कहिलेकाहीँ जीवनमा यस्तो घटना घट्तछ, जो अनुमान र सम्भावनाको विपरीत हुन जान्छ । तर त्यस्तो घटनाले दिने अर्थबोध चाहिँ सम्पूर्ण जीवनलाई नयाँ मोड दिनसमेत समर्थ हुन जाँदो रहेछ ।

घटना साधारण छ ।

हामी राजबन्दीहरू, केन्द्रीय जेलको… नम्बर, जसलाई गोलघर पनि भन्दछन्, त्यसमा थुनिएका थियौं । राणाकालीन जहानियाँ एकतन्त्री शासन थियो । हामीहरू प्रजातान्त्रिक शासनव्यवस्था देशमा ल्याउनुपर्छ भन्ने विचारधाराले प्रेरित भएर आन्दोलन गर्नेमध्येका थियौं । आन्दोलनको सिलसिलामा हामीहरूमध्ये अधिकांश विभिन्न जेलहरूमा यातनाहरू भोग्दै आएका थियौँ । सब जना राणाशासन अन्त्य गर्नुपर्छ भन्ने कुरामा एकमत भए तापनि विभिन्न वादहरूका विचारधाराले हामीहरू विभाजित पनि थियौं । तर यस कुरालाई हामीहरू सकभर उभरिन नदिई एकमतमा गुथिएजैं जेलका कर्मचारीहरूको सामुन्ने र साथै राणाशक्तिको सामुन्ने ऐक्य प्रदर्शित गर्न बाध्य थियौं । यसैले गोलघरभित्र हाम्रो सामान्य मिलाप जहानको रूपमा देखा पर्थ्यो ।

हामीलाई जेलमा दिइने ‘सिधा’ जसमा डेढ माना धान मिसिएको चामल, एक मुठा दाउरा, थोरै नुन र खुर्सानी, दालको निमित्त दिइने एक पैसा र एक हप्ताको एक चौथाइ मट्टितेल पर्दछ, सब एकै ठाउँमा राख्दथ्यौं र कसै-कसैको घरबाट आउने चामल, दाल, तेल, घ्यू आदि पनि त्यसैमा मिलाउँथ्यौं र यसरी आफ्नो भान्छा चलाएका थियौं । हामीले काम चलाउन आपसमा कार्यविभाजन पनि गरेका थियौँ, कोही भात पकाउने भान्छे थियौँ, कोही भाँडा माझ्ने, कोही धान मिसिएको चामललाई हातले फल्ने मानिस आदि । यसरी हामी १२ जवानको भान्छा चलेको थियो । एक प्रकारले यी कार्यहरूले गर्दा हामी दिनभरि व्यस्त पनि थियौँ । पढ्न लेख्न कुनै प्रकारको सुविधा नभए पनि, गार्हस्थिक कर्मले हाम्रो समय गुज्रेको पत्तो हुने थिएन ।

यसको अतिरिक्त मनोरञ्जनको निमित्त हामीले दुई-तीन प्रकारका सुविधाहरू प्राप्त गरेका थियौं । एक त हामीसँग तास थियो, अर्को क्यारेमबोर्ड र यसका साथै भाग्यवश हामीले चार जोर सेता परेवाहरू पनि पाएका थियौँ । यी परेवाहरू हामीभन्दा पहिले गोलघर आवाद गर्ने एक कैदीले पालिराखेको रहेछ । हामी त्यस ठाउँमा आएपछि त्यो कैदी अन्यत्र सारिएको हुँदा ती परेवाहरू त्यहीं छुट्न गएका रहेछन् । तिनीहरूको हेरचाहको अभिभारा हामीलाई नै उठाउनुपरेको थियो ।

पहिले त परेवाहरू हाम्रा निमित्त बोझ साबित हुने हो कि भन्ने लागेको थियो । तर ती निरीह घरेलु प्राणीलाई स्याहार्दा, खुवाउँदा, खेलाउँदा अन्ततः हामीसँग रत्तिन थालिहाले र तिनीहरूले फुल पार्दै, फुल कोरल्दै सानासाना बच्चाहरूसमेत दिन थाल्दा त हामी सब जना तिनीहरूसँगै हिलिमिली हुर्कन थालेझैँ भयौं । परेवाहरू यस प्रकारले मानिसहरूसँग रत्तिँदा रहेछन्, हामीलाई थाहा थिएन ।

