म आत्तिन्छु । आत्तिएको स्थितिमा कसो कसो म आफ्नो आँखालाई छोपिरहेको कालो पट्टीलाई पन्छयाउन पुग्छु । तर आत्तिनुपर्ने स्थितिबोधमा कालो पट्टीको दोष छैन । त्यसले न मलाई घोचेको छ, न त पोलेको नै । खास कुरो के त भने- जहिलेदेखि डाक्टरले कालो पट्टी बाँधेर मेरो आँखाको सम्भावनालाई कैद गर्दिएको थियो त्यसै बेलादेखि मौनलाई नै पत्यार गर्दै आइरहेको छु म । मौनभित्रभित्रै पनि आँखैआँखाको चिप्लेटी । कहिले अत्यास दिने खालका आँखा देखिन्छन् त कहिले-कहिले रमाइलो बिम्झाउने खालका देखिन्छन् । लाग्न थाल्छ मैले समाएको बाटोमै कतै त्रुटि भएझैँ ।

भर्खरै-भर्खरै मौनभित्र आँखैआँखाको एउटा जुलुसलाई अनुभव गरेको थिएँ । त्यस जुलुसको नारा यस प्रकारको थियो, “इन्क्लाब जिन्दाबाद, बूढो मुर्दावाद, बूढोलाई बौलाहा तुल्याइदे, बूढोलाई पिँजडामा कैद गर्दे ।” मेरो इन्द्रियबोधको सम्पूर्ण सम्भावनामाथि डाँका मार्न चाहने त्यो जुलुसको छनकसित यति सारो भयभीत त भएको थिएँ कि मेरो हात सहसा कालो पट्टीलाई छुन पुगेको थियो ।

जाती भयो मेरो आँखाको हेर्न सक्ने सम्भावना अझै मुर्दा भएको रहेनछ । अहिले सूर्य तरुनो भइराखेको रहेछ । वरिपरिको स्थितिलाई त्यसरी नै छाम्न सक्दो रहेछु, जत्तिको तीन महिना पहिले छाम्न सक्थें । यो मेरो र मेरी पत्नीको सुत्ने कोठा हो बाह्न-बाईस साइजको । यो कोठामा पनि तलको गोप्य कोठामा जस्तै एक मान्छेभन्दा पनि अग्लो ऐना छ । यो ऐना मेरा बाजेको पालादेखिको हो । सुनेको थिएँ त्यसलाई मेरा बाजेले सात-सात समुद्रपारिको देशबाट झिकाएका थिए रे । मेरा बाजे जन्मनेबित्तिकै जर्नेलसाहेब भएको मान्छे । तर म जरसाहेब होइन, जरसाहेब भनाउने इच्छाले घाइते पनि भएको छैन । मेरो अस्तित्व एक्सपोर्ट र इम्पोर्ट गर्ने अस्तित्व हो, बस त्यत्ति ।

आहा ! क्या मज्जाको कुरा पत्नीको भनाइ छ- म छु र पो त उसको सिँगार छ रे ! यो कुरा मेरी पत्नीको मात्र भनाइ होइन, मेरो संस्कारको पनि भनाइ हो । यतिखेर मेरी पत्नी सिफनकै बुट्टेदार सारी र सिफनकै आधा आङ र पेट देखिने ब्लाउजले उज्यालिएकी छे । आफ्नो सङ्गमरमरझैँ नाङ्गो आङ र पेटमाथि साहै-साहै गर्व छ उसलाई । त्यसमाथि सिँगारले उज्यालिएको आफ्नो सौन्दर्यलाई ऐनामा हेर्दाहेर्दै मक्ख परिरहेकी छे । उसको सारीको रङ्गजस्तै उसको अनुहारको रङ्ग पनि त्यसै-त्यसै उज्यालिएको छ ।

तर डाक्टरको भनाइ छ अझै केही दिनसम्म मैले त्यो कालो पट्टीलाई फिक्न हुँदैन रे । कालो पट्टी राखेको राख्यै गर्ने कुरा मेरो धैर्यभित्र पर्दैन । कालो पट्टी यसो पन्छाए तापनि मेरी पत्नीको गुलाफी रङ्ग र हिउँरङ्ग मिसिएझैँ छाला आँखालाई तिरीमिरी पार्ने खालको छ । उसको शरीरको बनोट पनि आँखालाई तिरिमिरी पार्ने खालकै छ । मानौँ चुम्बकैचुम्बकझैँ छ उसको सम्पूर्ण अस्तित्वमा । मैले कालो पट्टी पन्छाएको कुरा उसले चाल पाई भने ऊ निश्चय नै कटु हुनेछे मसँग बोल्ने कुरामा । ऊ डाक्टरको भनाइलाई तिलबराबर पनि यताउति गर्ने पक्षमा छैन । रिसाइदिए पछि साहै-साह्रै गाह्रो पर्छ उसलाई फकाउन ।

