मैले उसलाई समाजमा नाङ्गो बनाएर बेइज्जत गर्ने धम्की दिएँ अनि मात्र ऊ गल्यो । धम्की निदिई आजकल यहाँ केही पनि पाउन सकिँदैन, न चन्दा न अधिकार ।

 

लेखकको गन्थन धेरै सुनियो । अब लोकतन्त्रमा पात्रको मन्थन पनि सुनौं । पुस्तकको संसारबाट बाहिर निस्केर वास्तविक जगत्को एउटा अनलाइन चौतारमा बसेका तीन पात्रहरुको यो विचारमन्थन सुनौं ।

पात्र ‘क’ले आफ्नो पेजमा लेख्यो – ‘यो पात्रको समय हो ।’

पात्र ‘ख’ले पनि लेख्यो – ‘यो समय स्वतन्त्रताको हो ।’

पात्र ‘ग’को पेजमा देखियो – ‘स्वतन्त्रता लोकतन्त्रको उपलब्धि हो । यो क्रान्ति र आन्दोलनको बलमा आएको हो ।’

समयको गतिशीलतालाई कसले रोक्न सक्छ र ? आज समय यस्तो घुम्तीमा आइपुगेको छ जहाँ हिजोका निर्वाक आवाजहरु एटम झैं बुलन्द हुन थालेका छन् । न रोक्न सकिन्छ समयको गतिलाई न छेक्न सकिन्छ बुलन्द आवाजलाई । समयको चक्रमा परिक्रमा लाउनै पर्ने नियतिको फेरोमा बेरिएर ती बुलन्द आवाजहरु श्रवण गरौं ।

तर हातमा फूलपाती लिइहाल्नु पर्दैन, पुराण होइन अन्तिममा … कि, जय भनेर दुवै हात माथि फर्काउनु पनि पर्दैन ।

पात्र क – पूर्वकार्यको समीक्षा गरेर मात्र नयाँ तथ्य पत्ता लगाउन सकिन्छ । त्यसैले विगतको छलफल र समीक्षा गरी आगतको खोजी गर्नु वर्तमानको आवश्यकता हो । त्यसैले तपाईंहरूलाई म आफ्नै विगततिर फर्काउँदै छु ।

त्यो निरङ्कुश शासनको बेला थियो । धर्तीको यथार्थभन्दा कल्पनाको उडान नै लेखकका निम्ति सुरक्षित मानिन्थ्यो । विचरा लेखक ! यथार्थ दृष्टिमा कल्पनाको पट्टी लगाएर अलौकिक संसारको सयर गर्न बाध्य थियो । उसले चाहेर पनि मलाई धर्तीको यथार्थ धरातलमा उतार्न सक्दैनथ्यो । त्यसैले मलाई भुत–प्रेत बनाइयो, बोक्सी–डङ्किनी बनाइयो, देउता–राक्षस बनाइयो । त्यसवेला म पनि केही गर्न सक्ने अवस्थामा थिइनँ । लेखक त विचरा, निरीह थिए भने म पात्रको हालत कस्तो थियो होला र ? अनुमान गर्नुहोस् न । तर मलाई एक प्रकारको आनन्द थियो । मलाई सांसारिक नियम र सभ्यता नामको नक्कली खोल ओडिरहनु थिएन । म अलौकिक संसारमा बसेर अलौकिक कार्यहरु गर्न समर्थ थिएँ । म त्यसमा शायद रमाएकै थिएँ । साँच्चिकै भन्नुपर्दा मलाई जीवनका सुखदुःख नै थाहा थिएन अथवा मतलब थिएन ।

थाहा हुनुभन्दा अर्को आनन्द केही छैन शायद । तर थाहा पाइसकेपछि पीडा हुँदोरहेछ । त्यो दुख्दोरहेछ । त्यतिवेलाको आनन्द अहिलेको दुखाइले बिर्साइदिने रहेछ । यो समयले मलाई चेतना नभरिदिएको भए, मेरो अस्तित्व बोध नगराइदिएको भए । म अज्ञानताको धमिलो पोखरीमा नै पौडिरहेको हुन्थें होला । म रमाइरहेकै हुन्थें होला । तर यो चेतना भरिएको अस्तित्व बोधको पीडा कष्टकर हुँदोरहेछ । उकुसमुकुस भइरहेछ ।

