“तपाईंको नाम के हो ? सोध्न सकिन्छ भने !”

“यदि सोध्न सकिँदैन भने तपाईंको नाम पनि मेरै नाम हो अर्थात् सगरमाथाबहादुर नेपाली । तपाईंका पुर्खा पनि मेरै पुर्खा जस्तै थिए, परापूर्वकालमा । कुनै डाँडाकाँडा, खोँचखाँच र तराई–समथरमा बसेर कुटोकोदालो गर्दै सनातनको बिँडो थामेका ।”

“तर, आजभोलि तपाईं पनि म जस्तै आधुनिक हुनुभएको छ । आधुनिकता मैले ल्याइनँ । त्यस्तै, तपाईंले पनि ल्याउनुभएन । यो त रेल–मोटर चढेर टुप्लुक्क आइपुग्यो । आजसम्म पनि हवाईजहाज चढेर आउँदै छ । तपाईं जस्तै म पनि सनातनको भूमिमा सनातन नै रोप्तै थिएँ । एक्कासि ऐँजेरु पलायो ।”

“जब आधुनिकता आयो, मैले पनि तपाईं जस्तै धेरै कुराहरू सोचेको थिएँ । म जस्तै तपाईं पनि यसलाई ‘चिन्तना’ भन्नुहुन्थ्यो । चिन्तन गर्दा, बुद्धि फुर्दा आदर्श देखापर्छ । मलाई जस्तै तपाईंलाई पनि आदर्शवादी, सिद्धान्तवादी, विचारवादी कुन्नि केके वादीप्रतिवादी बन्ने सनक चढेको थियो । अलिक दिन सन्किएपछि बुद्धि ठेगानमा आयो । पुर्‍याइएको ठेगानामा बुद्धि पुग्नु पनि चानचुन कुरा होइन । अँ, ठेगाना भने गलत र सही दुवै हुन्छन् रे !”

“आदर्शवादी हुनुभन्दा आदर्श पाल्नु धेरै बेस सम्झी एउटा उच्चादर्श पालियो सिक्रीमा कुकुर अथवा पिँजडामा सुगा पालेझैँ । ‘सीताराम’ ‘सीताराम कहो’ भन्नासाथ पाहुनाहरूको अगाडि धर्मात्मा भइने र भुक् भन्नासाथ भुकेर सबैका सामु प्रतिष्ठित भइने काम भयो । आदर्श पालेपछि यो दुनियाँमा मुन्टो पनि ठड्याउन सकिने, टोपी पनि ढल्काउन पाइने र जुँगा पनि बटार्न भ्याइने । यहाँभन्दा बढी बिचरा आदर्शले गर्नै के सकोस् र ?”

“आदर्शवादी हुनासाथ व्यवहारवादी पनि लगत्तै हुनुपरिहाल्छ, अन्यथा बेकुुफ भइने डर हुन्छ । हुन ता यै डरले गर्दा नै हामी सगरमाथाबहादुर नेपालीले व्यवहारिक हुनुपरेको होइन, समस्याहरू अरू पनि छन् । यता, बिहे गरेको हुनाले घर पनि छ, घरैघरको समाज पनि छ । समाजैसमाजको देश पनि छ । स्वास्नी भित्र्याएको घर हुनाले आडैमा वेश्यालय पनि छ । नियमैनियमको समाज हुनाले बेनियममा चल्ने असामाजिक तत्त्वहरू पनि छन् । नेतैनेताले नेतृत्व गरिएको देश हुनाले देशद्रोेहीहरू पनि छन् । भोटे ताल्चैताल्चा मारेको सम्पत्ति हुनाले तस्करहरू छन् । यस्तै इत्यादिइत्यादिले गर्दा व्यावहारिकवादी बन्नुपरेको हो ।

“अनि व्यवहारवादी भएपछि कुनाकाप्चा, खासखुस, छलकपट, धरपकड, चुक्लीचाकडी, हास्य–रोदन सबै सँगै हुने नै भए । एऽऽ, तपाईं रिसाएको जस्तो देखिनुहुन्छ नि, किन ? तपाईंको र मेरो एउटै नाम त हो नि ।”

“म सगरमाथाबहादुर होइन, सगरमाथाप्रसाद हुँ ।”

“तर, सगरमाथा त हामी दुवै हौँ । थर नेपाली पनि एउटै हो । वतन पनि एउटै हो, तन भने बेग्लाबेग्लै छ । यस्तो चलन हामीसित असङ्ख्य छ । तथ्याङ्क विभागलाई सोध्नुस् न !”

