चन्द्रे पानीको तिर्तिरे धारो छेउ उभिएको निकै बेर भयो । स–साना बोतल र जर्किन भर्नु छ उसलाई । पानी पर्याप्त छैन । मुस्किलले चलेको छ । कहिलेकाहीँ त पानी नै आउँदैन ।
“साठी हजार मान्छेले यही ठाउँमा छेलो खेलो पानी पाएका हुन् । आज आएर छ हजार मान्छेलाई किन नपुगेको होला ? बल्ल बल्ल छाप्रै–पिच्छे धारा दिने अरे । कम्तीमा ८–१० हजार तिर्नु पर्ने अरे । अमेरिका तिरको कुनै डायस्पोरा समूहले खाने पानी संस्थानको खर्च बेहोर्ने कुरा सुनिएको हो । के आधा–अधुरो मात्र तिर्न सकेछन् त ? सबै समूहहरू र व्यक्तिहरू मिलेनछन् ? के दात्री संस्थाको ठाउँमा डायस्पोरा खडा छ अरे भन्ने हल्ला साँचो होइन त ? हुन त कहाँको दात्री संस्था कहाँको डायस्पोरा ! जे भए पनि यता र उताका सबै मिलेर कोष खडा गर्नु हो भने त यत्रो भार पर्ने नै थिएन । हैट ! घरमा मुसा रोएको बेला छोरा–छोरीका मुखको गाँस…! सबैसँग थोरै–थोरै उठाउने भए त गाँसै कटाएर भए पनि दिने थिएँ अलिकति त ।”
पानीका बोतल बोकेर छाप्रोभित्र छिर्न लाग्दा स्कुलबाट चन्द्रेकी छोरी आइपुग्छे । चन्द्रेले छोरीतिर पुलुक्क हेर्छ ।
“बाबा, छोरी मान्छे प्रधानमन्त्री बन्न सक्छन् ?” छोरीले सोध्छे ।
एक छिन सोचेर बोल्छ चन्द्रे, “छोरी मान्छे त प्रधानमन्त्री मात्र होइन जे पनि बन्न सक्छन् । तर शरणार्थी चैँ कहिल्यै पनि प्रधानमन्त्री बन्न सक्दैनन् । तर तिमीले यो किन सोधेकी ? तिमीलाई थाहा छ र प्रधानमन्त्री भनेको के हो ?”
“अँ, थाहा छ । किताबमा छ । अनि ‘मेरो ड्यान्स युनिवर्स’ मा देखेको नेपालको प्रधानमन्त्री ।”
“कहाँ हेर्यौ त ‘मेरो ड्यान्स्’…?”
“नायुको घरमा । टिभी छ नि उसकोमा ।”
चन्द्रे मुन्टो हल्लाएर मौन रहन्छ ।
“बाबा, हामी शर्नार्थी है ?” छोरीले मौनता भङ्ग गर्छे ।
“अँ ।”
“के हो शर्नार्थी भनेको, बाबा ।”
“अर्कै देशबाट आएको मान्छे … त्यहाँ ‘सेफ्टी’ नभएर…।”
“ए, हामी भूटानबाट आको है ? भूटानबाट हामीलाई कसले खेदाको ? किन…? तर म त नेपालमै जन्मेकी हुँ त ! होइन र… अनि किन…?”
“यी सब कुरा म तिमीलाई बिस्तारै बुझाउँछु । अहिले लुगा फेरेर ‘फ्रेस’ होऊ । त्यै प्रधानमन्त्री नै किन बन्नु पर्यो ? आफूलाई ‘स्ट्रङ् एन्ड एबल’ बनाउनु ठूलो कुरा हो । आफ्नो भाग्य आफैँ बनाउन सक्ने हुनुपर्छ । संसारमा धेरै शरणार्थीले ठूल्ठूला काम गरेका छन् । प्रधानमन्त्रीले भन्दा निकै धेरै ‘रेस्पेक्ट’ पनि पाएका छन ।”
“अँ । अल्बर्ट आइन्स्टाइन पनि कुन चैँ देशको ‘रिफ्युजी अरे ? तपाईँले भन्नु भाकोथ्यो नि !” आइन्स्टाइनको तस्वीरतिर औँलाले देखाउँदै छोरी मुस्कुराउँछे ।
“जर्मन शरणार्थी…!” चन्द्रेले छोरीलाई लुगा फेर्न इशारा गर्दै जवाफ दिन्छ र आफू ‘किचन’तिर लाग्छ ।
लुगा फेरेर छोरी ‘किचन’मै आउँछे ।
“बाबा, शर्नार्थीले प्रधानमन्त्री भेट्न पाउँछन् ?”
