सितारामका बढी जस्तो दोस्त खानपिनमा रमाउने थिए । चोकको भट्टी होस् वा एकान्त रेस्टुरेन्ट, कहिलेकहीं साथीको घरमै बसेर रमाइलो गर्ने गर्थे । खसी, कुखुरा, बदलेको मासु भयो भने खोजीखोजी तीन पाने ल्याउने र रमाइलो गर्ने गर्थे । उत्सव, पर्वहरूमा राम्रै जमघट हुने गर्थ्यो ।

साइँलीको भट्टीमा तीनपाने मुला सँगै तान्दै, “घरमा सधैं किचलो भइरहन्छ ।” जनकले भन्यो ।

“घर घर माटीका चुला सबैको त्यस्तै हो” शंभुनाथले कुरा बढायो ।

“तीन तीन सम्हालेर राखेको छु । मिलाउने जुक्ति जान्नु पर्छ ।” चन्द्रभानले रक्सी थप्दै कुरा पनि थप्यो । “शंकालु छ धेरै,” कर्णकान्त पनि सामेल भयो । यो जमघटको समूह धेरै कुरामा मिलेको समूह मानिन्छ । साइँलीको भट्टीको जलपान सकेर आआफ्नो घर तिर लागे ।

“जहिले पनि यस्तै, कुनै दिन यस्तो छैन मैले आफ्नो लोग्नेलाई मानिस जस्तो देखेको,” धना बर्बराइरहेकी थिई । लरखराउँदै आफै आफै बोल्दै सिताराम भित्र छिर्‍यो । भित्र वातावरण सबै अनुकूल नै थियो । खाना तयार थियो । तातोपानी बनाएको, लुगा फेर्ने, हातगोडा धुने सबै उपयुक्त प्रबन्ध थियो तर पुग्दापुग्दैको प्रतिक्रिया अलि कडा थियो ।

श्रीमान् श्रीमती ठासठुस त परिरहन्छ नै । भन्छन् पनि परालको आगो एक्कै चोटि हुल्ल हुने त्यस्तै निभाउन पनि समय नलाग्ने । त्यो दिन मात्र होइन अरू बेला पनि यस्तो परिरहेको हुन्थ्यो । सितारामलाई सबै कुरा थाहा थियो । जे जस्तो बोले पनि, जे भने पनि एक छिनमा वातावरण सहज हुन्छ भन्ने त्यसैले ऊ चुप्प लागेर बस्यो ।
हत्तपत्त भान्सा छेउको हात धुने भाँडोमा अलिअलि हात मिच्दै आफ्नै हात पो हुन् भन्दै पखालेर डायनिङ टेबलमा बस्यो । चैत महीको असिना बर्से जस्तै धनाका शब्दको वर्षा हुँदै थियो । कुनै प्रतिक्रिया नदिई खाना खाएर आफ्नो पलङमा पल्टियो । नसाले च्यापेको थियो । हुन त मात लागोस् भनेरै मादक पदार्थको सेवन गरिएको हुन्छ । जुन उद्देश्यका लागि प्रयोग गरिएको हो त्यो त उसले पनि काम गर्ने नै भो । धना बढी नै आक्रामक भए यसरी फकाउला भन्ने उपाय सोच्दासोच्दै निदाएछ । जे सुकै गरून् खसम हुन्, जन्मघर छोडेर यिन कै पोल्टोमा परिएछ । जस्तो अवस्था छ स्वीकार्नै पर्छ । यही घर यही संसार  त्यसैलाई सम्हालेर बस्नु बाहेक अरू उपाय पनि त छैन भन्दै धना यति बेलाको रिसलाई रोकी नयाँ भावनाका साथ अगाडि बढी ।

धनाले नारी धर्म पालन गरी । हिउँदको चिसो भएकाले तेल तताएर मालिस गर्न लागी । मदिराको अर्धचेतन र निद्राको गहिराइ बाट झल्याँस्स बिउँझे । त्यहाँ देखिएको दृश्य अनौठो थियो । एकछिन अघि मात्र आगो भएकी धनामा देखिएको शिथिलता, परिवर्तन  र त्यहाँको वातावरणले सपना झैं भए पनि त्यो सपना थिएन, साँच्चिकै धना नै थिइन् ।

गोडा समाउँदा सिताराम पनि बिउँझ्यो । हेर्दा अर्धनग्न पेटिकोट छाती नजिक बाँधेको । मधुरो नीलो बत्ती बलेको । परमसुन्दरी अप्सरा बसेकी । यो अनुपम क्षणले स्वर्गानुभुती गराउँदै थियो । तीस बर्ष अघि प्रणय सूत्रमा बाँधिएको पहिलो रातको सम्झना आयो ।

सितारामको निद्रा, तन्द्रा, नशा हराएर मादकता बढ्यो । कामोत्तेजक वातावरणले रिस, राग हराएर नयातल स्थापित भयो र नवभावनाको प्रारम्भ भयो । प्रेम, सम्बन्ध जतिसुकै पुरानो भए पनि कामोद्दीपक हरेक क्षण नयाँ हुन्छ । निश्चित बिन्दुबाट शुर भएर उत्सर्गमा पुग्दै विसर्जन हुन्छ । उसले पुरुष धर्म निर्वाह गर्दै शुभरात्री मनाउँदै धर्मपत्नीलाई सँगाल्यो । दुवै भुसुक्कै निदाए ।