उसको हिस्सी पनि यस्तैमा छ र उसको महत्त्व पनि । तीन वर्षअघि उसलाई दुलही बनाएर ल्याएपछि एक दिन “म बूढो र तिमी तरुनी” भनेर ठट्टैठट्टामा के भनिदिएको थिएँ बिचरी दिनभरि नै बोलेकी थिइन । बल्लतल्ल फकाएपछि उसले आँखाभरि आँसु त्यसै त्यसै टलपलाउँदै भनेकी थिई- “अब पनि त्यस्तो छुसी कुरा गरिबक्सियो भने झुन्डिएर नमरे किजात । लोग्नेमान्छे बूढो र स्वास्नीमान्छे तरुनी ।”

उसलाई सम्पूर्ण रूपले पत्यार गर्नुपर्छ मैले । पत्यार नगरे पनि उसको केही बिग्रँदैन । फेरि पत्यार नगर्नुपर्ने कुनै कारण पनि त देखेको छैन नि यी आँखाले टड्‌कालो । बी. ए. सम्म पढेकी भए पनि ऊ पुरानै परम्पराकी झैँ देखिन्छे। मेरी आमा र मेरी बज्यैले दिनहुँ आफ्नो श्रीमान्‌को खुट्टाको पानी खाने गरेकै ऊ पनि मेरो खुट्टाको पानी खाने गर्छ । म एक्सपोर्ट र इम्पोर्ट बिजिनेसको सम्बन्धमा धेरैजसो घरबाहिरै चहार्नुपर्ने मान्छे । घरभित्र रेखदेख पुऱ्याउन सक्तिनँ म । मपछि मेरो घरको आँखा पनि उही, मेरी स्वर्गीय पत्नीतर्फकी छोरी र छोराकी आमा पनि उही । आजसम्म उसले ऊ त्यस घरमा सौतेनी आमा हो भन्ने कुराको छनक उठ्न दिएकी छैन ।

भर्खर भर्खर आँखाबाट पन्छाइएको कालो पट्टीलाई फेरि ठीक ठाउँमा राखेर म मौनताभित्र चिप्लने कोशिश गर्छु । सम्भवतः मेरी पत्नी अब ठूलो ऐनाअगाडिबाट पन्छिएर मनिर आउँछे क्यारे । उसको शरीरबाट उडिरहेको स्वास्नीमान्छेको गन्धलाई एकदमै नजिकबाट अनुभव गर्न थाल्छु । उसले आफ्नो शरीरमा दल्ने गरेको पाउडरको सुवास र लुगामा छर्ने अत्तरको सुवास लोग्नेमान्छेको पनलाई उत्तेजित पार्ने खालको छ । त्यस किसिमको सुवासले बौलाहा हुनेहरू धेरै देखेको छु मैले । म पनि बौलाहा हुनुपर्ने हो, त्यसै त्यसै मात्तिएर उसलाई चपक्क समाई कच्याककुचुक पार्नुपर्ने हो । तर आज म त्यसो गर्न सक्तिनँ । त्यसो गरिहाल्ने इच्छा भए पनि भर्खरभर्खरै मौनताभित्रभित्रै उदाएको जुलुसका आँखाहरू बाधा बनिदिन्छन् ।

तर मेरी पत्नीका आँखा मेरो मौनताभित्र देखिएका आँखा हुन सक्तैनन् । म त्यो शङ्कालाई प्रश्रय दिने पक्षमा पनि छैन ।

पत्नी मौनता भाँच्छे- “म बिहेमा गएर आऊँ कि ?”

कसरी ‘नजाऊ’ भन्ने मैले । समाजमा बसेर सामाजिकता त पालन गर्नैपर्छ । मेरो पत्नीको दाजु पर्ने त्यो अधबैंसे अनुहार किन पो नआएको होला ! ऊ आएको भए पत्नीसँगको बिछोडको त्यो खाली क्षणमा दिवास्वप्नसँग त खेल्नुपर्ने थिएन । अधबैंसे अनुहार सम्भवतः मेरी पत्नीलाई निकै माया गर्छ क्यारे ! दुलही भित्र्याएको दिन बेलुकी मुख हेर्न आउने जमातमा ऊ स्वयम् पनि सामेल देखिएको थियो । सोह्र दिनको साइतपछि त ऊ दिनदिनै भनेजसो उसलाई भेट्न आउने-जाने गर्दै आइरहेको थियो ।

