ऊ अर्थात् बखते भक्तपुर आउने जाने गरिरहन्छ । कहिले जात्रा हेर्ने निहुँमा त कहिले साथीभाइ भेट्ने बहानामा भक्तपुर पुग्छ । परिवारलाई भने उसले कहिल्यै लगेन । कहिले त ऊ एक्लै पनि भक्तपुर दरबार स्क्वायर वरिपरि घुम्छ । केही खोजे झैं गर्छ । भेटेका रैथानेहरूसँग भलाकुसारी गर्छ । यो मन्दिर र त्यो मन्दिर, यो गल्लीबाट त्यो गल्ली । कहिले यो पोखरीबाट त्यो पोखरी गरेर घुमिरहन्छ ।
बारम्बारको यो चाला देखेर चखली एक दिन मुखै फोरेर भन्छिन्, ‘तपाईं भक्तपुर किन गइरहनु हुन्छ ?’
जवाफमा ऊ मुस्कुराउँछ । के भन्ने ? उसले नपाएको जवाफ चखलीलाई कसरी बुझाउने ? ऊ टोलाउँछ ।
चखली च्याँट्ठिन्छे, ‘ए महाराज ! कता टोलाउनु भाको ? हाम्रो त वास्तै छैन । भक्तपुरले के मोहनी लगायो हो तपाईंलाई ? कि तपाईंको….’ । आ ! यस्तो घ्यू जस्तो श्रीमानलाई पनि के दोष लगाउनु भनेर चुप लागी । उनको मनभित्रको जिज्ञासा भने अझै शान्त बनेकै थिएन ।
‘त्यस्तो होइन नि जानू ! मै अलमलिएको छु । अब तिमीलाई कसरी बुझाऊँ भनेर सोचेको पो त !’
अक्सर मायाले ऊ चखलीलाई जानू भन्ने गर्छ । अरू बेला भए, चखली पनि ‘यो जानू ! भनेको चाहिं को नि’ भनेर जिस्कन्थी तर आज भने उनी चुपचाप सुनेर बसिरही ।
चखलीको मौनता देखेर बखते पनि सचेत बन्यो ।
‘घरमा बस्दाबस्दा वाक्क भयो । एउटा जागीर खोजिदिनोस् न’ – चखलीले धेरै पटक कुरा उठाएकी हो । आज पनि उठाई । बखतेले पहिलेदेखि नै धेरै प्रयास गरेको पनि हो । तर काठमाडौंको ठाउँ ! भन्ने बित्तिकै आफूले खोजे जस्तो जागीर पाउन पनि त गाह्रो छ ।
‘चखला’ हजुर बाले माया गरेर राखिदिनु भएको प्यारो नाम बिगारिदिन्छन् छिमेकी मोरीहरू – ‘चखली दिदी ! आज सेल पोल्ने है ? मेरो घरमा ! दिदी बहिनी मिलेर रमाउनु पर्छ ।’
मायाले या आदर भावले नै ‘चखली’ भन्दा हुन् तर उसलाई भने ‘चखला’ नाम नै प्यारो लाग्छ । उता बखतराम भने हर बखत मस्तराम ‘बखते’ भने पो के भो र । उसको दैनिकी चलेकै छ । सबेरै उठ्छ । घरको चाँजोपाँजो मिलाउँछ । केटाकेटीको पढाइ हेर्छ, स्कुल पठाउँछ । चखलीलाई थुमथुम्याए पछि मोटरसाइकल हाँक्छ र अफिस पुग्छ । तर दिमाग हमेसा केही कुरामा घुमिरहेको हुन्छ ।
‘यो बखतमा सरको दिमागमा के चलिरहेको छ ?’ बखतरामलाई अफिसमा जिस्क्याई रहन्छन् मोरामोरीहरू ।
* * *
‘हेर बाबु हो । पढे लेखेका, पौरख गर्न सक्ने लक्काजवान अनि कर्मठ युवाहरू गाउँ रुङेर बस्नु हुन्न । गरिखानु पर्छ । देश परदेश पुग्नु पर्छ । दुनियाँ बुझ्नु पर्छ । देशको सेवा गर्नु पर्छ, गाउँमा भुलेर बस्नु हुन्न ।’ – स्कुलका हरेक गुरुहरूको थेगो जस्तै थियो ।
