
अहिले मेरो बिहे भैसकेको छ । बाआमाले असल घरानकी केटी खोजेर, बाजा बजाउँदै जन्ती लगेर मलाई स्वास्नी ल्याइदिनुभयो । मलाई बिहाको बारेमा केही चिन्ता गर्नुपरेन, न स्वास्नीको विषयमा नै । बिहे भन्नु एउटी स्वास्नीमान्छे मेरी हुनु, म यसमा तृप्त थिएँ ।
चिनाको कृपाले भनूँ या भाग्यले भनूँ- स्वास्नी राम्री र असल स्वभावकी, आकर्षक भेट्टाएको छु । स्वास्नी पाउनलाई प्रेमको वेदनाले छटपटिनु, हाँसो उठ्दो घृणित प्रतीक्षाले आफूलाई हीन तुल्याउनु र कथामा नैं प्रेममा पर्ने अडकाउ र भीषण परिस्थितिलाई कुल्चेर जानु – यी सब मैले भोग्नु परेन । पुरोहितले मन्त्रोच्चारण गरेर दुवैको जुठो चलाएको दिनमै राति मेरी स्वास्नीले मसित राम्ररी हिलेर-मिलेर कुरा गरी, माया गरी । आफ्नो आत्मा र शरीर केही आनाकानी नगरी नै सुम्पिदिई ।
मेरी स्वास्नी मलाई देवता मान्छे, दिनका दिन ढोगिदिएर चरणको जल खान्छे, मलाई जीवनको देवता मान्छे र मेरो हुकुम तामेल गर्दछे । सती साध्वी स्त्रीमा हुनुपर्ने सब गुण छ उसमा । अर्को सबभन्दा ठूलो कुरा के त भने मलाई प्राणभन्दा पनि बढ्ता गर्छ । त्यसो त म पनि उसलाई कम माया गर्दिनँ ।
राति अबेर भयो भने आमा मेरी उसलाई भन्नुहुन्छ- “जा, सुत्न जा, अबेर भयो ।”
ऊ धीमा पाइला गरेर आउँदिन, सबैले सुन्ने गरी ढोका ढ्याङ्ग खोल्छे र मतिर हेरी मुसुक्क हाँसेर भित्र पस्छे । कसैले थाहा पाउला भन्ने डर छैन, कसैले शङ्का गर्ला भन्ने डर छैन । चियाएर हेर्ने र चाल नपाउने गरी सुन्न आउने कोही छैन; म सुखी छु ।
अँ त, म पनि एक बखत प्रेममा फसेको थिएँ एउटी अर्कै ठिटीसित । त्यो कुरा सम्झँदा पनि हाँसो उठ्छ । भनूँ भने मजा लाग्छ । सम्झँदा मनमा च्वास्स बिझ्दछ पनि । ऐनामा आफ्नो मुख निहारिरहने प्रवृत्ति कुन बेलादेखि कसरी जागृत भयो म भन्न सक्तिनँ । मलाई आफ्नो अनुहारदेखि मोहित हुने बानी बस्यो । एक दिन निधारमा खटिरा आएजस्तो लाग्यो – छोइहेरें, दुख्यो । झटपट ऐनामा गएर हेरें, खटिरा नै रहेछ ।
भित्रभित्रै मलाई एकतमासको आनन्द भयो । सबैलाई देखाएँ । सबैले भने- “डन्डीफोर । पट्ठो भइस् पट्ठो । तरुनीले हेरी क्यारे ।”
फेरि गएर हेरें । तरुनीको गोरो निधारमा सौभाग्यको टीकाझैँ जवानी मस्केर बसेको रहेछ । मैले त्यस डन्डीफोरलाई फोरिनँ, लोभ लाग्यो ।
म पट्ठो भएँ । त्यस बखत म सत्र-अठार वर्षको हुँदो हूँ । एउटा नयाँ साथीसित चिनाजानी भयो । त्यो साथी धेरै असल र स्नेहशील थियो । उसको नाम किन भन्नु । घर सहरको कुनै टोलमा हो । उसको र मेरो खूब हेलमेल भयो । एक दिन उसले मलाई घर लग्यो । घरको छिँडीमा पुग्दा एउटी ठिटी भऱ्याङबाट ओर्ली ।
हामीलाई (होइन खास मलाई) देख्नासाथ एकफेर झस्की । अनि मेरो मुख एक निमेषमा हेरिसिध्याई, सरमाई, खुम्ची र भागी । ठिटी गोरी, कद मिलेकी र राम्री थिई । त्यस बखत त्यस छिंडीमा भेटिएकी त्यो ठिटीको अनुहार उफ् अरू पनि सम्झन्छु । छिंडीको अँध्यारो सुनसान र दुर्गन्धमा पनि मेरो हृदयमा कुतकुती लाग्यो । त्यस बखत केटीले जाँघे सुरुवाल लाएकी थिई- फरिया लाएकी थिइन । ऊ भाग्दा आएको सुरुवालको फटफट आवाज अझ पनि मेरो स्मृतिमा अङ्कित छ ।
म माथि पुगेर कोठामा बसें । साथी र म दुवै जना गफ गर्न लाग्यौं । साथीले सोध्यो – “कृष्णमानको घर कहाँ छ हैं ?”
