बर्सा सकिएर छर्लङ्ग खुल्न थालेको आकाश, भित्रँदै गरेको चाडपर्वको रौनकता, खेतका फाँटमा, बारीका गह्रामा झुलिरहेका अन्नका बालाहरू, बेलाबेला पहाडसँगको लुकामारीमा बारीका सयपत्रीको बास्ना चोरेर उडिदिने बतास र यी सबैलाई समेटेर आइपुग्ने शरद् ऋतु निकै प्रिय छ सौरभ सरका लागि । यो समयमा उनी चङ्गाजस्तै फुरुङ्ग लाग्छन् ।

उमेरले चालीसको सेरोफेरोमा पुगेका उनी पेशाले प्राध्यापक हुन् भने सम्बोधनले सबैका प्रिय “सौरभ सर”। उनकी सहयात्री छिन् मिना जो आफैँ पनि प्राध्यापक हुन् । कार्यक्षेत्रको सहकार्य जीवनको सहयात्रामा पुग्ने टुङ्गो लागेपछि अन्तरजातीय विवाह गरेका हुन् उनीहरूले । आमाको असामयिक मृत्यु र अन्तरजातीय विवाहको विभेद दुवै दुखेपछि गाउँ छोडेको यो जोडीले शहरमा स्थापित हुन निकै सङ्घर्ष गर्नुपर्यो । उनीहरूका दुई छोरी छन् – संगीत र सरगम । संगीतमा रूचि राख्ने भएकोले मिना म्याडम आफैँले राखेकी हुन् छोरीहरूका नाम पनि ।

फुर्सदको समयमा करेसाबारीमा काम गर्नु, आफूलाई आवश्यक पर्ने तरकारी सागपात आफैं फलाउनु र छोरीहरूलाई माटोसँगको आत्मीयता सम्झाउनु सौरभ र मिना म्याडम आफ्नो कर्तव्य सम्झन्छन् । हरेक दिन बेलुकीको समय निकालेर कुनै नयाँ विषयमा छलफल, बहस गर्नु, नयाँ कुराहरू सिक्नु/सिकाउनु, छोरीहरूलाई आफ्नो विचार राख्न प्रेरित गर्नु, तार्किक र बौद्धिक बहसका लागि उत्साह भर्नु उनीहरूका दैनिकी हुन् । समग्रमा औसत नेपालीले बाँचिरहेको जीवनभन्दा केही माथिल्लो स्तरको जीवन बाँचिरहेका छन् उनीहरू ।

आज आइतबार, सौरभ सर छोरीहरूलाई विद्यालय पुर्याएर भर्खर घर आइपुगेका छन् । आज  विश्वविद्यालयमा छुट्टी लिने निर्णय उनको बिहानैको निर्णय हो । कारण, श्रीमतीको महिनावारीको पहिलो दिन । महिनाका यी दिनहरूका श्रीमतीले जति नै कर गरे पनि सौरभ सर जागिरमा जाँदैनन्। कहिलेकाहीं मिना दिक्क मानेर सोध्छिन्, “सौरभ, तिमी पढाउन किन जाँदैनौं ? जाने गर न ।”

प्रतिउत्तरमा फिस्स हाँस्दै बोल्छन् सौरभ सर, “म तिम्रा पीडाहरू आधा गर्न सक्दिनँ तर तिम्रा महिनावारीका दिनमा सँगै हुन त सकिहाल्छु नि । हामीले सँगसँगै जीवन बिताउने कसम यही भनेर खाएका होइनौं ?”  मिना केही बोल्दिनन् एक प्रेमिल नजर श्रीमानतर्फ दौडाउनु बाहेक ।

पुस्तक पढ्दै आराम गरिरहेकी मिना एकैछिनमा भुसुक्कै निदाउँछिन् । सौरभ उनको ओड्ने मिलाएर केही सहज बनाइदिन्छन् र कौसीतिर टहल्न निस्कन्छन् । कौसीबाट टाढा क्षितिज नियाल्दै उनी कुनै सोचमा मग्न रहे जस्ता लाग्छन् । यत्तिकैमा उनको नजर तल मूल सडकमा ओर्लन्छ । साइकलको पछाडि सानो बालकलाई राखेर तीस/पैँतीस वर्षको पुरुष विद्यालयतर्फ जाँदैछन् । सम्भवतः बाबुछोरा हुनुपर्छ। सौरभ सर यही अड्कल काट्छन् ।