“किन र ?”
“कस्तो भेट्न मन लागो हौ !”
“किन नि ?”
“सोध्नु छ, के शरणार्थी मान्छे होइनन् ? शरणार्थीलाई ‘इक्वालिटी’ र ‘राइट्स्’ किन नदेको ? अनि म त नेपालमै जन्मेको…म नेपाली होइन ? कसरी ?”
“कुरा गहिरो छ, छोरी । एकै चोटि सबै बुझ्न खोज्नु हुन्न । बिस्तारै बुझ्दै जानेछौ । रह्यो कुरा ‘राइट्स र इक्वालिटी’को । त्यति पाउनु भने त हामी पनि मान्छेमा गनिन्थ्यौँ, शरणार्थी रहँदैनथ्यौँ । तर ‘राइट्स्’ दिनलाई त दिनेको छातीमा दम हुनुपर्छ । आफ्नो–बिरानो छुट्याउन पनि त सक्नु पर्यो । भो, धेरै अरूको आश गर्नु हुन्न । हाम्रो त जीवन आशै–आशमा बित्ने भो । तिमीले आफ्नो बाटो पहिल्याउनू…!”
चन्द्रे बोल्दा बोन्दै झस्किन्छ, उसका यी भावुक कुरा कति बुझिहोली उसकी १२ वर्षकी छोरीले ?
“अनि कि, बाबा…!”
छोरीको आवाजले फेरि झस्किन्छ । उसको जिज्ञासा बढिरहेको छ । मानौँ त्यो कुनै बाँध फुटाएर बौलाउँदै ओरालो झरेको बाढी हो । छेकेर कहाँ छेकिन्छ र भावनाको भेल ? यता चन्द्रे भने त्यही भेललाई रोक्न नसकेर भित्रभित्रै आत्तिएको छ ।
“अनि अमेरिका गएका हाम्रा मान्छे पनि ‘शर्नार्थी’ नै त हुन् नि होइन र ? फेरि कसरी उनीहरूले चैं प्रधानमन्त्री भेट्न पाए ?” छोरीको जिज्ञासाको आँधी रोकिने छाँट छैन । प्रधानमन्त्री भेट्ने उनको रहर त मानौं युद्ध हारेर पनि हार मान्न नजान्ने कुनै जिद्दी सेनापति वा राजा हो ।
“उनीहरू पनि शरणार्थी थिए । अहिले होइनन् । अमेरिकाले उनीहरूलाई ‘राइट्स’ दियो । मौका पनि दियो । उनीहरू अमेरिकन भए । अरू धेरै कुरा छन् यसमा । पछि भनुँला ।”
“हामी पनि अमेरिका जाम् न । पाइँदैन र जान ? खुलेको छ अरे त ! म पनि अमेरिकन हुने । अनि नेपाल आएर प्रधानमन्त्री भेट्ने ।”
“हाम्रो देश, ‘राइट्स एन्ड जस्टिस’, सम्पत्ति सब खोसिएको छ । तिम्रो दाजु भूटानको जेलमा छ । तिम्रो काका भूटानमै हराएको आजसम्म अत्तोपत्तो छैन । तिम्रो एक मात्र मामालाई भूटानको आर्मीले स्कुलमा कुटेर मारेको तेत्तीस वर्ष भयो । तिम्रो उमेर १८ वर्ष भएपछि आइ.डी. कार्ड पाउँछौ । अनि तिमी अमेरिका जानु । हामी जाँदैनौँ । तिम्रो दाजुलाई पर्खेर बस्छौँ । बाचुन्जेल पर्खिने हो । भेटै नभई मरिएछ भने पनि ठिकै छ । उसले जेलमा थुनिँदा त भएकै छ भने हामीले अमेरिका नजाँदा के होला र ?”