मेरी पत्नीलाई लिएर कार घुइँकिएपछि म फेरि मौनता भित्रभित्रै चिप्लन थाल्छु । त्यो मोटर हाँक्ने ड्राइभर बडो जमामर्द जस्तो देखिन्छ । मेरी पत्नीको दाजु पर्ने अधबैंसे अनुहार र यो ड्राइभरको बीचमा राम्रोसँग मेल छैन कि क्या हो । दुवै एक-दोस्रोको चुक फेला पार्यो कि एक-दोस्रोलाई सफाचट पार्ने कुरामा जमर्को लिन थालिहाल्छन् । तर अहिले न त अधबैंसे अनुहारका आँखाको स्मृतिले छोपिन्छु न त छोपिन्छु ड्राइभरको स्मृतिले नै । बरु छोपिन थाल्छु उही आँखैआँखाका जुलुसको स्मृतिले जसलाई मैले केहीछिन पहिले मौनता भित्रको चिप्लेटीमा अनुभव गरेको थिएँ । उफ् । कस्ता-कस्ता अनुहार, कस्ता-कस्ता आँखा, अभिव्यक्तिमा मलाई बौलाहा साबित गरेर निर्वासित तुल्याउने कस्तो कठोर चाहना !

अधबैंसे अनुहार त आएन-आएन, यतिखेर मेरी छोरी नै घर बसेकी भए के बिग्रन्थ्यो र । सिनेमाकै गफ भए पनि त गर्ने थिई । उसलाई सिनेमाको चौपट्टै सौख छ । उसको कोठामा सिनेमासम्बन्धी थुप्रै पत्रपत्रिकाहरू छन् । सम्भवतः यतिखेर ऊ कुनै सिनेमाहलभित्र होली । लौ भइगो, छोरी त छोरी नै भई, त्यसको के कुरा । छोरोसाहेब नै आइपुगेको भए पनि त हुन्थ्यो । ‘अंश देऊ’ भनेर भलै कच-कच गर्थ्यो तर त्यसले के बित्यास पर्ने थियो । पाखुरा खैंचदा-खैंचदै गितारको धुनमा पप गीत गाई मौनताभित्र चिप्लने उच्याटलाई त भाँचिदिने थियो ।

साँच्ची मेरी पत्नीको दाइ पर्ने अधबैंसे अनुहार किन पो नआएको होला ? न मेरी उसले कुनै चर्को कुरा भनिदिई कि ? हिजोआज उसको अनुहार पनि निन्याउरो देखिन्छ । के ठेगान न झपार्न पनि बाँकी राख्दिन कि ! त्यो कोठालाई छाडेर म नाङ्गो खुट्टाले तल ओर्लिन्छु । तल ओर्लिनुभित्र मेरो मनसाय के पो छ कुन्नि त्यसबारे मलाई थाहा छैन । पाउने इच्छा पनि छैन । म भरेङ ओर्लिएर तल्लो तलामा पुगेपछि आफ्नो नाङ्गो खुट्टालाई सम्झिएर झसङ्ग हुन्छु ।

त्यसरी तल ओर्लिंदा मैले दोसल्ला ओड्नुपर्ने थियो ।तर त्यो पनि बिर्सिएछु भुसुक्कै । सम्भवतः त्यतिखेर मेरो चेतना उही अचेतनको पत्रपत्रमा लिप्सिएका मेरो विरुद्धका आँखाहरूले लखेटिएको थियो । तर अब खास्टो र जुत्ताको निम्ति माथि उक्लने कुरो पनि भएन, किनभने तल्लो तलाको गोप्य कोठामा चलेको खासखास-खुसखुसले म हानिन थाल्छु लगत्तै ।

कुनै ऐरेगैरेको निम्ति त्यो गोप्य कोठाको निर्माण गरेको होइन मैले । भासेभुसेहरूलाई स्वागत गरुँला भनेर त्यो कोठामा मैले पन्ध्र हजार पर्ने काश्मीरी गलैंचा बिछ्याएको होइन । न त त्यस्ताहरूको प्रशंसा पाउने लोभले नै त्यस कोठाको भित्तामा तैलचित्रहरू राखेको हुँ । तर त्यो गोप्य कोठामा खासखुस कस्तो ।

म भित्तामा कान थाप्छु स्त्रीस्वर भन्छ- “छिः कस्तो चिमोटेर जिस्कने बानी !” त्यो स्वरले रोमाञ्चित हुनुपर्ने हो मेरो नसानसा । तर म त्यस्तो अनुभव गर्दिनँ । गर्न पनि हुन्न मैले । त्यो पनि यतिखेर । पुरुषस्वर भन्छ- बूढोको सेफ फोौ त ?” स्त्रीस्वर भन्छ- “साँचै फेला परेको छैन ।” पुरुषस्वर केही जङ्गिन्छ- “त्यसो भए तिमीसँग कसरी गृहस्थी बसाउने ? बूढोलाई सुट्ट निद्रा पर्ने औषधि खुवाइदेऊ न ।”