“तथ्याङ्क विभागलाई के सोध्नु ? त्यहाँ छैन यो तथ्याङ्क… होइन ल, म अन्नपूर्णबहादुर नेपाली हुँ !”

“एऽऽ !”

“ह्लोत्सेबहादुर हुँ !”

“धवलागिरिप्रसाद हुँ !”

“अच्छा !”

“माछापुच्छ्रेबहादुर हुँ !”

“एउटै कुरा हो !”

“मकालुप्रसाद हुँ !”

“ठ्याम्मै फरक परेन । हामी एउटै शृङ्खलाका हौँ ।”

“जसरी म उही बहादुर हुँ, त्यसैगरी तपाईं पनि उही प्रसाद हुनुहुन्छ– उही, जसकी श्रीमती छिमेकमा गएर फर्केपछि मलाई पनि त्यस्तै घर चाहियो भनेर कुर्लिंदा व्यवहारवादी बन्न पुगेको ।”

“त्यस दिनपछि श्रीमती कोपभवनमा पुगिन् र म जस्तै तपाईं पनि बरन्डामा बसेर छिमेककी आईए फेल केटीलाई बीए पास गराउन फ्री टिउसन पढाउन थाल्नुभयो । आदर्श यसरी नै कायम गरियो अर्थात् ‘सीताराम कहो’ भनेर उच्चस्वरमा कराइयो ।”

“मलाई जस्तै तपाईंलाई पनि फसाद पर्‍यो, कोपभवनको फसाद ।”

“तपाईंकी श्रीमती पनि मेरै श्रीमती… माफ गर्नुहोला, जस्तै…”

“खबरदार ! मेरी श्रीमती तपाईंकी कसरी हुन सक्छे ?”

“हो–हो, श्रीमती तपाईंकी नै हो । हेर्नुस् त, श्रीमतीहरूले कसरी फाटो पार्छन् । यहाँनेर हामी अलि बेग्लाबेग्लै छौँ । प्रेमिकाहरूमा यो समस्या छैन । एउटी प्रेमिकाका असङ्ख्य प्रेमीहरू हुन सक्छन् । तर, एउटी श्रीमतीको भने एउटै श्रीमान् हुनुपर्ने आदर्शको सुगा त हामीले अझै पनि पालिराखेका छौँ । अनि, उता श्रीमान्हरूले पनि श्रीमतीहरूमा फाटो हाल्छन् र श्रीमती बिचरीहरू बेग्लाबेग्लै हुन पुगेका छन् । जमाना यस्तै छ, दुवै पक्षबाट सोच्नुपर्ने । अब यता प्रेमिकाहरूलाई कोपभवन चाहिँदैन । एउटीले कोप्न थाली भने अर्की छँदै छ नि ।”

“हेर्नुस् न, कोपभवन उहिलेका ठूलाबडा अर्थात् राणाज्यू, काजीसाहेब, बाबूसाहेब र गुरुज्यूले बनाउँथे होलान् । आजभोलि त मैले जस्तै तपाईंले पनि कोपभवन त परै जाओस्, कोपकक्ष पनि बनाउन सकेका छैनौँ । एउटै कक्षमा परिवार पाल्नुपर्ने भएपछि हात लाग्यो जम्माजम्मी चारवटा कुना । एउटा कुना किचेन, अर्को कुना स्टोर, अर्को कुना बेड, अर्को कुना ड्राइङ, अर्को कुना… ज्या ! बिर्सेछु, जम्मा चार कुना । अब कोपकुना कताबाट ल्याउने ?

यस्तो भयावह अवस्थामा मेरी सगरमाथाबहादुर्नीले जस्तै तपाईंकी सगरमाथाप्रसादनीले पनि जम्माजम्मी एउटा कोठाको घरलाई कोपभवन बनाएपछि कि त छिमेककी कुनै युवतीलाई बरन्डामा बसेर बीए पास गराउने काममा लाग्नुपर्यो कि त कुनै प्रेमिकासित टाइमिङ मिलाएर पार्कको बेन्चपछाडि, फूलैफूलको झ्याङपछाडि खण्डकाव्य लेख्न थाल्नुपर्‍यो । दुवै आदर्श कार्य हुन् र अस्थायी साधन ।”

“यसबाहेक परित्राणको अन्य कुनै स्थायी साधन छैन ?”

“छ, किन छैन ! यस संसारमा के छैन ?”

