? यही कुरा भने उसको दिमागमा आउने गर्छ यदाकदा । त्यस बेलाको परिस्थिति  बुझ्न नसकेकोमा भने ऊ अलिकति खिन्न पनि छ । यस्तै  चिन्तनशील छ ऊ !

चुडामणिले त्यस रात गजबको सपना देख्यो हिटलरको बारेमा । हिटलर कहिले आफ्नो वास्तविक रूपमा देखिन्थ्यो भने कहिले श्रीपेचधारी राजाको रूपमा । जताततै भयावह  युद्ध अनि मान्छेका क्रन्दन ! सपनाको स्थान भने काठमाडौंकै कुनै ठाउँ थियो ।

”यो हुन सक्तैन भन्दै“ ऊ ब्युँझियो । सपना सम्झेर एकदम खिन्न भयो । दिनभरी दिक्क मानिरह्यो, कतै यो नेपालमा हुनसक्ने भविष्यको आन्दोलनको संकेत हो कि भनेर । त्यही दिउँसो आफूलाई भेट्न आएका साथीलाई भनेर हिटलरको बारेमा लेखिएका किताबहरू मगायो । केही दिन तिनै किताबहरू अध्ययन गरेर नै बितायो । उसका लागि पुस्तक पढ्नु नशा जस्तै थियो । नयाँ पुस्तक नपाए ऊ पुरानो पुस्तक नै पढ्ने गर्थ्यो । अर्को  पटक पढ्दा किताब अर्कै तरिकाले बुझ्ने गर्थ्यो । उसको पाराले उसका साथीहरू उसलाई  “किताबको किरो “उपमा दिने गर्थे ।

एकदिन त उसका एक मित्रले भनिहाले, “चुडाजी ! राजालाई मैले पढ्न पाइन  भनेर बिन्तीपत्र  हालेर यता जेलमा आइयो कि क्या हो !”

ऊ पनि के कम, भनिहाल्यो, “सुन्दरीजलको यस्तो मनोरम  एकान्त स्थानमा पढ्नुको अनि लेखाइमा बहनुको महत्त्व बुझ्न कोशिश गर्नोस् मित्र ! म त सारा जीवन यही ठाउँमा पढाइ–लेखाइको लागि बसूँ झैं लाग्छ ।” उसको कुराले सबै नै  एकछिन हाँस्न पुगे । जेल बसाईंका सारा दुःख दर्द  भुल्न लेख्ने र पढ्ने उसको पाराले भने सबै साथीहरूले उसलाई नमन गरे दिलदेखि । यस्तै थियो ऊ, अरूभन्दा विशेष अनि कारागारमा बस्दा पनि सिर्जनामा रम्न सक्ने प्रतिभाशाली !

केही समयपछिको सशस्त्र क्रान्ति असफल भएपछि भने ऊ आफ्नो कारागारको बसाईंमा राजनीतिबाट मनमनै हात उठाएर लाग्यो पढाइ–लेखाइको दुनियाँमा । राजनीतिमा शायद, ऊ समय अघि पो थियो कि ! बिस्तारै कारागार उसको लागि पीपलबोट साबित भयो पढाइलेखाइ रूपी  ध्यानमा मग्न हुने स्थान ! ऊ चिन्तन पनि गर्दै गयो । साँच्चै उसले  पैलाउँदै गयो, कारागारमा आफू हिंड्ने बाटो पनि । साहित्यको आख्यान विधामा दिलदेखि रम्दै गयो, अनि ऊ त्यसैमा हराउँदै गयो । भित्रको प्रतिभा  बिस्तारै जुर्मुराउँदै गयो । काल्पनिक दुनियाँमा रमाउँदै पनि गयो, किनकि ऊ आफूलाई कारागारको चार किल्लामा थुन्न चाहँदैनथ्यो । एउटा मनमौजी मान्छेलाई कसले पो थुन्न सक्थ्यो र !

उसका अघि हाम्रा धर्म शास्त्रका श्रीकृष्णको अघि कारागारका बन्धन एक एक गरेर खुलेझैँ  भयो । उन्मुक्त भएर दुनियाँ विचरण गर्न लाग्यो । उसका लागि भूगोलका सिमानाहरू मेटिन पुगे । ऊ त धर्तीको एक मानव मात्र भयो । यस्तो काल्पनिकतामा रम्ने मान्छेलाई कसैले अघि बढ्न कसरी रोक्न सक्छ र ! चाहे त्यो कारागार नै किन नहोस् । हो, ऊ त्यस्तै खास कैदी थियो त्यो पनि राजाको निजीबन्दी अर्थात् राजबन्दी !

चुडामणिले  कारागारबाटै  इन्द्रमायाका जिन्दगीका घुम्तीहरू चियाउन पुग्यो । उसले त्यहींबाट नरेन्द्र, गौरी  र मुनरियाको जीवन गाथा नियाल्यो । सुम्निमा, सोमदत्त र पुलोमालाई महसुस गर्‍यो । उसले श्वेतभैरवी, मोदिआइन अनि राइटर बाजेलाई आत्मसात् गर्नपुग्यो । अझ उसले त्यहींबाट हिटलर-यहुदी-भागवत गीता अनि दोस्रो महायुद्धको समन्वयको महागाथा  रच्न पुग्यो । उसले आफूमा विश्वबान्ध्वत्वको भाव भित्र्याउन सफल भयो । मान्छेका मनोभावना अनि यौन भावना उजागर गर्न उसले कोशिश गर्‍यो । अरूको पछि लागेन, ऊ त आफै आफ्नो गोरेटो खन्दै अगि बढ्यो । उसको लेखाइबाट  बन्दुके राजा टाउकोमा हात लाउन पुगे भने राजाका आसेपासे भएका साहित्यिक पुरस्कार दाताहरू जिल्ल परे, उसको प्रतिभाले  हायलकायल भएर । ऊ त सबै पुरस्कार भन्दा धेरै माथि थियो । हो, ऊ त्यस्तै स्वाभिमानी थियो सगर्व आफूलाई नै विश्वास गर्ने ।

त्यसरी बिस्तारै राजबन्दी चुडामणि कारागारको आठ बर्से बसाईंमा बुद्धमा रूपान्तरित भयो, नेपाली साहित्यको आख्यान क्षेत्रमा । हो, वास्तवमा कारागारमा अर्को बुद्धको जन्म भयो – नेपाली साहित्यको आख्यान विधाको नयाँ बुद्ध !