गाउँघरमा पनि बुढा बाहरू अर्थ्याउने गर्थे – ‘ हेर बखत बाबु ! हातमा शीप चल्ने, गोडा लागेका मान्छे, बाहिर फेर चाहर्नु पर्छ । घरको दुखजिलो गरेर बस्न हुन्न । कस्तो हुतीहारा रहेछ भन्छन् । आफ्नो बाटो तताउनु है बेलैमा, भाजु बाबु ।’ गोरखाको त्यो गाउँमा उसको परिवार भाजु खलक भनेर चिनिन्थ्यो । सबैले भाजु भनेरै सम्बोधन गर्थे ।
दबाब धेरै तिरको थियो । उसको मन पनि त चन्चले थियो । उमेरको खेल । कहिले घरबाट उच्छिट्टिऊँ जस्तो लाग्दो हो । कहिले सहरको रमझम, झिलिमिली अनि रमाइलोको स्वाद चाखौं भन्ने लाग्दो हो । बाहिर फेरको अनुभव कस्तो हुँदो हो भन्ने लाग्दो हो ।
अनेक सपनाहरू सँगाल्दै ऊ शहर पस्ने निर्णय गर्यो ।
बालाजुमा आएर बस्यो । कामको लागि धेरै भौंतारियो । उसले आफ्नो बर्कतले भेटेको हरेक काम गर्यो । पत्रिका बेचेर हिंड्यो । पुस्तक पसल संचालन गर्यो, डुब्यो । एजेन्टको काम पनि गर्यो । चित्त बुझेन । थोरै थोरै भएको कमाइलाई साझेदारीमा लगानी गर्यो । फेरी लगानी डुब्यो, के भन्नु पार्टनरले डुबायो । जे जस्तो परे पनि, जे व्यहोरे पनि उसले पढाइ भने छाडेन । फुर्सदको समय भने कहिले बाइसधाराबाट झरेको पानीसँगै आफ्नो मनलाई बगाएर बस्थ्यो । कहिले स्वयम्भूका आँखामा आँखा जुधाएर रमाउँथ्यो ।
ऊ हरेक बिहान काठमाडौंको मुटुमा रहेको काठमाडौं क्याम्पस जान्थ्यो । गुरुहरूको सङ्गतमा हुन्थ्यो । सँगसँगै उसको संगत साथीहरूसँग पनि हुन्थ्यो । तिनै साथीहरू मध्ये नुवाकोटकी एक यौवनासँग सङ्गत बढ्दै गयो । धेरै हल्लाखल्ला हुनुअघि नै उनीहरूले सम्बन्ध गाँसे । घरजम गरे ।
चखला र बखतरामको जोडी जम्यो । दुखसुखलाई सँगै झेले । जिन्दगीका कठिन भन्दा कठिन घडीहरू साथै सामना गरे । बालबच्चा भए । पारिवारिक झैँ-झमेला बढेको बढ्यै भयो ।
‘कमाउने बस् ऊ मात्र छ । कसरी पो धान्ने ? कोठाभाडा, बिहान बेलुकाको खानपान, बच्चाहरूको पढाइ, लुगा-फाटो, गाउँतिर पनि हेर्नु पर्यो । एक जनाको कमाइले कति पो धान्नु ?’ – चखली फुस्फुसाई । वरपर हेर्छे, सुन्ने कोही हुँदैनन् । उनलाई कोठा पनि शून्यशून्य लाग्छ । उनलाई लाग्छ – खुल्ला आकाशमा अझै डुलौं ।
केही क्षण, केही घण्टा हो । उसको मन आत्तिने, ३ बजे सानी छोरी आउँछे । छुनुमुनु गर्छे । संसार बिर्साउँछे । ४ बजे छोरो आउँछ । खेलेर खुब थाकेको हुन्छ । भोकले आकुल भएर आउँछ । ममतासँगै जिम्मेवारी सम्झिन्छे चखली ।