“हेर्नुस्, समस्या नामले नै उत्पन्न गर्छ, कामले गर्दैन । कुनै सन्न्यासीले बिहे गर्‍यो भने तपाईं त्यसलाई सराप्न थाल्नुहुनेछ । सन्न्यासीको सट्टा त्यसको नाम प्यासी सम्झिदिए हुँदैन र ? कामले समस्या उत्पन्न गर्‍यो त ? कामअनुसार उसको परिचय साक्षात् प्रकट भइहाल्यो नि । हामी सगरमाथाहरूको यही त लठेब्रो चाल छ, जसको नाम आकर्षक र अर्थपूर्ण देख्यो, हत्त न पत्त आफ्नो हकअधिकारदेखि कुर्तासलबारसम्म सबै सुम्पिदिन्छौँ । अनि, पछुतो मान्छौँ, यो हरामको नाम त कति राम्रो थियो– ‘प्रगतिनाथ उन्नति’ !”

“तसर्थ, छोडौँ यो नामसाम । आफ्नो नाम मेटाइहाल्नुस् र स्वास्नीको पनि । यही नै मुक्तिमार्ग हो । स्वास्नी पनि मुक्त, तपाईं पनि मुक्त । न लोग्नेलाई शोकभवन चाहियो न स्वास्नीलाई कोपभवन । कुकुरको के रौँ केके ? सबै एकछत्तै । वेदान्तमा यसै भनिएको छ–
आफ्नो स्वलाई एकछत्त पार्नु अनि ब्रह्ममा बिलाउनेछौ !”

“धर्मराजले एकताका गाएका थिए– ‘नाम नभए म्याद छँदै दाबी गर हजुर !’ अब हामी कर्मराजले गाउनुपरेको छ– नाम भए म्याद छँदै दाबी छोड हजुर !”

“नाम छोड्नु नै परित्राण हो त ?”

“अनि के त ? तिमी–हामी जस्ता कुकुरले जति अँठ्याए पनि नाम अँठिँदैन । नलीहाड फ्याँकेर बोलाउनेले काले भनोस्, खैरो भनोस्, भोटे भनोस्, पाजी भनोस् जेसुकै भनोस्, नामको खजाना उसैसित छ । तिमीले के अझै पनि महाभारतका गुफाहरूमा ऋषिमुनिहरू जिउँदै छन् भन्ने ठानेका छौ ?”

“उदाहरणस्वरूप ऊ ल हेर– अमेरिकाको दायाँपट्टि, रूसको बायाँपट्टि, चीनभन्दा अलि तल, भारतभन्दा अलि माथि, नेप्टे साहूको पसलअगाडि उभिएकी युवती, देख्यौ ? चिन्छौ त्यसलाई ? के नाम हो ? उसको नामै छैन । जाऊँ हिँड ।”

“म त जान्नँ, बा !”

“नडराऊ ! मान्छे, मानिहाल्छे । आजसम्म मानेकी नै छे । आमा हो नि । सर्वस्व लुटाइदिन्छे । सट्टामा चाहन्छे एकमुठी भात । छ ?”

“गुप्तरोग लाग्छ ।”

“क्या लम्फू रहेछ, गुप्तरोग नै त लाग्छ । एड्स पनि लाग्न सक्छ । यी त स्वास्नीबाट पनि लाग्न सक्छन् । नाम त लाग्दैन । अनि कसको हिम्मत तिम्रो नाम सोध्ने ? स्वास्नीले पनि कोपभवन माग्ने छैन । आईए फेल केटीलाई बीए पास गराउन फ्री टिउसन पढाउनु पर्दैन ।”

“उसो भए लौ जाऊँ त ।”

“उसै जाऊँ ! बिनामाध्यम, बिनादलालकै ?”

“दलाल पनि चाहिन्छ र ?”

“चाहिँदैन त ? मेरो नाम थाहा छ ?”

“अहँ ।”

“मै हुँ यो नाम नभएकीको नाम नभएको दलाल । जा, सर्वस्व लुटाइदिन्छे मेरी आमाले । फर्केपछि सर्वस्वको आधा मेरो कमिसन हो नि, नबिर्सनू ।”
ऊ जान्छ ।

म पनि जान्छु र वाग्मतीको बगरमा पुगेर एउटा बालुवाको ढिस्कोमाथि बस्छु । अनि, घ्वाँघ्वाँ रुन थाल्छु ।

(मनु ब्राजाकीको  कथासंग्रह ‘तिम्री स्वास्नी र म’ बाट ।)