मैले कुरामा ध्यान नदिई टार्ने किसिमले जबाफ दिएँ- “यस्तै, अँ यतै बागेमुडातिर ।”
उसले फेरि कोट्यायो- “उसले पढ्न छोड्यो ?”
“कुन्नि”- मैले बेवास्तामा भनें ।
वास्तवमा मलाई थाहा थियो ऊ के गर्छ । म त्यही ठिटीको लज्जत र भगाइमा ध्यान दिइरहेको, सोचिरहेको थिएँ- ‘को होली त्यो ?’ तर मैले त्यो को हो भनी साथीलाई सोध्ने साहस गरिनँ । साथीकै बहिनी हो भन्ने अठोट गर्न मन लागेन । ‘बहिनी हो’ भनेर सोच्दा आनन्द लाग्यो डर पनि ।
हामी बसेको कोठा भऱ्याङनिरकै थियो । भऱ्याङमा कोही उक्लेको आवाज आयो । अनि मैले अनुहारको भावलाई दबाउने कोसिसमा साथीतिर हेरेर भनें- “भोलि सिम्भू जाऊँ ।”
तर मेरो कान भऱ्याङतिर थियो । उक्लेको आवाज सकियो ढोकासम्म पाइलाको आवाज आएर रोकियो । मैले ढोकातिर नहेरी सकिनँ । मलाई त्यो केटीले ताकी, मैले उसलाई । दुवैको आँखा जुध्यो । मैले हडबडाएर साथीतिर हेरेर भनें- “के भन्छौ ?”
त्यो केटी ढोका नाघेर पास भएको पनि सुनें । साथीले मेरो अनुहारको भाव बुझेको जस्तो लाग्यो । तब झवास्स मनमा आयो साथीकी बहिनी, मैले पनि बहिनी सम्झनुपर्दछ । मैले दोषीको मैं टाउको निहुराएँ ।
साथीले भन्यो- “भोलि के छ र सिम्भूमा ?”