हुन त शहरको घरको कौसीबाट देखिने यो कुनै नौलो दृश्य होइन तर किन किन साैरभको दृष्टिले यो दृश्यलाई पछ्याइरहेको छ । साइकल विद्यालयको गेट बाहिर पुगेर रोकिन्छ । बाबु छोरालाई निधारमा प्रेमले चुम्बन गर्छन्, एकपटक कसेर अङ्गालो हाल्छन् र के के सम्झाएपछि अन्त्यमा बाइ गर्छन्। यही कौसीमा उभिएर उनले यी दृश्यहरू कैयौँपटक नदेखेका होइनन्  तर यहाँ हरेक पटक आमाहरूलाई देख्थे उनी वा भनौं बाबुहरूलाई देख्ने मेसो नपरेको हुन सक्छ । थाहा छैन किन तर उनलाई यो दृश्य निकै मिठो लाग्छ । उनी त्यो साइकल यात्रीलाई टाढा पुगेर ओझेल नपर्दासम्म हेरिरहन्छन् । त्यही साइकल यात्री जसले भर्खरै उनको हृदय टिपेर हिँडेको छ।

मानिसहरू भन्छन्, जे बितिसक्यो त्यो नहेर । जे आउँदैछ त्यसलाई हेर्ने प्रयास गर । तर हामीले फर्केर नहेर्दैमा हामीले हिंडेर आएको बाटो मेटिने हो र ? हाम्रा कैयौं स्मृतिहरू ओझेल पर्ने हुन् र ? जसरी सौरभ सरको आँखाबाट साइकल यात्री ओझेल पर्यो ? होइन बिल्कुल होइन, हामी जतिसुकै विगतबाट उम्किएर भाग्न खोजौं, एकान्तमा सधैं हामी स्मृतिहरूसँगै बाँचिरहेका हुन्छौं, चाहे त्यो जति नै दुःखद् किन नहोस् । हामी स्मृतिहरूले लखेटिरहेका एक पात्रमात्र हौँ । फगत एक पात्र जसले स्मृतिसँगै बाँचेर फेरि समयको क्यानभासमा कोर्नु छ नयाँ स्मृति ।

मानिसलाई स्मृतिहरूमा पुर्याउन के नै ठूलो कुरा चाहिने रहेछ र ? यहाँ आफूसँग ठोकिन आएका सानाभन्दा साना कुराहरूले सजिलै विगतमा फर्काइदिने रहेछन् । त्यस्तै भयो सौरभ सरलाई पनि । उनी बाल्यकालमा पुग्छन् । आमालाई उतिबेला सोधिरहने प्रश्न फेरि एकपटक सम्झन्छन्, “बा कहिले आउनुहुन्छ ?”

“तँ ठूलो भएपछि ।”

“म ठूलो कहिले हुन्छु ?”

“भोलिपर्सि ।”

“भोलिपर्सि भनेको कहिले ?”

“ह्या, कति केके सोध्ने रै’छ, चुप लागेर बस् ।”, आमाको झिंजोसँगै एक दिनलाई माैन बन्थे उनका प्रश्नहरू पनि । तर मौन बन्दैमा प्रश्नहरू हराउने हुन् र ?

सौरभ सरले कहिल्यै आफ्ना बालाई देखेनन् । हुर्किएर अलि बुझ्ने भएपछि थाहा पाएका ।

बिहे गरेको केही महिनामै इण्डिया गएका बा फर्किएर आएन छन् । केही समयसम्म उतै मजदूरी गर्ने गाउँका काकाले खबर ल्याउँदै थिए रे, ” काम गर्छ, जाँड खान्छ र सुत्छ।” पछि ती काका घर फर्किएर आएपछि त त्यो खबर पनि आउन छाडेछ । सञ्चारको जगत् फैलिएर कुनाकाप्चा पुग्ने बेलासम्म सौरभ सरका बाको कुनै खबर आएन । सामाजिक सञ्जालले भेट्न नसक्ने बेखबर पात्र बने उनका बा । खबर आउला भन्ने आशामा बसिरहेका सबैमा अब एउटा चिसो माैनता व्याप्त थियो । एक पटक हल्लाको बुई चढेर आएको थियो उनले उतै बिहे गरेको कुरा ।