छोरीको अनुहार अँध्यारो हुन्छ । पुलुक्क आफ्नो बाउतिर हेर्छे । नजर हटाएर पेटी छेउमा भर्खरै उम्रेका मखमली र सयपत्रीका बिरुवातिर हेर्छे । उसको अनुहार झन् अँध्यारिन्छ । शिर झुकाएर अवरुद्ध कण्ठ खुलाउने प्रयासमा भन्छे, “भो, नजाने अमेरिका । दादालाई पर्खेर बस्ने…!”
चन्द्रेले छोरीको अनुहारको भाव पढ्छ । छोरी अरू धेरै कुरा बोल्न चाहन्छे सायद । बोल्न चाहेर पनि उसको गला पुरै अवरुद्ध भइसकेको छ । चन्द्रे पनि अलमलमा पर्छ । अरू केही भन्ने कि नभन्ने ? चन्द्रे अनिर्णीत रहन्छ । दुवै मौन रहन्छन् ।
हे भगवान् ! कस्तो असमञ्जस ! कस्तो दुर्भाग्य ! मलाई त्यहाँ बसिरहनु त कुनै धर्म संकटमा फस्नु जस्तो पो महसुस हुन्छ । के गरूँ के गरूँ हुँदा–हुँदै एकाएक जुरुक्क उठेर सरासर बाहिर निस्किन्छु । हिँड्दै गर्दा लाग्छ म त औँसीको रातमा श्मशान घाटमा बाटो भुलेर भौँतारी रहेको छु ।
धत्तेरि ! कस्तो बेहोसी ! हिँड्दा–हिँड्दै उल्टो बाटो पो समाइएछ । छाप्रो त पछाडि अर्कै दिशामा पो छ । म त पुलिस ‘बेस क्याम्प’ अगाडी पो आइपुगेछु । यसो नजर उठाउँछु । ‘सशस्त्र प्रहरी बल’ लेखिएको बोर्डमा मेरा आँखा ठोक्किन्छन् । झसङ्ग झस्किन्छु । मनमनै डराउँछु । एक छिनपछि सोच्छु, म किन डराएको ? के भएको छ र ? मनलाई सम्झाउँछु । तर मन मान्दैन । नजर झुकाएर अपराधी जस्तो लुसुक्क फर्किन्छु । बाटाभरि सोचिरहन्छु , दैनिक हिँड्ने बाटोमा छ ‘बेस क्याम्प’ । आजसम्म मैले कुनै अपराध गरेको पनि छैन । न त न्यायको लागि एक शब्द बोलेको छु । यी पुलिसले मलाई चिन्दैनन् । तर आज किन मलाई यति धेरै डर लाग्यो ? सोच्छु, सायद विगतको कुनै मनको चोट बल्झियो । हो पक्का बल्झियो । चन्द्रे र उसकी छोरीको संवादले मेरो मनोदशालाई झिरले घोचे झैँ घोचेर बिथोलिदिएछ सायद ।
मन थाम्ने भगीरथ प्रयत्नका साथ छाप्रोसम्म आइपुग्छु । सरासर भित्र छिर्छु । खाटमा उत्तानो पल्टिन्छु । शवासनमा सुतिरहन्छु । आफूलाई एउटा जिउँदो लास सम्झेर पल्टिरहन्छु । न खाना पकाउँछु न त खान्छु । एक्लो मान्छे । आफैँले नगरे कसले दिने खान ? भोकै सुत्छु । कति बजे निदाएँ थाहा पाउँदिन ।
रातैभरी सपनाले कहिले भूटान पुर्याउँछ त कहिले नेपालतिरै डुलाउँछ । रातारात परिवार छोडेर देशबाट भागेको त्यो विगतको दृश्य देखाउँछ । जय जन्म नहुँदै शिविरको छाप्रोमै रुख ढलेर मारिएकै आफ्नी स्वास्नीसँग भेट गराउँछ ।
धन्न दिमागले सपना देखाउँछ र विषयान्तर हुन्छ । नत्र त सधैँ एउटै कुरा सोचेर दिमाग नै खुस्किँदो हो । बिहान भालेको डाकले ब्युँझाउँछ । उठ्दा दिमाग लाटिए जस्तो हुन्छ । आफैँलाई भुल्दै छु जस्तो महसुस हुन्छ । सोच्छु , यो के भएको ?
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।