बखते आएपछि घरमा परिवारको पूर्ण जमघट हुन्छ । एक्लाएक्लै संसार जित्न दौडने प्राणीहरू सम्मिलनमा व्यस्त हुन्छन् । चखली शान्त हुन्छे । दिनभरिको एकान्तपना तुरुन्तै भुल्छे ।
* * *
बखते र चखलीको दैनिकी अहिले बदलिएको छ । बखते सदा झैं अफिस जान्छ । सानी छोरी पनि ठुली भैसकेकी छे । छोरो प्लस टु पढ्न शुरु गरेको छ । अरू त अरू चखली पनि काममा जान थालेकी छे । ठूलो काम के पाउँथी र ? अस्पतालमा सहयोगीको जागीरमा अल्झिएकी छ ।
आलोपालो गर्ने दुईजना छन् । चखली कि साथी पवनकली । पवनकली बोल्नमा माहिर छिन् । बिरामी, बिरामीका आफन्त अनि भेट्न आउने मानिसहरूलाई साह्रै दिलदार र मिठासपूर्ण व्यवहार गर्छिन् । उनको मिजासिलो आनीबानी देखेर अस्पताल व्यवस्थापनले पवनकलीलाई उच्च मूल्याङ्कन गरेर कहिले तलबमा वृद्धि कहिले दोसल्ला ओढाउने काम गर्यो । फेरि पनि उनको हौसिने, मात्तिने बानी छैन । उसको बानीमा सदाबहार मिजासिलोपना कायम नै छ । उनको मिजासिलोपना जनकपुरको जमीन जस्तै सौम्य छ । उनको सोच तराईको राजमार्ग जस्तै फराकिलो छ । उनको बोलीमा, चञ्चलपनमा उबडखाबड छैन । एकरूपता छ ।
अस्पतालमा थरीथरी मान्छे आउँछन् । कोही खर्चबर्च नभएका आउँछन् । कोही हट्टाकट्टा लिएर आएका मान्छेहरू आफन्त गुमाएर फर्कन्छन् । कोही असाध्य रोग लागेर आफ्नो सारा पैसा सकेर पनि रोग निदान नभएपछि जस्तो आए उस्तै फर्कन्छन् । यस्तै यस्तै मानिसका दुख हेरेर, देखेर चखली आफ्नै दुनियाँमा हराइरहेकी हुन्छे ।
एकदिन पवनकली नजिक आएर भनिन् – ‘चखली दिदी ! आज हामी भक्तपुर घुम्न जाऔं ।’
चखली अकमक्क परी । चखलीलाई चुपचाप देखेर पवनकलीले घचघच्याइन् – ‘जाऔं न । म तराईको भएकोले भक्तपुरको जात्रा हेर्न खुब मन लागेको छ ।’
त्यो बेला भक्तपुरमा बिस्का जात्रा चलिरहेको थियो । भक्तपुर चखलीको दिमागमा पनि बसिरहेको थियो । चखलीले टाउको हल्लाएर सहमति जनाई ।
अस्पतालको काम सकेर चखली र पवनकली भक्तपुर जाने बस चढे । आधा घण्टामा भक्तपुर पुगे । भक्तपुर दरबार स्क्वायर, सँगैको पचपन्न झ्याले दरबार, ठुलो घण्टा, भूपतिन्द्र मल्लको शालिक देखेर चखली छक्क परी । पवनकली उसरी नै फुर्किईन् । विभिन्न भङ्गीमा फोटो खिचे । चखलीले बखतेलाई सम्झिरही । जब उनीहरू पाँचतले मन्दिर छेउ पुगे । त्यहाँ रथ तान्ने काम भैरहेको थियो । तौमढी र तल्लो भेगका टोलवासी बीच तानातान चल्दो रहेछ । हेर्दा हेर्दै समय बितिरहेको थियो तर दुवै साथीहरूलाई समयले अल्झाउन सकेको थिएन ।
पवनकली तराईकी चेली पानको सौखिन सोधिन् – ‘दिदी पान खाने हो ?’