विद्यालयमा साथीहरूसँग झगडा चल्दा सबै सुनाउँथे “बालाई भनिदिन्छु” तर उनले कहिल्यै बालाई भन्न पाएनन् । बाका चोर औंला समातेर, बाको बुई चढेर मेलापर्व हिंडिरहेका साथीहरू देख्दा उनको मन बालाई देख्ने उत्कट चाहनाले व्याकुल हुन्थ्यो तर अहँ बा गाउँका अरू बाहरू जसरी टेप घन्काउँदै, भरियालाई अटैची बोकाएर कहिल्यै आएनन् ।

बालाई देख्ने, बासँगै हिंड्ने, बाको काखमा निदाउने इच्छाहरू हृदयमा अङ्कुराए, पात हाले, फुले तर फल नलाग्दै ओइलिएर झरे । हृदयको त्यो विशाल भागमा खालिपन भरियो । त्यो खालिपन जसलाई उमेरका वर्षहरूले भर्न सकेनन्, जसलाई आमाको न्यानो आँचलले पनि छोप्न सकेन, सकेन बर्खाको झरीले बगाउन, सकेन हिउँदको हावाले उडाउन र सकेन जीवनमा पाएका जुनसुकै प्रेमले पनि भर्न । बाको प्रेमको खालिपन जीवनको अभिन्न अंश नै बनेर खालि रहिरह्यो । त्यो खालि भाग जसमा शून्यताको  चर्को कोलाहल मात्र भरियो ।

यति सोच्दासोच्दै  सौरभ सरका आँखा भरिए, हृदयमा खोइ कस्तो वयान गर्न मुश्किल  गाँठो पर्यो, घाँटीमा  केही आएर अड्किएझैँ भान भयो अनि एक लामो सुस्केरा छुट्यो । बाको नाममा….

“बा किन फर्किएनन् होला ? हजुरबा पण्डित थिए । खेती नै गरे पनि खान पुग्ने जस्तो जमीन थियो । देशको अवस्था पनि अचेलको जस्तो होइन । त्यो समयमा पनि बाले परदेश किन रोजे ? आमालाई बिहे गर्नुभन्दा अगाडि पनि उनी इण्डिया नै थिए रे । उतै बस्नु थियो भने फेरि आमासँग किन विवाह गरे ? परिवारले उनलाई किन रोकेन ? आमाबाका लागि फगत मधुमास मात्र थिइन् ? बा त्यतिका वर्ष नफर्किंदा आमाका शारीरिक, मानसिक, आर्थिक, सामाजिक आवश्यकताहरू थिएनन् ? रहरहरू थिएनन् ? आमाहरूलाई एक दिनको सिन्दुरले दास बनाएर जीवनभर बन्धक बनाउने यो  समाज कसले चलाउँछ ? यति  सहेर घर बसेकी आमालाई किन मेरा हजुरबा-आमाले कहिल्यै राम्रो व्यवहार गरेनन् ? किन समाजले हजुरआमालाई सौतेनीनाल खराब हुन्छ भन्ने मात्रै सिकाइरह्यो ? यस्तो भाष्य बनाउने को हो ?”

