प्राकृतिक सौन्दर्यले भरिपूर्ण शिवपुरीको घना जङ्गल निलो आकाश छोउँला झैँ उभिएको थियो । आकाशको भुइँमा कपासका ससाना टुक्रा यत्रतत्र छरिँदा चाँदीझैँ चम्किएको थियो । यो दृश्यले उसको मन पुलकित भयो ।
“हिमांशु !” कसैले बोलाएको उसले सुन्यो ।
“हजुर,”
यस्तो मनोरम दृश्यपानलाई बिचैमा छोड्न उसका आँखाकी चेलीले मानिरहेको थिएन । अरूले बोलाएको भए ऊ पक्कै घरभित्र पस्दैन थियो । आमाले बोलाएकाले मात्रै ऊ अल्छी मान्दै भित्र पस्यो ।
रातो सारी, ब्लाउज अनि केशपासमा रातो गुलाफको किलिप लगाएकी, नयनको कोस कोससम्म जोडेर गाजल लगाएकी साक्षात् मातृदेवीलाई देखेर ऊ छक्क पर्यो । प्रफुल्ल मुद्रामा एकछिन् क्वारक्वार्ती हेर्यो ।
“के हेरिरहेको ? तँलाई जान मन छैन कि क्या हो हँ ?” ऐना हेर्दै आमाले हिमांशुलाई भनिन् ।
“जाने ! जाने !” उसले हतारमा भन्यो ।
“जा मैले आलनाबाट दौरा, सुरुवाल, टोपी र जुत्ता झिकेर राखिदिएको छु । छिटो तयार भएर आइज । भिक्षादान गर्न ढिलो भइसक्यो ।” आमाले फेरि भनिन् ।
उसले पनि ऐनाअघि उभिएर गीत गुनगुनाउँदै लुगा लगायो र अगाडिको कपाललाई झड्कारेर पछाडि हुत्त्यायो । हिमशृङ्खलामा टल्किएका हिउँझैँ सेता दन्तलहर पूरै देखाएर मुस्कुरायो ।
“हैन, ए हिमांशु ! यत्तिका बेरसम्म के गरिराछस् हँ ? छिटो बाहिर निस्की ।” आमाले बाहिरबाटै झर्केर बोलाइन् । उसका बुबा पनि तयार भएर आइसकेका रहेछन् । उसले बुबाको शिरदेखि पाउसम्म नजर लगायो । कच्याककुचुक परेको कोट, प्यान्ट, ढाकाको टोपी, पाप्रा उप्किसकेको कालो छालाको जुत्ता, सायद यो बिहेको हुनुपर्छ, उसले लख काट्यो ।
उसकी आमाले बुबातिर कर्के नजर लगाउँदै भनिन्, “ए हिमांशुका बुबा ! म कस्तो देखिएकी छु ?”
श्रीमतीतिर हेर्दै उनले जिस्काए, “बेहुली हुँदा नि यति राम्री देखिएकी थिइनौ ।”
उसकी आमा लजाइन् । “छिः ! यी बुढा पनि छोरोको अगाडि जिस्कन लाज पनि नलाग्ने ।”
आमाको लाजलाई ढाक्न हिमांशुले थप्यो, “बुबाले ठिकै त भन्नुभयो नि ! यति राम्री मैले पनि कहिल्यै देखेको थिइनँ । आज मेरी आमा त स्वर्गकी अप्सरा जस्ती देखिनुभएको छ ।” उसले विद्यालयमा गुरुआमाले सुनाउनुभएको कथाको अप्सरा कल्पना गर्यो ।
“अब जाने होइन ?” आमाले भनिन् । बुबाले सहमतिमा टाउको हल्लाए । हिमांशु भने आफ्नो विगतमा हरायो । उसको आमाले उसलाई असाध्यै माया गरेको, डँडाल्नोमा बोकेर हिँडेको दृश्य आँखामा झलझली आयो । कहिलेकाहीँ आमालाई फकाउन वा घुर्की लगाउन परेमा आमाको गोडामा दुई हातले साङ्लो बाँध्थ्यो । यति गर्दा पनि उसको माग पूरा नगरी आमा हाँसिन् भने ऊ भुइँमा लडीबुडी गरेर रुन्थ्यो । आफूले आमालाई त्यति धेरै दुःख दिँदा पनि आमाले कहिल्यै झर्को मानिनन् बरु सन्तानको रहर पूरा गरिदिन नसक्दा आफैँ रुन्थिन् ।
उसले खिर खान मन लाग्यो आमा भन्दा एक गिलास दूधमा आधा लिटर पानी राखेर खिर बनाएर खुवाउँदै, “बाबु ! तिमी ठुलो भएर धेरै पैसा कमाएपछि दूधै दूधको खिर बनाएर खाने है”, भन्दै उसलाई खिर खुवाइदिएको सम्झियो ।
ऊ आफ्नो अतीतमा मग्नमस्त थियो । होइन, “हिमांशु तँ किन टोलाएको हँ ? तँलाई जान मन छैन कि कसो हो ?”