चखलीको मौनता देखेर पवनकलीले नजिक रहेको पानवालालाई बोलाई र भनी – ‘भैया ! दुगो मिठा पान बनादह ।’
पान मुखमा हालेर पवनकली आफ्नो सन्तुष्टिको समय चवाउँदै बिताइन् । पहिलो चोटि भएकोले चखली अलिक दिगमिग मान्दै पान खाई । चखलीको मनमा लाग्यो – ‘बरु भक्तपुरको जुजुधौ पो खानु पर्ने । पवनकली पनि त दही भनेपछि हुरुक्कै हुन्छिन् ।’
चखलीको अनुरोधमा दुवै जना जुजुधौ खान पसलमा छिरे ।
पैसा तिरेर बाहिर निस्किएका मात्र थिए भीडमा अकस्मात् चखलीले बखतेलाई देखी ।
चखली फेरि उल्झनमा परी । उसलाई बोलाऊँ कि नबोलाऊँ । पवनकलीलाई बखतेको परिचय दिऊँ कि नदिऊँ ! सोच्दा सोच्दै बखते ओझेल परिसकेको थियो । रथ तान्नेको भिडभाडमा बखते धेरै पर पुगिसकेको थियो । चखली यताबाट हेरिरहेकी थिई । बखते चनाखो बनेर रथ तान्ने युवासँग कहिले, बुढाबाहरूसँग कहिले रथको नालीबेली सोधिरहेको थियो । चखली घोइरो घोइरो सुन्दै थिई ।
बखतेले सोध्यो – ‘भाइ , यो रथको अगाडीको मुखडा चाहिँ केको हो ?’
रथको अघिअघि हिंड्दै गरेको युवाले बडो रोचक मान्दै जवाफ फर्कायो – ‘यो अगाडिको बिर बेताल, रथ भित्रको भैरव !’ यो जवाफ फर्काउँदा युवामा छुट्टै चमक थियो । उसको हावभावमा अरू पनि सोध्नुस् न भन्ने आशय झल्कन्थ्यो ।
बखतेले त्यो युवालाई अर्को प्रश्न गर्यो – ‘यहाँ गोल्मढि कता हो ? दत्तात्रेयको मन्दिर कता छ ?’
युवाले ‘आसे’ भनेर आफ्नो साथीसँग कुरा गर्यो र बखतेलाई हातमा समातेर ‘थन वा’ भन्दै भीड छिचोलेर दत्तात्रेयको मन्दिरतर्फ लग्यो । यता चखली पवनकलीको हात समातेर बखतेलाई हेर्दै अघि बढी । बखते र त्यो युवा मन्दिरको छेउमै पुगिसकेको थियो । भिडभाड यता पनि उस्तै थियो । चखली भने के सोचेर हो भीमसेनको मन्दिर नेर रोकिई । पवनकली ‘किन दिदी ? कता जाने ?’ भन्दै पछि लागेकी थिइन् ।
‘उता धेरै भीड भयो । कस्तो उकुसमुकुस । सास फेर्ने गाह्रो भो ।’ चखलीले बहाना बनाई ।
धिमे बाजा बजाउँदै टोलीका टोली पाँचतले मन्दिर अर्थात् न्यातपोल तर्फ लम्किइरहेका थिए ।
पवनकली आफ्नो तराईको त्योहार सम्झिरहेकी थिइन् । चखली भने बखतेको हावभावप्रति जिज्ञासु थिई । बखते भने आफ्नै धुनमा भक्तपुर बुझ्ने प्रयासमा तल्लीन थियो ।
यस्तो लाग्थ्यो – बखतेलाई अझै चित्त बुझेकै छैन । घरी उता पुग्छ । घरी ऊसँग सोध्छ । ऊ केही खोजे झैं गर्छ ।
