साधुराम  निकै दिनदेखि बिरामी छ । अत्यधिक मात्रामा रक्सी सेवन गरेकै कारण उसको आँखा र छालाको रङ पहेंलो भैसकेको छ । कलेजोमा बोसोको मात्रा बढेको हुनाले धेरै दिनदेखि औषधि पनि सेवन गरिरहेको छ । मध्यरातसम्म ऊ निदाएको छैन । घरमा एक्लै छ । बाहिर सम्पूर्ण ब्रह्माण्ड नै विस्फोट होला जस्तो गरेर आकाश गर्जेको छ । मुसलधारे पानी बर्सेको छ । त्यसैबेला झ्यालमा ट्याकट्याक आवाज सुन्छ । उसले जनतन टाउको उठाएर झ्यालबाट बाहिर हेर्छ । बाहिरपट्टि उसले एउटा काग देख्छ । कागको चुच्चोमा केही वस्तु झुन्डिएको देख्छ । उसले बिस्तारै खिड्की खोल्छ । त्यसैबेला कागले एउटा चिठी कोठामा खसालिदिन्छ, र तुरुन्त त्यहाँबाट बेपत्ता हुन्छ ।

उसले हात कमाउँदै चिठी उठाउँछ र खोल्छ । बाक्लो लेन्ससहितको चस्मा लगाउँछ । र बत्तीको मधुरो प्रकाशमा चिठी पढ्न शुरु गर्छ ।

००००

अप्रिय पोइ ! आज ठिक दश वर्ष पुग्यो । त्यो कालो रात अझै पनि मेरो मानसपटलमा सिनेमाको रिल घुमेझैँ फनफनी घुमिरहेको छ । त्यो दिन म बिरामी थिएँ जुन दिन तिमीले मलाई बलात्कार गरेका थियौ । तिमीलाई त के थाहा ?  स्वस्निमान्छेहरू पनि बिरामी हुन्छन् !  बिरामी भएता पनि तिम्रो सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै भोलेनाथको व्रत बसेर तिमीलाई कुरिरहेकी थिएँ । तिमी मध्यरातमा घर आयौ ! याद छ ?  छि छि छि…! तिम्रो त्यो स्वरूप ।

सधैँ झैँ डराई डराई घरको गेट खोलेकी थिएँ । थोरै भए पनि भगवानमा विश्वास थियो । सोचेकी थिएँ एक दिनको  लागि भए पनि सद्दे मान्छे  बनेर घर आउँछौ । तर तिमी त साँच्चिकै कीचक भन्दा तल गिरेर आयौ । ढोकाबाट खुट्टो भित्र नराख्दै तिम्रा हातहरूले मेरो हरका लुगा चर्यातचुरुत पारिसकेका थिए । आजको दिन त जबर्जस्त नगर मेरो पतिदेव । म बिरामी छु । छि: सम्झिँदा नि घिन लागेर आउँछ तिम्रो रूप ।

रोक !  एकछिन ।  नच्यात मेरो पत्रलाई किनकि यसले च्यातिएको सम्बन्ध नजोडे पनि च्यातिएको मन जोड्न सक्छ ।

हुन त म प्रत्येक  रात रोएर बिताउँथे । याद छ कसरी हरेक रात तिमी मातेर घर आउँथ्यौ अनि रगत पिएको बाघ डुक्रे झैँ रातभर डुक्रिन्थ्यौ । नसाले बेहोस भै मेरो घाँटी अँठ्याउँदा भागेर कैयौं रात सडकमा बिताएकी थिएँ । कैयौं रात ट्वाइलेटभित्र चुकुल लगाएर बसेकी थिएँ । धुवाँ र मुतको गन्धले सास रोकिएला झैँ हुन्थ्यो । त्यति हुँदा समेत मनको कुनै कुनामा थोरै आशा साँचेर एक वर्ष नर्कको कालकोठरीमा दिन बिताएकी थिएँ ।

बिर्सेका छौ भने एक चोटि सम्झने कोशिस गर ।

बिहे पछाडिका दिनहरूमा कैयौं चोटि भगवानसँग प्रार्थना गरें । तिमीले चिथोरेका घाउहरूमा क्रिम र पाउडरले ढाकेर आफूलाई अरूको अगाडी कहिले कमजोर देखाइनँ । रातभरी मेरो चिच्याहट सुनेका डेरा गर्ने भाइहरूले बिहान अनौठो मानेर मेरो अनुहार हेर्थे । म हाँसेर पिडा लुकाउँथे । लाग्थ्यो हरेक कालो रात पश्चात् सुनौलो बिहानी अवश्य आउनेछ । सब झुट कुरा रहेछ ।

जब बिहान हुन्थ्यो । तिमीभित्रको कीचक स्वरूप कहाँ भाग्थ्यो म अचम्म मान्थें । तिमी केही नभएझैँ बाख्राको पाठो झैँ निर्दोष देखिन्थ्यौ । म अचम्म पर्थें कसरी भगवानले राक्षस र मान्छे जोडेर तिमीलाई सिर्जना गर्‍यो होला भनेर । सोच्थे के सबै पुरुषहरूको यस्तै दुई रूप हुन्छ ?