अब मेरो कनसिरीको रौं तात्छ । यसरी कन्चट बल्किएपछि तुरुन्त ढोकामा लात बजारेर भित्र पस्नुपर्ने हो मैले । तर म त्यसो गर्दिनँ । गरूँ भने पनि म आँखामा कालो पट्टी बाँधेको मान्छे । हुन सक्तछ त्यसो गर्दा मेरो गर्धन नै छिनियोस् । फेरि मेरो मौनताभित्र चिप्लने आँखाहरू पनि त त्यस्तै चाहन्छन् । म भित्ताको टेवा लिएर लामो निश्वास फेर्छु । भित्र खासखुस गर्नेहरूमा कुन किसिमको अड्‌काउ पर्यो कुन्नि तीमध्ये यौटी स्वास्नीमान्छे-अनुहार बाहिर निस्कन्छे । त्यो अनुहार मेरी पत्नी उषाले राखेकी सुसारेको हो ।

म सारीले छोपिएको उसको खुट्टा त्यसै त्यसै लगलगाएझैँ अनुभव गर्न थाल्छु । ऊ न त भित्र पस्न सक्छे न त बाहिर निस्कन नै । तर मेरो बुद्धिसम्मत चेतना उसको आँखालाई ती आँखाहरूसँग दाँज्न थाल्छ जुन आँखाहरूको जुलुस मेरो मौनताभित्र चिप्लिएको थियो । राम्रो कुरा हो- उसले मलाई ठम्याउनुभन्दा पहिले नै म आफ्नो आँखालाई फेरि कालो पट्टीले छोप्न सफल भइसकेको छु । तर त्यो पट्टी अहिले मेरो आँखामा त्यति गाढा किसिमले लिप्सिएको छैन ।

यस किसिमको स्थितिप्रति सन्निपाती हुने अनुहारहरूलाई मैले देखेको छु तर म सन्निपाती हुन्नँ । सन्निपाती भएँ भने यस्तो अवस्थामा गर्धन निमोठिने सम्भावना हुन्छ रे । त्यसमाथि म आँखामा कालो पट्टी बाँधको मान्छे । यस सम्बन्धमा मेरी पत्नी फर्किएपछि नै फैसला गर्नु बेस । तर यस सम्बन्धमा अहिले राम्ररी निर्णय लिन पाएको पनि हुन्न, सुसारे अनुहार एक्कासि मेरो खुट्टामा घोप्टिएर त्यसै त्यसै छाँद हाली-हाली रुन थाल्छे । त्यै मौकाको फाइदा उठाएर भित्र लुकिरहेको पुरुष- अनुहार लुसुक्क बाहिर निस्कन्छ । तर म आफ्नो इज्जतलाई जोगाउन स्वयम्लाई चपाउँदै त्यो सम्पूर्ण घटना थाहा नपाएझैँ छनक उडाइरहन्छु । तर सुसारे अनुहार रुन छाडेकी छैन । म केही पत्तो नपाएझैँ गरी भन्छु- “किन ? किन रोएकी काइँली ?”

अब सुसारे अनुहारको रुवाइ ठ्याम्मै रोकिन्छ । म उसतिर लापर्बाही भएझैँ आफ्नो अन्धोपनलाई ब्युँझाउँदै भित्र पस्छु र कुनातिरको एउटा सोफासेटमा धसिन्छु । पुरुष-अनुहारलाई सम्भवतः सुसारे अनुहारसँग गाढा प्रेम छ क्यारे ! हुन सक्तछ त्यस प्रेमको कारणभित्र मेरो जनैमा झुन्डिने सेफको साँचो होओस् । लुसुक्क आएर ऊ सुसारे अनुहारको कानमा मुख जोरी साउतीको स्वरमा मेरो आँखालाई छोपेको कालो पट्टी देखाइदिन्छ । सम्भवतः ऊ थक्क-थक्क हुन्छे मेरो आँखाको कालो पट्टीलाई उसले मेरो खुट्टा समाउनुभन्दा पहिले नै किन पो देख्न सकिन भन्ने कुरामा ।

आफ्नो रुवाइलाई सुँक्क-सुँक्कमा अनुवाद गर्दै सुसारे अनुहार भन्छे- “मालिक ! किन जुत्ता पनि नलाइबक्सिएको, ओड्ने पनि नओढिबक्सिएको ! यस्तो देख्ता मान्छेले बौलाहा भन्दैनन् हजूरलाई ?”