“भोलि अष्टमी, सिम्भूमा जात्रा हुन्छ ।”,
बल्ल सास माथि आयो । त्यसै बखत उताबाट एउटा ठिटीको आवाज सुनियो- “दाइ, दाइ । आमाले झट्ट आउनोस् रे ।”
० ० ० ०
त्यस दिन रातभरि मैले त्यस ठिटीलाई सम्झन्नँ भन्दा पनि सम्झिरहें । ऊ मोहनीलाग्दो किसिमले खुम्चेर भागेकी र कलिला स्वरमा ‘आमाले झट्ट आउनोस् रे’ भनेर बोलेको मैले सम्झिरहें ।
भोलिपल्ट म साथीको घरमा जान तम्सिएँ । साथीले असनमा रामचाको पसलमा भेट्छु भनेको त थियो । कृष्णमान भन्ने मेरो अर्को साथी छ । त्यसको घर पनि उतै पर्छ । उसलाई धेरै दिन भयो भेट नगरेको, भेट्ने रहर पैदा भयो । तर कृष्णमानको घर पुग्दा कृष्णमान होवैन जस्तो लाग्यो र बोलाइन । सीधा त्यही साथीको घरतिर लागें । घर पुग्न लाग्दा फर्कूं जस्तो पनि लाग्यो । सानसानो पाइला गरेर पनि साथीको घर पुगिहालेछु ।
आँखा उठाएर माथि झ्यालमा हेर्छु त उही केटी । झ्यालमा उही केटी देदीप्यमान रहिछ ।
उसले मलाई देखिहाली र जिभ्रो काटेर भागी । मलाई पनि सरम लाग्यो- मैले आफ्नो सोचाइलाई समाल्दासमाल्दै पनि यो कुरा सोचिहालेछु- ‘उसले मलाई नै पर्खिरहेकी होली ।’
भऱ्याङमा पुगेर साथीलाई बोलाएँ । त्यस बेला सायद मेरो स्वर लरखरिएको थियो- दुई-तीन चोटि बोलाएँ । कसैले जबाफ दिएन । केटीले जरुर सुनेकी होली, तैपनि बोलिन । मेरो मनमा हाँसोको लहर दौड्यो । तैपनि म दिक्क भएर भुनभुनाएँ- “कस्ती रहिछ ।”
अर्कै स्वास्नीमान्छेको आवाज आयो “तल को हँ ?”
मैले भनें- “म ।”
फेरि पनि माथिबाट साथीकी आमा बोलिन् – “तल को हँ ?”
मैले ठूलो स्वरमा भनें- “म ।”
त्यो केटीले भऱ्याङमाथि उक्लेर भनी “दाइको साथी क्यारे ।”
“छैन भन्न सकिनस्, अहिले हो बोलाइरहेको ।” म फर्कन तयार भएँ । तैपनि पर्खे । तर ‘छैन’ भन्न कोही आएन ।
बाहिर निस्कन्छु त साथी टुप्लुक्क भेट भयो । पल्लोपट्टि छिमेकीको घरबाट बाहिर निस्केको रहेछ । म आफूलाई चोर समातिएको जस्तो लाग्यो ।
साथीले भन्यो- “असनमा जान त बिर्सिहालेको ।”
मैले उसको कुराको वास्तै नगरीकन चाँडचाँडै भने- “कृष्णमानकहाँ किताब लिनु थियो र आएको, भेट भएन अनि ।”
साथीले भन्यो- “सिम्भू जाने ?” एकछिन म टोलाएँ ।
उसले भन्यो- “हँ ? ”
मलाई सिम्भू जान पटक्क मन लागेन । मैले केही हाँस्दै भनेँ- “जाने ?”
“जाऊँ न मज्जा हुन्छ ।”
“हुन्छ त एकछिनपछि जाउँला”- मैले शिथिल भएर भनेँ । छिंडीमा कोही भेट भएन । भऱ्याङ उक्लें, कोही भेट भएन । अनि कोठामा दुवै बस्यौं । साथीले लुगा लगाउन थाल्यो । म मौन र गम्भीर थिएँ । माथिबाट चुराको छिनिक्क आवाज आयो- भाँडा खसेको शब्द आयो । ऊ काममा लागेकी होली । साथीले चाँडै लुगा लाइसिध्यायो । साथीले भनेको थियो- “रामचालाई एक चोटि भेट्नुपर्छ ।” हिँड्न त मन थिएन तर कसरी सुख पाउनु । ज्वास्स मनमा आयो- साथीकी बहिनी !