शायद, जसको जुन समयमा जुन कार्यका निम्ति सिर्जना भएको हुन्छ उसको प्रयोजन सकिएपछि अन्त्य हुनुमा नै त्यसको अर्थ हुने रहेछ । दीर्घ जीवनको कहर अष्टचिरञ्जीवीहरूलाई मात्र हैन पात्र ‘क’लाई पनि बोध भइरहेछ । समयानुसार पुनर्जीवन प्राप्त गर्न नसकेका र पाठकका मानसमा जीवितै रहेका पात्रहरु अहिले अस्तित्वबोधको चेतनामा अग्निदाह गर्न बाध्य छन् । पात्र ‘ख’ले केही लेखिरहेको सङ्केत यहाँ देखिरहेको छ ।

पात्र ख – म अर्को पुस्ताको परें । मेरो लेखकमा यथार्थजीवनको बोध प्रबल थियो । तर ऊ विवश जीवन बाँचिरहेको थियो । उसको विवशता ऊ आफू भएर व्यक्त गर्न सक्दैन थियो । शायद शासन व्यवस्थाको डर थियो । अनि मलाई अघि सार्थ्यो र उसको जीवनभोगाइको विवशता प्रस्तुत गर्न लगाउँथ्यो । लेखकमा अर्को बाध्यता थियो कि उसको भोगाइलाई पनि सिधै प्रस्तुत गर्न सक्दैनथ्यो । त्यसले मलाई जटिलताको भासमा डुबाइदिन्थ्यो । त्यो दुरुहताको दलदलमा म निस्सासिन्थें तर मेरो दलदलमा हामफाल्न आउने पाठकहरुको दर्दनाक अवस्था देख्दा रमाइलो लाग्थ्यो । अनेक तरहले त्यो जालोभित्रबाट निस्कने बाटो बनाउन खोज्थे तर असफल भई त्यसै गाडिएर भौतारिएको दृश्यले मलाई आनन्दको सागरमा डुबाइदिन्थ्यो । म आफ्नो पीडा बिर्सिदिन्थें ।

म अरुको पीडामा आनन्द प्राप्त गर्ने शायद सजीव पात्र थिएँ ।

त्यही आनन्दको स्वादले मलाई त्यो जीवन रमाइलो नै लाग्थ्यो । एकातिर लेखकको विवश जिन्दगी अनि उसको बाध्यता अर्कोतिर पाठकहरुको दुरावस्था, त्यस बिचको मेरो जीवन खुसी थियो जस्तो लाग्छ । म त्यसैमा मग्नँ थिएँ । मलाई अरु कुराको चासो नै थिएन । त्यसैले मैले आफ्नो भूमिकाको खोजी नै गरिनँ ।

खोज नगर्नु र थाहा नपाउनुमा पनि आनन्द हुन्छ र ? त्यो त अज्ञानताको अन्धकार हो । अन्धकार त डर लाग्दो पो हुन्छ त । तर उज्यालोको विवश जिन्दगीभन्दा अँध्यारोको मौन जीवन नै प्यारो हुन्छ क्यारे । उसले मौन जीवन बाँचेको छ । मौनताभित्रको गहिराइको रहस्य कसलाई थाहा छ र ? पात्र ‘ग’को कुरो के रहेछ, हेरौं :

पात्र ग – तपाईंहरुको युग अज्ञानताको शून्यतामा आनन्दको सयर रहेछ । तर त्यो आनन्दले यहाँहरुलाई के दियो र ? शून्य आनन्द ! म अँध्यारो शून्यता पछिको उज्यालो युगको पात्र हुँ, कालो अँध्यारो पछिको सेतो उज्यालो । त्यो उज्यालो एक्कासी आएको थिएन । भागीरथ सङ्घर्ष गरेर नेपाल धर्तीमा शङ्करको जटाबाट बिस्तारै अवतरण भएको थियो । तर मेरो लेखक अन्तै अर्कै ध्यानतपश्यामा मस्त थियो क्यार, यसले तिरिमिरि बनाइदियो । चेतनाको उज्यालोले उसको मानसलाई घाइते बनाइदियो । त्यसको अभिघात मलाई पनि पर्यो । यद्यपि म त्यो सब भोग्न विवश छैन । स्वतन्त्र छु किनकि यो समय लोकतन्त्रको हो ।

पात्र क – तर तिमी त स्वच्छन्द युगको बन्दी पात्र जस्तो देखिन्छौ त ?