आमाको प्रश्नले ऊ झसङ्ग भयो । आफ्नो तरङ्गित मन सँगाल्यो ।
ऊ आमा र बुबाको बिचमा गमक्क परेर हिँड्यो । छिमेकी साथीको व्रतबन्ध थियो । त्यहाँ तामझामले चौकाचँदुवा गरिएको, तोरण टाँगिएको थियो । एकातिर होमहोमादि भइरहेको थियो । अर्कोतिर नौमती बाजामा युवायुवतीहरू हातमा कोक, फेन्टाको गिलास हातमा लिएर मन्दमन्द चालमा नाचिरहेका थिए । उसले चारैतिर आफ्नो नजर दौडायो । आगन्तुकहरूका राम्राराम्रा लुगा र पहिरिएका आभूषणले त्यस समारोहमा सुनमा सुगन्ध भएको महसुस गर्यो । जता हेर्यो उतै मनोरम दृश्य, आहा ! ऊ मनमनै प्रफुल्ल भयो ।
अरूको पोसाक हेरिसकेपछि एकपटक उसले आफूले लगाइराखेको कपडा हेर्यो । अरूको भन्दा आफ्नो कपडा कम नभएको निश्चित भएपछि ऊ बटुकको नजिकै गयो । बटुक उसको खेल्ने साथी थियो । बटुकले पहेँलो वस्त्र लगाएको थियो । उसको साथीले केशमुण्डन गरेको देख्यो । यज्ञमा चरु होम्दै गरेको धुवाँले उसका आँखामा आँसु भरिन थाल्यो । ऊ धुवाँबाट जोगिन अलि परतिर गएर नाच हेर्न थाल्यो । ती सबै तामझाम देखेर उसले मनमनै सोच्यो, “मेरो व्रतबन्ध पनि यसरी नै धूमधामसँग गर्नुपर्छ । म आमाबुबासँग आजै बेलुका कुरा गर्छु । मेरो व्रतबन्धमा पनि यसरी नै सबैलाई देखाएर, रमाइलो गरेर मनाउनुपर्छ । यत्ति त गरिहाल्नुहुन्छ नि !” ऊ अहिल्यै निश्चिन्त भयो ।
त्यहाँको रौनकमा ऊ अझै रमिरहेको थियो । त्यत्तिखेरै बटुकका आमा, बुबा, हजुरआमा र हजुरबुबाले सिन्दुरे जात्रामा झैँ सबैको मुहार, शिरमा अबिरले रङ्ग्याइदिए । त्यति नै खेर बटुकका मामाहरूले थुन्से बोक्दै बटुकको लागि भिक्षा माग्दै आएको देख्यो । उसलाई मनमनै कताकता लाज लागेर आयो ।
व्रतबन्धमा सबै कामको जिम्मेवारी मामाको हुँदो रहेछ । उसले आफ्नो मामालाई पनि सम्झ्यो । उसलाई आफू बटुक हुँदा आफ्नो मामाले पनि यस्तै गर्नुहुन्छ होला भन्ने लाग्यो । उसकी आमाले पनि भिक्षादान गरिन् । त्यहाँको सबै कर्म सकिएपछि अघिअघि नौमती बाजा, दियो, कलश र पञ्चकन्या बिचमा बटुक अनि पछाडि आगन्तुकको लहरो मन्दिरसम्मै थियो । ऊ पनि पछिपछि गयो । ऊ यति आनन्द लिइरहेको थियो, मानौँ ऊ आफैँ बटुक हो । बटुकलाई मन्दिर परिक्रमा गराई घरमा ल्याएर कपडा फेराए । बटुकले कोट, प्यान्ट, टाई, ढाकाको टोपी, घाँटीमा सुनको सिक्री र दुबोको माला, हातमा औँठी लगाएको थियो । कपडा र आभूषणले ठ्याक्कै अन्माउन लागेको बेहुलोजस्तो देखिन्थ्यो ।