यी तमाम तमाम प्रश्नहरू सौरभ सरको किशोरकालमा बर्साको बादल जसरी मडारिन्थ्यो र आज पनि यीमध्ये धेरै प्रश्नको उनी उत्तर पाउँदैनन् तर एक कुरा राम्ररी  बुझ्छन्। यो उत्पीडन हिजोको, अस्तिको या आमाको समयको मात्र होइन, यो वर्षौं लामो उत्पीडन हो । जसले आमा, हजुरआमाहरूलाई मात्र होइन बा र हजुरबाहरूलाई पनि उत्तिकै गाँजिरह्यो। यही बुझेको समयदेखि उनले अठोट गरेका हुन् – पढाउने अनि उनले वर्षौं लागेर बुझेका कुरा अबका पुस्तालाई सिकाउने । ताकि अबको पुस्ता परिवर्तनको यस्तो संवाहक बनेर निस्कियोस् जसलाई देखेर हाम्रा आशामा पैयुँका फूलहरू जस्ता लाली चढोस्।

सौरभलाई जीवन अजीव लाग्छ । मानौं कुनै चौबाटोबाट छुट्टिएको प्रेमी होस्, जो पुनः वर्षौंपछि त्यही चौबाटोमा भेटिएको छ तर अहँ अब पहिलेजस्तो गुमाइएला कि भन्ने डर छैन । न अपनाइहाल्न सकिने साहस । कुनै अनकण्टारमा फुलेको गुँरास जस्तो, अलिकति रहर जस्तो, अलिकति बाध्यता जस्तो, खोइ कस्तो कस्तो ।

उनी स्मृतिहरूमै गाउँ पुगिदिन्छन् । त्यो पाती फाल्ने चौतारी, त्यो खेल्ने चौर, ती बाख्रा चराउने जङ्गल, त्यो घाँस काट्न पुग्नुपर्ने पाखो , त्यो उनले पढ्ने विद्यालय, कक्षाका साथीहरू, त्यो दशैं, दशैंमा घर फर्कने परदेशी र कहिल्यै कुनै दशैंमा घर नफर्केका आफ्ना बा । जतिसुकै सुखले, खुशीले, आत्मीयताले, प्रेमले भरिएको बालापन सम्झने कोसिस गरुन् उनी, अन्त्य त्यही खड्किएको अभावमा गएर हुन्थ्यो । अन्त्य परदेश लागेर कहिल्यै नफिरेका बामा पुगेर अडिन्थ्यो ।

के आमाले प्रेमले नहुर्काएकी हुन् र ? के ‘शिरमा राखे जुम्राले टोक्ला भुइँमा राखे कमिलाले टोक्ला’को ममता नपोखेर हुर्काएकी हुन् र ? होइन, आमाले मुटुमा राखेर हुर्काएकी सन्तान हुन् सौरभ सर । आफ्नो इच्छाहरूको तिलाञ्जली दिएर, आफ्ना रहरहरु सबै सौरभमा साँचेर। “तर किन समाज आमाहरुबाट मात्रै यस्तो तिलाञ्जलीको अपेक्षा राख्छ ? आमालाई मात्रै किन दया र करुणाको कमर्सियल विज्ञापन खेलाई रहन्छ ? के मेरा बालाई थाहा थिएन सँगसँगै रोपेको प्रेमको बिरुवा राम्रोसँग हुर्काउन पनि दुबैको उत्तिकै मेहनत चाहिन्छ भन्ने ?

अमूर्त तर्क वितर्कहरूका पिङमा लामो समयको मच्चाइपछि विगतका स्मृतिहरूको क्यानभासबाट सौरभ सर क्रमशः बाहिर निस्कन थाल्छन् । पुन: एकपटक सडक नियाल्छन् । गर्भवती श्रीमतीलाई बिस्तारै हिँड्न सघाइरहेका श्रीमान्, प्रेमिकाको हातमा बलियो गरी समातेर हिंडिरहेका प्रेमीहरू, आमा र बाको बीचमा सुरक्षित महसुस गरेर  हिँडिरहेका बच्चाहरू, उनलाई सबै सबै सुन्दर लाग्न थाल्छन् ।

”यी कलिला हात समाएका अभिभावकहरू परदेश पसेर उतै नहराइदिउन् ताकि यी सेता गुलाबजस्ता हृदयहरूमा कहीँकतै दाग नलागोस् । यी प्रेम बोकेर हिंडिरहेका मुटुहरू विछोडको ताईमा पाक्नु नपरोस् । यिनीहरूका प्रेम अमर बनुन् ।”, सौरभ सर मनमनै यही पुकार्दै कोठाभित्र पस्छन् । कोठामा मिना म्याडम अझै मस्तसँग निदाइरहेकी छिन् ।