याद छ कसरी तिम्रो सामु  बिहेको तस्बिर टुक्रा टुक्रा पारेर हिँडेकी थिए त्यो रात ? त्यो मेरो रहर थियो होला र ?  तस्बिर जस्तै तिमीलाई पनि टुक्राटुक्रा पार्न मन थियो । तिमिभित्रको राक्षसलाई पनि । किन किन मनले मानेन । आफै टुक्रिएर हिंडें ।

त्यो रात धेरै परसम्म पुगिसक्दा पनि एउटा झिनो आश बाँकी थियो ममा – तिम्रो अर्को रूपले मलाई रोक्न आउनेछ । तर गल्लीका कुकुरहरू भुक्दै भुक्दै भए पनि मेरो पछि पछि लागेर चोभारको गल्छीसम्म आइपुगे । तर तिमी आएनौ ।

त्यसपछि कतै खोज्यौ मलाई ? म कहाँ गए ? मरें या बाँचें ? बाल मतलब !

सुन्न चाहन्छौ त्यसपछि के भयो ? अवश्य तिमीले टाउको हल्लाइरहेका छौ । र कागत च्यात्न रेडी भइसकेका छौ । म अनुमान लाउन सक्छु । तर…

एकैछिन प्लिज… नच्यात यो निरीह कागतलाई ।

चोभारको गल्छीमा त्यो रात जीवनलाई विश्राम दिने निधो गरिसकेकी थिएँ ।  तर मलाई मसँगै आएका कुकुरहरूको मायाले रोक्यो ।

जाने ठाउँ कहीँ थिएन मेरो । कसैले पालेकी टुहुरी थिएँ । तिम्रो जिम्मा लगाएपछि उनीहरूले कहिले खोजेनन् ।  कहिले बोलाएनन् । म पनि खोज्दै  गइनँ ।

त्यो रात बागमतीको पानीमा निस्केको सेतो मैलो फिँज हेरेर बित्यो । कतिपल्ट त्यही गल्छीबाट हाम फाल्ने  कोशिस पनि गरेँ । कुकुरहरूका निर्दोष आँखाले रोके मलाई ।

रातभर चोभारको बाटो हेरिरहेँ कतै मलाई खोज्दै तिमी आउँछौ कि भनेर । कस्तो लाचार हुँदो रहेछ ।  रातले बिस्तारै आफ्नो पर्दा उघार्दै गयो । घाममा किरणहरूले बिस्तारै शीतका थोपाहरू पगाल्दै जान थाल्यो । सोचे प्रकृतिको नियम हो रात पछि दिन कसो नआउला ?

त्यै बागमतीको किनारमा ढुंगाको अडेस लगाएर बिहानभर झोक्राई बसे । पुलिसलाई खबर पो गर्‍यौ कि भन्ठाने ।  कतै पुलिसहरू खोज्न आउँछन् कि भनेर घरी घरी डाँडाको मथिल्तिर हेरिरहेँ । अहँ ! कोही देखा परेन ।

उज्यालो भएलगत्तै जलविनायक मन्दिरको घण्टीहरू बज्न थाले । जति जति घण्टीहरू बज्दै जान्थ्यो उतिउति मेरो मनमा पिडा भरिएर आउँथ्यो । बागमतीको जलबाट उत्पत्ति भएका विनायकलाई मैले पनि कैयौं पल्ट फूलप्रसाद चढाएकी थिएँ । सबैले भन्थे “तेरो मनकामना पुरा हुन्छ ।” के यही थियो मेरो मनोकामना ?