पात्र ग – कुनै प्रमाण ? यहाँ कुनै तथ्य, प्रमाण र सन्दर्भबिनाको कथन अर्थहीन हुन्छन् ।

पात्र ख – अस्ति प्रकाशित कथामा तिम्ले भोगेको पत्नीको पीडा । त्यहाँ तिम्रो निरीहता हेर्न लायक छ नि ! हामीले त कमसेकम त्यस्तो जीवन त भोग्नुपरेको थिएन ।

ओहो ! यिनीहरु त दोहोरो संवादमा पो देखापर्न थाले त । सबैलाई आफ्नो जीवन र समय नै उत्कृष्ट लाग्छ जस्तो छ । अघिल्ला पुस्ताका पात्रहरु एक भएर तेस्रो पुस्ताको पात्रको सेखी झार्न लागेका छन् ।

पात्र ग – यो आजको समयलाई तपाईंहरुले नबुझेर मलाई निरीह देख्नुभएको हो । यो लोकतन्त्र हो । यो समय मोफसलको हो । यो अस्तिसम्म किनारामा भएकाहरुको हो । यो समय नारीहरुको हो । त्यो विवशता मेरो जस्तो लाग्यो तपाईंहरुलाई ? होइन, त्यो विचरा लेखकको विवशता हो । त्यो उसको जीवनभोगाइको विवशता हो ।

जुनसुकै तन्त्र भए पनि हामी पात्रहरुले लेखकको विवशतालाई नै त बोक्नुपर्ने रहेछ नि । तर त्यसमा मेरो कम्ति विरोध चाहिँ छैन नि । लेखकले मलाई त ऊ आफैजस्तो प.पी. (पत्नी पीडित) बनाउन खोजेको थियो । मैले विरोध गरेँ ।

विरोध गर्न पाउनु लोकतन्त्रको सौन्दर्य हो !

मैले उसलाई समाजमा नाङ्गो बनाएर बेइज्जत गर्ने धम्की दिएँ अनि मात्र ऊ गल्यो । धम्की निदिई आजकल यहाँ केही पनि पाउन सकिँदैन, न चन्दा न अधिकार । मेरो त्यत्तिको बार्गेनिङपछि उसले मसँग सम्झौता गर्न बाध्य भयो । उसलाई नङ्ग्याउन नहुने सम्झौता भएको छ, सबै कुरा यहाँ भन्नु भएन ।

बार्गेनिङ र सम्झौता लोकतन्त्रको सौन्दर्य !

पात्र क – अर्को कथामा तिमीले खेलेको निम्न वर्गीय व्यक्तिको भूमिका तर पहिलेका साहित्यमा हामीले निभाएका निम्न वर्गीय पात्रको भूमिका उस्तै उस्तै त थिए नि । के फरक छ र ?

पात्र ग – फरक छ नि, राम्ररी नियालेर हेर्नुहोस् न । तपाईंहरु त पाका हुनुहुन्छ । अहिले भर्खरकाहरु जस्तै सतही दृष्टिबाट नै निष्कर्ष निकाल्नु भएन । तपाईंहरुले निम्न वर्ग भएर भोग्नुपरेको अन्यायको पीडा परम्परागत सामन्तहरुबाट पाउनुभएको थियो । त्यसैले उनीहरुलाई निम्न वर्गको पीडा थाहा नै थिएन । उनीहरु दमनलाई आफूले बिरासतमा प्राप्त गरेका सम्पत्तिहरुजस्तै सम्झन्थे, अनि तपाईंहरु पनि आफ्नै कर्मलाई दोष दिएर बिनासर्त त्यो जीवन बाँचिरहनु भएको थियो । यी सब कुरा मैले तपाईंहरुलाई सम्झाइ राख्नै पर्दैन । तर मैले भोग्नुपरेका पीडाहरु नवसामन्तबाट पाएको हो जो हिजो तपाईंहरुजस्तै निम्नवर्गीय थिए । तर समयको गतिशीलतालाई बुझ्न सकेका कारण उनीहरुले आज त्यो स्तर बनाउन सके । उनीहरुलाई निम्न वर्गको पीडा राम्ररी थाहा छ, त्यसको स्वाद धेरै चाखिसकेका छन् तर उच्च वर्ग भएर अरुमाथि दमन गर्दाको अनुभव र स्वाद उनीहरुलाई थिएन । त्यसैले त्यो त उनीहरुको प्रारम्भिक अभ्यास मात्र हो, नयाँ अनुभवका लागि ।

पात्र ख – यो त डर लाग्दो जस्तो देखिन्छ नि !