अकस्मात् चखली झस्किई । भिडभाडमा बखते चखलीकै सामुन्ने आइपुगेको थियो । ऊ आफ्नै धुनमा थियो । चखलीले लम्काई सकेको हातलाई नियन्त्रण गरिन् । फेरि एक पटक रोकिई । यस पटक भने छुट्ने पालो पवनकलीको थियो । चखली बखतेको पछि लागी । पवनकलीले दायाँबायाँ, यताउति हेरिन् । चखली नदेखेपछि दोधारमा परिन् । भैगो भनेर घर फर्किऊँ कि चखली आउँछिन् भनेर पर्खूं । उनी टाढा टाढा नजर लगाएर हेर्दै थिइन् – भिडमा चखली हो कि झैं लाग्ने महिला एक जना पुरुषको पछि पछि लागिरहे झैँ देखिन् ।
* * *
पवनकलीसँग छुट्नु, बखते देखिनु र उसकै पछि पछि लाग्नु । चखलीका लागि त्यो समय अत्यास लाग्ने गरी बित्यो । उनी पछाडि गाडी छुटिसक्यो, अगाडिको गाडी भेट्ने हो कि होइन भन्ने भावमा बखतेको पछि पछि कुदिरही । बखते भने भीडमा फुत्तफुत्त छिर्छ । के खोज्छ खोइ ? कतै चित्त बुझाउँदैन । अझै भित्रभित्र छिर्छ, निस्कन्छ । चखली बखतेको त्यो चाला हेर्दै पछिपछि लागिरही ।
बिस्का जात्राको भिडभाड ठूलो थियो । भिडभाड छिचोल्दै बखते निस्किएर भाजु पुखुको डिलमा लखतरान मुद्रामा सुस्ताएको मात्र के थियो । चखली आइपुगी । अकस्मात् चखलीलाई देख्दा चोर समातिए झैँ भाव बखतेको अनुहारमा देख्न सकिन्थ्यो । चखलीको पछिपछि पवनकली आइपुगिन् । चखलीले पवनकली र बखतेको चिनापर्ची गराई ।
पवनकलीले हात लम्काइन् – ‘पान खानु हुन्छ, दाजु ?’
* * *
लखतरान परेका बखते हातमा पान लिएर टोलाइरहेको थियो । कताकता आँखामा अस्ताउँदो सूर्यको सुनौलो प्रकाश टल्कियो । आँखामा तिरिमिरी पार्दै बखतेको दिमागमा एउटा झिल्का पर्यो । ऊ झटपट उठ्यो र टल्किएको पहेंलो बस्तुतर्फ लम्क्यो । चखली थुमथुम्याउँदै थिई – ‘के भयो ? आराम गर्नुस् न ।’
पवनकली अनुहारमा आश्चर्य भाव राख्दै चखली र बखतेलाई हेरिरहेकी थिइन् ।
भर्खरै पुनर्निर्माण गरिएको भाजु पुखु अर्थात् भाज्या पुखुको स्तम्भमा लेखिएको सुवर्ण पत्रमा लेखिएका मसिना अक्षर उसले पढ्न सकेन । फोटो खिचेर फर्क्यो ।
साँझ घरमा पुगेपछि सदा झैँ ऊ आराम गरेर मोबाइलका फोटाहरू हेर्दै पर्गेल्दै थियो । अन्तिम फोटोमा ऊ टक्क अडियो र जुम गरेर हेर्यो । सुवर्ण पत्रमा उसले जे देख्यो त्यसले उसको नशाहरू जागा भए । रौँका मसिना छिद्रहरू उजुङ्ग भए । ढल्किएको बखते जुरुक्क उठ्यो । लगभग चिच्याएको आवाजमा बखतेले चखलीलाई डाक्यो – ‘हेर त चखला !’ भन्दै जुम गरेको फोटो हेर्न मोबाइल चखलीलाई दियो ।
‘भानु नारायणका जिजुबुबा भाजु कसको अग्रसरतामा निर्माण गरिएको भाजु पुखुको पुनर्निर्माण मिति…’ लेखिएको देखेर चखली र बखते हर्षित बने ।
त्यो रात बखतरामलाई लामो समयपछि गहिरो निद्रा पर्यो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।