दिन ढल्किंदै गयो । मान्छेहरू पुल तरेर वारिपारि गर्न थाले । शहरबाट घुम्न निस्केका जोडीहरू मुन्टो ढल्काइ ढल्काइ तस्बिर खिच्न थाले । तर कसैले पनि मसँग आएर बोल्ने आँट गरेनन् । बरु मलाई देख्नासाथ सबैले अन्तै आँखा लैजान्थे । सायद मेरो अस्तव्यस्त रौं, राताराता आँखा र मानसिक तनावले थालिएको अनुहारले उनीहरूमा भय पैदा गर्थ्यो होला । उनीहरू मलाई पागल भन्ठाने होलान् । सायद म पागल भैसकेकी थिएँ । हुन त यो दुनियाँमा सबैले फाइदा कै लागि काम गर्ने हो । उनीहरूलाई मसँग बोलेर कुनै फाइदा थिएन । सायद कुनै युटुबर हुन्थ्यो भने आएर भिडियो खिच्थ्यो होला ? बोल्थ्यो होला ? भाइरल बनाउनकै लागि प्रश्नहरू सोध्थ्यो होला ? समाजले तिम्रो असली रूप थाहा पाउँथ्यो होला । तर सौभाग्य भनौं या दुर्भाग्य उनीहरू त्यहाँ थिएनन् ।

घाम ओराली लाग्दै गएपछि कुकुरहरू पनि मन्दिरतिर उकालो लागेछन् । म हिंड्दैहिंड्दै टौदहसम्म पुगें । धेरै बेरसम्म पोखरीको छेउमा बसेर टोलाइरहें । त्यहाँ एउटा कुकुर्नी मेरो छेउमा आएर लडीबुडी गर्न थाली ।  एकैछिनमा अर्को एउटा फोहोरी न फोहोरी, भुत्ला समेत झरेर टाटेपाटे भैसकेको कुकरले कुकुर्नीको पछाडिको भाग सुँघ्दै पछिपछि लाग्न थाल्यो । कुकुर्नीले आफ्नो पुच्छर टाँगमुनि छिराएर भाग्दै थिई । उताबाट अर्को कुकुर आयो र त्यही कुकुर्नीमाथि आक्रमण गर्‍यो । कुकुर्नी दुई कुकुरको बिचमा परी । भुकी, चिच्याई, कराई, तर ती कुकुरहरूले उसलाई बलात्कार गरेर छाडे । त्यो बलात्कारी कुकुरमा तिम्रो अनुहार देखें मैले ।

त्यहाँ बस्न मन लागेन । हिंड्दैहिंड्दै दक्षिणकाली पुगेछु । मलाई किन किन त्यहाँको मन्दिरहरूतर्फ फर्केर हेर्न समेत मन लागेन । फर्पिङको डाँडा माथिको पाटीमा रात बिताएँ । अर्को दिन एकजना दयालु भिक्षुसँग भेट भयो । उनले सोधखोज गरे । हेटौडा सम्मको भाडा दिएर टाटासुमोमा राखिदिए । मामा घर हेटौडा हो भन्ने थाहा थियो ।  तर कसैसँग सम्पर्क थिएन । घर कहाँ, को केही अत्तोपत्तो थिएन । यत्तिकै  हेटौडा जान्छु भनेँ । सुमोले हेटौडा बजारसम्म पुर्‍याएर झारिदियो ।

तबसम्म खोज्नलाई तिमी आउँछौ भन्ने आशा पनि मारिसकेकी थिए । तिमीबाहेक को नै थियो र मेरो दुनियाँमा ?

त्यसपछि बाच्नको लागि भए पनि केही काम गर्नु पर्ने भयो । बसपार्कका होटेलहरूमा कामको लागि सोधपुछ गरें । मेरो अस्तव्यस्त अवस्था देखेर कसैले पनि काममा राख्ने आँट गरेनन् । सबै बोल्न समेत डराउँथे । तर मेरो कसिलो शरीर देखेर र्‍याल चुहाउने साँढेहरूको कमी थिएन भीडमा । ‘ नारायणीमा हेलिएर मर्छु तर शरीर बेच्दिन’ भनी अठोट समेत गरें । कैयौं दिन यतिकै भौंतारिरहें । बाटोमा भेटिएका खानेकुराहरू टिपेर खाएँ । तर माग्ने आँट आएन । जब रात पर्थ्यो रक्सीले मातेका ब्वाँसाहरू मेरो नजिकै आउँथे र नाङ्गा तिघ्रामा आँखा गाड्थे । तर कसैले आँखामा आँखा जोडेर मेरो कथा सोध्ने र बुझ्ने कोशिस गरेनन् ।

अन्ततः मैले बाचा तोडें । जबरजस्ती बलात्कृत हुनु भन्दा यही छालालाई प्रयोग गरेर केही पैसो जम्मा गर्ने निधो गरें । सुन्दा लाग्दो हो छि ! कति घृणित काम । थुक्क र.. ! त्यही गर्न घर छोडेर भागेकी ।

धुजाधुजा बनाउन मन लाग्यो होला है हातको चिठी । बिन्ती ! एकछिन, तिमीले सुन्नै पर्छ । तर दया गर्नु पर्दैन । सम्झ म तिमीसँग कहिले जोडिएकी पनि थिइनँ । कुनै फिल्मको कथा हो यो । काल्पनिक कथा ।