हरेक परेवाका हामीले नामकरण गरेका थियौँ, तिनीहरूका स्वभाव, रङ्ग, अङ्ग आदिको बनोटले; कोही भिक्टोरिया, कोही मेनका, कोही दुष्यन्त, कोही शकुन्तला, कोही लालपाते, कोही जुरे, कोही सावित्री, कोही जुरेली आदि । हामीले हुर्काएका सानासाना बच्चाहरू हाम्रा काँधकाँधमा बस्न आइपुग्थे, हाम्रा औंलाऔंलामा उडेर टक्क टेक्न आउँथे । टाउकोमाथि भुरुरुरु उडेर बस्थे, कहिले जीउमा । यी परेवाहरू हाम्रो खाने बेलामा, हामीले दाना छर्ने बेलामा एक हूल भएर जम्मा हुन आउँथे, र जसजसले स्याहारेका बच्चाहरू हुन् तिनीहरू आफ्नाआफ्ना मालिकका नजिकमा बस्न आइपुग्थे । र हामी पनि आफ्नाआफ्ना परेवालाई विशेष ध्यान दिने गर्थ्यौँ । हुर्किसकेका परेवाहरूलाई उडाउने पनि गर्थ्यौँ ।

यिनीहरू जेलका परखालले घेरेका आकाशलाई तरेर माथिमाथि आकासिँदा हामीलाई पनि जेलबाट बाहिर निस्कने उत्साह पैदा हुन्थ्यो र बाहिरको दुनियाँको कल्पना पनि गर्ने गर्थ्यौँ । तर यिनीहरू बाहिरबाट उडेर भित्र पसी फेरि हाम्रै काँध-काँधमा बस्न आइपुग्थे, र केहीबेरपछि यिनीहरू एउटा सानो खुल्ला सोतो जसमा गञ्जकजस्ता खोरहरू बनाइराखेका थियौँ, त्यसमा गएर बस्न पुग्थे । यिनीहरूको घर यहीं थियो ।

साँझपख यिनीहरूसँग हाम्रो वियोग हुन्थ्यो । हामी फलामे खोरमा चुनिन्थ्यौँ । हरेक खोरलाई सिपाहीहरू र गोलघरका कामदारहरू आएर ताल्चा मार्थे र त्यसपछि अघिल्लो ढोका र पछिल्लो दुई ढोकामा ताल्चा मार्थे र ती परेवाहरू घुरेको आवाज बीचबीचमा आइरहन्थ्यो र बुर्जा-बुर्जाबाट सिपाहीहरू ‘खबरदार’ कराएर सतर्क गराएको आवाज रातभरि गुन्जिरहन्थ्यो ।

सबेरै सिपाहीहरू र कामदारहरूले ढोका खोल्न आइपुग्थे । फलामे हँडालीको खापा खुल्थ्यो । परेवाहरू भुरुर्र उडेर आइपुग्थे, हामी चोकको डबलीमा बस्न पुग्थ्यौँ, आहारा छर्थ्यौँ, परेवाहरू आहारा टिप्दै खान थाल्थे । कुनैकुनै भाले आफ्नो जोडीलाई घुर्दै, नाच्दै प्रेमको अभिनय गर्न थाल्थे, लखेट्दथे, उड्थे । कौसीमा गएर बस्थ्यो, जोर खान्थ्यो । सानासाना बच्चाहरूलाई माउहरू आफ्नै चुच्चाले आहारा खुवाउन बस्थे । यी सब दृश्यहरू हेरेर हामी केहीबेर अलमलिन्थ्यौं, रमाइलो गर्थ्यौँ र हाम्रो दिनचर्या सुरु हुन्थ्यो ।

ती परेवाहरूसँग हामी यसरी एकाकार भएका रहेछौं कि कुनै दिन कुनै परेवा गञ्जकबाट बाहिर निस्केर बाहिर चोकमा आएन भने हामी खोज्न थाल्थ्यौं । कुनै फुल पार्न बसेका हुन्थे, कुनै फुलमा ओथारो बसेका हुन्थे, त्यसलाई अरू फुल पनि हामी दिन्थ्यौँ । यसरी हामी परेवासँग भुलेका थियौँ कि दिन गुज्रेको समेत बिर्सन्थ्यौं । एक प्रकारले जेलको यातनालाई हामी हलुङ्गो भएको अनुभव गर्थ्यौँ ।