पात्र ग – त्यति धेरै डराइहाल्नु पर्दैन किनभने उनीहरु हामीजस्ता निम्न वर्गका लागि लडेर आएका हुन् । हाम्रै लागि काम गरिरहेका पनि छन् । विभिन्न सभासमारोहमा हाम्रै पक्षबाट आवाज उठाइरहेका हुन्छन् । हामीलाई आश्वासन पनि दिइरहेका छन् । फेरि हामीलाई पनि थाहा छ हाम्रो अधिकार । यत्ति हो हामी बोल्ने ठाउँमा उनीहरु नै बोल्ने गरेका छन् । भोगाइ उस्तै भए पनि बोलाइ फेरिएको छ । यसले हाम्रो सोचाइमा आमूल क्रान्ति ल्याइदिएको छ तर केही गरिहाल्न सकिएको चाहिँ छैन । तै पनि हामी आत्तिएका छैनौ किनकि यो समय निम्न वर्गकै हो । हामी बिचमा एउटा सम्झौता भएको छ ।

पात्र क – त्यो सम्झौता गरेर तिमीले के पायौ त ?

पात्र ग – मैले के पाएँ ? के प्रश्न हो, यस्तो । …. पाउन त के पाउनु र ! हामी पात्र लेखकको कलमबाट नै बग्ने हौं । तर पनि कम्तीमा बार्गेनिङ गर्न सक्ने भइयो नि । आफ्नो अधिकारका लागि अलिअलि उफ्रिन सक्ने भएँ नि । तपाईंहरु त त्यति पनि गर्न सक्नुहुन्थेन । यो ठूलो उपलब्धी होइन त ।

पात्र क – उफ्रिन त सिक्यौ, ठिकै हो । लोकतन्त्रको शिक्षालयबाट प्राप्त गरेको ज्ञानको प्रमाणपत्र नै उफ्रिनु र कराउनु त हो नि ! तर ताप्केको माछा उफ्रेर उही भुङ्ग्रोमै पर्ने त हो नि । समुद्र कहाँ छ ? त्यो कति टाढा छ ? केही थाहा छ त ?

पात्र ग – तपाईंहरुलाई केही थाहा छैन रहेछ । लोकतन्त्रमा उफ्रिने र कराउने काम नगरी त्यसको आनन्द लिनै सकिँदैन । यहाँ त कहिलेकाहीं आनन्दकै लागि पनि विरोध गर्ने र कराउने गरिन्छ । हामी जस्ता आवाजहीन र सीमान्त पात्रहरुका लागि त यो लोकतन्त्रले नयाँ जीवन नै दिएको छ नि । कम्तीमा उफ्रिन र कराउन त पाइएको छ । यसवेला निदर्र्यी र निरङ्कुश लेखकहरु डराउन थालेका छन् ।

पात्र ख – त्यत्ति मात्रै ! उसो भए सार त उही निस्क्यो नि ! एकातिर यथार्थ र सत्य त पहिले र अहिले पनि अप्रकट नै रहने भयो भने अर्कोतिर दलित, जनजातिलगायतका पिछडाहरु जस्तै पात्रहरु पनि कराउन सक्ने मात्र त भएछन् नि, पाएका केही होइन रहेछ । कलम त लेखककै हातमा रहेछ । उसको कलमबाट बगिरहुञ्जेल पात्रहरुले जतिसुकै कराए पनि के गर्न सक्छ र ? कलमै खोस्ने व्यवस्था होइन रहेछ, त यो लोकतन्त्र पनि ।

पात्र ग – हुन त म पनि लोकतन्त्रको वास्तविक मर्म विस्तारै बुझ्दै छु । यसले वास्तविक रुपमा सत्यलाई उजागर गरी त्यसमा परिवर्तन ल्याउने होइन कि जस्तो लाग्दैछ । यसले सत्यलाई अर्को किसिमले चलाउने मात्र रहेछ । सत्य त उहीको उही । हामी पनि महिला, जनजाति, दलित, मधेसी, अपाङ्गता आदिका नाममा कसैको स्वार्थका लागि चलाइएका मात्र रहेछौं कि भन्ने आभास हुँदै छ । पात्रलाई खेलाएर यो लेखक पनि अर्को किसिमले आफ्नो स्वार्थ सिद्ध गर्न खोजिरहेको

० ० ० ०

इन्टरनेटको लाइन काटियो । सबै कुरा हेर्न, पढ्न पाइएन तर धेरै कुरा बुझ्न पाइयो । तपाईंले पनि अवश्य बुझ्नु भयो होला । सबैलाई थाहा छ तपाईं पनि आजको प्रबुद्ध व्यक्ति नै हुनुहुन्छ ।

संवादमा व्यवस्था प्रतिको निराशा र असन्तुष्टि प्रकट हुन थाल्नु र लाइन काटिनु संयोग मात्र थिएन !