हरेक रात तिमीजस्तो बिहेको लाइसेन्स लिएर बलात्कार गर्नेहरू हाम्रो समाजको गल्लीगल्लीमा छन् । आफ्नो इच्छा र चाहना विपरीत जिउँदो लाश बनेर शरीर सुम्पनेहरू आवाजविहीन छन् ।

तर जुन दिन मैले मेरो देहव्यापारको सटर खोले, त्यसै दिनदेखि अनेक किसिमका मान्छेहरू मेरो पसलमा आउन थाले । उनीहरू तिमीले जस्तो बलात्कार गर्दैनथे । रक्सीले मातेर नजिक आउँथे । आफ्ना कुराहरू सुनाउँथे । तर तिमी जस्तो राक्षस बनेर हैन । तिमीले जस्तो मुख थुनेर, घाँटी दबाएर, अर्की ल्याउने धम्की दिएर हैन । पैसाको बिटो सिरानीमा राखेर आफ्नो प्यास बुझाउँथे । नेता, प्रहरी, व्यापारीदेखि दिनभर रिक्सा चलाउने मान्छेहरू आउँथे । मेरो व्यापार मज्जाले चल्यो । आम्दानी पनि राम्रै हुन थाल्यो । मनग्य पैसा कमाएँ । मन लागेको खान र लाउनको लागि समस्या रहेन । अस्तित्व भन्दा माथि पेट हुँदो रहेछ । मैले पेट पालेँ ।  त्यसैमा खुशी थिएँ ।

तर त्यो खुशी धेरै दिन टिक्न पाएन । म एक्कासि बिरामी परेँ । हेटौडाबाट भरतपुर अस्पतालमा सिफारिस गर्‍यो । मलाई कोलोन क्यान्सर भैसकेको रहेछ । उपचारको लागि मेरो जमानत बस्ने कोही थिएन । न मसँग उपचारको लागि पुग्ने पैसा नै थियो । म रोग बोकेर पुन: आफ्नै डेरामा फर्कें । मृत्युलाई कुरेर बस्नु सिवाय मेरो अरू उपाय थिएन ।

सकेको हार गुहार गरेँ । तर कसैले सुनेनन् । हिजोसम्म मेरो मांशपिण्डको दुई इन्च गहिराइमा डुब्न हजारौं रुपियाँ दिन तयार मान्छेहरू मलाई देख्नासाथ बोल्न समेत डराउँथे । मेरो दुब्लाउँदै गएको रोगी शरीर देखेर घरबेटीले पनि निकालिदिए । त्यसपछि म नारायणी नदीको किनारमा एउटा पाटीमा बस्दै मृत्यु कुरिरहेकी छु ।

आज अचानक तिम्रो याद आयो । जे सुकै भए पनि म त तिम्रै अर्धाङ्गिनी हुँ । अर्कैसँग बिहे गरेर बसेकी छैन । तिमीले के गर्‍यौ, थाहा भएन । राक्षसै भएता पनि एक चोटि तिम्रो अनुहार हेर्न मन लाग्यो । बाहिर मुसलधारे पानी परिरहेको  थियो । बादलको गर्जोले धर्ती नै फाट्ला झैँ भैरहेको थियो । तिमीलाई सम्झेर एउटा चिठी भए पनि कोर्न मन लाग्यो । चिठी कोर्दाकोर्दै मेरा हातहरूमा अनौठो परिवर्तन देखा परे । बिस्तारै मेरा हातहरू सलबलाउन थाले । औंलाहरू बिस्तारै प्वाँख र दुई पाखुरी पखेटामा परिवर्तन भए । एकाएक पाटीको पर्खालहरू भत्किए । लेख्दा लेख्दैको चिठी बोकेर आकाशमा उड्न थालें र एक्कासि यहाँसम्म आइपुगें ।

००००

साधुराम जर्फंराउँदै उठ्यो । रातको बाह्र बजिसकेको रहेछ । मुसलधारे पानी अझै परिरहेको थियो । बाहिर निस्पट्ट अन्धकार थियो । उसले न्याकुलीलाई सम्झ्यो । दश वर्ष अगाडिको घटना आँखा अगाडी झलझली नाच्न थाल्यो । ऊ मध्यरात मै कोठाबाट बाहिर निस्क्यो । घरको मूल ढोका खोल्यो । र बिस्तारै ट्यान्लाफाँट हुँदै चोभारतिरको  बाटो लाग्यो ।

त्यसपछि साधुराम कहिले घर फर्केन । एक जोडी कागहरू भने आज पनि उसको घर वरिपरि घुमिरहन्छन् ।