आगन्तुकहरूले बटुकलाई टीका लगाउँदै खाममा पैसा दिँदै गर्दा ऊ १, २, ३ ,४… गर्दै खाम गनिरहेको थियो, मानौँ त्यो खाम उसैले पाउनेछ । उसले जीवनमा नदेखेको अद्भुत दृश्य देखिरहेको थियो । यस्तो दृश्य उसले यसअघि कहिल्यै देखेको थिएन ।
“थपीथपी खाऊ बाबु ।” व्रतबन्धको भतेर खाने ठाउँमा पुग्दा हिमांशुका आमाबुबाले भने । ऊ आफ्ना सेता दाँत देखाउँदै हाँस्यो । उसले आमाबुबासँगै बसेर पेटभरि मीठामीठा खानेकुरा खायो । अझ आमाले आफ्नो भागको लालमोहन उसको भागमा राखिदिँदा त उसमा हर्षको सीमा नै थिएन । सधैँ दूधभात खान पाए हुन्थ्यो भनी आश गर्ने ऊ आज मन फुकाएर खान पाउँदा पुलकित भयो ।
आमाबुबाको समीपमा बसेर उसले जिब्रो फट्कारी फट्कारी मिठो खानेकुरा खायो । होहल्ला, नौमती बाजाको धुनमा वयस्क, केटाकेटी, बुढाबुढी सबै नाचिरहेका थिए । ऊ पनि आमाबुबाको हात यसरी समाएर नाच्यो मानौँ ऊ आमाबुबाको हात छोड्नै चाहँदैन । ऊ आमाबाबुको वात्सल्यता तनतनी पिउन चाहन्थ्यो ।
“ओइ हिमांशु ! तँ त बौलाइस कि क्या हो हँ ? अर्काको व्रतबन्ध हेरेर के खित्का छोडेर हाँसिरा होला ? तेरो दिमाग त ठिक त छ ? कति बज्यो थाहा छ ? विद्यालय जान अबेर भइसक्यो ।” हरिको चर्को आवाजले हिमांशु झसङ्ग भयो । उसले यताउति हेर्यो ।
“अहो ! म त दिउँसै स्वप्न देख्न थालेछु ।” हिमांशु मनमनै भुतभुतायो र विद्यालयतिर लाग्यो । बाटोभरि उसले सम्झियो, दुई वर्ष पुग्दा नपुग्दै आफ्नी आमा मरेकी, बुबाले अर्को बिहे गरेको, आमाको माया कस्तो हुन्छ भनेर महसुसै गर्न नपाएको, कान्छी आमाले भाइ जन्माएपछि हेला गरेको, आफू आश्रममा आश्रय लिएर बस्नुपरेको । ऊ वर्तमानको आफ्नो तितो यथार्थले नराम्ररी चिमोटियो । एक्कासि अघिको शिवपुरी माथिको निलो, कञ्चन आकाश कालोनिलो हुँदै गयो । कालो सर्प जसरी बादल मडारियो । केही बेरमा मेघगर्जन सहित वर्षा हुन थाल्यो । त्यो झरीमा परिणत भयो ।
हिमांशु र मौसम उस्तै देखियो । दुवै निरन्तर बर्सिरह्यो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।