यसरी परेवासँगको घनिष्ठ सम्बन्धबाट हामीले रमाइलोसँग दिन गुजारेको, बिताएको देखेर जेलका कैदी कामदारहरू पनि अत्यन्त प्रभावित भएका थिए । हामीले आफ्नो खाना घटाई-घटाई बाहिरबाट तोरी मगाउँथ्यौं र परेवालाई खुवाउने गर्थ्यौं । यसले परेवाहरूलाई बलियो र दरिलो बनाउँथ्यो जसले गर्दा यिनीहरू आकाशमा माथिमाथिसम्मन् उड्न सक्थे र जसलाई हामी रमाइलोसँग हेरेर मन बहलाउँथ्यौं । एक-दुई चोटि हाम्रा उडेका परेवाहरूलाई माथि आकाशमा बरीले लखेटेर झम्टेको पनि थियो तर उनीहरू सबै सकुशल घर फर्कन समर्थ पनि भएका थिए । त्यस दिन हामीलाई अत्यन्त हर्ष लागेको थियो, हामीले ती परेवाहरूलाई त्यस दिन विशेष बढी दाना पनि खुवाएका थियौं ।

तर हाम्रो यस मनोरञ्जन र आनन्दको स्रोतमाथि कैदी कामदारहरूको केही दिनपछि वक्रदृष्टि परेको हामीले थाहा पायौं । हामीले किन्न पठाएको तोरीलाई उनीहरूले एक दिन ल्याउन आनाकानी पनि गरे ।

त्यसपछि हामीले एउटा परेवालाई टाउको र जीउ छुटाएर भुइँमा मरेर मिल्किएको पायौं । यसले हामी सबलाई अत्यन्त दुःखित र क्षुब्ध तुल्यायो । हामी उत्तेजित भएका थियौं, हाम्रो आफन्त मरेझैँ दिनभरि हामीलाई उदासीन र पीडित तुल्याएको थियो । हामी त कैदी कामदारहरूप्रति अत्यन्त रुष्ट भएका थियौं र हामीमध्ये एक-दुई जनाले ती कामदारहरूलाई बोलाएर हप्काउन पनि हप्काएका थिए । तर ती कामदारहरूले परेवा मारेका हैनौं भनी साफ इन्कार पनि गरेका थिए ।

तर ती कैदीहरूको स्वभावबाट हामी परिचित भएका हुनाले उनीहरूले इन्कार गरे तापनि हामीले उनीहरूमाथि विश्वास गर्न सकेका थिएनौं । परेवाको मासु खाने लोभद्वारा यी कैदी कामदारले मारेका हुन्, तर साँझपख ताल्चा मार्न आउने सिपाहीहरूको उपस्थितिमा मारेको परेवालाई लान नसकेकोले मिल्काएर गएका हुन् भन्ने हामीले अनुमान गरिसकेका थियौं । त्यस दिनदेखिन् हामीहरू सब जना सतर्क भयौं र परेवाहरूको गिन्ती गरी साँझपख ताल्चा मार्ने समयमा बहुतै जागरूक पनि हुन थाल्यौं । कसैकसैले त आफ्नाआफ्ना परेवालाई आफ्नै- आफ्नै खोरमा गञ्जक बनाएर राख्ने निर्णय पनि गरेका थियौं । तर त्यसो गर्नलाई जेलर कप्तानको स्वीकृति नलिई सम्भव नभएकोले रोकिएका थियौं । यस कुराले गर्दा कामदार र हाम्रोबीचको सम्बन्ध क्रमशः बिग्रँदै पनि गइरहेको थियो ।

बोलाएको समयमा कामदारहरू हाम्रा चोकमा नआइदिने र चाहिने किनमेलसम्मन् नगरिदिने भए, बिरामी पर्दा डाक्टरलाई नबोलाइदिने भए, कपाल काट्न हजाम नल्याइदिने भए । सकभर घरघरबाट केही सामानहरू आए तापनि बीचैमा अलमल र गोलमाल पनि गरिदिने भए । यी प्रत्यक्ष विरोधहरू दर्शाई उनीहरूले हामीलाई सकभर बढी कष्ट पुऱ्याउन सुरु गरे ।

हामीले पनि यस्ता कैदी कामदारहरूबाट कुनै प्रकारको सुविधा नलिई आवश्यक र जेलभित्रको नियमले दिइने सुविधा मात्र लिने निश्चय गर्यौं । हाम्रो र उनीहरूका बीच यो आन्तरिक तथा बाह्य युद्ध चलि नै रहेको थियो ।