हृदयमा एउटा गहुँगो बोझा लिएर भर्याङ ओर्ले । ढोकाबाहिर निस्केँ र परसम्म पुगेँ ।
तीन दिनसम्म मैले साथीको घर जानै पाइनँ । साथी कहिले बाटैमा टुप्लुक्क भेटिन्थ्यो- कहिले मेरै घरमा आइपुग्थ्यो । ती दिन साह्रै नीरस भए ।
चौथो दिन म उसकै घर पुगेँ । केटी साथीको कोठाबाट कुचो समातेर निस्की र यतातिर हेर्दै नहेरी छिटोछिटो गई । म भित्र पसें ।
एकछिनपछि फरिया लगाएकी एक तरुनी मेरो अघिल्तिर देखा परी । त्यो त्यही केटी रहिछ । ऊ त्यति चाँडै फरिया लगाएर मेरो अघिल्तिर किन देखा परी, एकछिनसम्म म अचम्म भएँ । एकै पलकमा मैले उसको सारा बदनलाई देखें । उसको चटक्क परेको शरीर पातलो पातलो, राम्ररी नमिलेको, मायालाग्दो मलाई लाग्यो । ऊ भर्याङ ओर्ली । तर एकैछिनमा माथि आई र हामी बसेको ढोकाबाट पाइलालाई तौलँदै यतापट्टि हेर्न नचाहेझैं गरी पास भई ।
त्यस दिन ओछ्यानमा पल्टेपछि खास्टो ओढेर सुत्न लाग्दा यसो विचार गरेँ- ‘हँ, साथीकी बहिनी हो । मैले के विचार गरेको !’ मैले बराबर प्रतिज्ञा गरें, म उसलाई बहिनी सम्झनेछु, कुभावना राख्ने छैन । तर घुमी-घुमीकन अनेक किसिमको इन्द्रियलिप्साको भावना आइरह्यो ।
बिहान उठेर मैले विचार गरेँ- ‘आज म जान्नँ ।’ तर भात खानासाथ मलाई त्यही घरले खिच्न थाल्यो । ‘जान्न’ र ‘जाऊँ’ को तानातानमा आखिर ‘जाऊँ’ ले जित्यो र चार बजे घुम्न जाने बहानाले त्यहाँ पुगिहालेँ ।
अब अरू कुरा म सम्झन्नँ । एक न एक बहानाले म त्यो घर रोज जस्तो जान्थें । घनिष्ठता बढ्दै गयो । त्यो घरमा म निस्फिक्रीसित बेसङ्कोच पुगिहाल्दथेँ । जान्थेँ, साथी नभएको बेलामा कोठा खोलेर एक्लै बस्थें पनि । साथीकी आमा मसित कुरा गर्थिन्, ठट्टा गर्दथिन् ।
मैले केटीसित कुरा गर्न पाएको थिइनँ । म त्यहाँ कोठामा बसिरहेको बेलामा ऊ बाहिर ओहोरदोहोर गरिरहेकी हुन्थी । कहिले गाग्रो बोकेर पानी लिन जान्थी, कहिले कुचो लिएर ओहोरदोहोर गर्दर्थी । दिसा गर्ने लोटा समातेर तल ओर्लन्थी, छिँडीमा जान्थी । कोही मान्छे आयो भने त्यहीं कोठाबाहिरै बसेर कुरा गर्दथी । त्यो सबै मेरै निम्ति, मलाई देखाउन, हाँसो मेरै निम्ति, ठट्टा मलाई सुनाउनको लागि हो जस्तो लाग्दथ्यो ।
मैले कुरै गर्न पाएको थिइनँ । ऊसित बोल्ने साहस थिएन । साथीकी बहिनी भनेर हो कि आफ्नै सङ्कोच र लज्जाले हो अथवा ऊ अघिल्तिर परेर पछि हट्ने र लाज मानेर भाग्ने कारणले गर्दा हो मैले ऊसित बोल्ने साहस गरिनँ ।
राति सुत्ने बेलामा रोजै यसरी कुरा गर्छु उसरी कुरा गर्छु भन्ने कल्पना गर्दथेँ । तर भोलिपल्ट फेरि त्यस्तै, म बोल्न सक्दिनथें ।
उसको बानी कसैसित नबोल्ने हैन । हरिकृष्ण भन्ने मेरो साथीको अर्को एउटा साथी छ । ऊ जत्तिकै पुरानो र नयाँ पनि हो । ऊ कहिलेकहीँ मात्र त्यो घरमा आउँछ । केटी ऊसित मज्जासित बिनासङ्कोच कुरा गर्दथी । तर मसितचाहिँ होइन । यसमा मलाई बिझ्ने कुरा केही छैन । म सन्तोष नै थिएँ । यसमा मेरो आफ्नो जितै भएको थियो । हरिकृष्ण मेरो अगाडि कुरूप थियो । ऊ कालो र छ्याकटे थियो । सङ्कोच किन, म निस्फिक्रीसँग भन्छु– ‘म राम्रो छु । साह्रै राम्रो नभए पनि ममा स्वास्नीमान्छेलाई तान्ने आकर्षण छ । हृदय चाहिन्छ – हृदय पनि त छ मेरो ! मदेखि लाज मानेर भाग्नु पनि त प्रेमकै लक्षण हो नि !’