बिस्तारै साइँलीको तीनपाने क्षमता सकियो । सितारामको निद्रा भङ्ग भयो । रक्सीले छोडे पछि पानी प्यास लाग्यो । भान्सा गयो, पानी खोज्यो त्यस्तै शौचालय पस्यो । फर्केर कोठामा पुग्यो, यताउता हेर्‍यो पल्टियो, निद्रा परेन । धनीलाई बिउँझाउन खोज्यो ।

सुत्दा प्रेममय गुलाबी देखिएकी धनाको प्रतिक्रिया राम्रो थिएन । “जति गरेर पनि नअघाउने” भन्दै उता फर्किई । सुमधुर बनेको सम्बन्धमा फेरि बाढी पस्यो । धना बाघ घुरे जस्तै घुरेर सुतिरही, सितारामको मनमा महाभारत बन्यो । बोलीमा प्रश्न खोज्यो, व्यवहारमा शंका देख्यो । सानो, कमलो मनले यति धेरै र कठोर कसरी सम्झिन सक्यो उसैलाई थाहा भएन । एकतर्फी प्रेम जस्तै एकतर्फी रिस राग बढ्यो ।

रात बितेछ बिहानीको नित्यकार्य गरी बिहानी यात्रामा हिंड्यो । मर्निङ वाकबाट फर्किंदा न त्यहाँ धना देख्यो न त केही व्यवस्था । एक्लै एक्लै मुर्मुरिएर अफिस तिर लाग्यो । पकाएको खाना छोडेको देखेर धनाको पारो पनि निकै चढेको थियो । साँझ रुस युक्रेन युद्ध हुने निश्चित भयो ।

सामान्य मानिन्छ जोईपोइको झगडा । सामान्य मानिएको झगडा कुनै कुनैमा निकै ठूलो भएको हुन्छ । कुटपिट, मारकाट, मुद्दा मामिला तथा द्वन्द्व सिर्जना हुन जान्छ । झगडाका मूल विषय बुझ्दा श्री र सम्पत्तिलाई मानिन्छ । स्त्री र सम्पत्ति  कै कारण कुरुक्षेत्र घटेको हो । पति पत्नीको झगडाले बोलचाल बन्द, परिवार परिवार बिचमा द्वन्द्व, परिवार विखण्डन हुने अवस्था आउँछन् । सम्बन्ध बिग्रँदै जाँदा पारपाचुके गरेका हुन्छ । धेरैका आत्महत्या पूर्वका सुसाइड नोटमा पनि पति-पत्नीको सम्बन्ध जोडिएको देखिन्छ । पति-पत्नीको सम्बन्ध यौनसँग जोडिएको हुन्छ । धेरै जसो मानिस यौन सम्बन्धलाई गम्भीरता पूर्वक लिन्छन् । सधैं सम्बन्ध राम्रो बनिरहोस् भन्ने चाहना हुन्छ । कहीँ कतै तलमाथि भएमा सम्बन्ध बिग्रिन शुरू हुन्छ । चन्दभानका तीन श्रीमती छन् । तीनै जनालाई सन्तुलनमा रखेका छन् । आक्कलझुक्कल बाहिरी आनन्द लिन पनि पछि पर्दैनन् । काठमाडौं गएको बेला रत्नपार्क तिर शिकार खोज्न पनि गैहाल्ने, अलिकति गोजी गरम रहेछ भने ठमेल तिर मसाज सेन्टरमा पस्ने, बसेको कोठामा तरुनी बोलाउने खेलाडी नै मानिन्थे ।

सितारामका अर्का लगौंटिया थिए कर्णकान्त । तीनको पनि पत्नी सँगको ठासठुसको कथा भिन्नै छ । कर्णकान्त स्त्री मिलनलाई त्यति महत्त्व दिन्थेन । तीन चार दिन बिराएर कहिले हप्ता दिनमा नजिकिन्थे तर श्रीमतीको इच्छा फरक नै थियो । त्यो अभाव पूर्ति गर्न साथी जोडेकी थिइन् । कर्णकान्तले प्रमाणै पाएका थिए । शंकाले लंका डढाउँछ भन्छन् तर उसलाई आशंका थियो ।

हप्ता दिन भैसकेको थियो सिताराम-धनाको बोलचाल बन्द भएको । सिताराम निकै फेरिएका थिए । सद्दे जस्ता लाग्थे । रक्सी पिउन छोडिसकेका थिए । समयमा घर पुगेका हुन्थे तर घरमा बोलचाल बन्द थियो । धनालाई नरमाइलो लागेको थियो । युद्धविराम गर्ने योजना थियो तर मेसो मिलेको थिएन ।

“टीभीमा रिचार्ज गर्नु पर्ने थियो,” धनाले कुराको प्रारम्भ गरी ।

“गरे भयो नि,” कुरा मज्जाले गर्ने मन थियो सितारामको । तर उसको पुरुष भावले कडा रूपमै प्रतिउत्तर दियो । “हजुर पनि सानो कुरामा यसरी रिसाउनु हुने,” फकाउने प्रयास गरी ।

सिताराम केही बोलेन । मौन स्वीकृत लक्षणमा भन्ने बुझेर कुरा अझै बढाई, “पिउँदै नपिने भनेको काँ हो,” नयाँ शिराबाट कुरा अघि बढाई । एक हप्ताको मनैमनको युद्ध बिराम भयो ।

“साथीहरू सँग बसिन्छ, नाइँ भन्न सकिन्न,” वार्ता प्रक्रिया अगाडि बढ्यो ।

“पिउँदै नपिउनोस् कहाँ भनेकी  छु, अलिअलि पिए पनि ठिकै हुन्छ,” आत्मसमर्पण गरी ।