एयरपोर्टको वेइटिङ रुममा एनाउन्स गरिरहेको थियो । “बुद्ध एयरको दश पचपन्न बजेको उडान एयर ट्राफिकिङका कारण थप एक घण्टा डिले गरिएको छ । यसबाट यात्रु महानुभावहरूमा पर्न जाने असुविधाका लागि क्षमाप्रार्थी छौं धन्यवाद !”

यो सुनिरहँदा दिक्क लागिसकेको थियो । बरु बस चढेर गएको भए पनि पुगिन्थ्यो होला । बिहान दश पचपन्नको प्लेन चार बज्दा सम्म पनि यो हाल छ । हरेक डिले भएका प्लेनका यात्रुहरूले वेइटिङ रुम खचाखच भरिएको थियो । आजै भैरहवाबाट काठमाडौँ पुग्ने र भोली युरोप प्रस्थान गर्ने मेरो योजना कछुवाको गतिमा हुन थाल्यो । मन भित्रको अन्तर जलन अर्को थियो । मन मिल्नेले, विश्वास गरेकाले दिएको चोटले त्रसित भएको मन मस्तिष्कमा समुद्रको छाल जस्तै तरङ्गित छन् । मनभित्रका ज्वारभाटाहरू अविरल र अभिश्रान्त बनेका छन् । जसरी मान्छेले नजाती गरी ठगे त्यसै गरी यो समयले पनि ठगिरहेको थियो ।

हातको घडी हेर्दै भित्तामा राखिएको स्क्रिनमा हेर्छु । स्क्रिनमा लेखिएको टाइम सेडुलमा आँखा टक्क अडिन्छन् । मनको बह उर्लिन्छ खहरे झैँ अनि कताकता नजाती गरी छाती चर्किन्छ, “हो यही समय यसै गरी प्लेन डिले हुँदा परिचित बनेकी ‘रिहाना’ कति भद्र र शालीन थिई । कुर्था सलवारमा बिना मेकप पनि ऊ उत्तिकै राम्री थिई । त्यही परिचयबाट प्रेमिका भएकी रिहानासँग करिब  पाँच वर्षसम्म चलेको प्रेमलाई हामीले विवाहमा परिणत गरेका थियौं । हाम्रो घरसंसार स्वर्ग झैँ थियो । म दुनियाँको सबै भन्दा भाग्यमानी पुरुष थिएँ । सुशील र असल श्रीमती पाएकोमा मलाई गर्व थियो ।

समय बित्न कति बेर पो लाग्थ्यो र जब चार्टर एकाउन्टबाट बाहिरको प्लान आयो । तब म क्यारियरको लागि युरोप जाने सर सल्लाहबाटै निधो हुन्छ । अन्तिम पटक त्रिभुवन इन्टरनेसनल एयरपोट काठमाडौंबाट म छुटिनु पर्दा ऊ मेरो छातीमा टाँसिएर धरधर्ती रोइरहेकी थिई । कति स्नेही थिए उसका ती निश्चल आँसुहरू । भावुकतामा म झन्डै पागल बनेको थिएँ । कसरी छुट्टिने भन्ने पिरले सताउँथ्यो । सम्झन्छु उसले मलाई दिएका ती प्रत्येक पल, म नभै ऊ निदाउन पनि सक्दिन्थी, एक दिन नभेटे ऊ शून्य जस्तै हुन्थी । म उसको आदत बनेको थिएँ । यी सबै मन मिल्दाका निःस्वार्थी पनका आभारहरू थिए । म उसको प्रेमले निथ्रुक्क भिजेको थिएँ ।

जिन्दगी यस्तै माया प्रेममै बित्नेछ भन्ने विश्वासका साथ मिठो सपना बोकेर आफ्नो जन्मेको थाकथलो छोडेर विदेशिन बाध्य भएको थिएँ ।

तर नियति यति कठोर भैदियो कि म फर्केर आउँदा त्यो मेरो घर भत्किएको थियो । चराले गुँड छोडेर आकाशमा स्वतन्त्र भई हराइरहेको भान भइरह्यो । आज मेरो मेरै छायाले काल कोठरी तर्फ धकेली रहे झैँ अनुभूति बारम्बार भै रहेछ । सत्य र इमानदारिताको पर्दा यसरी घुमिल हुन्छ भन्ने त मैले सोचेको पनि थिइनँ । यतिका वर्षको मेरो मेहनतको कमाइ भए भरको सम्पत्ति हिनामिना त भयो त्यस माथि रिहानाले जुन आत्मघाती कदम चाली यति छोटो समयमा मेरो अनुपस्थितिमा अर्कोको घर बसाउन हिँडी । म सम्झन पनि सक्दिन । लाग्छ मेरो केही खोट थियो, या उसलाई विश्वास गर्नु मेरै भुल थियो । सायद म झसङ्ग भएँ ।”

“हेलो सर !” कसैले मलाई नजिकै आएर बोलाउँछ, “तपाईं दश पचपन्नको फ्लाइटको यात्रु हो ?”

म हतारिँदै भन्छु, “हो हो ।”

“तपाईं कहाँ हुनुहुन्थ्यो यति बेर बोलाइरहँदा ? अब तपाईंको त्यो प्लेन छुट्यो । अर्को प्लेनमा सिफ्ट गर्नु प¥यो ।”

…??

उफ् ! यो के भएको छ मलाई । म अझै किन उसकै यादमा डुबिरहेछु हे प्रभु । रिहानाले मलाई डुबाएर आफू कहाँ रमाएकी होली ? म त्यो विमान स्थलको कर्मचारीलाई एक टकले हेरिरहेछु । उसले फेरि बोलाउँछ, “हेलो सर कता टोलाउनु भो ?”

“हँ ?”

मलाई उसले सतर्क बढाउँदै थियो । मैले ‘ल ल हुन्छ’ भनिदिएँ ।

कुर्सीमा अड्याएको ल्यापटप ब्यागलाई पछाडि भिर्दै म काउन्टरतिर फर्कने तरखरमा थिएँ । उताबाट एक परिचित अनुहार मै तर्फ आउँदै थियो । हाफ टिसर्ट, जिन्सको हाफपाइन्ट, कालो चस्मा लाएकी केटी, डेडलक कपालको मुठो पालेको केटाको हातमा हात समाउँदै मन्द मुस्कानका साथ मै तर्फ लम्किँदै थियो । मैले सपना हो कि विपना झैँ मानेर आँखा चिम्म गरेँ । एक निमेष आँखा उघारेँ, ती यात्रु मलाई नै धक्का दिँदै अलि पर पुगेछन् । पर पुगेकी ती केटीले पछाडि फर्केर फेरि हात हल्लाउँदै गई । म साँच्चिकै पागल बनेको रै छु । उसलाई बल्ल चिनेँ ।

ऊ उही रिहाना रै छ । मेरा गन्तव्यहीन पाइलाहरू अनायासै विपरीत  दिशा तर्फ मोडिए ।

टुटेको सम्बन्ध र छुटेको प्लेनले आज पनि नराम्रो गरी झड्का दियो ।