एउटा अर्को कुरा सम्झन्छु- एक दिन केटीको भान्दाइ भन्ने आएको थियो । ऊसित मैले सुन्ने गरी केटीले कुरा गरी- “ऊ त्यो घरको राममाया मन पर्छ ? आउँछु भन्छे ।”
मैले सम्झैं, मलाई नै पेच हानेकी हो । वास्तवमा त्यस घरकी राममाया झ्यालमा बसिरहन्थी र म उसलाई हेर्न सक्तिनथेँ । यो कुरा केटीले चाल पाएकी छ भन्ने मलाई थाहा थियो । उसको ईर्ष्यालाई जगाउन म राममायालाई झन् देख्ने गरी ताक्दथेँ । केटीको राममायामाथिको ईर्ष्याले मलाई तृप्ति दिन्थ्यो ।
प्रेमले मेरो हृदय भकभकी पाक्न थाल्यो । मैले कसैलाई भन्ने साहस गरिनँ । आमाबाबुलाई कसरी भन्ने ! तैपनि भन्छु भन्ने त लाग्दथ्यो तर लाजले भन्न सक्तिनथें । केटीको जात मेरो भन्दा सानु थियो । पहिलो रोकावट त्यहीं आइपर्छ । आमालाई ठट्टा गरे छेस्को दिन्थेँ- “म बिहे गर्दिनँ, आफैँ उडाएर ल्याउँछु ।”
आमा हाँस्नुहुन्थ्यो र भन्नुहुन्थ्यो- “लिएर त आ, चुल्ठो समातेर निकालिदिन्छु । होइन भने तैं पनि बाहिर बस् ।”
कथामा झैं प्रेममा भएको बन्धन र रुकावट ! सतहमा निराशा तर गहिराइमा सन्तोष थियो ।
हामी दुई जनामा प्रेम परेको छ । यो कुराको पत्तो साथीले पायो पाएन मलाई थाहा छैन । उसले मलाई केही भनेन न मैले उसलाई । ऊ लाटो त होइन । उसले बहिनीलाई ‘ए, आगो ले’, ‘ए पानी खान ले’ भनेर बराबर बोलाउँथ्यो । बहिनी झर्केर ‘सक्तिन’ भन्दथी । तर एकैछिनपछि आगो अथवा पानी ल्याएर मुन्टो फर्काउँदै ढोकामा टक्र्याएर जान्थी । यो सब किन ? साथी अबुझ थिएन । तर उसले मलाई केही भनेन । म अनुभव गर्दथेँ- मैले नदेखिने गरी ऊ मेरो मुख निहारिरहन्थ्यो तर केटीका आमाबाबु भने एकदम लाटा थिए । यी सबै कुराहरूमा लाटोपन दर्शाएको हो कि अथवा जात नमिल्ने हुनाले हो म केही भन्न सक्तिनँ ।
एक दिन म साथीको कोठामा बसिरहेको थिएँ । साथी पसलतिर केही किन्न गएको थियो । पर्खिरहें, धेरैबेर भो, आएन । साँझ पर्न लाग्यो- आएन । कोठामा भएका सबै किताबहरू ओल्टाएँ-पल्टाएँ तर केही पढिनँ । कोठामा भएका सबै तस्बिरहरूलाई एकएक गरेर हेरेँ । केटीको बाबुआमा, साथी र ऊ बसेर खिचेको तस्बिरमा बराबर दृष्टि परिरहन्थ्यो । केटी त्यस बेला भर्खर दूध खाने बालक निर्दोष आमाको काखमा खेलिरहेझैं थिई- साथीचाहिँ बुद्ध जस्तो भएर भैंमा बसेको थियो । बाहिर भुइँतलामा फरियाको आवाज आयो । आँखा ढोकैतिर फर्क्यो । केटी गाग्रो लिएर जान लागेकी थिई । आँखा जुध्यो- म मुस्कुराइदिएँ । ऊ पनि मुस्कुराएर भऱ्याङ ओर्ली । उसको शरीरको बनावटलाई जवानीले परिपुष्ट बनाइसकेको थियो । मैले सुलुत्त परेको माछाको शरीर देखें । अनि पछि मेरो मन ढुकढुक हुन थाल्यो ।