बोल्दाबोल्दै उसको सुँक्कसुँक्क फेरि बढ्न थाल्छ । धोका खान थाल्छ मेरो बुद्धिले । त्यो नाङ्गो सत्यलाई आत्मसात् गर्दागर्दै मेरो मौनतामा चिप्लेटी खेल्ने जुलुसका आँखाहरू म फेरि आफ्नो स्मृतिमा अनुभव गर्न थाल्छु । उफ् ! मौनताका जुलुससँग त्यो सुसारे अनुहारका आँखा कति मिल्दाजुल्दा छन् । अनि त्यो पुरुष-अनुहार मेरो बगैंचे त्यो भुतुचाका आँखा पनि कति मिल्दाजुल्दा छन् । त्यो नाङ्गो सत्यलाई अनुभव गर्दागर्दै मेरो ओठबाट त्यसै त्यसै हाँसो चिप्लिन्छ । मेरो कण्ठबाट त्यसै-त्यसै हाँसोको स्वर फुस्किन्छ ।

हाँस्दाहाँस्दै झसङ्ग हुन्छु म । निश्चय पनि त्यसरी हाँस्नुनपर्ने हो मैले । तर हाँसो न हो, फुस्किहाल्यो । सुसारे अनुहार र बगैंचे अनुहार दुवैका आँखा एक-दोस्रोसँग चार हुन्छन् । आँखैआँखाले सुसारे अनुहार सोध्छे- “यो के ?”

आँखैआँखाले बगैंचे अनुहार आवाज दिन्छ- “बौलायो ।” म झन् हाँसिदिन्छु ।

मेरो हाँसो भाँचिदानभाँचिदै सुसारे अनुहार मेरो हाँसोको अर्थ लाउने चेष्टाले फेरि कानेखुसी गर्छ- “किन हाँसेको होला ?”

साउतीको स्वरमै बगैंचे अनुहार फेरि भन्छ- “मगज सड्क्यो, अरू के हुन्थ्यो, बूढो बौलायो ।”

मेरो हाँसो रोकिँदानरोकिँदै अब ती दुवै अनुहार मेरो आँखाबाट टाढा हुन्छन् । मेरो आँखाको सम्भावना कैद भए पनि मेरो कानको सम्भावनाले टाढासम्मको सम्भावनालाई भ्याउन सक्छ । सुसारे अनुहार र बगैंचे अनुहार संयुक्त रूपमा हाँसिरहेका हुन्छन् । भरे मालिक्नी फर्किएपछि मेरो बौलाहापनको स्थितिलाई उद्घाटन गर्दिएपछि साँच्चै कति रमाइलो होला भन्ने बारेमा कुरा गर्न थाल्छन् ।

त उनीहरू मेरी पत्नीको अगाडि मलाई बौलाहा तुल्याउने बारेमा सोच्दै छन् । यो हास्यास्पद कुरा मेरो निम्ति अर्थोक के पो हुन सक्तछ हास्यभन्दा बढी ।

यस्तो किसिमको मामिलामा फैसला गर्ने शक्ति उषाको दाइ पर्ने अधबैंसेसँग मभन्दा बढी छ । तर उसको सहायता लिने बारेमा सोच्दासोच्दै म आफैँ हास्यको पात्र हुन गएझैँ अनुभव गर्न थाल्छु । तर कसो कसो मेरो जन्मिने बित्तिकैको कर्णेली संस्कार त्यो स्थितिलाई स्वीकार गर्ने पक्षमा छैन । तर स्वीकार नगरेर पो के गर्नु । मेरा हाडहरू त्यसै त्यसै कामेझैँ अनुभव हुन थाल्छ मलाई । छेवैको सोफासेटलाई छोपिराखेको एउटा तन्ना हत्तपत्त झिकेर गुम्लुङ्ग ओढ्छु म ।

तर… तर… मलाई लाग्छ मेरो मौनतामा चिप्लिएका जुलुसका आँखाहरू मोर्चाबन्दी गरेर ‘बौलाहा बौलाहा’ भन्दै चिच्च्याउन थालेझैँ । तर म स्वयम् भित्रभित्रै चिच्च्याउन थाल्छु ‘म होइन, तिमीहरू बौलाहा । तिमीहरूको बाबु बौलाहा । बाजे बौलाहा ।’ मलाई त्यसै त्यसै चिच्च्याएर त्यो शब्द कोठाभरि नै उडाइदिऊँ झैँ लाग्छ । तर म त्यसो गर्न सक्तिनँ ।