एक दिन दिउँसो टन्टलापुर घाम लागिरहेको थियो । सब जना आफ्नाआफ्ना कोठामा पल्टिरहेका थिए, कोही निदाएका पनि थिए, कोही सुस्तरी कुरा गरिरहेका थिए । मचाहिँ पेट गडबडिएकाले दिसाखण्डतिर जाँदै थिएँ । त्यसै बेला परेवाको खोरतिर कोही पसेको झुलुक्क देखें । हामीमध्येकै एक साथी रहेछ । कुनै कैदी कामदार रहेनछ । ममा जुन आश‌ङ्का पैदा भएको थियो त्यो समाधान भयो । म आश्वस्त भएँ ।

दिसाखण्डकै सामुन्ने त्यो परेवाको खोर राखेको सोतो पर्थ्यो र दिसाखण्ड झुत्रो भा‌ङ्ग्राले मात्र बारिएको थियो जसबाट बाहिरका सब दृश्यहरू देखिन्थे । म दिसाखण्डमा थिएँ । त्यो साथी जसको स्वभावको सम्बन्धमा अधिकांश हामीलाई दृढ धारणा के थियो भने ऊ अलि भोंदु, अपठित, कल्पनाहीन व्यक्ति छ । यसैले उसलाई हामीले मसिना कामहरूबाट पृथक् पनि राखेका थियौं । वादविवाद हुँदा वा कुनै निर्णय गर्नुपर्दा पनि यसका कुराको महत्त्व हामीले कमै दिने गरेका थियौं । परेवा पाल्नमा उसको कुनै शोख पनि थिएन । खेलमा पनि कमै रुचि राख्ने हुनाले वा खस्रो स्वभावले गर्दा हामीबाट परै रहन त्यो बाध्य पनि थियो । यसकै फलस्वरूप बराबर त्यो हामी सबसँग सन्तुष्ट नभई बाझ्ने, ठुस्कने, भोकै बसिदिने पनि गर्थ्यो ।

तर मलाई आश्चर्य के लाग्यो भने, त्यस दिन त्यो परेवाको खोरमा गई परेवाहरूलाई आफ्नो हातमा लिई सुमसुम्याउन थालिरहेको थियो ।

गालासम्मन् लगी म्वाइँ खाइरहेको थियो । अरू बेला जेसुकै होस्, एकान्तमा परेवालाई माया प्रदर्शन गरी मनलाई सन्तुष्ट तुल्याउन खोज्दो रहेछ भन्ने कुराले उसको स्वभावको अर्को पक्ष मैले बुझ्न पाएँ । म हेर्दै थिएँ । म दङ्ग भएँ । तर आश्चर्य, सुमसुम्याउँदा-सुमसुम्याउँदा त्यसले त्यो पोथी परेवालाई जोडले समाएर आफ्नो मुखमा त्यसको चुच्चो हाली चुस्न थालिरहेको पनि देखें । अकस्मात् त्यसको अनुहारमा विचित्रको भाव परिवर्तन आएको पनि देखें । त्यसपछि त्यो परेवा छटपटाएर फुत्कन खोज्दाखोज्दै पखेटा जोडले फटफटाएको देखें । परेवा फटफटाइरहेछ, त्यो त्यसलाई जोडले समाएर कामोत्तेजनामा जस्तो चुसिरहेछ । चुस्दाचुस्दै अकस्मात् परेवा उसको हातबाट भुइँमा खस्तछ । एकछिन त्यो समालिएर शान्त हुँदै बिस्तारै झटपट खसेको परेवातिर टोलाएर हेर्दछ र बाहिर निस्कन्छ ।

म पनि दिसाखण्डबाट बाहिर निस्किन्छु र थाहा नपाएझैँ गरी परेवाको खोरतिर जान्छु । टाउको छुट्टिएको परेवाको शरीर र टाउको भुइँमा पछारिएको देख्तछु ।

मलाई केही आश्चर्य लाग्दैन- वर्षौं घरबाट छुट्टिएको एक कैदी र त्यसको मनःस्थितिको प्रत्यक्ष दर्शन मैले पाएँ । सायद मेरो मनको कहानीभित्र यो छिपेको थिएन र ?

(विजय मल्लको कथासंग्रह ‘परेवा र कैदा’बाट)