१.  पढाइ

– सक्षमले सामुदायिक विद्यालयमा अध्ययन गर्‍यो ।

– उच्च शिक्षा समेत सामुदायिक क्याम्पसबाट हासिल गर्‍यो।

– अनि  एउटा निजी  विद्यालय खोल्यो ।

– अहिले चर्को आवाजमा भन्दै छ । सरकारी विद्यालयका शिक्षकले विद्यार्थीको भविष्य माथि खेलबाड गर्दै छन् ।  सामुदायिक विद्यालयका शिक्षकले पढाएनन् ।

‍‍‍====

२. नजर 

अहिलेको एसइईमा राम्रो नतिजा कसको ? एउटाले फेसबुकमा स्ट्याटस राखे ।

– निजी स्कुलका एकजना शिक्षकले कमेन्ट गरे, हाम्रो उत्कृष्ट छ।

– गुरुकुलका शिक्षकले अर्को कमेन्ट लेखे:  पहिले गुरुकुल(सामुदायिक) तिर नजर लगाउनुस् ।

====

३.  फेल हुनुको कारण 

छिमेकी – तिमी फेल भयौ ?

विद्यार्थी – भैयो ।

किन ?

के गर्ने सरले राम्रो पढाएनन् ।

====

४.  कारण 

– के हो तपाईंको स्कुलबाट एउटा विद्यार्थी पनि पास भएनन् ?

– हेड सर भएको नाताले तपाईंले जिम्मेवारी लिनुपर्‍यो नि ?

– जेपी सर :  के गर्नु शिक्षकले हेड सरलाई टेर्दैनन्।

कक्षामा राम्रोसँग पढाएनन् ।

====

५. जसोतसो 

निजी स्कुलले त राम्रो नतिजा दियो ।

– यहाँहरूलाई बधाई छ।

– बोर्डिङ स्कुलको शिक्षक भएकोमा गर्व गर्नु भएको छ होला नि ?

– कहाँ गर्व गर्नु बाध्यताले पढाएको ।

– बधाई मात्रै पाएर के गर्नु तलब सारै न्यून छ ।

– श्रम शोषण छ ।

–  प्रधानाध्यापकले सारै पेल्छन् ।

– राम्रो अवसर नपाउँदा सम्म जसोतसो गर्नै पर्‍यो ।

====

६. नीति परिवर्तन 

पत्रकार : अघिल्लो वर्ष भन्दा यो वर्ष उत्तीर्ण संख्या एक्कासि घट्यो किन होला ?

बुद्धिजीवी :  वर्षमा विद्यालय शिक्षाको स्तर परिवर्तन भएको होइन ।

पहिले आन्तरिक परीक्षा र सैद्धान्तिक परीक्षाको अंक जोडेर ग्रेड पोइन्ट दिने गरिन्थ्यो । यो वर्ष छुट्टाछुट्टै उत्तीर्ण हुनुपर्ने प्रावधान राखियो ।

नीति परिवर्तनले यस्तो देखिएको हो ।

====

७.  कसरी पास

धेरै सरकारी विद्यालयका विद्यार्थी फेल भएपछि शिक्षकलाई गाली गरेर फेसबुकमा पोस्ट हाले ।

सरकारी विद्यालयका शिक्षक राम सरले पनि जवाफमा लेखे – शिक्षकले नपढाएर विद्यार्थी फेल भएका हुन् भने पास हुने जतिले चाहिँ के आफै पढेका हुन् त ?

====

८. दोषी को ? 

हेमन्त सरले पढाएको विषयमा सबै विद्यार्थी फेल भएछन् ।

– सर सबै विद्यार्थी फेल हुँदा आत्मग्लानि भएको छ कि ?

– सरले जवाफ दिए : के को आत्मग्लानि हुनु नि ? मैले आफ्नो धर्म निभाएकै हो । पढाएकै हो ?

– त्यसो भए दोषी को?

– विद्यार्थी । विद्यार्थीले पढ्दै पढ्दैनन् ।

====

९- दायित्व 

कफी सपमा गफगाफ हुँदै छ।

अहिले निजी विद्यालयको नतिजा राम्रो देखियो । तपाईं निजी स्कुलको विरोध गर्नुहुन्छ, किन ?

समाजवादी नेता – निजी विद्यालय नाफाको लागि संचालित छन् । यी व्यापारी हुन् । शैक्षिक माफिया हुन् । शिक्षा निःशुल्क हुनुपर्छ । सरकारले दायित्व लिनुपर्छ ।

====

१०.   गालीवाद 

एसइईको नतिजालाई लिएर एकले अर्कोलाई दोषारोपण गरिरहेका छन् । यो के हो गुरु ?

गुरुले जवाफ दिनुभयो – एकले अर्कोलाई कुल्चेर अघि बढ्नु आजको मानिसको स्वभाव हो ।

शिष्य – के त्यो राम्रो हो?

गुरु- राम्रो या नराम्रोको कुरा होइन । प्रवृत्तिको कुरा हो । अचेल अर्कोलाई सिध्याएर आफू अगाडि बढ्ने मानिसलाई नै सफल मानिस भनिन्छ।

आजको युग गालीको युग हो । गालीवाद मुख्य दर्शन हो ।

– शिव खनाल जीवम, स्याङ्जा । हाल रुपन्देही ।