साँझ झरिसकेको छ । सम्भवतः माथि तलाको मेरो कोठामा बत्ती बलेको छैन । र यो गोप्य कोठामा पनि बत्ती बलेको छैन । मलाई पनि त्यस सम्बन्धमा जमर्को देखाउने इच्छा छैन । तर… तर म अँधेरोमै कुनै स्वास्नीमान्छेको सुँक्क-सुँक्क रुवाइलाई अनुभव गर्न थाल्छु । रुवाइको साथसाथै शब्द बन्न थालेको अनुभव गर्न थाल्छु- “लौ, मर अब पेटमा दुई महिनाको बच्चा लिएर ।”

त्यो बोल्ने निश्चय पनि स्वास्नीमान्छे हो । तर उसको शब्द- उच्चारण बटारिएको छ । हुन सक्तछ उसलाई चरेस वा मेन्डोलिनको नशाले छोएको । मेन्डोलिनको नशा नभए हुन सक्छ रक्सीको नशाले छोएको । यस्तो स्थितिमा निश्चय पनि मैले आफूलाई यस किसिमले लापर्बाहीमा छाड्न हुन्न । म चुपचाप भित्ताको स्विचतिर हात लम्काउँछु । अब त्यो गोप्य कोठामा साराका सारा वस्तुहरू दिउँसोको उज्यालोमा झैँ प्रस्टै देखिन्छन् । गोप्य कोठामा पनि दुई जना मान्छेझैँ अग्ला अग्ला ऐना छन् मेरा बाबुबाजेको पालादेखिका । त्यो स्वास्नीमान्छे बौलाहाझैँ स्थितिमा ऐनाअगाडि उभिएकी छे ।

ऐनामा हेरेको हेर्यै आफ्नो मुखलाई बिगारेर उही नशालु स्वरमा ऊ आफ्नो प्रतिबिम्बसँग प्रश्न गर्छ- “कसको बच्चा ?”

आफैं जवाफ दिन्छे- “‘क’ को ।”

” ‘क’ को कि ‘ख’ को ? कि ‘ग’ को ?”

सम्भवतः प्रश्नको जवाफ उसबाट तत्कालै बन्न सक्तैन । ऊ आफ्नो शरीरलाई ऐनानिरको सोफामाथि एकाएक धम्म बसेर मुख छोपी-छोपी फेरि सुँक्क-सुँक्क रुन थाल्छे । एउटा बाबु हुने नाताले जुरुक्क उठेर उसको गालामा चटाचट थप्पड बर्साइदिनुपर्ने हो मैले । सके हातले नसके छडीले । म आफ्नो नसा नसामा तरङ्गित भइरहेको रगत तातिएझैँ अनुभव पनि गर्छु । तर फेरि पनि मेरो हातले न त उसमा थप्पड बर्साउन सक्तछ न त छडी नै समात्न ।

सुँक्क सुँक्क गर्दागर्दै ऊ एकाएक साहै दरिलो भएझैँ बडबडाउँदै उठ्छे- “अब के गर्नु त ‘क’ को होस् कि ‘ख’ को होस् । सके यहाँ सुँडिनी लगाएर तुहाउनुपर्ला, नसके त्यो बौलाहा बूढोको आँखामा छारो हालेर भारततिर दौडनुपर्ला, उसको सेफमा त्यत्रोविधि रुपियाँ भएको के काम !”

म आफ्नो छातीमा घन बज्रिएझैँ अनुभव गर्न थाल्छु । बडबडाउँदा-बडबडाउँदै ऊ उही नशालु स्थितिमा मतिर फर्किन्छे । आफ्नो इज्जत जोगाउन हत्त न पत्त म कालो पट्टीलाई जहाँको तहीँ राखेर तन्नाले गुम्लुङ्ग टाउको छोप्छु । खालि पट्टीभित्रका मेरा आँखा ऊतिर टाँसिन्छन् ।

ऊ अनुहारभरि विस्मय सोहोरी मतिर हेरिरहन्छे । फेरि एकाएक मेरो टाउकोमाथिको तन्नालाई थुत्त थुत्छे । सम्भवतः उसको नशा तुरिन्छ क्यारे ! तर ऊ बाठी छे । आफ्नो लगलगाएको खुट्टालाई छोप्न ऊ एकदम चड्कन्छे- “के बौलाउनुभयो कि क्या हो ?”