बसें, उठें, झ्यालबाट बाहिर हेर्न थालेँ । भऱ्याङमा आवाज आउँछ कि भनेर कान थापें । केटीसित कुरा गर्ने, अझ हात समातेर बोल्ने इच्छाले तुलबुल तुल्याउन थाल्यो । भऱ्याङको आवाज आयो । मेरो खुट्टा लगलगी काप्न थाल्यो । ढोकासम्म पुगेँ, फर्के । केटी माथि आई, ओठमा हाँसो च्यापेर लाज मान्दै पास हुन आँटी । म अघिल्तिर बढेको मात्र थिएँ पास भइहाली । ढोकाबाट हेरेँ- ऊ फट्का मार्दै भऱ्याङ चढी । अनि म आएर बसें । इच्छा एकदम कता गायब भयो कता ! त्यसको सट्टा भयले आएर छोप्यो । कहीं ऊ त रिसाइन, कसैलाई त भनिदिने होइन । म दोषीफैँ उठें र ढोका थुनेर तल ओर्लें ।
मैले मनलाई सम्झाउन खोजें- बहिनी हो बहिनी ! तर मनलाई सन्तोष गराउन सकिनँ । म चिसिएर सोच्न लागेँ कामवासना प्रेम होइन । प्रेम शुद्ध हुन्छ- प्रेममा वासना हुँदैन । मैले उसलाई आदर्श प्रेम गर्नुपर्दछ । आदर्श प्रेम कमजोरीद्वारा रक्षित भएकोले मैले आनन्द मान्न खोजें । तर मनको एक कुनामा हातबाट माछा चिप्ले पनि लाग्यो ।
भोलिपल्ट संशय तथा भयले म गइनँ । पर्सिपल्ट गएँ त केटीको अनुहारमा कुनै विकार नदेखर मेरो मन हलुङ्गो भयो ।
एक दिन अकस्मात् साथीले निन्याउरो मुख लगाएर मलाई भन्यो- “भोलि म वीरगन्ज जान्छु मौजामा ।”
म खङ्ग्राङखुङ्ग्रुङ भएँ । मैले भनें “किन, किन र भोलि नै ?”
उसले भन्यो- “बा र म जाने मौजामा । कुन्नि के गोलमाल पर्यो रे ।” उसले फेरि भन्यो- “तीन-चार महिना त्यहाँ बसिन्छ कि ।”
साथीको घरमा गएँ । भित्र साथीको बाबुचाहिँ लुगाफाटो बाकसमा राख्ने र गुन्टा कस्ने योजना गर्न लागिरहेका थिए । मटानमा झुम्रे-झाम्रे भरियाहरू चिलिममा तमाखु खान लागिरहेका थिए । तमाखुको खरो गन्ध वाक्कलाग्दो थियो । केटी बाबुलाई सघाइरहेकी थिई । मलाई देख्नासाथ ऊ उठ्न खोजी, तर बसी । एक चोटि खिस्स हाँसेर टाउको निहुराई । त्यो हँसाइ थिएन, खल्लो थियो ।
जब म साथीको बाबुलाई “जानोस् है राम्ररी” भनेर हिँड्न लागेँ, केटीले मुख ताकी । त्यो तकाइमा दीन याचनाझैँ थियो ‘देखा पर्ने गर है’। म ढोकाबाट बाहिर निस्केँ । बाहिर निस्कँदा उसको तकाइले अनुसरण गरेको जस्तो लाग्यो । साथीलाई फेरि काँपेको स्वरमा हाँस्दै भनें- “चिट्ठी लेख है ?” म भऱ्याङ ओर्ले
त्यत्ति हो । त्यसपछि फेरि केटीको नाकमुख देखिनँ । साथीको घरतिर केही आशा लिएर जान्थेँ । तर भित्र जाने साहस भएन । कुन बहाना लिएर जाऊँ ? पछि यो पनि थाहा पाएँ दुवै आमाछोरी माइतीघर गएका रहेछन् ।
म यसमा आनन्द पाउन लागेँ- ऊ मलाई लिएर राति कति कल्पना गर्दिहोली, कति देखिन र हेर्न चाहेकी होली उसले ।
करिब दुई महिना बित्यो । साथी टुप्लुक्क घरमा आइपुग्यो । म आश्चर्यचकित भएँ, साथै दङ्ग पनि ।
मैले सोधें “कहिले आयौ ?”