फेरि एकाएक बाहिर निस्कन्छे हाँसोले सारा वातावरणलाई नै भिजाउँदै ।

अब म आफ्नो पुर्पुरोलाई ठटाएर त्यै सोफामाथि साँच्चै नै बौलाएझैँ धुमधुमती बसिरहन्छु । न हाँस्न सक्छु म न त रुन नै सक्छु । घरको कोठा-कोठामा बूढो बौलायो भन्ने वाक्य चिप्लन झैँ थाल्छ । मौनसित सम्झौता गर्नुबाहेक अर्थोक के गर्न सक्छु र मभित्रको नपुंसक रिसले । हरे ! मेरो मौनता भित्रभित्रै चिप्सिएका मविरुद्धको जुलुसको आँखासँग सुसारेका आँखा कति मिल्दाजुल्दा छन्, बगैंचेका आँखा कति मिल्दाजुल्दा छन् । स्वयम् मेरी छोरीका आँखा त हरे झन् साह्रो मिल्दाजुल्दा छन् ।

भरे उषा फर्किएपछि यस सम्बन्धमा कुरा गर्नैपर्छ मैले । मेरो आँखा पो हो त मेरी पत्नी । यी सब कुरामा के उसले विचार गर्नुपर्ने होइन र !

आफ्नो इज्जत जोगाउन म गोप्य कोठाको बत्ती निभाइदिन्छु । तर तन्नाले मुख छोपी फेरि अरू कसैका आँखामा बौलाहा ठहरिने पक्षमा छैन म ।

अँधेरो झरि नै रहन्छ । मौनसँग चिप्लँदाचिप्लँदै म बाहिर मोटर रोकिएको अनुभव गर्छु । साँच्चो कुरो त यो हो- यतिखेर मलाई त्यो मोटरप्रति पनि उत्सुकता छैन । सम्भवतः मेरी पत्नी आई क्यारे । म उसको ओठबाट चिप्लिएको मुक्त किसिमको खित्कालाई अनुभव गर्न थाल्छु । उसको खित्कासँगसँगै ड्राइभरको खित्का पनि मिसिन्छ । ‘मिसिन्छ भने मिसियोस्’ म त्यस कुराप्रति पनि लापर्बाह भइदिन्छु । तर किन पो होला मेरी पत्नी र त्यो ड्राइभर त्यस्तो काउकुती लाग्ने किसिमले हाँसेका !

हाँस्दाहाँस्दै ती दुई अब गोप्य कोठाभित्र पस्छन् । म फेरि आफ्नो आँखाको कालो पट्टीलाई राम्रोसँग छाम्छु । पट्टी फुस्किएको थाहा पाई भने मेरी पत्नी साँच्चै नै झोक्किने छे । म उसलाई रिसाहा तुल्याउने पक्षमा छैन । बाहिर जाने वेलामा मेरो आँखाको सुरक्षाबारे बिचरीले एउटा सिङ्गै भाषण मेरो कानमा कोच्न चुकेकी थिइन ।

अँधेरोमा कुन किसिमको घटना घट्छ कुन्नि, मेरी पत्नी एक्कासि खितित्त हाँसिदिन्छे । अँधेरोमै स्विच छामेर म बत्ती बालिदिन्छु । हाँस्नु अपराध होइन । तर त्यस किसिमको हाँसोमा गम्भीर हुनुपर्छ मैले । बत्तीको उज्यालो देखेपछि सम्भवतः ती दुई झस्किएका होलान् । जाती नै भयो अहिले मैले आफ्नो आँखाको कालो पट्टी नफुकालेको पनि ।

मेरी पत्नीका हातका औंलाहरू अब म आफ्नो कपालमाथि चिप्लिन थालेझैँअनुभव गर्न थाल्छु । त्यस किसिमको अनुभवले मभित्र पनि काउकुती लागेको अनुभव हुनुपर्ने हो । तर अहिले मेरो गम्भीरपन झन् गम्भीर हुन्छ । हुन सक्छ यतिखेर ड्राइभरको आँखामा सर्पका आँखाको रङ चढेको पनि । मेरी पत्नी मेरो कपालभित्र घुसारेको औंला खेलाउँदै भन्छे- “के विचार गर्न लागिबक्सियो ?”

“अन्धोले के पो विचार गर्छ र मर्ने कुरोबाहेक” म जवाफ दिन्छु । मेरो जवाफ टुङ्गिनेबित्तिकै ऊ मेरो मुखलाई आफ्नो हथेलीले छोपेर भन्छे – “मरोस् हजूरको शत्रु । हजूरले त्यस्तो कुरो किन सोच्ने ?”

जवाफमा म उसको हात आफ्नो मुखबाट पन्छाइदिन्छु । साथै हातले कालो पट्टी नछोईकन नै आँखालाई केही खुकुलो पार्ने हेतुले चलाउन थाल्छु । कालो पट्टी केही खुकुलो पनि हुन्छ । बोल्दाबोल्दै मेरी पत्नी ड्राइभरतिर फर्किएर आँखा झिम्काइदिन्छे । त्यस किसिमको झिम्काइमा कुन किसिमको सन्देश लुकेको छ कुन्नि ड्राइभर बोकाले झैँ नाक फुलाउँछ । अब मेरी पत्नी मेरो पाखुरा समातेर भन्छे-

“ड्राइभर !”