उसले सङ्क्षेपमा गम्भीर भएर जबाफ दियो- “हिजो ।”
“कस्तो छ त, मजा छ ? मोटाएर आएछौ ।”
“मजै भन्नुपर्यो- नत्र अन्तअन्त पनि जाने सुर थियो “किन त ?”
“गाउँको गाउँमै बसेर, यतातिर हतारिएर आएँ ।”
“किन ?”
“त्यसै ! नत्र…” साथीले अनकनाउँदै जबाफ दियो र एक सासमा बोल्यो “बहिनीको बिहे ४।५ दिन मात्रै बाँकी छ ।”
“हँ,” चोट बज्यो ममाथि । म सोच्न लागेँ- मैले एक चोटि पनि कुरा गर्न पाइनँ । प्रेमको दुई वचनसम्म पनि बोल्न पाइनँ । जुनेली रातमा घुमफिर गर्ने कत्रो सपना थियो- त्यो पनि पूर्ण भएन !
पछि मनलाई सान्त्वना दिन खोजें । पाउनुमा नै प्रेम अडेको छैन । नपाउनुले झन् प्रेमको महत्त्व बढ्दछ । बिहे भयो सिद्धियो ! प्रेम नैराश्यमा नै सजीव हुन्छ । यस धारणामा मीठो स्वाद पनि पाउन लागेँ ।
केटीको बिहेमा भोज खान मलाई पनि निम्तो आएको थियो । पेट दुखेको बहानाले भोज गइनँ । चाँदीको चमचालाई एकछिनसम्म निहारें र अनजानमै ओठसम्म पुऱ्याएर गोडधुवा पठाइदिएँ ।
भोक लागेको त थियो तैपनि पेट दुखेको बहानाले भात अलिकति मात्र खाएँ । भात खाएर कोठाको ढोका थुनेँ । रातभरि निद्रा आउँदैन भन्ने थाहा थियो तैपनि सुत्ने कोसिस गरेँ । ओछ्यानमा सिरक ओढेर पल्टेपछि सोचें- एक चोटि पनि मिलन भएन । नत्र दुई जना भएर अन्धकारमा ताराहरू गन्थ्यौँ ।
बिहान उठ्दा मगज ताजा भइरहेको थियो । रातभरि मस्तसित सुतेछु । निद्रा लागेकोमा सरम पनि लाग्यो । पछि आड लिन पुगेँ- “केही नपाउनेलाई सहारा निद्रै त हो नि ।”
केही दिनपछि मलाई एक जनाले भन्यो- “ऊ तीन दिनदेखि बिहे हुने कुरा सुनेर टाउकै नउठाई रोइरहिछ रे ।”
यो कुरा सुनेर म उत्फुल्ल भएँ । मैले मनमनै भनें “बिचरीलाई कत्रो चोट पर्यो ।” र मैले पनि आफ्नो हृदयमा चोट परेको ठाउँको अनुभव गर्न खोजें ।
पछि यो पनि सुनें- ऊ लोग्नेको घरमा दिनभरि झोक्राएर बसिरहन्छे रे । यसमा पनि मेरो मन फुलेर माथिसम्म आयो । उसको नवविवाहित पोइलाई मैले चिनेको छु । कालो, आँखा भित्रसम्म पसेको । मैले आफ्नो अनुहारलाई स्मृतिमा सम्झेँ । यसमा पनि मेरै जित थियो । बिचरी पोइसित कसरी बस्ती होली । उसलाई पोइ देखेर कति घृणा हुँदो हो । म कल्पना गर्न लागेँ । कसरी भद्दा किसिमले ऊ बोल्दो हो । कसरी ऊ जिस्कँदो हो । म ईर्ष्याले जल्न लागेँ । फेरि सोचें- कसरी अनिच्छापूर्वक त्यो केटीले पोइलाई आत्मसमर्पण गर्दी हो, कसरी चिसो भएर चुम्बनको गाला थाप्दी होली, अनि गालामा परेको घिनलाग्दो थुक पुछ्दी होली । बरावर यस्तै कल्पना आँखामा नाचिरहन्थ्यो ।
लैला-मजनूको प्रेमझैं मेरो जवानीमा घटेको घटनाले मानो प्रेमको ध्येय पूरा भएजस्तो लाग्यो । मलाई सन्तोष भयो- आनन्द पनि । मैले कसैलाई प्रेम गरेको थिएँ, कसैले मलाई हृदय दिएकी थिई । त्यो काम ठूलो कुरा हैन । कत्रो अहोभाग्य ! प्रेम शुद्ध छ वासनामय होइन । सबैको अघिल्तिर जवानीको धाक लाउने अधिकार पाएँ । सबैको ईर्ष्याको अधिकारी पनि हुन पाएँ ।
म त्यस बेलादेखि साथीको घरमा कमै जान लागेँ । ऊ मेरो घरमा आउँछ । कहिलेकाहीँ मलाई उसकी बहिनीको दीन वेदनामिश्रित अनुहार हेर्न रहर लाग्दथ्यो र
जान्थेँ । तर ऊ देखा परिन । सायद पोइको घरमा होली । त्यसैले देखा पर्ने साहस गरिन होली ।
धेरै दिनपछि एक दिन म साथीको घरमा एक्लै गएँ । पहिलेपहिलेझैँ छिँडीमा बसेर बोलाएँ ।
त्यो केटी बोली- “तल को ?’
म झस्केँ र आश्चर्यचकित भएँ । मैले सानो स्वरमा बोलें- “म ।”
“को म ?” भन्दै ऊ भर्याङको बीचमा ओर्ली ।
यति चाँडै मेरो स्वर बिर्सी ! झट्ट सोचें- सायद मलाई हेर्न चाहन्छे । मलाई सङ्कोच लाग्यो झटपट समालिएर अनुहार गम्भीर बनाएँ र सकेसम्म पीडाको भाव पनि दर्शाउन खोजें । उसले मलाई देखी र आँखामा आँखा जुधाएर भनी- “ए ! तपाईं, कोही पनि छैन ।”
यन्त्रझैं म फरक्क फर्कें । ऊ माथि गई । यो आशातीत कहाँबाट भयो । उसको आँखामा त्यो चमक खोई ! अनुहारमा हँसिलोपन खै ! त्यो सङ्कोच खोइ ! सरम खै ! साह्रै तीतो अनुभव भयो बरु भेट नै नभएको भए हुने तैपनि उसको अनुहारमा कारुण्य छ कि भन्ने ठानेर उसलाई भर्याङमा बसेको सम्झेँ । धेरैबेर सोचेपछि आँखाको कुनै कुनामा मप्रति प्रेमको रस पाएँ । म विचार गर्न लागेँ- उसले मनको भावलाई दबाएर अभिनय गरेकी होली । उसले मलाई टाढाको ठान्न खोजेकी हो । मैले पनि पापै गरेको हूँ। किन बिहे गर्न सकिनँ, लग्न सकिनँ ।
अब म उसलाई हेर्न भनेर जान्नँ । ऊ पनि यताउति चञ्चल भएर अब हिँडडुल गर्दिन, कहिले देखा पर्छे तर, नदेखेझैं गरेर रसहीन भएर हिँड्छे । कहिले मेरो अगिल्तिर आएर दाजुचाहिंसित निसङ्कोच कुरा गर्दछे । मसित पनि बोल्न खोज्दछे, तर म बोल्दिनँ । एकै थलोमा बसेर खरो आवाजमा बूढीले के कुरा गर्दछे ।
म सोच्न कोसिस गर्दथें- “प्रेममा ठगिएकी बिचरी ऊ; असमयमै बूढी भई ।”
(गोविन्दबहादुर मल्ल गोठालेको कथासंग्रह ‘कथैकथा’बाट)



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