“हजूर !”

“ल-ल मालिकको पाखुरा समात त, मालिकलाई माथि लानुपर्यो !”

मेरी पत्नी बोल्दाबोल्दै ड्राइभरलाई फेरि मुस्कानले छोपिदिन्छे । म आफ्नो अर्को पाखुरा ड्राइभरको पन्जामा बाँधिएको अनुभव गर्छु । एकातिर ड्राइभर, अर्कोतिर मेरी पत्नी, बीचमा म । अहिले मेरा आँखामा बाँधिएको कालो पट्टी मेरो हेर्न सक्ने शक्तिको निम्ति छेकबार बनेको छैन । बाहिर फेरि मोटरको हर्न बजेको सुनिन्छ ।

सम्भवतः मेरो छोरो आइटोपल्यो क्यारे । जे भए पनि छोरो भन्या छोरो हो । छोरो मेरो बाँच्नुको सार हो । छोरो मेरो रगतको अंश हो । मपछिको मेरो वंशको सिँढी । तर न ऊ बाहिरकै भरेङबाट मास्तिर उक्लने हो कि ! रक्सीको नशा लागेको स्वरमा आफ्नो उही पुरानो गीत गाइरहेको छ ऊ । म गीतको गेडा बुझिरहेको छु “आई नेभर नेभर फर्गेट यू ओ माई लभ” तर म छोरातिर ध्यान दिन्नँ, पत्नी र ड्राइभरतिर ध्यान दिन्छु ।

अब ड्राइभरको एउटा हात बिस्तारै-बिस्तारै मेरी पत्नीको छाती ताकेर सर्किन थाल्छ । अनि मेरी पत्नीको हातले ड्राइभरको अनुहारलाई सुमसुम्याइदिन्छ । अब त सत्ते भए नहोला मेरो धैर्यको बाँध त्यसै त्यसै फुट्न थाल्छ । म दुवैको हातलाई आफ्नो हातबाट झट्‌कालिदिन्छु । दुवै जिल्लिन्छन् । तर म त्यसै त्यसै कराउँदै छोरोसाहेबलाई भन्छु- “लौ हेर ! यो वेश्येको चाला । यो मेरी पत्नी होइन, फुँडी हो बुझिस् फुँडी ।”

मेरो रिसाहा स्वरले छोरालाई वस्तुस्थितिको बोध गराइदिनुपर्ने हो र उसका आँखाभरि घृणा ओछ्याइदिनुपर्ने हो मेरी पत्नीप्रति । तर घृणा त छ उसका आँखामा मेरी पत्नीप्रति होइन बरु म स्वयम्प्रति । ऊ मेरी पत्नीतिर फर्किएर उही रक्स्याहा स्वरमा भन्छ- “बूढो बौलायो कि क्या हो कान्छी मुमा ?”

मेरी पत्नी त्यस कुरामा चर्को किसिमले गम्भीर हुन्छे । गम्भीर हुँदाहुँदै भन्छे- “हेर न, जुत्ता पनि लाउनुभा छैन । ओढ्नेको सट्टा तन्ना ओढ्नु भा’छ । बौलाउनु त भयो ।”

तर म झन् ठूलो स्वरले मेरी पत्नीलाई प्रतिवाद गर्न थाल्छु । अब मेरी छोरी पनि आइपुग्छे, सुसारे पनि आइपुग्छे । मेरो अज्ञानमै मेरा असहाय मैं आँखामा उनीहरू टाँसिन्छन् ।

तर मेरी छोरी पनि मेरो छोरालाई समर्थन गर्दै भन्छे- “आज साहै चर्को छ बाको बौलाहा रोग ।”

सुसारे भन्छे- “डाक्टर बोलाउनुपर्यो कि ?”

‘बौलाहा… बौलाहा…’ म आफ्नो वरिपरि त्यो शब्द त्यसै त्यसै बिम्झिएझैँ अनुभव गर्न थाल्छु । मैले बुझिसकेको छु यस स्थितिमा मौनसँग नै विश्वास गर्नुपर्छ मैले । मौनभित्रभित्रै देखिएका जुलुसका आँखासँग हरे ! कति मिल्दाजुल्दा छन् मेरी पत्नीका आँखा, छोरा र छोरीका आँखा, मेरो सिङ्गो घरकै आँखा । लाग्न थाल्छ मेरा हरेक कदम नै गलत ठाउँमा पर्दै गएझैँ । म मुक्तिको अभ्यर्थना गर्न थाल्छु ती आँखालाई अनुभव गर्दागर्दै ।

(दौलतविक्रम विष्टको कथासंग्रह ‘आँसु त्यसै त्यसै छचल्किन्छ’बाट)